निर्णय नं. ७८०६ - कर्तव्य ज्यान

निर्णय नं.७८०६ ने.का.प.२०६४ अङ्क १
सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री मीनबहादुर रायमाझी
माननीय न्यायाधीश श्री ताहिरअली अन्सारी
सम्बत् २०६२ सालको फौ.पु.न ३५८४
फैसला मितिः २०६३।१२।१८।१
मुद्दाः कर्तव्य ज्यान ।
पुनरावेदक
वादीः राम सागर चौधरीको जाहेरीले नेपाल सरकार
विरूद्ध
विपक्षी
प्रतिवादीः भारत जिल्ला, पश्चिम चम्पारण थाना गहनाव ग्रामवेलवा घर भै पर्सा जिल्ला , गाडी गा.वि.स.वडा नं ८ वस्ने सुरेश साह तुरहा समेत
§ प्रहरी समक्ष गरिएको पूर्ण वा आंशिक साविती बयान कागज स्वतन्त्र प्रमाण वा स्थापित तथ्यबाट समर्थित नभएसम्म त्यसलाई अदालतले विवादरहीत प्रमाणको रुपमा ग्रहण नगर्ने ।
(प्रकरण नं.४६)
§ शंकास्पद प्रमाण वा तथ्यगत विश्लेषणबाट गरिएको अनुमानको भरमा मात्र कसैलाई कुनै फौजदारी कसूर गरेको ठहर गर्न नसकिने । जाहेरवालाले आफ्नो जाहेरी दरखास्त पनि केवल वागद महतोबाट सुनेको कुराको आधारमा दिएको देखिन्छ । यसरी कर्तव्य ज्यान जस्तो गंम्भीर प्रकृतिको अपराधमा शंकारहित तवरबाट अभियोग दावी प्रमाणित हुन नआएको अवस्थामा प्रतिवादीहरूलाई अपराधी घोषित गरी सजाय गर्नु न्यायसंगत र कानूनसम्मत देखिन नआउने ।
(प्रकरण नं.४८)
पुनरावेदक तर्फवाटः विद्वान उपन्यायाधिवक्ता श्री गणेशवावु अर्याल
विपक्षी तर्फवाटः
अवलम्वित नजीरः
फैसला
न्या. ताहिरअलि अन्सारीः न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम यस अदालतमा पुनरावेदन परी पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार रहेको छः
२. जिल्ला पर्सा सोनवर्ष गा.वि.स. वार्ड नं ९ अन्तर्गत पुर्वमा चुरिया पहाड तथा विभिन्न किसिमको रुखहरू भएको घना जंगल, पश्चिम जंगल, उत्तर दक्षिण लालमिटी खोलाको वगर यति चार किल्ला भित्र मृतक राम सुरत चौधरी र गणेश यादवको लाश रहेको सो लासहरू मध्ये गणेश यादवको लाशको टाउको जंगली जनवारले खाएको जस्तो देखिएको रुद्र घन्टी देखि माथिको भाग केही नभएको, सो लाशको छाती र घाटी वरीपरीको मासु यत्रतत्र छरिएको तथा किरा औसा परेको र अर्का राम सुरत चौधरीको लाशको घाटीमा ४ वटा गोली छर्रा लागेको घाउ चोट लागेको पिठ्युमा ३ वटा छर्रा लागेका प्वाल देखिएको भन्ने समेत व्यहोराको घटनास्थल तथा लाश जाच प्रकृती मुचुल्का ।
३. मिति २०५६/८/१६ गतेका दिन म आफ्नो काम विशेषले वाहिर गै फर्की आउँदा मेरो गाउको वागड महतो थारुले मेरो भाई राम सुरत चौधरीलाई मकवानपुर जिल्लाको मनहरी बजारतिर काम गर्न भनि लिइ गएको भन्ने सनी थाहा पाएको र मिति २०५६/८/२३ गतेका दिन म आफ्नो घरद्धारमा बसी रहेको अवस्थामा मेरो भाईलाई लिई जाने वागड महतो थारु आई तपाईको भाई राम सुरत चौधरी समेतका व्यक्तिहरू गाजाको पोका बोकी आई रहेको अवस्थामा मिति २०५६/८/१९ गते साझ पर्सा वन्यजन्तु आरक्षको जंगल भित्र आइ पुग्दा इस्लाम मियाँ, वीरगुन यादव, आशा यादव, भोलाजीम मियाँ, सुरेस मलाह, सुरेस तुराहा, वदरुदीन मियाँ, भोला महतो थारु, खुर्सेद मीयाँ, महमजान मियाँ, खलिल मियाँ समेतका नचिनेका १५/१६ जना व्यक्तिहरूले हात हातमा वन्दुक लिई लाठी फट्टा समेत लिई गाजाँ लुट्ने उद्देश्यले वाटो कुरी बसेका रहेछन् । हामीलाई देख्ना साथ विपक्षीहरूले वन्दुक फायर गर्दा सो फायरबाट तपाईको भाई रामसुरत चौधरी र अर्का गणेश यादवको मृत्यु भएको भन्ने निज वागड महतो थारुबाट जानकारी हुन आएकोले यो जाहेरी दर्खास्त दिन आएको छु भन्ने समेत व्यहोराको राम सागर चौधरीको जाहेरी दर्खास्त ।
४. फरार रहेका प्रतिवादीहरूलाई खोज तलास गर्दा प्रतिवादीहरू मध्येका जिल्ला पर्सा गा.वि.स. गादी वार्ड नं. ७ मा वस्ने सुरेश साह तुरहालाई फेला पारी पक्राउ गरी दाखेल गर्न ल्याएको छु भन्ने समेत व्यहोराको मिति २०५६/९/५ को प्र.ह.मोहन चौधरीको प्रतिवेदन ।
५. मिति २०५६/८/२१ गते बिहान यस वन्यजन्तु आरक्षको जंगलमा म समेतको करिमन महरा, कमरुदीन मियाँ, वदरुदीन मियाँ, जफर थारु, श्रवण सहनी, मजिद मियाँ, शंकर साह तेली, आशा यादव, फुल गफार मियाँ, मुलाजिम मिया, इन्द्रदेव ओझा, कुलाई खा थारु, इश्लाम मियाँ, वीरेन्द्र यादव, सुरेस सहनी मलाह, रामानन्द महतो धानुक, विरगुन यादव, खोखा थारु, मदन मुखिया विन, मदनप्रसाद तिवारी, सईन गिरी, खुर्सेद मियाँ, महमद जान मियाँ, मोल्वी मियाँ, किसुन यादव, बहादुर महतो धानुक,इजहार मियाँ, ग्यासुदिन मियाँ, खलिल मियाँ, लाल महमद देवान, समेतले गाँजा लुट्न हात हतियार सहित वसेकोमा राम सुरत चौधरी र गणेश यादवले गाँजा बोकी ल्याएको देख्नासाथ अन्धाधुन्धा वन्दुक फायर गर्दा राम सुरत र गणेशको घटनास्थलमै मृत्यु भएको हो । कस्को वन्दुकको फायरबाट मृत्यु भएको थाहा भएन भन्ने समेत व्यहोराको प्रतिवादी सुरेश तुराहले अधिकार प्राप्त अधिकारी समक्ष गरेको बयान ।
६. मिति २०५६/८/१९ गतेको बेलुकी म समेतको राम सुरत चौधरी, गणेश यादव समेतका ६०/६५ जना गाँजा व्यापारीहरूले आ–आफ्नो साथमा गाँजाको बोरा बोकी आई रहेको अवस्थामा पर्सा वन्यजन्तु आरक्षको जंगलमा आई पुग्दा गाँजा लुट्न बसेका करिमन महरा चमार, सुरेस साह तुराहा, कमरुदीन मियाँ, वदरुदीन मियाँ, जाफर थारु, श्रवण सहनी, मजिद मियाँ, शंकर साह, आशा यादव, फुल गफार मियाँ, मुलाजिम मियाँ, इन्द्रदेव ओझा, कुलाई खा थारु, इश्लाम मियाँ, विरेन्द्र यादव, सुरेश मलाह, रामानन्द महतो, विरगुन यादव, खोखा थारु, मदन मुखिया, मदन प्रसाद तिवारी, सईन गिरी, खुर्सेद मियाँ, महमजान मियाँ, मोल्वी मियाँ, किसुन यादव, बहादुर महतो, इजहार मियाँ, ग्यासुदिन मियाँ, खलिल मियाँ र लाल महमद मियाँ समेत हात हतियार सहित घेरा हाली फायर गर्दा सो फायरबाट रामसुरत र गणेश समेतको मृत्यु भएको हो भन्ने समेत व्यहोराको बुझिएका वागड महतो थारुको कागज ।
७. मिति २०५६/८/१६ गते जाहेरवालाको भाई राम सुरत चौधरी र गाउँकै वागड महतो थारु समेत कामको सिलसिलामा मकवानपुरको मनहरी तर्फ गएकोमा सो मनहरीमा गाँजाको व्यापार गर्ने भारतीय गणेश यादव समेतका सँग साथ गाँजा बोकी आउदाको क्रममा पर्सा वन्यजन्तु आरक्षको जंगलमा आई पुग्दा जाहेरवालाको जाहेरीमा उल्लेख भएको र दाखिल भएको प्रतिवादी सुरेस साह तुराहको बयानबाट खुल्न आएको प्रतिवादीहरू समेतको गाँजा लुट्ने मनसायले अन्धाधुन्ध बन्दुक फायर गर्दा सो फायरबाट जाहेरवालाको भाई राम सुरत चौधरी र अर्का गणेश यादवको घटनास्थलमानै मृत्यु भएको भन्ने निजै वागड महतो थारुबाट जानकारी भएको हो भन्ने समेत व्यहोराको बुझिएको मानिसहरूले वकी लेखाइ दिएको वस्तुस्थिती मुचुल्का।
८. प्रस्तुत मुद्दामा संकलित लाश प्राकृति मुचुल्का, जाहेरी दर्खास्त, पोष्ट मार्टम रिपोर्ट, प्रतिवादीको बयान तथा बुझिएका वस्तुस्थिति मुचुल्का समेतका कागज प्रमाणबाट मृतक राम सुरत चौधरी र गणेश यादवको गोली प्रहार गरी कर्तव्य गरी मारेको वार्दात पुष्टी हुन आएकोले प्रतिवादी मध्ये इस्लाम मियाँ,वदरुदीन मियाँ, कमरुदीन मियाँ,विरेन्द्र यादव, वन्हु सहनी मलाह, मुलाजीम मियाँ, लाल महमद मियाँ, कुलाई खाँ थारु, इन्द्रदेव ओझा, श्रवण सहनी, मजिद मियाँ, शंकर साह, आशा यादव, फुल गफार मियाँ, विरगुन यादव, खुर्सेद मियाँ, किसुन यादव, बहादुर महतो, इजहार मियाँ, ग्यासुदिन मियाँ, रामानन्द महतोलाई मुलुकी ऐन ज्यान सम्बन्धी महलको १ नं तथा १३ (१) नं. को कसूरमा ऐ. महलको १३ (१) अनुसार र अन्य हतियार साथ वारदातमा मौजुत रहने करीमन महरा, जफर थारु, सुरेस तुहार, सुरेश सहनी, भोला महतो थारू, कुलाई महतो थारु, खलिल मियाँ, महमजान मियाँ, मदन सहनी, भुटा सहनी मलाह,गिरि भन्ने सईन बहादुर गिरी, प्रमोद सहनी, मौलवी मियाँ,खोखा थारु, एकवाल भन्ने समेतलाई सोही कसूरमा ऐ.ऐनको दफा १७(१) नं. अनुसार सजाय गरिपाऊँ साथै वार्दात स्थलमा ६०/६५ जना समेत अभियुक्त भएको भन्ने खुल्न आएता पनि एकिन रुपमा खुल्न नआएकोले खुली आएका वखत पुरक अभियोग पेश गरिने हुँदा फरार प्रतिवादीहरूलाई सम्मानित अदालतवाटै वारेन्ट म्याद जारी गरी पाउनाका साथै सक्कल मिसिल र प्रतिवादी सुरेस साह तुराहालाई आवश्यक कारवाहीका लागि यसै अभियोग पत्र साथ प्रस्तुत गरिएको छ भन्ने समेत व्यहोराको अभियोग पत्र माग दावी भएको ।
९. जाहेरवालाको जाहेरी व्यहोरा झुट्टा हो म गाँजा लुटपीट डकैती गर्न गएको पनि छैन र म समेत भै कसैलाई मारे मराएको पनि हैन । जाहेरवालाले रिस इविबाट मलाई फसाउन यस्तो जाहेरी दिएको होलान । राम सुरत चौधरी र गणेश यादव के कसरी कहिले मरे मलाई थाहा छैन । जि.स.व.का. पर्सामा कुनै व्यहोराको बयान लेखाएको छैन आफ्नै मनले प्रहरीले लेखेको कागज व्यहोरामा मलाई सहीछाप गराएका हुन उक्त बयान व्यहोरा झुठ्ठा हो मैले अभियोग दावी अनुसारको कसूर नगरेको हुँदा सजाय पाउनुपर्ने होइन भन्ने समेत व्यहोराको प्रतिवादी सुरेश साह तुरहाले शुरु अदालतमा गरेको बयान ।
१०. जाहेरी व्यहोरा सुने म एमालेको मानिस हुँ काग्रेसहरूले फसाउनको लागी झुठ्ठा जाहेरी दिएका हुन् । म उक्त दिन घरमा भएकोले घटना सम्बन्धी केही पनि थाहा छैन । राम सुरत र गणेश यादवको मृत्यु कसरी भयो मलाई थाहा छैन । मैले कसूर नगरेको हुँदा सजाय हुनु पर्ने होइन भन्ने समेत व्यहोराको प्रतिवादी सुरेश सहनीले शुरु अदालतमा गरेको बयान ।
११. मिति २०५६/८/१९ गते र ऐ. २० गते म आफ्नै घरमा छु । जाहेरीमा उल्लेखित कुनै प्रतिवादीहरूलाई चिन्दिन म घटना भएको ठाउँमा गएकै छैन सो वार्दात सम्बन्धमा मलाई केही थाहा छैन । राम सुरत चौधरी र गणेश यादवको मृत्यु के कसरी भयो मलाई थाहा छैन मैले कुनै कसूर अपराध नगरेकोले सजाय हुनु पर्ने होइन भन्ने समेत व्यहोराको प्रतिवादी इजहार मियाँ दर्जीले शुरु अदालतमा गरेको बयान ।
१२. प्रतिवादी सुरेश सहनीको साक्षी मुर्तुजा मिया–१, प्रतिवादी इजहार मियाँको साक्षी अविलास अंसारी–१,प्रतिवादी सुरेश साह तुरहाको साक्षी दिना शाह समेतले शुरु अदालतमा गरेको वकपत्र ।
१३. वादी पक्षका साक्षी वस्तुस्थिती मुचुल्काका व्यक्ति हरि महतो थारु –१, विसुन ठाकुर –१, जाहेरवाला राम सागर चौधरी –१ समेतले शुरु अदालतमा गरेको वकपत्र ।
१४. जाहेरी व्यहोरा सुने म २०५६/८/१८ गते देखि ऐ.२२ गते सम्म आफनो ससुराली वेल्वामा थिए । जाहेरी अनुसारको घटना सम्बन्धमा मलाई केही थाहा छैन जाहेरी व्यहोरा झुठ्ठा हो । राम सुरत चौधरी र गणेश यादवको मृत्यु के कसरी भयो मलाई थाहा छैन । मैले कसूर नगरेकोले सजाय हुनु पर्ने होइन भन्ने समेत व्यहोराको प्रतिवादी मोलाजीम मियाँले शुरु अदालतमा गरेको बयान ।
१५. प्रतिवादी मोलाजिम मियाँको साक्षी परमान मियाँ महमद जाकीर अंसारी समेतले शुरु अदालतमा गरेको वकपत्र ।
१६. जाहेरी व्यहोरा सुने मिति २०५६/८/१९ गते तथा ऐ.२० गते म आफ्नो ससुराली घर वीरगंज उ.म.न.पा वार्ड नं.१७ मा वसेको थिए । यो घटना वारदात सम्बन्धमा कसूर अपराध मलाइ केही थाहा छैन । जाहेरी दरखास्त झुठ्ठा हो मैले कुनै कसूर अपराध मलाई केही थाहा छैन । जाहेरी दरखास्त झुठ्ठा हो मैले कुनै कसूर अपराध नगरेकोले सजाय हुनुपर्ने होइन भन्ने समेत व्यहोराको प्रतिवादी खुर्सेद मियाँ अंसारीले शुरु अदालतमा गरेको बयान ।
१७. प्रतिवादी खुर्सेद अंसारीको साक्षी महमद अव्वास अंसारी –१, विश्वनाथ सहनी –१ समेतले शुरु अदालतमा गरेको वकपत्र ।
१८. जाहेरी व्यहोरा झुठ्ठा हो मिति २०५८/८/१७ देखी ऐ.२४ गतेसम्म बारा जिल्लाको वेतौना गाउँमा फुपुको घरमा गै वसी ऐ.२५ गते मात्र आफ्नो गाउँ घरमा फर्कि आएको हु पाटि पोलिसको कारण मलाई झुठ्ठा पोल गरेका हुन राम सुरत चौधरी र गणेश यादवको मृत्यु कसरी भयो मलाई थाहा छैन म निर्दोष व्यक्ति हुदा सफाइ पाउँ भन्ने समेत व्यहोराको प्रतिवादी खलि मियाँ अन्सारीले शुरु अदालतमा गरेको बयान ।
१९. प्रतिवादी खलिल मियाँको साक्षी जफरुल मियाँ, मुर्तुजा मिया, समेतले शुरु अदालतमा गरेको बकपत्र ।
२०. मिति २०५६/८/१९ गते र ऐ.२० गते म आफ्नै घरमा थिए मृतक राम सुरत र गणेश चौधरी कहिले कसरी मरेको हो मलाई थाहा छैन म सो वार्दातमा गएको छैन भन्ने समेत व्यहोराको प्रतिवादी किसुन यादव भन्ने किसुन राउत अहिरले शुरु अदालतका गरेको बयान ।
२१. प्रतिवादी किसुन यादवको साक्षी गोरख राउत अहिरले शुरु अदालतमा गरेको वकपत्र ।
२२. जाहेरी व्यहोरा सुने झुठ्ठा हो । घटना सम्बन्धमा मलाई केही पनि थाहा छैन । घटना मिति समयमा म गाउँ घरमा नभई २०५६/८/१८ गते हरपुर गा.वि.स. अन्तर्गत एकटगामा थिए । मैले आरोपित कसूर नगरेकाले सजाय हुनुपर्ने होइन भन्ने समेत व्यहोराको प्रतिवादी विरगुन राउतले शुरु अदालतमा गरेको बयान ।
२३. जाहेरी व्यहोरा झुठ्ठा हो घटना वारदात भनिएको २०५६।८।१८ गते म आफ्नो गाऊँ घरमा नभै बारा जिल्लाको मोतीसर गा.वि.स मा गै ऐ. २२ गते मात्र गाउँघर फर्की आएको हुँ । मैले अपराध नगरेको हुँदा सजाय हुनुपर्ने होइन भन्ने समेत व्यहोराको प्रतिवादी बहादुर महतो भन्ने लाल बहादुर महतो धानुकले शुरू अदालतमा गरेको बयान ।
२४. प्रतिवादी वीरगुन राउतको साक्षी राजेन्द्र प्रसाद यादव १, लाल बहादुर राउत १, प्रतिवादी लाल बहादुर महतोको साक्षी सीताराम महतो समेतले शुरु अदालतमा गरेको वकपत्र ।
२५. प्रतिवादी करिमन महरा चमारले मिति २०५६।१२।१४ मा तामेल भएको कमरुदिन मियाँले २०५६।१२। १८, प्रतिवादी बदरुदिन मियाँले २०५६।१२।१८ र प्रतिवादी जाफर थारु २०५६।१२।१८, प्रतिवादी श्रवण सहनी २०५६।१२।१८, प्रतिवादी मजिद मियाँले ०५८।३।४, प्रतिवादी शंकर साह तेलीले ०५८।३।४ मा, प्रतिवादी आशा वीनले ०५७।१०।१०, प्रतिवादी फुलगफार मियाँले ०५८।३।४, प्रतिवादी बहिरा भन्ने इन्द्रदेव ओझाले २०५६।१२।१८, प्रतिवादी कुलाइ खाँ थारूले ०५६।६।१७, प्रतिवादी वन्हु सहनी भन्ने सीताराम सहनीले २०५८।३।४, प्रतिवादी भुट्टा सहनी भन्ने प्रल्हाद सहनीले २०५७।११।११, प्रतिवादी रामानन्द महतो धानुकले २०५६।१२।१८, प्रतिवादी एकवाल भन्ने खोखा थारुले ०५८।३।४, प्रतिवादी मदन सहनी भन्ने मदन हजारा दुसादले २०५७।१०।१०, प्रतिवादी प्रमोद सहनीले र प्रतिवदी गिरी भन्ने सईन बहादुर गिरीले ०५६।१२।११, प्रतिवादी महमजान मियाँले ०५६।१२।११, प्रतिवादी मोल्वी मियाँले २०५६।१२।११, प्रतिवादी इजहार मियाँले २०५६।१२।११, प्रतिवादी लाल महमद मियाँ देवानले ०५७।६।७, प्रतिवादी भोला महतो थारुले ०५७।३।३, प्रतिवादी कुलाई महतो थारुले २०५६।६।१७ मा तामेल भएको म्यादमा हाजिर नभई हाल सम्म फरार रहेको ।
२६. यसमा प्रतिवादी मध्ये अदालतमा हाजिर नहुने प्रतिवादी मध्ये वतन नखुलेका प्रतिवादी जफर थारु–१, प्रमोद सहनी–१, कुलाई महतो थारु–१, मुल्वी मियाँ–१, समेतका हकमा पछि खुली आएका अवस्थामा सोही अनुसार हुने र वतन खुलेका प्रतिवादीहरू करिमन महरा चमार–१, कमरुदिन मियाँ–१, वदरुदिन मियाँ–१, श्रवण सहनी–१, मजिद मियाँ–१, शंकर साह तेली–१, आशा वीन–१, फुल गफर मियाँ–१, बहिरा भन्ने इन्द्रदेव ओझा–१, इशलाम मियाँ–१, वीरेन्द्र यादव –१, वन्हु सहनी भन्ने सिताराम सहनी–१, भुटा सहनी भन्ने प्रल्हाद सहनी मलाह–१, रामानन्द महतो धानुक –१, एकवाल भन्ने खोखा थारु–१, मदन सहनी भन्ने मदन हजारा दुसाध–१, गिरी भन्ने सइन बहादुर गिरी–१, महमजान मियाँ–१, लाल महमद मियाँ देवान–१, भोला महतो थारु–१ समेतका प्रतिवादी हरूका हकमा पछि पक्राउ भई आएका वखत वा आफै हाजिर हुन आएका अवस्थामा कारवाही हुने गरी अ.वं.१९० नं. बमोजिम मुल्तवी रहने तथा प्रतिवादी सुरेश साह तुरहालाई मुलुकी ऐन ज्यान सम्बन्धीको १७(१) नं. बमोजिम १०(दश) वर्ष कैद सजाय हुने र हाजिर रहेका अन्य प्रतिवादीहरू सुरेश सहनी मलाह–१, वीरगुन यादव–१, बहादुर भन्ने लाल बहादुर महतो धानुक–१, इजहार मिया–१, किसुन यादव भन्ने किसुन राउत अहिर–१, मोलाजिम मिया–१, खुर्सेद मिया–१, र खलिल मियाँ–१ ले सफाई पाउने ठहर्छ भन्ने समेत व्यहोराको पर्सा जिल्ला अदालतबाट मिति ०५९।७।११।२ मा भएको फैसला ।
२७. फरार रहेका प्रतिवादी वीरेन्द्र यादव समेतको हकमा मुल्तवी रहेकोमा निवेदन साथ हाजिर हुन आएकाले निजहरूका हकमा समेत मुल्तवीबाट जगाई दिएको छ । सरकारवादी फौजदारी दायरीमा दर्ता गरी बयानको लागि पेश गर्ने भन्ने आदेशानुसार पुनः दायर भएको ।
२८. वारदात भनिएको मिति ०५६।८।२० गतेका दिन रात म आफ्नै गाउँ घरमा छु । म उक्त वारदातमा संलग्न छैन र म उपरको पोल उजुर झुठ्ठा हो । वागड महतो थारूले गरेको कागज अनुसार उक्त वारदात भएको ठाउँमा गएको थिइन । निजले गरेको कागज व्यहोरा झुठ्ठा हो । वागड महतोसँग मेरो चिनजान छैन । म निर्दोष हुँदा सफाई पाउँ भन्ने समेत व्यहोराको प्रतिवादी वीरेन्द्र यादवले शुरु अदालतमा गरेको बयान ।
२९. जाहेरी व्यहोरा साँचो झुठ्ठा के हो मलाई थाहा जानकारी छैन । २०५६।८।२० गतेका दिन, रात म आफ्नै घरमा छु । प्रतिवादी सुरेश साह समेतको म उपरको पोल व्यहोरा झुठ्ठो हो, मैले अभियोग दावी बमोजिमको कसूर अपराध गरेको नहुँदा सजाय हुनुपर्ने होइन । निर्दोष हुँदा सफाई पाउँ भन्ने समेत व्यहोराको प्रतिवादी गिरी भन्ने सईन बहादुर गिरीले शुरु अदालतमा गरेको बयान ।
३०. म उपरको जाहेरी व्यहोरा झुठ्ठा हो । म घटना वारदातमा गएको छैन । २०५६।८।२० गतेका दिन रात म आफ्नै घरमा छु । वागड महतो र जाहेरवालाले किन म माथि यो उजुर गरे निजैहरू जानून । मृतक राम सुरत चौधरी र गणेश यादवको मृत्यु के कसरी भयो मलाई थाहा छैन । म उपरको अभियोग दावी झुठ्ठा हो । निर्दोष हुँदा सफाई पाउँ भन्ने समेत व्यहोराको प्रतिवादी लाल महमद देवानले शुरु अदालतमा गरेको बयान ।
३१. मिति २०५६।८।२० गतेको दिन रात म आफ्नै घरमा छु । घटना वारदात भए नभएको बारे मलाई थाहा जानकारी छैन । वागड महतोले म उपर किन पोल उजुरी गरे निजै जानून । मृतक राम सुरत र गणेशलाई मैले चिन्हे जानेको नहुँदा मृत्यु के कसरी भयो, भयो भएन भएको भए, कस्ले कर्तव्य गर्यो सो समेत मलाई थाहा जानकारी छैन । म उपरको अभियोग दावी झुठ्ठा हो मैले कुनै कसूर अपराध नै नगरेको हुँदा सजाय हुनुपर्ने होइन । निर्दोष हुँदा सफाई पाउँ भन्ने समेत व्यहोराको प्रतिवादी एकवाल पासवानले शुरु अदालतमा गरेको बयान ।
३२. प्रतिवादी एकवाल पासवानको साक्षी गणेश माझी मुसहर, प्रतिवादी वीरेन्द्र यादवको साक्षी जयनारायण दहित, प्रतिवादी गिरी भन्ने सईनबहादुर गिरीको साक्षी सीताराम थारू, प्रतिवादी लाल महमदको साक्षी ईदु मियाँले समेत गरेका वकपत्र ।
३३. यसमा प्रतिवादी वीरेन्द्र यादव गिरी भन्ने सईन कुमार गिरी, लाल महमद देवान र एकवाल पासवान समेतका प्रतिवादीहरू मिसिल संलग्न कागज प्रमाणबाट कसूरदार हुन भन्ने सकिने पर्याप्त सवुद प्रमाणको अभाव हुँदा वादी दावी पुग्न सक्दैन भन्ने व्यहोराको पर्सा जिल्ला अदालतबाट मिति ०५९।१२।१८ मा भएको फैसला ।
३४. यसमा पर्सा जिल्ला अदालतबाट १० वर्ष कैद सजाय हुने गरी मिति २०५९।७।११ मा भएको फैसलामा मेरो चित्त बुझेन । मिसिल संलग्न सबुद प्रमाणको उचित मूल्याङ्कन नगरी म बाहेक हाजिर भएका प्रतिवादीहरूलाई सफाई दिँदा लिइएका आधार प्रमाणहरू मेरो हकमा नलिई भएको शुरु फैसला पूर्ण रुपले त्रुटीपूर्ण छ । अधिकार प्राप्त अधिकारी समक्ष भएको मेरो इच्छा विपरितको बयानलाई सावितीको संज्ञालाई दिई सो अपूष्ट कथित सावितीलाई मैले अदालतमा बयान गर्दा खण्डन गर्दै उक्त बयान प्रति असहमति जनाउँदै आफू अनेत्र रहेको भनी लिएको दावी मेरो साक्षी प्रमाणहरूबाट पुष्टि गरी रहेको अवस्थामा प्रमाण ऐन, २०३१ को दफा ९(२) कर श्री सर्वोच्च अदालतबाट प्रतिपादित नजिर सिद्धान्तको विपरित हुने गरी र मुख्य चश्मदित भनिएका व्यक्ति वागडा महतोलाई पटक पटक मौका पाउदा समेत वादी पक्षले अदालतमा उपस्थित गराई वकपत्र गराउन नसकेकोबाट निजको मौकाको कथन प्रमाण ऐन, २०३१ को दफा १८ ले प्रमाणमा लिन नमिल्ने अवस्थामा सो तर्फ विचारै नगरी म निर्दोष व्यक्तिलाई १० वर्ष कैद हुने गरी भएको शुरु फैसला कानून एवं सो सम्बन्धमा श्री सर्वोच्च अदालतबाट प्रतिपादित नजिर सिद्धान्त समेतको विपरित भै त्रुटीपूर्ण भएकोले शुरू फैसला उल्टी गरी अभियोग दावीबाट सफाई पाउने गरी इन्साफ पाउँ भन्ने समेत व्यहोराको प्रतिवादी सुरेश साह तुरहाको पुनरावेदन जिकिर ।
३५. यसमा शुरू पर्सा जिल्ला अदालतबाट मिति ०५९।७।११ मा भएको फैसलामा केही नबोलिएको प्रतिवादीहरूको हकमा तथा सफाई पाएका प्रतिवादीहरूको हकमा चित्त बुझेन । उक्त फैसलाले मुल्तवी रहेका प्रतिवादीहरू तथा कसूर ठहर भएका प्रतिवादी सुरेश साह तुरहाको हकमा केही जिकिर लिइएको छैन । शुरु अभियोगमा विपक्षी बनाएका प्रतिवादीहरू ग्यासुदिन मियाँ, एकवाल भन्ने तथा कुलाई खाँ थारूका हकमा केही नबोलिएको र वेपत्ते म्याद तामेल भएका प्रतिवादीहरू जाफर थारु, प्रमोद सहनी, कुलाई महतो थारु र मोल्वी मियाँका हकमा मुलुकी ऐन अ.वं.को ११२ नं.को प्रक्रिया अवलम्बन नगरी निजहरूको हकमा पछि खुली आएका बखत सोही अनुसार हुने भन्ने शब्द प्रयोग गरी भएको शुरु फैसला मुलुकी ऐन अ.वं.को ११२ नं. तथा १९० नं. को विपरीत भई कानूनी त्रुटीपूर्ण हुँदा बदर भागी छ । सफाई पाएका प्रतिवादीहरू अनुसन्धान क्रममा फरार भएका र यी प्रतिवादीहरूलाई प्रतिवादी सुरेश साह तुरहाले आफू सावित भै अनुसन्धानको क्रममा पोल गरेको हुँदा अनुसन्धान अधिकारी समक्षको सावितीकै आधारमा निज सुरेश साहलाई कसूर ठहर गरेको अवस्थामा अन्य प्रतिवादीहरूलाई सफाई दिन मिल्दैन । जाहेरवाला प्रत्यक्षदर्शी नभई वागड महतो पत्यक्षदर्शी हुँदा निजले तत्कालै जाहेरवालालाई भनेको र सो कुरालाई लास प्रकृति मुचुल्का एवं जाहेरी दरखास्तबाट समर्थित हुँदा बागड महतोको भनाईलाई उपेक्षा गर्न मिल्दैन । साथै, गम्भीर प्रकृतिको मुद्दामा नबुझी नहुने साक्षीलाई अ.वं.११५ नं. बमोजिम नबुझी गरिएको फैसला स्वतः बदर भागी छ । तसर्थः उल्लेखित आधार प्रमाण एवं कानूनी व्यवस्थाका आधारमा वेपत्ते म्याद तामेल भएका प्रतिवादीहरूका हकमा मुलुकी ऐन अ.वं.१९० नं. बमोजिम मुद्दा मुल्तवीमा राखी पाउन र फैसलामा केही नबोलिएका प्रतिवादीहरूका हकमा, सफाई पाउने प्रतिवादीहरूका हकमा शुरु अभियोग माग दावी बमोजिम कसूरदार ठहर गरी सजाय समेत गरी पाउन सादर अनुरोध गरिन्छ भन्ने व्यहोराको वादी श्री ५ को सरकारको पुनरावेदन जिकिर ।
३६. यसमा प्रतिवादीहरू वीरेन्द्र यादव तथा लाल महमद देवानलाई मुलुकी ऐन ज्यान सम्बन्धी महलको १३(१) र प्रतिवादीहरू सईन कुमार गिरी र एकवाल पासवानलाई ऐ.ऐनको ऐ. महलको १७(१) नं. बमोजिमको सजाय माग दावी लिएकोमा शुरु पर्सा जिल्ला अदालतको मिति २०५९।१०।१९ को फैसलाले निजहरूको हकमा मुद्दा मुल्तवीमा रहेकोमा मिति २०५९।१२।१८ मा निज प्रतिवादीहरूलाई सफाई दिने गरी भएको शुरु फैसलामा चित्त बुझेन । शुरुले केही प्रतिवादीहरूको हकमा मुद्दा फैसला गरिसकेपछि मुद्दाको रुप विचार गरि हाजिर हुन आउने यी प्रतिवादीहरूको इन्कारी बयानलाई महत्वपूर्ण आधार वनाई त्यस्तो इन्कारी बयानको सत्यता समेत जाँच नगरी मौकामा पक्राउ पर्ने प्रतिवादी सुरेश साह तुराहको मौकाको बयानमा यी प्रतिवादीहरू समेत भई गरे गराएकोमा साबिती रही बयान गरेकामा उक्त सावितिलाई निजको हकमा प्रमाणमा लिने र अन्यको हकमा लिन नहुने भन्न मिल्दैन । चश्मदीत व्यक्ति वागड महतोलाई अ.वं.११५ नं.बमोजिम नवुझी मिसिल संलग्न सत्य तथ्यहरूको विश्लेशणनै नगरी प्रतिवादीहरूलाई सफाई दिने गरि भएको फैसला त्रुटीपुर्ण भै वदर भागी हुदाँ वदर गरि प्रतिवादीहरूलाई शुरु अभियोग दावी बमोजिम सजाय गरिपाऊँ भन्ने वादी श्री ५ को सरकारको पुनरावेदन जिकिर ।
३७. यसमा मृतकको मृत्युको कारण गोली प्रहार भएको र प्रतिवादी सुरेश तुरहाले अधिकार प्राप्त अधिकारी समक्ष कागज गर्दा पोल गरिएका अन्य प्रतिवादीहरूलाइ सफाइ दिई सोही बयान कागजको भरमा निजलाई कसूरदार ठहर गरेको अवस्थामा शुरु फैसला फरक पर्ने सक्ने हुँदा अ.वं २०२ नं.तथा पुनरावेदन अदालत नियमावली, २०४८ को नियम ४७ बमोजिम प्रत्यर्थी झिकाई आए वा गुजारेपछि नियम बमोजिम पेश गर्नु भन्ने व्यहोराको पुनरावेदन अदालतबाट मिति ०६०/८/१ मा जारी भएको आदेश ।
३८. यसमा अनुसन्धान अधिकृत समक्ष कागज गर्ने जिल्ला पर्सा गा.वि.स. सुपौली वडा नं.१ वस्ने शीतल महतो थारुको छोरा वागड महतो थारुलाई अ.व.११५ नं.अनुसार झिकाई वकपत्र गराई नियमानुसार पेश गर्नु भन्ने पुनरावेदन अदालतको मिति २०६१/१/१४ को आदेश ।
३९. यसमा जिल्ला पर्सा गा.वि.स.सुपौली वडा नं १.वस्ने शीतल महतो थारुलाई यस अदालतको मिति २०६१/१/१४ को आदेश बमोजिम वुझ्ने समाव्हान जारी गर्दा निज उपस्थित हुन नआएकोले अ.व.११५ नं.बमोजिम निज वागड महतोलाई रु ५० जरिवाना गरि दिएको छ । निजलाई पक्राउ गर्न पठाइ ल्याइ वकपत्र गराउनु निज फेला परेन भन्ने अ.व.११५ नं. बमोजिम अन्य सम्पुर्ण प्रकृया अपनाई नियम बमोजिम पेश गर्नु भन्ने यस अदालतको , मिति २०६१/३/१ को आदेश अनुसार यस अदालतबाट जिल्ला प्रहरी कार्यालय पर्सा, वीरगंजमा व्यहोरा खुलाई मानिस पक्राउ गरि पठाउने भनी पत्राचार गर्दा निज वागड महतो थारुको सम्बन्धित घर ठेगानामा प्रहरी कर्मचारी गइ खोज तलास गर्दा निज हाल गाउँ घरमा नभै भारत तर्फ गएको भन्ने बुझिन आएको हुँदा सोही व्यहोरा खुलाइ पठाएको जिल्ला प्रहरी कार्यालय पर्साको च.नं. १९९२ मिति २०६१/६/१९ को पत्र मिसिल सामेल रहेको ।
४०. प्रतिवादी सुरेश साह तुरहालाई कसूरदार ठहराई सजाय गर्ने गरेको हद सम्मको शुरु पर्सा जिल्ला अदालतको २०५९/७/११ को फैसला केही उल्टी भै निजले अभियोग दावीबाट सफाई पाउने र प्रतिवादी सुरेश सहनी, विरगुन यादव, बहादुर भन्ने लाल बहादुर महतो, इजहार मियाँ, किसुन यादव भन्ने किसुन राउत, मोलाजिम मियाँ, खुर्सेद मियाँ, खलिल मियाँ, विरेन्द्र यादव, सैन कुमार गिरी, लाल महमद र एकवाला पासवानले अभियोग दावीबाट सफाई पाउने ठहर जारी गरेको सम्मको शुरुको मिति २०५९/७/११ र २०५९/१२/१८ को दुवै फैसला मिलेकै हुँदा सदर हुन्छ ,वतन नखुलेको भनी २०५९/७/११ को फैसलामा उल्लेख भएको जाफर थारु, प्रमोद सहनी, कुलाई महतो थारु र मुलवी मियाँको हकमन निजहरूको वतन अभियोग दावीबाट खुलेकै देखिएपछि निजहरूको हकमा अ.वं. १९० नं. बमोजिम मुल्तवी राख्नु पर्नेमा सो नगरी पछि ठेगाना खुली आएको वखत सोही अनुसार हुने भनी र प्रतिवादी ज्यासुदिन मियाँको हकमा शुरु फैसलामा केही नबोलिएको हदसम्मको शुरु दिने फैसला त्रुटीपूर्ण देखिँदा निजहरूको हकमा अ.व.१९० नं बमोजिम मुल्तवी रहने र अदालतबाट जारी भएको म्यादमा उपस्थित नहुने वागड महतोलाई अ.व.११५ बमोजिम कैद महिना एकको सजाय हुने ठहर्छ भन्ने समेत व्यहोराको पुनरावेदन अदालत हेटौडाको २०६१/८/१३ को फैसला ।
४१. प्रतिवादी सुरेश साह तुरहाले अधिकार प्राप्त अधिकारी समक्ष गाजा लुट्न भनी अन्य प्रतिवादीहरू समेत भै गएको र मृतकहरू उपर विरगुन यादव समेतका १५/१६ जनाले गोली चलाएको आफू समेत उक्त वारदात स्थलमा रहेको तथ्यलाई स्वीकार गर्दै आरोपित कसूरमा सावित भएको र निजको पोल मिसिल संलग्न जाहेरी, प्रत्यक्षदर्शीको कागज, घटनास्थल तथा लाशप्रकृति मुचुल्का एवं पोष्टमार्टम रिपोर्ट समेतबाट सर्मथित भैरहेको अवस्थामा मुल्तवी रहेका प्रतिवादीहरू बाहेकका अन्य प्रतिवादीहरूलाई सफाई दिने र प्रतिवादी कुलाह खाँ थारुको हकमा केही नबोली भएको पुनरावेदन अदालत, हेटौडाको फैसला त्रुटीपूर्ण हुँदा ठहर गरी प्रतिवादीहरूलाई अभियोग माग दावी बमोजिम सजाय गरिपाऊँ भन्ने समेत व्यहोराको वादी नेपाल सरकारको तर्फबाट यस अदालतमा परेको पुनरावेदन ।
४२. नियम बमोजिम पेशी सूचीमा चर्ढा इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक वादी नेपाल सरकारको तर्फबाट उपस्थिती विद्धान उप-न्यायधिवक्ता श्री गणेश बाबु अर्यालले मृतक राम सुरत चौधरी र गणेश यादवलाई प्रतिवादीहरूले सामूहिक रुपमा गोली प्रहार गरी कर्तव्य गरी मारेको तथ्य जाहेरी दरखास्त, पोस्ट मार्टम रिपोट प्रतिवादीहरूको अधिकार प्राप्त अधिकारी समक्ष दिने बयान प्रत्यक्षदर्शी सह– अभियुक्त सुरेश साह तुराहको बयान समेत बाट पुष्टि भैरहेको अवस्थामा मुल्तवी रहेका प्रतिवादी वाहेकका अन्य प्रतिवादीहरूलाई कसूरमा सफाइ दिने गरी भएको पुनरावेदन अदालत हेटौडाको फैसला त्रुटीपूर्ण हुँदा बदर गरी अभियोग माग दावी बमोजिम सजाय गरिपाऊँ भन्ने व्यहोराको बहस प्रस्तुत गर्नुभयो ।
४३. विद्धान उपन्यायधिवक्ताले गर्नुभएको बहस सुनी पुनरावेदन सहितको मिसिल अध्ययन गरी हेर्दा पुनरावेदन अदालत, हेटौडाको फैसला मिलेको छ, छैन ? वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न सक्छ, सक्दैन ? भन्ने सम्बन्धमा निर्णय दिनुपर्ने देखिन आयो ।
४४. निर्णयतर्फ विचार गर्दा भारतीय गाँजा व्यापारीहरूले हाम्रो गाँजाको पोका भारतको बोर्डर तिर पुर्याई दिए प्रति पोका रु १३०० दिन्छु भनी भनेकोले २०५६/८/२० गते बिहान ४.० बजेतिर मनहरीबाट जंगलको बाटो हुँदा राम सुरत चौधरी र म वागड महतो समेत भई बिहान ८.० बजेतीर पर्सा वन्यजन्तु आरक्षणतिर आई पुग्दा वीरगुन यादव सहितका हातहतियार लिई गाँजा लुट्ने उद्देश्यले गोली फायर गर्दा राम सुरत चौधरी थारु र गाँजा व्यापारी गणेश यादव समेत दुई जनाको घटनास्थलमै मृत्यु भएको भन्ने वागड महतोले मर्नबाट घटनास्थलमा गई हेर्दा वन्दुकको गोली लागी मेरा भाई राम सुरत चौधरीको मृत्यु भएकोले आवश्यक कारबाही गरी पाउँ भन्ने राम सागर चौधरी थारुको जिल्ला प्रहरी कार्यालय पर्सामा जाहेरी दरखास्त परी आवश्यक कारबाही भएको देखिन्छ ।
४५. राम सुरत चौधरी र गणेश यादवलाई गोली प्रहारबाट कर्तव्य गरी मारेकोले प्रतिवादीहरू मध्ये इस्लाम मियाँ, वदरुद्धिन मीयाँ, कमरुद्धीन मियाँ, विरेन्द्र यादव, वन्दु सहनी मलाह, मुलाजीम मीयाँ, लाल महमद मियाँ, कुलाई खाँ थारु, इन्द्रदेव ओझा, श्रवण मनिज मियाँ, शंकर साह, आशा यादव, फुला गफार मियाँ, विरगुन यादव, खुर्सेद मियाँ, किसुन यादव, बहादुर महतो धानुक, ईजहार मियाँ, ग्यासुद्धिन मियाँ, रामानन्द महतोलाई मुलुकी ऐन ज्यान सम्बन्धीको १ नं १३(१) को कसूरमा ऐ. को १३(१) नं अनुसार र हतियार सहित वारदात स्थलमा मौजुद रहने करिमन महरा, जफर थारु, सुरेश सहनी, भोला महतो थारु, कुलाई महतो थारु, खलिला मियाँ, महम जान मियाँ, मदन सहनी, भुटा सहनी मलाह, गिरी भन्ने सईन बहादुर गिरी, प्रमोद सहनी, मौलवी मियाँ, खोखन थारु, एकवाल भन्ने समेतलाई सोही कसूरमा ऐ. को १७(१) नं. अनुसार सजाय गरिपाऊँ भन्ने अभियोग माग दावी लिएको पाइन्छ ।
४६. जाहेरवाला रामसागर चौधरी थारुले आफ्नो जाहेरी दरखास्त घटना घटेको देखेको आधारमा दिएको नभई वागड महतोले भनेको आधारमा दिइएको भन्ने देखिन्छ । जाहेरवाला राम सागर चौधरी, वस्तुस्थिती मुचुल्काका विसुन ठाकुर र हरि महतोले अदालतमा आई वकपत्र गर्दा समेत वागड महतोकै भनाईमा प्रतिवादीहरू उपर पोल गरी लेखाई दिएको पाइन्छ । घटनाको प्रत्यक्षदर्शी वागड महतोलाई पुनरावेदन अदालत हेटौडाबाट अ.वं. ११५ नं. बमोजिम म्याद जारी गर्दा समेत निजले अदालतमा आई जाहेरवालालाई घटनाको जानकारी गराएको भन्ने व्यहोरा खुलाई वकपत्र गरेको अवस्था छैन । त्यस कारण वागड महतोको भनाईको आधारमा राम सागर चौधरीले गरेको कवपत्रलाई प्रतिवादीहरू विरूद्ध ठोस प्रमाणको रुपमा ग्रहण गर्न सकिने देखिन आउँदैन । किनभने प्रहरी समक्ष गरिएको पूर्ण वा आंशिक साविती बयान कागज स्वतन्त्र प्रमाण वा स्थापित तथ्यबाट समर्थित नभएसम्म त्यसलाई अदालतले विवादरहीत प्रमाणको रुपमा ग्रहण गर्दैन ।
४७. मृतक राम सुरत चौधरीको शव परिक्षण प्रतिवेदनमा मृत्युको कारण “The Death is due to gun shot injury Leading to puncture of left side with massive intrathoralic Haemmorhage is cause of shock and death” भन्ने लेखिएको पाइन्छ । प्रतिवादी सुरेश साह तुरहाले अधिकार प्राप्त अधिकारी समक्ष गरेको बयानमा आफू घटनास्थलमा मौजुद रहेकोसम्म स्वीकार गर्दै बयान गरेतापनि अदालतमा आई गरेको बयानमा कसूरमा पूर्ण रुपले इन्कार रहेको अवस्था छ । अन्य प्रतिवादीहरूले समेत कसूर गरेको देख्ने कुनै व्यक्ति, साक्षी, प्रमाण पेश गरी दावी प्रमाणित गर्न सकेको मिसिलबाट देखिन आउँदैन । कुनैपनि प्रत्यक्षदर्शी साक्षीले अदालतमा आई वकपत्र गर्न सकेको देखिदैन । आरोपित कसूर प्रमाणित गर्ने अन्य तत्थयगत वा भौतिक प्रमाणहरू वादी पक्षले यी प्रतिवादीहरू विरूद्ध प्रस्तुत गर्न सकेको छैन । साथै मृतकहरू उपर गोली प्रहार गर्ने मुख्य अभियुक्त खुल्न आएको अवस्था समेत छैन । अभियोग पत्रमा ज्यान सम्बन्धीको १३(३) को दावी गरिएका सवै अभियुक्तहरूले वन्दुकबाट फायर गरेको भन्ने नै दावी छ, नत उक्त कुरा लाश जाँच वा पोष्टमार्टम रिपोर्टबाट प्रमाणित भइरहेको छ ।
४८. फौजदारी मुद्दामा अभियुक्त उपर लगाइएको कसूर प्रमाणित गर्ने भार वादीको हुनेछ। यो फौजदारी न्यायको आधारभूत सिद्धान्त हो । हाम्रो कानूनी व्यवस्था र न्यायिक परिपाटीले यस न्यायिक सिद्धान्तलाई पूर्णरुपले अगिकार गरिसकेको छ । शंकास्पद प्रमाण वा तथ्यगत विश्लेषणबाट गरिएको अनुमानको भरमा मात्र कसैलाई कुनै फौजदारी कसूर गरेको ठहर गर्न सकिदैन । यसर्थ विद्यमान कानूनी व्यवस्थालाई मध्यनजर गरी हेर्दा प्रस्तुत मुद्दामा विपक्षी प्रतिवादीहरू उपरको अभियोग दावी शंकारहित तवरले प्रमाणित हुन सकेको देखिन आउँदैन । जाहेरवालाले आफ्नो जाहेरी दरखास्त पनि केवल वागद महतोबाट सुनेको कुराको आधारमा दिएको देखिन्छ । यसरी कर्तव्य ज्यान जस्तो गंम्भीर प्रकृतिको अपराधमा शंकारहित तवरबाट अभियोग दावी प्रमाणित हुन नआउको अवस्थामा प्रतिवादीहरूलाई अपराधि घोषित गरी सजाय गर्नु न्यायसँग त र कानूनसम्मत देखिन आउँदैन ।
४९. अतः प्रतिवादी सुरेश साह तुरहालाई कसूरदार ठहरी सजाय गर्ने गरेको हदसम्म पर्सा जिल्ला अदालतको फैसला केही उल्टी भै निजले अभियोगबाट सफाई पाउने र अन्य प्रतिवादीहरू सुरेश सहनी, विरगुन यादव, बहादुर भन्ने लाल बहादुर महतो, इजहार मियाँ, किसुन यादव भन्ने किसुन राउत, मोलाजीम मियाँ, खुर्सेद मियाँ, खलिल मियाँ, विरेन्द्र यादव, सैन कुमार गिरी, लाल महमदर एकवाल पासवानले अभियोग दावीबाट सफाई पाउने गरी भएको पर्सा जिल्ला अदालतको फैसला सदर हुने ठहर्याई भएको पुनरावेदन अदालत हेटौडाको २०६१/८/१३ को फैसला मिलेकै देखिदा सदर हुने ठहर्छ । बाँकी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन मिसिल नियमानुसार गरी वुझाइ दिनु ।
उक्त रायमा सहमत छु
न्या.मीनबहादुर रायमाझी
इति सम्वत २०६३ साल चैत्र १८ गते राजे १ शुभम् ........