शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ६३७२ - निषेधाज्ञा

भाग: ३९ साल: २०५४ महिना: भाद्र अंक:

निर्णय नं. ६३७२          ने.का.प.२०५४       अङ्क ५

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री केशव प्रसाद उपाध्याय

माननीय न्यायाधीश श्री नरेन्द्र वहादुर न्यौपाने

सम्वत् २०५२ सालको दे.पु. नं. . ..३३६९

फैसला मितिः २०५३।१२।६।४

 

मुद्दा : निषेधाज्ञा ।

 

पुनरावेदक/प्रत्यर्थीः धनुषा जनकपुर नगरपालिका वडँ नं. ८ वस्ने त्रिभूवन दाशको मु.स. गर्ने ऐ.वडा नं.१३ स्थित पिडारी समाज सेवा कल्याण सेवा समितिका अध्यक्ष सत्य नारायण यादव समेत जना ५

विरुद्ध

निवेदक/विपक्षी : धनुषा जनकपुर नगरपालिका वडा नं. १४ स्थित धर्म संस्था जनकपुरको संचालक फुलगेन शाह व्याहुत सुडी

 

§  विवादित जग्गामा आफ्नो स्वामित्वमा कायम नभई भोग सम्म रहेको भोगवालालार्ई आफ्नो स्वामित्वमा नरहेको जग्गामा अर्कोलार्ई धर्मशाला तथा अन्य निर्माण कार्य गर्न दिने अधिकार नहुने ।    

(प्र.नं. ८)

 

 

पुनरावेदक तर्फवाटः विद्वान अधिवक्ता श्री राधेश्याम पराजुली

विपक्षी तर्फवाटः

अवलम्बित नजीरः

 

फैसला

            न्या.केशवप्रसाद उपाध्यायः पुनरावेदन अदालत, जनकपुरको फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९ (१) (क) अनुसार पुनरावेदन परी पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार छः

            २. जनकपुर नगरपालिका अन्तर्गत वडा नं. ८ स्थित रत्नसागरको उत्तर डिलमा स्थापित भगवान साकेत विहारीको मन्दिर स्थापित गरी वांकी रहेको साविक कि.नं. १०३७ को ०--१६.१/२ जग्गा धर्म संस्था अन्तर्गतको जग्गा हो गाउ व्लकमा परी २०२५ सालमा नापी नभएको शरी क्षेत्रवाट नापी हुँदा कि.नं. २९ कायम भइ साविक भन्दा ०--१३ जग्गा घटी भएको छ । मन्दीरको छेउमाक् दर्शनार्थहरुको वस्ने ठाउँका लागि घर निर्माण हुदै गरिएको छ । उल्लेखित जग्गा पिडारी समाज कल्याण सेवा समितिले उपलव्ध गराउन माग गरिएकोमा नदिएको कारण सो ठांउमा भवन निर्माण गर्ने सरूसार गरी निर्माण सामग्री थुपार्ने गरेको हुँदा उल्लेखित जग्गामा प्रवेश गरी कुनै प्रकारको निर्माण नगर्नु भन्ने निषेधाज्ञाको आदेश जारी गरी पाउँ भन्ने समेत निवेदन पत्र ।

            ३. निवेदकको जग्गामा निर्माण कार्य नगर्नु भनी विपक्षीहरुको नाममा अर्को आदेश नहुन्जेलसम्म आदेश जारी गर्नु भन्ने पुनरावेदन अदालत, जनकपुरको २०५१।७।११ गतेको आदेश।

            ४. यस कुटीलार्ई विपक्षीका वावु काकाले ३--० जग्गा दानको रुपमा दिनु भएको जग्गा कुटीलार्ई भोग गर्न नदिएको उव्जा वाली विपक्षीले नै खाने गरेको छ । कुटी देखि पुर्व तिर साविक देखि ऐलानी रुपमा रहेको जग्गा विगत नापीमा नापी हुँदा कि.नं. २९ मा ०--१२ कायम भई मेरो भोगमा छ । सोही जग्गामा धर्मशाला वनाउने इच्छा हुँदा पिडारी समाज कल्याण सेवा समितिले आफने खर्चमा सर्वथा जग्गामा धर्मशाला निर्माण गरी दिने वचन दिए अनुसार मन्जूरनामा गरी दिनु भएको छ । धर्मशाला वनाउन लागेको ठाउँ कि.नं. १०३० को जग्गा कुटी भन्दा उत्तर पर्दछ । अतः विपक्षीको निवेदन दावी झूट्टा हुँदा खारेज गरी पाउँ भन्ने समेत व्यहोराको लिखित जवाफ ।

            ५. विपक्षीले आफ्नो हक सृजना गरी नगरपालिकावाट नक्सापास गरी धर्मशाला वनाउन सक्नेमा हाल विपक्षीको कि नं. २९ को जग्गामा स्वामित्वको अभाव देखिंदा विवादास्पद कि.नं. २९ को जग्गामा कुनै किसिमको भवन निर्माण नगर्नु भनी विपक्षीहरुको नाममा निषेधाज्ञाको आदेश जारी हुने ठहर्छ भन्ने समेत व्यहोराको पुनरावेदन अदालत, जनकपुरको फैसला ।

            ६. पुनरावेदन अदालत, जनकपुरले निषेधाज्ञाको निवेदन जारी हुने ठहर्‍याएको निर्णय त्रुटिपूर्ण हुँदा वदर गरी पाउँ भन्ने समेत व्यहोराको सत्य नारायण यादव समेत जना ७ को यस अदालतमा पर्न आएको संयुक्त पुनरावेदन पत्र ।

            ७. नियम वमोजिम पेशी सुचिमा चढी निर्णयार्थ इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक तर्फवाट उपस्थित विद्वान अधिवक्ता श्री राधेश्याम पराजुलीले विपक्षी धर्मसंस्थालार्ई नागरिक ऐन अन्तर्गत निवेदन दिने अधिकार छैन विवादको कि.नं. २९ को जग्गामा विपक्षीको निर्विवाद हकभोग कव्जा समेत नभएको हुँदा विपक्षीको निर्विवाद हक स्थापित नभएको अवस्थामा निषेधाज्ञाको आदेश जारी गर्न मिल्दैन भनी आफ्नो वहस जिकीर प्रस्तुत गर्नु भयो ।

            ८. विद्वान अधिवक्ताले गर्नु भएको वहस जिकीर समेत सुनी निर्णय तर्फ विचार गर्दा यसमा विवादको साविक कि.नं १०३० हाल शहरी क्षेत्र नापी क्याम्पवाट कायम भएको कि नं. २९ को जग्गाको क्षेत्रीय किताव हेर्दा जग्गा धनीमा भगवान साकेत विहारीको नाम उल्लेख भएको पाइयो । शहरी क्षेत्र नापी टोलीले नापीमा फिल्डवुकको कैफियतमा त्रिभूवन दाशको भोग रहेको कुरा सम्म उल्लेख गरेको देखिन्छ । यसरी विवादित जग्गामा आफ्नो स्वामित्व कायम नभई भोग सम्म रहेको भोगलार्ई आफ्नो स्वामित्वमा नरहेको जग्गामा अर्कोलार्ई धर्मशाला तथा अन्य निर्माण कार्य गर्न दिने अधिकार नहुने हुँदा विवादास्पद कि.नं २९ को जग्गामा कुनै निर्माण कार्य नगर्नु भनी निषेधाज्ञा जारी गर्ने गरेको पुनरावेदन अदालत, जनकपुरको फैसला मिलेको देखिंदा सदर हुने ठहर्छ । मिसिल नियमानुसार गरी वुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या. नरेन्द्र बहादुर न्यौपाने

 

इति सम्वत् २०५३ साल चैत्र ६ गते रोज ४ शुभम

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु