शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ६४२१ - कर्तव्य ज्यान ।

भाग: ३९ साल: २०५४ महिना: मंसिर अंक:

निर्णय नं. ६४२१          ने.का.प. २०५४             अङ्क ८

 

संयुक्त  इजलास

माननीय न्यायाधिश श्री मोहन प्रसाद शर्मा

माननीय न्यायाधिश श्री हरि प्रसाद शर्मा

सम्बत २०५३ सालको फौ साधक नं.... १४०

सम्वत् २०५३ सालकौ फो.पु.नं. ................११९५

फैसला मितिः २०५४।२।१५।४

 

मुद्दाः कर्तव्य ज्यान ।

 

वादीः मन कुमारी लिम्बूको जाहेरीले श्री ५ को सरकार समेत

बिरुद्ध

प्रतिवादीःजिल्ला सोलुखुम्बू सोलु गा.वि.स. वार्ड नं. ४ घर भै हाल केन्द्रिय कारागार शाखा त्रिपुरेश्वरमा थुनामा रहेको ज्ञान बहादुर राई

 

§  लाश जाँच मुचुल्का र पोष्टमार्टम रिपोर्ट समेतमा उल्लेख भएको घाउ चोट र निलडाम समेतवाट प्रतिवादी ज्ञान वहादुर राईले मृतकलाई कुटपिट गरी सोही चोट पटकवाट निजको मृत्यु हुन गएको पुष्टि हुन्छ । यस अवस्थामा प्रतिवादीको अदालतमा भएको इन्कारी वायन कतैवाट पुष्टि हुन नआई प्रहरीमा भएको साविती वयान नै पुष्टि हुन आएको देखियो । अतः लास प्रकृति मुचुल्का, तत्काल वुझिएका व्यक्तिहरुको भनाई, जाहेरवालाको वकपत्र र लासजाँच प्रतिवेदन समेतका प्रमाणवाट प्रतिवादी ज्ञान वहादुरले मृतक गिताराईलाई कुटपिट गरेकै कारण निजको मृत्यु भएको देखिंदा प्रतिवादीलाई ज्यान सम्वन्धीको १३(३) नं. वमोजिम सजाय गर्ने गरेको शुरु जिल्ला अदालतको निर्णयलाई सदर गरेको पुनरावेदन अदालत पाटनको फैसला मिलेकै देखिंदा मनासिव ठहर्छ । पुनरावेदकको पुनरावेदन जिकिर पुग्न सक्दैन ।  

(प्र.नं.२४)

§  पुनरावेदन अदालत पाटनले मुलुकी ऐन अ.वं. १८८ नं. वमोजिम राय व्यक्त गरेको हकमा कारखानाका मैनेजर कुमार के.सी. समेतको व्यक्तिहरुले कुटपिट गर्दाको अवस्थामा संझाउन खोज्दा ढोका भित्रवाट वन्द गरी उल्टै उनीहरुलाई धाक धम्की दिई आफ्नी स्वास्नीलाई पिट्दै गरेको देखिएको यस अवस्थामा प्रतिवादीलाई सजाय कम गर्नु पर्ने कुनै अवस्था देखिन नआएकोले निजलाई ज्यान सम्वन्धिको १३(३) नं. वमोजिम सर्वश्व सहित जन्म कैद हुन्छ ।

 (प्र.नं. २५) 

 

पुनरावेदक तर्फवाटः विद्वान अधिवक्ता श्री हरिश्चन्द्र सुवेदी

विपक्षी तर्फवाटः विद्वान सरकारी अधिवक्ता श्री सत्यनारायण प्रजापती ।

अवलम्वित नजीरः x

 

फैसला

            न्या.हरि प्रसाद शर्माः न्याय प्रशासन ऐन २०४८ को दफा ९ अन्तर्गत यस अदालत समक्ष पर्न आएको प्रस्तुत पुनरावेदनको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छ ।

            २. मिती २०५१।६।२१ गतेका दिन बडा दशै भएकोले श्रीमती गीता राई छोरा र म ब्यारेकमा खाना खाई फर्कि आऊंदा रक्सि खायौ र बाटोमा आऊंदा लड्यौं । कोठामा अऊंदा मुटु पोल्यो भन्दै गरेकी श्रीमती रक्सि बढि भयो कि भनेर पानी छर्केर सुताएं, दिऊंसो ४ बजे तिर गीता भनी बोलाउँदा नबोली निजको मृत्यु भएकोले कानूनी प्रकृया पूरा गरी पाऊं भन्ने समेतको ज्ञान बहादुर राईको जाहेरी दरखास्त ।

            ३. २०५१।६।२१ गतेका राती २३.३० बजेको समयमा ज्ञान बहादुर राईले आफ्नो श्रीमतीलाई कोठाभित्र कुटपिट गरीरहेका छन् भन्ने थाहा पाई म खड्ग बहादुर, काजीमान समेत भई कोठामा जादां ढोका बन्द गरेको गीता राई ऐयाऐया भनेकी, ज्ञान बहादुरले श्रीमती गीतालाई कुट्दै गरेको आवाज समेत आएको, ढोका खोल्नुहोस किन यसरी कुटपिट गर्नुहुन्छ भन्दा लोग्ने स्वास्नी वीच मmगडा हो भनी जवाफ दिएकोले फर्कि कोठामा गई सुत्यौं । भोलीपल्ट २२ गते गीता राईको कोठामा मृत्यु भएको हुँदा ज्ञान बहादुर राईलाई कार्वाही गरी पाऊं भन्ने मिति ०५१।६।२५ गतेको कुमार के.सी.को जाहेरी दरखास्त ।

            ४. ०५१।६।२१ गते देविदत्त गण सुर्यविनायक ब्यारेकमा वडा दशैको भोजमा श्रीमती गीता राई र छोरा विजय राईलाइ लिएर गएं, भोज खाई सकेपछि हामी ३ जना कपाल काटने ठाकुरको कोठामा गयौ । त्यसपछि निर बहादुरको कोठामा आई जांड मागी खायौं । डेरा कोठमा पुग्दा रातको २३.०० बजी सकेको, श्रीमती पेट पोल्यो भनी छातीमा समाती बसि रहेकी, मैले श्रीमतीलाई तंलाई अमm रक्सि पुगेन भन्दा निजले म सँग मुख लागी वादविवाद गर्न थालेकीले हामी दुई वीच झगडा हुन थाल्यो । मैले श्रीमतीलाई धकेली दिई बिछ्यौनामा लडाइ सिरक ओढाई दिएं,भोली पल्ट बिऊंझिई उठेर हेर्दा चिसो भएको पानी खुवाऊंदा खुवाऊंदै निजको मृत्यु भएको भन्ने मिति ०५१।७।४ गते प्र.ज्ञान बहादुर राईले प्रहरीमा गरेको वयान ।

            ५. मिति ०५१।६।२१ गते सांझ देविदत्त गण सुर्य विनायक ब्यारेकमा वडा दशै भोज खाइ कोठामा आऊंदा कपाल काट्ने ठाकुरको कोठामा गई रक्सि पिउनु भयो । त्यसपछि बाटोमा पर्ने मानीसको कोठामा गई जांड रक्सि मागेर खानुू भयो । मैले आमाको हात समाती डेरा कोठामा ल्याएं,आमा पेट पोल्यो भनेर कराइ रहनु भएको थियो तंलाई रक्सि पुगेन भनी गाली गर्नुभयो । त्यसपछी दुबैजनाको भनाभन भई झगडा हुँदा बुबाले आमालाई कुट्न थाल्नुभयो । हो हल्ला थाहा पाई कारखानाका मानिसहरु श्रीमतीलाइ कुटपिटगरी हल्ला गरेको हो भन्दा बाबुले लाग्ने स्वास्नी वीचको झगडा हो भन्नु भयो मानिसहरु फर्कि गए, त्यसपछि बुबाले आमालाई धकेली दिएका हन भन्ने मृतकका  छोरा विजय कुमार राइले मिति २०५१।७।४ गतेको प्रहरीमा गरेको कागज ।

            ६. मिति २०५१।६।२१ गते रातको करीब २३.०० बजे कारखानामा डेरागरी बस्ने गीता राईलाई निजको लोग्ने ज्ञान बहादुर राईले कोठाको ढोका बन्द गरी कुटपिट गरी मार्न लागैको भन्ने कुरा थाहा पाई कुमार के.सी. समेत भई कोठामा जादा ढोका बन्द रहेको कोठा भित्र गीता रोईरहेको, कुटेको आवाज बाहिरै सुनिएको, लोग्ने स्वास्निको झगडा हो भनेकाले सबै जना फर्कियौं । भोली पल्ट ज्ञान बहादुर राईको कुटपिटकै कारणबाट गीता राईको मृत्यु भएको हो भन्ने काजीमान लामाले मिति २०५१।७।८ मा प्रहरीमा गरेको कागज ।

            ७. प्रतिवादी गगन बहादुर राईले कुटपिट गरेकै कारणबाट गीता राईको मृत्यु भएको हो भन्ने घटनास्थल बुझिएको राज कुमार गुरुङ्ग समेतले मिति ०५१।७।११ गते गरी दिएको घटनास्थल मुचुल्का ।

            ८. प्रतिवादी ज्ञान बहादुर राईकै कुटाइबाट गीता राईको मृत्यु भएको हुनुपर्दछ भन्ने खड्ग बहादुर श्रेष्ठले मिति ०५१।७।११।६ मा प्रहरीमा गरि दिएको कागज ।

            ९. मिति ०५१।६।२१ गते राती मेरो छोरी गीता राईलाई प्रतिवादी ज्ञान बहादुर राईले कुटपिट गरेको कारणबाट निज गीताको भोली पल्ट बिहान मृत्यु भएको बुझिन आएको हुँदा कुटपिट गरेको कारणबाट गीताको मृत्यु भएकोले ज्ञान बहादुर राई उपर कानून बमोजिम कार्यबाही गरी पाऊं भन्ने मिति ०५१।७।११।६ को मन कुमारी लिम्बुको जाहेरी दरखास्त ।

            १०. बारम्बार हुने गरेको झगडाले मार्ने मनसाय लिई प्रतिविम्बित गर्ने हुँदा प्रतिवादीले गीता राईलाई मनसाय पुर्बक कुटी मारेको, उल्लेखित प्रमाण कागजातहरुबबाट पुष्टि भएकोले प्रतिवादी ज्ञान बहादुर राईलाई मु.ऐन ज्यान सम्बन्धी महलको १ नं.को कसुर अपराधमा सोहि महलको १३(३) अनुसार सर्वश्व सहित जन्म कैदको सजांय गरी पाऊं भन्ने मिति ०५१।७।२७।१ को  अभियोग पत्र ।

            ११. मिति ०५१।६।२१ गते हामी लोग्ने स्वास्नी छोरा विजय सुर्य विनायक ब्यरेकमा दशैको वडा खानाको पार्टीमा गई खाना, रक्सि समेत खाइ आएको थियौ । गीता राईलाई मैले कुटपिट गरेको छैन । छोरालाई आमालाई के भएको भन्दा ३, ४ ठाऊंमा लड्नू भयो भनेर भन्यो प्रहरीमा वयान कागजमा मलाइ हेर्न नदिई सहि गराएको हो । कुमार के.सी.सँग कुनै रिसइवी छैन । मिसिलमा संलग्न गीता राईको फाटोमा देखाईएको चोटपटक ब्यारेकबाट भोज खाइ फर्किदा ठाऊं ठाऊंमा लडेकोले उक्त चोट पटक लाग्न गएको हो किन प्रहरीले त्यस्तो अभियोग लगाए मलाई थाहा छैन भन्ने समेत ब्यहोराको प्रतिवादी ज्ञान बहादुर राईले मिति ०५१।७।२७ मा अदालतमा गरेको बयान कागज ।

            १२. राती ११.०० बजे कोठामा आऊंदा यि प्रतिवादी ज्ञान बहादुरले कोठाको ढोका लगाई निजको श्रीमतीलाई कुटे । उक्त ढोका म लगायत जीवन कुमार के.सी. समेत भै ढक् ढकाउन जादा भित्र को हो ? भनेर सोध्यो तर ढोका बन्द थियो । हामीले कुमार हौ भनी जवाफ दियौं । भित्रबाट हामी बुढाबुढीको झगडामा तिमीहरुलाई के मतलब भनी भनेर ज्ञान बहादुरले भने भन्ने समेत ब्यहोराको प्रहरीमा कागज गर्ने राज कुमार गुरुङ्गले मिति ०५१।११।२२।२ मा अदालतमा गरेको वकपत्र ।

            १३. मामीलाई दादीले कुटेको भन्ने कुराको ब्यहोरा मैले भनेको होइन । मेरो बाबुले मेरी आमालाइ कुटपिट गरेको होइन । आमा ब्यारेकबाट भोज खाइ डेरामा फर्कदा बाटोमा ओरालोमा घाप्टो परी लडी, खाल्डाखुल्डिमा धारामा आऊंदा चुरा समेत फुट्ने गरी नाकबाट समेत रगत आउने गरी लडिन् भन्ने समेत ब्यहोराको अ.वं. ११५ नं. अनुसार बुझीएका नाबालक विजय कुमार राइले गरेको  बयान ।

            १४. रातको ११.०० बजेको समयमा हामी कारखानामा कामगर्नेहरु सुत्ने तरखरमा थियौं। सोहि बेलामा ज्ञान बहादुरको कोठामा लोग्ने स्वस्नी वीच झगडा भएको रहेछ । म समेतले बाहिरबाट ढोका खोल्नुहोस् किन झगडा गरेको भन्दा प्र. ज्ञान बहादुरले भित्रैबाट ढोका नखोली अर्काको स्वास्नी बस्ने कोठामा तपाईहरु राती राती किन आउनु हुन्छ भनेर भने । हामी किन कराउने भनेर हामी आ-आफ्नो कोठामा सुत्न गयौ भन्ने समेत ब्यहोराको अ.वं. ११५ अनुसार म्यादमा हाजिर भै जाहेरवाला कुमार के.सी. ले अदालतमा गरेको वकपत्र ।

            १५. मिति ०५१।७।११ गतेको जाहेरी दर्खास्तको बेहोरा र सहि छाप मेरो हो । प्रतिवादी ज्ञान बहादुरले गीता राईलाई कुटपिट गरी कोठामा राखि मरीसकेपछि कोठामा तालामारी ब्यारेकमा गई मलामीहरु लिएर आई मृतकको लासलाई कोठाबाट लिएर गएको हो भन्ने कुरा सुनेको हुँ भन्ने समेत ब्यहोराको कुमार लिम्बूले अदालतमा आइ वकपत्र गरेको रहेछ ।

            १६. लास प्रकृति मुचुल्का, तत्काल बुझिएका ब्यक्तिहरुको भनाइ, जाहेरवालाको वकपत्र, लासजाँच प्रतिवेदन समेतको प्रमाणबाट प्रतिवादीले मृतक गीता राइलाई रक्सि खाएको रिसमा कुटदा मृत्यु भएको ठहर्छ । सो ठहर्नाले दावी बमोजिम प्रतिवादी ज्ञान बहादुर राईलाई ज्यान सम्बन्धि महलको १३ (३) बमोजिम सर्वश्व सहित जन्म कैद हुन्छ ।

            १७. पत्निले धेरै रक्सि खाएको कारणले तत्काल रिस उठि कुटपिट गर्दा (Liver Rapture) भई मृत्यु भएको ठहर हुँदा पर्नै सम्मको पुरै रिस इवी केहि नहुदा उक्त ठहर फैसलाबाट प्रतिवादीलाइ चर्को सजाय हुने चित्तमा लागेकोले अ.व. १८८ नं.बमोजिम निज प्रतिवादीको उमेर,पारीवारिक स्थिति समेतलाइ दृष्टिगत गरी पांच बर्षमात्र कैद गर्नुपर्ने राय सहितको साधक पुनरावेदन अदालत पाटनमा जाहेर गर्नुृ भन्ने समेत ब्यहोराको भक्तपुर जिल्ला अदालतको मिति ०५२।१०।८ गतेको फैसला ।

            १८. मृतकले एक डेढ लिटर रक्सि सेवन गरेको स्पष्ट छ । जुन कुरालाई मैले तत्काल गरेको जाहेरीबाट समेत पुष्टि हुन्छ । बढि रक्सि सेवन गरेको कारणले समेत मृत्यु हुन्छ भन्ने कुरा मेडिकल जुरिसपडेन्सको टोक्सोलोजीको पृष्ठ १९६ मा समेत Fatal Pose  भन्ने शिर्षकमा समेत उल्लेख छ । सो तर्फ अनुसन्धान कर्ताले कुनै अनुसन्धान नगरेको र अनुसन्धान नगर्नु नहुनु शंका हुनुको कारण म पुनरावेदक दोषि हुनु होइन । तसर्थ शुरु जिल्ला अदालतको फैसला वदर गरी सफाई पाउँ भन्ने समेत व्यहोराको पुनरावेदक प्रतिवादी ज्ञान वहादुरको पुनरावेदन अदालतमा परेको पुनरावेदन पत्र ।

            १९. शुरु जिल्ला अदालतले प्रतिवादी ज्ञान वहादुर राईलाई ज्यान सम्वन्धीको १३(३) नं. वमोजिम सजाय गर्ने गरी अ.वं. १८८ नं. वमोजिम कुटपिट भएको समय, स्थानको अवस्था, पारिवारिक स्थिति समेतका आधारमा पांच वर्ष कैद गर्ने गरेको साधक जाहेरी फैसला  मनासिव नै हुँदा साधक सदरको लागी प्रस्तुत मिसिल सर्बोच्च अदालतमा पठाउनु भन्ने मिति २०५३।३।२५ को पुनरावेदन अदालत पाटनको फैसला ।

            २०. मैले मृतक गितालाई मार्नु पर्ने सम्मको कुनै मनसाय नभएको, मृतकले वढी रक्सी सेवन गरेको कारण निजको मृत्यु भएको हुँदा मलाई ज्यान सम्वन्धी महलको १३(३) नं. वमोजिम सजाय गर्ने गरेको भक्तपुर जिल्ला अदालतको फैसला सदर गरेको मिति २०५३।३।२५ को पुनरावेदन अदालत पाटनको फैसला न्याय एवं कानून सम्मत नहुँदा उक्त फैसला वदर गरी अभियोग दावीवाट सफाई पाउँ भन्ने पुनरावेदक प्रतिवादी ज्ञान वहादुर राईको यस अदालत समक्ष पर्न आएको पुनरावेदन पत्र ।

            २१. नियम वमोजिम दैनिक पेशी सूचीमा चढी यस इजलाश समक्ष पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादीको तर्फवाट उपस्थित हुनु भएका विद्वान अधिवक्ता श्री हरिश्चन्द्र सुवेदीले मेरो पक्ष ज्ञान वहादुर राईले मृतक गिता राईलाई कुटपिट गरी मार्नु पर्ने सम्मको कारण र अवस्था मिसिलवाट खुल्न आउँदैन । मृतकले वढी रक्सी सेवन गरेको कारणवाट ठांउ ठांउमा लडी शरिरको विभिन्न भागमा घस्रीएको घाउचोट देखिएको छ । प्रत्यक्षदर्शि भनिएका खडग वहादुर, कुमार के.सी. र राजकुमारको अदालतमा भएको वकपत्र एक आपसमा वाझिएको छ । मेरो पक्ष अदालतमा पूर्ण रुपमा इन्कार छ । कुटपिट गरेर मात्र Liver Rupture हुने नभै लडेर पनि Liver Rupture हुन सक्ने हुँदा शंका रहित प्रमाणको अभावमा मेरो पक्षलाई ज्यान सम्वन्धी महलको १३(३) नं. वमोजिम सजाय गर्ने गरेको पुनरावेदन अदालतको फैसला त्रुटिपूर्ण हुँदा वदर गरी आरोपित कसुरवाट सफाई पाउनु पर्दछ भनी गर्नु भएको वहस तथा वादी श्री ५ को सरकारको तर्फवाट उपस्थित विद्वान सरकारी अधिवक्ता श्री सत्य नारायण प्रजापतिले प्रतिवादीको प्रहरीमा भएको साविती वयानलाई निजकै छोरा विजयको कागजले पुष्टी गरेको छ । दोश्रो जाहेरी दिने कुमार के.सी. को प्रहरी र अदालत समेतमा भएको वकपत्र एकै मिलानको छ । प्रत्यक्षदर्शि खड्ग वहादुर, राज कुमार र जीवन कुमार समेतले यी प्रतिवादी ज्ञान वहादुरले नै मृतक श्रीमतीलाई कुटपिट गरी मारेको भनी किटानी साथ लेखाई दिएका छन् । घा जाँच मुचुल्का र पोष्टमार्टम रिपोर्ट समेतमा उल्लेख भएको घाउँ निलडाम वाट गिताराईको कुटपिटवाट नै मृत्यु भएको पुष्टि हुन्छ । तसर्थ निज प्रतिवादी ज्ञान वहादुरलाई अभियोग दावी वमोजिम नै सजाय हुनु पर्ने भनी वहस प्रस्तुत गर्नु भयो ।

            २२. अव प्रस्तुत मुद्दामा प्रतिवादी ज्ञान वहादुर राईलाई पुनरावेदन अदालत पाटनले ज्यान सम्वन्धीको १३(३) नं. वमोजिम सजाय गर्ने ठहर्‍याई साधक सदरको लागी जाहेर भै आएकोमा निज प्रतिवादीको उक्त फैसला उपर पुनरावेदन समेत परेको देखिंदा साधकको रोहवाट विचार गर्नु पर्ने नभै पुनरावेदको रोहवाट हेर्नु पर्ने हुन आयो ।

            २३. यस्मा पक्ष विपक्ष दुवै तर्फका कानून व्यवसायीहरुको वहस समेत सुनी पुनरावेदन अदालत पाटनले प्रतिवादीलाई ज्यान सम्वन्धीको १३(३) नं. वमोजिम सजाय गर्ने गरेको फैसला मिलेको छ छैन तथा पुनरावेदकको जिकिर पुग्न सक्ने हो होइन त्यसतर्फ नै निर्णय दिनु पर्ने देखियो ।

            २४. निर्णय तर्फ विचार गर्दा यस्मा प्रतिवादी ज्ञान वहादुर राईले मृतक गिताराईलाई कुटपिट गरेको कारणवाट निजको मृत्यु भएको भन्ने जाहेरी व्यहोरालाई निजकै छोरा विजयको प्रहरीमा भएको कागजवाट पुष्टि भएको र कुटपिट हुँदाको अवस्थामा प्रत्यक्षदर्शि भनीएका गलैचा कारखानाका कुमार के.सी., राज कुमार गुरुङ, खडग वहादुर र जीवन कुमार लगायतका व्यक्तिहरुले कुटेको आवाज सुनेको, गिताराई एैया एैया भन्दै रोए कराएकी, ढोका खोल भन्दा लोग्ने स्वास्नीको झगडामा तिमिहरुलाई के मतलव भनी प्रतिवादी ज्ञान वहादुरले हप्काएको भनी अदालतमा एकै मिलानको वकपत्र भएको र उक्त कथनलाई प्रतिवादी ज्ञान वहादुरले धेरै रक्सी खाएको कारण स्वास्नीसँग भनाभन भै कुटेकोमा साविती वयान गरेवाट एक अर्कामा समर्थित भै रहेको छ । यस अतिरिक्त लाश जाँच मुचुल्का र पोष्टमार्टम रिपोर्ट समेतमा उल्लेख भएको घाउ चोट र निलडाम समेतवाट प्रतिवादी ज्ञान वहादुर राईले मृतकलाई कुटपिट गरी सोही चोट पटकवाट निजको मृत्यु हुन गएको पुष्टि हुन्छ । यस अवस्थामा प्रतिवादीको अदालतमा भएको इन्कारी वायन कतैवाट पुष्टि हुन नआई प्रहरीमा भएको साविती वयान नै पुष्टि हुन आएको देखियो । अतः लास प्रकृति मुचुल्का, तत्काल वुझिएका व्यक्तिहरुको भनाई, जाहेरवालाको वकपत्र र लासजाँच प्रतिवेदन समेतका प्रमाणवाट प्रतिवादी ज्ञान वहादुरले मृतक गिताराईलाई कुटपिट गरेकै कारण निजको मृत्यु भएको देखिंदा प्रतिवादीलाई ज्यान सम्वन्धीको १३(३) नं. वमोजिम सजाय गर्ने गरेको शुरु जिल्ला अदालतको निर्णयलाई सदर गरेको पुनरावेदन अदालत पाटनको फैसला मिलेकै देखिंदा मनासिव ठहर्छ । पुनरावेदकको पुनरावेदन जिकिर पुग्न सक्दैन ।

            २५. पुनरावेदन अदालत पाटनले पुनरावेदन अदालत पाटनले मुलुकी ऐन अ.वं. १८८ नं. वमोजिम राय व्यक्त गरेको हकमा कारखानाका मैनेजर कुमार के.सी. समेतको व्यक्तिहरुले कुटपिट गर्दाको अवस्थामा संझाउन खोज्दा ढोका भित्रवाट वन्द गरी उल्टै उनीहरुलाई धाक धम्की दिई आफ्नी स्वास्नीलाई पिट्दै गरेको देखिएको यस अवस्थामा प्रतिवादीलाई सजाय कम गर्नु पर्ने कुनै अवस्था देखिन नआएकोले निजलाई ज्यान सम्वन्धीको १३(३) नं. वमोजिम सर्वश्व सहित जन्म  कैद  हुन्छ । निज प्रतिवादी प्रहरी हिरासतमा रहेको मिति ०५१।७।३ देखि गणना हुने गरी सर्वश्व सहितको जन्म कैदको लगत राख्नु भनी शुरु भक्तपुर जिल्ला अदालतमा लेखी पठाई मिसिल नियमानुसार गरी वुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या. मोहन प्रसाद शर्मा ।

 

ईति सम्वत २०५४ साल जेष्ठ १५ गते रोज ४ शुभम् .....।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु