शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ६४१३ - लिखत वदर

भाग: ३९ साल: २०५४ महिना: कार्तिक अंक:

निर्णय नं. ६४१३           २०५४, ने.का.प.                       अङ्क ७

संयुक्त इजलास

माननीय न्यायाधीश श्री गोविन्द वहादुर श्रेष्ठ

माननीय न्यायाधीश श्री अरविन्दनाथ आचार्य

सम्वत् २०५२ सालको दे.पु.नं. .. ३०८३

आदेश मितिः २०५४।४।२८।३

मुद्दाः लिखत वदर ।

 

पुनरावेदक/वादीः भ.पु.जि. भ.पु.न.पा. वडा नं. १४ वस्ने रत्न प्रसाद प्रजापती ।

विरुद्ध

विपक्षी/प्रतिवादीः ऐ.ऐ. कृष्ण प्रसाद प्रजापती समेत २ ।

 

§  साविक कि.नं १४६ को जग्गा रोपनी २-१५-० मध्ये विपक्षी रोहिणी राज भण्डारी समेतका ६ जनालाई जम्मा ज.रो २-०-० विक्री भए पश्चात ज.रो ०-१५-० वांकी नै रहेको भै कि.न. १४०८ मा कित्ताकाट भएको देखिन्छ । सो कि.नं. १४०८ को ज.रो ०-१५-० अंश दपोट ठहरी वादी रत्न प्रसाद प्रजापतिको नाउँमा दर्ता हुने भनी पुनरावेदन अदालत पाटन समेतबाट ठहर भै अन्तिम भै वसेको देखियो । एउटै प्लटको जग्गा भध्ये ५ भागको १ भाग मेरो समेत हक लाग्ने भनी वादीको दावी छ  तर कि.नं. १४६ को ज.रो. २-१५-० मध्ये ज.रो ०-१५-० वांकी नै रहेपछि त्यति जग्गाले वादीको अंश हक लाग्ने भाग पुग्ने देखिन्छ । सम्पूर्ण कित्ता विक्री भएको नभै ५ भागको १ भाग भन्दा डेढी वढी जग्गा वांकी नै रहेको र सो जग्गाको मूल्य विक्री भएको जग्गा भन्दा कम छ भनी वादीले फेरादमा दावी लिन नसकेको परिप्रेक्षमा विक्री भएको र नभएको जग्गाको मूल्य वरावर रहेछ भनी अदालतले अनुमान गर्नु पर्दछ । यसरी आफूले पाउने जग्गा भन्दा वढी जग्गा वांकी भै वादीले सो जग्गा प्राप्त समेत गरी सकेको परिप्रेक्षमा वादीको हकको जग्गा समेत विक्री भै सकेको भनी संझन नमिल्ने हुँदा वादी दावी पुग्न नसक्ने भनी शुरु भक्तपुर जिल्ला अदालतले गरेको ठहर र त्यसलाई सदर गरेको पुनरावेदन अदालत पाटनको इन्साफ मिलेकै देखिंदा मनासिव ठहर्ने ।      

(प्र.नं. १२)

 

पुनरावेदक तर्फवाटः विद्वान अधिवक्ता श्री पन्नामान तुलाधर

विपक्षी तर्फवाटः x

अवलम्वित नजीरः x

     

फैसला

     न्या. गोविन्द वहादुर श्रेष्ठः पुनरावेदन अदालत पाटनको मिति २०५०।८।३ को फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) को खण्ड (क) र (ख) को आधारमा मुद्दा दोहोर्‍याई हेर्ने निस्सा प्रदान भै पुनरावेदन दायर हुन आएको मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छः

      २. बिपक्षी पिता कृष्ण प्रसाद र म फिरादी सहित पांच जना अंशियार छौं । हामीहरुको वीचमा अंशवण्डा भएको छैन । म समेतको हक लाग्ने भ.पु.जि. कटुन्जे गा.वि.स. वडा नं. ८(ख) कि.नं. १४६ को जग्गावाट कित्ताकाट गरी हाल कायम हुन आएको कि.नं. १४०७ को क्षेत्रफल ०--० जग्गा मोल रु.१,००,०००।- मा मिति २०४५।१।२१ मा व्यापार गर्नको लागि भनी विक्री गरेको कुरा मिति २०४६।१।१४ मा नक्कल सारी थाहा पाएकोले फिराद गर्न आएको छु । उक्त कि.नं. को क्षेत्रफल मध्ये ५ खण्डको १ खण्ड लिखत वदर गरी पाउँ भन्ने व्यहोराको फिराद दावी ।

      ३. फिराद दावीको जग्गा घर वनाउन, घर मर्मत गर्न यिनै वादीको र कान्छा छोरा कृष्ण प्रसादको विवाह गर्दा लागेको ऋण तिर्नको लागि वादी समेतको सल्लाहवाट विक्री गरेको हो । लिखत वदर हुन पर्ने होइन भन्ने व्यहोराको कृष्ण प्रसाद प्रजापतिको प्रतिउत्तर पत्र ।

      ४. प्रतिवादी कृष्ण प्रसादले आफूखुस गर्न पाउने जग्गा राजिनामा गरेको हुँदा लिखत वदर हुने होइन भन्ने प्र. रोहिणी राजभण्डारीको प्रतिउत्तर जिकिर ।

      ५. पैतृक सम्पति मध्ये आधा सम्म स्वीकृति नलिई घर व्यवहार चलाउन विक्री गर्न पाउने नै हुँदा वादी दावी पुग्न सक्तैन भन्ने भक्तपुर जिल्ला अदालतको २०४८।११।१ को फैसला ।

      ६. भक्तपुर जिल्ला अदालतको फैसलामा चित्त वुझेन सो फैसला वदर गरी वादी दावी बमोजिम ५ खण्डको १ खण्ड लिखत वदर गरी पाउँ भनी वादीले दिएको पुनरावेदन पत्र ।

      ७. अ.वं. २०२ नं. तथा पु.वे.अ. नियमावली, २०४८ को नियम ४७ वमोजिम छलफलको लागि बिपक्षी झिकाउनु भन्ने पुनरावेदन अदालतको २०४९।१२।२६ को  आदेश ।

      ८. अंश मुद्दावाट वण्डा हुने ठहरेको सम्पत्तिको हिसाव गर्दा अंशवण्डाको १९(१) नं. प्रतिकूल व्यवहार गरेको नदेखिएकोले लिखत बदर गरी पाउँ भन्ने वादी दावी पुग्न नसक्ने ठहराएको शुरुको इन्साफ मिलेकै देंखिदा सदर हुने ठहर्छ भन्ने समेतको पुनरावेदन अदालत पाटनको मिति २०५०।८।३ को फैसला ।

      ९. व्यापार गर्न जग्गा विक्री गरेको वास्तविक व्यहोरा विवादित लिखतवाट स्पष्ट देखिएको सो को कुनै वास्ता नगरी अंशवण्डाको १९(१) नं.को घर व्यवहार चलाउन विक्री गरेको देखिएको भन्ने निर्णयाधार उल्लेख गरीनुवाट स.अ.वाट प्रतिपादित सिद्धान्त विपरित छ । विपक्षीले घर व्यवहार गर्न, मेरो विवाह गर्न, घर मर्मत गर्न जग्गा बिक्री गर्नु परेको कपटपूर्ण व्यहोरा देखाएतापनि मेरो विवाह सो भन्दा पूर्व नै भएको भन्ने जस्ता सवुद प्रमाणद्वारा त्यस्को खण्डन गरेको तर्फ कुनै विवेचना नगरी फैसला गरीएको छ । अंशियारको हक हिस्सा हरेक सम्पत्तिको हरेक खण्डमा हुन्छ, त्यस तर्फ पनि ध्यान दिइएको छैन । पुनरावेदन अदालत पाटन समेतको फैसला त्रुटीपूर्ण हुँदा मुद्दा दोहोर्‍याई हेरी फिराद दावा वमोजिम गरी पाउँ भन्ने समेतको रत्न प्रसाद प्रजापतीको यस अदालतमा परेको  निवेदन ।

      १०. यसमा व्यापार गर्न भनी वापत जनाई जग्गा विक्री गरेको भन्ने लिखतवाट नै देखिन आएकोले सो वापतलाई अंशवण्डाको १९(१) नं. मा घर व्यवहार चलाउन विक्री गरेको भन्न नमिल्ने देखिंदा पुनरावेदन अदालत पाटनको फैसलामा ने.का.प. २०४८ अंक ११ पृष्ठ ७८६ नि.नं. ४४२४ मा प्रतिपादित भएको सिद्धान्त र अंशवण्डाको १९(१) नं. को व्याख्यात्मक त्रुटी भै न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) को खण्ड (क) र (ख) को अवस्था विद्यमान देखिंदा दोहोर्‍याउने निस्सा प्रदान गरी दिएको छ । नियमानुसार गरी पेश गर्नु भन्ने समेतको यस अदालत संयुक्त इजलासको मिति २०५२।८।१ को आदेश ।

      ११. नियम वमोजिम पेश हुन आएको प्रस्तूतः मुद्दामा पुनरावेदक तर्फवाट उपस्थित विद्वान अधिवक्ता श्री पन्नामान तुलाधरले राजिनामा लिखतमा नै प्रष्ट रुपमा व्यापार गर्नको लागि जग्गा विक्री गरेको भनी प्रष्टरुपमा उल्लेखित छ । व्यापार गर्न जग्गा बिक्री गरेकोलाई घर व्यवहार चलाउनलाई बिक्री गरेको भनी संझन मिल्दैन । पुनरावेदन अदालत पाटन समेतको फैसला वदर गरी लिखत वदर गरी पाउँ भनी वहस प्रस्तुत गर्नुभयो ।

      १२. मिसिल अध्ययन गरी पुनरावेदक तर्फवाट उपस्थित विद्वान अधिवक्ताले गर्नु भएको वहस समेतलाई ध्यानमा राखी पुनरावेदन अदालत पाटनले गरेको फैसला मिलेको छ छैन भन्ने सम्वन्धमा नै निर्णय दिनुपर्ने भई निर्णय तर्फ विचार गर्दा यस साविक कि.नं १४६ को जग्गा रोपनी २-१५-० मध्ये विपक्षी रोहिणी राज भण्डारी समेतका ६ जनालाई जम्मा ज.रो २-०-० विक्री भए पश्चात ज.रो ०-१५-० वांकी नै रहेको भै कि.न. १४०८ मा कित्ताकाट भएको देखिन्छ । सो कि.नं. १४०८ को ज.रो ०-१५-० अंश दपोट ठहरी वादी रत्न प्रसाद प्रजापतिको नाउँमा दर्ता हुने भनी पुनरावेदन अदालत पाटन समेतबाट ठहर भै अन्तिम भै वसेको देखियो । एउटै प्लटको जग्गा भध्ये ५ भागको १ भाग मेरो समेत हक लाग्ने भनी वादीको दावी छ  तर कि.नं. १४६ को ज.रो. २-१५-० मध्ये ज.रो ०-१५-० वांकी नै रहेपछि त्यति जग्गाले वादीको अंश हक लाग्ने भाग पुग्ने देखिन्छ । सम्पूर्ण कित्ता विक्री भएको नभै ५ भागको १ भाग भन्दा डेढी वढी जग्गा वांकी नै रहेको र सो जग्गाको मूल्य विक्री भएको जग्गा भन्दा कम छ भनी वादीले फेरादमा दावी लिन नसकेको परिप्रेक्षमा विक्री भएको र नभएको जग्गाको मूल्य वरावर रहेछ भनी अदालतले अनुमान गर्नु पर्दछ । यसरी आफूले पाउने जग्गा भन्दा वढी जग्गा वांकी भै वादीले सो जग्गा प्राप्त समेत गरी सकेको  परिप्रेक्षमा वादीको हकको जग्गा समेत विक्री भै सकेको भनी संझन नमिल्ने हुँदा वादी दावी पुग्न नसक्ने भनी शुरु भक्तपुर जिल्ला अदालतले गरेको ठहर र त्यसलाई सदर गरेको पुनरावेदन अदालत पाटनको इन्साफ मिलेकै देखिंदा मनासिव ठहर्छ । शुरु र पुनरावेदन  अदालतको फैसलामा परिवर्तन गर्नु परेन । मिसिल नियमानुसार गरी बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या.अरविन्दनाथ आचार्य

 

इति सम्वत् २०५४ साल श्रावण २८ गते राजे ३ शुभम्

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु