निर्णय नं. ६३५२ - मोही कायम

निर्णय नं.- ६३५२ ने.का.प, ०५४ अङ्क ४
संयुक्त इजलास
माननीय न्यायाधीश श्री ओमभक्त श्रेष्ठ
माननीय न्यायाधीश श्री उदयराज उपाध्याय
सम्वत् २०५२ सालको दे.पु.नं. .... ३०५३
फैसला मितिः २०५३।५।११।३
मुद्दा : मोही कायम ।
पुनरावेदक/प्रतिवादीः वारा जिल्ला गंज भवानीपुर गा.वि.स.वडा नं. १ वस्ने शारदा शंकर प्रसाद कलवार ।
विरुद्ध
विपक्षी/वादीः ऐ.ऐ. वडा नं. ५ वस्ने मिश्रीलाल साहकानु ।
§ मोहीले कमाई आएको जग्गामा मोही सम्वन्धी निजको हक निजपछि निजको पति पत्नी वा छोराहरु मध्ये जग्गावालाले पत्याएको व्यक्तिलाई प्राप्त हुनेछ, भनी भूमि सम्वन्धी ऐन, ०२१ को दफा २६ को उपदफा (१) मा उल्लेख गरेको देखिएबाट दर्तावाला मोहीको मृत्युपछि निजको पति पत्नी वा छोराहरु मध्ये एकलाई जग्गावालाले विधिवत रुपमा मोही रोजेपछि मात्र त्यस्तो जग्गामा रोजिएको व्यक्तिको मोही हक स्थापित हुन सक्ने र सो अवस्था वाहेक दर्तावाला मोही भएको जग्गामा अन्य अवस्थाबाट मोही हक कायम हुन सक्ने र साविक दर्तावाला मोहीलाई कुनै असर नपर्ने ।
(प्र.नं. १४)
§ दुवै पक्षको सहीछाप भएको कवुलियतको एक प्रति स्थानिय पंचायतमा दाखिल गर्नु पर्ने भूमि सम्वन्धी ऐन, २०२१ को दफा ३४ को उपदफा (१) को कानूनी व्यवस्था हुँदा स्थानिय पंचायतमा दाखिल नभएको त्यस्तो कवुलियतले मोहीयानी हकको प्राप्तिको लागि कानूनी मान्यता प्राप्त गर्न नसक्ने ।
(प्र.नं. १४)
पुनरावेदक तर्फवाटः विद्वान अधिवक्ता श्री वालकृष्ण न्यौपाने
विपक्षी तर्फवाटः विद्वान अधिवक्ता श्री मोशेष अव्वास
अवलम्बित नजीरः x
फैसला
न्या.ओमभक्त श्रेष्ठ: पुनरावेदन अदालत हेटौंडाको मिति २०५०।१०।१२ को फैसला उपर मुद्दा दोहोर्याई पाउँ भनी प्रतिवादीको यस अदालतमा परेको निवेदनमा मुद्दा दोहोर्याउने निस्सा प्रदान भएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छ ।
२. स्वर्गिय भोला साह कलवारका नाउँ दर्ताको जिल्ला वारा हरैपा गा.पं. वडा नं. ८ कि.नं. २७ को ज.वि. ३-१७-० मध्ये पुर्व तर्फबाट ज.वि. १-८-१० जग्गाको मोही रामेश्वर मात्र लेखिएको र सो रामेश्वर साह कलवारको नाउँमा दे.नं. ९३१। १०५२ को कुत वाली दिलाई पाउँ भन्ने सम्वन्धमा जग्गाधनी भोला साह कलवारले वारा जिल्ला अदालतमा मुद्दा दायर गराएकोमा निज रामेश्वरले ईन्कारी गरेकोमा २०३०।११।२१ गते वारा जिल्ला अदालतबाट मुद्दा फैसला भएको छ । रामेश्वर साह कलवार परलोक हुँदा जग्गाधनिले मलाई मिति २०३३।१।१५ मा कवुलियत गरी मोहीमा जोत्न दिनु भएकोले मोहीमा जोती भोला साह कलवार जिवित छउन्जेल निजैलाई र निज परलोक भएपछि विपक्षी शारदा शंकरलाई वाली बुझाइ भरपाई लिदै आएको छु । २०४५ सालको वाली पनि मैले नै लगाएको छु । कवुलियत भरपाई प्रमाणमा लगाई मोही कायम गरी पाउँ भन्ने वादी दावी ।
३. विपक्षीको उजुरी निवेदन कानून सँगत छैन । २०४४ सालको भरपाईमा रामेश्वर मोही भनी जनिएको र पछि निजकै छोरा जोगेन्द्रलाई मोही पत्याई निज उपर कुत मोही मुद्दा वारा जिल्ला अदालतमा मैले दिएकोमा निजले मोही छाडी मिलापत्र गरेकोले मैले मलजल गरी राम्रो वाली उव्जाएकोले लालचमा परी झूठा उजुरी गरेकोले खारेज गरी पाउँ भन्ने समेत व्यहोराको प्रतिउत्तर पत्र ।
४. भूमि सम्वन्धी ऐन, २०२१ को दफा ३४ अनुरुप कवुलियत पाई मोही जमिन जोत्ने वादीलाई भूमि सम्वन्धी ऐन, २०२१ को दफा २५(२) वमोजिम दावीको जग्गामा मोही कायम गरी दिने भन्ने समेत व्यहोराको भूमि सुधार कार्यालय वाराको फैसला । शुरुको गैरकानूनी त्रुटीपूर्ण फैसला वदर गरी पाउँ भन्ने समेत व्यहोराको प्रतिवादीको नारायणी अञ्चल अदालतमा परेको पुनरावेदन पत्र ।
५. अ.वं. २०२ नं. वमोजिम विपक्षीलाई झिकाउनु भन्ने नारायणी अञ्चल अदालतको आदेश ।
६. वादी मिश्रीलालले मोहीको कवुलियतनामा र वाली बुझाएको भरपाई भनी सवुदको रुपमा पेश गरेको १ प्रति सम्वन्धित गा.पं. मा बुझाएको नदेखिएकोले त्यस्तो कवुलियत प्रमाणमा नलाग्ने हुँदा प्रमाण नलाग्ने लिखतको आधार लिई शुरुले वादीलाई मोही कायम गरेको मिलेको देखिएन, शुरुको इन्साफ उल्टी हुन्छ भन्ने नारायणी अञ्चल अदालतको फैसला ।
७. म सँग भएको कवुलियतलाई नतः जग्गाधनीले अस्वीकार गरेका छन् नत नारायणी अञ्चल अदालतले चुनौती दिन नै सकेको छ । जग्गाधनीले एकप्रति कवुलियत गा.वि.स.मा बुझाउनु पर्ने दायित्व भूमि सम्वन्धी ऐन, २०२१ को दफा ३४ ले निर्देशित गरी राखेको छ । जग्गाधनीले आफ्नो दायित्व पूरा नगरेको कारणले मेरो मोहीयानी हक विस्तापित गर्न नसकिने कुरा निर्विवाद एवं चुनौती रहीत भएकोले नारायणी अञ्चल अदालतले मलाई हराई गरेको निर्णय त्रुटीपूर्ण हुँदा सो नारायणी अञ्चल अदालतको फैसला वदर गरी मेरो मोहीयानी हक सुरक्षित गरी पाउँ भन्ने वादी मिश्रीलालको मध्यमान्चल क्षेत्रीय अदालतमा परेको पुनरावेदन पत्र ।
८. मोहीले प्रस्तुत गरेको भरपाई र कवुलियतमा लागेको सहिछाप आफ्नै हो भनी जग्गाधनीले गरेको वयानको आधारमा साविक नारायणी अञ्चल अदालतवाट भएको फैसला विचारणिय देखिएकोले अ.वं. २०२ नं. वमोजिम छलफलको लागि विपक्षी झिकाउनु भन्ने पुनरावेदन अदालत हेटौंडाको आदेश ।
९. मोहीले पेश गरेको कवुलियत र भरपाईमा लागेको सहछिाप आफ्नै हो भनी स्वीकार गरी वायन गरेको समेत कारणले वादी दावीको जग्गाको मोही देखिन आई दावी वमोजिम मोही कायम गरी दिनु पर्ने देखिंदा मोही कायम नहुने ठहराएको नारायणी अञ्चल अदालतको फैसला मिलेको नहुँदा उल्टी हुन्छ, दावीको जग्गामा वादीलाई मोही कायम हुने ठहराएको शुरु भूमि सुधार कार्यालयको इन्साफ मनासिव ठर्हछ भन्ने पुनरावेदन अदालत हेटौंडाको मिति २०५०।११।१२ को फैसला ।
१०. विवादित जग्गाको मोही रामेश्वरको मृत्युपछि निजको छोरा जोगेन्द्र साहलाई मोही पत्याई निजले नै जग्गा कमाई आएकोमा निजले जग्गा विगारेकोले निज उपर दायर गरेको मोही निस्काशन मुद्दामा २०४५।२।१६ मा मोही हक छोडी मिलापत्र भएकोमा सो मिलापत्र उपर विपक्षीले उजुर नगरी स्वीकार गरेको र कवुलियत अनिवार्य रुपमा गा.पं.मा पेश गर्नु पर्ने कानूनी व्यवस्था वमोजिम नगरी तोकिएको ढांचामा समेत नलेखिएको मोहीको सहिछाप नभएको कवुलियतको आधारमा मोही कायम हुन नसक्नेमा मोही कायम हुने ठहराएको पुनरावेदन अदालत हेटौंडाको, त्रुटीपूर्ण फैसला उपर मुद्दा दोहोर्याई पुनरावेदन अदालत हेटौंडा र भूमि सुधार कार्यालय वाराको फैसला वदर गरी नारायणी अञ्चल अदालतको फैसला कायम गरी पाउँ भन्ने समेत प्रतिवादीको यस अदालतमा परेको निवेदन ।
११. यसमा मोही लगत कायम रहेसम्म अरुलाई कवुलियत गरी दिई वालीको भरपाईको आधारमा मोही कायम गरी दोहोरो मोही कायम भएको देखिन आएकोले दोहोरो मोही कायम हुन नसक्ने कानूनी व्यवस्था तथा यस अदालतको नि.नं. २८७९ ने.का.प. २०४३ पृष्ठ ९९५ र नि.नं.३४४८ ने.का.प. २०४५ पृष्ठ संख्या ४३२ मा प्रतिपादित नजीर सिद्धान्त समेतको प्रतिकूल देखिंदा पुनरावेदन अदालत हेटौंडाको फैसलामा न्याय प्रशासन ऐन, २०४८ को दफा १२ को उपदफा (१) को खण्ड (क) र (ख) को त्रुटी विद्यमान देखिंदा मुद्दा दोहोर्याउने निस्सा प्रदान गरिएको छ भन्ने यस अदालतको आदेश ।
१२. नियम वमोजिम पेश हुन अँएको प्रस्तुत मुद्दाको पुनरावेदन सहितको मिसिल अध्ययन गरी पुनरावेदक प्रतिवादीको तर्फवाट विद्वान अधिवक्ता श्री वालकृष्ण न्यौपानेले विवादित कि.नं. २७ को साविक मोही रामेश्वर कलवारको मृत्युपछि निजको छोरा जोगेन्द्रलाई मोही पत्याई निजले जग्गा कमाई आएकोमा निज उपर मोही निस्कासन मुद्दा परी निजले मोही हक छाडी मिति २०४५।२।२६ मा मिलापत्र भएको छ । मिलापत्र उपर विपक्षीले दावी नगरी स्वीकार गरेको छन । जोगेन्द्र मोही भई मोही लगत कायम रहेसम्म अरुलाई कवुलियत गरी दिई बालीको भरपाईको आधारमा दोहोरो मोही कायम हुन सक्तैन, भूमि सम्वन्धी ऐन, २०२१ को दफा ३४ को उपदफा (१) वमोजिम कवुलियत स्थानीय पंचायतमा दाखिल हुनु पर्नेमा दाखिल नभएको त्यस्तो कवुलियतको आधारमा दावी वमोजिम मोही कायम हुन नसक्ने हुँदा मोही कायम गरेको शुरु भूमि सुधार कार्यालयको निर्णय सदर गरेको पुनरावेदन अदालत हेटौंडाको फैसला नमिलेकोले सो फैसला उल्टी हुनु पर्छ भन्ने समेत वहस प्रस्तुत गर्नुभयो । विपक्षी वादीका तर्फबाट विद्वान अधिवक्ता श्री मोशेष अव्वासले कवुलियतले जग्गाधनीले पंचायतमा पठाउनु पर्ने हो, कवुलियत पंचायतमा दाखिल गर्नु पर्ने दायित्व मोहीको होईन । मिलापत्र भईसकेपछि वादी मोही भएकोले दोहोरो मोही कायम भएको छैन । कवुलियत र भरपाईलाई प्रतिवादीले स्वीकार गरेको छन । वारा जिल्ला अदालतमा भएको मिलापत्रबाट जोगेन्द्रले मोही हक छोडेकोमा वादीको मोहीयानी हक विस्थापित भएको छैन । तसर्थ वादीको मोहीयानी हक कायम गरेको शुरु भूमि सुधार कार्यालयको फैसला सदर गरेको पुनरावेदन अदालत हेटौंडाको फैसला सदर हुनु पर्छ भन्ने समेत वहस प्रस्तुत गर्नुभयो ।
१३. उपरोक्त वहसहरु समेत सुनी मोही कायम हुने ठहर्याएको शुरु भूमि सुधार कार्यालयको ईन्साफ मनासिव ठहर्याएको पुनरावेदन अदालत हेटौंडाको ईन्साफ मिलेको छ, छैन त्यसतर्फ निर्णय दिनु पर्ने हुन आयो ।
१४. विवादित कि.नं. २७ को पुर्व तर्फबाट ज.वि. १-८-१० साविक मोही रामेश्वर परलोक भएपछि जग्गाधनीले २०३३।१।१५ मा कवुलियत गरी मोहीमा जोत्न दिनु भएकोले मोहीमा जोती वाली बुझाई भरपाई पनि लिदै आएकोले मोही कायम गरी पाउँ भन्ने फिराद दावी र साविक मोही रामेश्वरको मृत्युपछि निजको छोरा जोगेन्द्रलाई मोही पत्याई निज उपर कुत मोही मुद्दा मैले दिएकोमा निजले मोही हक छाडी मिलापत्र गरी सकेकोले वादीको झूठा उजुरी खारेज गरी पाउँ भन्ने प्रतिउत्तर जिकीर भएको प्रस्तुत मुद्दामा निर्णय तर्फ विचार गर्दा वारा जिल्ला अदालतको मिति २०३०।११।२१ को अन्तिम फैसलाबाट विवादको कि.नं. २७ को जग्गामा रामेश्वर प्रसाद कलवार मोही कायम भई निजको मृत्यु पछि जग्गावालाले निजको छोरा जोगेन्द्र साह कलवारलाई मोही पत्याई जोगेन्द्रले जग्गा कमाई आईरहेकोमा मोही निस्कासन गरी पाउँ भन्ने मुद्दा परी मोही रामेश्वरको छोरा जोगेन्द्रले जग्गाधनीलाई मोही हक छाडी मिति ०४५।२।१६ मा वारा जिल्ला अदालतबाट मिलापत्र भएको देखिएको छ । जोगेन्द्रले सो जग्गाको मोही हक छाडी ०४५।२।१६ मा मिलापत्र गर्नु भन्दा अगावै २०३३ सालको कवुलियतको आधारमा वादीले मोही हकमा दावी गरेको र वादीले कवुलियत गर्दा विवादित जग्गामा दर्तावाला मोही नै कायम भईरहेको देखिन्छ ।
मोहीले कमाई आएको जग्गामा मोही सम्वन्धी निजको हक निजपछि निजको पति पत्नी वा छोराहरु मध्ये जग्गावालाले पत्याएको व्यक्तिलाई प्राप्त हुनेछ भनी भूमि सम्वन्धी ऐन, ०२१ को दफा २६ को उपदफा (१) मा उल्लेख गरेको देखिएबाट दर्तावाला मोहीको मृत्युपछि निजको पति पत्नी वा छोराहरु मध्ये एकलाई जग्गावालाले विधिवत रुपमा मोही रोजेपछि मात्र त्यस्तो जग्गामा रोजिएको व्यक्तिको मोही हक स्थापित हुन सक्ने र सो अवस्था वाहेक दर्तावाला मोही भएको जग्गामा अन्य अवस्थाबाट मोही हक कायम हुन सक्ने र साविक दर्तावाला मोहीलाई कुनै असर पर्ने समेत देखिंदैन । साथै २०३३।१।१५ मा भएको भनीएको कवुलियत स्थानीय पंचायतमा दाखिल भएको देखिंदैन । दुवै पक्षको सहीछाप भएको कवुलियतको एक प्रति स्थानिय पंचायतमा दाखिल गर्ने पर्ने भूमि सम्वन्धी ऐन, २०२१ को दफा ३४ को उपदफा (१) को कानूनी व्यवस्था हुँदा स्थानीय पंचायतमा दाखिल नभएको त्यस्तो कवुलियतले मोहियानी हकको प्राप्तिको लागि कानूनी मान्यता प्राप्त गर्न सक्ने पनि देखिएन । तसर्थ मिति २०३०।११।२१ को वारा जिल्ला अदालतको अन्तिम फैसलाबाट मोही रामेश्वर प्रसाद कलवार मोही कायम रहेको अवस्थामा मिति २०४५।२।१६ को वारा जिल्ला अदालतमा रामेश्वर प्रसाद कलवारको छोरा जोगेन्द्र साह कलवारले जग्गाधनीलाई मोहीयानी हक छाडी भएको मिलापत्र वदर नभई कायम रहेको स्थितिमा २०३३ सालको कवुलियतबाट साविक मोही रामेश्वर प्रसाद कलवारलाई कुनै प्रभाव नपर्ने र स्थानीय पंचायतमा दाखिल नभएको त्यस्तो कवुलियतले कानूनी मान्यता समेत प्राप्त गर्न नसक्ने देखिनाले मोही कायम गरी पाउँ भन्ने वादी दावी नपुग्ने ठहर्छ । पुनरावेदन अदालत हेटौंडाको शुरुको सदर र नारायणी अञ्चल अदालतको उल्टी गरी मोही कायम गर्ने गरेको ईन्साफ नमिलेकोले उल्टी हुन्छ । पुनरावेदन अदालत हेटोंडाको मिति २०५०।११।२२ र शुरु भूमि सुधार कार्यालय वाराको मिति २०४६।३।१ को फैैसला समेतले राख्ने गरेको लगत कट्टा गरी दिनु भनी शुरु भूमि सुधार कार्यालय वारामा लेखि पठाई मिसिल नियमानुसार गरी बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या. उदयराज उपाध्याय
इति सम्वत् २०५३ साल भदौं ११ गते रोज ३ शुभम