निर्णय नं. ६३५८ - वन्दी प्रत्यक्षीकरण

निर्णय नं.- ६३५८ ने.का.प, ०५४ अङ्क ४
संयुक्त इजलास
माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय
माननीय न्यायाधीश श्री नरेन्द्र वहादुर न्यौपाने
सम्वत् २०५३ सालको रिट नं. .... २५४०
आदेश मितिः २०५३।१२।१८।२
विषय : वन्दी प्रत्यक्षीकरण ।
निवेदक : काभ्रेपलान्चोक जिल्ला मच्छे गा.वि.स. वार्ड नं. ९ घर भई हाल कारागार शाखा धूलिखेल, काभ्रे पलान्चोकमा थुनामा रहेको वर्ष ५५ को मानकाजी धोङ (तामाङ) को हकमा का.जि. का.न..पा. वडा नं. ३२ वस्ने ४१ को कृष्ण प्रसाद पाण्डे ।
विरुद्ध
विपक्षी : कारागार शाखा धूलिखेल, काभ्रेपलान्चोक समेत जना ३ ।
§ तारिखमा छाडीएका व्यक्ति र रिट निवेदकहरुका सम्वन्धमा तत्काल प्राप्त के कस्तो प्रमाणहरु थिए, ती प्रमाणहरुको विश्लेषण सहित परस्पर तुलना गरी निरोपण गर्ने जस्तो न्यायिक प्रकृया नियमित न्यायिक क्षेत्राधिकार वाहेक असाधारण क्षेत्राधिकार अन्तर्गत भित्र पर्न नसक्ने ।
(प्र.नं. ८)
§ प्रथम दृष्टिमानै तारिखमा छुटेका व्यक्ति र निवेदकको सम्वन्धमा तत्काल प्राप्त प्रमाण प्रत्यक्षतः उस्तै वा उही देखिंदैन भन्ने प्रमाणको विश्लेषणयुक्त समानता निरोपण गर्नु वन्दीप्रत्यक्षीकरणको रिटको परिधि वाहिर पर्न सक्ने ।
(प्र.नं.८)
§ निवेदकको जिकिर वमोजिम कानूनको प्रयोगमा भेदभाव भएको छ भन्ने भेदभावको स्थिति आफैमा प्रष्ट हुनु पर्ने ।
(प्र.नं.८)
§ प्रमाणको मूल्याकंनमा संभावित परिणामलाई लिएर नेपाल अधिराज्यको संविधानको धारा ११ प्रतिकूल भेदभाव गरी गैरकानूनी थुनामा निवेदकलाई राखिएको भन्नु स्वयंम विवादास्पद हुन जाने भएको र त्यस्तो नियमित अदालतको विचाराधिन विवादास्पद तथ्य्मा पुनरावेदन हेरे जस्तै वन्दीप्रत्यक्षीकरणको रिटबाट निरोपण गर्न नमिल्ने ।
(प्र.नं.८)
निवेदक तर्फवाटः विद्वान वरिष्ठ अधिवक्ता श्री सिन्धूनाथ प्याकुरेल
विपक्षी तर्फवाटः विद्वान सरकारी अधिवक्ता श्री नरेन्द्र प्रसाद पाठक
अवलम्बित नजीरः x
आदेश
न्या. केदारनाथ उपाध्याय: प्रस्तुत रिट निवेदनको संक्षिप्त व्यहोरा यस प्रकार छ ।
२. यसमा प्रतिवादी मध्येका मानकाजी दोङ, रक्तिम लामा, रङवीर दोङ, वीर वहादुर दोङ, च्याङवा दोङ, तिर्थमान दोङ र वुद्धिमान तामाङले अदालतमा वयान गर्दा आफूहरु अपराधमा संलग्न नभएको भनी इन्कारी वयान गरेतापनी अधिकार प्राप्त अधिकारी समक्षको वयानमा सावित भएका, निजहरुको सावितिलाई जाहेरवालाको किटानी जाहेरी, पिडित साइली तामाङ र दोल्मूको घाउ जांंच प्रतिवेदन, निजहरुले प्रहरीमा भएको ठाडो कागजमा यी प्रतिवादीलाई देखेको भन्ने लेखाएका, मान वहादुर दोङ समेतको ठाडो कागजवाट समेत समर्थन हुन आएको देखिन्छ । त्यसै गरी घटनास्थल प्रकृति मुचुल्का, सर्जमीनका व्यक्तिहरुको लेखाई र प्रतिवादी मध्येका मानकाजीको यस अदालतमा भएको वयानले डांकाको वारदात भएको कुरालाई पुष्टि गर्दछ । प्रतिवादी मध्ये वुद्धिमान तामाङको घरबाट केहि सामान र खुकुरी वरामद भएको कुरा र प्र.तिर्थमान दोङबाट हातेवम वरामद भएको कुरामा निजहरुले यस अदालतमा वयान गर्दा खुलाएकै छन । हाल प्राप्त प्रमाणको आधारमा निजहरु उपर अ.वं. ११८ को देहाय (२) आकर्षित हुने देखिएकोले पछि बुझदै जांदा ठहरे वमोजिम हुने गरी हाल पुर्पक्षको लागि थुनामा राख्नु भन्ने विपक्षी नं. १ को थुनछेकको आदेशको आधारमा म हालसम्म थुनामा छु । सो आदेश कानून विपरीत भयो भनी विपक्षी नं. २ पुनरावेदन अदालत, पाटनमा अ.वं. १७ नं. वमोजिम उक्त आदेश वदर गरी पाउँ भनी निवेदन गरेकोमा विपक्षी नं २ बाट समेत विपक्षी नं. १ बाट भएको उक्त आदेश मिलेकै देखिंदा कानून वमोजिम गर्नु भन्ने मिति ०५३।७।१५ मा आदेश भयो ।
३. म निवेदक र जाहेरवालाका वावु वीच काका भतिजको नाता पर्दछ । निजसँग जग्गाको सिमाना खिचोलामा विवाद परेकोले सो जग्गा आफूले एकलौटी खाने नियतले मलाई यस घटनामा मुछेका हुन । प्रतिवादी बनाइएका व्यक्तिहरु मध्ये कसैको घरबाट डांका गरिएका सामान, कसैको हातबाट हात हतियार जस्तो वरामद गरिएको छ । तर मेरो घर तथा शरीरबाट त्यस्तो कुनै दशी प्रमाण वरामद भएको छैन । प्रतिवादी मध्येको पूर्ण वहादुर तामाङलाई अधिकार प्राप्त अधिकारी समक्षको वयानमा इन्कारी तथा मौकाको जाहेरीमा नाम नभएको भनी तारेखमा छोडिएको छ । निजलाई समेत अन्य प्रतिवादीले किटानीसाथ घटनामा सामेल भएको भनी लेखाएका हुन । सर्जमीन मुचुल्कामा निज उपर पूर्ण शंका लाग्छ भनी लेखिएको छ । यस आधारमा निजलाई तारेखमा छोडने तथा मलाई थुनामा राखी कारवाही गर्ने भन्ने विपक्षीको आदेश सरासर त्रुटीपूर्ण छ । त्यसैले विपक्षी नं. १ को मिति ०५२।१२।१३ को थुनछेकको आदेश र सोही आदेशलाई सदर गर्ने विपक्षी नं. २ पुनरावेदन अदालत, पाटनको मिति ०५३।७।१५ को आदेश सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्त तथा संविधानले निर्दिष्ट गरेको व्यवस्था विपरित भएकोले म निवेदकलाई थुनाबाट छाडी तारिखमा राख्नु भनी वन्दीप्रत्यक्षीकरणको रिट जारी गरी पाउँ भन्ने समेत व्यहोराको रिट निवेदन ।
४. यसमा के कसो भएको हो ? निवेदकको माग वमोजिमको आदेश किन जारी हुन नपर्ने हो ? लिखित जवाफ पठाउनु भनी विपक्षीलाई सूचना पठाई नियमानुसार गरी पेश गर्नु भन्ने समेत व्यहोराको यस अदालत एक न्यायाधीशको इजलासबाट मिति ०५३।१०।३ मा भएको आदेश।
५. का.प.जिल्ला अदालतको च.नं. १३०० मिति ०५२।१२।१३ को पत्रानुसार डांका मुद्दामा पछि बुझ्दै जांदा ठहरे वमोजिम हुने गरी पुर्पक्षका लागि थुनामा राख्ने भन्ने आदेश भए वमोजिम यस कारागार शाखाले थुनामा राखेको हो । थुनछेक गर्ने अधिकार प्राप्त अड्डाको आदेश वमोजिम थुन्ने र छोडने यस कारागार शाखाको कर्तव्य हुन आउँदछ । निजलाइ कुनै गैह्र कानूनी तवरले थुनामा राख्ने कार्य भए गरेको नहुँदा यस कारागारको हकमा उक्त नं. २५४० को रिट निवेदन खारेज गरी पाउँ भन्ने समेत व्यहोराको कारागार शाखा काभ्रेको लिखित जवाफ ।
६. मिति ०५२।१२।१३ मा रिट निवेदक प्रहरी अभियोग पत्र साथ वयान र थुनछेकको लागि अदालत समक्ष उपस्थित भै वयान गरेको र अभियोग पत्र साथ संलग्न प्रमाणबाट यी रिट निवेदक उपर जाहेरवालाको किटानी जाहेरी परेको तथा घाइते भनीने पिडित साहिली तामाङ र डोल्मू उपर अभियुक्तहरुले धार भएको हतियार समेत प्रयोग गरेको भन्ने प्रहरीमा गरेको गरेको कागज रहेछ । त्यसै गरी प्रहरीमा ठाडो कागज गर्ने मान वहादुर दोङ र पार्वती दोङको कागज समेतले सोही कुरा समर्थित गरेको देखिन्छ । स्वयं रिट निवेदकले यस अदालतमा गरेको वयानबाट समेत डांकाको वारदात भएको कुरालाई पुष्टि गरेको अवस्थामा प्र. मध्ये वुद्धिमान तामाङको घरबाट केही सामान र खुकुरी, प्र. तिर्थमान दोङबाट हातेबम वरामद भएको कुरा निजहरुले अदालतमा गरेको वयानबाट खुल्न आएको हुँदा तत्काल प्राप्त प्रमाणको आधारमा निज उपर अ.वं. ११८ (२) वमोजिम थुनामा राखिएको हो । विपक्षीको दावी मुताविक रिट जारी हुनु पर्ने होइन रिट खारेज गरी पाउँ भन्ने समेत व्यहोराको का.प. जिल्ला अदालतको लिखित जवाफ।
७. नियमानुसार पेश हुन आएको प्रस्तुत रिट निवेदनमा निवेदकको तर्फबाट उपस्थित विद्वान वरिष्ठ अधिवक्ता श्री सिन्धूनाथ प्याकुरेलले मेरो पक्ष र जाहेरवालाको वावु वीच चलेको सिमाना खिचोला मुद्दाको इवीले जाहेरीमा मेरो पक्षको नाम परेको हो । वारदात भएको कुरालाई मेरो पक्षले इन्कार गरेको पनि छैन । निवेदकको घर जिउबाट कुनै दशी प्रमाण वरामद हुन सकेको छैन । अन्य प्रतिवादीहरुले किटानी साथ घटनामा सामेल रहेको भनी लेखाएका प्र. पूर्ण वहादुरलाई तारिखमा राख्ने र मेरो पक्षलाई थुनामा राख्ने थुनछेकको आदेश सर्वोच्च अदालतबाट प्रतिपादित शिद्धान्त विपरित छ भनी वहस प्रस्तुत गर्नु भयो । विपक्षी कारागार शाखा समेतका तर्फबाट उपस्थित विद्वान सरकारी अधिवक्ता श्री नरेन्द्र प्रसाद पाठकले कानून वमोजिम थुनछेकको आदेश भएको हुँदा प्रस्तुत रिट निवेदन खारेज हुनु पर्छ भनी वहस गर्नु भयो ।
८. विद्वान अधिवक्ताहरुले प्रस्तुत गर्नु भएको वहस समेत सुनी निवेदन सहितको मिसिल अध्ययन गरी हेर्दा प्रस्तुत रिट निवेदनमा निवेदकको माग वमोजिमको आदेश जारी हुने हो होइन ? सो विषयमा निर्णय दिनु पर्ने देखिन आयो । निर्णय तर्फ विचार गर्दा यसमा डांका मुद्दाको अभियोगमा तत्काल प्राप्त प्रमाणको विवेचना गरी रिट निवेदकहरुलाई पुर्पक्षको लागि थुनामा राख्ने गरी शुरु काभ्रेपलान्चोक जि.अ.बाट आदेश गरेको देखियो । न्यायिक कारवाहीको सिलसिलामा का.प.जिल्ला अदालतबाट भएको उक्त अन्तरकालिन आदेश उपर तथ्यगत आधारको उपयुक्तता पुनरावेदन अदालत पाटनबाट समेत अ.वं. १७ नं. को क्षेत्राधिकार अन्तर्गत हेरी जिल्ला अदालतको उक्त आदेशलाई मनासिव ठहर्याएको समेत देखिन्छ । समान अवस्थामा रहेका पूर्ण वहादुरलाई थुनामा राखिएन, मेरो पक्षलाई चांहि राखियो भन्ने निवेदक पक्षका विद्वान अधिवक्ता
श्री सिन्धूनाथ प्याकुरेलले वहस गर्नु भएको छ । तारिखमा छाडीएका व्यक्ति र रिट निवेदकहरुका सम्वन्धमा तत्काल प्राप्त के कस्तो प्रमाणहरु थिए, ती प्रमाणहरुको विश्लेषण सहित परम्पर तुलना गरी निरोपण गर्ने जस्तो न्यायिक प्रकृया नियमित न्यायिक क्षेत्राधिकार वाहेक असाधारण क्षेत्राधिकार अन्तर्गत हुन सक्ने देखिदैन । खासगरी यद्यपी प्रथम दृष्टिमा नै तारिखमा छुटेका व्यक्ति र निवेदकको सम्वन्धमा तत्काल प्राप्त प्रमाण प्रत्यक्षतः उस्तै वा उही देखिंदैन भन्ने प्रमाणको विश्लेषणयुक्त समानता निरोपण गर्नु वन्दीप्रत्यक्षीकरणको रिटको परिधि वाहिर पर्न जान्छ । निवेदकको जिकिर वमोजिम कानूनको प्रयोगमा भेदभाव भएको छ भन्ने भेदभावको स्थिति आफैमा प्रष्ट हुनु पर्छ । प्रमाणको मूल्याकंनमा संभावित परिणामलाई लिएर नेपाल अधिराज्यको संविधानको धारा ११ प्रतिकूल भेदभाव गरी गैर कानूनी थुनामा निवेदकलाई राखिएको भन्नु स्वयंम विवादास्पद हुन जाने भएको र त्यस्तो नियमित अदालतको विचाराधिन विवादास्पद तथ्य्मा पुनरावेदन हेरे जस्तै वन्दीप्रत्यक्षीकरणको रिटबाट निरोपण गर्न नमिल्ने हुँदा प्रस्तुत रिट निवेदन खारेज हुने ठहर्छ । मिसिल नियमानुसार गरी बुझाई दिनु ।
उक्त रायमा सहमत छु ।
न्या. नरेन्द्र वहादुर न्यौपाने
इति सम्वत् २०५३ साल चैत्र १८ गते रोज २ शुभम्