निर्णय नं. ७८१२ - जीउमास्ने बेच्ने

निर्णय नं.७८१२ ने.का.प.२०६४ अङ्क १
सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री तपबहादुर मगर
माननीय न्यायाधीश श्री गौरी ढकाल
सम्वत् २०५७ सालको फौ.पु.नं. २३४९
फैसला मितिः २०६३।९।१०।२
मुद्दा :– जीउमास्ने बेच्ने ।
पुनरावेदक/प्रतिवादीः चितवन जिल्ला रत्ननगर गा.वि.स. वडा नं. ४ बस्ने राजकुमार पाण्डे
विरूद्ध
प्रत्यर्थी/प्रतिवादीः उमा भट्टको जाहेरीले नेपाल सरकार
§ फौज्दारी कसूर घोषणा गर्ने सारवान कानूनी व्यवस्था अनुसार साविक देखि हालसम्म मानिसलाई बेच बिखन गर्ने कार्यलाई गंभिर अपराध मानी कठोर सजायको व्यवस्था समेत गरिरहेको अवस्थामा पछाडि निर्माण गरी लागु गरिएको कानूनले त्यस्तो कसूरकोे अनुसन्धान तहकिकात सम्बन्धी कार्यविधिगत विषयमा नयाँ व्यवस्था गर्दछ भने कार्यविधिका सम्बन्धमा मुद्दाको अनुसन्धान हुँदा विशेष कानूनको रुपमा रहेको कानूनको व्यवस्थालाई नै अनुशरण गर्नुपर्ने कुरामा कुनै द्विविधा हुन सक्दैन किनकि पछि निर्माण गरिएको ऐनमा भएको कार्यविधिको अनुशरणबाट कसूर गर्दाको अवस्थामा अभियुक्तले गरेको फौजदारी कसूरको दायित्व निर्धारण गर्ने कुरामा निजलाई कुनै प्रतिकूल असर पर्ने अवस्था नरहने भनी कानूनी सिद्धान्त प्रतिपादन भई सकेको देखिंदा यि प्रतिवादी राजकुमार पाण्डेका हकमा पनि जिउमास्ने बेच्ने कार्य ( नियन्त्रण ) ऐन, २०४३ बमोजिमको अभियोग लगाई सोही ऐन बमोजिमको कसूर कायम गरी सजाय गरेको कार्य कानून सम्मत नै देखिने ।
(प्रकरण नं. २३)
§ सोही अनुरुपको कसूर गर्ने अन्य प्रतिवादीहरूलाई कसूरानुसारको ऐ ऐनको दफा ८(४) को सजाय माग गरिएको पनि देखिन्छ । कसूर अनुरुपको सजाय हुने दफा ८ नै रहेको देखिएको छ । सोही अनुरुपको कसूरमा अन्य प्रतिवादीहरूलाई पनि दफा ८ अनुसारकै सजाय माग गरिएको र प्र.राजकुमार पाण्डेलाई पनि कसूर अनुसार सजाय हुने दफा ८ को १ नै भएको हुँदा ८ सम्म लेख्न छुटी १ मात्र लेखीएकोलाई ८(१) को सजाय माग गरिएको रहेनछ भनी सम्झन मिल्ने अवस्था भएन । प्र.राजकुमार पाण्डे उपरको सजायको लागि माग गरिएको दफा ८(१) नै रहेछ भनी मान्नुपर्ने देखियो । निजको हकमा सोही दफा ८(१) आकर्षित भै सोहीनुसारकै दण्ड सजाय हुने कुरा स्पष्ट देखिरहेको स्थिति हुँदा दफा ८(१) बमोजिम सजाय गर्ने गरेको शुरु र पुनरावेदन फैसलामा कुनै त्रुटी नदेखिने ।
(प्रकरण नं. २४)
पुनरावेदक प्रतिवादी तर्फबाटः विद्धान अधिवक्ता श्री शम्भु थापा
प्रत्यर्थी प्रतिवादी तर्फबाटः विद्धान उपन्यायाधिवक्ता श्री गणेशवावु अर्याल
अवलम्बित नजीरः ने.का.प. २०६१ अंक ९ नि.नं. ७४३२, पृ.११०३
फैसला
न्या. तप बहादुर मगरः न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ख)अन्र्तगत यसै अदालतको अधिकार क्षेत्रभित्र पर्ने प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छ :–
२. जुद्धविलास देवाकोटा समेतले उमा भट्टलाई विवाह गरिदिने भनी आफ्नो छोरी ज्वाईको घर चितवन तर्फ पठाएको र निजहरू केटी बेच्ने खालका व्यक्ति हुँदा खोज तलास अनुसन्धान गरी आवश्यक कारवाही होस भन्ने समेत निवेदकको नाम नखुलाई विशेष प्रहरीमा परेको उजुरी कागज ।
३. मेरो लोग्नेले अर्को विवाह गरे पश्चात माईती घरमा बसी रहेको अवस्थामा विवाह गरी दिने भनी जुद्धविलास समेतले चितवन जिल्ला तर्फ पठाई चितवन पुगेपछि वीरगंज जाने भनी बसमा चढाई गई भिनाजु नाता पर्ने जुद्धविलासकी छोरी ज्वाई र अन्य नचिनेका केटा समेतले बम्बई भारत लगी बेची दिएको र ७ वर्ष पछि भागी फर्की आएकोले बिक्री नै गराउनेहरू जुद्धविलास देवकोटा, कृष्ण कुमारी देवकोटा, राजकुमार पाण्डे र सावित्री पाण्डेलाई कारवाही गरी पाउँ भन्ने समेत व्यहोराको पीडित ठुली भन्ने उमा भट्टको जाहेरी दरखास्त ।
४. मेरो छोरी ज्वाईको घर ठेगाना चितवन रत्ननगर गा.वि.स.मा पर्दछ उमा भट्टलाई बिक्री गर्ने गराउने काम गरेको होईन , निजको लोग्नेले अर्की श्रीमती ल्याएपछि श्रीप्रसाद कहां बसेकी र त्यहीबाट हराई ७,८ वर्षपछि पुनः घरमा आएकी छिन भन्ने समेत व्यहोराको प्र.जुद्धविलास देवकोटा र प्र.कृष्ण कुमारी देवकोटाले अधिकार प्राप्त अधिकारी समक्ष गरेको एकै व्यहोराको पृथक पृथक बयान ।
५. मेरो घरमा बसेकी उमा भट्ट ०४० साल देखी हराएको र ०४८ सालमा भरिया सहित घरमा आएकीले यतिका समय सम्म कहां थियौ भनी सोद्धा जुद्धविलास र निजको श्रीमतीले विवाह गरिदिने भनी चितवन तर्फ लगी त्यतैबाट बम्बै तर्फ लगी बेचिएको र हाल भागी आएकी छु भनेकीले जाहेरीमा उल्लेखित व्यक्तिहरू उपर बिक्री गरेमा विश्वास लाग्छ भन्ने समेत श्रीप्रसाद र वेदप्रसाद देवकोटाको एकै मिलानको पृथक पृथक कागज ।
६. अनुसन्धान गर्दा फेला पारिएको सवुद प्रमाण कागजातहरूको आधारमा प्रतिवादीहरूले उमा भट्टलाई बम्बै लगी बेचेको कुरामा कुनै विवाद नभई निजहरूले ज्यूमास्ने बेच्ने कार्य नियन्त्रण ऐन, ०४३ को दफा ३ विपरीत कार्य गरेकोले ऐ.को दफा ४ को देहाय (क) र (घ) अनुसारको कसूरमा बिक्री गरी आउने प्र. राजकुमार पाण्डेलाई ऐ्. ऐनको दफा (१) अनुसार हदैसम्म र अन्य प्रतिवादीहरू र जुद्धविलास कृष्णकुमारी र सावित्रीलाई ऐ. ऐनको दफा ८(४) बमोजिम हदैसम्म सजाय होस भन्ने समेत व्यहोराको अभियोग पत्र माग दावी ।
७. अभियोग बमोजिमको कसूर मैले गरेको छैन, उमा भट्टराई विवाहको गरिदिने भनी म समेतले चितवन तर्फ लगी छोरी ज्वाईको जिम्मा लगाई बिक्री गर्न पठाएको होइन । मेरो लोग्नेसँग बेदप्रसाद र श्रीप्रसादको रिसइवी भएकोले झुठा व्यहोराको अभियोग लगाइएको हो भन्ने समेत प्र.कृष्ण कुमारी देवकोटाले अदालतमा गरेको बयान ।
८. म समेत भई उमा भट्टलाई बिक्री गर्न पठाएको होईन, निज उमा हराएपछि कता गईन थाहा भएन र पछि भरिया सहित घरमा आएकी भन्ने कुरा सुनेको हुँ घरमा आएपछि निजको काका श्रीप्रसाद समेतसँगको राजनैतिक रिसइवीको कारण झुठा मुद्दा लगाएको हो भन्ने समेत प्र. जुद्धविलास देवकोटाले अदालतमा गरेको बयान ।
९. ०४१ सालको श्रावण महिनाभरि घरमा नै छु, जाहेरी अनुसार उमा भट्टलाई चिन्दिन, सानैदेखि चितवनमा हुर्केको हुँदा पहाड घर गोरखा तर्फ १ पटक मात्र आएको हुँ । उमा भट्टलाई म समेतको मिलेमतोबाट भारत लगी बिक्री गरेको होइन बुवासँगको रिसइवीको कारणले मलाई समेत अभियोग जाहेरी दिएको हुनुपर्दछ भन्ने समेत प्र.सावित्री पाण्डेले अदालतमा गरेको बयान ।
१०. उमा भट्टलाई चिनेको छैन । निजलाई वीरगंज हुदै बम्बै भारततर्फ लगी म समेत भै बिक्री गरेको होईन । मेरा ससुरा जुद्धविलास देवकोटासँग गाउँलेहरूको रिसईवीको कारण प्रहरीमा समेत झुठा व्यहोराको कागज लेखाई म समेत उपर झुठा जाहेरी दिएकी हुन् भन्ने समेत प्र. राजकुमार पाण्डेले अदालतमा गरेको बयान ।
११. प्रतिवादी कृष्ण कुमारी र प्रतिवादी सावित्रीहरूले समेतले विवाह गराई दिने परिपन्च देखाई उमा भट्टलाई ललाई फकाई प्रतिवादी राजकुमार पाण्डे जिम्मा लगाई प्रतिवादी राजकुमारले नाम खुल्न नसकेका अन्य व्यक्ति समेतको सहरा लिई पीडित उमा भट्टलाई पैसाको लोभ लालचमा भारत बम्बै लगी ज्यू बिक्री गरी ज्यूमास्ने बेच्ने कार्य नियन्त्रण ऐन, ०४३ को दफा ४(क) को अपराध कसूर गरेको सिद्ध हुन आएकोले निज प्रतिवादी राजकुमार पाण्डेलाई ज्यूमास्ने बेच्ने कार्य नियन्त्रण ऐन,०४३ को दफा ४(क) को कसूरमा सोही ऐनको दफा ८(१) बमोजिम १० वर्ष कैद हुने र प्र.सावित्री एवं प्र. कृष्ण कुमारीले उमा भट्टलाई राम्रो केटासँग विवाह गराई दिने भनी फकाई प्रतिवादी कृष्ण कुमारीले छोरी ज्वाई जिम्मा सम्म लगाएको तर निजले छोरी ज्वाईको हित गराउन बिक्री गर्न भन्ने जानी जानी फकाई पठाएको भन्ने नदेखिएको र प्रतिवादी जुद्धविलासले उमालाई विवाह गराइ दिन चितवन पठाइ दिने भन्ने तर्फ कुनै मिलेमतो कार्य गरे गराएको देखिन नआए समेतबाट निजहरू दुइ प्रतिवादीले सफाई पाउने र प्रतिवादी सावित्री पाण्डेले छेपेटार देखी आफू साथ लिई गई आफ्नो घर चितवनमा समेत नलगी होटलमा नै राख्न लगाई लोग्नेका साथ छोडी गए समेतबाट निज सावित्री पाण्डेलाई बिक्री गर्न लैजाने थाहा जानकारी रहेको र सो कार्यमा निजको मिलेमतो रहेको देखिएकोले प्रतिवादी सावित्रीबाट ऐ. ऐनको दफा ४(घ ) को कसूर गरेको देखिन आएकोले प्रतिवादी सावित्री पाण्डेलाई ऐ. को ८ को अपराधमा उपदफा ४ ले २ वर्ष कैद हुने समेत ठहर्छ भन्ने समेत व्यहोराको शुरु गोरखा जिल्ला अदालतको मिति ०५४।३।३ को फैसला ।
१२. उक्त फैसलामा चित्त बुझेन । मैले उमालाई चिने जानेको छैन र छेपेटार सम्म लिन आएको र परिपन्च मिलाएको समेत केही होइन भन्ने मेरो पुर्ण इन्कारी बयानलाई नजर अन्दाज गरी गरिएको फैसला त्रुटीपूर्ण छ, अतः उक्त फैसला फौज्दारी कानून र प्रमाणले कानूनको मान्य सिद्धान्त प्रतिकूल समेत भएकोले उक्त फैसला बदर गरी आरोपित कसूरबाट पुर्ण सफाई पाउँ भन्ने समेत व्यहोराको प्रतिवादी सावित्री पाण्डेको पुनरावेदन अदालत पोखरा समक्ष परेको पुनरावेदन ।
१३. उक्त फैसलामा चित्त बुझेन । प्रमाण कानूनको मान्य सिद्धान्त अनुसार फौज्दारी मुद्दामा अभियोग सिद्ध गर्ने भार अभियोक्ता पक्षको हुन्छ । प्रस्तुत मुद्दामा वादी पक्षबाट नै उमा भट्ट बेचिएकी हुन होईनन् । निज बम्बैको वेश्यालयमा अनुचित धन्दामा लागेकी हुन होईनन । सो कुरा नै पुष्टि नभएको र प्रतिवादीहरूले बेचेकै होईन भन्ने प्रमाण गुजार्न सकेको छैन । अभियोग पुष्टि गर्ने अभिभारा वादी पक्षले पुरा नै नगरी प्रतिवादी उपर सो भार बहन गर्न नसकेको भनी भन्न मिल्दैन, साथै मुद्दाको मिसिल संलग्न कागजातबाट उमा भट्ट हराएकी भनिएको छ । वादी पक्षबाट पेश गरिएका सवुद प्रमाण हेर्दा उमा भट्ट बेचिएकी नै हो भन्ने कुरा स्थापित नगरी प्रतिवादीले सो प्रमाण पुर्याउन नसकेको भनी प्रमाण कानूनको आधारभूत सिद्धान्त प्रतिकूल हुने गरी गरेको शुरु फैसला त्रुटीपूर्ण हुँदा बदर गरी आरोपित कसूरबाट पूर्ण सफाई पाउँ भन्ने समेत व्यहोराको प्रतिवादी राजकुमार पाण्डेको पुनरावेदन अदालत पोखरा समक्ष परेको पुनरावेदन ।
१४. यसमा ०४९।१।३० मा बम्बैमा हिडी ०४९।२।४ मा माइती घर आएको भन्ने उमा भट्टको जाहेरी र उमाको काका श्रीप्रसादको प्रहरीमा भएको कागजमा उमा ०४८ सालमा आएको भन्ने भएको र त्यसै गरी बेदप्रसाद देवकोटाको कागजबाट पनि उमा भट्ट ०४८ साल बैशाखमा आएकी भन्ने भएबाट जाहेरवालीको कथन बुझेका व्यक्तिको कथन फरक पर्न आएको र जाहेरवालीको भनाईलाई ठहरको आधार बनाएकोबाट शुरुको इन्साफ फरक पर्न सक्ने देखिँदा अ.वं. २०२ नं. बमोजिम छलफल निमित्त पुनरावेदन सरकारी वकील कार्यालय पोखरालाई पेशीको सुचना दिई नियमानुसार पेश गर्नु भन्ने पुनरावेदन अदालत पोखराको आदेश ।
१५. यसमा प्रतिवादीहरू जुद्ध विलास देवकोटा र कृष्ण कुमारी देवकोटाले शुरु फैसला अनुसार सफाइ पाएको सम्बन्धमा श्री ५ को सरकार तर्फबाट फौ.पु.नं. ३१९ को पुनरावेदन परी निजहरूको हकमा यस अदालतबाट शुरु सदर हुने ठहरी मिति ०५५।२।८ मा फैसला भएको जानकारी श्री ५ को सरकारलाई गराइएको नदेखिएकोले उक्त फैसलाको जानकारी पुनरावेदन सरकारी वकील कार्यालय पोखरालाई गराई नियमानुसार पेश गर्नु भन्ने पुनरावेदन पोखराको आदेश ।
१६. यसमा प्रतिवादी राजकुमार पाण्डे ०४१ साल श्रावण महिनामा कुन विद्यालयमा कार्यरत थिए वा थिएनन निजबाट अ.वं. १३३ नं. बमोजिम कागज गराई खोली पेश गर्नु भन्ने पुनरावेदन पोखराको आदेश ।
१७. प्रतिवादी सावित्री पाण्डेले आरोपित कसूर गरेकी होलिन भन्न तथ्य युक्त सवुद प्रमाणबाट नदेखिँदा निजले सफाई पाउने ठहर्छ । प्रतिवादी राजकुमार पाण्डे उपर किटानी पोल उजुरी भई निजले कसूर गरेको होइन भन्ने तथ्ययुक्त सवुद प्रमाण पेश दाखिल हुन सकेको अवस्था नदेखिंदा निजको हकमा कसूरदार ठहर गरेको शुरु फैसला अन्यथा रहेछ भन्न सकिने अवस्था भएन । तसर्थ उल्लेखीत प्रमाण परिबन्दबाट पुनरावेदक प्रतिवादी राजकुमार पाण्डेलाई ज्यूमास्ने बेच्ने कार्य ( नियन्त्रण )ऐन, २०४३ को दफा ४(क) को कसूरमा सोही ऐनको दफा ८(१) बमोजिम १० वर्ष कैद गर्ने गरेको शुरु फैसला मुनासिब ठहर्छ । प्रतिवादी सावित्री पाण्डेको हकमा निजले आरोपित कसूरबाट सफाई पाउने हुँदा निजको हकमा शुरु गोरखा जिल्ला अदालतको मिति २०५४।३।३ को फैसला केही उल्टी हुने ठर्हछ भन्ने पुनरावेदन अदालत पोखराको मिति २०५७।३।१३ को फैसला ।
१८. पुनरावेदन अदालत पोखराको फैसलामा चित्त बुझेन । २०४१ सालको वारदात लाई लिएर २०४३ सालमा बनेको कानूनको आधारमा दायर गरिएको अभियोग र सोही बमोजिम कसूरदार ठहर गरेको पुनरावेदन अदालतको फैसला संवैधानिक एवं कानून दृष्टिले नै खारेज भागी हुँदा खारेज गर्नु पर्नेमा नगरेको फैसलामा गम्भिर त्रुटिपूर्ण हुनुका साथै मिसिल संलगन तथ्यहरूले म निर्दोष एवं बेकसूर व्यक्तिलाई अनुमानित वारदातको भरमा वारदात नै प्रष्ट नगरी एक आपसमा विरोधाभाषपूर्ण जाहेरी बयान र बकपत्रको आधारमा प्रमाण कानून र फौज्दारी कानूनको आधारभुत सिद्धान्त प्रतिकूल जबरजस्ती ढंगले कसूर कायम गर्ने गरी सजाय गरेको शुरु फैसला सदर गर्ने गरेको पुनरावेदन अदालत पोखराको फैसला गम्भिर त्रुटिपूर्ण भएकोले सो फैसलालाई उल्टी गरी आरोपित कसूरबाट पूर्ण सफाई पाउँ भन्ने समेत व्यहोराको प्रतिवादी राजकुमार पाण्डेले यस अदालत समक्ष दिएको पुनरावेदन पत्र ।
१९. यसमा जिउ मास्ने बेच्ने कार्य ( नियन्त्रण ) ऐन, २०४३ को दफा ४ को “ ख ” को कसूरमा ऐ. ऐनको दफा (१) अनुसार सजायको माग गरेकोमा दावी नै नगरेको ऐनको दफा ८(१) प्रयोग गरी कसूरदार कायम गरेको शुरु गोरखा जिल्ला अदालतको फैसला सदर गरेको पुनरावेदन अदालत पोखराको फैसला त्रुटिपूर्ण भै फरक पर्न सक्ने हुँदा छलफलको लागि अ.वं. २०२ नं. बमोजिम महान्यायाधिवक्ताको कार्यालयलाई सूचना दिई नियमानुसार पेश गर्नु भन्ने यस अदालतको आदेश ।
२०. नियम बमोजिम दैनिक मुद्दा पेशी सूचिमा चढी निर्णयार्थ आज यस इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको पुनरावेदन पत्रसहितको मिसिल अध्ययन गरियो । पुनरावेदक प्रतिवादी राजकुमार पाण्डेको तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री शम्भु थापाले उमा भट्ट बिक्री भएकी हुन कि होइनन् सो तथ्य स्पष्ट छैन । जाहेरी दरखास्तमा प्र.राजकुमारको नाम उल्लेख छैन । विरोधाभाषपूर्ण जाहेरी एवं बकपत्रको आधारमा प्रतिवादीलाई अभियोग दावीबाट अनुमानकै भरमा कसूरदार कायम गर्ने गरेको पुनरावेदन अदालत पोखराकेो फैसला त्रुटिपूर्ण भएकोले उक्त फैसला उल्टी भई प्रतिवादीले सफाई पाउनु पर्छ भनी र वादी नेपाल सरकारको तर्फबाट उपस्थित उपन्यायाधिवक्ता श्री गणेश बाबु अर्यालले पीडित उमा भट्टलाई विवाह गरिदिने प्रलोभन दिई झुक्याएर बम्बै पुर्याई बिक्री गरेका भनी यी प्रतिवादी राजकुमार पाण्डेलाई दिदी सावित्रीको लोग्ने एवं भिनाजु भनी स्पष्ट किटानी जाहेरी दरखास्तमा उल्लेख भई निजको प्रहरी र अदालतमा भएको बयान समेतका कागजातबाट प्रतिवादी राजकुमारले पीडित उमा भट्टलाई बिक्री गरेको कुरा पुष्टि भइरहेको हुँदा पुनरावेदन फैसला सदर हुनुपर्छ भनी बहस गर्नु भयो । उपर्युक्त विद्वानहरूको बहस सुनी मिसिल संलग्न कागज प्रमाण अध्ययन गर्दा पुनरावेदन अदालत पोखराको फैसला मिलेको छ छैन ? प्रतिवादी राजकुमारको पुनरावेदन जिकिर पुग्न सक्ने हो होइन? त्यस विषययमा निर्णय दिनुपर्ने देखियो ।
२१. निर्णयतर्फ विचार गर्दा प्रतिवादी राजकुमार पाण्डेले जाहेरवाली उमा भट्ट बिक्री भएकी हुन कि होइनन् सो स्पष्ट छैन भनी लिएको पुनरावेदन जिकिर तर्फ हेर्दा, जाहेरी दरखास्तका साथै पीडित उमा भट्टले अनुसन्धान अधिकारी र अदालत समक्ष गरेको वत्रपत्रमा प्रतिवादी राजकुमार पाण्डेले नै निजलाई बम्बै पुर्याई बेचिएको भन्ने कुरालाई स्पष्ट लेखाई दिएकी छन् । जाहेरवाली हराएकी भन्ने कुरालाई बेदप्रसादको कागज साथ प्रतिवादी जुद्ध विलासको बयानबाट समेत पुष्टि भईरहेको स्थितिमा जाहेरवाली बिक्री भएकी होइनन थिइनन भन्ने प्रतिवादीको जिकिर वस्तुनिष्ठ सवुत प्रमाणको अभावमा विश्वास लायक देखिएन ।
२२. जाहेरीमा यी प्रतिवादीको नाम स्पष्ट उल्लेख नभएपनि दिदी सावित्री र सावित्रीको लोग्ने भिनाजु भनी जाहेरीमा उल्लेख भएको र निज पीडितले अदालत समक्ष बकपत्र गर्दा भिनाजु राजकुमार पाण्डे भनी स्पष्ट लेखाई यी प्रतिवादीले बम्बै लगी बिक्री गरेकोमा किटानी गरेकी छन्। यस्तो अवस्थामा यी प्रतिवादी राजकुमार पाण्डेले आफू सावित्रीको लोग्ने नभएको एवं आफूले जाहेरवालीलाई बम्बै पुर्याई बिक्री नगरेको भनी तथ्ययुक्त सवुत प्रमाणद्धारा निर्दोषिता प्रमाणित गर्न सकेको देखिएको छैन । बिक्री नगरिएका भए पीडितले आफूलाई भारत बम्बै वेश्यालयमा लगि बिक्री गरेको भन्ने समेतको व्यहोरा उल्लेख गरी यी राजकुमार पाण्डेले नै बिक्री गरेको भनी किटानी वकपत्र गर्नु पर्ने अवस्था हुने थिएन ।
२३. प्रतिवादीले जिउमास्ने बेच्ने कार्य (नियन्त्रण) ऐन, २०४३ लागु हुनुभन्दा अगाडिको अपराधमा सो ऐन लागु हुनु नपर्ने भनी लिएको पुनरावेदन जिकिर तर्फ हेर्दा सो सन्दर्भमा यसै अदालतको पूर्ण इजलासबाट ने.का.प. २०६१ अंक ९ निर्णय नं. ७४३२ पृष्ठ ११०३ प्रतिवादी उत्तम लामा विरूद्ध नेपाल सरकार भएको जिउ मास्ने बेच्ने मुद्दामा “कसूर गर्दाको अवस्थामा नै मुलुकी ऐन जिउ मास्ने बेच्नेको महलले जिउ मास्ने बेच्ने कार्यलाई कसूर मानिरहेकोले पछाडि बनेको जिउ मास्ने बेच्ने कार्य ( नियन्त्रण ) ऐन, २०४३ ले मात्र जिउ मास्ने बेच्ने कार्यलाई पहिलो पटक अपराध बनाएको वा जिउ मास्ने बेच्ने कार्य गरे वापत साविकमा हुन सक्ने सजाय भन्दा बढी सजाय तोकेको भन्ने नदेखिने । फौज्दारी कसूर घोषणा गर्ने सारवान कानूनी व्यवस्था अनुसार साविक देखि हालसम्म मानिसलाई बेच बिखन गर्ने कार्यलाई गंभिर अपराध मानी कठोर सजायको व्यवस्था समेत गरिरहेको अवस्थामा पछाडि निर्माण गरी लागु गरिएको कानूनले त्यस्तो कसूरको अनुसन्धान तहकिकात सम्बन्धी कार्यविधिगत विषयमा नयाँ व्यवस्था गर्दछ भने कार्यविधिका सम्बन्धमा मुद्दाको अनुसन्धान हुँदा विशेष कानूनको रुपमा रहेको कानूनको व्यवस्थालाई नै अनुशरण गर्नुपर्ने कुरामा कुनै द्विविधा हुन सक्दैन किनकी पछि निर्माण गरिएको ऐनमा भएको कार्यविधिको अनुशरणबाट कसूर गर्दाको अवस्थामा अभियुक्तले गरेको फौजदारी कसूरको दायित्व निर्धारण गर्ने कुरामा निजलाई कुनै प्रतिकूल असर पर्ने अवस्था नरहने भनी कानूनी सिद्धान्त प्रतिपादन भई सकेको देखिँदा यि प्रतिवादी राजकुमार पाण्डेका हकमा पनि जिउमास्ने बेच्ने कार्य (नियन्त्रण ) ऐन, २०४३ बमोजिमको अभियोग लगाई सोही ऐन बमोजिमको कसूर कायम गरी सजाय गरेको कार्य कानून सम्मत नै देखिँदा २०४१ सालको वारदातलाई लिएर २०४३ सालको कानून प्रयोग गरेको मिलेको छैन भन्ने यी प्रतिवादीको पुनरावेदन जिकिर उपरोक्त नजिर समेतले मनासिव देखिएन ।
२४. जहाँसम्म प्रतिवादीको जिउमास्ने बेच्ने कार्य ( नियन्त्रण ऐन ) २०४३ दफा १ भन्ने मात्र दावी लिएकोमा ऐ को ८(१) बमोजिम सजाय गरेको मिलेको छैन भन्ने जिकिर छ । त्यसलाई हेर्दा यी प्रतिवादी राजकुमार पाण्डे उपरको अभियोग पत्रमा जिउमास्ने बेच्ने कार्य ( नियन्त्रण ) ऐन २०४३ को दफा ३ विपरीत उमा भट्टलाई बेचबिखन गरी ऐ. ऐनको दफा ४(क) र (घ) अनुसारको कसूर गरेको भनी सजायको माग गरेको देखिन्छ भने माग गरिएको सजायमा ऐ ऐनको दफा १ उल्लेख हुन पुगेको रहेछ । सोही अनुरुपको कसूर गर्ने अन्य प्रतिवादीहरूलाई कसूर अनुसारको ऐ ऐनको दफा ८(४) को सजाय माग गरिएको पनि देखिन्छ । कसूर अनुरुपको सजाय हुने दफा ८ नै रहेको देखिएको छ । सोही अनुरुपको कसूरमा अन्य प्रतिवादीहरूलाई पनि दफा ८ अनुसारकै सजाय माग गरिएको र प्रतिवादी राजकुमार पाण्डेलाई पनि कसूर अनुसार सजाय हुने दफा ८ को १ नै भएको हुँदा ८ सम्म छुटी १ मात्र लेखीएकोलाई ८(१) को सजाय माग गरिएको रहेनछ भनी सम्झन मिल्ने अवस्था भएन । प्र. राजकुमार पाण्डे उपरको सजायको लागि माग गरिएको दफा ८(१) नै रहेछ भनी मान्नु पर्ने देखियो । निजको हकमा सोही दफा ८(१) आकर्षित भई सोही अनुसारकै दण्ड सजाय हुने कुरा स्पष्ट देखिरहेको स्थिति हुँदा दफा ८(१) बमोजिम सजाय गर्ने गरेको शुरु र पुनरावेदन फैसलामा कुनै कानूनी त्रुटी देखिएन । उपरोक्त ऐन अनुसारको कसूर यी प्रतिवादीले गरेको भन्ने मिसिल संलग्न सबुद प्रमाणबाट प्रमाणित भईरहेको स्थितिमा दावी नै नभएको ऐनको दफा ८(१) प्रयोग गरी कसूरदार कायम गरेको पुनरावेदन अदालतको फैसला फरक पर्न सक्ने भनी यस अदालतबाट भएको झगडिया झिकाउने आदेशसँग यो इजलास सहमत हुन सकेन ।
२५. अतः जाहेरवालीको प्रतिवादी राजकुमार पाण्डे उपर किटानी जाहेरी भई निजले अदालतमा बकपत्र गर्दा समेत यिनै प्रतिवादी राजकुमारले बम्बै लगेर बिक्री गरेको भन्ने तथ्यलाई पुष्टि गरिदिएकी र मिसिल संलग्न कागज प्रमाणहरूबाट समेत प्रतिवादीको कसूर स्थापित हुन आएको देखिँदा निजलाई जिउमास्ने बेच्ने कार्य (नियन्त्रण) ऐन, २०४३ को दफा ८(१) बमोजिम १० (दश) वर्ष कैद गर्ने ठहराएको पुनरावेदन अदालत पोखराको मिति २०५७।३।१३ को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । पुनरावेदक प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्दैन । प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार गरी बुझाई दिनु ।
उक्त रायमा सहमत छु
न्या.गौरी ढकाल
इति सम्वत २०६३ साल पौष महिना १० गते रोज २ शुभम् .....