निर्णय नं. ६४०४ - वन्दीप्रत्यक्षीकरणको आदेश जारी गरी पाउँ

नि.नं. ६४०४ ०५४ ने.का.प अङ्क ७
पूर्ण इजलास
माननीय न्यायाधीश श्री कृष्ण कुमार वर्मा
माननीय न्यायाधीश श्री नरेन्द्र वहादुर न्यौपाने
माननीय न्यायाधीश श्री भैरव प्रसाद लम्साल
सम्वत् २०५४ सालको रि.पु.ई.नं. ... ८८
आदेश मितिः २०५४।५।१९।५
विषयः वन्दीप्रत्यक्षीकरणको आदेश जारी गरी पाउँ ।
निवेदकः जिल्ला सुनसरी इनरुवा नगरपालिका वडा नं. ९ घर भई हाल जिल्ला कार्यालय कारागार शाखा मोरङमा थुनामा रहेको वर्ष ७२ को काली प्रसाद खनाल समेत जम्मा ३ ।
बिरुद्ध
विपक्षीः जिल्ला सरकारी वकील कार्यालय इनरुवा समेत ।
§ विद्वान कानून व्यवसायीहरुको वहस जिकिर समेत सुनी मिसिल अध्ययन गरी निर्णय तर्फ विचार गरी हेर्दा यस्मा तारेखमा राखिएका प्रतिवादी डल्ली भन्ने दुर्गादेवी ढकाल समेतका अन्य प्रतिवादीहरुको तथ्य अवस्था र प्रमाणहरु समान रहेकोमा निवेदकहरुलाई थुनामा राख्ने गरी गरेको आदेश भेदभावपूर्ण भै त्रुटीयुक्त हुँदा वदर गरी पाउँ भन्ने समेत व्यहोराको निवेदकको मुख्य निवेदन जिकिर देखिन्छ । शुरु सुनसरी जिल्ला अदालतले यी निवेदकहरु समेतलाई पुर्पक्षको लागि थुनामा राखी कार्यवाही गर्ने गरेको आदेश उपर प्रतिवादीहरु हिरण्य प्रसाद दाहाल, सीता दाहाल, डल्ली भन्ने दुर्गा देवी ढकालका हकमा विष्णु प्रसाद दुलालले जाहेरीमा शंकासम्म देखाएको, निजहरु प्रहरी र अदालतमा कसुर गरेमा इन्कार रहेको, चश्मदिद गवाह कोही नभएको भन्ने समेतका आधारमा निजहरुलाई पुर्पक्षको लागि तारेखमा राख्ने र यी निवेदकहरुको हकमा कालि प्रसाद खनाल र तीर्थ कुमारी खनाल कसुरमा इन्कार रहेकोमा पनि मृतकसँग झै झगडा रीसइवी भै राखेको भन्ने देखिनुका साथै मिसिल संलग्न अन्य प्रमाणबाट समेत अ.वं. ११८ को देहाय २ को अवस्था विद्यमान छैन भन्न सकिने अवस्था नदेखिंदा निजहरुको हकमा तहांको मिति २०५३।४।३२ को आदेशमा कुनै परिवर्तन गर्न परेन कानून वमोजिम गर्नु भन्ने पुनरावेदन अदालत विराटनगरको आदेश वमोजिम निवेदकहरु थुनामै रहेको भन्ने देखिन आउँछ । प्रहरी समक्ष कागज गर्ने कृष्ण प्रसाद ढकालले प्रतिवादी हिरण्य प्रसादले वन्द वोरा नाम्लो लगाई वोकेको अरु प्रतिवादी पछि पछि हिडेको भनी लेखाई दिएको देखिन्छ । यी निवेदकहरु समेतका अन्य प्रतिवादीहरु समेत प्रहरी र अदालतमा वयान गर्दा मृतक राधा देवीलाई मारी झूण्ड्याएमा पूर्ण इन्कार रहेको जाहेरवाला विष्णु प्रसादको जाहेरी दरखास्तको व्यहोरा वाहेक यी निवेदकहरुको विरुद्धमा प्रमाण लाग्ने अन्य परिस्थितिजन्य पृथक प्रमाण मिसिल संलग्न रहेको पाइदैन । ने.का.प. २०५२, पृ.४७८ मा प्रतिपादन भएको समान स्थिति र तथ्य रहेको वीचमा समान व्यवहार गर्नु पर्ने भन्ने यस अदालतबाट प्रतिपादित सिद्धान्तसँग असहमत हुनु पर्ने अवस्था नदेखिंने ।
(प्र.नं. १४)
§ माथि गरिएको विवेचनाबाट उही तथ्य र स्थिति रहेका अन्य प्रतिवादीहरुलाई तारेखमा राख्ने यी निवेदकहरुको हकमा पुर्पक्षको लागि अ.वं. ११८ को देहाय (२) वमोजिम थुनामै राख्ने भनी सुनसरी जिल्ला अदालतले मिति २०५३।४।३२ मा गरेको आदेश केही वदर केही सदर गर्ने गरी गरेको पुनरावेदन अदालत विराटनगरको मिति २०५३।८।७ को आदेश नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ११ द्वारा प्रत्याभूत गरिएको समानताको सिद्धान्तको विपरित देखिने ।
(प्र.नं. १५)
§ वारदातमा समान तथ्य र परिस्थिति भएको तथा समान संलग्नता भएका प्रतिवादीहरुलाई समान रुपमा तारेखमा राख्नु पर्नेमा निवेदकहरुलाई थुनामा राख्ने शुरु सदर गरेको पुनरावेदन अदालत विराटनगरको मिति २०५३।८।७ को आदेश त्रुटीपूर्ण देखिंदा उक्त आदेश वदर गरी वन्दीप्रत्यक्षीकरणको आदेश जारी भै पछि ठहरे वमोजिम हुने गरी निवेदकहरुलाई समेत तारेखमा राखी पुर्पक्ष गर्नु भनी सुनसरी जिल्ला अदालतमा लेखी पठाई दिने ठहर गरेको माननीय न्यायाधीश श्री केशव प्रसाद उपाध्यायको राय मुनासिव देखिदा सो राय सदर हुने ।
(प्र.नं. १६)
निवेदक तर्फबाटः विद्वान अधिवक्ता श्री हरिहर दाहाल, विद्वान अधिवक्ता श्री राम प्रसाद सिटौला, विद्वान अधिवक्ता श्री केशव प्रसाद दाहाल
विपक्षी तर्फबाट :
अवलम्वित नजीरः ने.का.प. २०५२, पृ.४७८ मा सिद्धँन्त प्रतिपादन ।
आदेश
न्या.नरेन्द्र वहादुर न्यौपानेः नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३ र धारा ८८(२) अन्तर्गत परेको रिट निवेदमा संयुक्त इजलासका माननीय न्यायाधीशहरु वीच मतैक्य हुन नसकी सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३(१) (क) बमोजिम यस इजलास समक्ष पेश हुन आएको प्रस्तुत रिट निवेदन सहितको व्यहोरा यस प्रकार छ ।
२. मिति २०५३।३।३१ मा वांस झांङ्गमा राधादेवी खनाल भूण्डीइ मरेको अवस्थामा फेला परेकोमा म काली प्रसाद खनाल र विष्णु प्रसाद खनालको छुट्टा छुट्टै जाहेरी परेको छ । मौकामा अनुसन्धान तहकिकात भई हामी निवेदकहरु समेतलाई प्रतिवादी बनाई अभियोग पत्र प्रस्तुत भएको छ । मार्ने पूर्व योजना बनाई मिति २०५३।३।३० गतेको रातीको समयमा काली प्रसाद खनाल, तिर्थ कुमारी खनाल, डल्ली भन्ने दुर्गादेवी ढकाल, हिरण्य प्रसाद दाहाल, सीता दाहाल र नारायण प्रसादको मिलोमतोमा मृतक राधादेवी खनाललाई कर्तव्य गरी मारी निज मृतक कै साडीको पासो बनाई दत्त प्रसादको वांसको भ्mयाङ्गमा झूण्ड्याइएको तथ्य देखिन आएको हुँदा निजहरुले मुलुकी ऐन, ज्यान सम्बन्धी महलको. १ नं. अनुसारको कसुर अपराध गरेकोले सोही महलको १३(३) नं. बमोजिम सजाय गरी पाउने माग दावी गरी सुनसरी जिल्ला अदालत समक्ष अयिभोग पत्र पेश गरीएकोमा प्रतिवादीहरु कसुर गरेकोमा इन्कारी भएपनि प्रतिवादीहरुको जिकिर र लाश प्रकृति मुचुल्कामा उल्लेख भए गरेको तथा प्रहरीमा कागज गर्ने व्यक्तिहरुले दिएको वयान वस्तुस्थिति मुचुल्का तथा सरजमिनका व्यक्तिहरुको भनाई समेतको आधारवाट अ.वं. ११८ नं.(२) को अवस्था विद्यमान देखिंदा पछि प्रमाण बुझ्दै जांदा ठहरे बमोजिम गर्ने गरी हाललाई ११८(२) बमोजिम (ख) श्रेणीको सिधा खुवाई थुनामा राखि मुद्दाको पुर्पक्ष गर्नु भनी मिति २०५३।४।३२ मा सुनसरी जिल्ला अदालतवाट आदेश भयो ।
३. सुनसरी जिल्ला अदालतको उक्त आदेश उपर पुनरावेदन अदालत विराटनगर समक्ष म काली प्रसाद खनाल, म तिर्थ कुमारी खनाल, हिरण्य प्रसाद दाहाल, सीता दाहाल, डल्ली भन्ने दुर्गादेवी ढकाल समेतले छुट्टै र नारायण प्रसाद खनालले छुटैृ अ.वं. १७ नं. बमोजिम निवेदन प्रस्तुत गरेकोमा पुनरावेदन अदालतबाट मिति २०५३।८।७ मा सुनसरी जिल्ला अदालतको मिति २०५३।४।३२ गतेको आदेश हामी निवेदकहरु काली प्रसाद खनाल र तिर्थ कुमारीको हकमा सदर र अन्य प्रतिवादीहरु हिरण्य प्रसाद दाहाल, सीता दाहाल, दुर्गा देवी ढकाल र नारायण प्रसाद खनालका हकमा बदर गर्ने गरी आदेश भएको छ ।
४. प्रस्तुत कर्तव्य ज्यान मुद्दामा श्री ५ को सरकारको तर्फबाट अभियोग पत्र पेश हुँदा हामी निवेदक सरहका अन्य सवै प्रतिवादीहरुको हकमा पनी मुलुकी ऐन, ज्यान सम्वन्धी महलको १ नं. को कसुरमा ऐजनको १३(३) बमोजिमको संजाय माग दावी भई आएको छ । हामी निवेदकहरु र अन्य सवै प्रतिवादीहरुको प्रस्तुत मुद्दाको समान वारदातमा समान तथ्य र परिस्थिति एवं समान संलग्नता देखाई मुद्दा दायर गरी समान हैसियतको र समान दायित्व भई एकै श्रेणीका अभियुक्तको रुपमा स्थापित गर्न खोजिएको छ । तर प्रत्यर्थी पुनरावेदन अदालतले त्यस तथ्य प्रति कुनै दृष्टिपात नै नगरी हठात अन्य प्रतिवादीहरुलाई तारेखमा छाडी र हामी निवेदकहरुलाई थुनामा नै राखी मुद्दाको पुर्पक्ष गर्ने गरी गरेको आदेश भेदभावयुक्त र पक्षपात पूर्ण रहेको छ । फलतः पुनरावेदन अदालतको आदेश ज्ञान वहादुर विरुद्ध काठमाण्डौ जिल्ला अदालत समेत भएको बन्दीप्रत्यक्षकरण (ने.का.प. २०५२ अंक ६ पृष्ठ ४७८) मुद्दामा प्रतिपादित सिद्धान्तको प्रतिकूल भई वदर भागी रहेको छ ।
५. अन्य प्रतिवादीहरुलाई तारिखमा राखी मुद्दा पुर्पक्ष गर्ने गरी आदेश गर्दा प्रत्यर्थी पुनरावेदन अदालतले निजहरु प्रहरी तथा अदालत दुवैमा कसुर गरेकोमा इन्कार रहेका र कसुर गरेको भनिएको अवस्थामा देख्ने चश्मदीत गवाह कोही नभएको जाहेरवाला विष्णु दुलालले निजहरु उपर शंका देखाई नामसम्म पनि खुलाउन नसकेको भन्ने वादी दावी आधारहरुलाई आत्मसाथ गरेको देखिन्छ । जवकी डल्ली भन्ने दुर्गा देवी ढकाल समेतको मिलि भगतमा मृतक राधादेवीलाई कर्तव्य गरी मारेको भनी जाहेरवाला विष्णु प्रसाद दुलालले आफ्नो जाहेरीमा किटानी व्यहोरा लेखाएका छन्, हामी निवेदकहरु प्रहरी तथा अदालत दुवैमा कसुर गरेकोमा पूर्णत इन्कारी वयान दिएका छौं । म तीर्थ कुमारी खनाल कथित वारदात मितिमा घटनास्थलमा नै नभइ आफ्नो माइती सप्तरीको कन्चनपुरमा रहेको भनी वयान गरेको छु । जुन कुराको पुष्टी समेत भैसकेको छ । हामी निवेदकहरुलाई थुनामा राखी मुद्दाको पुर्पक्ष गर्ने आदेश गर्दा प्रत्यर्थी पुनरावेदन अदालतले मृतकसँग पूर्व रिसइवी रहेको र मिसिल संलग्न अन्य प्रमाणवाट देखिन आएको भन्ने आधार लिएको देखिन्छ । मृतक राधादेवी खनाल म काली प्रसाद खनालकी कान्छी श्रीमती हुन् र निजले म बाट अघिनै अंश लिइ अलग्गै वसी आइरहेकी थिइन । कुनै पूर्व रिसइवी रहेको छैन । त्यस्तै पुनरावेदन अदालतले मिसिल संलग्न अन्य प्रमाणवाट समेत अ.वं. ११८(२) नं.को अवस्था विद्यमान रहेको भन्ने कुरा उल्लेख गरेको छ । तर के कुन प्रमाणलाई भन्न खोजेको हो प्रस्ट गरेको छैन मौकामा भएको घटनास्थल प्रकृति मुचुल्का र लास प्रकृति मुचुल्का र पोष्ट मार्टम रिपोटवाट मृतक राधादेवी खनाललाई हामी निवेदकहरुले कर्तव्य गरी मारी झून्ड्याएको भन्न सकिने अवस्था छैन । म काली प्रसाद ७२ वर्षको भैसकेको छु भने म तीर्थ कुमारी ५६ वर्ष पुगिसकेकी छु । यस्तो पाको उमेरमा हामीहरुले कसैको हत्या गरी १४, १५ फिट उचाइ माथी झून्ड्याउन सक्ने अवस्था छैन । हामी निसन्तान एवं उमेरले पाको भैसकेको हुँदा सम्पत्ति हाम्रो चाहनाको विषय समेत नभएकोले सम्पत्तिको कारणले राधादेवीसँग हाम्रो रिसइवी रहेको भन्ने कुराको कुनै वस्तुनिष्ट आधार छैन । तर पुनरावेदन अदालतले त्यस तथ्य प्रति कुनै दृष्टिपात नै नगरी थुनामा राख्ने आदेश गरेवाट हामी अति अन्यायमा परेका छौं ।
६. अतः विपक्षी सुनसरी जिल्ला अदालतको मिति २०५३।४।३२ र पुनरावेदन अदालतको मिति २०५३।८।७ को आदेशद्वारा हामी निवेदकहरुको नेपाल अधिराज्यको संविधानको धारा १२(१)ले प्रत्याभूत गरेको वैयक्तिक स्वतन्त्रताको हक समेत हनन् भएकोले सुनसरी जिल्ला अदालत र पुनरावेदन अदालतवाट भएका उक्त आदेश वदर गरी वन्दीप्रत्यक्षीकरणको आदेश वा अन्य उपयुक्त आदेश जारी गरी हामीहरुलाई गैह्र कानूनी थुनावाट मुक्त गरी पाउँ भन्ने समेत व्यहोराको रिट निवेदन ।
७. यसमा के कसो भएको हो ? निवेदकको माग वमोजिमको आदेश किन जारी हुन नपर्ने हो ? लिखित जवाफ आएपछि वा अवधि नाघेपछि नियमानुसार गरी पेश गर्नु भन्ने समेत व्यहोराको यस अदालत एक न्यायाधीशको इजलासको मिति २०५३।९।१७ को आदेश ।
८. विपक्षी निवेदक काली प्रसाद खनाल र तीर्थ कुमारी खनाल समेत उपर राधादेवी खनाललाई मिति २०५३।३।३० गते रातीको समयमा कर्तव्य गरी झूण्ड्याएको भनी निजहरु उपर ज्यान सम्वन्धीको १३(३) नं. अनुसारको दावी लिई यस अदालतमा मिति २०५३।४।३० मा दायर भएको कर्तव्य ज्यान मुद्दामा यस अदालतका मिति २०५३।४।३२ का आदेशानुसार पछि प्रमाण बुझदै जांदा ठहरे बमोजिम हुने गरी तत्काल बुझिएका प्राप्त संकलित प्रमाण समेतका आधारमा अ.वं. ११८ नं. को देहाय २ अनुसार पुर्पक्षका लागि थुनामा राख्ने भन्ने आदेशानुसार अ.वं. १२१ नं. अन्तर्गतको थुना वा पुर्जि दिई कारागार शाखा मोरङमा पठाइएको मिसिलबाट देखिएकाले कानून बमोजिम भए गरेको कार्यलाई बिना आधार कसुरबाट बच्नका लागि प्रस्तुत गरेको प्रस्तुत रिट निवेदनबाट कारवाही हुन नसक्ने भई विपक्षीहरुको रिट निवेदन खारेज गरी पाउँ भन्ने समेत व्यहोराको सुनसरी जिल्ला अदालतको लिखित जवाफ ।
९. रिट निवेदकहरु २ जना लगायत अन्य हिरण्य प्रसाद दाहाल समेतका ६ जना अभियुक्तहरुलाई मृतक राधा देवीलाई मारेको अभियोगमा मुलुकी ऐन, ज्यान सम्वन्धी महलको १३(३) नं. को सजांयको माग दावी भई सुनसरी जिल्ला अदालतमा दायर भएको कर्तव्य ज्यान मुद्दामा सुनसरी जिल्ला अदालतले थुनछेकको क्रममा गरेको आदेश उपर निवेदकहरु समेतको निवेदन यस अदालतमा परी प्राप्त भए सम्मका प्रमाणहरुको मूल्याकंन गरी सुनसरी जिल्ला अदालतले गरेको आदेश वेरितको भएको हदसम्म यस अदालतबाट बदर गरी रिट निवेदक वाहेकका अन्य प्रतिवादीहरुलाई तारिखमा राखी मुद्दाको पुर्पक्ष गर्ने समेतको आदेश भएको हो ।
१०. अभियुक्त पक्षबाट अभियोग पत्र साथ मुद्दा अदालत समक्ष पेश गरी सकेपछि अवश्यक कानूनी प्रक्रिया पूरा गरी थुनछेकको क्रममा तत्काल प्राप्त प्रमाणबाट कसुरदार देखाएको अभियुक्तलाई थुनामा राख्न सक्ने वा तत्काल कसुरदार नदेखिएको स्थितिमा तारिख धरौटीमा राखी मुद्दाको पुर्पक्ष गरी गरेको आदेश वेरितको भएमा तत्काल प्राप्त प्रमाण सम्वद्ध तथ्य र कानून सम्मतका आधारमा उक्त आदेश सदर राखी वा वदर गरी उचित आदेश गर्न सक्ने अधिकार यस पुनरावेदन अदालतलाई रहे भएको र उक्त अधिकारको कानून तथा न्याय सँगत ढंगले प्रयोग भई तत्काल प्राप्त प्रमाणका आधारमा रिट निवेदकहरुलाई यस अदालतबाट थुनामा राखी पुर्पक्ष गर्ने आदेश भई उक्त मुद्दा हाल सुनसरी जिल्ला अदालतमा कारवाहीयुक्त अवस्थामा रहेकोले कानून विपरित तवरले रिट निवेदकहरुलाई थुनामा राखिएको छैन । यस्तो स्थितिमा निवेदकको संविधान प्रदत्त मौलिक हक हनन् भयो भन्ने अवस्था रहदैन । तसर्थ अधिकार प्राप्त अदालतको आदेशले कानून बमोजिम न्यायिक हिरासतमा थुनामा रही हाल कारवाहीयुक्त मुद्दामा पुर्पक्ष गर्दै रहेकोले प्रस्तुत रिट निवेदन खारेज गरी पाउँ भन्ने समेत व्यहोराको पुनरावेदन अदालत, विराटनगरको लिखित जवाफ ।
११. विपक्षी प्रतिवादीहरुको तर्फबाट यस कार्यालयलाई पनि विरुद्ध खण्डमा नाम समावेश गरी प्रत्यर्थी बनाएको देखिन्छ । तर यस कार्यालयबाट विपक्षी प्रतिवादीहरुको के कस्तो हक हनन् गरेको छ र के कस्तो गैर कानूनी कार्य गरेको रहेछ भनी रिट निवेदनमा उल्लेख गरेको देखिंदैन । यदि यस कार्यालयबाट निज विपक्षी प्रतिवादीहरु उपर माग दावी लिई अभियोग पत्र दायर गरेको सम्वन्धमा निवेदकले औल्याएको हो भने पनि यस कार्यालयबाट गैरकानूनी किसिमले अभियोग पत्र दायर गरेको हो भनी रिट निवेदनमा उल्लेख गर्न सकेको छैन । अतः यस कार्यालयबाट कानून बमोजिम अभियोग पत्र दायर गरीनुको साथै सुनसरी जिल्ला अदालत र पुनरावेदन अदालत, विराटनगरबाट पनि कानून बमोजिम पुर्पक्षको सिलसिलामा थुनाका राखिएको हुँदा निज विपक्ष प्रतिवादीहरुको तर्फबाट दायर गरेको रिट निवेदन खारेज गरी पाउँ भन्ने समेत व्यहोराको जिल्ला सरकारी वकिल कार्यालय सुनसरीको लिखित जवाफ ।
१२. विष्णु प्रसाद दुलालको जाहेरीले श्री ५ को सरकार वादी यी निवेदकहरु कालि प्रसाद खनाल र तीर्थ कुमारी खनाल समेत प्रतिवादी भएको कर्तव्य ज्यान मुद्दामा यी निवेदकहरुलाई अ.वं. ११८(२) नं. वमोजिम पुर्पक्षको लागि थुनामा राख्ने गरेको सुनसरी जिल्ला अदालतको आदेश सदर र उक्त वारदातमा समान रुपमा संलग्नता देखाई प्रतिबादी बनाइएका अन्य प्रतिवादीहरु डल्ली भन्ने दुर्गा देवी ढकाल, हिरण्य प्रसाद दाहाल, सीता दाहाल र नारायण प्रसादलाई पुर्पक्षका लागि तारेखमा राख्ने गरेको आदेश सदर गरी आदेश भएको, निवेदकहरुका हकमा कसुर गरेको देखिने अन्य थप प्रमाण रहेको भन्ने देखिन आउँदैन । वारदातमा समान तथ्य र परिस्थिति देखिएको र समान उद्देश्यमा संलग्न कसैलाई तारेखमा राख्ने र कसैलाई थुनामा राखी पुर्पक्ष गर्ने आदेश समानताको सिद्धान्तको प्रतिकूल देखिन्छ, ने.का.प. २०५२ अंक ६ पृष्ठ ४७८ मा प्रतिपादित सिद्धान्त समेतको आधारमा निवेदकहरुलाई ्थुनामा राख्ने गरेको पुनरावेदन अदालत विराटनगरको मिति ०५३।८।७ को आदेश त्रुटीपूर्ण देखिंदा वदर हुने ठर्हछ पछि ठहरे बमोजिम हुने निवेदकहरुलाई तारेखमा राखी पुर्पक्ष गर्न भनी लेखी पठाई दिनु भन्ने समेत व्यहोराको माननीय न्यायाधीश श्री केशव प्रसाद उपाध्यायको र तारेखमा छुटेको भन्दा निवेदक प्रतिवादीहरुले कसुर गरेको भन्न सकिने थप प्रमाण मिसिल रहे भएको देखिएकोले ती तारिखमा छुटेको प्रतिवादीहरु र निवेदक प्रतिवादीहरु समान अवस्थाका हुन भन्न सकिएन, रिट निवेदन खारेज हुने ठर्हछ भन्ने समेत व्यहोराको माननीय न्यायाधीश श्री राजेन्द्रराज नांख्वाको राय सहितको यस अदालत संयुक्त इजलासको मिति ०५४।१।३०।२ को आदेश ।
१३. उपर्युक्त आदेशानुसार पूर्ण इजलासको लगतमा दर्ता भई नियमानुसार पेश हुन आएको प्रस्तुत रिट निवेदन र झिकाई आएको विष्णु दुलालको जाहेरीले श्री ५ को सरकार वादी र यी निवेदकहरु काली प्रसाद खनाल, तीर्थ कुमारी खनाल समेत भएको सुनसरी जिल्ला अदालतमा दायर रहेको झिकाई आएको कर्तव्य ज्यान मुद्दाको मिसिल समेत अध्ययन गरीयो । निवेदक तर्फबाट रहनु भएका विद्वान अधिवक्ताहरु सर्व श्री हरिहर दाहाल, श्री राम प्रसाद सिटौला, श्री केशव प्रसाद दाहाल समेतले पुर्पक्षको लागि तारेखमा राख्ने भनी आदेश गरीएका प्रतिवादीहरु डल्ली भन्ने दुर्गा देवी ढकाल, हिरण्य प्रसाद दाहाल, सीता दाहाल र नारायण प्रसादको स्थिति र तथ्य तथा मिसिल संलग्न संकलित प्रमाणहरुबाट समान अवस्था देखिएकोमा निवेदकहरुलाई थुनामा राख्ने गरेको शुरु आदेश सदर गरेको पुनरावेदन अदालत विराटनगरको आदेश समानताको र यस अदालतबाट प्रतिपादित ने.का.प. २०५२ पृ. ४७८ मा प्रतिपादित सिद्धान्त समेतको विपरित हुँदा बन्दीप्रत्यक्षीकरणको आदेश जारी हुने ठहर गरेको माननीय न्यायाधीश श्री केशव प्रसाद उपाध्यायको राय सदर हुनु पर्दछ भन्ने समेत व्यहोराको प्रस्तुत गर्नु भएको वहस जिकिर समेत सुनियो ।
१४. विद्वान कानून व्यवसायीहरुको वहस जिकिर समेत सुनी मिसिल अध्ययन गरी निर्णय तर्फ विचार गरी हेर्दा यस्मा तारेखमा राखिएका प्रतिवादी डल्ली भन्ने दुर्गादेवी ढकाल समेतका अन्य प्रतिवादीहरुको तथ्य अवस्था र प्रमाणहरु समान रहेकोमा निवेदकहरुलाई थुनामा राख्ने गरी गरेको आदेश भेदभावपूर्ण भै त्रुटीयुक्त हुँदा वदर गरी पाउँ भन्ने समेत व्यहोराको निवेदकको मुख्य निवेदन जिकिर देखिन्छ । शुरु सुनसरी जिल्ला अदालतले यी निवेदकहरु समेतलाई पुर्पक्षको लागि थुनामा राखी कार्यवाही गर्ने गरेको आदेश उपर प्रतिवादीहरु हिरण्य प्रसाद दाहाल, सीता दाहाल, डल्ली भन्ने दुर्गा देवी ढकालका हकमा विष्णु प्रसाद दुलालले जाहेरीमा शंकासम्म देखाएको, निजहरु प्रहरी र अदालतमा कसुर गरेमा इन्कार रहेको, चश्मदिद गवाह कोही नभएको भन्ने समेतका आधारमा निजहरुलाई पुर्पक्षको लागि तारेखमा राख्ने र यी निवेदकहरुको हकमा कालि प्रसाद खनाल र तीर्थ कुमारी खनाल कसुरमा इन्कार रहेकोमा पनि मृतकसँग झै झगडा रीसइवी भै राखेको भन्ने देखिनुका साथै मिसिल संलग्न अन्य प्रमाणबाट समेत अ.वं. ११८ को देहाय २ को अवस्था विद्यमान छैन भन्न सकिने अवस्था नदेखिंदा निजहरुको हकमा तहांको मिति २०५३।४।३२ को आदेशमा कुनै परिवर्तन गर्न परेन कानून वमोजिम गर्नु भन्ने पुनरावेदन अदालत विराटनगरको आदेश वमोजिम निवेदकहरु थुनामै रहेको भन्ने देखिन आउँछ । प्रहरी समक्ष कागज गर्ने कृष्ण प्रसाद ढकालले प्रतिवादी हिरण्य प्रसादले वन्द वोरा नाम्लो लगाई वोकेको अरु प्रतिवादी पछि पछि हिडेको भनी लेखाई दिएको देखिन्छ । यी निवेदकहरु समेतका अन्य प्रतिवादीहरु समेत प्रहरी र अदालतमा वयान गर्दा मृतक राधा देवीलाई मारी झूण्ड्याएमा पूर्ण इन्कार रहेको जाहेरवाला विष्णु प्रसादको जाहेरी दरखास्तको व्यहोरा वाहेक यी निवेदकहरुको विरुद्धमा प्रमाण लाग्ने अन्य परिस्थितिजन्य पृथक प्रमाण मिसिल संलग्न रहेको पाइदैन । ने.का.प. २०५२, पृ.४७८ मा प्रतिपादन भएको समान स्थिति र तथ्य रहेको वीचमा समान व्यवहार गर्नु पर्ने भन्ने यस अदालतबाट प्रतिपादित सिद्धान्तसँग असहमत हुनु पर्ने अवस्था देखिंदैन ।
१५. माथि गरिएको विवेचनाबाट उही तथ्य र स्थिति रहेका अन्य प्रतिवादीहरुलाई तारेखमा राख्ने यी निवेदकहरुको हकमा पुर्पक्षको लागि अ.वं. ११८ को देहाय (२) वमोजिम थुनामै राख्ने भनी सुनसरी जिल्ला अदालतले मिति २०५३।४।३२ मा गरेको आदेश केही वदर केही सदर गर्ने गरी गरेको पुनरावेदन अदालत विराटनगरको मिति २०५३।८।७ को आदेश नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ११ द्वारा प्रत्याभूत गरिएको समानताको सिद्धान्तको विपरित देखिन आयो ।
१६. तसर्थ वारदातमा समान तथ्य र परिस्थिति भएको तथा समान संलग्नता भएका प्रतिवादीहरुलाई समान रुपमा तारेखमा राख्नु पर्नेमा निवेदकहरुलाई थुनामा राख्ने शुरु सदर गरेको पुनरावेदन अदालत विराटनगरको मिति २०५३।८।७ को आदेश त्रुटीपूर्ण देखिंदा उक्त आदेश वदर गरी वन्दीप्रत्यक्षीकरणको आदेश जारी भै पछि ठहरे वमोजिम हुने गरी निवेदकहरुलाई समेत तारेखमा राखी पुर्पक्ष गर्नु भनी सुनसरी जिल्ला अदालतमा लेखी पठाई दिने ठहर गरेको माननीय न्यायाधीश श्री केशव प्रसाद उपाध्यायको राय मुनासिव देखिदा सो राय सदर हुने ठहर्छ । निवेदन माग बमोजिम बन्दीप्रत्यक्षिकरणको आदेश जारी हुने ठर्हछ । निवेदकहरुलाई तारेखमा राखी मुद्दा पुर्पक्ष गर्नु भनी आदेशको प्रतिलिपी समेत साथै राखी शुरु सुनसरी जिल्ला अदालतमा लेखी पठाई मिसिल नियमानुसार गरी बुझाई दिनु ।
उपर्युक्त रायमा हामी सहमत छौं ।
न्या. कृष्ण कुमार वर्मा
न्या. भैरव प्रसाद लम्साल
इति संम्वत् २०५४ साल भाद्र १९ गते रोज ५ शुभम्