निर्णय नं. ७८३२ - हक निखनाई पाउँ

निर्णय नं.७८३२ ने.का.प.२०६४ अङ्क ४
सर्वोच्च अदालत संयुक्त इजलास
माननीय न्यायाधीश श्री केदारप्रसाद गिरी
माननीय न्यायाधीश श्री ताहिरअलि अन्सारी
संबत् २०५८ सालको दे.पु.नं. .......८५६३
फैसला मितिः २०६४।३।७।५
मुद्दाः हक निखनाई पाउँ ।
पुनरावेदक
वादीः लमजुङ जिल्ला कुन्छा गा.वि.स.वडा नं. २ बस्ने राममणी गौली
विरूद्ध
विपक्षी
प्रत्यर्थीः तनहुँ जिल्ला रुपाकोट, गा.वि.स. वडा.नं.७ बस्ने शेरबहादुर गुरुङ
§ एउटै कित्ता अंशवण्डाको प्रयोजनको लागि वाँडफाँड हुँदा साँध सिमाना नजोडिने भन्ने अवस्था रहदैन । तर, साँध सिमाना जोडिएकै एकमात्र आधार कारणले सन्धीसर्पन परेको मान्न नसकिने।
(प्रकरण नं.१४)
§ सन्धीसर्पनको सम्बन्धमा लेनदेन व्यावहारको ११ नं. ले परिभाषा नगरेपनि त्यस्तो स्थान ठाउँलाई मान्नुपर्ने हुन्छ जुन ठाउँ, स्थानको उपयोग र प्रयोग बिना त्यससँग सम्बन्धित अर्को ठाउँ विशेषको उपयोग हुदैन । सन्धिसर्पनका लागि एउटा जग्गा नभइ अर्को जग्गामा आवत जावत निकास बाटो बन्द हुनु वा पानी लाने लगाउने खेती लगायतका अन्य कार्य गर्न नपाउने हुनु पर्दछ । एउटा जग्गाको उपयोग र उपभोग अर्को जग्गामा पुर्णतया निर्भर रहेको हुनुपर्ने ।
(प्रकरण नं.१६)
§ खेतीयोग्य जग्गाको हकमा दुई जग्गा वा कित्ताको साँध जोडिदैमा एक अर्काको सन्धिसर्पन पर्ने भनी सम्झन वा अर्थ गर्न मिल्दैन । साथै त्यसले भोग बिक्री समेत गर्न पाउने सम्पत्ति सम्बन्धी अधिकारलाई सीमित गरेको समेत अर्थ गर्न नमिल्ने ।
(प्रकरण नं.१६)
पुनरावेदक वादी तर्फबाट : विद्वान अधिवक्ता राममाया लामिछाने
विपक्षी प्रत्यर्थी तर्फबाट : विद्वान अधिवक्ता वालकृष्ण न्यौपाने
अवलम्वित नजीरः
फैसला
न्या.ताहिरअलि अन्सारीः न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम पुनरावेदन अदालत पोखराको २०५९।१।३० को फैसला उपर वादीको यस अदालत समक्ष पर्न आएको पुनरावेदन यसै अदालतको अधिकार क्षेत्र पर्ने हुँदा मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः–
२. विपक्षी शेर बहादुरको दाता चन्द्रमणी गौली र राममणी गौली हामी सबै बाबु आमा चुडामणी गौली र नारायणी गौलीका सन्तान हुन् । चन्द्रमणी गौली र राममणी गौली बीच अंशवण्डा हुँदाका बखत दावीको जग्गा तनहुँ जिल्ला रूपाकोट गा.वि.स.वडा नं. ७ (क) को कि.नं. २ कित्ताकाट गरी राममणी गौलीका नाउँमा कि.नं. ३७ को क्षेत्रफल ५–७–०–० र चन्द्रमणी गौलीका नाउँमा कि.नं.३८ क्षेत्रफल ५–७–०–० कायम मै दा.खा.भै आफ्नो नाउँमा जग्गाधनि प्रमाण पुर्जा समेत लिई भोग चलन गर्दे आएकोमा हाल दाजु भाई एक अर्काको नजिकको हकवाला समेत रहेको र सन्धीसर्पन समेत पर्ने जग्गा राममणी गौलीलाई थाहा जानकारी समेत नदिई उक्त कि.नं.३८ को जग्गा राममणी गौलीलाई प्रतिकूल असर पर्ने गरी विपक्षीले २०५५।८।२२ मा मुल्य रु ७०,०००।– राखी र नं.१२५२ को राजिनामाको लिखत रजिष्ट्रशन पारित गरी दिए लिएको कुरा २०५६।२।१८ मा थाहा पाइ थैली र रजिष्ट्रेशन दस्तुर बुझी निखन्न दिनुहोस भन्दा नमानी २०५६।२।२० मा मालपोत कार्यालय तनहुँमा फिराद गरी सन्धीसर्पन नपर्ने भनि निखनार्ई हकसफा गरी दिन मंजुर छैन भनि प्रतिवाद गरी मालपोत कार्यालय तनहुँबाट हकवाला सन्धीसर्पन पर्ने राममणीलाई हक सफा गरी नदिइ मुलुकी ऐन रजिष्ट्रेशनको महलको ३५ देहाय २ बमोजिम जिल्ला अदालतमा जानु भनि मिति २०५७।३।२६ मा सुनाई फैसला गरेकाले लेनदेन व्यवहारको ११,१६ र ३८ नं. समेतको मागदावी लिई आएको छु । फिरादी र राममणीको कि.नं.३७ को जग्गा कि.नं. ३८ प्रयोग नगरी अन्यत्र कुनै बाटो नभएको कुनै सार्वजनिक निकाश वा जग्गासँग नजोडिएको आवात जावत कमोद गर्न कि.नं.३८ बाहेक अन्यत्र नभएको गरा गरा कान्ला र आली जोडिएको खनजोत गर्दा खेति लगाउँदा समेत एक अर्कालाई कुल्याउनु पर्ने उक्त जग्गामा लगाउने कुलो कि.नं. ३८ को खेतमा पानी लगाई राममणीको हकभोगको कि.नं. ३७ मा पानी आउने अन्य श्रोत र कुलो समेत नभएको कि.नं. ३७ को राममणीलाई कि.नं. ३८ सन्धीसर्पन पर्ने र नजिकको इकवाला भएको उक्त कि.नं.३८ को क्षे.फ ५–७–०–० को जग्गा विपक्षी शेर बहादुरले लेनदेन गर्दाको मुल्य रु ७०,०००।– र रजिष्ट्रेशन दस्तुर रु ४२००।– समेत जम्मा रु ७४२०० विपक्षीलाई बुझाई हक निखनाई दर्ता नामसारी गरिपाऊँ भन्ने समेत व्यहोराको राममणी गौलीको हकमा अ.बं. ८३ नं.बमोजिम अनुमति प्राप्त संरक्षक एका संगोलकी आमा नारायणी गौलीको फिरादपत्र मागदावी ।
३. निवेदिका नारायणी गौलीलाई राममणी गौलीको तर्फबाट मुद्दा दायर गर्न अ.बं. ८३ नं. बमोजिम सुविधा प्रदान गरी दिएको छ भन्ने समेत अदालतबाट मिति २०५७।४।२७ मा आदेश भएको ।
४. निज नारायणी गौलीले प्रस्तुत मुद्दा पहिले मालपोत कार्यालय तनहुँमा दर्ता गर्दा पनि एकाघरको हकवाला भनेर नै मुद्दा दर्ता गराउनु भएको छ । तर, सम्मानित अदालतमा मुद्दा दर्ता गर्दा संरक्षक भएर अनुमति लिई मुद्दा दर्ता भएको हुँदा विपक्षी वादी एकाघरको हकवाला आमा भएको स्पष्ट भएको अवस्थामा मु ऐन अ.बं. ८३(१) अनुसार मुद्दा दर्ता गर्नु पर्नेमा सो नगरी हाल विपक्षीले ऐ ८३(२) अनुसारको अनुमति लिई संरक्षक भएर मुद्दा दर्ता गराउन पाउँने हुँदा फिराद दावी खारेज गरिपाऊँ । कि.नं. २ कित्ताफोड भै कि.नं. ३८ कायम भएको कुरामा विवाद छैन भन्ने दावीको हकमा उक्त दावी झुठ्ठा हो । कि.नं. ३६ कित्ताफोड भएर कि.नं.३७ र ३८ कायम भएको हो। म प्रतिवादी लिने चन्द्रमणी गौली दिने भै गरिएको र नं.१२५२ को राजीनामा लिखतमा दक्षिण बाटो भन्ने उल्लेख भएबाट कि.नं. ३८ को मेरो जग्गा विपक्षलाई अपरिहार्य छैन, नक्सा प्रिन्ट हेर्दापनि विपक्षीको कि.नं.३७ को दक्षिण तर्फ खुला सार्वजनिक जगामा देखिएबाट बाटो सँग नजोडिएको कि.नं. ३७ भन्ने दावी झुठा छ । अनुमतिबाट फिराद दर्ता गर्ने नारायणी गौलीका नाउँमा दर्ता श्रैस्ता भएको कि.नं. ३६ क्षेत्रफल १०–१४–०–० भएको निवुवाबोटे भन्ने खेत भोगवन्ध कीको घरयासी लिखतबाट मुल्य रु ४०,०००।– मा २०४८ साल कार्तिकमा लिएपछि निरन्तर मैले नै भोग गरी आएको छु । विपक्षीले २०५६।२।१८ मा विपक्षीले खनजोत गर्न लागेको देखेको भन्ने असत्य झुठा हो । भोगवन्धकी लिखत गर्दा वादी राममणी गौलीले गरी दिनु भै साक्षी नारायणी गौली बस्नु भएको छ । कि.नं.३७ को जग्गा समेत मैले प्रमाण खण्डमा पेश गरेको भोग वन्धकी लिखतको आधारमा अहिले सम्म अविछिन्न रुपमा भोग गरी आएको छु । कि.नं. ३७,३८ भन्दा तल (दक्षिण) सार्वजनिक बाटोको रूपमा आवात जावत गर्ने बगैचा देखिएको छ । सो बगैँचाको सार्वजनिक बाटो भएर निर्विवाद रूपमा कि.नं. ३८ नछोएर कि.नं. ३७ मा जान आउन, खनजोत गर्न, वाली लगाउन गोडमेल गर्न वाली थन्काउन समेत सकिन्छ । विपक्षीको घर लमजुङ कुन्छा गा.वि.स. वडा नं.२ गौली गाउँ ऐ वडा नं. १ देउराली हुदै सानो खोल्सी तरी निर्विवाद रुपमा विपक्षीको कि.नं.३७ मा जान सकिन्छ भने अर्को बाटो विपक्षीको घरबाट ऐ वडा नं. १ स्थित कुन्छा बजारबाट पूर्व तर्फ झरी रूपाकोट गा.वि.स. वडा नं.९ को सार्वजनिक बाटो हुदै बगैँचा हुँदै कि.नं.३७ मा जान सकिने छ । विपक्षीले अंशवण्डाबाट कि.नं. ३७ र ३८ कायम भई कि.नं. ३७ र ३८ को साँध जोडिएको एउटै कुलो प्रयोग गर्नु पर्ने भन्ने दावीको हकमा कि.नं. ३८ को पूर्व कि.नं. ३७ परेको अन्यत्रबाट साँध नजोडिएको र साँध जोडिएको एवं पानी झर्ने भन्ने आधारबाट मात्र सन्धी सर्पन पर्छ भन्न नमिल्ने भन्ने सम्मानित सर्वोच्च अदालतबाट ने.का.प. २०४० विशेषांक पृष्ठ २९० ने.का.प. २०४८ भाग २३ अंक ५ नि.नं. ४२९५ पृ. २१५ सिद्धान्त प्रतिपादन भएका हुनाले विपक्षीको कि.नं. ३७ को जग्गासँग मेरो कि.नं. ३८ को जग्गा सन्धी सर्पन नपर्ने हुँदा झुठ्ठा फिराद दावी खारेज हुनु पर्दछ र मेरो कि.नं. ३८ को जग्गा निखन्न सन्धी सर्पन नपर्ने हुँदा निखन्न दिन मेरो मञ्जुर छैन भन्ने समेत व्यहोराको प्रतिवादी शेर बहादुर गुरुङको प्रतिउत्तर जिकिर ।
५. यी वादीको कि.नं. ३७ को जग्गालाई विवादित कि.नं. ३८ को जग्गा सन्धी सर्पन परेको स्पष्ट रुपमा देखिँदा वादी दावी बमोजिमको तनहुँ जिल्ला रुपाकोट गा.वि.स. वडा नं.७ (क) को कि.नं. ३८ क्षेत्रफल ५–७–०–० को जग्गा यी वादीले निखनाई लिन पाउने समेत ठहर्छ भन्ने तनहुँ जिल्ला अदालतको मिति २०५८।६।७ को फैसला ।
६. तनहुँ जिल्ला अदालतको फैसलामा चित्त बुझेन । जिल्ला अदालतबाट भएको नक्सा मुचुल्का तथा नक्सा ट्रेश बमोजिम नभई त्रुटिपूर्ण छ । सोही नक्सालाई हेर्दा पनि न.नं. ७ को दक्षिण सिमाना न.नं. २४ को आफ्नो ढुंगाको पर्खाल बान्नो र सोहीसँग जोडिएको सार्वजनिक जग्गा भनी छर्लङ देखिएको छ । एक कित्ता जोडिदैमा सन्धी सर्पन नपर्ने र विपक्षीको कि.नं. ३७ को लागि बाटो सिँचाईको लागि छुट्टै परापूर्व कालदेखि न. नं. २, ३ र न.नं. २४ को दक्षिण तर्फबाट सहज निकास बाटो कुलो गौडा भएकोले मैले विपक्षीको दाजुसँग लिएको कि.नं. ३८ विपक्षीको कि.नं. ३७ को जग्गालाई सन्धी सर्पन नपर्नेमा सन्धी सर्पन पर्ने भनी भएको फैसला कानूनसँगत नहुँदा बदर गरी पुनः नक्सा गरी मेरो प्रतिउत्तर एवं पुनरावेदन जिकिर अनुसार न्याय पाउँ भन्ने प्रतिवादीको पुनरावेदन पत्र ।
७. यसमा भै आएको नक्साबाट पुनरावेदकले राजिनामा गरी लिएको कि.नं. ३८ हुँदै प्रत्यर्थीको कि.नं. ३७ को जग्गामा पानी जाने कुलो नदेखिएको स्थितिमा केवल साँध जोडिएको सम्मकै आधारमा प्रत्यर्थी वादीले विवादित कि.नं. ३८ को जग्गा निखनाई लिन पाउने ठहर्याई भएको शुरुको फैसला फरक पर्न सक्ने देखिँदा छलफलको लागि अ.वं. २०२ नं. तथा पुनरावेदन अदालत नियमावली, २०४८ को नियम ४७ बमोजिम प्रत्यर्थी झिकाई पेश गर्नु भन्ने पुनरावेदन अदालत पोखराको मिति २०५८।१०।२२ को आदेश ।
८. भई आएको नक्सा मुचुल्काबाट वादीको जग्गाको दक्षिण तर्फ निकास देखिएको र जग्गाको प्रकृतिबाटै सन्धिसर्पन पर्ने नदेखिई वादीले आफ्नो जग्गा स्वतन्त्ररुपले उपभोग गर्न सक्ने देखिँदा वादीले निखनाई लिन पाउने ठहराएको शुरु तनहुँ जिल्ला अदालतको मिति २०५८।६।७ को फैसला मिलेको नदेखिँदा उल्टी हुने ठहर्छ । वादी दावा पुग्न सक्दैन भन्ने पुनरावेदन अदालत पोखराको २०५९।१।३० को फैसला ।
९. पुनरावेदन अदालत पोखराको फैसला त्रुटी पूर्ण हुँदा चित्त बुझेन भई आएको नक्शालाई समग्र अध्ययन गरिएको छैन । फैसलामा नं.२४ बाटो मानिएको मा बाटो नभै पर्खाल हो। यस्तै गरी न.नं. १२, १३, १६, १७ का जग्गाहरू बाटोको रुपमा नभै खाली जग्गा हुन् । सार्वजनिक जग्गामा मन लागेको स्थानबाट बाटोको रुपमा प्रयोग गर्न सकिदैन । न.नं.१३ को गोरेटो बाटो मेरा जग्गाबाट टाढा छ, मलाई बाटो निकासको लागी न.नं. ८ कि.नं.३८ को जग्गा अपरिहार्य भएको प्रष्ट हुँदा हुँदै निकास भएको भनि भएको फैसला न्यायोचित छैन । न.नं.८ र न.नं. ७ का जग्गा साविक एउटै कित्ताबाट कित्ता फोड भएका हुन् । यी जग्गामा पानी लगाउन न.नं. १० को पानी न.नं.२५ हुदै जाने हो । छुट्टै कुंलो छैन, ल्याउने अवस्था पनि छैन । एउटै कुलो भएको अवस्थामा प्रमाण ऐनको दफा ४ बमोजिम प्रमाण बुभ्न नपर्ने कुलो भएको आधार मान्न नपर्नेमा आधार लिई ऐनको दफा ३ एंव ५४ विपरीत फैसला भएको छ । फैसलामा जग्गाको भौगोलिक स्थिति बुझिएको छैन । न.नं. १ को पानी न.नं. ९ हुदै १३र २४ को बाटो गरी जानै सक्दैन । फैसलामा निखन्न दिन नपर्ने आधारमा ने.का.प.२०५५ अंक ७ नि.नं. ६५ ६९ को नजिर उल्लेख छ जुन मेरो विरूद्धमा लाग्ने नभै समर्थनमा लाग्ने नजिर हो । लेनदेन व्यवहारको ११ नं.ले म र विपक्षीको दाता दाजु भाई नै भएकोले नजिकको हकवाला भई एउटै जग्गा कित्ता फोड भै सिमाना जोडिएको कित्ता हुँदा सन्धिसर्पन नपर्ने कुरै छैन । उल्लेखीत नजीर कानूनी व्यवस्था समेतका आधारमा त्यस्को गलत व्याख्या गरी भई आएको नक्शा मुचुल्का अध्ययन नगरी भएको पुनरावेदन अदालतको फैसला बदर गरी शुरु इन्कार सदर गरिपाऊँ भन्ने वादीको यस अदालत समक्ष पर्न आएको पुनरावेदन ।
१०. यसमा विवादीत कि.नं.३८ न.नं. र मा न.नं. १०,२५ बाट पानी प्रवेश गरी न.नं. ७ कि.नं. ३७ मा पानी पुग्ने अवस्थामा सन्धि सर्पन नपर्ने भनी पुनरावेदन अदालतले गरेको फैसला फरक पर्न सक्ने हुँदा छलफलका लागी अ.बं.२०२ नं. बमोजिम प्रत्यर्थी झिकाई नियमानुसार पेश गर्नु भन्ने यस अदालतको २०६२।१०।२ को आदेश ।
११. नियम बमोजिम दैनिक मुद्दा पेशी सुचिमा समावेश भई निर्णयार्थ इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक वादी तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री राममाया लामिछानेले जग्गाको भौगोलिक स्थिति उत्तर तर्फ ओरालो छ । पुनरावेदन अदालतले नक्शा र भौगोलिक स्तिथीलाई न्यायोचित ढंगबाट मूल्याङ्कन गरेको छैन । सार्वजनिक जग्गा जोडिदैमा निकास भएको पनि मान्न मिल्दैन । न.नं.७, १०, २५ लाई देखाएर पानी निकासको कुरा गरिएको छ जग्गाको भिरालोपनको भौगोलिक स्थितिबाट ती नम्बरका जग्गाबाट सिँचाई हुन सक्दैन । भइरहेकै नक्सा अध्ययन पनि नगरी पुनरावेदन अदालतले फैसला गरेको छ । लेनदेन व्यवहारको ११ नं. बमोजिम नजिकको हकवाला दाई नै भएको एउटै कित्ता जग्गाको कित्ता फोड पछि सो जग्गा बिक्री भएको हुँदा साँध समेत जोडिएकै छ सन्धी सर्पन पर्नेमा सो नपरेको भनि गरेको पुनरावेदन अदालतको फैसला बदर गरी हक निखनाई पाउनु पर्दछ भन्ने समेतको बहस प्रस्तुत गर्नु भयो । विपक्षी प्रतिवादी तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री बालकृष्ण न्यौपानेले साँध जोडिँदैमा सन्धीसर्पन परेको भन्न मिल्दैन, विपक्षीलाई निकास समेत भएको अवस्था छ निखनाई दिनु पर्ने कुनै अवस्था र आधार नरहेकोले पुनरावेदन अदालतले गरेको फैसला कानून सम्मत हुँदा सदर हुनु पर्दछ भनी गर्नु भएको बहस समेत सुनियो ।
१२. उपरोक्त बमोजिम विद्वान अधिवक्ताहरूको बसह सुनी मिसिल संलग्न पुनरावेदन सहितको प्रमाण कागज समेत अध्ययन गरी पुनरावेदन अदालत पोखराको निखनाई दिनु नपर्ने ठहर्याएको फैसला मिले नमिलेको के रहेछ भनी निर्णय दिनु पर्ने हुन आयो ।
१३. निर्णय तर्फ विचार गर्दा मेरो कि.नं.३७ को जग्गामा जाने निकास बाटो नभएको पानी सिँचाउनको लागी विपक्षीको कि.नं.३८ नै आवश्यक भएकोले र एउटै कित्ता फोड भई कायम कि.नं.३८ भाई चन्द्रमणी गौलीले विपक्षीलाई बिक्री गरेको हुँदा यसलाई सन्धी सर्पन परेको हुँदा निखनाई पाउँ भन्ने मुख्य फिराद दावी रहेको देखिन्छ । यसको प्रतिवादमा फिरादीको कि.नं. ३७ को दक्षिणतर्फ सार्वजनिक खाली जग्गा हुँदै बाहिर निस्कने निकास समेत भएको अवस्थामा सन्धी सर्पन नभएको हूँदा फिराद दावी खारेज हुनुपर्दछ भन्ने रहेको पाइन्छ । विवादीत जग्गा फिराद दावी बमोजिम निखनाई दिने ठहर्याएको शुरू तनुहँ जिल्ला अदालतको फैसला उल्टी हुने ठहर्याएको पुनरावेदन अदालतको फैसला उपर वादीको प्रस्तुत पुनरावेदन परेका देखियो ।
१४. वादी राममणी गौलीले फिराद दावी मा उल्लेख गरेको कि.नं.३७ र ३८ का जग्गाहरू राममणी गौली र प्रतिवादीका भाई चन्द्रमणी गौलीबीच अंशवण्डा भै एउटै कि.नं.२ बाट कित्ता फोड भएको मध्ये कि.नं.३८ प्रतिवादीले राजीनामा गरी लिएको कुरामा विवाद देखिएन । एउटै कित्ताबाट कित्ताकाट भै अंशवण्डाको कारणले छुट्टा छुट्टै कित्ता कायम भएपश्चात वादीले कि.नं.३७ को छुट्टै निकासर पानी कि.नं. ३८ को कारण बन्द भई सन्धी सर्पन परेको भन्न सकेको देखिदैन । एउटै कित्ता अंशवण्डाको प्रयोजनको लागी बाँडफाँड हुँदा साँध सिमाना नजोडिने भन्ने अवस्था रहदैन । तरसाँध सिमाना जोडिएकै एकमात्र आधार कारणले सन्धीसर्पन परेको मान्न सकिदैन । अदालतबाट भै आएको २०५८।१।१९ को नक्शा मुचुल्का वादी दावी बमोजिम निजलाई प्रतिवादीले राजीनामा गरी लिएको विवादित कि.नं.३८ को जग्गाको सन्धीसर्पन पर्ने कुरालाई समर्थन गर्न सक्छ सक्दैन भन्ने कुरा पनि निरोपण गर्नु पर्ने देखिन आयो । सो नक्सामा कुण्डलीमा न.नं.८ कि.नं. ३८ एंव न.नं. ७ कि.नं.३७ को दक्षिण तर्फ न.नं.२४ वादी प्रतिवादीको परखाल भएको देखिन्छ । न.नं. १ फेलेसी खोला र सो खोलाबाट ल्याइएको न.नं.१० को कुलोबाट विवादीत कि.नं.३७ एवं ३८ मा सिँचाई हुने गरेको देखिन्छ । न.नं.२५ मा कुलोबाट पानी जाने प्यान उल्लेख भई सो प्यान न.नं.९,९१ मा रहेको बाटोमा देखिन्छ । न.नं.१० को कुलो न.नं. ९,९१ को बाटोमा अवस्थित भै सो बाटो वादीको कि.नं.३७ को जग्गाको दक्षिणमा रहेको र न.नं. १३ को मोटर चल्ने सार्वजनिक बाटो उल्लेख भएको देखिन्छ । यसै गरी कि.नं.३७ को दक्षिण तर्फ न.नं. १७ को सार्वजनिक जग्गा वगैचा समेत रहेको देखिन्छ । यसरी फलेसी खोलाको पानी न.नं. १० हुँदै न.नं.९,९१ एंव नं.नं.२५ को प्यान सम्म आएको र सो स्थानमा न.नं. १३ को मोटरबाटो सहितको सार्वजनिक जग्गा समेत जोडिएको नक्शाबाट देखिँदा वादी दावी बमोजिम वादीलाई कि.नं. ३८ को निकास बाहेक अन्यत्र वैकल्पिक निकास नभएको र कि.नं.३७ सिँचाई नै हुन नसक्ने, त्यसमा गोरु हल निकाल्न नसक्ने अवस्था रहेको मान्न सकिदैन ।
१५. जँहासम्म लेनदेन व्यवहारको ११ नं. बमोजिम वादी रामणी गौली र प्रतिवादीका दाता चन्द्रमणी गौली आपसमा दाजु भाई भएको र एउटै कित्ता जग्गा कित्ता फोड भई कापमी २ कित्ता जग्गा भएकोले साँध समेत जोडेको भई सँधी सर्पन पर्ने हुँदा हकसफा गरी निखनाई पाउनु पर्दछ भन्ने फिराद दावी एंव पुनरावेदन जिकिर छ सो सम्बन्धमा विचार गर्दा एकै कित्ताबाट कित्ता फाँड भै कायम भएको कि.नं.३७ र ३८ को साँध जोडीने कुरा अस्वभाविक होइन । कि.नं.३७ को पश्चिम तर्फ न.नं.९ हुँदै न.नं. ९१ मा जोडिएको बाटो बीचमा न.नं. १० कुलो आई न.नं. २५ को कुलोको प्यान भएको र सोही ठाउँबाट कि.नं.३८ ३७ मा सिचाँई हुन सक्ने अवस्था भई आएको नक्शाबाट देखिन्छ । यसको अतिरीक्त सोही कुलोबाट सिँचाई, निकास समेत हुने देखिएको अवस्थामा वादीलाई दावी बमोजिम सन्धि सर्पन परेको मान्न सकिदैन ।
१६. सन्धीसर्पनको सम्बन्धमा लेनदेन व्यावहारको ११ नं.ले परीभाषा नगरेपनि त्यस्तो स्थान ठाउँ लाई मान्नु पर्ने हुन्छ जून ठाउँ, स्थानको उपयोग र प्रयोगबिना त्यससँग सम्बन्धित अर्को ठाउँ विशेषको उपयोग हुदैन । संन्धि सर्पनका लागि एउटा जग्गा नभइ अर्को जग्गामा आवत जावत निकास बाटो बन्द हुनु वा पानी लाने लगाउने खेती लगायतका अन्य कार्य गर्न नपाउने हुनु पर्दछ। एउटा जग्गाको उपयोग र उपभोग अर्को जग्गामा पुर्णतया निर्भर रहेको हुनु पर्छ । प्रस्तुत मुद्दामा वादीको कि.नं.३७ को दक्षिण तर्फ सार्वजनिक बाटोभई निज समेतको पर्खाल रहेको र सिँचाई समेत गर्न सकिने अवस्था नक्सा मुचुल्काबाट देखिएको स्थितिमा विवादीत कि.नं.३८ हक सफा नभएमा वादीलाई कि.नं. ३७ उपभोग गर्न अवरोध भएको नदेखिएकोले सन्धि सर्पन परेको भन्ने वादी दावी र पुनरावेदन जिकिर, पुनरावेदक तर्फका विद्वान अधिवक्ताको बहस जिकिर तथा यस अदालतबाट विपक्षी झिकाउँदा लिइएको आधारसँग सहमत हुन सकिने देखिन आएन । त्यसकारण लेनदेन व्यवहारको ११ नं.ले व्यवस्था गरेको संन्धिसर्पन खेती योग्य जग्गाको हकमा दुई जग्गा वा कित्ताको साँध जोडिदैमा एक अर्काको संन्धि सर्पन पर्ने भनी सम्झन वा अर्थ गर्न मिल्दैन । साथै त्यसले भोग बिक्री समेत गर्न पाउने सम्पत्ति सम्बन्धी अधिकारलाई सीमित गरेको समेत अर्थ गर्न मिल्दैन ।
१७. तसर्थ उल्लेखित कानूनी व्यवस्था र भई आएको नक्शा समेतको समग्र सिसिल प्रमाणको अध्ययन समेतबाट विवादीत कि.नं. ३८ को जग्गा वादीलाई संधीसर्पन पर्ने स्थितिको नदेखिएकोले वादी दावी बमोजिम निखनाई नपाउने ठहर्याएको पुनरावेदन अदालत पोखराको फैसला अन्यथा भन्न नमिली मनासीव ठहर्छ । पुनरावेदक वादीको पुनरावेदन जिकिर पुग्न सक्दैन । मिसिल नियमानुसार गरी बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या.केदारप्रसाद गिरी
इति संबत् २०६४ साल आषाढ ७ गते रोज ५ शुभम् ........