निर्णय नं. ७८०७ - कुटपिट, लुटपिट

निर्णय नं.७८०७ ने.का.प.२०६४ अङ्क १
सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री मीनबहादुर रायमाझी
माननीय न्यायाधीश श्री ताहिरअली अन्सारी
सम्बत् २०६० सालको फौ.पु.नं.: ३४२५
फैसला मितिः २०६३।१२।१८।१
मुद्दाः– कुटपिट, लुटपिट ।
पुनरावदेक/प्रतिवादीः पर्सा जिल्ला, उदयपुर घुर्मी गा.वि.स. वडा नं. १ बस्ने ललन राउत यादव समेत ।
विरूद्ध
प्रत्यर्थी/वादीः ऐ.ऐ. बस्ने मोवलवी मिया धोवी
§ अनेक दावी गरिएकोमा सो मध्येका एक वा केही दावी अनुसार कसूर वा कसूरदार नठहरेमा त्यसैको कारणले अरु दावी पनि नपुग्ने वा नठहर्ने हुन सक्दैन । प्रत्येक दावी वा कसूर प्रमाणबाट प्रमाणित हुनु पर्ने हुनाले कुटपिट तर्फको दावी प्रमाणित भई रहेको अवस्थामा लुटपिट तर्फ वादीले पुनरावेदन नगरेकै कारण कुटपिटको कसूर पनि अप्रमाणित वा अस्तित्वहीन हुन नसक्ने ।
§ आरोपित दावीहरू मध्ये जतिमा प्रतिवादीहरू विरूद्ध प्रमाण पुग्दछ त्यतिमा अदालतले कसूरदारलाई सजाँय गर्ने ।
(प्रकरण नं.१५)
निवेदक तर्फबाटः विद्धान अधिवक्ता श्री कमलनारायण दास र नागेश्वर लाल कर्ण
विपक्षी तर्फबाटः विद्धान अधिवक्ता श्री
अवलम्बित नजीरः
ने.का.प. २०३१, पृष्ठ ४६
फैसला
न्या.ताहिर अलि अन्सारीः न्याय प्रशासन ऐन, २०४८ को दफा १२ (१) को खण्ड ‘क’ र ‘ख’ बमोजिम यस मुद्दामा दोहोर्याई पाउँ भन्ने निवेदन परी दोहार्याई हेर्ने निस्सा प्रदान भै पुनरावेदकको रुपमा दर्ता भै पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार रहेको छ ।
२. गनि महमद वादी, मिर हसन मियाँ समेत प्रतिवादी भएको यस अदालतमा दायर रहेको कुटपिट र लुटपिट मुद्दामा प्रतिवादी मिर हसन समेतको तर्फबाट म साक्षी थिए । २०५५।८।२९ गते साक्षीको वकपत्र हुने तारेख भएको विपक्षीहरूले थाहा पाई सो रिसईवीबाट ०५५।८।१२।७ को दिन बेलुका ७।८ बजेको वखत मैले आफ्नो खरबाली काटी आफ्नो घर अगाडिको सार्वजनिक नहरको डिलमा राख्न लागेको अवस्थामा विपक्षीहरू मध्येको पुरन राउतले हेरी म भएको ठाउँमा आई तिमीले म समेतको विरूद्धमा साक्षी भएका छौ । म यस ठाउँमा खर राख्न दिन्न भनी भन्दा मैले देखे जानेको सत्य कुरा बक्छु भनी जवाफ दिनासाथ निज रिसाईहाले तबसम्म अन्य विपक्षीहरू पनि त्यहाँ आई पुगी सबै विपक्षीहरू रिसाई उत्तेजित भै मलाई घेरामा पारी विपक्षीहरू मध्येको पुरनले कुट जे हुन्छ देखाजाला भनी वचन दिई विपक्षी ललनले भाला मेरा निधारमा प्रहार गरी र जम्मै विपक्षीहरू हुल गरी कसैले खुट्टा, कसैले मुक्का, कसैले थपड, कसैले लाठीबाट मेरो अङ्ग जिउमा प्रहार गरी घाइते बनाई भुँइमा खसाई अलपत्र बनाई दिए । त्यस बखत सो नहर रहेको खलिहानमा दौनी गरी तयार पारि जम्मा गरी राखेको कच्ची मनधान १००(सय बोरा) टोकरीमा राखी उठाई पटक पटक गरी विपक्षीहरूले जबरजस्ती लुटपिट गरी आ–आफ्नो घरमा लगे । उक्त घटना मौकामा गाउँका मानिसहरूले हेरी थाहा जानकारी पाई मेरा परिवारको मानिसहरूले उपचार गराउन वीरगंज महेन्द्र आरोग्य भवनमा ल्याई उपचार गराई मेरो स्वास्थ्यमा सुधार भए पश्चातः विपक्षीहरूको प्रहारबाट मेरो आङ्ग जिउमा परेको घाउ खत जिल्ला प्रहरी कार्यालय पर्सा मार्फत अस्पताल जाँच गराएको छु । विपक्षीहरूले हुल गरी कुटपिट गरेकोले कसको प्रहारबाट कुन घाउ खत भएको थियो सो एकिन भएन । विपक्षीहरूको कुटाईबाट मेरो नाकको हड्डी भाँचिएको साथै शरिरको अन्य भागमा घाउ खत भएकोले कुटपिट तर्फ अस्पताल जाँचबाट ठहरेको घाउ खतमा र लुटपिट समेतमा विपक्षीहरूलाई दण्ड सजाय गरी घाउ उपचार खर्च र लुटपिट गरी लगेको धान कच्ची मन १००(सय) को हुने पक्की मन ७० को प्रतिमन रु.२००। का दरले हुने जम्मा १४,०००।(चौध हजार) विपक्षीहरूबाट भराई पाउँ भन्ने समेत व्यहोराको वादीको फिराद पत्र ।
३. वादी दावी बमोजिम हामीले वादीलाई कुटपिट लुटपिट गरेका होइनौ, छैनौ भन्ने समेत व्यहोराको प्रतिवादीहरू ललन राउत यादव, जय किशोरप्रसाद यादव, लक्ष्मी राउत अहिर, आदेश राउत अहिर, दिपलाल राउत अहिर, काशी राउत अहिर, पुरन राउत अहिर, प्रेमप्रसाद कुशवाहा, राजिन्दर महतो कोइरी, महमद गनी अन्सारी, जुमद्धिन मिया अन्सारी र राम नरेशप्रसाद यादवको संयुक्त प्रतिउत्तर पत्र ।
४. प्रतिवादी सत्य नारायण राउत अहिरको नाममा यस अदालतबाट जारी भएको समाव्हान म्याद मिति ०५५।१०।२०।४ मा तामेल भई निजले प्रतिउत्तर समय नफिराई शुरु म्यादै गुजारी बसेको ।
५. वादी मोवलवी मिया धोवीको नामको मिति ०५५।८।२५ गतेको घर जांच केश फिराद मिसिल सामेल रहेको ।
६. वादीको साक्षी श्री राय भन्ने लेखमन राय भर र प्रतिवादीहरूको साक्षी पन्नालाल साह गोठ, गंगाधर महतो र हर्षबहादुर यादवले पृथक पृथक गरेको वकपत्र ।
७. यो यसको चोट प्रहारबाट नाकको हड्डी भाँचिएको भन्ने किटान नदेखिई सबै प्रतिवादीहरूको उक्त कुटपिट वारदातमा संलग्नता रहेको देखिनाले प्रतिवादीहरूलाई कुटपिटको महलको ७ नं. को पहिलो वाक्यांश बमोजिम २०००। (दुई हजार) जरिवाना र ६ महिना कैदको सजाय हुने ठहर्छ । साथै हुल हुज्जत गरी कुटपिट गरे तर्फ कुटपिटको १८ नं. बमोजिम थप सजाय भई २५ नं. अनुसार वादीलाई घर खर्च समेत भराई दिने ठहर्छ । लुटपिट सम्बन्धमा वादीका साक्षीले वादी दावी समर्थित हुने गरी तथ्यगत व्यहोरा खुलाई एकिन रुपमा वकपत्र गर्न सकेको नदेखिएको र अन्य कुनै प्रमाणबाट दावी समर्थित हुन आएको नदेखिँदा लुटपिट तर्फको फिराद दावी पुग्न नसक्ने ठहर्छ भन्ने पर्सा जिल्ला अदालतको मिति ०५६।९।२२ को फैसला ।
८. शुरु फैसला उपर चित्त बुझेन । विपक्षी वादीको फिराद लेख दावी र घर जाँचको दरखास्त समेत उपर शुरु पर्सा जिल्लाका माननीय जिल्ला न्यायाधीश ज्यूले विचार मूल्याङ्कन गर्नुभएको छैन । विपक्षी वादीको फिरादमा विपक्षी ललनले भालाबाट मेरो निधारमा प्रहार गरेको भन्ने कुरा उल्लेख छ । अन्य प्रतिवादीहरूले विपक्षीको निधारमा कुनै हातहतियार प्रयोग गरेको वा कुटपिट गरेको भन्ने कुरा उल्लेख छैन । प्रतिवादी ललनले विपक्षीको निधारमा भाला प्रहार गरेको भनी देखाएपछि र वादीको नाकको एउटा हड्डी भाँचिएको भनी उल्लेख भएपछि अन्य प्रतिवादीहरूले वादीको नाकको डिलको एउटा हड्डी भाँचिदिएको भन्ने केश फाराम लगायत वादीको साक्षी वकपत्र वा वादीको फिराद लेख समेतबाट प्रमाणित नहुँदा पनि सम्पूर्ण प्रतिवादीहरूलाई कुटपिटको ७ नं. बमोजिम हामीलाई सामुहिक रुपमा कुटपिट गरी हड्डी भाँचिएको भनी देखाँउदै रू. २०००। जरिवाना र ६ महिना कैद र कुटपिटको १८ नं. बमोजिम थप जरिवाना हुने गरी भएको फैसला सार्है अन्यायपूर्ण मात्र नभई न्यायिक मनको अभाव एवं त्रुटीपूर्ण हुँदा बदर भागी छ । अतः उक्त त्रुटीपूर्ण फैसला उल्टी गरी न्याय पाउँ भन्ने समेत व्यहोराको पुनरावेदन पत्र ।
९. मिसिल प्रमाणबाट यसको चोटबाट नाकको हड्डी भाँचिएको हो भन्ने कुरा एकिन हुन नसकेको अवस्थामा प्रतिवादीहरूलाई सजाय बाँडेको मिलेकै देखिन आयो । भालाले चोट लागेको घाउखत छैन भन्ने जिकिर तर्फ विचार गर्दा सो तर्फ शुरु जिल्ला अदालतबाट सजाय भएको देखिँदैन । यस प्रकार पुनरावेदक तर्फबाट उपस्थित विद्धान अधिवक्ताको बहससँग सहमत हुन सकिएन । अतः शुरु पर्सा जिल्ला अदालतबाट ०५६।९।२२ मा भएको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ भन्ने समेत व्यहोराको पुनरावेदन अदालत हेटौंडाको २०५७।४।२६ को फैसला ।
१०. शुरु पर्सा जिल्ला अदालतको फैसलामा वादीको लुटपिटको घटना, वारदात र दावीलाई असत्य र झुठ्ठा ठहर्याएकोमा सो तर्फ वादीको पुनरावेदन नपरी स्वीकार गरी बसेबाट कुटपिट पनि नभएको प्रमाणित हुन्छ । वादीले एउटै मिति र समयमा लुटपिट र कुटपिट दुवै वारदात भएको भनी दावी लिएकोमा वादीको लुटपिटको दावी झुठ्ठा ठहर भैसकेको अवस्थामा कुटपिटको वारदातपनि झुठ्ठा प्रमाणित भएकोले पुनरावेदन अदालतको फैसला प्रमाण ऐन, २०३१ को दफा ५४ अ.वं.१८४ ‘क’, १८५, १८९ र सम्मानित सर्वोच्च अदालतबाट मेहर सिंह विरूद्ध मन्नाराम, ने.का.प २०३१, पृ. ४६ मा प्रतिपादित सिद्धान्त समेतको प्रत्यक्ष त्रुटी भएकोले न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) को खण्ड ‘क’ र ‘ख’ बमोजिम मुद्दा दोहोर्याई हेरी पाऊँ भन्ने समेत व्यहोराको प्रतिवादीहरूको संयुक्त रुपमा परेको निवेदन ।
११. यसमा प्रत्यक्षीवादीले कुटपिट गरेको भनी दिएको दरखास्तमा निधारमा लाठोले हिर्काएको भनी उल्लेख गरेको र चिकित्सकहरूद्धारा तयार भएको केश फाराममा नाकको टुप्पोमा सामान्य घाउ भनी लेखेको देखिन्छ भने एक्सरेमा नाकको हड्डी फोर्ने, छिनाल्ने, फुकाल्ने कार्य भएको भन्ने जनिएकोमा शुरुले कुटपिटको ७ नं. बमोजिम कैद र जरिवाना गरेको फैसला सदर गरेको पुनरावेदन अदालत हेटौंडाको फैसलामा कुटपिटको ७ नं., प्रमाण ऐन, २०३१ को दफा ५४ को व्याख्यातमक त्रुटी विद्यमान भएको हुँदा न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) ‘क’ बमोजिम मुद्दा दोहोर्याउने निस्सा प्रदान गरिएको छ । विपक्षीलाई झिकाई नियमानुसार पेश गर्नु भन्ने यस अदालतको मिति २०६०।१।२४ को आदेश ।
१२. नियम बमोजिम पेशी सूचीमा चढी इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक तर्फबाट उपस्थित विद्धान अधिवक्ताद्धय श्री कमल नारायण दास र श्री नागेश्वर लाल कर्णले १२ जना व्यक्तिहरू भाला, हात हतियार सुसज्जित भई चोट प्रहार गरेकोमा एक ठाउँमा मात्र अर्थात नाकमा चोट पुर्याएको भन्ने अस्वभाविक देखिन्छ । आरोपित घटना वास्तविक होइन, बनावटी हो । १०० मन धान लुटी लगेको भन्ने वादीले लुटपिट तर्फ फिराद दावी पुग्न नसक्ने गरी भएको जिल्ला अदालतको फैसलामा चित्त बुझाई बसेको अवस्थामा बेकसूर प्रतिवादीहरूलाई कुटपिटमा जरिवाना हुने गरी भएको फैसला बदर त्रुटीपूर्ण हुँदा बदर गरी प्रतिवादीहरूले सफाई पाउनु पर्छ भन्ने व्यहोराको बहस प्रस्तुत गर्नुभयो ।
१३. विद्धान कानून व्यवसायीहरूले गर्नु भएको बहस समेत सुनी पुनरावेदन सहितको मिसिल अध्ययन गरी हेर्दा पुनरावेदन अदालत हेटौंडाको फैसला मिलेको छ, छैन ? प्रतिवादीहरूको पुनरावेदन जिकिर पुग्न सक्छ, सक्दैन ? भन्ने सम्बन्धमा निर्णय दिनु पर्ने देखिन आयो ।
१४. निर्णय तर्फ विचार गर्दा मेरो घर अगाडिको नहरको डिलमा प्रतिवादीहरूले मलाई घेरा हाली लात, मुक्का एवं भालाले निधारमा हानी नाकको हड्डी समेत भाँचेको र खलिहानमा रहेको १०० मन धान समेत जवरजस्ती लुटी लगेकोले निजहरूलाई कुटपिटमा सजाय गरी घा खर्च र लुटी लगेको धानको बिगो रु.१४,०००। समेत दिलाई भराई पाउँ भन्ने फिराद दावी रहेको देखिन्छ । वादी मोवलवी मियाँ धोवीले घाँ जाँचको लागि दिएको दरखास्तमा प्रतिवादी ललन राउत यादव समेतका व्यक्तिहरूले कुटपिट गरेको भन्ने व्यहोरा लेखाएको पाइन्छ । वादी मोवलवी मिया धोवीको X-ray को रिर्पोट एवं घाँ जाँच फाराम समेतबाट Nosal Bone (नाकको हड्डी) भाँचिएको भन्ने देखिन्छ । वादीका साक्षी राम भन्ने लेखमन रायमरले २०५५।८।१२ गते साँझ ७ बजेतिर वादी मोवलवी मियाले आफ्नो खल्यान अगाडिको नहरमा खर राखिरहेको अवस्थामा पुरनप्रसाद समेतका प्रतिवादीहरूले कुटपिट गरेको आफ्नै आँखाले देखेको हुँ भनी किटानी वकपत्र गरेको देखिन्छ । निज लेखमन रायमरले वादीलाई कुटपिट गर्ने व्यक्तिहरूमा यी पुनरावेदक प्रतिवादीहरूको नाम उल्लेख गरी वकपत्र गरेबाट त्यसलाई प्रमाणको रुपमा ग्रहण गर्न नपर्ने कुनै कारण देखिदैन । कुटपिटको १९ नं. बमोजिम “कुटपिटका कुरामा नालिस दिँदा कुटाईका पीरले बेहोस भएकाबाट यस यसका चोटले घाउ चोट परेको भनी खोली लेखीदिन नसकेको वा वादीले सो कुरा खोली लेखिदिएमा पनि साक्षी प्रमाणबाट सो घाउचोट यस यसले पारेका भन्ने कुरा खुल्न नसकेमा एक जना देखि बढीको हुल भई कुटपिट गरेको रहेछ भने परेका घाउ चोटको सजायमा हुल भै कुटपिट गरेमा र धेरै खत पारेमा यसै महलका १५।१८ नम्बर बमोजिम बढाउँदा हुने सजाय जम्माको दामासाही गरी कुटपिट गर्ने सबैलाई बराबर पारी सजाय गर्नुपर्छ” भन्ने कानूनी व्यवस्था रहेको पाइन्छ । प्रस्तुत मुद्दामा यस यसको मुद्दामा चोट प्रहारबाट नाकको हड्डी भाँचिएको भनी वादीले किटानी उजुरी नदिएपनि सबै प्रतिवादीहरू वारदातमा संलग्न रही वादीलाई सामूहिक रुपमा कुटपिट गरेको तथ्य वादीका साक्षीको किटानी वकपत्रबाट वादी दावी समर्थित हुन आउँछ ।
१५. वादीले शुरुमा लुटपिट तर्फ पनि दावी लिएको र सो नठहरे उपर पुनरावेदन नगर्नेको हकमा विचार गर्दा फौजदारी प्रकृतिको आरोपित दावी उपलब्ध प्रमाणहरूको आधारमा कसूरदार ठहर्ने वा नठहर्ने हुन्छ । अनेक दावी गरिएकोमा सो मध्ये एक वा केहि दावी अनुसार कसूर वा कसूरदार नठहरेमा त्यसैको कारणले अरू दावी पनि नपुग्ने वा नठहर्ने हुन सक्तैन । प्रत्येक दावी वा कसूर प्रमाणबाट प्रमाणित हुनु पर्ने हुनाले कुटपिट तर्फको दावी प्रमाणित भैरहेको अवस्थामा लुटपिट तर्फ वादीले पुनरावेदन नगरेकै कारण कुटपिटको कसूर पनि अप्रमाणित वा अस्तित्वहिन हुन सक्तैन । आरोपित दावीहरू मध्ये जतिमा प्रतिवादीहरू विरूद्ध प्रमाण पुग्दछ त्यतिमा अदालतले कसूरदारलाई सजाय गर्दछ । यस कारण यस तर्फ यस अदालतबाट दोहोयाई हेर्ने निस्सा प्रदान गर्दा लिएका आधार मुद्दामा र विद्वान अधिवक्ताहरूको वहस जिकिरसँग सहमत हुन सकिएन ।
१६. अतः प्रतिवादीहरूले वादी मोवलवी मिया धोवीलाई कुटपिट गरेको ठहरी कुटपिटको ७ नं. बमोजिम रु.२०००। जरिवाना र ६ महिना कैद एवं हुल हुज्जत गरी कुटपिट गरेकोले कुटपिट गरेकोले कुटपिटको १८ नं. बमोजिम थप सजाय भई ऐ २५ नं. बमोजिम वादीलाई घाँ खर्च समेत भराई दिने गरी भएको शुरू पर्सा जिल्ला अदालतको फैसला सदर गरेको पुनरावेदन अदालत हेटौंडाको मिति २०५७।४।२६ को इन्साफ मिलेके देखिँदा सदर हुने ठहर्छ । पुनरावेदकहरूको पुनरावेदन जिकिर पुग्न सक्तैन । मिसिल नियमानुसार गरी बुझाइदिनु ।
उक्त रायमा मेरो सहमती छ ।
न्या. मीनबहादुर रायमाझी
इति सम्वत् २०६३ साल चैत १८ गते रोज १ शुभम्..........................।