निर्णय नं. ६४०८ - कर्तव्य ज्यान

निर्णय नं. ६४०८ २०५४ ने.का.प. अङ्क ७
संयुक्त इजलास
माननीय न्यायाधीश श्री लक्ष्मण प्रसाद अर्याल
माननीय न्यायाधीश श्री इन्द्रराज पाण्डे
सम्बत २०५२ सालको फौ.पु.नं.......१०९९
फैसला मितिः २०५४।२।७।३
मुद्दाः कर्तव्य ज्यान ।
पुनरावेदक/प्रतिवादीः जि. दाङ टरिगाउँ गा.वि.स. वडा न. १ दक्षीण कपडा देवी घर भै हाल कारागार शाखा वर्दियामा थुनामा रहेको ओज वहादुर कामी ।
विरुद्ध
विपक्षी/वादी : गोपाल गौतमको जाहेरीले श्री ५ को सरकार
§ पुनरावेदन अदालतले यसको चोटबाट मानिस मरेको खुल्न नआँएको भन्ने फैसलामा उल्लेख गरेको, त्यस्तो कसको चोट सांधातिक मर्मान्तकारी हो भन्ने नखुलेमा ज्यान सम्बन्धी महलको १३(३) नं.को दोश्रो खण्डमा उल्लेख भएको ुु यसैले मारेको वा यसैको चोटले मरेको भन्ने कुरा सो हात हतियार छाडने कसै उपर कुनै प्रमाणवाट देखिन ठहर्न नआएमा सवैलाई जन्मकैद गर्नु पर्छ ूभन्ने कानूनी व्यवस्था आकर्षित हुने भै निजलाई जन्मकैदको सम्म सजाय हुनु पर्नेमा सर्वश्वसहित जन्मकैद गर्ने गरेकोसम्म शुरुको सदर गरेको पुनरावेदन अदालत नेपालगन्जको फैसला मिलेको नदेखिने ।
(प्र.नं. ३१)
पुनरावेदक तर्फवाटः विद्वान वैतनिक अधिक्ता श्री लाल वहादुर थापा
विपक्षी तर्फबाटः विद्वान उप सरकारी अधिवक्ता श्री शरद खडका
अवलम्बित नजीरः x
फैसला
न्या. लक्ष्मण प्रसाद अर्यालः पुनरावेदन अदालत नेपालगन्जको फैसला उपर प्रतिवादी तर्फवाट यस अदालतमा दायर हुन आएको पुनरावेदन सहितको प्रस्तुत मुद्दा को संक्षिप्त विवरण यस प्रकार रहेछ ।
२. ऐलानी जग्गामा वसेको सन्दर्भमा भएको झगडाको विषयमा तुलसीपुर थानामा निवेदन दिएकोमा थानाबाट कागज गरी छोडी दिएको रिसइवीले टरीगाउँ गा.वि.स. वार्ड नं १ वस्ने केशर वहादुर कामी, ओज वहादुर कामी, चुडामणि ढुंगेल र वल वहादुर कामीले मेरो वुवा तेजमान गौतमलाई २०४७।८।१५ गते राती टाउकोमा धारिलो हतियारले प्रहार गरी मारेको र म समेतलाई धाइते पारेकोले कानून वमोजिम कारवाही तथा सजांय गरी पाउँ भन्ने गोपाल गौतमको २०४७।८।२६ को जाहेरी दरखास्त ।
३. मृतक तेजमान गौतमको टाउको पछाडी पट्टि अन्दाजी ३ इन्च लामो गहिराइ अं. २ इन्चको धारिलो हतियारकै चोट भएको आंखा माथि धारिलो हतियारको चोट भएको भन्ने समेत २०४७।८।१६ को लास प्रकृति मुचुल्का ।
४. भिनाजु ओज वहादुर र केशर वहादुरले हातमा हतियार खुकुरी लिई जाहेरवाला र मृतकलाई हाने अध्यारोमा जे भेटिन्छ त्यसैले मृतक समेतलाई हानी मैले भिनाजुको पक्ष लिएको हुँ । अर्झै मार्नु पर्छ भनी केशर वहादुरले वासको लाठीले हिर्काउदा मृतक मेरै अगाडी लडेका हुन वरामद भएको खुकुरी केशर वहादुरको र हसिया ओज वहादुरको हो भन्ने समेत प्र. वल वहादुर कामीले प्रहरीमा गरेको कागज ।
५. मेरो हातमा रहेको हसिंयाले जाहेरवाला पक्षलाई हाने भिडमा २।४ पटक हसिया प्रहार गरेको हुँ । दाजु केशर वहादुरको हातमा खुकुरी थियो । चुडामणिले पनि हसिंया लिएका थिए । हतियार लिएका मध्येका चोटवाट लागेको हुनु पर्छ । दाजु केशर वहादुरले काजीमान गौतमले दूःख दियो त्यसलाई मारौ भनेबाट कुटपिट हुन गएको हो भन्ने समेत प्र. ओजवहादुर कामीले प्रहरीमा गरेको कागज ।
६. तेजमानले डांग्राकामी आदि भन्छ यसलाई घरवाट निकालेर पिटनु पर्छ भनी ओज वहादुरले भनेका थिए । नमानी घर गए । पुनः पीरके वोलाउन गएकोले जांदा घटना भइसकेको थियो आगंनमा तेजमान लडी रहेको थिए । वोलाउँदा वोलेन भन्ने समेत प्र.चुडामणि ढुंगेलले प्रहरीमा गरेको कागज ।
७. केशर वहादुर, वल वहादुर, ओज वहादुर, चुडामणि समेत भई तेजमान गौतमलाई धारिलो हतियार प्रहार गरी मारेको हुनु पर्छ भन्ने धाइते भागरीाम वस्यालको कागज ।
८. घटनास्थलमा ओज वहादुर कामी समेतले जाहेरवाला समेतलाई खुकुरी प्रहार गरी लखेटेका हुन । म जाहेरवालाको साथमा थिए भन्ने समेत खिम वहादुर घलेको कागज ।
९. केशर वहादुर विश्वकर्मा सहितका ४ जना प्रतिवादीको कुटपिटबाट तेजमान गौतमको मृत्यु भएकोमा पूर्ण विश्वास लाग्छ । लास प्रतिवादीहरुकै आंगनमा थियो भन्ने समेत पतीराम चौधरी सहितका सर्जमिनका मानिसहरुले लेखि दिएको सर्जमिन मुचुल्का ।
१०. घटनास्थलमा प्र. केशर वहादुरको हातमा र प्र ओज वहादुरको हातमा खुकुरी प्र. चुडामणि ढुंगेलको हातमा ढुंगा, प्र. वल वहादुरको हातमा लठ्ठी थियो । ऐलानी जग्गामा वस्यौं भने मार्छौ भनेका थिए । सोही रिसइवीवाट मेरो लोग्नेलाई धारिलो हतियार प्रयोग गरी मारेका हुन भन्ने समेत मृतककी श्रीमती डल्ली कुमारी गौतमको २०४७।९।३ मा प्रहरी भएको कागज ।
११. प्रतिवादीहरु चारै जनाको खुकरी लाठी र हसियाको प्रहारवाट तेजमानको मृत्यु भएको हो ओज वहादुर समेतले प्रहार गरेको देखेको हुँ भन्ने समेत डिल्ली प्रसाद भण्डारीको २०४७।९।४ मा भएको कागज ।
१२. ऐलानी जग्गामा वसेको रिस इवी साधन गर्न पूर्व षडयन्त्र रची २०४७।८।१५ गते राती प्रतिवादीहरु ओाज वहादुर कामी, केशर वहादुर कामी, वल वहादुर कामी र चन्द्र राज ढुंगेलले खुकुरी हतियार र लाठा ढुंगासमेतको प्रहार गरी तेजमान गौतमलाई मारेकोले ज्यान सम्बन्धी महलको १३(३) अनुसार हदैसम्म सजाय गरी पाउँ भन्ने समेत प्रहरी प्रतिवेदन दावी ।
१३. रातीको ११ वजे तिर मार्छौ भन्दै केशर वहादुर उफ्रदै थिए । घरमा जांदा मृतक केशर वहादुरकै आंगनमा लडी रहेको थिए राती भएकाले कहां कति चोट लागेको थियो देखिन । प्रहरीमा उजुर गर्न गएकाहरु नफर्कदै मरेका हुन । मैले कुटपिट गरेको होइन भन्ने समेत प्र. वल वहादुर विश्वकर्माको अदालतमा वयान ।
१४. प्र. केशर वहादुरको घरमा जांदा मृतक र ओज वहादुर पल्टेको देखेको हुँ । तेजमान मरी सकेका थिएनन् । केशर वहादुरको हातमा लाठी थियो । तेजमानको टाउकोमा २।३ ठाउँमा चोट लागेको थियों । सो घटनामा देखेर म र केशर वहादुर जाहेर गर्न गएका थियौं । त्यस वखत मलाई पनि हान्न आएकोले मैले पनि हानेको हुँ भनी केशरले भनेका थिए । मैले हानेको छैन वारदात स्थलमा घटना समयमा म छैन भन्ने समेत प्र. चुडामणि ढुंगेलले अदालतमा गरेको वयान ।
१५. वारदातका समयमा म थिइन । किन जाहेरीमा मेरो नाम दिए भन्न सक्तिन । को कसको चोटबाट तेजमानको मृत्यु भएको हो सो पनि थाहा छैन भन्ने समेत प्र. ओज वहादुर कामीले अदालतमा गरेको वयान ।
१६. प्र. ओज वहादुर कामी र चुडामणि ढुंगेललाई अ.व. ११८(२) अनुसार पुर्पक्षका लागि थुनामा राख्ने प्र. वल वहादुर कामीका हकमा रु.१००००।- नगद वा जेथा जमानी दिए तारिखमा राख्ने र केशर वहादुरका नाउँमा वारेन्ट जारी गर्ने भन्ने समेत २०४७।९।१६ को आदेश ।
१७. प्रारम्भमा जेथा जमानी राखी तारेखमा रहेकोमा पछि नगद नै राखेकोले प्र. वल वहादुरले राखेको जेथा जमानी फुकुवा भएको ।
१८. प्रतिवादी मध्येका केशर वहादुर कामीको चोटवाट तेज मानको मृत्यु भएको हो । चुडामणिले कुटपिट गरेका होइनन् भन्ने समेत चुडामणिका साक्षीहरु शेषमणी वुढाथोकी, धन वहादुर सुनार समेतको वकपत्र ।
१९. नेशनल फोरेन्सिक साइन्स लेव्रोटरीको राय सहितको मिति २०४९।६।३० को पत्र ।
२०. घटनास्थलको स्वरुप, प्रतिवादीहरुको वयान र संकलित अन्य सवुद प्रमाणहरुको मूल्याङ्कन गर्दा प्र. ओज वहादुर कामी र वल वहादुर कामी समेतको कुटपिटवाट मृतक तेजमान गौतमको मृत्यु भएको देखिंदा निजहरुलाई ज्यान सम्बन्धी १३(३) अनुसार सर्वस्व सहित जन्मकैद र प्रतिवादी चुडामणि ढुंगेल घटनास्थलमा रहे भएको समेत पुष्टि भएवाट ऐ. को १७(३) अनुसार ३ वर्ष कैद हुने र फरार रहेका केशर वहादुर कामीका हकमा अ.वं. १९० नं. वमोजिम मुल्तवी रहने ठहर्छ भन्ने समेत दाङ देउखुरी जिल्ला अदालतको २०४९।८।२१ को फैसला ।
२१. वारदात स्थलमा रहेको कुरालाई अदालतमा समेत स्वीकार गरेको र सह अभियुक्तको पोल समेतवाट समर्थित भएको अवस्थामा चुडामणि ढुंगेललाई १७(३) अनुसार ३ वर्ष मात्र कैद गरेको फैसला त्रुटीपूर्ण हुँदा वदर गरी दावी वमोजिम सजाय गरी पाउँ भन्ने वादी श्री ५ को सरकारको पुनरावेदन ।
२२. प्रहरीमा भएको वयानलाई आधार मानी मलाई समेत दोषी ठहर्याइ भएको शुरुको फैसला त्रुटिपूर्ण हुँदा वदर गरी पाउँ भन्ने प्र. चुडामणि ढुंगेलले केन्दी्रय कारागार मार्फत पेश गरेको पुनरावेदन पत्र ।
२३. घर भित्रवाट झिकी लगेको हसियालाई प्रमाण लगाई रहेको फैसला अन्यायपूर्ण हुँदा वदर गरी सफाई पाउँ भन्ने समेत प्र. ओज वहादुर कामीले केन्दी्रय कारागार मार्फत पेश गरेको पुनरावेदन पत्र ।
२४. मृतक तेजमान गौतमको जीउमा परेको धारिलो हतियारको चोट मुख्य टाउकोमा देखिन आएको अन्य प्रतिवादीहरुको कागज र मृतक साथमा आइ चोट समेत खाने भागरीाज र पूर्ण वहादुर वोहराले अदालतमा गरेको वकपत्र समेतवाट मृतकलाई चोट छाड्नेमा प्र. ओज वहादुर कामी समेत देखिन आएकोले निजलाई शुरु जिल्ला अदालतले ज्यान सम्बन्धीको १३(३) वमोजिम सजाय गर्ने गरेको मिलेकै देखिन्छ भन्ने समेत व्यहोराको पुनरावेदन अदालत नेपालगन्जको मिति २०५१।३।२७ को फैसला ।
२५. पुनरावेदन अदालत समेतले कसको चोटवाट मृतकको मृत्यु भएको भन्ने खुल्न नआएको भनि मलाई हदैसम्म सजाय गरेको कानून सँगत छैन । घटनास्थलमा उपस्थित रहेका चश्मदिद गवाहहरुले कसैले मेरो हातमा खुकुरी छ भनेका छन कसैले हसिया, जुन एकापसमा मेल खांदैन । पु.वे.अ.ले मलाई हदैसम्म सजाय गरेको वदर भागी छ भन्ने समेत व्यहोराको प्र. ओज वहादुर कामी यस अदालतमा दायर भएको पुनरावेदन ।
२६. यसमा प्र. ओज वहादुर कामीको पुनरावेदन अदालत नेपालगंजको फैसला उपर पुनरावेदन परेको र त्यसैवाट इन्साफ हुनेनै हुँदा निजको हकमा साधकको लगत कट्टा गरी दिनु भन्ने समेत यस अदालत संयुक्त इजलासको मिति २०५३।२।२ को आदेश ।
२७. यसमा प्रतिवादीहरु ओज वहादुर र केशर वहादुर मध्ये कसले प्रहार गरेको चोटवाट मृतक तेजमानको मृत्यु भएको हो यकिन नभएको अवस्थामा प्र. ओज वहादुर कामीलाई ज्यान सम्बन्धी महलको १३(३) नं.ले सर्वश्व सहित जन्मकैद हुने ठहराएको पुनरावेदन अदालत नेपालगन्जको फैसला फरक पर्ने देखिंदा अ.वं. २०२ नं. वमोजिम छलफलको लागि महान्यायाधिवक्ताको कार्यालयलाई सूचना दिई नियम वमोजम पेश गर्नु भन्ने समेत यस अदालत संयुक्त इजलासको मिति २०५३।२।२ को आदेश ।
२८. नियम वमोजिम पेश भएको प्रस्तुत मुद्दामा पुनरावेदक तर्फवाट रहनु भएका विद्वान वैतनिक अधिवक्ता श्री लाल वहादुर थापाले मृतकसँग प्रतिवादी रिसइवी भएको प्रमाण छैन । प्रतिवादी केशर वहादुरकी छोरीले प्रहरीमा कागज गर्दा मेरो वावुले हानेपछि मृतक लडे भन्ने व्यहोरा परेको छ । भगीराजले पनि केशरले हानेको भन्ने उल्लेख छ । पुनरावेदन अदालत समेत भएको फैसला मिलेको छैन भन्ने समेत वहस प्रस्तुत गर्नु भयो ।
२९. प्रत्यर्थी वादी श्री ५ को सरकारका तर्फवाट उपस्थित विद्वान उप सरकारी अधिवक्ता श्री शरद खड्काले प्रतिवादी ओज वहादुरले जाहेरवालालाई शुरुमा हानेको देखिन्छ । निज अधिकार प्राप्त अधिकारी समक्ष हसिंयाले हानेको कुरामा सावित छन । अन्य व्यक्तिको कथनबाट पनि निजको साविति पुष्टि भएको छ । पुनरावेदन अदालतको इन्साफ सदर हुनु पर्छ भन्ने समेत वहस गर्नु भयो ।
३०. यसमा निर्णय तर्फ विचार गर्दा पुनरावेदक ओज वहादुर कामीले प्रहरीमा कागज गर्दा २ पटक हतियारले हानेको भनेको कुरालाई जाहेरवालाको जाहेरी दरखास्तमा ओज वहादुरले दुइ पटक खुकुरीले हानेको भनेको प्रत्यक्षदर्शी भागीराज वस्याल र पूर्ण वहादुरले पनि ओज वहादुरले हानेको भनी वकि दिएकोवाट र मर्ने तेज मानलाई लखेटदै प्रतिवादी ओज वहादुर केशर वहादुरको आंगन वीचमा लडेको सोही ठाउँमा लास परेको देखिएको भन्ने उल्लेख भएको देखिन्छ । मृतकको मृत्यु धारिलो हतियारको चोटवाट भएको भन्ने कुरामा विवाद नरहेको र यिनै प्र. ओज वहादुर समेतको संलग्नतामा घटना घटेको भन्ने समेत पुष्टि भएको छ । मृतक तेजमान चोट छोडनेमा यिनै प्र. ओजमान समेत देखिन आएको भनी यसले यसरी मारेको भनी अन्यथा भन्न नसेको अवस्था समेतवाट अधिकार प्राप्त अधिकारी समक्ष भएको साविति समर्थित भएको देखिंदा प्र. ओज वहादुर कामीले ज्यान सम्बन्धीको १३(३) नं.को कसुर गरेको ठहर्छ भन्ने पुनरावेदन अदालत नेपालगन्जको ठहर मिलेकै देखिन आयो ।
३१. पुनरावेदन अदालतले यसको चोटबाट मानिस मरेको खुल्न नआँएको भन्ने फैसलामा उल्लेख गरेको, त्यस्तो कसको चोट सांधातिक मर्मान्तकारी हो भन्ने नखुलेमा ज्यान सम्बन्धी महलको १३(३) नं.को दोश्रो खण्डमा उल्लेख भएको ूयसैले मारेको वा यसैको चोटले मरेको भन्ने कुरा सो हात हतियार छाडने कसै उपर कुनै प्रमाणवाट देखिन ठहर्न नआएमा सवैलाई जन्मकैद गर्नु पर्छू भन्ने कानूनी व्यवस्था आकर्षित हुने भै निजलाई जन्मकैदको सम्म सजाय हुनु पर्नेमा सर्वश्व सहित जन्मकैद गर्ने गरेको सम्म शुरुको सदर गरेको पुनरावेदन अदालत नेपालगन्जको फैसला मिलेको देखिएन । सो हदसम्म उल्टी हुन्छ । अरु तपसिल वमोजिम गर्नु ।
तपसिल
पुनरावेदक प्रतिवादी ओज वहादुर कामी के, माथि इन्साफ खण्डमा लेखिए वमोजिम ज्यान सम्बन्धी १३(३) नं. वमोजिम जन्मकैद हुने ठहरेकाले शुरु दाङ जिल्ला अदालतको मिति २०४९।८।२१ को फैसलाले सवश्व गर्ने गरेको लगत कटठ्ठा गरी दिनु भनी शुरुमा लेखि पठाई दिनु । ........... १
ऐ. के. शुरु जि.अ.का फैसला वमोजिम अंश सर्वश्व गर्न डोर खटिइ गएकोमा २०४९।११।१५ गतेको मुचुल्का वमोजिम निज र निजका एकाघर परिवारका नाउँमा अंश सर्वश्व गर्नु पर्ने कुनै पनि चल अचल सम्पति भएको भन्ने देखिंदा सर्वश्व फुकुवा तर्फ कारवाही गरी रहनु परेन ....... २
मिसिल नियमानुसार गरी वुझाई दिनु ...३
उक्त रायमा म सहमत छु ।
न्या. इन्द्रराज पाण्डे
इति सम्बत् २०५४ साल जेष्ठ ७ गते रोज ३ शुभम ।