शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ६३८९ - वन्दीप्रत्यक्षीकरण

भाग: ३९ साल: २०५४ महिना: असोज अंक:

निर्णय नं. ६३८९           २०५४, ने.का.प.                       अङ्क ६

 

संयुक्त इजलास

सम्माननीय प्रधान न्यायाधीश श्री त्रिलोकप्रताप राणा

माननीय न्यायाधीश श्री उदयराज उपाध्याय

सम्वत् २०५३ सालको दे.पु.नं. ......... २९७४

फैसला मितिः ०५४।१।२५।४

विषयः वन्दीप्रत्यक्षीकरण ।

 

पुनरावेदक/प्रत्यर्थीः जिल्ला प्रहरी कार्यालय वांके ।

विरुद्ध

विपक्षी/निवेदकः भारत जिल्ला ववहराइच छायाकुवा वस्ने वावुलाल वारीको हकमा दिग्वीजय सिघल ।

§  वन्दीप्रत्यक्षीकरणको मुख्य उद्देश्य गैरकानूनी थुनामा रहेको वन्दीलाई सो गैरकानूनी थुनाबाट मुक्त गर्नु हो । वन्दी थुनामा नरहेको वा थुनाबाट छुटीसकेकोमा अदालतबाट वन्दीप्रत्यक्षीकरणको आदेश जारी हुदैन अर्थात वन्दीलाई थुनाबाट मुक्त गर्नु पर्ने अवस्था नै पर्दैन । वन्दीलाई थुनामा राख्नुको कानूनसँगत आधार र अवस्था नदेखिएको अवस्थामा वन्दीलाई थुनाबाट मुक्त गर्ने आदेश गर्नु नै वन्दीप्रत्यक्षीकरणको उद्देश्य हो । वन्दी प्रत्यक्षीकरणको मुद्दामा वन्दीप्रत्यक्षीकरणको आदेश र यसको कार्यान्वयन साथ साथै हुने गर्दछ अन्य मुद्दामा झै फैसला आदेश कार्यान्वय गर्न पर्खिरहनु पर्दैन । वन्दीप्रत्यक्षीकरणको मुद्दा जसमा वन्दीलाई निजको थुना गैरकानूनी देखिइ रिहाई गरिदिने गरेको निर्णय र सो को कार्यान्वयन समेत भैसकेको अवस्थमा पुनरावदेन तहबाट छुटिसकेको वन्दीलाई पुनः थुनामा राख्नु भनी भन्न नमिल्ने ।           

(प्र.नं.११)

 

पुनरावेदक तर्फवाटः विद्वान वरिष्ठ सरकारी अधिवक्ता श्री वलराम के.सी. ।

निवेदक तर्फवाटः

अवलम्वित नजीरः

 

आदेश

     प्र.न्या.त्रिलोक प्रताप राणाः न्याय प्रशासन ऐन, ०४८ को दफा ९(१) (क) बमोजिम पुनरावेदन अदालत नेपालगंजको मिति २०५२।१२।१ को आदेश उपर यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छः

      २. आफूले काम्पोज ड्राइजीपाम मेथीजन इन्जेक्शन तैयारी औषधी आयात गरेको भनी थुनामा राखेको र लागु औषध (नियन्त्रण) ऐन, २०३३ को दफा २३ (क) अनुसार ऐ ऐनको दफा ३ को खण्ड (क) को उपखण्ड (७) बमोजिम  तोकिएको औषधीको पैठारी सम्वन्धी कार्यवाही औषधी ऐन, २०३५ बमोजिम हुने व्यवस्था छ । औषधी ऐन २०३५ वमोजिमको कार्यवाही औषधी ऐन २०३५ को दफा ३९ (१) बमोजिम हुन सक्नेमा विपक्षी नं. १ समेत भई अवैध रुपमा थुनामा राखेको हुँदा नागरिक अधिकार ऐन, २०१२ को दफा १२ को प्रतिकूल भएकोले वन्दी प्रत्यक्षीकरणको आदेश जारी गरी पाउँ भन्ने समेत व्यहोराको निवेदन ।

      ३. यसमा के कसो भएको हो र निवेदकको माग वमोजिम वन्दीप्रत्यक्षीकरणको आदेश किन जारी हुन नपर्ने हो ? ऐन कानून वमोजिमको कुनै कारण र अवस्था भए सूचना जारी तामेल भएको २४ घण्टा भित्रै पुनरावेदन सरकारी वकिल कार्यालय मार्फत वन्दीलाई समेत साथ लिई लिखित जवाफ प्रस्तुत गर्नु भनी विपक्षीलाई सूचना जारी गरी तामेल गरी लिखित जवाफ परेपछि पेशीमा चढाई नियम वमोजिम पेश गर्नु भन्ने मिति ०५२।११।२८ को आदेश ।

      ४. निवेदक बाबुलाल वारीले ०५२।११।११ गते भारतवाट आफ्नो झोला भित्र लुकाई  काम्पोज ड्राइजीपाम इन्जेक्शन (Colmpose Diasepam Injection) १०० पीस र मथर्जिन इन्जेक्शन (Matlrydergome trine Injection) १०० पीस नेपाल भित्र पैठारी गर्न लाग्दा प्रहरी चौकी जमुनहाका प्रहरीहरुले तलासी लिंदा निजवाट वरामद हुन आएको उक्त औषधी मध्ये (काम्पोज डाइजीपाम इन्जेक्शन) लागु औषध (नियन्त्रण) ऐन, ०३३ को दफा ३ खण्ड (क) को उप खण्ड (७) को प्रयोजनकोलागी ऐ ऐनको समुह (ख) मा तोकिएको मनोद्धिपक औषधीहरु मध्ये परेकोले सो (कम्पोज डाइजेपाम) लाई लागु औषध भनिएको र लागु औषध सम्वन्धी मुद्दा स.मु.स. ऐन, २०४९ को अनुसूची १ भित्र पर्ने हुँदा निज बाबुलाल वारीलाई लागु औषध (नियन्त्रण) ऐन, ०३३ को दफा २२ (ग) बमोजिम सम्मानित वांके जिल्ला अदालतवाट अनुमति लिई हिरासतमा राखिएको भन्ने समेत व्यहोराको जि.प्र.का.वांकेको लिखित जवाफ ।

      ५. प्र.ना.नि. कूल वहादुर गुरुङ समेतको जाहेरीले वादी श्री ५ को सरकार प्रतिवादी वावुलाल वारी भएको लागु औषध प्रतिवन्धित इन्जेक्शन मुद्दामा निज प्रतिवादी पक्राउ भई यस कार्यालयमा दाखेल हुन आएकोले निजको वयान समेत गराउनको लागी हिरासतमा राख्ने अनुमती पाउँ भनी जि.प्र.का.वांके वाट पटक पटक मांग भई आए वमोजिम म्याद थप गरी दिएको भन्ने समेत व्यहोराको वांके जिल्ला अदालतको लिखित जवाफ ।

      ६. यसमा लागु औषध (नियन्त्रण) ऐन, २०३३ अन्तर्गत कारवाहीको सिलसिलामा अदालतवाट अनुमति लिई थुनुवा वावुलाल वारीलाई थुनामा राखेको भन्ने लिखित जवाफवाट देखिंदा सो कारवाही सम्वन्धी सक्कल मिसिल समेत साथ राखी पेश गर्नु भन्ने मिति ०५२।११।२९ को आदेश ।

      ७. सो आदेश वमोजिम उक्त सक्कल मिसिल जिल्ला प्रहरी कार्यालय वांकेवाट प्राप्त भएको।

      ८. निवेदकवाट वरामद भएको कम्पोज ड्राइजीपाम इन्जेक्सन लागु औषध (नियन्त्रण) ऐन, २०३३ को दफा ३(क) (७) वमोजिम तोकिएको मनोद्धीपक पदार्थ र फमास्क्युटिकल वनोटका तैयारी औषधी देखिएकोले यस्तो तयारी औषधीका सम्वन्धमा उक्त ऐनको दफा २३ (क) मा भएको कानूनी व्यवस्था बमोजिम औषधी ऐन, २०३५ अनुसार कारवाही हुनु गर्नुपपर्नेमा सो ऐन वमोजिम कारवाही नगरी लागु औषध (नियन्त्रण) ऐन, ०३३ अन्तर्गतको कसुर भनी निवेदकलाई प्रचलित कानूनी व्यवस्था विपरीत विपक्षी जिल्ला प्रहरी कार्यालयले अनाधिकार हिरासतमा लिई कारवाही प्रारम्भ गरेको र वांके जिल्ला अदालतले पनि प्रचलित कानून विपरितको कारवाहीको लागि हिरासतमा राख्न अनुमति दिएको समेत कार्य गैर कानूनी भएकोले स.मु.स. ऐन, २०४९ को दफा ३२ र औषधी ऐन, २०३५ बमोजिम हुन गर्न जे जो गर्नु पर्ने हो गरी निवेदक बाबुलाल वारीलाई त्यस्तो गैर कानूनी थुनावाट अविलम्व मुक्त गरी दिनु भनी बिपक्षी जिल्ला प्रहरी कार्यलयको नाममा नागरिक अधिकार ऐन, २०१२ को दफा १६ (२) बमोजिम वन्दीप्रत्यक्षीकरणको आदेश जारी हुने ठहर्छ भन्ने पु.वे.अ. नेपागंजको मिति ०५२।१२।१ को आदेश ।

      ९. पुनरावेदन अदालत नेपालगंजको आदेश बमोजिम विपक्षी निवेदक वाबुलाल वारीलाई मिति ०५२।१२।१ गते नै यस कार्यालयको हिरासतवाट छाडिएको हुँदा त्यसरी लागु औषध नियन्त्रण ऐन, २०३३ को दफा ३(क) (७) को प्रयोजनार्थ समुह (ख) मा तोकिएको लागु औषध       (Colmpose Diasepam Injection) स.मु.स. ऐन, २०४९ को अनुसूची १ भित्रको लागु औषध मुद्दा भएकोले उक्त लागु औषध मुद्दामा र अव उप्रान्त पर्न आउने यस किसिमको लागु औषध मुद्दामा स.मु.स.ऐन, २०४९ द्वारा प्रदत्त अधिकार वमोजिम प्रहरीवाट अनुसन्धान तहकीकात पूरा गरी मुद्दा दायर गर्ने आदेश जारी गरी पाउन सादर अनुरोध गरिएको छ भन्ने जिल्ला प्रहरी कार्यालय वांकेको यस अदालतमा पर्न आएको पुनरावेदन ।

      १०. नियम वमोजिम पेश हुन आएको प्रस्तुत मुद्दामा प्रत्यर्थी पुनरावेदकका तर्फवाट उपस्थित विद्वान वरिष्ठ सरकारी अधिवक्ता श्री वलराम के.सी.ले विपक्षी वावुलाल वारीको हकमा मुद्दाको सिलसिलामा लागु औषध नियन्त्रण ऐन, २०३३ को दफा २२(ग) बमोजिम वांके जिल्ला अदालतवाट अनुमति लिई हिरासतमा राखी कारवाही भै रहेकोमा वन्दीप्रत्यक्षीकरणको आदेश जारी गरी पुनरावेदन अदालत नेपालगंजले थुनावाट मुक्त गर्ने गरेको आदेश मिलेको छैन । सो आदेश वदर गरी निज वावुलाललाई थुनामै राख्ने आदेश जारी हुनुपर्छ भनी बहस प्रस्तुत गर्नु भयो । उपरोक्त बहसलाई समेत दृष्टिगत गरी पुनरावेदन अदालत नेपालगंजको आदेश मिलेको छ छैन ? भन्ने विषयमा निर्णय दिनु पर्ने देखिन आयो ।

      ११. निर्णयतर्फ विचार गर्दा निज निवेदक वावुलाल वारीका सम्वन्धमा काम्पोज डाइजिपाम इन्जेक्सन भारतवाट झोलाभित्र लुकाई नेपाल भित्र पैठारी गर्नलाग्दा वरामद भएको भन्दै लागु औषध सम्वन्धी मुद्दा स.मु.स.ऐन, २०४९ को अनुसूची १ भित्र पर्ने हुँदा कारवाहीको सिलसिलामा वांके जिल्ला अदालतवाट अनुमति लिई हिरासतमा राखिएको भनी जि.प्र.का.वांकेवाट कारवाही भै रहेकोमा निवेदकवाट वरामद भएको काम्पोज डाइजिपाम इन्जेक्सन लागु औषध नियन्ण  ऐन, २०३३  को दफा ३ (क) (७) बमोजिम तोकिएको मनोद्धिपक पदार्थ र फर्मास्युटिकल वनौटका तयारी औषधी देखिएकोले उक्त ऐनको दफा ३३ (क) मा भएको कानूनी व्यवस्था वमोजिम औषधी ऐन, २०३५ अनुसार कारवाही हुनु गर्नुपर्नेमा सो बमोजिम नगरी लागु औषध नियन्त्रण ऐन, २०३३ अन्तर्गतको कसुर भनी हिरासतमा राखी कारवाही प्रारम्भ गरेको र हिरासतमा राख्न अनुमति लिएको समेत गैर कानूनी भएकोले थुनावाट अविलम्व मुक्त गरिदिनु भनी पुनरावेदन अदालत नेपालगंजवाट वन्दीप्रत्यक्षीकरणको आदेश जारी भएको देखिन्छ । वन्दीप्रत्यक्षीकरणको मुख्य उद्देश्य गैरकानूनी थुनामा रहेको वन्दीलाई सो गैरकानूनी थुनाबाट मुक्त गर्नु हो । वन्दी थुनामा नरहेको वा थुनाबाट छुटीसकेकोमा अदालतबाट वन्दीप्रत्यक्षीकरणको आदेश जारी हुदैन अर्थात वन्दीलाई थुनाबाट मुक्त गर्नु पर्ने अवस्था नै पर्दैन । वन्दीलाई थुनामा राख्नुको कानूनसँगत  आधार र अवस्था नदेखिएको अवस्थामा वन्दीलाई थुनाबाट मुक्त गर्ने आदेश गर्नु नै वन्दीप्रत्यक्षीकरणको उद्देश्य हो । वन्दी प्रत्यक्षीकरणको मुद्दामा वन्दीप्रत्यक्षीकरणको आदेश र यसको कार्यान्वयन साथ साथै हुने गर्दछ अन्य मुद्दामा झै फैसला आदेश कार्यान्वय गर्न पर्खिरहनु पर्दैन । वन्दीप्रत्यक्षीकरणको मुद्दा जसमा वन्दीलाई निजको थुना गैरकानूनी देखिइ रिहाई गरिदिने गरेको निर्णय र सो को कार्यान्वयन समेत भैसकेको अवस्थमा पुनरावदेन तहबाट छुटिसकेको वन्दीलाई पुनः थुनामा राख्नु भनी भन्न मिल्ने अवस्था पर्दैन । गैरकानूनी थुनामा रहेको ठहर भई थुनावाट मुक्त गरेको स्थिति समेत हुँदा वादी श्री ५ को सरकारको पुनरावेदन जिकिर पुग्न सक्तैन । प्रस्तुत पुनरावेदन खारेज हुने ठहर्छ । मिसिल नियमानुसार गरी वुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या. उदयराज उपाध्याय ।

 

इति सम्वत ०५४ साल वैशाख २५ गते रोज ४ शुभम

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु