शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ७८३४ - कर्तव्य ज्यान

भाग: ४९ साल: २०६४ महिना: श्रावण अंक:

निर्णय नं.७८३४     ने.का.प.२०६४ अङ्क ४

 

सर्वोच्च अदालत, संयुक्त ईजलास

माननीय न्यायाधीश श्री मीनबहादुर रायमाझी

माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ

२०५९ सालको फौ.पु.नं.––३१६९

फैसला मितिः २०६४।१।१६।१

 

मुद्दा : कर्तव्य ज्यान ।

 

पुनरावेदक

वादीः रामबहादुर यादवको जाहेरीले नेपाल सरकार 

विरद्ध

विपक्षी

प्रतिवादीः जिल्ला सिराहा गौरीपुर गा.वि.स. वडा नं. २ बस्ने सन्तकुमार यादव समेत

 

§  ज्यान सम्बन्धीको ६ नं. को कर्तव्यमा कर्तालाई परिणामको पूर्वज्ञान अर्थात आफ्नो कार्यबाट ज्यान मर्न सक्ने जस्तो अवस्था देखिनु पनि हुदैन । अर्थात आकस्मिक कार्यको परिणाम स्वरुप भवितव्य घटने हुन्छ । दुवै दफाले तोकेको सजायमा मनसाय तत्वको अभाव रहने भएपनि ज्यान सम्न्धीको ५ र १४ नं. को वनावट हेर्दा ज्यान सम्न्धीको १४ नं. को अवस्था कायम हुनको लागि प्रतिवादी अर्थात चोट प्रहारकर्ताले तत्काल उठेको रिस थाम्न नसकी लाठा ढुंगा लात मुक्काको प्रहार गर्दा ज्यान मरेको अवस्था हुन पर्ने तर त्यस्तो ज्यान लिने कार्य लुकी चोरीकन हानेको जोखिमी हतियारले हानेको वा विष खुवाई मारेको अवस्थामा भने ज्यान सम्बन्धीको महलको १४ नं. आकर्षित हुने नभई अपराधको गाम्र्भियता अनुसार मनसाय पूर्ण हत्याकै रुपमा हेर्न पर्ने र यस्तो अवस्थामा मात्र अभियोग मागदावी अनुसार ज्यान संवन्धीको १३ नं. अनुसार सजाय हुने ।

(प्रकरण नं.५२)

§  भवितव्य र आवेश प्रेरित हत्या दुवैमा अपराधिक कार्य भनेको कुनै कार्यको परिणाम स्वरुप ज्यान मरेको अवस्था विद्यमान हुनु हो र यी दुवैमा मनसाय तव्वको अभाव रहेको हुँदा कुनै कर्तव्य भवितव्य दुर्घटना वा आशय रहितको हो होईन ज्यान सम्बन्धीको ५ र ६ को अवस्था विद्यमान रहेको छ, छैन भन्ने सम्बन्धमा मुलुकी ऐन ज्यान सम्बन्धीको ५, ६ र १४ को कानूनी उद्देश्य सम्बन्धमा विचार गर्नुपर्ने हुन्छ ।

§  जहा कर्ता तत्काल आवेशमा आई निजले मृतक उपर शारीरिक आक्रमण वा साधारण हतियारले प्रहार गरेको अवस्था विद्यमान हुनु पर्ने हुन्छ । साधारण लाठा, ढुंगा, लात, मुक्का इत्यादिले हान्दा भन्ने वाक्याँश प्रयोग भएबाट कर्ता र मृतकको वारदात हुँदाको अवस्थामा सन्निकटता वा सामिप्यताको कल्पना समेत गरेको पाईन्छ जुन कुरा कर्ता र मृतक तत्काल आवेशमा आउदा एक अर्काको नजिकमा हुँदा मात्र वारदातको सम्भावना रहन्छ भने ज्यान सम्बन्धीको ५ नं. ले भवितव्यको अवस्था कायम हुनको लागि कुनै पनि कार्य तत्काल आवेश प्रेरित भै तत्कालै शारिरीक आक्रमण गरेको अवस्थाको कल्पना गरेको नभई आफुले गरेको कार्यबाट लक्षित व्यक्ति मर्ला जस्तो नदेखिने कुनै कार्य गर्दा मरेको अवस्थालाई मध्यनजर राखेको पाईन्छ । अर्थात कर्ताले गरेको कार्य प्रत्यक्षरुपमा आपत्तिजनक वा कसूरजन्य नभएको भएपनि अचिन्तीत परिणाम श्रृजना भै मृत्यु भएको सम्मको अवस्थालाई दृष्टिगत गरी उक्त नं. को व्यवस्था भएको देखिन्छ । कर्ता आवेश प्रेरित छ र निजले गर्न खोजेको काम अर्थात निजले प्रहार गरेको चोट निर्दोष र स्वभाविक नभै प्रारम्भ त गैरकानूनी र अनुचित छ र त्यसको परिणामले मानिस मर्ने सम्मको विन्दुमा पुग्दछ भने त्यस्तो परिस्थितिलाई समेट्ने गरी ज्यान सम्बन्धीको ५ नं. को प्रावधानको तर्जुमा भएको देखिन नआउने ।

(प्रकरण नं.५४)

 

पुनरावेदक वादी तर्फबाट : विद्वान उप न्यायाधीवक्ता श्री रेवती त्रिपाठी

विपक्षी प्रतिवादी तर्फबाट :

अवलम्वित नजीरः

 

फैसला

न्या.कल्याण श्रेष्ठः न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) बमोजिम यसै अदालतको क्षेत्राधिकार भित्र पर्ने प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार   छ :

२.    घरायसी कारणले विपक्षी बसन्तकुमार यादव र मेरा बाबु मकुन यादवबीच झगडा हुने गरेको निज बसन्त र निजका परिवारका व्यक्तिहरूले मेरा बाबुलाई मार्ने मराउने कोशिस गरिरहेको कुराको चर्चा चलिरहेको थियो । निज बसन्त र निजका परिवारहरू बीच मेरा बाबु मकुन यादवको हाम्रो जग्गा तर्फ पानी बगाई दिएको सम्बन्धमा झगडा हुँदा मेरो बाबुलाई ज्यान मार्ने धम्की दिएका थिए । २०५२।१०।६ का दिन बिहान ६:३० बजेको समयमा म जाहेरवालाको ५ वर्षको छोरा अंगजलाई मेरी बहिनी ककुल्तीले दिशा गराउन लैजाँदाका अवस्थामा विपक्षीहरू बसन्तकुमार यादव, गोपाल यादव र नन्दकुमार यादवले निज ककुल्तीलाई हातपात गरेको देखि मेरा बाबु समेत सो स्थानमा गै झगडा नगर्नु भनी सम्झाउन लाग्नु भयो । त्यसै बखत विपक्षीहरू जोगी भन्ने जोगेन्द्र यादव, सत्रुधन मण्डल धानुक, असर्फी महतो कोइरी, राजलाल कामती, मदन भन्ने मदनलाल महतो कोइरी, मटुकलाल यादव, राम नारायण साफी धोवी, राम औतार मण्डल र महेन्द्र यादव समेत लाठी समेत लिई घटनास्थलमा आए । उल्लेखित १२ जनाले मेरा बाबु मकुन यादवलाई घेरा हाली जोगेन्द्र यादवले यही हो मौका मारी दे भनी बचन दिनासाथ बसन्त कुमार यादवले आफ्नो हातमा भएको ओखल कुट्ने लाठीले ज्यान मार्ने नियतले मेरो पिताको टाउकोमा बेसरी प्रहार गर्ना साथ पिता मकुन यादव रक्ताम भै घटनास्थलमा बेहोस भै लड्नु भयो । अन्यायीहरू घटनास्थलबाट भागे । हामीहरूले पितालाई सिराहा अस्पतालको इमरजेन्सीमा भर्ना गरी उपचार गराउँदा त्यहाँ उपचार हुन सक्दैन धरान लानु भनेको हुँदा धरान घोपा क्याम्पमा लगियो । त्यहाँ समेत उपचार हुन नसक्ने भनेबाट डाक्टरको सल्लाह अनुसार भारत सिलगुडीतर्फ लाँदा लाँदै झापा जिल्लाको काकडभिट्टाको बेलवारीमा पुग्दा सोही राती २०५२।१०।९ गते बिहान अं. १/२ बजे पिता मकुन यादवको मृत्यु हुन गयो । अतः मेरो पिता मकुन राय यादवलाई बचन दिई कुटपिट समेत गरी मार्ने मराउने माथि उल्लेखित अन्यायीहरूलाई पक्राउ गरी निजहरू उपर ज्यान सम्बन्धी महल बमोजिम कारवाही गरी सजाय गरिपाऊँ भन्ने समेत व्यहोराको रामबहादुर यादवले २०५२।१०।९ मा इलाका प्रहरी कार्‍यालय शुखीपुरमा दिएको जाहेरी ।

३.    मृतकको बाया आंखामा पुरै नील देखिएको नाकको दुवै प्वालबाट रगत निस्किएको देखिएको टाउकोको बायाँ कन्चटमा साढे दुई इन्च लामो आधा इन्च चौडाईको चोट देखिएको लाशलाई चारैतिर उल्टाई पल्टाई हेर्दा माथि उल्लेख भएदेखि बाहेक कुनै चोटपटक नीलडाम नदेखिएको भन्ने ०५२।१०।७।१ मा भएको मृतकको लाश प्रकृति मुचुल्का ।

४.    पूर्वमा मृतक मकुन यादवको सब्जी बारी र घर पश्चिममा ऐ बस्ने गोपाल यादवको हाते कल गाडेको जग्गा उत्तरमा दुःख मोचन यादवको शब्जी बारी दक्षिणमा गोपाल यादवको घरसँग सटेको भित्ता यति चार किल्ला भित्र मकुन यादवको धनिया लसुन र साग समेत भएको सब्जी बारीमा बसन्त कुमार यादव समेतले मकुन यादवलाई कुटपिट गरेको घटनास्थलमा उल्लेखित शब्जीहरू माडिएको र खुडिएको समेत देखिएको भन्ने समेत २०५२।१०।१४।१ को घटनास्थल प्रकृती मुचुल्का ।

५.    २०५२।१०।६ गते बिहान अं. ६:३० बजे मेरो बहिनी बिनीता र जाहेरवालाको बहिनी ककुन्ती देवी बीच विवाद भएको सुनी सो ठाउँमा जाँदा मृतक मुकुन यादवले मेरी हजूरआमालाई बाँसको भाटाले कुट्दै रहेछन् । मैले छुट्याउन लाग्दा मकुनले मेरो टाउकोमा समेत सो भाटोले कुटे । निजको हातबाट मैले भाटो खोसें । त्यसैबेला निजले मलाई मुखमा नङग्रायो । मैले निजको बायाँ आँखामा एक वाक्सिङ हिर्काएँ । त्यसैबेला निजबाट खोसेको भाटाले निजको टाउकोको बायाँ कन्चटमा एक भाटो हिर्काए । सोही चोटबाट रगत आई मकुन यादव घटनास्थलमा लडे । सो चोटको कारण सोही राती उपचारको लागि सिलगुडी लैजाँदा लैजाँदै निजको मृत्यु भएछ । मेरो हजूर आमालाई कुटपिट गरेकोले मैले पनि निजलाई कुटपिट गरेको हुँ । अरु घटनास्थलमा भएका व्यक्तिहरूले कुटे कुटेनन् थाहा छैन भन्ने समेत व्यहोराको अभियुक्त बसन्तकुमार यादवले ०५२।१०।२१ मा गरेको बयान कागज ।

६.    २०५२।१०।६ गते बिहान अं. ६ बजे म सिराहा आउन लागेका बखत घटनास्थलमा हो हल्ला सुनी त्यहाँ पुग्दा बसन्त यादवले मकुन यादवलाई बाँसको लाठीले प्रहार गरेपछि निज भुइँमा लडें । धेरै मानिस जम्मा हुन थालेपछि म सिराहा आएँ । म समेतले मकुन यादवलाई मार्ने कुनै पूर्व योजना थिएन र मेरो मृतक र जाहेरवालासँग कुनै रिसइवी थिएन । मैले मकुन यादवलाई मार्न उम्कन नपाउने गरी घेरा हाली मार्ने संयोग पारिदिएको छैन भन्ने समेत अभियुक्त मदनलाल महतोले ०५२।१०।२२ मा गरेको बयान ।

७.    मेरो पानीको कल नजिक मृतक मकुन यादवको बारी पर्ने र मेरो जग्गाको सीमानामा मकुन कै जग्गा तर्फ मकुनले खाल्डो खनेका थिए । २०५२।१०।६ का दिन बिहान घटनास्थलमा मकुन यादव समेत आई हल्ला खल्ला गरेको सुनी घटनास्थलमा जाँदा मेरो छोरा बसन्त यादवले मकुन यादवलाई टाउकोको बायाँतर्फ बाँसको भाटाले प्रहार गर्दा मकुन यादव रगताम्मे भै भुँइमा लडे। म घरमा आई बसें । मैले मकुनलाई मार्न कुनै चीज वस्तु हतियारले प्रहार गरिन । मकुनले मेरी आमा समेतलाई पिट्न थाले पछि गुहार गरी अन्य मानिसलाई घटनास्थलमा बोलाएको हुँ । अरु मानिसले कुटपिट गरे गरेनन् थाहा छैन । म समेतले मकुनलाई मार्न कुनै पूर्व योजना बनाएको थिएन । मैले मानिस भेला गर्ने र मकुनलाई भाग्न उम्कन नपाउने गरी घेरा हाल्ने काम गरेको हो भन्ने गोपाल यादवले गरेको बयान ।

८.    २०५२।१०।६ को बिहान ५ : ३० बजे को समयमा म बसन्तको घरमा पढ्न आएको  थिएँ । घटनास्थलमा बसन्त कुमार, निजको हजूरआमा, निजको बहिनी र जाहेरवालाको बहिनी बीच वादविवाद झगडा भएको रहेछ । त्यसै बखत बसन्तले मकुन यादवलाई आँखामा  हिर्काए । लडाई हुँदा हुँदै अरु व्यक्तिहरू पनि आए । मकुनको टाउकोमा बसन्तकुमारले बाँसको भाटाले हिर्काए । सो चोटले मकुन घटनास्थलमा नै लडे । मकुनलाई जाहेरवाला समेतका मानिसहरूले निजको घरमा लगेपछि म आफ्नो घरतर्फ गएँ । घटनास्थलमा गई मैले मकुन यादवलाई कुटपिट गरिन, हेरिमात्र रहें भन्ने समेत व्यहोराको शत्रुधन मण्डलले २०५२।१०।२२ मा गरेको बयान कागज ।

९.    २०५२।१०।६ को बिहान ६:३० बजे मकुन यादव र बसन्त यादवको झगडा भयो भन्ने कुरा गाउँका मानिसहरूले भनेपछि थाहा पाएँ । वारदात समयमा म मेरै घरमा थिएँ भन्ने समेत व्यहोराको ०५२।११।१ मा राजलाल कामतीले गरेको बयान ।

१०.    २०५२।१०।६ मा बिहान म घरबाट उठी बालीको हेरचार गर्न खेतमा गएका बखत ९ बजेको समयमा घरमा आएँ । म घटनास्थलमा गएको वा मकुन यादवलाई मारे मराएको तथ्य वचन दिएको छैन । घरमा आएपछि बसन्त कुमारले कुटपिट गरी मरुवा घाइते बनाएका छन् भन्ने थाहा पाएँ भन्ने समेत योगेन्द्र यादवले २०५२।११।१ मा गरेको बयान ।

११.    २०५२।१०।६ को बिहान म सन्चो नभएकोले घरमै सुतिरहेको थिएँ । बिहान करीब ११ बजेमात्र बसन्त यादवले जाहेरवालाको बाबुलाई लाठीले टाउकोमा प्रहार गरी सख्त घाइते बनाएको भन्ने सुनेको हुँ । म घटनास्थलमा गएको छैन । किन मलाई पोल गरे मलाई थाहा छैन भन्ने समेत व्यहोराको असर्फी महतो कोइरीले २०५२।११।१ मा गरेको बयान ।

१२.   २०५२।१०।६ का दिन म सिराहा अस्पतालमा थिएँ । २०५२।१०।४ देखि मेरो छोरी विरामी परेको र उपचार गराउँदा गराउँदै ०५२।१०।६ मा मृत्यु भएकोले म सोही अस्पतालमा थिएँ । मृतकलाई बसन्तकुमार यादवले बाँसको भाटाले कुटपिट गरी बेहोस बनाएको भन्ने सुनेको हुँ भन्ने समेत व्यहोराको २०५२।११।१ मा राम नारायण साफी धोवीले गरेको बयान ।

१३.   वारदात समयमा म बारीमा जाँदा मृतक मकुन यादव निजका परिवार समेत मेरो नतिनी बिनीतासँग झगडा गरिरहेका रहेछन् । मैले सम्झाउन लाग्दा मृतक मकुन यादव समेतले मलाई एक चोट हिर्काए । सोही बखत मेरो नाती घरबाट आएँ । म भुइँमा लडी बेहोस् भए । म वृद्ध अवस्थाको आँखा नदेख्ने र कुटाइको चोटमा हुँदा घटनास्थलमा अरु को को आए थाहा भएन । बिनीता र मृतकको छोरी झगडा भएको हो अरु कुरा मलाई थाहा छैन भन्ने समेत देवरैन देवी यादवनीले २०५२।१०।२५ मा गरेको कागज ।

१४.   बसन्तको हजूर आमालाई मकुन यादवले बासँको लाठीले एक सड्का हिर्काए बुढिया रुन कराउन लागिन । त्यस्तैमा मकुनको हातबाट लाठी खोसी बसन्तले मकुनको टाउकोमा प्रहार गरें। मकुन भुइँमा बेहोस् भै लडे । मकुन यादवलाई कुटपिट गर्नेमा अन्य कोही मानिसको संलग्नता छैन । बसन्त कुमारले मात्र कुटपिट गरेका हुन भन्ने समेत मोतीमाया यादवले २०५२।१०।२९ मा गरेको कागज ।

१५.   घटनास्थलमा म जाँदा मकुन यादव र बसन्तकुमार यादव वादविवाद गर्दा गर्दै बसन्तले एक वाक्सिङ मृतकको अनुहारमा हिर्काए । हामीले किन झगडा गरेको भनी सम्झाउँदा सम्झाउँदै के कहाँबाट लाठी हातमा बाँकी आई मकुनको टाउकोमा प्रहार गरें । टाउकोबाट रगत फुटन गई भुइँमा पछारिए । अरु जाहेरीमा उल्लेख भएका मानिसहरूलाई वारदातस्थलमा देखिन भन्ने समेत घनमैत यादवले २०५२।१०।२९ मा गरेको कागज ।

१६.    वारदातस्थलमा वादविवाद हुँदा हुँदै बसन्त कुमार यादवले मृततक मकुन यादवलाई एक वाक्सिङ अनुहारमा हिर्काएको देखें । कुन ठाउँमा लाग्यो याद गरिन । यस्तैमा बसन्त कुमारले हातमा बोकेको लाठीले मृतकको टाउकोमा प्रहार गरी रगत पच्छे भुइँमा पछारिन पुगें । अन्य जाहेरीमा उल्लेखित मानिसहरू वारदातस्थलमा देखिन । बसन्तकुमारकै चोटबाट मकुनको मृत्यु भएको हो । अरु कोही छैन भन्ने समेत शिवनन्दन यादवले २०५२।१०।२९ मा गरेको कागज ।

१७.   म घटनास्थलमा जाँदा मृतक भुइँमा रगत पक्ष अवस्थामा लडी रहेका थिए । बसन्त कुमार यादव हातमा लाठी लिई उभिरहे रहेका थिए । म मृतकलाई के भयो भनी उठाउन लाग्दा बसन्त कता भागे थाह भएन । अन्य जाहेरीमा उल्लेखित मानिसहरू घटनास्थलमा देखिन । बसन्त यादवलाई गाउँ समाज मिली रु. १०००।जरिवाना गरेको हुँदा सोही इवीबाट मकुन यादवलाई कुटपिट गरी बसन्त कुमारले कर्तव्य गरी मारेका हुन् भन्ने समेत कैलाशचन्द्र यादवले गरेको कागज ।

१८.   बसन्त कुमारको हजूरआमा वारदातस्थलमा आई विभिन्न गाल मुखाल गर्दा चुपलाग भनी मकुन यादवले माभासाल मारो भनी बसन्तको हजूरआमा कराउन लागिन । त्यसैबेला बसन्त आई मकुनको हातबाट वाँसको भाटा खोसी मकुनलाई एक वक्सिङ र भाटाले टाउकोमा प्रहार गरी टाउकोबाट रगतपच्छे भई भुइँमा लडें । उपचारको क्रममा सिलगुडी लाँदा लाँदै काकडभिट्टा पुगे पछि मकुन यादवको मृत्यु भएको हो भन्ने समेत भकुन यादवको कागज ।

१९.    मेरा बाबु मकुन र बसन्त बीच कुटपिट चल्दा चल्दै बसन्तले मसला हो वा बाँसको लाठी वा भाटा के कुन निजले हो मेरा बाबु मकुनको टाउकोको बायाँतर्फ प्रहार गर्दा बाबु रगतामे भै लडे । अरु मानिसहरू वारदातस्थलमा को को थिए को थिएनन् थाहा छैन । बसन्त र मेरा बाबुबीच झै झगडा हुँदा गाउँलेले बसन्तलाई रु.१,०००।जरिवाना गरेका हुँदा सोही रिसले बसन्त यादवले मेरो बाबुलाई प्रहार गरेका हुन् भन्ने समेत ककुल्ती यादवनीले २०५२।१०।२९ मा गरेको कागज ।

२०.   मकुन यादवलाई प्र.बसन्तकुमार यादवले बाँसको भाटाले टाउकोमा प्रहार गरेको चोटबाट मकुन यादवको मृत्यु भएको हो । त्यसरी मार्नु पर्ने सम्मको कारण र रिसइवी के थियो निजै बसन्त जानुन् । जाहेरीमा उल्लेख भएका योगेन्द्र यादव समेतका अन्य व्यक्तिहरू घटनास्थलमा थिएनन भन्ने समेत व्यहोराको घुरन मण्डल खत्वे समेतका मानिसहरूले २०५२।११।१।३ मा गरेको वस्तुस्थिति मुचुल्का ।

२१.   आन्तरिक रक्तश्रावको कारण शक भै मृत्यु भएको भन्ने समेत व्यहोराको मृतक मकुन यादवको शव परीक्षण प्रतिवेदन ।

२२.   संकलित प्रमाणहरूबाट बसन्त यादवकै प्रहारबाट मृतकको मृत्यु भएको भन्ने खुल्न आएकोले मूल अभियुक्तको रुपमा बसन्त नै भएको प्रमाणित हुन आयो । हान मार भनी अभियुक्त योगेन्द्र यादवले वचन दिएकोले सोही वचन मानी अभियुक्त बसन्त यादवले मृतक मकुन यादवलाई प्रहार गरेको देखिन्छ । अतः उपरोक्त तथ्य एवं प्रमाणबाट अभियुक्तहरू मध्ये योगेन्द्र यादवले बचन दिने, सो बचनलाई मानी बसन्त यादवले प्रहार गर्ने, वारदातस्थलमा उपस्थित भै मृतकलाई मर्नबाट बचाउन सक्ने पर्‍याप्त परिस्थिति विद्यमान छँदा छँदै पनि बचाउत तर्फ केही पहल नगरी चुप लागी हेरी बसेर आपराधिक प्रवृत्तिलाई समर्थन गर्ने अभियुक्त गोपाल यादव र नन्दकुमार यादवको संलग्नता देखिँदा अभियुक्त मध्ये बसन्त यादव उपर ज्यान सम्बन्धीको १३(३), अभियुक्त योगेन्द्र यादव उपर ऐ को १३(४) बमोजिम र अभियुक्त गोपाल यादव र नन्दकुमार यादवलाई ऐ. को १७(३) नं. बमोजिम सजाय हुन अनुरोध छ भन्ने समेत २०५२।११।६।१ मा सिराहा जिल्ला अदालतमा पेश भएको अभियोगपत्र ।

२३.   २०६२।१०।६ को बिहान म मेरो घर कलमा छु । मृतक मकुनलाई को कसले कुटपिट गरे मेरो आँखाले नदेखेको हुँदा भन्न सक्तिन । मृतक आँपको रुखमा पत्ता टिप्न चढेको बेला रुखबाट लडी इटाहरूको टुक्रा भएको ठाउँमा खसी घा खत पर्न गएको हो जाहेरवाला मेरो घरबाँसको सँधियार भएकोले साँध सीमानामा वादविवाद उठाउने गरेका थिए र जाहेरवाला ने.क.पा. ऐमाले पक्षका र म ने.क.पा. भएको रिसले मलाई झुठा जाहेरी दिएको हो । प्रहरीमा गरेको बयानमा भएको सहीछाप मेरो हो तर सो व्यहोरा मेरो होइन र मैले राजीखुशीले सहिछाप गरेको होइन । प्रहरीमा कुटपिट गर्ने डर धाक त्रास देखाएर व्यहोरा आफैंलेखी सहिछाप गराएका हुन् । म निर्दोष छु भन्ने समेत प्रतिवादी बसन्तकुमार यादवले २०५२।११।८ मा अदालतमा गरेको बयान ।

२४.   २०५२।१०।६ गते बिहान ६:३० बजे म दिशा गर्न चौरीमा गएको थिए । मकुन यादव बाख्रीको लागि आपको पात टिप्न रुपमा चढ्दा रुखबाट खसी इटामा टाउको लागी चोट लागेको र इलाज गर्न लगेको भन्ने सुनेको हुँ । म समेत भै निजलाई कुटपिट गरेको होइन म निर्दोष छु । जाहेरवालासँग साँध संधियारको विषयमा वादविवाद भएकोले सोही रिसले मलाई पोल गरेको हो । अभियोगबाट सफाई पाउँ भन्ने समेत प्रतिवादी नन्दकुमार यादवले २०५३।१।२५ मा जिल्ला अदालतमा गरेको बयान ।

२५.   २०५२।१०।६ को बिहान ६:३० बजे म आफ्नो घरमा नभै कृष्णपुरमा थिए । २०५२।१०।५ मा त्यसतर्फ गै ऐ ७ गते घर आएको हुँ । मृतक मकुनलाई म समेतले कुटपिट गरेको हैन । मकुन यादव बाख्रालाई पत्ता टिप्न आँप गाछीमा चढेकोमा त्यहाँबाट खसी चोट लागी व्यहोस भएको भन्ने सुनेको हुँ । मैले २०५२।१०।२२ मा प्रहरीमा गरेको कागजमा भएको सहीछाप मेरै हो । कागजमा भएको व्यहोरा मेरो होइन । सो कागज मलाई नसुनाई डर धाक त्रास देखाएकोले मैले सही गरेको हुँ । अभियोगबाट सफाई पाउँ भन्ने समेत प्रतिवादी गोपाल यादवले २०५३।१।२५ मा जिल्ला अदालतमा गरेको बयान ।

२६.   २०५२।१०।६ गते बिहान छ बजेको समयमा मैले लगाएको बाली हेरचार गर्न गएको थिएँ । जाहेरी बमोजिम मैले मृतक मकुन यादवलाई कुटपिट गरेको होइन र वचन समेत दिएको होइन । कुलो पानीको झगडाको रिसको कारण जाहेरवालाले मलाई पोल गरेका हुन् । आँप गाछीबाट भुइँमा खसी इंटामा लागी मकुन यादवलाई चोट लागेको र सोही चोटले निजको मृत्यु भएको भन्ने सुनेको हुँ । म निर्दोष भएको हुनाले अभियोग दावीबाट सफाई पाउँ भन्ने समेत प्रतिवादी योगेन्द्र यादवले शुरु जिल्ला अदालतमा २०५३।७।२८ मा गरेको बयान ।

२७.   २०५२।१०।६ का दिन म र प्र.योगेन्द्र गाउँ घरमा संगै थियौ । प्र.योगेन्द्रले ज्यान मार्न भनी बचन दिएको तथा कुटपिट गरी ज्यान मारेको होइन । मृतक मकुन यादव आँप गाछीबाट तल लडी ईंटाको टुक्रामा लागी लागेको चोटको कारणबाट मृत्यु भएको हो भन्ने समेत प्र.योगेन्द्र यादवको साक्षी रघुनाथ मण्डलले २०५३।९।२९ मा गरेको बकपत्र ।

२८.   २०५२।१०।६ का बिहान ६:३० बजे म र प्र.बसन्त निज बसन्तकै घरमा थियौं । सो मितिमा प्र.बसन्तले मृतक मकुनलाई कुटपिट गरेको होइन । मकुन यादव आँपको रुखबाट लडी तल रहेको ईंटाको टुक्रामा लागेको कारण निजलाई चोट लागेको र सोही कारणबाट मृत्यु भएको हो भन्ने समेत प्र.बसन्तकुमार यादवका साक्षी उद्गार यादवले २०५३।९।२९ मा गरेको बकपत्र ।

२९.   २०५२।१०।६ का दिन बिहान ६ बजे म र प्रतिवादी योगेन्द्र गाउँ घरमा नै थियौ । योगेन्द्रले मृतक मकुनलाई ज्यान मार्न बचन दिएको, कुटपिट गरी ज्यान मारेको होइन । प्रतिवादी योगेन्द्रको जाहेरवालासँग कुलो पानीको विषयमा वाद्विवाद भएकोले सोही रिसले प्र.योगेन्द्र उपर जाहेरी दिएको हो भन्ने समेत प्र.योगेन्द्र यादवको साक्षी धनुखी महतोको बकपत्र ।

३०.   २०५२।१०।६ गते बिहान ६:३० बजेको समयमा म र प्र. गोपाल मेरै गा.वि.स. कृष्णपुरमा सँगै थियौं । सो समयमा प्र.गोपाल समेत भै मृतक मकुन यादवलाई कर्तव्य गरी मारेको होइन भन्ने समेत प्रतिवादी गोपाल यादवको साक्षी राम औतार साहले २०५२।१०।१ मा जिल्ला अदालतमा गरेको बकपत्र ।

३१.   २०५२।१०।६ का दिन बिहान ९ बजेको समयमा म र प्र.नन्दकुमार गाउँ घरमा संगै थियौं । मृतक मकुनलाई कुटपिट समेत गरी कर्तव्य गरी मारेको होइन । जग्गाको सम्बन्धमा वाद विवाद भएको रिसइवीका कारण नै झुठ्ठा जाहेरी दिएको हो भन्ने समेत प्रतिवादी नन्दकुमार यादवका साक्षी रामबहादुर मण्डलले गरेको बकपत्र ।

३२.   मैले सुने अनुसार आँपको रुखबाट लडी मरेका हुन् । निज लड्दा मैले देखिन । मौकामा गरेको कागजमा प्रहरीले व्यहोरा लेखी हाकाई दरकाई गरी मलाई सहिछाप गराएका हुन भन्ने समेत कैलाशचन्द्र यादवले २०५३।१०।२ मा गरेको बकपत्र ।

३३.   कुनै पनि प्रतिवादीहरूले मृतक मकुनलाई कुटपिट गरी मारेका होइन । मौकामा गरेको कागज व्यहोरा प्रहरीले आफू खुशी लेखी नसुनाई सही गराएका हुन् भन्ने समेत मोतीलाल यादवले गरेको बकपत्र ।

३४.   प्रतिवादीले मृतकलाई कर्तव्य गरी मारेका होइनन् । मृतक मकुन यादव आँपको रुखबाट लडी मृत्यु भएको हो । मौकाको कागजमा भएको सहीछाप मेरो हो, व्यहोरा नसुनाई सहीछाप गराएका हुन भन्ने समेत व्यहोराको शिवनन्दन यादव, मकुन यादव, घुरु मण्डल, रामेश्वर मण्डल, जहुनी मण्डल, राम विलाश यादवले गरेको अलग अलग बकपत्र ।

३५.   जाहेरी मैले दिएको हुँ । शंका लागेको कारण प्रतिवादीहरू उपर जाहेरी दरखास्त दिएको हुँ । मैले नदेखेको हुँदा यी प्र. योगेन्द्र यादवले ज्यान मार्न बचन दिएको तथा बसन्त समेत कुनै पनि प्रतिवादीहरूले मेरो पिता मकुनलाई कर्तव्य गरी मारेको होइन । २०५२।१०।६ मा बच्चा दिशा गरेको विषयमा मेरो बहीनी र प्र.हरूबीच झगडा भएको हो । मेरो पिता मकुनको मृत्यु कसरी भयो म गाउँघरमा नभएकोले मलाई थाह छैन भन्ने समेत जाहेरवाला रामबहादुर यादवको बकपत्र ।

३६.   मृतक र प्रतिवादीको बीचमा ज्यान मार्नु पर्ने रिसइवी र सोही मनसायले प्रतिवादीले कुटेका नभै बच्चालाई दिशा बसाएको विषयमा झगडा भै कुटपिट हुँदा भवितव्यबाट मृतकको मृत्यु भएको देखिई प्रतिवादीले ज्यान सम्बन्धी महलको ५ नं. र ६(४) नं. अनुसार अपराध गरेको देखिन आएकोले निज प्र.बसन्तकुमार यादवलाई ऐनको दफा ६(४) नं. अनुसार दुई वर्ष कैद सजाय हुने ठहर्छ । निजलाई ऐ. ऐनको १३(३) नं. अनुसार सजाय गरिपाउँ भन्ने वादीको अभियोग दावी पुग्न नसक्ने ठहर्छ । प्रतिवादीहरू योगेन्द्र यादवलाई ऐ. ऐनको १३(४) नं. र प्र.गोपाल यादव र प्र. नन्दकुमार यादवलाई ऐ. महलको १७(३) नं. बमोजिम सजाय गरिपाऊँ भन्ने वादी दावी पुग्न सक्दैन। निज प्रतिवादीहरू योगेन्द्र यादव, प्र.गोपाल यादव र प्र.नन्दकुमार यादवले सफाई पाउने ठहर्छ भन्ने शुरु सिराहा जिल्ला अदालतबाट २०५४।८।४।४ मा भएको फैसला ।

३७.   अदालत समक्ष बयान गर्दा भवितव्यबाट घटना घटेको भन्न नसकी प्रतिवादीहरू कसूरमा इन्कार रहेको, शुरुको जाहेरी साक्षीको कागज एवं पोष्ट मार्टम रिपोर्टलाई अन्यथा भन्न नसकेको र वारदात हेर्दा सामान्य कुटपिट मात्र नभई घेराउ गरी जख्मी हतियारको प्रयोग भएको देखिएको अवस्थामा अदालतले आत्मनिष्ट रुपमा गरेको फैसला त्रुटिपूर्ण छ । ज्यान सम्बन्धीको ६(४) नं. को वारदात सिद्ध हुन ऐ. ५ नं. को अवस्था विद्यमान हुन पर्ने र उक्त नं. मा आफूले गरेको कर्तव्यले मानिस मर्ला जस्तो नदेखिएको भनी उल्लेख भएको हुँदा असल नियतले गरेको कार्यको परिणाम घट्न गएको वारदात हुन आवश्यक छ । प्रस्तुत मुद्दामा प्रतिवादीको असल नियत देखिँदैन र असल नियत रहेको प्रमाण पनि प्रतिवादीहरूले पेश गर्न सकेको नदेखिँदा दावी विपरीत कम सजाय गरेको शुरु जिल्ला अदालतको फैसला त्रुटिपूर्ण हुँदा बदर गरी शुरु अभियोग दावी बमोजिम सजाय गरिपाऊँ भन्ने समेत वादी श्री ५ को सरकारको तर्फबाट पुनरावेदन अदालत राजविराजमा २०५४।११।६ मा पेश भएको पुनरावेदन ।

३८.   जाहेरी लेखाई र वारदात रुपमा ज्यान सम्बन्धी ५ नं. बमोजिम भवितव्य हुने अपराध नदेखिएकोले बसन्तकुमार तर्फ भवितव्य ठहर्‍याएको र अरुलाई सफाई दिएको शुरुको इन्साफ फरक पर्न सक्ने देखिँदा छलफलका लागि अ.बं. २०२ नं. बमोजिम विपक्षी झिकाई पेश गर्नु भन्ने पु.बे.अ. राजविराजबाट भएको आदेश ।

३९.   जाहेरवालाले अदालत समक्ष आई बकपत्र गर्दा शंकाले जाहेरी दिएको हुँ भनी जाहेरी व्यहोरा पुष्टि गर्न नसकेको देखिन्छ । प्र.बसन्तकुमार यादव प्रहरीमा प्रहार गरेको भनी सावित भएकोमा सो व्यहोरा लाश प्रकृति र पोष्ट मार्टमबाट समेत पुष्टि भएको पाइन्छ । पूर्व रिसइवी भएको नदेखिई वैनीलाई गाली गर्दा सम्झाउँदा वारदात भई अघिल्लो दिनको प्रहारबाट भोलिपल्ट मृत्यु भएको भन्ने देखियो । यसर्थ, सिरहा जिल्ला अदालतबाट ०५४।८।४।४ मा बसन्तकुमार यादवलाई ज्यान सम्बन्धीको ६(४) नं. अनुसार सजाय गरी अन्य प्रतिवादीले सफाई पाउने ठहराएको फैसला मनासि ठहर्छ । वादीको पुनरावेदन जिकिर पुग्न सक्दैन भन्ने पुनरावेदन अदालत राजविराजबाट २०५५।११।३०।१ मा भएको फैसला ।

४०.   मृतक र प्रतिवादी बीच जग्गा सम्बन्धी झगडा हुँदा पञ्चायती गरी प्रतिवादीहरूलाई रु. १०००।जरिवाना गराएको पूर्व रिसइवी रहेको तथ्य अनुसन्धानका बखत संकलित कागज एवं अदालत समक्षको बकपत्रबाट पुष्टि भएको छ । अदालतसमक्ष बयान गर्दा भवितव्यबाट घटना घटेको भन्न सकेका छैनन् । ज्यान सम्बन्धीको ६(४) नं. को वारदात सिद्ध हुन ऐ. ५ नं. को अवस्था विद्यमान हुन पर्ने र उक्त नं. मा आफूले गरेको कर्तव्यको मानिस मर्ला जस्तो नदेखिएको भनी उल्लेख भएको हुँदा असल नियतले गरेको कार्यको परिणाम घट्न गएको वारदात हुन आवश्यक छ । प्रस्तुत मुद्दामा प्रतिवादीको असल नियत देखिँदैन । यस्तो अवस्थामा दावी विपरीत अदालतबाट कम सजाय भएको फैसला ज्यान सम्बन्धी महलको ५ नं. को व्याख्यात्मक त्रुटि भएकोले कानुनी त्रुटिपूर्ण छ । अतः प्रतिवादीहरूलाई शुरु अभियोग दावी बमोजिम सजयाँ गरी पाउन अनुरोध छ भन्ने समेत वादी नेपाल सरकारबाट २०५६।३।९।४ मा यस अदालतमा प्रस्तुत निवेदन ।

४१.   मृतक मकुन यादवको मृत्यु प्रतिवादी मध्येको बसन्त कुमारले प्रहार गरेको चोटबाट भएको तथ्यमा विवाद नभई सो कार्य भवितव्यबाट भएको ठहर्‍याएको देखिन आउँछ । आफूले प्रहार गरेको कार्यबाट मानिस मर्न सक्ने व्यहोरा जानी जानी भएको कार्यको परिणामको उत्तरदायी त्यस्तो कार्य गर्ने व्यक्ति नै हुने मुलुकी ऐन ज्यान सम्बन्धीको १ नं. र १३ नं. को व्यवस्था र आफूले गरेको कार्यबाट अपेक्षा नगरेको परिणामलाई भवितव्यको संज्ञा दिइएको मुलुकी ऐन ज्यान सम्बन्धीको ५ नं. को व्यवस्थाबाट दुवै कार्यको प्रकृति र अवस्था बेग्ला बेग्लै भएकोमा प्रतिवादी बसन्तकुमारको चोटले मृत्यु भएको ठहर गरी सो कार्य भवितव्यबाट भएको ठहराएको शुरुको फैसला सदर गरेको पुनरावेदन अदालत राजविराजको फैसला मुलुकी ऐन ज्यान सम्बन्धीको १,,६ र १३ नं. को व्याख्याको त्रुटि हुनुको साथै ने.का.प. २०४३ मा प्रतिपादित सिद्धान्त प्रतिकूल भएकोले न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) को खण्ड (क) र (ख) बमोजिम प्रस्तुत मुद्दा दोहोर्‍याई हेरिने निस्सा प्रदान गरिएको छ । विपक्षी प्रतिवादीहरूलाई समेत झिकाई नियमानुसार पेश गर्नु भन्ने समेत २०५८।१२।२०।३ मा यस अदालतबाट भएको आदेश ।

४२.   नियम बमोजिम दैनिक पेशी सूचीमा चढी ईजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दासँग सम्न्धित सम्पूर्ण मिसिल कागजात अध्ययन गरियो । पुनरावेदक तर्फबाट उपस्थित विद्वान उप न्यायाधीवक्ता श्री रेवती त्रिपाठीले प्रतिवादी बसन्तकै चोट प्रहारबाट मृतकको मृत्यु भएको र निजले मार्ने नियतले नै चोट प्रहार गरेको अवस्था हुँदा ज्यान सम्न्धीको ६ नं. आकर्षित हुन सक्ने नभई मागदावी अनुसार सजाय हुन पर्ने हो  । वचन दिने र वारदात स्थलमा उपस्थित अन्य अभियुक्तहरू समेतलाई माग दावी अनुसार सजाय गरिपाऊँ भन्ने समेतको बहस गर्नु भयो ।

४३.   यस अदालतबाट मुद्दा दोहर्‍याई हेर्ने गरी आदेश भए पश्चात प्रतिवादी बसन्त मात्र यस अदालतमा हाजिर भई निजले मिति २०६३।११।२१ देखि यस अदालतबाट तोकी पाएको तारेख गुजारी सेको र अन्य प्रतिवादीहरूले म्याद बुझी हाजिर भएको पाईन्न ।

४४.   मिति २०५२।१०।६ मा आफ्नो पिता मकुन यादवलाई पुरानो रिसईवि र जग्गा सम्बन्धी विवादका कारण ज्यान मार्ने मनसाय लिई प्रतिवादी बसन्त यादव समेतले कुटी मारेको भनी जाहेरी परेकोमा योगेन्द्र यादवले वचन दिएको र लाठी प्रहार गर्ने मुल अभियुक्त बसन्त कुमार यादव भएको भनी प्रतिवादी बसन्त यादव उपर ज्यान सम्बन्धीको १३(३) नं. बमोजिम योगेन्द्र यादव उपर ऐको १३(४) नं. र प्रतिवादी गोपाल यादव र नन्दलाल यादवलाई ऐ को १७(३) नं. बमोजिम सजायको माग दावी लिएकोमा शुरु जिल्ला अदालतले प्रतिवादी बसन्त कुमार यादवलाई ज्यान सम्बन्धीको ५ र ६(४) नं. अनुसार अपराध गरेको भनी ऐ को ६(४) नं. अनुसार दुई वर्ष कैद सजाय गरी अन्य प्रतिवादीहरूलाई सफाई दिएकोमा पुनरावेदन अदालतबाट शुरुकै इन्साफ सदर भए उपर प्रतिवादीहरूलाई माग दावी अनुसार सजाय गर्न वादी नेपाल सरकारको यस अदालतमा पुनरावेदन परेकोमा प्रतिवादी बसन्तले मृतक उपर चोट प्रहार गरेको कार्यबाट मानिस मर्न सक्ने अवस्था रहे भएको भनी ज्यान सम्न्धीको १, , ६ र १३ नं. को त्रुटि भएको भनी निस्सा प्रदान भएको पाईन्छ ।

४५.   प्रतिवादी मध्येका योगेन्द्र यादवले वचन दिएपछि आफ्नो हातमा भएको ओखल कुट्ने लाठीले मृतकको टाउकोमा बेस्सरी प्रहार गर्न साथ आफ पिता रगताम्मे भै ढलेको र उपचारको क्रममा मृत्यु भएको भनी प्रतिवादी बसन्त उपर किटानी जाहेरी परेको पाईन्छ । लास प्रकृति मुचुल्का हेर्दा मृतकको टाउकोको बायाँ कन्चटमा २१।२ इन्च लामो १।२ इन्च चौडाईको चोट रहेको भन्ने पाईन्छ । शव परीक्षण प्रतिवेदन हेर्दा The Cause of death is due to shock caused by internal haemorrhage आन्तरिक रक्तश्रावको कारण शक भै मृत्यु भएको भन्ने समेत व्यहोरा उल्लेख भएको पाईन्छ । प्रतिवादी बसन्तले प्रहरीमा गरेको वयान हेर्दा आफ्नी वहिनी र जाहेरवालाको वहिनी बीच विवाद भै रहंदा मृतक मकुन यादवले प्रतिवादी बसन्तको हजुरआमालाई वांसको भाटाले कुट्दै रहेछन्। आफुले छुट्टयाउन लाग्दा मकुनले प्रतिवादी बसन्तको टाउकोमा पनि कुटेकोले भाटा खोसी निजको आखामा वक्सिङ्ग हिर्काए र खोसेको वाँसको भाटाले टाउकोको वायाँ कन्चटमा एक भाटा हिर्काए सोही चोटको कारण मृतकको मत्यु भएको भनी वयान गरेकोमा अदालतमा मृतक रुखबाट खसी मरेको हो भनी आरोपित कसूरमा ईन्कार भई यान गरेको पाईन्छ ।

 ४६.   प्रस्तुत मुद्दाका सह अभियुक्त मध्येका प्रतिवादी गोपाल यादवले प्रहरीमा वयान गर्दा आफ्नो छोरा प्रतिवादी बसन्त यादवले मकुन यादवलाई टाउकोको वायाँ तर्फ बाँसको भाटाले हानेको हो । अन्य अभियुक्तहरूले चोट प्रहार गरेको छैन । मृतक मकुनले आफ आमालाई कुट्न थाले पछि हार गुहार मागी मान्छे बोलाएको हो घेरा हालेको होईन भनी आफ्नै छोरा प्रतिवादी बसन्तलाई पोली यान गरेबाट प्रतिवादी बसन्तको अदालतमा भएको ईन्कारी यान पत्यार लायक देखिँदैन । प्रतिवादी बसन्तका बाबु प्रतिवादी गोपाल यादव बाहेक घटनास्थलका मदनलाल महतो शत्रुघन मण्डल, मोतीमायां मण्डल, धनपैत यादव, शिवनन्दन यादव, मकुन यादव समेतले प्रतिवादी बसन्तले मृतकको टाउकोमा लाठी प्रहार गरी रगताम्मे भै ढलेको र उपचारको क्रममा मृत्यु भएको भनी प्रतिवादी बसन्तलाई नै पोलेको पाईदा प्रतिवादी उपरको किटानी जाहेरी उक्त वयानहरूबाट समेत समर्थित रहेको पाईन्छ ।

४७.   प्रतिवादी बसन्तले घटनास्थलमा अन्य प्रतिवादीहरू समेत रहेको भने पनि मृतकलाई चोट छोड्ने लगायत अन्य व्यक्तिहरूले कुटे, कुटेनन् आफुलाई थाहा छैन भनी निजले प्रहरीमा सावित भै यान गरेकोमा कुनै पनि सह-अभियुक्तहरूले प्रतिवादी बसन्त बाहेकका अन्य प्रतिवादीहर उक्त वारदातमा सँलग्न रहेको भनी भन्न नसकेबाट प्रतिवादी बसन्त बाहेकका अन्य प्रतिवादीहरू समेतको वारदातमा संलग्नता रहेको कुरा पुष्टि हुदैन । सह अभियुक्तहरू बाहेक घटनास्थलका अन्य व्यक्तिहरू कैलासचन्द यादव, मोतिलाल यादव, शिवानन्दन यादव समेतले मौकामा कागज गर्दा अन्य सह अभियुक्तहरूको संलग्नता रहेको भन्ने कुरा लेखाई दिन नसकेको हुँदा नन्द कुमार यादव, गोपाल यादव, योगेन्द्र यादव उपरको नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन ।

४८.   प्रतिवादी बसन्तलाई पुनरावेदन अदालत राजविराजले जिल्ला अदालतको फैसला सदर गरी ज्यान सम्बन्धीको ५ र ६ (४) अनुसार २ वर्ष कैद हुने गरी सजाय गरेकोमा प्रतिवादीले सो इन्साफ उपर पुनरावेदन अदालत राजविराज र यस अदालतमा पुनरवेदन सम्म पनि नगरेको र यस अदालतबाट तोकिपाएको मिति २०६३।११।१ को तारेख समेत गुजारी बसेबाट निजले पुनरावेदन अदालत समेतबाट भएको फैसलामा चित्त बुझाई सेबाट प्रतिवादी बसन्तले मृतक उपर लाठीले चोट छोड्ने कार्य गरेको भन्नेमा विवाद देखिंदैन । प्रस्तुत मुद्दामा प्र. बसन्त उपर ज्यान सम्बन्धीको १३(३) नं. अनुसारको अभियोग दावी रहेकोमा जिल्ला अदालतले ज्यान सम्बन्धीको ५ र ६(४) अनुसार भवितव्य तर्फ सजाय गरेको पाईएको छ । यस अदालतबाट मिति २०५८।१२।२० मा निस्सा प्रदान गर्ने आदेश हुँदा ज्यान सम्बन्धीको १, , ६ र १३ को व्याख्यात्मक त्रुटि भएको र नेपाल कानून पत्रिका २०४३ मा प्रतिपादित सिद्धान्त प्रतिकूल भएको भन्ने उल्लेख भए पनि कानून पत्रिकाको अंक, निर्णय नं. र पक्षको नाम समेत उल्लेख भएको नपाईदा निस्सा प्रदान गर्दा उल्लेख भएको सो सिद्धान्तको त्रुटि हुन गएको हो, होईन भन्ने तर्फ विचार गर्नुपर्ने नदेखिँदा ज्यान सम्बन्धीको १, , ६ र १३ को त्रुटि भएको हो, होईन भन्ने सम्बन्धमा सम्म विचार गर्नुपर्ने देखिन्छ । प्रतिवादीले मृतकलाई एक्कासी लाठीले टाउकोमा चोट छोडेको अवस्थामा मृतकको मृत्यु भएको देखिँदा जिल्ला अदालतले भवितव्य तर्फ सजाय गरेको मिलेको छ, छैन ? माग दावी अनुसार ज्यान सम्बन्धीको १३(३) नं. अनुसार सजाय हुनु पर्ने हो वा ऐ को १४ नं. अनुसार आवेश प्रेरित हत्या तर्फ सजाय गर्न पर्ने हो सो सम्बन्धमा विचार गर्नुपर्ने देखिन्छ ।

४९.   सर्वप्रथम प्र.लाई मागदावी अनुसार ज्यान सम्बन्धीको १३(३) नं. अनुसार सजाय गर्न पर्ने हो, होईन भन्ने तर्फ विचार गर्दा प्रस्तुत मुद्दामा अभियोजन पक्षले प्रतिवादी बसन्तको हकमा ज्यान सम्बन्धीको १३(३) नं. अनुसारको अभियोग माग दावी लिएकोमा ज्यान सम्बन्धीको १३(३) को कानूनी व्यवस्थामा लाठा, ढुंगा र साधारण सानातिना हतियारले कुटी हानी रोपी घोची वा अरु ज्यान मर्ने गैर कुरा गरी ज्यान मरेमा एकै जनाले मात्र सो काम गरी ज्यान मारेमा सोही एक जना र धेरै जनाको हुल भई मारेमा यसैले मारेको वा यसको चोटले मरेको भन्ने प्रमाणबाट देखिन ठहर्न आएमा सोही मानिस मुख्य ज्यानमारा ठहर्छ । त्यस्तालाई सर्वस्व सहित जन्मकैद गर्नु पर्छ । सो बाहेक अरुलाई र यसैले मारेको वा यसैको चोटले मरेको भन्ने कुरा सो हात हतियार छोडने कसै उपर कुनै प्रमाणबाट देखिने ठहर्न नआएमा सवैलाई जन्मकैद गर्नु पर्छ भन्ने कानूनी व्यवस्था रहेको छ । प्रतिवादी बसन्तले प्रहरीमा गरेको वयान मा आफ्नी वहिनी र जाहेरवालाको वहिनी बीच विवाद भै रहदा मृतक मकुन यादवले प्रतिवादी बसन्तको हजुरआमालाई बाँसको भाटाले कुट्दै रहेछन् । आफुले छुट्टयाउन लाग्दा मकुनले प्रतिवादी बसन्तको टाउकोमा पनि कुटेकोले मुकन यादवले लिएको बाँसको भाटा खोसी सो बाँसको भाटाले टाउकोको बायाँ कन्चटमा हिर्काएबाट सोही चोटको कारण मृतकको मत्यु भएको भन्ने देखिएकोमा वादी पक्षले निज प्रतिवादी बसन्तले मृतकलाई ज्यान मार्ने मनसाय राखी सो चोट छाडेको हो भन्ने कुराको प्रमाण पुर्‍याउन सकेको पाईन्न । ज्यान सम्बन्धीको १३(३) नं. ज्यान मार्ने मनसाय लिई चोट प्रहार गरेको अवस्थामा मात्र आकर्षित हुने देखिन्छ । प्र.ले वारदात स्थलमा आफैले लाठी बोकी गई चोट छाडेको नभै मृतकले प्रतिवादीको आमालाई गाली गलौज गरेकोमा मृतककै हातमा रहेको लाठी खोसी टाउकोमा एकचोटी चोट प्रहार गरेको परिणाम स्वरुप मृतकको मृत्यु भएको अवस्था पाईदा कर्तव्य गर्ने मनसायले चोट छाडेको भन्ने कुरा प्रमाणित हुन सकेको छैन ।   

५०.   प्रतिवादीले आवेशमा आई लाठीले टाउकोमा हान्दा मृतकको मृत्यु भएको , सो वारदातमा साधारण लाठीको सम्म प्रयोग भएको तर ज्यान मार्ने सम्मको मनसायले लाठीको प्रयोग भएको नदेखिँदा प्रतिवादीले ज्यान सम्बन्धीको १३(३) नं. को रीतले ज्यान मार्ने मनसाय लिई मृतक उपर चोट छाडेको अवस्था नपाईएबाट सो दफा अनुसार प्रतिवादीलाई सजाय गर्न मिल्ने नदेखिँदा अभियोग माग दावी अनुसार ज्या.स.को १३(३) नं. अनुसार सजाय गर्न सक्ने देखिएन ।

५१.   अव प्रतिवादीलाई पुनरावेदन अदालतले ज्यान सम्बन्धी महलको ५, ६(४) अनुसार भवितव्य तर्फ सजाय गरेको मिलेको छ, छैन ? वा प्रतिवादीले आवेशमा आई लाठीको प्रहार गरेको अवस्था हुँदा ज्यान सम्बन्धीको १४ नं. अनुसार सजाय गर्नुपर्ने हो, होइन ? सो तर्फ विचार गर्दा ज्यान सम्बन्धीको ५ नं.मा ज्यान लिने ईविलाग वा मनसाय नभै कसैले आफुले गरेको कर्तव्यले मानिस मर्ला भन्ने जस्तो नदेखिएको कुनै काम कुरा गर्दा त्यसैद्धारा केही भई कुनै मानिस मर्न गएकोमा भवितव्य ठहर्छ भन्ने कानूनी व्यवस्था रहेकोमा ऐ ६ नं. को देहाय (१) (२) (३) (४) (५) मा कस्तो प्रकारको भवितव्यमा के कति सजाय हुने हो सजायको निर्धारण गरेबाट भवितव्यको अवस्था कायम हुनको लागि ज्यान सम्बन्धीको ५ र ६ नं. को देहायमा तोकिए अनुसारको कार्य हुनु पर्ने जरुरी देखिन्छ । प्रतिवादी बसन्त कुमारको हकमा पुनरावेदन अदालत समेतले ज्यान सम्बन्धीको देहाय ६(४) अनुसार सजाय गरेबाट ऐ को अवस्था विद्यमान रहेको हो होईन भन्ने तर्फ विचार गर्दा ज्यान सम्बन्धीको ६(४) मा रक्षा, शिक्षा गर्ने बाहेक अरु कसैले कसैलाई कुटपिट गर्दा भवितव्य परेकोमा पाँच सय रुपैयासम्म जरिवाना वा दुई वर्ष कैद वा दुवै सजाय हुन्छ भन्ने उल्लेख भएको पाईन्छ । ज्यान सम्बन्धीको १४ नं. मा ज्यान मार्नाको मनसाय रहेनछ् ज्यान लिन पर्ने सम्मको ईवि पनि रहेनछ उसै मौकामा उठेको कुनै कुरामा रिस थाम्न नसकी जोखिमी हतियारले हानेको वा विष खुवाएकोमा वाहेक साधारण लाठा, ढुंगा लात मुक्का ईत्यादीले हान्दा सोही चोट पिरले एनको म्याद भित्र ज्यान मरेमा दश वर्ष कैद गर्नु पर्छ भन्ने कानूनी व्यवस्था रहेको छ ।

५२.   ज्यान सम्बन्धीको ५ र ६ नं. ले तोकेको अवस्था भवितव्य हो भने ऐ को १४ नं. मा आवेश प्रेरित हत्याको परिभाषा र सजायको व्यवस्था गरेको छ । ज्यान सम्बन्धीको ५ र १४ दुवै नं. मा फौज्दारी अपराध कायम हुनको लागि चाहिने मनसाय तत्वको अभाव रहने भएबाट यसलाई मनसाय रहित हत्या पनि भनिन्छ । ज्यान सम्बन्धीको ६ नं. को कर्तव्यमा कर्तालाई परिणामको पूर्वज्ञान अर्थात आफ्नो कार्यबाट ज्यान मर्न सक्ने जस्तो अवस्था देखिनु पनि हुदैन । अर्थात आकस्मिक कार्यको परिणाम स्वरुप भवितव्य घटने हुन्छ । दुवै दफाले तोकेको सजायमा मनसाय तत्वको अभाव रहने भएपनि ज्यान सम्बन्धीको ५ र १४ नं. को वनावट हेर्दा ज्यान सम्बन्धीको १४ नं. को अवस्था कायम हुनको लागि प्रतिवादी अर्थात चोट प्रहारकर्ताले तत्काल उठेको रिस थाम्न नसकी लाठा, ढुंगा, लात, मुक्काको प्रहार गर्दा ज्यान मरेको अवस्था हुन पर्ने तर त्यस्तो ज्यान लिने कार्य लुकि चोरीकन हानेको जोखिमी हतियारले हानेको वा विष खुवाई मारेको अवस्थामा भने ज्यान सम्बन्धीको महलको १४ नं. आकर्षित हुने नभई अपराधको गाम्र्भियता अनुसार मनसाय पूर्ण हत्याकै रुपमा हेर्न पर्ने र यस्तो अवस्थामा मात्र अभियोग मागदावी अनुसार ज्यान संवन्धीको १३ नं. अनुसार सजाय हुने हुन्छ । 

 ५३.  भवितव्य र आवेश प्रेरित हत्या दुवैमा अपराधिक कार्य भनेको कुनै कार्यको परिणाम स्वरुप ज्यान मरेको अवस्था विद्यमान हुनु हो र यी दुवैमा मनसाय तव्वको अभाव रहेको हुँदा कुनै कर्तव्य भवितव्य दुर्घटना वा आशय रहितको हो होईन ज्यान सम्बन्धीको ५ र ६ को अवस्था विद्यमान रहेको छ , छैन भन्ने सम्बन्धमा मुलुकी ऐन ज्यान सम्बन्धीको ५, ६ र १४ को कानूनी उद्देश्य सम्बन्धमा विचार गर्नुपर्ने हुन्छ ।

५४.   ज्यान सम्बन्धी १४ अनुसार सजाय हुनको लागि उसै मौकामा उठेको कुनै कुरामा रिस थाम्न नसकी कर्ताले साधारण लाठा, ढुंगा, लात, मुक्काले हानेको अवस्था विद्यमान हुनुपर्ने भन्ने कुरा उल्लेख भएबाट यस दफामा विधायीकाले एउटा यस्तो अवस्थाको परिकल्पना गरेको पाईन्छ जहा कर्ता तत्काल आवेशमा आई निजले मृतक उपर शारीरिक आक्रमण वा साधारण हतियारले प्रहार गरेको अवस्था विद्यमान हुनु पर्ने हुन्छ । उक्त दफामा उल्लेखित साधारण लाठा, ढुंगा, लात, मुक्का इत्यादिले हान्दा भन्ने वाक्याश प्रयोग भएबाट कर्ता र मृतकको वारदात हुँदाको अवस्थामा सन्निकटता वा सामिप्यताको कल्पाना समेत गरेको पाईन्छ जुन कुरा कर्ता र मृतक तत्काल आवेशमा आउदा एक अर्काको नजिकमा हुँदा मात्र वारदातको सम्भावना रहन्छ भने ज्यान सम्बन्धीको ५ नं. ले भवितव्यको अवस्था कायम हुनको लागि कुनै पनि कार्य तत्काल आवेश प्रेरित भै तत्कालै शारिरीक आक्रमण गरेको अवस्थाको कल्पना गरेको नभई आफले गरेको कार्यबाट लक्षित व्यक्ति मर्ला जस्तो नदेखिने कुनै कार्य गर्दा मरेको अवस्थालाई मध्येनजर राखेको पाईन्छ । अर्थात कर्ताले गरेको कार्य प्रत्यक्षरपमा आपत्तिजनक वा कसूरजन्य नभएको भएपनि अचिन्तीत परिणाम श्रृजना भै मृत्यु भएको सम्मको अवस्थालाई दृष्टिगत गरी उक्त नं. को व्यवस्था भएको देखिन्छ । कर्ता आवेश प्रेरित छ र निजले गर्न खोजेको काम अर्थात निजले प्रहार गरेको चोट निर्दोष र स्वभाविक नभै प्रारम्भ त गैरकानूनी र अनुचित छ र त्यसको परिणामले मानिस मर्ने सम्मको बिन्दुमा पुग्दछ भने त्यस्तो परिस्थितिलाई समेट्ने गरी ज्यान सम्बन्धीको ५ नं. को प्रावधानको तर्जुमा भएको देखिन आउदैन । यस स्थितिमा शुरु तथा पुनरावेदन अदालतले ज्यान सम्बन्धीको ५ र ६ नं. बमोजिम कसूर कायम गरेको इन्साफ उक्त नं. को सही व्याख्या गरी गरेको मान्न मिल्ने देखिएन ।

५५.   अभियोग माग दावी अनुसार प्रतिवादी बसन्तले ज्यान मार्ने मनसाय राखी उक्त कर्तव्य गरेको नभै मौकामा आत्मनियन्त्रण गुमाई लाठीको प्रहार गर्दा ज्यान मर्न गएको अवस्था भएकोले ज्यान सम्बन्धीको १३ (३) नं. बमोजिम प्रतिवादीलाई अभियोग माग दावी अनुसार सजाय गर्न मिल्ने देखिएन । आवेशको अवस्थामा आत्मनियन्त्रण गुमाई मौकामा भेटिएको लाठीको प्रयोग गरेको अवस्था हुँदा यस्तो अवस्थामा मनसायपूर्ण कर्तव्य तर्फ सजाय गर्न मिल्ने हुदैन । यस अदालतको संयुक्त इजलासबाट फैसला भएको पुनरावेदक प्रतिवादी मोहन कोईराला विरद्ध लोकेन्द्र देवकोटाको जाहेरीले नेपाल सरकार भएको संवत् २०५८ सालको फौ.पु.नं. २९३२ को कर्तव्य ज्यान मुद्दामा ज्यान सम्बन्धीको ५,६ नं.मा जोखिमी हतियार प्रयोग गरी वा नगरी कुनै किसिमले कुटपिट गर्दा संयोगवस मानिस मर्न गएको अवस्थामा प्रयोग हुने  देखिन्छ । जोखिमी हतियार प्रयोग भएको छ वा छैन भन्ने मात्रै कारणले ज्यान सम्बन्धी ५,६ नं. आकर्षित नहुने देखिन्न । .......यस दफाको उद्देश्य भनेको आवेशको अवस्थामा आत्मनियन्त्रण गुमाई गरेको खास अवस्था सम्मको ल प्रयोग भएको कार्यको गुरुत्वलाई केही हदसम्म कम आंकलन गरेर सजायको मात्रामा केही कटौती गर्ने उद्देश्य राखेको देखिन आउछ भन्ने उल्लेख भएको छ । साथै यसै अदालतको पूर्ण इजलासबाट संवत् २०५७ सालको फौ.पु.ई.नं. ११,१२,१३ को कर्तव्य ज्यान मुद्दामा मिति २०५८।३।२९।६ मा ज्यान सम्बन्धीको १४ नं.मा उसै मौकामा उठेको कुनै कुरामा रिस थाम्न नसकी भन्ने वाक्यांसले रिस थाम्न नसक्ने अवस्थाको आवेश (Sudden provocation) लाई स्पष्ट औल्याएको स्थिति छ । रिस थाम्न नसक्ने अवस्था कुनै घटना वा मौका र मानिसको मनस्थितिमा भर पर्ने कुरा हो भनी उक्त निर्णयमा उल्लेख भएको छ । प्रस्तुत वारदातको प्रकृति हेर्दा  समेत प्रतिवादी बसन्तले मृतकलाई लुकी चोरी चोट प्रहार गरेको अथवा धारिलो हतियारको प्रयोग गरेको अवस्था नभई प्रतिवादीले तत्काल उठेको रिस थाम्न नसकी मृतककै हातमा रहेको भाटा आफले खोसी सो भाटाले एक्कासी टाउकोमा प्रहार गर्दा मृतकको मृत्यु भएको हुँदा मृतकको उपर प्रयोग भएको भाटा मृतक उपर नै लक्षित गरी प्रहार गरिएको र त्यस्तो भाटाको प्रयोगबाट हुन सक्ने चोटको गम्भिरतालाई ध्यान नदिई जथाभावी (Indiscriminate) रुपमा आवेश प्रेरित भै जोखिमी नाउने हिसाले नै लक्षित रुपले प्रहार गरेको हुँदा विशुद्ध भवितव्यको परिभाषा भित्र पर्न सक्ने कसूरको रुपमा प्रस्तुत वारदातलाई लिन मिलेन । उक्त कार्य ज्यान सम्बन्धीको १४ नं. अन्तर्गतको कसूरको परिभाषा भित्र पर्ने देखिएकोले ज्यान सम्बन्धीको ५ र ६(४) अनुसार भवितव्य तर्फ सजाय गरेको पुनरावेदन अदालतको ईन्साफ यस अदालतबाट भएको उल्लेखित निर्णय हरू समेतका आधारमा  मिलेको नदेखिँदा सो हदसम्म पुनरावेदन अदालतको इन्साफ केही उल्टी भई प्रतिवादी बसन्तलाई ज्यान सम्बन्धी महलको १४ नं. अनुसार कसूर गरेको ठहरी सो बमोजिम १० वर्ष कैद हुन्छ । अन्य प्रतिवादीहरूको हकमा शुरुले सफाई दिएको इन्साफ सदर गरेको पुनरावेदन अदालतको इन्साफ सदर हुन्छ । प्रतिवादीहरूलाई अभियोग माग दावी अनुसार सजाय गरिपाऊँ भन्ने वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन । अरमा तपसिल बमोजिम गर्नु ।

 

तपसिल

 

माथि इन्साफ खण्डमा लेखिए बमोजिम शुरु तथा पुनरावेदन अदालतको इन्साफ केही उल्टी भई प्रतिवादी बसन्त कुमार यादवलाई ज्यान सम्बन्धीको १४  नं. नुसार १० वर्ष कैद हुने ठहरेकोले शुरु जिल्ला अदालतको फैसलाको तपसिल खण्ड बमोजिम कसिएको कैद वर्ष २ को लगत संशोधन गरी कैद वर्ष १० को लगत कसी असुल उपर गर्नु भनी शुरु जिल्ला अदालतमा लेखि पठाउनु––––––

दायरीको लगत काटी मिसिल नियमानुसार गरी बुझाई दिनु–––––––––

 

उक्त रायमा सहमत छु ।

 

न्या.मीनबहादुर रायमाझी

 

इति सम्बत् २०६४ साल वैशाख १६ गते रोज १ शुभम्–––

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु