निर्णय नं. ६४११ - कुत दिलाई मोही निस्काशन

नि.नं. ६४११ ०५४, ने.का.प अङ्क ७
संयुक्त इजलास
माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझी
माननीय न्यायाधीश श्री अरविन्दनाथ आचार्य
सम्वत् २०५२ सालको दे.पु.नं..... ३२२५
फैसला मिति : २०५४।२।२७।२
मुद्दाः कुत दिलाई मोही निस्काशन ।
पुनरावेदक/प्रतिवादीः जिल्ला सिरहा लगडी गदियानी गा.वि.स. वा.नं. ३ वस्ने रामदेव कारकको वारेश भै आफ्ना हकमा समेत ऐ.ऐ.वस्ने वद्रीलाल कारक ।
बिरुद्ध
प्रत्यर्थी/वादीः ऐ.ऐ.वस्ने रामचन्द्र कारक ।
§ जग्गाको आयस्ता बाली मोहीबाट सालसालै प्राप्त गर्ने जग्गाधनीको हक अधिकार भएको र मोहीको पनि जग्गाधनीलाई साल सालको बाली याम याममा बुझाउने प्रमुख कर्तव्य एवं दायित्व हो । जव मोहीले जग्गाधनीलाई त्यसरी सालसालै याममा बुझाउने आफ्नो कर्तव्य एवं दायित्व पूरा गर्दैन भने त्यस्तो अवस्थामा सो मोही उपर कानूनी उपचार गराउन पाउने जग्गा धनीको हक पनि कानूनले सुरक्षित गरेको देखिने ।
(प्र.नं. १०)
§ प्रतिवादीले विपक्षी वादीको फिराद वमेजिमको जग्गाको मोही भई जग्गा कमाई आएकोमा कुनै विवाद देखिएन र विपक्षी वादीले निज प्रीतवादीबाट २०४९ सालको कुत वाली नपाएको भनि मोही हकबाट निष्कासन समेत गरी पाउँ भनी फिराद दावी लिएकोमा पुनरावेदक प्रतिवादीले वादीलाई सो २०४९ सालको वाली नवुझाएको कुरा स्वीकार गरी वर्षाको अभावले गर्दा जग्गामा वाली लगाउन नसकेकोले कुत मिन्हा हुनु पर्ने भनी वादीलाई निवेदन दिएको छु भन्ने मुख्य जिकिर लिएको पाइयो । दैवी परी वाली नास भएको वा उव्जा नभएको अवस्थामा मोही हकबाट निस्कासन हुन नसक्ने भूमि सम्वन्धी ऐन, २०२१ को दफा २९(१) मा व्यवस्था भएको देखिने भएपनि प्रस्तुत मुद्दामा प्रतवादीले वर्षाको अभावले गर्दा वाली लगाउन नसकेको भन्ने लिएको जिकिर पुष्टि हुने तथ्य प्रमाण भने पेश हुन आएको देखिदैन । पुनरावेदनहरु प्रतिवादीको प्रतिउत्तर जिकिर अनुसार वर्षाको अभावले सो साल वाली लगाउन सकेको नभए समयमै जग्गा धनीलाई जानकारी सूचना दिएको हुनु पर्ने र त्यस्तो सूचना जानकारी पाएको भए सो पाउँदा पाउँदै पनि सो सालको वाली नदिएको भनी फिराद दावी पर्ने अवस्था देखिन आउँदैन । वर्षाको अभावले वाली लगाउन नसकेको भन्ने वास्तविकता भएको भए जग्गा धनीले त्यस्तोमा विवेक नराख्ने कारण नदेखिने ।
(प्र.नं. ११)
§ प्रतिवादीले कानून वमोजिम कुत लागेमा वुझाउन तयार छु भन्ने पनि जिकिर लिएको पाइन्छ । वाली वुझाएको छैन भन्ने प्रस्तुत नालेश परेपछि अव वाली वुझाउन तयार छु भनी लिएको जिकिर मनासिव देखिन आउँदैन । मुलतः भूमि सुधार कार्यालय सिराहाबाट मोही निस्काशन नहुने ठहर गर्दा वर्षा नभएकोले वाली लगाउन नसकेको भन्ने प्रतिवादीको जिकिरलाई समर्थन नगरी कानूनी दायित्व पूरा नगर्ने मोहीलाई निस्काशन गर्न पर्ने भए पनि एक पटक दायित्व र कर्तव्य पालना गर्ने मौका दिने भन्ने निर्णयमा उल्लेख गरेको भएबाट प्रतिवादी मोहीले वाली नवुझाई कर्तव्य पूरा नगरेको भन्ने कुरा नै सो फैसलाले स्पष्टरुपले ठहराएको अवस्था हुँदा प्रतिवादीले लिएको वर्षा नभएको कारणबाट वाली नलागेको भन्ने जिकिर कतैबाट पनि समर्थित भएको देखिन आउँदैन । अतः शुरु भूमि सुधार कार्यालय सिराहाबाट प्रस्तुत मुद्दामा कानूनी दायित्व पूरा नगर्ने मोहीलाई निस्काशन गर्नु पर्ने कुरालाई मानी एक पटक दायित्व र कर्तव्य पूरा गर्न मौका दिने भनी उल्लेख गरेको निर्णयाधार समेत कानूनसँगत देखिन आएको नहुँदा भूमि सुधार कार्यालय सिराहाको सो निर्णयलाई आंशिक उल्टी गरी दावी वमोजिम मोही निस्काशन समेत हुने ठहराएको पुनरावेदन अदालत राजविराजको इन्साफ मनासिव हुँदा सदर हुने ।
(प्र.नं. १२)
पुनरावेदक तर्फवाटः x
प्रत्यर्थी तर्फवाटः x
अवलम्वित नजीरः x
फैसला
न्या.अरविन्दनाथ आचार्यः न्याय प्रशासन ऐन, २०४८ को दफा ९ अनुसार यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा निम्न अनुसार छ ।
२. मेरा नाउ दर्ताको जि.सि.गा.वि.स. लगडी गदियानी वा.नं. २.क कि.नं. २१७ को ज.वि. ०-६-१६ जग्गाको विपक्षी प्रमाणित मोही भएको तर विपक्षीले सो जग्गाको सम्पूर्ण वाली खाई लिएको मैले पाउनु पर्ने ०४९ सालको कुत नदिएको साथै सम्वन्धित निकायमा धरौट समेत नराखेकोले मैले पाउनु पर्ने ०४९ सालको कुत धान ५ मन ४ सेर दिए धानै सो नदिए प्रतिमन रु. २००।- का दरले हुने जम्मा रु. १०२०।- विपक्षीवाट दिलाई भराई मोहीवाट निक्काशन समेत गरी पाउँ भन्ने वादी दावी ।
३. वादी दावी वमोजिम कित्ता जग्गाको हामीहरुको स्व.पिता प्रेम कारक मोही भै कमाई आएको र निज पिता परलोक हुँदा हामीहरुले सो जग्गा कमाई आएको छौं वादीले आफ्नो फिरादपत्रमा दावी लिनु भएको छ कि उक्त जग्गाको ०४९ सालको कुत दिएन दिलाई मोहीवाट निश्कासन समेत गरी पाउँ भन्ने दावी गरेकोमा सो उक्त जग्गा हामीहरुले वर्षाको अभावले गर्दा जग्गामा वाली लगाउन नसेकेकोले भू.सं.ऐन, ०२१ को दफा ३५(१) वमोजिम म्याद भित्र कुत मिन्हा पाउँ भन्ने व्यहोराको निवेदन विपक्षी वादीलाई दिएको छु । कानून वमोजिम कुत लागेमा वुझाउन तैयार छु । तसर्थ मोही निश्कासन हुनु पर्ने होइन भन्ने व्यहोराको प्रतिउत्तर ।
४. वाली नवुझाई कानूनी दायित्व पूरा नगर्ने मोहीलाई भूमि सम्वन्धी ऐन, २०२१ को दफा २९(१) वमोजिम निश्कासन गर्नु पर्ने देखिएतापनि मोहीलाई एक पटक दायित्व र कर्तव्य पालन गर्ने मौका दिंदै मोही हक यथावत राखी दावी सालको कुतवाली मात्र वादीले भरी पाउने ठहर्छ भन्ने समेत व्यहोरको भू.सु.का. सिरहाको ०५१।३।२९ को फैसला ।
५. वादी दावी वमोजिम कुत वाली मात्र भरी पाउने भनी भएको अधूरो फैसलालाई वदर गरी मोहीले ज.ध.लाई फेरी पनि वारम्वार हैरानी गर्न नपाउने गरी विपक्षी मोहीलाई भू.सं.ऐन, २०२१ को दफा २९(१) वमोजिम मोहीवाट समेत निस्काशन गरी पाउँ भन्ने समेत व्यहोराको पुनरावेदन अदालत राजविराजमा परेको पुनरावेदन पत्र ।
६. भूमि सम्वन्धी ऐन, २०२१ को दफा २९(१) वमोजिम दावी भएपछि के कति कारणले मोही निश्कासन नहुने कारण उल्लेख गर्नु पर्नेमा दफा २९(१) वमोजिम नगर्न दफा २९(३) वमोजिम कुतवाली सम्म भराई दिने गरी भएको निर्णय कानून सँगत नभई फरक पर्न सक्ने भएकोले छलफलको लागी अ.वं. २०२ नं. तथा पुनरावेदन अदालत नियमावली, २०४८ अनुसार प्रत्यर्थी झिकाई आएपछि नियमानुसार गरी पेश गर्नु भन्ने पुनरावेदन अदालत राजविराजवाट भएको आदेश ।
७. प्रस्तुत मुद्दामा शुरु भूमि सुधार कार्यालयले मोही हक यथावत कायम राख्ने भन्ने उल्लेख गरेपनि मोही हक यथावत राख्नु पर्ने कारण र औचित्य उल्लेख नगरी वाली मात्र भराएको निर्णय कानून र न्यायको रोहमा मिलेको नदेखिएको र वाली नवुझाएको कुरा प्रतिवादीले स्वीकरै गरेको र कानून अनुरुप कुत मिनाहा गरी लिन नसकेको समेत कारणवाट दैवी परेमा वाहेक कुत वाली नवुझाउने मोही भूमि सम्वन्धी ऐन, २०२१ को दफा २९(१) वमोजिम दावीको जग्गाको मोही हकवाट समेत निश्कासन गर्नु पर्नेमा सो नगरी कानून सम्मत कारण विना मोहियानी हक यथावत राख्ने गरेको फैसला मिलेको नदेखिंदा मोही हक यथावत राख्ने गरेको हदसम्म उल्टी भै शुरु भूमि सुधार कार्यालय सिरहाको मिति २०५१।३।२९ को निर्णय फैसला आंशिक उल्टी भै मोही समेत निश्कासन हुने ठहर्याएको पुनरावेदन अदालत राजविराजको फैसला ।
८. हामी पुनरावेदक विवादित जग्गाको मोही भएकोमा विवाद नभै मोहीको हैसियतले वुझाउनु पर्ने कुत हरेक वर्ष वुझाउादै आएकोमा केवल २०४९ सालको कुतको हकमा वर्षा नभएको खडेरी परेको जानकारी सूचना पनी ह’लाकद्वारा समयमै जग्गा धनीलाई दिएकोमा त्यस्तो स्थितिमा सो हदसम्म कुत मिन्हा दिनु पर्ने वाध्यात्मक कानूनी प्रावधान रहेको छ । दैवी परेकोमा मोही निश्कासन गर्न नमिल्ने भूमि स’धार ऐन, २०२१ को दफा २९ (१) ले प्रष्ट कानूनी व्यवस्था गरेको छंदा छदै शुरु भूमि स’धार अधिकारीले मोही हक यथावत कायम राख्ने भनी उल्लेख गरेपनी मोही हक यथावत राख्नु पर्ने कारण र औचित्य उल्लेख नगरेको निर्णयको आधार प्रत्यक्ष त्रुटीपूर्ण छ । यसरी पुनरावेदन अदालत राजविराजको फैसला त्रुटीपूर्ण भएवाट मोही निस्काशन हुने ठहर्याएको हदसम्म उल्टी गरी शुरु भूमि सुधार कार्यालयको फैसला सदर गरी पाउँ भन्ने समेत व्यहोराको यस अदालतमा परेको पुनरावेदन पत्र ।
९. नियम वमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दामा इजलास समक्ष प्रस्तुत मिसिल अध्ययन गरी हेर्दा यसमा पुनरावेदन अदालत राजविराजको फैसला मिले नमिलेको के रहेछ सो उपर निर्णय दिनु पर्ने भएको छ ।
१०. यसमा हामीहरु मोहीको हैसियतले व’झाउनु पर्ने कुत वर्षेनी वुझाउँदै आएकोमा केवल २०४९ सालको हकमा वर्षा नभई खडेरी परेकोले सो वर्षको कुत वाली वुझाउन नसकेको र सो खडेरी परेको सूचना समेत हुलाकद्वारा समयमै जग्गा धनीलाई दिएकोमा त्यस्तो स्थितिमा सो हदसम्म कुत मिन्हा पाउनु पर्ने कानूनी व्यवस्थाको विपरित २०४९ सालको कुतवाली नवुझाएको भनी हामीलाई मोही हकवाट निस्काशन गर्ने गरेको पुनरावेदन अदालत राजविराजको फैसला वदर गरी शुरु भूमि सुधार कार्यालयको फैसला सदर गरी पाउँ भन्ने मुख्य पुनरावेदक जिकिर रहेको हुँदा निर्णय तर्फ विचार गरी हेर्दा जग्गाको आयस्ता बाली मोहीबाट सालसालै प्राप्त गर्ने जग्गाधनीको हक अधिकार भएको र मोहीको पनि जग्गाधनीलाई साल सालको बाली याम याममा बुझाउने प्रमुख कर्तव्य एवं दायित्व हो । जव मोहीले जग्गाधनीलाई त्यसरी सालसालै याममा बुझाउने आफ्नो कर्तव्य एवं दायित्व पूरा गर्दैन भने त्यस्तो अवस्थामा सो मोही उपर कानूनी उपचार गराउन पाउने जग्गा धनीको हक पनि कानूनले सुरक्षित गरेको देखिन्छ ।
११. प्रस्तुत मुद्दामा यी पुनरावेदक प्रतिवादीले विपक्षी वादीको फिराद वमेजिमको जग्गाको मोही भई जग्गा कमाई आएकोमा कुनै विवाद देखिएन र विपक्षी वादीले निज प्रीतवादीबाट २०४९ सालको कुत वाली नपाएको भनी मोही हकबाट निष्कासन समेत गरी पाउँ भनी फिराद दावी लिएकोमा पुनरावेदक प्रतिवादीले वादीलाई सो २०४९ सालको वाली नवुझाएको कुरा स्वीकार गरी वर्षाको अभावले गर्दा जग्गामा वाली लगाउन नसकेकोले कुत मिन्हा हुनु पर्ने भनी वादीलाई निवेदन दिएको छु भन्ने मुख्य जिकिर लिएको पाइयो । दैवी परी वाली नास भएको वा उव्जा नभएको अवस्थामा मोही हकबाट निस्कासन हुन नसक्ने भूमि सम्वन्धी ऐन, २०२१ को दफा २९(१) मा व्यवस्था भएको देखिने भएपनि प्रस्तुत मुद्दामा प्रतवादीले वर्षाको अभावले गर्दा वाली लगाउन नसकेको भन्ने लिएको जिकिर पुष्टि हुने तथ्य प्रमाण भने पेश हुन आएको देखिदैन । पुनरावेदनहरु प्रतिवादीको प्रतिउत्तर जिकिर अनुसार वर्षाको अभावले सो साल वाली लगाउन सकेको नभए समयमै जग्गा धनीलाई जानकारी सूचना दिएको हुनु पर्ने र त्यस्तो सूचना जानकारी पाएको भए सो पाउँदा पाउँदै पनि सो सालको वाली नदिएको भनी फिराद दावी पर्ने अवस्था देखिन आउँदैन । वर्षाको अभावले वाली लगाउन नसकेको भन्ने वास्तविकता भएको भए जग्गा धनीले त्यस्तोमा विवेक नराख्ने कारण देखिदैन ।
१२. प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादीले कानून वमोजिम कुत लागेमा वुझाउन तयार छु भन्ने पनि जिकिर लिएको पाइन्छ । वाली वुझाएको छैन भन्ने प्रस्तुत नालेश परेपछि अव वाली वुझाउन तयार छु भनी लिएको जिकिर मनासिव देखिन आउँदैन । मुलतः भूमि सुधार कार्यालय सिराहाबाट मोही निस्काशन नहुने ठहर गर्दा वर्षा नभएकोले वाली लगाउन नसकेको भन्ने प्रतिवादीको जिकिरलाई समर्थन नगरी कानूनी दायित्व पूरा नगर्ने मोहीलाई निस्काशन गर्न पर्ने भए पनि एक पटक दायित्व र कर्तव्य पालना गर्ने मौका दिने भन्ने निर्णयमा उल्लेख गरेको भएबाट प्रतिवादी मोहीले वाली नवुझाई कर्तव्य पूरा नगरेको भन्ने कुरा नै सो फैसलाले स्पष्टरुपले ठहराएको अवस्था हुँदा प्रतिवादीले लिएको वर्षा नभएको कारणबाट वाली नलागेको भन्ने जिकिर कतैबाट पनि समर्थित भएको देखिन आउँदैन । अतः शुरु भूमि सुधार कार्यालय सिराहाबाट प्रस्तुत मुद्दामा कानूनी दायित्व पूरा नगर्ने मोहीलाई निस्काशन गर्नु पर्ने कुरालाई मानी एक पटक दायित्व र कर्तव्य पूरा गर्न मौका दिने भनी उल्लेख गरेको निर्णयाधार समेत कानूनसँगत देखिन आएको नहुँदा भूमि सुधार कार्यालय सिराहाको सो निर्णयलाई आंशिक उल्टी गरी दावी वमोजिम मोही निस्काशन समेत हुने ठहराएको पुनरावेदन अदालत राजविराजको इन्साफ मनासिव हुँदा सदर हुने । पुनरावेदकको पुनरावेदन जिकिर पुग्न सक्तैन ।
उक्त रायमा म सहमत छु ।
न्या.कृष्ण जंग रायमाझी ।
इति सम्वत २०५४ साल जेष्ठ २७ गते रोज २ शुभम्...