शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ६४१५ - उत्प्रेषण लगायत जो चाहिने आज्ञा आदेश जारी गरी पाउँ

भाग: ३९ साल: २०५४ महिना: कार्तिक अंक:

निर्णय नं. ६४१५           ०५४, ने.का.प.              अङ्क ७

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री गोविन्द बहादुर श्रेष्ठ

माननीय न्यायाधीश श्री केदारनाथ आचार्य

सम्वत् २०५२ सालको रिट नं. .. २६८८

आदेश मितिः २०५४।२।१।४

 

विषयः उत्प्रेषण लगायत जो चाहिने आज्ञा आदेश जारी गरी पाउँ ।

 

निवेदकः जि.संखुवासभा मादी राम्वेनी गा.वि.स. वडा नं. ३ वस्ने वर्ष ४६ को परशुराम दाहाल समेत जम्मा ३ ।

विरुद्ध

विपक्षीः पुनरावेदन अदालत विराटनगर समेत जम्मा १६ ।

 

§  अदालतबाट वण्डा मुचुल्का खडा गर्ने प्रयोजनको लागि दुवै पक्षलाई विधिवत तारेख तोकिएकोमा निवेदक डोरको लागि तोकिएको ठाउँमा उपस्थित भै वण्डा छुट्याउने कार्यमा सहयोग गर्नुको साटो अनुपस्थित भै वसेको देखिन्छ । अदालतको डोर बाट १ महिना भन्दा वढी दिन लगाई अथक प्रयास पछि उक्त वण्डापत्र तयार भएको समेत देखियो । निवेदकले अदालतलाई वण्डा गर्ने कार्यमा आवश्यक सहयोग गरेको पनि देखिएन । पटक पटक निवेदन परी एक पटक जिल्ला अदालतबाट तथा अर्को पटक पुनरावेदन अदालत विराटनगरबाट पनि वण्डा मुचुल्का वदर भएको र २०५१।११।५ को प्रस्तुत विवादको वण्डा मुचुल्का कानूनको रीत पुर्याई भएको वेरीतको नदेखिएको भनी पुनरावेदन अदालत विराटनगरबाट सदर भई रहेको देखिन आयो । प्रचलित कानून वमोजिम गर्नु पर्ने कार्यवाई भई अधिकार प्राप्त अदालतबाट मूल्याङ्कन भै निर्णय भई रहेको वण्डा मुचुल्काको सम्वन्धमा रिट क्षेत्रबाट प्रमाणको औचित्य तर्फ विचार गर्न नमिल्ने एवं वण्डा छुट्याउने कार्यमा कानूनी त्रुटी परिलक्षित नहुँदा उत्प्रेषणको रिट जारी गर्नु पर्ने स्थिति नहुँदा रिट निवेदन खारेज हुने ।                    

(प्र.नं. १०)

 

निवेदक तर्फवाटः विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्ण प्रसाद पन्त

विपक्षी तर्फबाटः विद्वान अधविक्ता श्री योगराज सुवेदी, विद्वान अधिवक्ता श्री वच्चुसिंह खडका

अवलम्वित नजीर :

 

आदेश

     न्या.केदारनाथ आचार्यः नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३।८८(२) अन्तर्गत दायर हुन आएको प्रस्तुत रिट निवेदन सहितको संक्षिप्त विवरण यस प्रकार छ :

      २.    विपक्षीहरुले हामी निवेदक समेत उपर गोश्वारा अवण्डा सम्पति वण्डा हुन वांकी विर्ता ५ अंश छुट्याई पाउँ भन्ने मुद्दामा सर्वोच्च अदालतबाट मिति २०१४।३।३२ मा भएको अन्तिम फैसलमा अघि ब्रम्हलाल, मुक्तिनाथको अंश मुद्दा पर्दा १९५२ सालमा धनकुटा कोटिलिङ्ग अदालतबाट लिएको खोलुवामा लेखिएको जग्गा मध्ये ५ भागको १ भाग मुक्तिनाथको पर सारी वांकीलाई ३ भाग लगाई श्री नारायणको १ भाग, केन्द्रवरको १ भाग परसारी १ भाग ब्रम्हलाललाई  दिलाई दिने फैसला भएको र भागतर्फ अघिका फैसला बमोजिम ठहर्‍याएको र अरु वण्डा गर्नु पर्ने जग्गा ज जस्को  जिम्मामा रहेको छ उस उसबाट तायदाती फाँट लिई वण्डा गरीदिनु भनी शुरु जिल्ला अदालतमा पठाई दिनु भन्ने फैसला अनुसार अंश मुद्दा संखुवासभा जिल्ला अदालतमा आई परेको तायदाती फाँट उपर दपोट मुद्दा परी मिति २०३१।१।२९ मा पुर्वान्चल क्षेत्रीय अदालतबाट अन्तिम फैसला भएको थियो । सर्वोच्च अदालतको फैसला र पु.क्षे.अ.को फैसला अनुसार हामी वादी प्रतिवादीबाट साविकमा पेश भएको तायदाती र मिति ०५०।११।१० को र मिति ०५१।३।३१ को फाँटवारी संखुवासभा जिल्ला अदालतमा पेश भएको थियो । सो अदालतबाट डोर खटिई मिति ०५१।११।५ मा के व्यहोराबाट वण्डा मुचुल्का भएको थियो भने वादी प्रतिवादीहरुले दिएको फाँटवारीमा उल्लेख भएको सम्पत्तिबाट ५ भाग लगाई सो बाट १ भाग मुक्तिनाथका पुर्खा दुर्गा दासका सन्तानलाई छुट्याई वांकी ४ भागलाई ३ भाग लगाई १ भाग वादी ब्रम्हलालका पुर्खा मनोरथका सन्तालाई १ भाग प्रतिवादी श्री नारायणका पुर्खा प्रमानन्दलाई र १ भाग नारदको पुर्खा कुलानन्दका सन्तानलाई अंश छुट्याई दिनलाई श्री नारायण पुर्खा प्रमानन्दका सन्तानहरुसँग अंश लिनु दिनु गरी वादी मनोरथका सन्तानलाई र मुक्तिनाथका पुर्खा दुर्गा दासका सन्तानले  मिलापत्र गरीसकेकोले अव वण्डा गर्न वांकी रहेको  प्रतिवादी नारदका पुर्खा कुलानन्दका सन्तान मनोरथका सन्ता दुर्गा दासमा सन्तावीच अंशवण्डा गर्न र डोरले मिलापत्र गर्ने प्रमानन्दका सन्ता जिम्मा वाहेकको अरु वण्डा हुने र साविकमा दिएको तायदातीमा फाँटवारीमा उल्लेख भएको हाल सर्भे नापी भएको जग्गाबाट पहिला ५ भागको १ भाग दुर्गादासका सन्तानलाई परसारी वांकी रहेका जग्गाबाट वादी ब्रम्हलालका पुर्खा मनोरथका सन्तान र प्रतिवादी नारदका पुर्खा कुलानन्द वीच वण्डा छुट्याई दिने भन्ने उल्लेख गरी वादी पक्षका मनोरथका सन्तानले नापी पछि दिएको फाँटवारीमा उल्लेख भएको खेत तर्फ ११८१ मुरी १५ पाथी ६ माना वारी तर्फ ४८३ मुरी ४ माना बुटेन तर्फ ७४ मुरी खाई भोगेको जग्गा र दुर्गा दासका सन्तानको भोगको खेत तर्फ ४७५ मुरी ४ भाग वारी तर्फ २१५ मुरी वुटेन तर्फ १६५ मुरीको जग्गा निजहरुले खान पाउने अथवा मनोरथका सन्तानले खाएको मनोरथकै सन्तानमा दुर्गादासले भोगेको निजहरुकै नाउँमा कायम रहने गरी वण्डा मुचुल्कामा उल्लेख नगरी नारदका पुर्खा कुलानन्दले  देखाएको खेत तर्फ १३७२, पाखा तर्फ ६६६ मुरी २ माना बुटेन तर्फ ४९२ मुरी र साविकको तायदाती फाँटवारीमा हालको नापीमा कायम भएका कि.नं. दर्तावालाको नाम नखुलेको कुलानन्द कै सन्ताले भोग गरी निजहरुकै जिम्मामा रहेको खेत तर्फ ८९४ मुरी १० पाथी वारी तर्फ ५४८ मुरी १४ पाथी बुटेन तर्फ ४५० मुरी समेत जम्मा खेत तर्फ २६६।१० वारी तर्फ १२१४।१६ पाथी बुटेन तर्फ ९४२ मुरी कुलानन्दका सन्तान जिम्मा रहेको देखिएको भनी सो जग्गाहरु मध्येबाट वढी अंश खाएको अंश वापत पहिला ५ भागको १ भाग दुर्गादासको सन्तानलाई र अरु वांकी वादी ब्रम्हलालको पुर्खा मनोरथका सन्तानलाई छुटाई दिएको भनी वण्डा मुचुल्का गरीएको थियो । उक्त वण्डा मुचुल्का वेरितको हुँदा बदर गरी पाउँ भनी संखुवासभा जिल्ला अदालतमा निवेदन दिएकोमा जिल्ला न्यायाधीशबाट तहसिलदारको मिति ०५१।११।२१ को आदेश मिलेकै देखिंदा कानून बमोजिम गर्नु भन्ने मिति ०५२।२।१२ मा आदेश भयो सो आदेश उपर पुनरावेदन अदालत विराटनगरमा हामीले निवेदन दिएकोमा मिति ०५२।८।१५ मा उक्त अदालतबाट जिल्ला अदालतको आदेश बेरितको नभएको हुँदा कानून बमोजिम गर्नु भनी आदेश भएबाट वैकल्पिक उपचारको अभावमा यो निवदेन गर्न आएको छु उक्त वण्डा मुचुल्का मिति २०१४।३।३२ को सर्वोच्च अदालतको फैसला र मिति २०३१।१।२९ को पुर्वान्चल क्षेत्रीय अदालतको फैसला अनुरुप नभएको उक्त फैसलाले पेश भएको तायदातीमा उल्लेख भएको श्री सम्पत्तिमा मुक्तिनाथ पट्टिका  सन्तानमा ५ भागको १ भाग परसारी वांकी ३ भाग लगाई १भाग हामी कुलानन्दका सन्तानको पनि एकैसाथ वण्डा छुट्टिने हो सो बमोजिम छुट्याई दिनु पर्नेमा सो बमोजिम भएन गरीएन वण्डा गर्दा नरम गरम मिलाईएको पनि छैन वण्डा मुचुल्का अंश वण्डाको २, , २८ नं. विपरित भै हामी निवदेकहरुको सम्पतिको हकमा प्रत्यक्ष आघात पुग्न गएको छ, वण्डा मुचुल्कामा प्रमानन्दको सम्पत्तिलाई वाहेक गरीएको छ प्रमानन्द समेत अंशियार भएपछि निजको नामको अवण्डा जग्गा समेत खुलाई कूल अवण्डा श्री सम्पत्तिबाट विपक्षी लगायत हाम्रो समेत वण्डा हुनु पर्दथ्यो  विपक्षी वादी मनोरथका सन्तान ब्रम्हलाल, मुक्तिनाथका पुर्खा दुर्गा दास र श्री नारायणको पुर्खा प्रमानन्द समेतले पेश गरेको तायदातीमा उल्लेख गरीएको कूल जम्मा अवण्डा श्री सम्पत्तिबाट सम्वन्धित फैसला बमोजिम वण्डा सवै अंशियार वीच वरावर हुने गरी गोला हाली वण्डा मुचुल्का श्रृजना गर्नु पर्ने सो बमोजिम नगरी केवल नारदका पुर्खा कुलानन्दको श्रीसम्पत्ति मात्र वण्डा मुचुल्का नगरेको संवैधानिक व्यवस्थाको पूर्णतह विपरित भएको छ, अतः उल्लेख गरे वमोजिम संखुवासभा जिल्ला अदालतका तहसिलदारले मिति २०५१।११।५ मा गरेको वण्डा मुचुल्का ०५१।११।२१ को तामेली पर्चा सोलार्ई सदर गरेको संखुवासभा जिल्ला अदालतको न्यायाधीशबाट मिति ०५२।२।१२ मा भएको आदेश एवं सो सदर गरेको पुनरावेदन अदालत विराटनगरको मिति ०५२।८।१५ को आदेश समेतबाट हामी निवदेकलाई नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ११,१२ र १७ द्वारा प्रदत्त संवैधानिक एवं कानूनी हक समेत कुण्ठीत हुन गएकोले संविधानको धारा ८८(२) अन्तर्गत उत्प्रेषणको आदेशले उपर्युक्त वण्डा मुचुल्का एवं आदेशहरु बदर गरी पाउन उत्प्रेषण लगायत जो चाहिने अन्य उपर्युक्त आज्ञा आदेश वा पुर्जि जारी गरी संवैधानिक एवं कानूनी हकको संरक्षण गरी प्रचलन गराई पाउँ भन्ने समेत व्यहोराको रिट निवेदन ।

      ३.    यसमा के कसो भएको हो ? निवेदकको माग बमोजिको आदेश किन जारी हुन नपर्ने हो वाटाका म्याद वाहेक १५ दिन भित्र लिखित जवाफ पठाउनु भनी विपक्षीलाई सूचना पठाई लिखित जवाफ आएपछि वा अवधि नाघेपछि नियम बमोजिम पेश गर्नु भन्ने समेत व्यहोराको यस अदालत एक न्यायाधीशको इजलासको मिति ०५२।१०।३२ को आदेश ।

      ४.    प्राकृतिक न्याय सिद्धान्तको हनन भएको कानूनी उपचारको अर्को वाटो छैन भन्ने जस्ता पुर्वावस्थाहरु निवेदनमा उल्लेख गर्न सकेको  छैन । अंश छुट्याई लिन दण्ड सजायका ४६ नं. का म्यादभित्र दरखास्त दिन पर्ने सो अनुरुप निवेदकको दरखास्त परेन हामीले दरखास्त दिएको, यस्तोमा दण्ड सजायको ४६(३) ले निवेदकले उजुर वाजुर गर्न पाउने होइन, मिलापत्रबाट हक छोडेको जग्गा घटाएको हुँदा तथ्य लुकाई लिएको जिकिर कानून सम्मत छैन, निवेदकहरुले पाउने भन्दा वढी नै जग्गा निजहरुको जिम्मा भोगमा छाडी वण्डा मुचुल्का भएको यी निवेदक दण्ड सजायमा ४६ नं. बमोजिम वण्डा छुट्याई पाउँ भन्ने दरखास्त नगर्ने व्यक्ति भएको निजहरुले पाउने छुट्याई परसारी अंश छुट्याई दिएको दण्ड संजायको ४६(४) ले निवेदकहरुको उजुर नलाग्ने हुनाले रिट जारी गर्न मिल्दैन खारेज गरी पाउँ भन्ने समेत व्यहोराको भोलानाथ दाहाल, वालकृष्ण दाहाल गुणनिधी दाहाल, भीम प्रसाद दाहाल समेतको संयुक्त र सोही मिलानको खगेश्वर दाहाल, महेश्वर दाहाल, मोहन प्रसाद दाहाल, चन्द्रशेखर दाहाल, मेघराज दाहाल, मुक्तिनाथ दाहाल, गायत्री प्रसाद दाहाल, हरि प्रसाद दाहाल, रंगलाल दाहाल, समेतको संयुक्त लिखित जवाफ ।

      ५. निवेदकहरुको जिल्ला न्यायाधीशबाट कानून बमोजिम गर्नु भन्ने ०५२।२।१२ मा आदेश भए उपर यस अदालतमा अ.वं. १७ नं. अन्तर्गत निवदन पर्न आएको सो निवेदनमा जिल्ला अदालतको आदेश वेरितको नभएको हुँदा कानून बमोजिम गर्नु भनी यस अदालतबाट कानून बमोजिम आदेश भएको उत्प्रेषणको आदेश जारी हुन नपर्ने हुँदा निवेदन खारेज गरी पाउँ भन्ने समेत व्यहोराको पुनरावदेन अदालत विराटनगरको लिखित जवाफ ।

      ६.    सर्वोच्च अदालत र पुर्वान्चल क्षेत्रीय अदालतको फैसला अनुसार अंश छुट्याई पाउँ भनी अंश पाउने महेश्वर दाहाल समेतको ०३४।८।५ मा दरखास्त परेको मिलापत्र भई  वांकी रहेका वादी प्रतिवादीहरु वीचमा भएको वण्डा मुचुल्काको आधारबाट नै मिति ०५१।११।२१ मा भएको तामेली पर्चा मिलेकै देखिएकोले दण्ड सजायको ६१ नं. को आधारमा दिएको निवेदन उपरमा अन्यथा गर्नु पर्ने अवस्था नदेखिएकोले सदर गरीएको हुँदा रिट निवेदन खारेज गरी पाउँ भन्ने समेत व्यहोराको संखुवासभा जिल्ला अदालतको लिखित जवाफ ।

      ७.    नियमानुसार पेश भएको प्रस्तुत रिट निवेदन सहितको मिसिल अध्ययन गरीयो । निवेदक तर्फबाट रहनु भएका विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्ण प्रसाद पन्तले वण्डा मुचुल्का गर्दा  वण्डा लाग्ने सिम्पत्ति नरम गरम मिलाई वण्डा गरीएको छैन, कुलानन्दको नाममा कुन कुन जग्गा गयो खुलेको छैन, वण्डा मुचुल्का अंशवण्डाको महलको २८ नं. समेत विपरित भै त्रुटीपूर्ण हुदा वेरितको आदेश सदर गर्ने गरेको पुनरावेदन अदलतको अदेश रिट जारी भै वदर हुनु पर्दछ भन्ने समेत व्यहोराको बहस प्रस्तुत गर्नु भयो । विपक्षीहरुका तर्फबाट उपस्थित विद्वान अधिवक्ताद्वय श्री योगराज सुवेदी र श्री वच्चु सिंह खड्काले निवदेकहरु नारदका सन्तान हुन । गरिदकै सन्तानमा पनि वि.सं. १८८६ सालको वण्डामा नपरेका तायदातीमा उल्लेखित साविक दर्ता भोग जिम्मावाला कुलानन्दका छोरा नारदका सन्तानहरुले चित्त वुझाई बसेका छन । निवेदकहरुले तायदातीमा देखाए अनुसारको भोग गरेको देखिन्छ । कति सम्पत्ति नवाडेको कति वढी लियौ भन्ने  तथ्यगत आधार खुलाउन नसकेको हुँदा रिट जारी हुनु पर्ने होइन भन्ने समेत व्यहोराको बहस प्रस्तुत गर्नु भयो ।

      ८.    प्रस्तुत रिट निवेदनमा  निवेदन जिकिर बमोजिम उत्प्रेषण समेतको आादेश जारी हुनु पर्ने हो होइन भन्ने विषयमा निर्णय दिनु पर्ने देखिन आयो  ।

      ९.    निर्णय तर्फ विचार गर्दा विपक्षीहरुका नाउँमा मात्र वण्डा छुट्याई गरेको वण्डा मुचुल्का समेतको काम कार्यवाही वेरित भै त्रुटीपूर्ण हुँदा बदर गरी पाउँ भन्ने निवेदकको मुख्य निवदेन जिकिर रहेको देखिन्छ । सर्वोच्च अदालतको २०१४ सालको फैसला र पुर्वान्चल क्षेत्रीय अदालतको ०३१ सालको फैसला बमोजिम दरखास्त गर्ने पक्षको नाउँमा फैसला समेत बमोजिम रीत पूर्वक नै वण्डा छुट्याउने कार्य भएको भन्ने विपक्षीहरुको लिखित जवाफ रहेको देखिन  आउँछ

      १०.    अघि अंश मुद्दा चलि सर्वोच्च अदालत डिभिजन वेन्चबाट ०१४।३।३२ मा भएको अन्तिम फैसलामा ब्रम्हलाल र मुक्तिनाथको अंश मुद्दा पर्दा वि.सं. १९५२ मा धनकुटा कोटलिङ्ग अदालतबाट लिएको खोलुवामा लेखिएका जग्गा मध्ये ५ भागको १ भाग मुक्तिानाथको परसारी वांकी लाई ३ भाग लगाई श्री नारायणको १ भाग, केन्द्रीवरको १ भाग, परासारी १ भाग ब्रम्हलाललाई दिलाई दिने फैसला भएकोमा अंश दपोट मुद्दा परी ०३१।१।२९ गते तत्कालिन पुर्वान्चल क्षेत्रीय अदालतबाट अन्तिम फैसला भई रहेको भन्ने देखिन्छ । सो अनुसार वण्डा लगाउने सिलसिलामा महेश्वर दाहाल विरुद्ध तुलसी प्रसाद दाहाल समेतको अंश छुट्याई पाउँ भनी पर्न आएको निवदन उपर संखुवासभा जिल्ला अदालतबाट ०४०।१०।२।२ मा आदेश हुँदा ५ भागको १ भाग मुक्तिनाथको परसारी वांकीलाई ३ भाग लगाई १ भाग खाने अंशियार ब्रम्हलालका पुर्खा मनोरथका सन्तान र १ भाग खाने श्री नारायणका पुर्खा प्रमान्दका सन्ताहरु र १ भाग खाने केन्द्रीवरका पुर्खा कुलानन्दका सन्तान हुँदा ब्रम्हलालका पुर्खा मनोरथका सन्तानहरु र श्री नारायणका पुर्खा प्रमानन्दका सन्तानहरुका वीच घटी वढी मिलाई अवण्डा जग्गाको अंश लिनु दिनु गरी दावी छोडी छोडाई ०४०।७।२१।२ मा दुई अंशियारको संयुक्त दरखास्त परेको र मुक्तिनाथका पुर्खा दुर्गादासका सन्तानको र श्री नारायणका पुर्खा प्रमानन्दका सन्तान वीच पनि घटी वढी मिलाई अवण्डा जग्गाको अंश लिनु दिनु गरी दरखास्त दावी छाडी छोडाई ०४०।९।५।३ मा संयुक्त दरखास्त परेको हुँदा अव केन्द्रीवरका पुर्खा कुलानन्दका सन्तानहरुबाट मुक्तिनाथका पुर्खा दुर्गादासका सन्तानले र ब्रम्हलालका पुर्खा मनोरथका सन्तानहरु वीच अंश पाउन वांकी रहेको देखिएबाट ब्रम्हलालकै पुर्खा मनोरथका सन्तान र श्री नारायणका पुर्खा प्रमानन्दका सन्तानहरु र मुक्तिनाथका पुर्खा दुर्गादासका सन्तानहरुले अंश लिनुदिनु गरी श्री नारायणको पुर्खा प्रमानन्दका सन्तातहरुका हकमा दावी छाडी दिएको देखिनाले निजहरुको हकमा कार्यवाही गरी रहनु नपर्ने भनी आदेश भै तामेलीमा रहेको देखियो । महेश्वर दाहाल भोलानाथ दाहाल समेत विरुद्ध लिलानाथ दाहाल समेत भएको अंश वण्डा छुट्याई पाउँ भनी पर्न आएको निवेदनमा संखुवासभा जिल्ला अदालतबाट ०४०।१०।२।२ मा वण्डा मुचुल्का दण्ड सजायको ४६ नं. बमोजिम कार्यविधी पूरा नभएको र केन्द्रीवरका पुर्खा कुलानन्दका सन्तानहरुबाट अंश पाउन वांकी नै रहेको र श्री नरायणका पुर्खा प्रमानन्दका सन्ताहरुबाट अंश पाउने पक्षले अंश लिनु दिनु गरी दरखास्त दिएको देखिंदा भन्ने आधारहरुमा ०४०।३।७ गते भएको वण्डा मुचुल्का बदर गरी दिएको त्यसरी नै अंश छुट्याई पाउँ भनी अर्कोे पटक महेश्वर दाहाल समेत विरुद्ध लक्ष्मी प्रसाद दाहाल समेतको निवेदनमा ०४८।१२।३० गते वण्डा मुचुल्का खडा गरी वण्डा छुट्याई दिएकोमा पुनरावेदन अदालत विराटनगरबाट ०५०।२।२२ गते उक्त वण्डा मुचुल्का बदर भै कानून बमोजिको रीत पुर्याई वण्डा छुट्याई दिनु भन्ने भएको आदेश अनुसार संखुवासभा जिल्ला अदालतबाट वण्डा मुचुल्का गर्दा अंश छुट्याई पाउँ भनी वादी महेश्वर दाहाल समेतको विगोमा दरखास्त परे उपर कारवाही चल्दैका अवस्था प्रतिवादी मध्येका श्री नारायणका पुर्खा प्रमानन्दका सन्तानहरुसँग घटी वढी अंश लिनु दिनु गरी वादी ब्रम्हलालका पुर्खा मनोरथका सन्तानहरुले मिति ०४०।७।२१ र मुक्तिनाथका पुर्खा दुर्गादासका सन्तानहरुले मिति ०४०।९।५ मा मिलापत्र गरी सकेकोले अव वांकी रहेको ५ भाग को १ भाग अंश पाउने मुक्तानाथका पुर्खा दुर्गादासका सन्तान वादी ब्रम्हलालका पुर्खा मनोरथका सन्तान र नारदका पुर्खा कुलानन्दको सन्तान वीच वण्ड गर्न वांकी रहेकोमा ०५१।११।५ गते प्रतिवादी नारदका पुर्खा कुलानन्दका सन्तानहरुले वढी खाएको जग्गा खेत तर्फ २४८।१० वारी तर्फ १७८ वुटैन तर्फ ८८ मुरी उव्जा हुने जग्गाबाट ५ भागको १ भाग मुक्तिनाथका पुर्खा दुर्गादासका सन्ताहरुलाई डोरबाट वण्डा छुट्याई दिएको वण्डा मुचुल्काबाट देखिंदा सो वण्डा मुचुल्का बमोजिम ब्रम्हलालका पुर्खा मनोरथको अंश भागमा परेको मूल्य रु.७५४।१९ को र मुक्तिनाथको पुर्खा दुर्गादासको सन्ताको भागमा परेको मूल्य रु.७९२।९४ समेत जम्मा रु.१४४६।९३ को सयका २।५० ले हुने रु.३८।८९ लिई राजश्व आम्दानी वांधी ०५१।११।५ को वण्डा मुचुल्का बमोजिम वादीहरुका अंश भागमा परेका जग्गाबाट ब्रम्हलालका पुर्खा मनोरका सन्तानहरुले खान पाउने र दुर्गादासका सन्तानका भागमा परेको जग्गा मुक्तिनाथका पुर्खा दुर्गादासको सन्तानहरुले भोग चलन गर्न पाउने गरी मिति ०५१।११।२१।५ मा चलन पूर्जी गरी दिएको पाइन्छ । सो उपर चित्त नवुझी परशुराम दाहाल, पुण्य प्रसाद दाहाल विरुद्ध महेश्वर दाहाल समेत भएको अंश छुट्याई पाउँ भन्ने उजुरी निवेदन पुनरावेदन अदालत विराटनगरमा पर्दा वादी पक्षको दर्खास्तको आधारमा वण्डा छुट्याउने कार्यवाही भई पर सार्नु पर्ने भाग परसारी वादीलाई वण्डा छुट्याई दिएको वण्डा मुचुल्काबाट देखिएको निवेदक प्र. पुण्य प्रसाद दाहाल समेतको निवेदनमा यो यसरी तथ्यगत रुपमा त्रुटीपूर्ण भयो भनी मुचुल्काको यो यति कुरा मिलेन भनी आधार र कारण स्पष्ट औल्याई जिकिर लिन समेत सकेको नदेखिंदा संखुवासभा जिल्ला अदालतबाट भएको ०५२।२।१२ को आदेश वेरितको नदेखिएकोले कानून बमोजिम गर्नु भनी आदेश भएको देखिंदा संखुवासभा जिल्ला अदालतबाट मिति ०५१।११।५ मा भएको वण्डा मुचुल्का र ०५१।११।२१ को तामेली आदेश मिलेकै देखिन आयो । अदालतबाट वण्डा मुचुल्का खडा गर्ने प्रयोजनको लागि दुवै पक्षलाई विधिवत तारेख तोकिएकोमा निवेदक डोरको लागि तोकिएको ठाउँमा उपस्थित भै वण्डा छुट्याउने कार्यमा सहयोग गर्नुको साटो अनुपस्थित भै वसेको देखिन्छ । अदालतको डोर बाट १ महिना भन्दा वढी दिन लगाई अथक प्रयास पछि उक्त वण्डापत्र तयार भएको समेत देखियो । निवेदकले अदालतलाई वण्डा गर्ने कार्यमा आवश्यक सहयोग गरेको पनि देखिएन । पटक पटक निवेदन परी एक पटक जिल्ला अदालतबाट तथा अर्को पटक पुनरावेदन अदालत विराटनगरबाट पनि वण्डा मुचुल्का वदर भएको र २०५१।११।५ को प्रस्तुत विवादको वण्डा मुचुल्का कानूनको रीत पुर्याई भएको वेरीतको नदेखिएको भनी पुनरावेदन अदालत विराटनगरबाट सदर भई रहेको देखिन आयो । प्रचलित कानून वमोजिम गर्नु पर्ने कार्यवाई भई अधिकार प्राप्त अदालतबाट मूल्याङ्कन भै निर्णय भई रहेको वण्डा मुचुल्काको सम्वन्धमा रिट क्षेत्रबाट प्रमाणको औचित्य तर्फ विचार गर्न नमिल्ने एवं वण्डा छुट्याउने कार्यमा कानूनी त्रुटी परिलक्षित नहुँदा उत्प्रेषणको रिट जारी गर्नु पर्ने स्थिति नहुँदा रिट निवेदन खारेज हुने ठहर्छ । मिसिल नियमानुसार गरी वुझाई दिनु ।

 

उपरोक्त रायमा सहमत छु ।

 

न्या. गोविन्द बहादुर श्रेष्ठ

 

इति सम्वत २०५४ साल जेष्ठ १ गते रोज ४ शुभम्

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु