शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ७८११ - हकसफा

भाग: ४९ साल: २०६४ महिना: बैशाख अंक:

निर्णय नं.७८११      ने.का.प.२०६४ अङ्क १

 

सर्वोच्च अदालत संयुक्त इजलास

माननीय न्यायाधीश श्री राजेन्द्रकुमार भण्डारी

माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ

सम्वत २०५८ सालको दे.पु.नं. ८४३९

फैसला मितिः २०६३।१०।२५।५

 

मुद्दा :हकसफा ।

 

पुनरावेदक/वादीः कैलाली जिल्ला थापापुर गा.वि.स. वार्ड नं. ९ बस्ने सुन्दरलाल डगौरा

विरूद्ध

प्रत्यर्थी/प्रतिवादीः ऐ. ऐ. बस्ने रामफल चौधरी

 

§  कानूनले निखन्ने हक प्राप्त गरेको मोहीलाई बिक्री व्यवहार थाहा दिनु पर्ने हक समेत सुनिश्चित गरेको अवस्थामा सो वेगर नै अन्य रीतबाट सुनाइएको भनेको सिमित कुराले थाहा पाएको कुराको अनिवार्य र पर्याप्त तत्वहरू सहितको जानकारी पाएको भन्न नमिल्ने।

 

§  थाहा पाएको भन्ने कुराले आधारभूत र वास्तविक तथ्य (Actual Fact)  हरू पूर्णरुपले उजागर भएको स्थिती विद्यमान हुनु पर्दछ । सो अवस्थाको विद्यमानताको अभावमा कुनै कारवाही गर्नलाई पर्याप्त नहुने सुनेको वा सिमित तथ्यको आधारमा हदम्यादको गणना गरी हदम्याद नाघेको भन्न नमिल्ने ।

§  मिति २०५१।१०।२६ मा जग्गा बिक्रि भएको कुरा मिति २०५२।४।१५ मा बादीले नक्कल लिई थाहा पाई नक्कल लिएको ३५ दिन भित्र परेको प्रस्तुत मुद्दाको फिरादलाई लेनदेन ब्यबहारको ११ नं. को हदम्याद नाघी परेको भन्न नमिल्ने ।

(प्रकरण नं. २०)

§  मोही नामसारीको प्रश्न र हक निखनाई पाउँ भन्ने प्रश्न अलग अलग प्रश्न भएकोले कानून बमोजिम हक निखनाई लिन मोही नामसारी भएकै हुनुपर्छ भन्न मिल्दैन । मोही नामसारीको दावी नभएको र मोहीको मृत्युपछि निजका हकदारले जहिले सुकै मोहीयानी हक नामसारी गराई लिन पाउने हुँदा मोही नामसारीको प्रक्रिया पुरा नहुँदैमा हक निखन्न नपाउने भन्न नमिल्ने ।

(प्रकरण नं. २१)

 

पुनरावेदन वादी तर्फबाटः विद्धान अधिवक्ता श्री शतिशकृष्ण खरेल

प्रत्यर्थी प्रतिवादी तर्फबाटः विद्धान अधिवक्ता श्री प्रकाश वस्ती

अवलम्बित नजीरः

 

फैसला

            न्या. कल्याण श्रेष्ठः पुनरावेदन अदालत दिपालयको मिति २०५८।३।२६ को फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) बमोजिम वादीको तर्फबाट यस अदालतमा पुनरावेदन परेको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छः

२.    मेरा बुबा स्व. फुलराम डगौरा साविक नवलपुर वडा नं. ५ को कि. नं. ८० को १५ जग्गामा मोही भै आएकोमा उक्त जग्गा साविक ज. ध. प्रतिवादी लोकदत्त उप्रेतीले मेरो बुबालाई थाहै नदिई २०५१।१०।२६ मा प्र. रामफल चौधरीलाई रा.पा. गरी दिएको कुरा २०५२।४।१५ मा थाहा पाई मोहीको हैसियतले निखनी पाउँ भनी मालपोत कार्यालयमा निवेदन दिएकोमा उक्त कार्यालयबाट फिराद दावी खारेज गरे उपर पुनरावेदन अदालत दिपायलमा पुनरावेदन दिदा जग्गा निखन्ने सम्बन्धमा मोही हो, होईन भन्ने समेत निर्णय गर्नुपर्ने भएकोले हदम्यादको आधारमा वादी दावी खारेज गरेको नमिलेको हुँदा रजिष्ट्रेशनको महलको ३५ नं. बमोजिम फिराद दायर गर्न जानु भनी तारेख तोकिएकोमा मालपोत कार्यालय टिकापुरले उक्त आदेश २०५५।५।१६ मा सुनाएकोले ज. ध. ले मेरा पिता स्व. फुलरामको मन्जुरी र जानकारी नै नलिई रा.पा. गरी दिएकाले मोहीले निखनी पाउने हुँदा हक सफा गरी पाउँ भन्ने फिराद दाबी ।

३.    विपक्षीको फिराद दावी झुट्टा हो । विपक्षीका बुबा सो जग्गाको वास्तविक मोही होइनन् । मैले खरिद गरेको जग्गाको महलमा फुलराम थारु उल्लेख र भु. सु. का कैलाली र मा. पो. का कैलालीमा पेश गरेको नागरीकतामा फुलराम डगौरा छ । अतः निज वादी मेरो जग्गाको मोही नै होईनन् । मोही भएको भए कुतवाली बुझाएको रसिद समेत म बाट लिएको हुनुपर्ने हो, सो पेश हुन सकेको छैन । साथै निजले हदम्याद भन्दा बाहीर गै फिराद दावी गरेका र मोही नै नभएको व्यक्तिले कानूनी हक प्राप्त नगर्ने हुँदा फिराद दावी खारेज गरी पाउँ भन्ने समेत प्रतिवादीहरूको संयुक्त प्रतिउत्तर पत्र ।

४.    कि. नं. ८० को जग्गामा फिरादीका बुबा मोही हुन् र निजले नै जोती कमाई आएको देखेको हुँ भन्ने वादीका साक्षी शिवलाल चौधरी र पदमबहादुर चन्दको वकपत्र ।

५.    विवादीत जग्गाको मोही यी फिरादी होईनन । रामफलले जग्गा खरिद गर्नु पूर्व साविक ज. ध. लोकराज उप्रेतीले नै उक्त जग्गा खनजोत गरी भोगी आएका थिए भन्ने प्र. का. साक्षी निरबहादुर चौथरीको वकपत्र ।

६.    प्रतिवादीहरूले राजिनामामा नै मोही फुलराम भन्ने उल्लेख गरेका र झुट्टा व्यक्ति निखन्न मोहि हुँ भनी उपस्थित भएको भए त्यसतर्फ कारवाही चलाउन सक्ने नै हुँदा र वादीका साक्षीको वकपत्र समेतबाट वादी दावी पुष्टी भै रहेकोले लेनदेन व्यवहारको १२ नं. बमोजिम निखनाई लिन पाउने ठहर्छ भन्ने ब्यहोराको कैलाली जिल्ला अदालतको मिति २०५६।३।१४ को फैसला ।

७.    मोहीको दायीत्व पुरा नगर्ने व्यक्ति मोही हुन सक्तैनन् । मोहीले दायीत्व पुरा नगरेको पुष्ट्याई मेरो साक्षीको वकपत्र र प्र. लोकदत्तको प्रतिउत्तर जिकिरबाट समेत तथ्ययुक्त रुपमा खण्डन भएको छ भने कुतवाली बुझाएको कुनै ठोस प्रमाण रसिद विपक्षीले पेश नगर्नाले पनि वादीको तथ्ययुक्त प्रमाणको अभाव छ । अतः प्रत्यर्थीले जग्गा निखनाई लिन पाउने ठहर गरी गरेको निर्णय पूर्णतया बदरभागी भएकोले बदर गरी पाउँ भन्ने समेत ब्यहोराको पुनरावेदन अदालत दिपायलमा परेको प्रतिवादी रामफल चौधरीको पुनरावेदन जिकिर ।

८.    मुद्दा पर्दा पर्दै सृजित प्रमाणको कानूनी मान्यता नरहने हुँदा त्यस्तो प्रमाण लगाई गरेको शुरुको फैसला विचारणिय हुँदा छलफलको निमित्त अ. वं. २०२ नं. तथा पुनरावेदन अदालत नियमावली, २०४८ को नियम ४७ अन्तर्गत प्रत्यर्थी झिकाउनु भन्ने २०५७।४।२६ को पुनरावेदन अदालतको  आदेश ।

९.    यसमा वादीले शुरु कैलाली जिल्ला अदालतमा फुलराम डगौरा मर्दा निजको हकमा निजको एकाघरको छोरा सुन्दरलाल डगौरा भनी मिति २०५५।५।३० मा हक सफाको फिराद पत्र दर्ता गराएको देखिन्छ । यसभन्दा पूर्व मिति २०५२।४।१७ मा वादीका वावु फुलराम डगौरा थारुका नामबाट हक सफाको लागि मालपोत कार्यालय कैलालीमा निवेदन दर्ता गराएको देखिन्छ। मालपोत कार्यालय टिकापुर कैलालीको मिति २०५५।५।१६ को निर्णय सुन्दरलालले सुनी पाएको निस्सा प्रमाणमा आएको मालपोत कार्यालयको दा. नं. ३ को मिसिल संलग्न रहेको समेत देखिन्छ । निज वादीका वावुको के कुन मितिमा मृत्यु भएको हो सो को आधार प्रमाण समेत वादीले फिराद साथ दाखिल गरेको नदेखिनुका साथै निजको वावुको नाममा मोहीयानी कायम रहेको विवादित कित्ता नं. ८० को जग्गाको मोहीयानी वादीले आफ्नो नाममा नामसारी गराएको समेत  देखिदैन ।

१०.    तसर्थ मृत्यु भै सकेको व्यक्तिका हकमा वादीले नालेश गरेको देखिनुका अतिरिक्त वादीका नाउँमा विवादित कि. नं. ८० को जग्गाको मोहीयानी हक नामसारी नभएको र नामसारी गर्ने प्रयास समेत गरेको नदेखिदा सो जग्गाको मोहीयानी हकको कुरा लिएर वादीलाई मुद्दा गर्ने हकदैया नै नभएको अवस्थामा प्रस्तुत मुद्दा खारेज गर्नुपर्नेमा शुरु कैलाली जिल्ला अदालतले वादी दावी बमोजिम निखनाई लिन पाउने ठहर्याई मिति २०५६।३।१४ मा गरेको फैसला मिलेको नदेखिदा सो फैसला उल्टी भै हकदैयाको अभावमा वादी दावी नै खारेज हुने ठहर्छ भन्ने समेत व्यहोराको पुनरावेदन अदालत दिपायलको मिति २०५८।३।२६ को फैसला ।

११.    स्व. पिता फूलाराम डगौराले मोहियानी कमाएको कि. नं. ८० को ज. वि. १५ जग्गा विपक्षीहरू रामफल र लोकदत्तले लिनु दिनु गर्दा मोहीलाई जानकारी सम्म दिएनन् । तथापि लेनदेन व्यवहारको १२ नं. अन्तर्गत बिक्री भएको जग्गा निखनी पाउन बिक्री मूल्य समेत राखी २०५२ सालमा नै पिताले कारवाही चलाउनु भएको थियो तर मालपोत कार्यालयले निवेदन खारेज गरे उपर पुनरावेदन अदालत दिपायलमा पुनरावेदन गरी मालको निर्णय बदर गरिएको हो। अदालतमा फिराद दिंदा पृथक रुपमा आएको नभै मालकै काम कारवाहीको सिलसिलामा निरन्तरता दिदै फिराद गरेको हो । फिराद साथ छुट्टै मृत्यु दर्ता प्रमाण पत्र पेश गर्नु पर्दछ भनी खारेजीको आधार मान्नु कानून प्रतिकूल छ । जुन सिलसिलामा फिराद परेको हो सोही कार्यालयमा पेश भईसकेको कागजहरूलाई अदालतमा पुनरावृत्ती हुनु पर्दछ भन्ने कानूनको मनसाय हुन सक्दैन ।

१२.   प्रस्तुत विवाद निखनाई पाउने भएकोले मोहीयानी हक सर्ने विवादमा ल्याउनु न्यायोचित हुँदैन । मोहीको मृत्यु पश्चात कसले मोहीयानी हक प्राप्त गर्ने भन्ने एउटा बिषय हो भने जग्गाको स्वामित्व नै रपान्तरित हुने गरी जग्गा निखनाई पाउने प्रक्रियालाई मोहीयानी विवादका कानूनी प्रावधानसँग लिप्त गर्न मिल्ने पनि होईन । जग्गाको स्वामित्व सर्ने गरी रकम समेत धरौटीमा राखेको अवस्थामा मोहीयानी हक र जग्गा स्वामित्वको हकलाई समान बिषय मानी मेरो विरूद्ध भएको निर्णय त्रुटीपूर्ण छ । जग्गाको स्वामित्व पाउँ भन्ने दावीलाई भूमी सम्बन्धी ऐन, अन्तर्गत ब्याख्या गर्न मिल्दैन । लेनदेन व्यवहारको ११ नं. अन्तर्गत हकवाला र सन्धि सर्पन भएको व्यक्तिले निखनी नलिएको अवस्थामा ऐ. १२ नं. बमोजिम मोहीले निखनी लिन पाउँछ । मोहीयानी हक नामसारी तर्फ दावी नभै जग्गा निखनी लिने तर्फ दावी भएकोमा मोहीयानी नामसारी तर्फ चल्नु पर्ने भनी फिराद दावी भन्दा बाहिर गै भएको पुनरावेदन अदालत दिपायलको फैसला त्रुटीपूर्ण भएकोले सो फैसला बदर गरी हक इन्साफ पाउँ भन्ने समेत ब्यहोराको वादीको तर्फबाट यस अदालतमा परेको पुनरावेदन पत्र ।

१३.   यसमा यी पुनरावेदकका पिता फुलराम डगौराले मोहीको हैसियतले कानून अनुसार जग्गा निखन्न दावी लिई शुरु भएको प्रस्तुत मुद्दा कार्यवाहीयुक्त अवस्थामा फुलरामको मृत्यु भै अ. वं. ६२ नं. अनुसार यी पुनरावेदकले मुद्दा सकार गरी कारवाही भै रहेको अवस्थामा यी पुनरावेदकले मोही नामसारी नगराई प्रस्तुत मुद्दा गर्ने हक नरहेको भन्ने पुनरावेदन अदालतको निर्णयाधार फरक पर्ने देखिदा अ. वं. २०२ नं. बमोजिम विपक्षीलाई र अ. वं. २०१ नं. बमोजिम पुनरावेदक समेतलाई झिकाई पेश गर्नु भन्ने यस अदालतको मिति २०६२।१०।३० को आदेश ।

१४.   नियम बमोजिम पेशी सूचीमा चढी पेश भएको प्रस्तुत मुद्दामा पुनरावेदन सहितको मिसिल संलग्न कागज प्रमाण अध्ययन गरी पुनरावेदक वादीका तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री सतिशकृष्ण खरेलले प्रस्तुत मुद्दामा मोहीयानी हक सम्बन्धी विवाद नभै जग्गा निखन्ने विवाद भएकोले निखनाई पाउने बिषय वस्तुलाई मोहीयानी हक सर्ने विवादमा ल्याउनु न्यायोचित हुँदैन । मोही मरेपछि कसले मोही हक प्राप्त गर्ने भन्ने एउटा बिषय हो भने जग्गाको स्वामित्व नै रुपान्तरित हुने गरी जग्गा निखनाई लिन पाउने अर्को बिषय हो । निखनाई पाउने प्रक्रियालाई मोहीयानी विवादका कानूनी प्रावधानसँग जोड्न मिल्दैन । प्रस्तुत विवाद जग्गाको स्वामित्वसँग सम्बन्धित भएको र त्यसका लागि रकम समेत दाखिला भैसकेकोले दावी बमोजिम जग्गा निखनाई पाउने गरी फैसला हुनुपर्नेमा फिराद नै खारेज गर्ने गरी भएको पुनरावेदन अदालत दिपायलको फैसला त्रुटीपूर्ण हुँदा सो फैसला बदर गरी जग्गा निखनाई पाउँ भन्ने समेत बहस प्रस्तुत गर्नुभयो । प्रत्यर्थी प्रतिवादी रामफल चौधरीका तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री प्रकाश स्तीले मोही हक स्वतः हस्तान्तरण हुन सक्दैन । साविक मोही फूलरामको मृत्यु पछि वादीका नाउँमा मोहीयानी हक नामसारी भएको छैन । मोही रोज्ने अधिकार कानून बमोजिम जग्गा धनीमा निहित छ । त्यसैगरी विपक्षी वादीले मिति २०५२।४।१७ मा निखनाई पाउँ भनी दिएको निवेदन समेत हदम्याद भित्र छैन । जग्गा खरिद बिक्री भएको ६ महिना भित्र थाहा पाएको ३५ दिन भित्र दावी गर्न पाउने व्यवस्था लेनदेन व्यवहारको ११ नं. मा भएको मा जग्गा खरिद बिक्री भएको कार्य विपक्षी वादीलाई २०५२।२।२३ मा थाहा भएको कुरा विपक्षीका बुवा फूलाराम चौधरीले दिएको जोत हटक मुद्दाबाट देखिएकोमा २०५२।२।२३ ले ३५ दिन भित्र निखनाई तर्फ थैली धरौट राख्नु पर्नेमा मिति २०५२।४।१५ मा थाहा पाएको भनी मिति २०५२।४।१७ मा परेको फिराद हदम्याद नाघी परेकोले पुनरावेदन अदालत दिपायलबाट मुद्दा खारेज गर्ने गरी भएको फैसला सदर कायम राखी पाउँ भन्ने समेत बहस प्रस्तुत गर्नुभयो ।

१५.   यसमा वादी प्रतिवादी तर्फबाट उपस्थित कानुन व्यवसायीहरूले गर्नुभएको उपरोक्त बहस वुंदा समेत सुनी पुनरावेदन अदालत दिपायलबाट फिराद दाबी खारेज गर्ने गरी भएको फैसला मिलेको छ, छैन र पुनरावेदन जिकिर बमोजिम वादीले जग्गा निखनाई लिन पाउने हो, होईन भन्ने बारेमा निर्णय गर्नुपर्ने देखियो ।

१६.    यसमा मेरो बाबु मोही भएको जग्गा विपक्षीहरूले क्रय विक्रय गरी लिनु दिनु गरेकोमा नजिकको हकवालाको निखनाई तर्फ उजुर नपरेको हुँदा मोहीको हैसियतले जग्गा निखनी पाउँ भन्ने फिराद दावी भएकोमा मोही कायम नभएको व्यक्तिको तर्फबाट हदम्याद नाघी परेको फिराद खारेज गरी पाउँ भन्ने प्रतिवादी भएको प्रस्तुत मुद्दामा लेनदेन व्यवहारको १२ नं. बमोजिम वादीले विवादित जग्गा निखनाई लिन पाउने गरी कैलाली जिल्ला अदालतबाट भएको फैसला उल्टी गरी हकदैयाको अभावमा वादी दावी खारेज गर्ने गरी भएको पुनरावेदन अदालत दिपायलको फैसला उपर वादीको तर्फबाट यस अदालतमा पुनरावेदन परेको देखियो ।

१७.   साविक जग्गा धनी लोकदत्त उप्रेतीले वादीका पिता फूलराम मोही भएको कि. नं. ८० को जग्गा र. नं. २३७८ मिति २०५१।१०।२६ मा प्रतिवादी रामफल चौधरीलाई रजिष्ट्रेशन पारित गरि बिक्री गरेको देखिन्छ । दाताको हकदारले जग्गा निखन्ने तर्फ दावी नगरेकोले लेनदेन ब्यबहारको १२ नं. बमोजिम मोहीको हैसियतले यी वादीले जग्गा निखनाई पाऊ भनी रकम समेत धरौट राखी मिति २०५२।४।१७ मा मालपोत कार्यालयमा निवेदन समेत दिएको देखिन्छ । यी वादीका पिता फूलराम डगौराले प्र. रामफल चौधरी समेत उपर मालपोत कार्यालय कैलालीमा दिएको जोत हटक मुद्दाबाट जग्गा बिक्री भएको कुराको जानकारी वादीलाई मिति २०५२।२।२३ मा नै भएकोले सो मितिले लेनदेन व्यवहारको ११ नं. का म्याद ३५ दिन नघाई परेको फिराद खारेजभागी छ भन्ने प्रतिवादीका तर्फबाट उपस्थित कानून व्यवसायीको बहस बुँदातर्फ विचार गर्दा मुलुकी ऐन लेनदेन व्यवहारको ११ नं. मा कसैले आफ्नो हक पुग्ने अचल बिक्री गरेकोमा यसै महलका १० नं. बमोजिम साक्षी बस्ने, मन्जुरी दिने बाहेक सो बिक्री भएको सम्पत्ति सन्धि सर्पन परेको निजको ऐन बमोजिमको कुनै हकवालाले निखनी लिन चाहेमा सो किने वेचेको लिखत रजिष्ट्रेशन भएको मितिले ६ महिना सम्म थाहा पाएको ३५ दिन भित्र निखनी लिन पाउछ । ....भन्ने  र ऐ. १२ नं. मा सन्धि सर्पन पर्ने हकवाला नभए वा भए पनि निजले ननिखनेमा यसै महलको ११ नं. को म्याद भित्र निखन्न पाउँ भनी उजुर गरे देहायले निखन्न पाउँछभनी सोही महलको देहाय १ मा जग्गा भए सो जग्गाको मोहीभन्ने कानूनी व्यवस्था भएको देखिन्छ ।

१८.   उक्त लेनदेन व्यवहारको ११ र १२ नं. को समुच्चा बनौटको हदम्याद सम्बन्धी व्यवस्थालाई हेर्दा जग्गा निखन्न पाउने कानूनी हैसियत प्राप्त गर्ने हकवालाले रजिष्ट्रेशन भएको ६ महिनासम्म बिक्री भएको ब्यहोरा तथ्यपरक रुपमा थाहा पाउनै पर्ने र सो को ३५ दिन भित्र अनिवार्य रुपमा नालिस गरेको हुनुपर्ने देखिन्छ । प्रस्तुत मुद्दामा यी वादीका पिताले प्रतिवादी रामफल चौधरी समेत उपर भूमी सुधार कार्यालय कैलालीमा मिति २०५२।२।२३ मा दिएको जोत हटक मुद्दामा उल्लेखीत निवेदन ब्यहोराबाट वादीले जग्गा बिक्री भएको सम्बन्धमा पर्याप्त जानकारी आधिकारिक रुपमा पाएको भन्ने देखिदैन । जग्गा बिक्री भएको भन्ने सुन्नमा आउनु एउटा कुरा हो । बिक्री भएको यथार्थ जानकारीमा आउनु अर्को कुरा हो । नक्कल लिई यथार्थ थाहा नपाई निखन्ने प्रयोजनका लागि धरौट राख्न वा अरु प्रक्रिया अघि बढाउन समेत सकिदैन । तसर्थ वादीले भूमी सुधार कार्यालय कैलालीमा दिएको उक्त मिति २०५२।२।२३ को निवेदनबाटै मुद्दा गर्नलाई चाहिने पर्याप्त तथ्य उजागर भएको वा सोही मितिबाट हदम्याद प्रारम्भ भएको हुन्छ भन्न मिल्ने देखिदैन ।

       १९.    भूमी सम्बन्धी ऐन, २०२१ को दफा २६ को उपदफा ८ बमोजिम मोही लागेको जग्गा बेचविखन, दान, दातव्य वा अंशवण्डा भएकोमा सो सम्बन्धी लिखत भएको १५ दिन भित्र जग्गावालाले जुन व्यक्तिलाई सो जग्गा वेचविखन, दान दातव्य वा अंशवण्डा गरी दिएको हो सो व्यक्तिको नाम, थर, वतन खुलाई मोही र गाउँ विकास समिति वा नगरपालिकालाई सो कुराको सूचना दिनुपर्छ भन्ने उल्लेख भएको देखिन्छ ।

२०.   यसरी जग्गा बिक्री गर्ने जग्गाधनीले कानून बमोजिम मोहीलाई सूचना दिनु पर्नेमा विवादित जग्गाको मोही यी वादीलाई कानून बमोजिमको प्रक्रिया पुरा गरी सूचना दिएको समेत देखिदैन । कानूनले निखन्ने हक प्राप्त गरेको मोहीलाई बिक्री व्यवहार थाहा दिनु पर्ने हक समेत सुनिश्चित गरेको अवस्थामा सो वेगर नै अन्य रीतबाट सुनाइएको भनेको सिमित कुराले थाहा पाएको कुराको अनिवार्य र पर्याप्त तत्वहरू सहितको जानकारी पाएको भन्न मिल्दैन । थाहा पाएको भन्ने कुराले आधारभूत र वास्तविक तथ्य (Actual Fact) हरू पूर्णरुपले उजागर भएको स्थिति विद्यमान हुनु पर्दछ । सो अवस्थाको विद्यमानताको अभावमा कुनै कारवाही गर्नलाई पर्याप्त नहुने सुनेको वा सिमित तथ्यको आधारमा हदम्यादको गणना गरी हदम्याद नाघेको भन्न मिल्दैन । तसर्थ मिति २०५१।१०।२६ मा जग्गा बिक्रि भएको कुरा मिति २०५२।४।१५ मा बादीले नक्कल लिई थाहा पाई नक्कल लिएको ३५ दिन भित्र परेको प्रस्तुत मुद्दाको फिरादलाई लेनदेन ब्यबहारको ११ नं. को हदम्याद नाघी परेको भन्न मिल्ने देखिदैन ।

२१.   त्यसैगरी मोही फूलराम डगौराको शेषपछि वादीका नाउँमा मोहीयानी हक नामसारी नभएको अवस्थामा मोहीयानी हक नामसारी नै नभएका मोहीका छोराले जग्गा निखन्न पाउने नपाउने के हो भन्ने सम्बन्धमा विचार गर्दा मोही फूलाराम डगौरा जिवित रहेकै अवस्थामा निजले जग्गा निखन्ने तर्फ कारवाही चलाई मुद्दा चल्दा चल्दाकै अवस्थामा निजको मृत्यु भएपछि छोराले कारवाही चलाएको देखिदा वावुको मृत्युपछि वाँकी काम कारवाहीका लागि छोराले निरन्तरता दिन नपाउने भन्न सकिदैन । त्यसैगरी प्रस्तुत मुद्दाको फिरादमा नै फूलाराम चौधरी मर्दा निजको हकमा निजको एकाघरको छोरा भनी यी वादीले हक सफा तर्फ फिराद दायर गरेको र मोही नामसारीको प्रश्न र हक निखनाई पाउँ भन्ने प्रश्न अलग अलग प्रश्न भएकोले कानून बमोजिम हक निखनाई लिन मोही नामसारी भएकै हुनुपर्छ भन्न मिल्दैन । प्रस्तुत मुद्दामा मोही नामसारीको दावी नभएको र मोहीको मृत्युपछि निजका हकदारले जहिले सुकै मोहीयानी हक नामसारी गराई लिन पाउने हुँदा मोही नामसारीको प्रक्रिया पुरा नहुँदैमा हक निखन्न नपाउने भन्न मिल्दैन ।

२२.   तसर्थ शुरु कैलाली जिल्ला अदालतले वादी दावी बमोजिम निखनाई लिन पाउने ठहराई गरेको फैसला उल्टी गरी वादी दावी खारेज गर्ने गरी भएको पुनरावेदन अदालत दिपायलको मिति २०५८।३।२६ को फैसला उल्टी भै वादी दावी बमोजिम जग्गा निखनाई लिन पाउने ठहर गरेको शुरु कैलाली जिल्ला अदालतको फैसला सदर हुने ठहर्छ । अरु तपसिल बमोजिम  गर्नु ।

तपसिल

 

माथि इन्साफ खण्डमा लेखीए बमोजिम पुनरावेदन अदालत दिपायलको फैसला उल्टी भै वादी दावी बमोजिम जग्गा निखनाई लिन पाउने ठहराएको शुरु कैलाली जिल्ला अदालतको फैसला सदर हुने ठहरेकोले वादीले शुरु फिराद दर्ता गर्दा कैलाली जिल्ला अदालतमा राखेको कोर्ट फी. रु ३२८२।कैलाली जिल्ला अदालत मार्फत प्रतिवादीले पुनरावेदन अदालत दिपायलमा पुनरावेदन गर्दा र. नं. २५ मिति २०५६।१०।१२ मा कैलाली जिल्ला अदालतमा धरौटीमा राखेको देखिदा सो धरौटीमा राखेको रकम फिर्ता पाउँ भनी कानूनका म्याद भित्र वादीको निवेदन परेमा फिर्ता दिनु भनी शुरु कैलाली जिल्ला अदालतमा लेखी पठाउनु ––

 

वादीले पुनरावेदन अदालत दिपायल मार्फत यस अदालतमा पुनरावेदन गर्दा राखेको कोर्ट फी. रु. ४९२।३० भराई पाउँ भनी प्रतिवादीहरूको यसै सरहदको जेथा देखाई ऐनका म्याद भित्र वादीको दरखास्त परेमा केही दस्तुर नलिई भराई दिनु भनी शुरु कैलाली जिल्ला अदालतमा लेखी पठाउनु –––

माथि इन्साफ खण्डमा लेखीए बमोजिम वादीले कि. नं. ८० को ज. बि. १५ जग्गा निखनाई लिन पाउने ठहरेकोले सो जग्गा वादीको नाउँमा निखनाई दिनु भनी मालपोत कार्यालय कैलालीमा लेखी पठाउनु –––––

 

दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार गरी बुझाई दिनु ––––––

                                            

उक्त रायमा सहमत छु ।    

 

न्या.राजेन्द्र कुमार भण्डारी

 

ईति सम्बत २०६३ साल माघ २५ गते रोज ५ शुभम्  ...................................।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु