निर्णय नं. ७८३० - किर्ते

निर्णय नं. ७८३० ने.का.प.२०६४ अङ्क ३
सर्वौच्च अदालत संयुक्त इजलास
माननीय न्यायाधीश श्री दामोदरप्रसाद शर्मा
माननीय न्यायाधीश श्री राजेन्द्रप्रसाद कोइराला
सम्बत् २०६० सालको फौ.पु.नं. –३२५०
फैसला मितिः २०६४।२।२१।२
मुद्दाः किर्ते ।
पुनरावेदक
प्रतिवादीः जि.नवलपरासी, प्रगतिनगर गा.वि.स. वडा नं. ३ बस्ने भरतराज वस्ती समेत
विरूद्ध
प्रत्यर्थी
वादीः जि. वाग्लुङ रामडाँडा गा.वि.स. वडा नं. ६ घर भै हाल जि. पर्वत शिवालय गा.वि.स.वडा नं. ८ बस्ने दुर्गादेवी थापा
§ पुनरावेदक प्रतिवादीहरुले उक्त लिखत किर्ते हो भन्ने जानकारी हामीलाई थाहा थिएन भनी लिएको जिकिर लाई लिखत गरिदिनेको लोग्ने नै लिखतमा साक्षी बसी कारणी सही हो भनी विश्वास दिलाएबाट पुष्टि हुन्छ भने आफ्नो श्रीमतीलाई कारणी देखाई भएको ब्यवहारमा कारणी होइन कि भनी लेखनदास तथा किन्ने तर्फका साक्षीले शंका गर्न पर्ने सम्मको अवस्था नहुने।
§ लिखत किर्ते हो भन्ने जानकारी निजहरुलाई थियो भन्ने ठोस प्रमाण वादी पक्षबाट प्रस्तुत हुन सकेको पनि नपाइदा मुलुकी ऐन किर्ते कागजको १ नं. मा भएको ब्यवस्थामा जानी बुझी किर्ते कागजमा बस्ने साक्षीलाई मात्र वात लाग्ने र प्रस्तुत मुद्दामा यी पुनरावेदक प्रतिवादीहरुले दावीको लिखत किर्ते हो भनी जानी बुझी साक्षी बसेको भन्ने प्रमाणबाट प्रष्टसँग नदेखिएको अवस्थामा निजहरुले आरोपित कसूरबाट सफाई पाउने ।
(प्रकरण नं.१६)
पुनरावेदक प्रतिवादी तर्फबाट :विद्वान अधिवक्ता श्री हिरा रेग्मी
प्रत्यर्थी वादी तर्फबाट :
अब लम्वित नजीरः
फैसला
न्या.दामोदरप्रसाद शर्माः न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१)(क) बमोजिम मुद्दा दोहोर्याई हेर्ने निस्सा प्रदान भए अनुसार पुनरावेदन दायरीमा दर्ता भै यसै अदालतको क्षेत्राधिकार भित्र पर्ने प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छः–
२. जिल्ला नवलपरासी कावासोती गा.वि.स. वडा नं. ४(क) कि.नं. २६० को ज.वि. ०–१–१५ जग्गा मेरो नाउँमा एकलौटी दर्ता पुर्जा भएको मेरो एकलौटी हक भोगको जग्गा हो । विपक्षी मध्येका भद्र बहादुर भन्ने हेम बहादुर थापा मेरा पति हुनुहुन्छ । उल्लेखित जग्गा बिक्री भएको भन्ने हल्ला सुनि सम्बन्धित कार्यालयमा गई राजिनामाको नक्कल लिई हेर्दा विपक्षी पति स्वयं साक्षी बस्ने, विपक्षी भरत बस्ती र जय कुमार सुवेदीले सनाखत गर्ने र विपक्षी अम्वर बहादुरले जग्गा खरिद गर्ने गरी र.नं. ३४१५ मिति ०५५।१।२ मा राजिनामा पारित गरी दा.खा समेत गराई म जग्गा दर्तावाला व्यक्तिलाई थाहा नदिई सट्टामा अर्का व्यक्ति खडा गरी मेरो नामबाट झुठा ल्याप्चे तथा हस्ताक्षर लगाई विपक्षीहरु एक आपसमा मिलोमतो गरी जग्गा लिने दिने गरेको हुँदा विपक्षीहरुलाई किर्ते कागजको १ नं. को कसूर गरेको ठहर गरी विपक्षीहरुलाई ऐ को ४, ७, १४ नं. बमोजिम सजाय समेत गरी पाउँ भन्ने समेत व्यहोराको फिराद दावी ।
३. सह प्रतिवादी हेम बहादुर र अम्वर बहादुर मैले चिने जानेको मानिस होइनन म एक साधारण लेखापढी गरी बस्ने मानिस हुँदा निजहरु र एउटी महिला समेतलाई कि.नं. २६० को जग्गा खरिद बिक्री गर्नु परेको छ । तपाई वारेश भै जग्गा राजिनामा पारित गरी दिनु होस भन्दा सद्दे कारोबार होला भनी विश्वासमा परी राजिनामा रजिष्ट्रेशन पारीत गर्ने काममा वारेशको भूमिका निभाएको हुँ । जग्गावाला यिनै वादी हुन् वा अरु कोही हुन् मलाई थाहा नभएको हुँदा किर्ते कार्य गर्ने मेरो कुनै नियत थिएन । विपक्षी वादीको सम्पत्ति मैले लिने खाने उद्देश्य नभएको हुँदा सद्दे कारोबार होला भनी विश्वासमा परी जग्गा रजिष्ट्रेशन गर्दा वारेसको भूमिका सम्म निभाएको हुँदा मलाई वादी दावी अनुसार सजाय हुनु पर्ने होइन भन्ने समेत व्यहोराको प्र. मथुरा श्रेष्ठको छुट्टै प्रतिउत्तर जिकिर ।
४. सह प्रतिवादी मध्ये हेम बहादुर हामीले चिने जानेका व्यक्ति होइनन । हामीहरु लेखापढी गरी जिवन गुजारा गर्ने व्यक्ति भएको हुँदा सह प्रतिवादी हेम बहादुर, अम्वर बहादुर तथा एक जना महिला समेत आई हामीले कि.नं. २६० को जग्गा खरीद बिक्री गर्नु परेको छ । राजिनामाको लिखत लेखी दिनुहोस् भनेको हुँदा राजिनामा लिखत लेखी सरकारी अड्डालाई सहयोग पुर्याएको मात्र हो । विपक्षी वादी जग्गावाला व्यक्ति हुन् वा होइनन ? हामीलाई थाहा छैन। सह प्रतिवादी हेम बहादुर थापा क्षेत्री बसेको हुँदा नेपाली नागरिक नै हुन् भनी विश्वासमा परी नेपाली नागरिक हुन् भनी चिनेको भनी राजीनामा प्रयोजनको लागि मात्र सनाखत साक्षी वसेको हो । विपक्षीको सम्पत्ति लिने खाने हाम्रो कुनै नियत थिएन । विपक्षीको सम्पत्तिको हक हस्तान्तरण गराउँदैमा हामीलाई कुनै फाईदा हुने समेत नहुँदा हामीले जानी जानी किर्ते गर्ने कार्य गरेका हौइनौ । तसर्थ वादी दावी बाट अलग फुर्सद पाउँ भन्ने समेत व्यहोराको प्र. मध्येका भरतराज वस्ती र जय कुमार सुवेदीको प्रतिउत्तर जिकिर ।
५. प्रतिवादी मध्येका हेम बहादुर थापा क्षेत्री र अम्वर बहादुर क्षेत्रीले यस अदालतबाट जारी भएको म्याद गुजारी प्रतिउत्तर नै नघाई वसेका रहेछन् ।
६. वादीका साक्षी त्रिलोचन रिजाल र प्रतिवादीको साक्षी रामचन्द्र पौडेलको बकपत्र भै मिसिल सामेल रहेछ ।
७. किर्ते गरेको भनी वादीले दावी लिएको लिखत र कारणीको नमूना सहीछाप लिई विशेषज्ञ जाँच गराउँदा नमुनाको ल्याप्चे सहिछाप र राजीनामाको लिखतमा लागेको सही छाप आपसमा भिड्न आउँदैन फरक देखिन्छ भन्ने विशेषज्ञको राय भै वादी दावी लाई समर्थन गरेको देखिँदा वादीका नाउमा रहेको जग्गा हक हस्तान्तरण गरेको भनेको लिखत वादीले गरी दिएको देखिन आएन । वादीको नाउँबाट अन्य व्यक्तिको सहिछापको देखिँदा र.नं. ३४१५ मिति ०५५।१।२ मा पारीत राजिनामा किर्ते ठहर्छ भन्ने समेत व्यहोराको नवलपरासी जिल्ला अदालतको मिति ०५७।४।२२ को फैसला ।
८. हामी प्रतिवादी भरत राज वस्ती र जय कुमार सुवेदी लेखापढी व्यवसाय गर्ने व्यक्ति भएको, राजिनामा लिखत रजिष्ट्रेशन पारीत गर्ने हेतुले मात्र साक्षी वसेको हो । हामीहरुको विपक्षीको सम्पत्ति लिने खाने नियत कदापि हुँदै होइन । केवल रजिष्ट्रेशन पारीत हुने कागज लेखेको वापत लेखापढी व्यवसायी संघबाट निर्धारति पारिश्रमिक मात्र लिने गरेको हो । पति पत्नीको सम्बन्धको कुरालाई आधार मानि विपक्षीको पति स्वयं साक्षी बसेको कारणले सद्दे व्यवहार सम्झी लेखापढी गरिदिएका हौं । लेखापढी व्यवसाय गरी जिविका निर्वाह गर्ने व्यक्तिले किर्ते व्यवहार हो भन्ने शंका सम्म भएको भए साक्षी बस्ने थिएनौ । हामीले निजहरुलाई चिने जानेका थिएनौ । लेखत साक्षीलाई बिक्री गरेको वास्तविक स्थिति थाहा नहुने भनी नि.नं. ३०९६, ने.का.प २०४४, अंक ९, पृष्ठ ५६९ मा प्रकाशित सिद्धान्त प्रस्तुत मुद्दामा नजिरको रुपमा अब लम्वन गरिनु पर्नेमा शुरु फैसलामा सो वेवास्ता गरिएको हुँदा शुरु फैसला त्रुटिपूर्ण हुनाले सो त्रुटिपूर्ण फैसला वदर गरी इन्साफ पाउँ भन्ने समेत व्यहोराको प्र. भरतराज वस्तीको पुनरावेदनपत्र।
९. यसमा वादीको लोग्ने हेम बहादुर थापा विवादित लेखतमा साक्षी वसेको अवस्थामा यी पुनरावेदक प्रतिवादीहरुले जानी जानी आरोपीत कसूर गरेको भन्ने ठोस सवुद प्रमाणहरुको अभावमा कसूर गरेको ठहराई सजाय गर्ने गरेको शुरु नवलपरासी जिल्ला अदालतको मिति ०५७।४।२२ को फैसला प्रमाण मूल्यांकनको परिप्रेक्ष्यमा फरक पर्न सक्ने हुँदा छलफलको लागि अ.बं. २०२ नं. तथा पुनरावेदन अदालत नियमावली २०४८ को नियम ४७ बमोजिम प्रत्यर्थी झिकाई उपस्थित भएपछि वा अवधिनाघेपछि नियमानुसार पेश गर्नु भन्ने मिति २०५८।८।२७ को आदेश ।
१०. प्रतिवादीहरुले किर्ते गरेको ठहराई गरेको शुरु नवलपरासी जिल्ला अदालतको मिति ०५७।४।२२ को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ भनी पुनरावेदन अदालत वुटवलबाट मिति २०५८।१२।२ मा भएको फैसला ।
११. हामी पुनरावेदकहरु साधारण लेखा पढी गरी जिविका चलाउने व्यक्ति भएको, हामीले विवादित लिखतमा रजिष्ट्रेशन पास गर्ने प्रयोजनका लागि मात्र उक्त लिखतमा साक्षी वसेको, विपक्षीलाई हानी नोक्सानी पुर्याउने हेतुले साक्षी वसेको पनि होइन । तसर्थ हामीले किर्ते कागजको १ नं. अनुसारको कसूर गरेको छैनौं । जानी जानी साक्षी बसेको भनी वादीले प्रमाणित गर्न सकेको पनि छैन । विशेषज्ञको रायमा आधारित रही फैसला गरी हामीलाई सजाय गरिएको छ तर, विशेषज्ञलाई बकपत्र गराउने र हामीलाई जिरह गर्ने मौका समेत प्रदान नगरी पुनरावेदन अदालत बुटवलबाट भएको फैसला त्रुटिपूर्ण भएको हुँदा मुद्दा दोहोर्याई हेर्ने निस्सा पाउँ भनी प्रतिवादीहरुको तर्फबाट यस अदालत समक्ष पर्न आएको निवेदन ।
१२. यसमा निवेदक प्रतिवादी भरतराज वस्ती र जयकुमार सुवेदी विवादित लिखतमा साक्षी बसेको देखिन्छ । सो लिखत किर्ते हो भन्ने जानकारी निजहरुलाई भएको भन्ने प्रमाण वादी पक्षबाट प्रस्तुत हुन सकेको पाइदैन । कुनै लिखतमा साक्षी बस्ने व्यक्तिलाई त्यस्तो आफू साक्षी बसेको लिखत किर्ते हो भन्ने जानकारी भएको प्रमाणको अभावमा किर्ते गरेको भनी शुरुले गरेको सजाय सदर गरेको पुनरावेदन अदालत वुटवलको फैसलामा मुलुकी ऐन किर्ते कागजको १ नं. को गम्भीर व्याख्यात्मक त्रुटी भएकोले न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१)(क) बमोजिम मुद्दा दोहोर्याई हेर्ने निस्सा प्रदान गरिएको भनी यस अदालतबाट भएको आदेश ।
१३. यसमा लिखत जाँच गरी राय व्यक्त गर्ने विशेषज्ञलाई झिकाई प्रमाण ऐन २०३१ को दफा २३(७) बमोजिम बकपत्र गराउनु भन्ने आदेश बमोजिम विशेषज्ञको बकपत्र भै मिसिल सामेल रहेको ।
१४. नियम बमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दाको पुनरावेदन सहितको मिसिल अध्ययन गरी पुनरावेदकका तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री हिरा रेग्मीले पुनरावेदकहरु लेखापढी गरी जिविकोपार्जन गर्ने व्यक्तिहरु भएको र लिखतमा साक्षीसम्म बसेको देखिन्छ । उक्त दावीको लिखत किर्ते हो भन्ने तथ्य पुनरावेदकले आफूलाई थाहा जानकारी नभएको भनी जिकिर लिइरहेको र निजहरुलाई पूर्व जानकारी थियो, निजहरुले जानी जानी किर्ते लिखतमा साक्षी बसेको भनी शंकारहित प्रमाण वादीले पेश गर्न नसकेको अवस्थामा किर्ते ठहराई पुनरावेदकलाई सजाय गर्ने गरेको पुनरावेदन अदालतको फैसला त्यस हदसम्म नमिलेको हुँदा उल्टी हुनुपर्दछ भनी गर्नु भएको बहस समेत सुनियो ।
१५. अब, पुनरावेदन अदालतको फैसला मिलेको छ, छैन ? प्रतिवादीहरुको पुनरावेदन जिकिर पुग्न सक्ने हो, होइन ? सो सम्बन्धमा निर्णय दिनु पर्ने देखिन आयो ।
१६. निर्णयतर्फ विचार गर्दा प्रतिवादीहरुले आपसमा मिलेमतो गरी दावीको मेरो एकलौटी हकभोगको जग्गा मेरो नामबाट झुठा ल्याप्चे तथा हस्ताक्षर लगाई र.नं. ३४१५ मिति ०५५।१।२ मा राजीनामा पारित गरी दा.खा. समेत गराई किर्ते कागजको १ नं. को कसूर गरेको हुँदा प्रतिवादीहरुलाई ऐ. को ४, ७ र १४ नं. बमोजिम सजाय गरिपाऊँ भन्ने फिराद दावी भएकोमा, यी पुनरावेदक प्रतिवादीहरुले दावीको लिखत किर्ते भएको हामीलाई थाहा जानकारी थिएन, हामी लेखापढी गर्ने मानिसहरु हुँदा साक्षी बसेको सम्म हो, आफूलाई सजाय हुनुपर्ने होइन भन्ने जिकिर लिएको देखिन्छ । शुरू जिल्ला अदालतले जानी जानी अन्य प्रतिवादीहरुको मत सल्लाहमा पसी किर्ते गर्ने कार्यमा सहयोग गरेको भनी यी पुनरावेदक प्रतिवादीहरुलाई किर्ते कागजको १४ नं. अनुसार अपराध गरेको ठहराई सजाय गरेकोमा चित्त नबुझाई पुनरावेदन गर्दा पुनरावेदन अदालतबाट समेत शुरु इन्साफ सदर गरेको देखिन्छ । त्यसमा समेत चित्त नबुझाई मुद्दा दोहोर्याई हेर्ने निस्सा पाउँ भनी यी प्रतिवादीहरुले दिएको निवेदनमा निस्सा प्रदान भई पेश हुन आएको प्रस्तुत मुद्दाको मिसिल हेर्दा दावीको र.नं. ३४१५ मिति ०५५।१।२ बाट पारित राजिनामाको जग्गा दर्तावालाको नामबाट बिक्री नभै अर्को व्यक्तिको ल्याप्चे हस्ताक्षर सहीछाप गराई बिक्री भएको कुरा लिखत र वास्तविक जग्गा दर्तावालाको ल्याप्चे सही छाप रेखा विशेषज्ञबाट जाँच हुँदा सहीछाप नमिलेबाट किर्ते ठहरी फैसला भएको पाइन्छ । यी पुनरावेदक प्रतिवादीहरुले उक्त लिखत किर्ते हो भन्ने जानकारी हामीलाई थाहा थिएन भनी लिएको जिकिरलाई लिखत गरिदिनेको लोग्ने नै लिखतमा साक्षी वसी कारणी सही हो भनी विश्वास दिलाएबाट पुष्टी हुन्छ भने आफ्नो श्रीमतीलाई कारणी देखाई भएको ब्यवहारमा कारणी होइन कि भनी लेखनदास तथा किन्ने तर्फका साक्षीले शंका गर्न पर्ने सम्मको अवस्था हुँदैन । यी पुनरावेदक प्रतिवादीहरुलाई लिखत किर्ते हो भन्ने जानकारी निजहरुलाई थियो भन्ने ठोस प्रमाण पनि वादी पक्षबाट प्रस्तुत हुन सकेको पनि पाइदैन। मुलुकी ऐन किर्ते कागजको १ नं. मा भएको ब्यवस्थामा जानी बुझी किर्ते कागजमा बस्ने साक्षीलाई मात्र वात लाग्ने र प्रस्तुत मुद्दामा यी पुनरावेदक प्रतिवादीहरुले दावीको लिखत किर्ते हो भनी जानी बुझी साक्षी बसेको भन्ने प्रमाणबाट प्रष्टसँग नदेखिएको अवस्थामा निजहरुलाई सजाय गर्ने गरेको पुनरावेदन अदालत वुटवलको फैसला नमिलेकोले त्यस हदसम्म उल्टी भै यी पुनरावेदक प्रतिवादीहरु भरतराज वस्ती, मथुरा श्रेष्ठ र जयकुमार सुवेदीले आरोपित कसूरबाट सफाई पाउने ठहर्छ । अरुमा तपसिल बमोजिम गर्नु ।
तपसिल
माथि ठहर खण्डमा लेखिए बमोजिम पुनरावेदन अदालतको फैसला उल्टी भै पुनरावेदक प्रतिवादीहरू भरतराज वस्ती, मथुरा श्रेष्ठ र जयकुमार सुवेदीले सफाई पाउने ठहरेकाले शुरु र पुनरावेदन अदालतको फैसला बमोजिम निजहरुको नाममा राखेको लगत कट्टा गरी दिनु भनी शुरु जिल्ला अदालतमा लेखी पठाउनु ...१
प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी मिसिल अभिलेख शाखामा नियमानुसार बुझाइदिनु ....१
उक्त रायमा सहमत छु ।
न्या.राजेन्द्रप्रसाद कोइराला
इति सम्बत् २०६४ साल जेष्ठ महिना २१ गते रोज २ शुभम् –