शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ९१३७ - सवारी ज्यान

भाग: ५६ साल: २०७१ महिना: असार अंक:

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ

माननीय न्यायाधीश श्री तर्कराज भट्ट

फैसला मिति M २०७०।५।३१

०६६-CR-०७९६

 

मुद्दा M सवारी ज्यान ।

 

पुनरावेदक/वादी M सुकबहादुर गुरूङसमेतको जाहेरीले नेपाल सरकार

विरूद्ध

प्रत्यर्थी/प्रतिवादी M प्युठान जिल्ला, खैरा गा.वि.स.वडा नं. २ बस्ने गितबहादुर पुन

 

  • यान्त्रिकरूपमा दुरूस्त रहेको सवारी साधन मादक पदार्थ सेवन नगरी ध्यान दिई तथा होशीयारीपूर्वक साइड बत्त बाल्दै एवम् हर्नसमेत बजाउँदै र सुस्त गतिमा हाँक्दा ३९ फिट चौडा फराकिलो सडक भएको चोक बजारमा ट्‍याक्सीले एक्कासी बाटो काट्दा ट्रक चालकले आफ्नो सवारीको ब्रेक लगाएपछि पछाडि आउँदै गरेको मोटरसाइकल तत्काल उक्त ट्रकमा ठोक्किएर दुर्घटना भएको मिसिल संलग्न कागजबाट खुल्दछ । सवारी चलाएको बेलामा भएको चालकको अवस्था, उक्त ट्रकको यान्त्रिक अवस्था, घटनास्थल प्रकृति विवरण, सडक दुर्घटना प्रतिवेदन स्केच, प्रतिवादीको बयान, ट्रकका सहयोगीको कागज एवम् दुर्घटना भएको अवस्थामा तत्काल देख्ने मानिसहरूको अदालतमा भएको बकपत्रसमेतका मिसिल संलग्न सम्पूर्ण कागज प्रमाणहरूको रोहमा हेर्दा प्रस्तुत ऐनको दफा १६१(३) मा वर्णित अवस्थाको सवारी दुर्घटना भई मोटर साइकल चालकहरूको मृत्यु भएको मिसिल संलग्न कागजातबाट पुष्टि हुने

(प्रकरण नं.१०)

 

पुनरावेदक/वादीका तर्फबाट M

प्रत्यर्थी/प्रतिवादीका तर्फबाट M

अवलम्बित नजीर M

सम्बद्ध कानून M

  • सवारी तथा यातायात व्यवस्था ऐन२०४९ को दफा १४७ र दफा १६१-_, १६१-_

 

सुरू फैसला गर्ने M           मा.जि.न्या.श्री हरिकुमार पोखरेल

पुनरावेदन तहमा फैसला गर्ने M मा.न्या.श्री नारायणप्रसाद दाहाल

मा.न्या.श्री नीता गौतम दिक्षित

 

फैसला

          न्या.कल्याण श्रेष्ठ M पुनरावेदन अदालत, पोखराबाट मिति २०६६।८।१ मा भएको फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम यस अदालतमा पुनरावेदन दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवम् ठहर निम्नबमोजिम छः

          मिति २०६४।८।२४ गते दिउसो अन्दाजी २ बजेको समयमा गितबहादुर पुनले हाँकेको ना.२.ख. ६८८४ नं. को ट्रकले पोखरा विरौटाचोकमा बुद्ध गुरूङले हाँकेको ग.३.प ६२८ नं. को मोटरसाइकललाई ठक्कर दिदा बुद्ध गुरूङको घटनास्थलमा नै मृत्यु भएको र उक्त मोटरसाइकलपछाडि बसेका तेन्जीन योङदेनको उपचारको क्रममा पश्चिम क्षेत्रीय अस्पताल पोखरामा मृत्यु भएको, प्रत्यक्षदर्शीको अनुसार ट्रकचालकले गाडी पछाडि लगेर किचेको भन्नेसमेत व्यहोराको शुकबहादुर गुरूङसमेतको संयुक्त जाहेरी दरखास्त ।

          लिङ्ग वरिपरिको सम्पूर्ण भाग किचिक्षतविक्षत् अवस्थामा रहेको, निधारमा दायाँतर्फ गालाको भागमा ठोक्किएको र घिसारिएको नलडाम, बायाँ कन्चटमा काटेको चोट, दुबै घुडाँ पछाडि ७ इन्च गोलाईको काटेको घाउ, दुबै साप्राको बीचको भाग छुट्टिएको भन्नेसमेत व्यहोराको मृतक तेन्जीन योङदेनको लासजाँच मुचुल्का ।

          पोखरा १७, विरौटाचोकस्थित पूर्व पश्चिम सडक, उत्तर विरौटाचोक, दक्षिणतर्फ सडक  र आईलेण्ड रहेको, उक्त सडकको मल चौडाई ३८ फिट रहेको, सडकको बीच भागमा पश्चिम मोहडा गरी ना.२.ख ६८८४ नं. को ट्रक रहेको, उक्त ट्रकको पछाडि टायरबाट १४ फिट पूर्वसम्म टायरडाम देखिएको, ट्रकको पछाडि दायाँ टायरले बुद्ध गुङ्गको टाउको किचेको, उक्त ट्रकबाट ६ फिट दक्षिणमा ग.३.प.६२८ नं. को मोटरसाईकल पल्टिएको अवस्थामा रहेको, मृतक बुद्ध गुरूङको अनुहारलगायत टाउको किचिक्षतविक्षत् देखिएको, छाती र करङमाथि टायरडाम देखिएको, सो भाग केही दबेकोसमेत देखिएको भन्नेसमेत व्यहोराको घटनास्थल तथा मृतक बुद्ध गुरूङको लास जाँच मुचुल्का ।

          सडक दुर्घटना प्रतिवेदन मिसिल संलग्न रहेको ।

          घटनास्थलमा लिएको मृतकहरूको फोटो थान ५मिसिल संलग्न रहेको ।

          मृतक बुद्ध गुरूङ र तेन्जीन योङदेनको शव परिक्षण प्रतिवेदन थान २ मिसिल  संलग्न रहेको ।

          मिति २०६४।८।२४ गते दिउसो मैले हाँकेको ना.२.ख. ६८८४ नं. को ट्रक पोखरा विरौटामा पुग्दा एक्कासी घुत्रुक्क गरेको आवाजसँगै ट्रकले केही जम्पिङ खाएको अवस्थामा सडकको दायाँ बायाँबाट मान्छे किच्यो भन्ने आवाज सुने, मैले तत्काल गाडीको ब्रेक लगाउँदा गाडी हल्का लस्किएर केही घुम्यो, गाडी १५ कि.मि. प्रतिघण्टाको रफ्तारमा र २ नं. गियरमा थियो । जानी जानी दुर्घटना गराएको होइन, गाडी पछाडि लगेर मानिस मारेको होइन भन्नेसमेत व्यहोराको प्रतिवादी गितबहादुर पुनको बयान ।

          मिति २०६४।८।२४ गते दिउँसो गितबहादुर पुनले हाँकेको ना.२.ख.६८८४ नं. को ट्रक पोखरा विरौटामा पुग्दा केही चस्तु ठोक्किएको जस्तो ड्याङ्ग आवाज आएको र सो पश्चात सडक वरपरका मानिसहरूले मान्छे किच्यो भनेर कराएपछि ड्राइभरले गाडीको ब्रेक लगाए र त्यसपछि म सडकमा झरेर हेर्दा १ जना व्यक्ति ट्रकको दायाँ टायरमुनि र अर्को व्यक्ति बायाँ टायरको अगाडि च्यापिएको अवस्थामा देखेको हुँ भन्नेसमेत व्यहोराको उक्त ट्रकका सहयोगी बलबहादुर विष्टको कागज ।

          व्र गतिमा आएको ट्रकले एक्कासी मोड्दा बुद्ध गुरूङले हाँकेको मोटरसाइकलको पछाडितर्फको भागमा ठक्कर दिई पुनः चालकले गाडी पछाडि लगेर बुद्ध गुरूङको टाउकोमा र तेन्जीन योङदेनको कम्मरको भागमा किचेको हो । यी ट्रक चालकले मार्ने नै नियत राखेर गाडी पछाडि लगेको हो भन्नेसमेत व्यहोराको घटनास्थल प्रत्यक्षदर्शी सन्तराज भण्डारी, सूर्यबहादुर गुरूङ, गौरव भण्डारी, पदमराज गुरूङ, परशुराम ओझा, प्रवेश अधिकारी र सहदेव ढकालले वस्तुस्थिति मुचुल्कामा गरेको कागज ।

          प्रतिवादी गितबहादुर पुनको सो कसूरजन्य कार्य सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १४७ र दफा १६१(२) मा वर्णित कसर अपराध भएको हुँदा निज प्रतिवादीलाई सोही ऐनको दफा १६१(२) नं. बमोजिम अन्तिम हदसम्मको सजाय हुन सजाय माग दावी लिइएको अभियोगपत्र ।

          मैले जाहेरीमा उल्लेख गरे जस्तो गरी गाडी पछाडि लगेर मृतकको मृत्यु गराएको होइन । जाहेरी झूट्ठा हो, मलाई अभियोग दावीबमोजिम सजाय हुनुपर्ने होइन । मैले २ नं. गियरमा गाडी हाँकेको र लापरवाही नगरेको भन्नेसमेत व्यहोराको गितबहादुर पुनले सुरू अदालतमा गरेको बयान ।

          बुझिएका मानिस वसन्तराज भण्डारी १, सूर्यबहादुर गुरूङ १, बलबहादुर विष्ट १, परशुराम ओझा १, गौरव भण्डारी १, पदमराज गुरूङ १, जाहेरवालाद्वय सुकबहादुर गुरूङ १, साम्दुक डोल्मा १, प्रतिवादीका साक्षी सन्तकुमार भुजेल १, रूद्रनाथ तिमिल्सिना १ ले गरेको बकपत्र मिसिल संलग्न रहेछ ।

          यसमा य प्रतिवादीले यसअघि यस्तो कसूर गरेको भन्ने कुरा मिसिलबाट देखिदैन । दुर्घटना हुँदाका बखत प्रतिवादीले मादक पदार्थ सेवन गरी सवारी चलाएको भन्ने पनि छैन । मृतकका हकदारले कानूनबमोजिम पाउने क्षतिपूर्ति र किरिया खर्च रकम प्रतिवादीले जिल्ला प्रशासन कार्यालय, कास्कीमा धरौट राखेको पनि मिसिलबाट देखिन्छ । यस अवस्थामा घटनाको समग्र अवस्थालाई हेर्दा कसूरको मात्रा अनुसार  निज प्रतिवादी गितबहादुर पुनलाई सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६१(२) बमोजिम ३ वर्ष कैद हुने ठहर्‍याई कास्की जिल्ला अदालतबाट मिति २०६५।९।२०।१ मा भएको फैसला ।

          उक्त फैसलाउपर चित्त बुझेन । मैले उक्त दुर्घटना हुँदाको अवस्थामा व्यस्त भडभाड चोकमा अत्यन्त होसियारीपर्वक, मित गतिमा, साईडबत्ती बाल्दै र हर्न बजाउँदै सवारी चलाउँदै गर्दा उक्त मोटरसाइकल एक्कासी मैले चलाएको ट्रकमा ठोक्किन आई दुर्घटना भएको हो । घटना भएको ठाउँको विवरण, मेरा साक्षीहरूको बकपत्र र मेर बयानसमेतलाई कुनै मूल्याङ्कन नै नगरी ३ वर्ष कैद गर्ने गरेको सुरू जिल्ला अदालतको फैसला त्रुटिपूर्ण भएकाले बदर गरी पूर्णरूपमा सफा पाऊँ भन्नेसमेत व्यहोराको प्रतिवादी गितबहादुर पुनको पुनरावेदन अदालत, पोखरामा पर्न आएको पुनरावेदनपत्र ।

          यसमा प्रमाण मूल्याङ्कनको रोहमा सुरू जिल्ला अदालतको फैसला विचारणय देखिदा मुलुकी ऐन, अ.बं. २०२ नं. तथा पुनरावेदन अदालत नियमावली, २०४८ को नियम ४७ बमोजिम पुनरावेदन सरकारी वकल कार्यालय, पोखरालाई पेशीको सचना दिई नियमानुसार पेश गर्नु भन्ने पुनरावेदन अदालत, पोखराबाट भएको मिति २०६६।४।२८ को आदेश ।

          सवारी चलाएको बेलामा भएको चालकको अवस्था, गाडीको अवस्था, घटनास्थल प्रकृति विवरण, सडक दुर्घटनाको प्रतिवेदन स्केच, प्रतिवादीको बयान, ट्रकका खलासीको कागज एवम् दुर्घटना भएको अवस्थामा तत्काल देख्ने मानिसहरूको अदालतमा भएको बकपत्रसमेतका मिसिल संलग्न सम्पूर्ण कागज प्रमाणहरूको समग्रमा मूल्याङ्कन गरी हेर्दा यसमा सुरू जिल्ला अदालतले सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६१(२) नं. अनुसारको कसूर गरेको ठहर गरेको फैसला उल्टी हुने ठहर्छ । निज प्रतिवादी गितबहादुर पुनले ट्रक हाँक्दा कसैको ज्यान मर्न सक्छ भन्ने जस्तो नदेखिएको अवस्थामा दुर्घटना हुन गई मृतक बुद्ध गुरूङ र तेन्जीन योङदेनको मृत्यु हुन गएकोले ऐ.ऐनको दफा १६१(३) नं. अनुसार १(एक) वर्ष कैद र दुई हजार रूपैया जरवाना हुने ठहर्छ भन्नेसमेत व्यहोराको पुनरावेदन अदालत, पोखराको मिति २०६६।८।१ को फैसला ।

          मिति २०६४।८।२४ गते बुद्ध गुरूङले तेन्जीन योङदेनलाई पछाडि राखी ग.३.प.६२८ नं. को मोटरसाइकल चलाई रहेकोमा गितबहादुर पुनले चलाएको ना.२.ख.६८८४ नं. को ट्रकले ठक्कर दिई उक्त मोटरसाइकलमा सवार व्यक्तिहरूको मृत्यु भएको व्यहोरा जाहेरी दरखास्त र बकपत्रसमेतबाट पुष्टि भएको र ट्रकमा मोटरसाइकल ठोक्किन आएकोसमेत नदेख्नु आफैमा लापरवाहीपूर्ण छ । प्रतिवादीले निर्दोषिता पुष्टि गर्न सकेको छैन । यी प्रतिवादीले होशियारीपूर्वक ट्रक चलाएको देखिदैन । यी प्रतिवादीले तीव्र गतिले चलाएको ट्रकले मोटरसाइकललाई ठक्कर दिएको भनी मौकामा कागज गर्ने व्यक्तिले लेखाई दिएको, घटनास्थलमा रहेको मोटरसाइकल र ट्रकको अवस्था हेर्दा ट्रक विस्तारै हाँक्दा स्पीडमा आएको मोटरसाइकल ट्रकमा ठोक्किन आई दुर्घटना भएको देखिन्छ भन्ने मनोगत आधार लिई भएको फैसला त्रुटिपूर्ण छ । अतः प्रमाणहरूको न्यायोचित मूल्याङ्कन गरी पुनरावेदन अदालत, पोखराबाट सुरू कास्की जिल्ला अदालतबाट भएको फैसला केही उल्टी गरी प्रतिवादी गितबहादुर पुनलाई अभियोग दावी भन्दा कम सजाय गर्ने गरी भएको त्रुटिपूर्ण फैसला बदर गरी निज प्रतिवादीलाई सुरू अभियोग मागदावीबमोजिम सजाय गरिपाऊँ भन्ने पुनरावेदक वादी नेपाल सरकारको तर्फबाट मिति २०६७।१।१२ मा यस अदालतमा पर्न आएको पुनरावेदनपत्र ।

          नियमबमोजिम दैनिक मुद्दा पेशीसूचीमा चढी निर्णयार्थ इजलाससमक्ष पेश हुन आएको प्रस्तुत मुद्दामा मिसिल अध्ययन गरी हेर्दा, प्रतिवादी गितबहादुर पुनले सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १४७ र दफा १६१(२) मा वर्णित कसूरजन्य अपराध गरेको हुँदा निज प्रतिवादीलाई सोही ऐनको दफा १६१(२) बमोजिम अन्तिम हदसम्मको सजाय गरिपाऊँ भन्ने अभियोगपत्र परेको रहेछ । निज प्रतिवादी गितबहादुर पुनलाई सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६१(२) बमोजिम तन वर्ष कैद हुने ठहर गरी सुरू फैसला  भएको  देखिन्छ । सुरू फैसला उल्टी हुने गरी ऐ. ऐनको दफा १६१(३) अनुसार प्रतिवादीलाई एक वर्ष कैद र दुईहजार रूपैया जरीवाना हुने गरी पुनरावेदन अदालतबाट फैसला भएको रहेछ । उक्त फैसलामा चित्त नबुझाई वादी नेपाल सरकारका तर्फबाट यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दामा पुनरावेदन अदालतको उक्त फैसला मिलेको छ, छैन र पुनरावेदक वादी नेपाल सरकारको पुनरावेदन जिकीर पुग्न सक्ने हो, होइन भन्ने सम्बन्धमा विवेचना गरी निर्णय गनुपर्ने देखिन आयो ।

2. निर्णयतर्फ विचार गर्दा, मिति २०६४।८।२४ गते गितबहादुरले हाँकेको ना.२.ख.६८८४ को ट्रकले मोटरसाइकल चालक बुद्ध गुरूङ र सोही मोटरसाइकलमा सवार अर्का व्यक्ति तेन्जीन योङदेनको मृत्यु भएको भन्ने जाहेरी दर्खास्तसमेतका कागजातबाट देखिन्छ । मोटरसाइकलमा सवार व्यक्तिहरूको मृत्यु उक्त ट्रक र मोटरसाइकल एक आपसमा ठोक्किएर भएकोमा विवाद नदेखिएता पनि उक्त ऐनको दफा १६१(२) बमोजिमको जानी जानी वा लापरवाही को कसूर कायम गरी सुरू अदालतले निर्णय गरेकोमा ऐ.ऐनको दफा १६१(३) बमोजिमको कसूर हो भन्ने यकन गरेको पुनरावेदन अदालतको फैसला मनासि , छैन सो सम्बन्धमा ठहर गर्नुपर्ने हुन आयो ।

          3. अभियोग माग दावी हेर्दा, ट्रक चलाउँदा लापरवाही गरी चलाएको हुँदा उक्त ट्रकले किचेर मोटरसाइकलमा सवार व्यक्तिहरूको मृत्यु भएकोले प्रतिवादी गितबहादुर पुनको सो कार्य सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १४७ र दफा १६१(२) मा वर्णित कसरजन्य अपराध भएको हुँदा सोही ऐनको दफा १६१(२) बमोजिम प्रतिवादीलाई हदैसम्मको सजाय गरीपाऊँ भन्ने अभियोगपत्र भएकोमा उक्त अभियोग दावीबमोजिम सजाय गरिपाऊँ भनी यस अदालतमा पुनरावेदन दायर भएको रहेछ । यसै सन्दर्भमा सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६१(२) मा दृष्टिगत गर्दा, कसैले कुनै सवारी चलाएबाट कुनै मानिसलाई किची, ठक्कर लागि वा कुनै किसिमले सवारी दुर्घटना भई सवारीमा रहेको वा सवारीबाहिर जुनसुकै ठाउँमा रहे बसेको मानिस त्यस्तो दुर्घटनाको कारणबाट तत्कालै वा मुलुकी ऐन, ज्यानसम्बन्धी महलमा उल्लिखित म्यादभित्र मरेमा त्यस्तो कार्य ज्यान मार्ने मनसाय लिई गरेको नभए तापनि त्यसरी सवारी चलाउँदा कसैको ज्यान मर्न सक्ने ठूलो सम्भावना छ भन्ने कुरा जानी जानी लापरवाही गरी सवारी चलाएको कारणबाट सवारी दुर्घटना हुन गई त्यसैको कारणबाट कुनै मानिसको मृत्यु हुन गएको रहेछ भने त्यसरी सवारी चलाउने व्यक्तिलाई कसूरको मात्रा अनुसार दुई वर्षदेखि दश वर्षसम्म कैद हुनेछ भन्ने कानूनी व्यवस्था भएको देखिन्छ ।

          4. अब यी ट्रक चालकले उक्त ट्रक चलाउँदा कसैको ज्यान मर्न सक्ने ठूलो सम्भावना भएको कुरा जानी जानी वा लापरवाही गरी सवारी चलाएको कारणबाट सवारी दुर्घटना भएको हो, होइन भन्ने सम्बन्धमा उक्त ऐनको दफा १६१(२) को सन्दर्भमा विवेचना गर्नुपर्ने देखिन आयो । उक्त ऐनको दफा १६१(२) बमोजिमको सवारी ज्यान कसर स्थापित हुन मलतः कसैले चलाएको सवारीले मानिसलाई किचेको वा ठक्कर दिएको कारणबाट सवारी दुर्घटना भई मानिसको मृत्यु भएको, उल्लिखित अवस्थाबाट सवारी दुर्घटना भई मानिसको मृत्यु हुँदा ज्यान मार्ने मनसाय लिएको नभए तापनि ज्यान मर्न सक्ने सम्भावना भएको कुरा परिणामको पूर्वकल्पना भएको र जानी जानी वा लापरवाही गरी सवारी चलाएको कारणबाट सवारी दुर्घटना हुन गएको, त्यस्तो दुर्घटनाबाट मानिसको मृत्यु भएको हुनुपर्ने भन्ने व्यवस्था छ । 

          5. प्रस्तुत विवादमा उक्त कानूनी व्यवस्थानुसारको सवारी ज्यान कसूर भएको हो, होइन भन्ने सम्बन्धमा मुद्दाको तथ्यावलोकन गरी हेर्दा यी ट्रक चालकले गाडी पछाडि लगेर उक्त मोटरसाइकलमा सवार व्यक्तिहरूलाई किचेको भन्ने जाहेरी दरखास्त र वस्तुस्थिति मुचुल्काबाट देखिए तापनि गाडी पछाडि लगेर मानिस मारेको होइन भनी प्रतिवादी गितबहादुर अधिकारप्राप्त अधिकारी र अदालतसमक्षको बयानमा कसूरमा इन्कार रहेको देखिन्छ । सोही बयानलाई समर्थन हुने गरी ट्रकका सहयोगी बलबहादुर विष्टले कागज गरी दिएकोसमेत देखियो । मैले उक्त दुर्घटना हुँदाको अवस्थामा होशियारीपूर्वक, मित गतिमा, साइडत्त बाल्दै र हर्न बजाउदै सवारी चलाउँदै गर्दा उक्त मोटरसाइकल एक्कासी ट्रकमा ठोक्किन आई दुर्घटना भएको हो भन्ने प्रतिवादीको जिकीर रहेको देखिन्छ ।

          6. घटनास्थल प्रकृति मुचुल्का र सडक दुर्घटना प्रतिवेदन स्केचबाट पनि ट्रक चालकले गम्भर लापरवाहीयुक्त अवस्थाबाट सवारी हाँकेको थियो भन्नेसमेत कुरा खुल्न आएको छैन  । सवारी द्रुत गतिमा हाँक्नु पनि कहिलेकाही आफैमा दुर्घटनाको कारण हुन सक्ने कुरालाई इन्कार गर्न सकिन्न । प्रस्तुत मुद्दामा प्रतिवादीको बयानबाट दुर्घटनाको केही बेरअघि ट्रकको अगाडिबाट एउटा ट्‍याक्सीले बाटो काटेको कारण आफ्नो ट्रकको गतिलाई तत्काल नियन्त्रण गर्न एक्कासी ब्रेक लगाउनु परेको र सो मोटरसाइकल ट्रकमा ठोकिएर मानिस किचिएको कुरा सडकको दायाँ बायाँ बसेका मानिसहरूको हल्लाबाट थाहा पाएको भन्ने बयानले पनि उक्त ट्रक अत्यधिक गति र लापरवाहीयुक्त अवस्थामा चलाएको भन्ने पुष्टि भएको देखिन आएन । तसर्थ उक्त ट्रकको व्यग्रगति प्रस्तुत वारदातको कारक मान्न सकिने अवस्था पनि देखिएन । व्यवहारिकरूपमा हेर्दा पनि ट्रक र मोटरसाइकलको हँकाईको बेग एकनास भएकोमा एक्कासी ट्‍याक्सीले बाटो काट्दा ट्रकले ब्रेक लगाएमा  सोही ट्रकको पछि दगुर्दै गरेको मोटरसाइकलले भने आफ्नो गति तत्काल नियन्त्रण गर्न नसक्दा भने उक्त मोटरसाइकल ट्रकमा ठोक्किएर सो दुर्घटना निम्तिएको देखिन्छ ।

          7. यान्त्रिकरूपमा कमजोर भएको सवारी साधन सार्वजनिक स्थानमा सञ्चालन गर्नु मात्रले पनि उक्त ऐनको दफा १६१(२) बमोजिमको ज्यान मार्ने मनसाय लिई गरेको नभए तापनि ज्यान मर्न सक्ने ठूलो सम्भावना छ भन्ने कुरा जानी जानी वा लापरवाही गरी सवारी चलाएको ठहर गर्ने आधार त हुन्छ, तर प्रस्तुत मुद्दामा उक्त ट्रकको यान्त्रिक परक्षण प्रतिवेदनबाट ट्रकको एक्सीलरेटर, क्लज, ब्रेक, हर्न, लाइटहरू लगायत गियरसमेतका पार्टपूर्जाहरू ठीक अवस्थामा रहेको भन्ने प्रतिवेदन मिसिल संलग्न रहेको देखिँदा यान्त्रिकरूपमा कमजोर ट्रकलाई सार्वजनिक स्थानमा हाँकेको भन्नेसमेत अवस्था नदेखिएबाट सवारी चलाउँदा कसैको ज्यान मर्न सक्ने ठूलो सम्भावना भएको कुरा जानी जानी वा लापरवाही गरी ट्रक चलाएको कारणबाट उक्त वारदात भएको हो भन्ने कुरा पुष्टि हुन सकेन ।

          8. सडकको मूल चौडाई ३९ फिट रहेको चोक बजारमा मोटरसाइकल र ट्रकको एकापसको ठक्करबाट वारदात हुन गएको तथ्य लास जाँच मुचुल्काबाट देखिन्छ । दुर्घटना हुने जस्तो सम्भावना नदेखिएको अवस्थामा मोटरसाइकल ट्रकमा ठोक्किएर मानिसलाई किचाएको भन्ने कुरा ट्रक चालक र ट्रकका सहयोगीको बयान भएको देखिन्छ । ट्रक पछाडि लगेर मोटरसाइकलमा सवार व्यक्तिहरूलाई किचाएको भन्ने वस्तुस्थिति मुचुल्कामा कागज गरिदिने व्यक्तिहरूको कथनबाट देखिएको भए तापनि २ नं. गियरमा गाडी हाँकेको र लापरवाही नगरेको भन्ने ट्रक चालकको बयानसमेतबाट देखिएकोले उक्त ऐनको दफा १६१(२) बमोजिम ज्यान मर्न सक्ने  ठूलो सम्भावना छ भन्ने जानी जानी वा लापरवाही गरी सवारी चलाएको कारणबाट सवारी दुर्घटना हुन गई ज्यान मर्न गएको भन्ने कुरा मिसिल संलग्न कागजातबाट स्वतन्त्ररूपमा पुष्टि हुन सकेको देखिदैन ।

          9. ऐनको दफा १६१(२) बमोजिमको सवारी ज्यान कसूर पुष्टि हुन नसकेको प्रस्तुत मुद्दामा ऐ.ऐनको दफा १६१(३) को कानूनी व्यवस्थाको विवेचना गर्नु सान्दर्भिक देखियो । प्रस्तुत ऐनको दफा १६१(३) मा कसैको ज्यान मर्न सक्छ भन्ने जस्तो नदेखिएको अवस्थामा कसैले कुनै सवारी चलाउँदा सवारी दुर्घटना हुन गई सवारीमा रहेको वा सवारी बाहिर जुनसुकै ठाउँमा रहे बसेको कुनै मानिसको मृत्यु हुन गएको रहेछ भने त्यसरी सवारी चलाउने व्यक्तिलाई एक वर्षसम्म कैद वा दुई हजार रूपैयासम्म जरवाना वा दुबै सजाय हुनेछ भन्ने कानूनी व्यवस्था भएको पाइन्छ ।

          10. सवारी चलाउँदा ज्यान मर्न सक्ने नदेखिए पनि सवारी दुर्घटनाका कारण मानिस मरेको अवस्था हुनुपर्ने भन्ने उक्त कानूनको व्यवस्था हो । यस सन्दर्भमा ट्रक चालकले २०५६ सालदेखि विधिवत सवारी चालक अनुमतिपत्र प्राप्त गरी सवारी चलाएको जिकीर लिएको र यान्त्रिकरूपमा दुरूस्त रहेको उक्त सवारी साधन मादक पदार्थ सेवन नगरी ध्यान दिई तथा होशीयारीपूर्वक साइड बत्त बाल्दै एवम् हर्नसमेत बजाउँदै र सुस्त गतिमा हाँक्दा ३९ फिट चौडा फराकिलो सडक भएको चोक बजारमा ट्‍याक्सीले एक्कासी बाटो काट्दा ट्रक चालकले आफ्नो सवारीको ब्रेक लगाएपछि पछाडि आउँदै गरेको मोटरसाइकल तत्काल उक्त ट्रकमा ठोक्किएर दुर्घटना भएको मिसिल संलग्न कागजबाट खुल्दछ । सवारी चलाएको बेलामा भएको चालकको अवस्था, उक्त ट्रकको यान्त्रिक अवस्था, घटनास्थल प्रकृति विवरण, सडक दुर्घटना प्रतिवेदन स्केच, प्रतिवादीको बयान, ट्रकका सहयोगीको कागज एवम् दुर्घटना भएको अवस्थामा तत्काल देख्ने मानिसहरूको अदालतमा भएको बकपत्रसमेतका मिसिल संलग्न सम्पूर्ण कागज प्रमाणहरूको रोहमा हेर्दा प्रस्तुत ऐनको दफा १६१(३) मा वर्णित अवस्थाको सवारी दुर्घटना भई माथि प्रकरणहरूमा विश्लेषण गरिएको आधारमा मोटर साइकल चालकहरूको मृत्यु भएको मिसिल संलग्न कागजातबाट पुष्टि हुन्छ ।

11. तसर्थ उक्त ऐनको दफा १६१(२) बमोजिम ज्यान मर्न सक्ने जस्तो नदेखिएको अवस्थामा यी ट्रक चालक गितबहादुरले ट्रक चलाउँदा मोटरसाइकल ट्रकमा ठोक्किन आई मोटरसाइकलमा सवार मानिसको मृत्यु हुन गएको देखिदा सुरू जिल्ला अदालतले सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६१(२) नं. अनुसार कसूर गरेको ठहर्‍याई भएको फैसला उल्टी हुने गरी उक्त ऐनको दफा १६१(३) बमोजिम एकवर्ष सम्म कैद वा दुईहजार रूपैयासम्म जरीवाना वा दुबै सजाय हुन सक्ने कानूनी व्यवस्थाबमोजिम निज प्रतिवादी गितबहादुर पुनले ट्रक हाँक्दा कसैको ज्यान मर्न सक्छ भन्ने जस्तो नदेखिएको अवस्थामा दुर्घटना हुन गई मृतक बुद्ध गुरूङ र तेन्जीन योङदेनको मृत्यु हुन गएको ठहर्‍याई पुनरावेदन अदालत, पोखराबाट प्रतिवादी गितबहादुर पुनलाई  यातायात व्यवस्था ऐन, २०४९ को दफा १६१(३) बमोजिम एक वर्ष कैद र दुईहजार रूपैया जरीवाना हुने ठहर्‍याई भएको फैसला मनासिबै देखिदा सदर हुने ठहर्छ । पुनरावेदक वादी नेपाल सरकारको पुनरावेदन जिकीर पुग्न सक्दैन । दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार बुझाई दिन

                            

उक्त रायमा सहमत छु ।

न्या.तर्कराज भट्ट

 

इति संवत् २०७० साल भदौ ३१ गते रोज २ शुभम............

जला अधिकृत M टीकाभूषण घिमिरे

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु