शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ७८४७ - अग्नी बिमादावी

भाग: ४९ साल: २०६४ महिना: भाद्र अंक:

निर्णय नं.७८४७     ने.का.प.२०६४ अङ्क ५

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री मीनबहादुर रायमाझी

माननीय न्यायाधीश श्री पवनकुमार ओझा

संवत् २०६२ सालको दे.पु.नं. ... ८६६९

फैसला मितिः २०६३।११।२१।२

 

मुद्दा :- अग्नी बिमादावी ।

 

पुनरावेदक

प्रतिवादीः: रामशाहपथ काठमाण्डौ स्थित राष्ट्रिय बिमा संस्थानको अख्तियार प्राप्त मुरारी रेग्मी

विरूद्ध

प्रत्यर्थी

वादीः कैलाली जिल्ला हसुलीया गा.वि.स.स्थित हरिशंकर गल्ला भण्डारक प्रोप्राइटर हरी शंकर      ठाकुर

 

§  अन्तरिम कभरनोटको बिमा कभर गरिएको व्यहोरामा यस कभरनोट अन्तर्गत अग्नी अतिरिक्त हुदंगा, द्धेषपूर्ण कार्य र आतंकवादबाट विमितको क्षति भएमा समेत थप सुरक्षण प्रदान गरिनेछ भन्ने व्यहोराबाट अग्नीका कारण भएको क्षति मात्र व्यहोरिने भनी अर्थ गर्न नमिल्ने।

§  अन्तरिम कभरनोट बिमा गराएपछि गराइएको बिमाको बिमा लेख विमितलाई दिनुपर्ने कर्तव्य र बिमा गराउँदाको अवस्थामा भएको शर्त अनुसार बिमा गराइएको वस्तुको सुरक्षण प्रदान गर्नुपर्ने दायित्व राष्ट्रिय बिमा संस्थानको हुने ।

(प्रकरण नं.२०)

§  बिमा गराइएको वस्तुको क्षति भएको अवस्थामा क्षति वापतको रकम भुक्तानी दिनुपर्ने दायित्व भएको राष्ट्रिय बिमा संस्थान जस्तो निकायले आतंकवादको सम्बन्धमा बिमा लेख जारी नभएको भनी बिमाको अन्तरिम कभरनोट मार्फत सुरक्षण प्रदान गरेको आतंकवाद वापतको जोखिमका सम्बन्धमा रकम भुक्तानी गर्नबाट पन्छिन नहुने ।

(प्रकरण नं.२१)

§  आतंकवादी समूहले लुटपाट गरी दिएको र बिमा वापत प्रिमियम समेत बुझाएको अवस्थामा आतंकवादबाट भएको चोरी लुटपाटको सम्बन्धमा बिमा गरेको छैन र आतंकवादको बिमालेख जारी भएको छैन भन्ने राष्ट्रिय बिमा संस्थानको भनाइसँग सहमत हुन नसकिने ।

(प्रकरण नं.२२)

 

पुनरावेदक प्रतिवादी तर्फबाट : विद्वान अधिवक्ता श्री रेवन्तबहादुर कुँवर

प्रत्यर्थी वादी तर्फबाट : विद्वान अधिवक्ता नविनकुमार वर्मा

अबलम्वित नजीरः

 

फैसला

न्या. मीनबहादुर रायमाझीः न्याय प्रशासन ऐन, २०४८ को दफा १२ अनुसार पर्न आएको निवेदनमा निस्सा प्रदान भै पुनरावेदनमा दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छ :-

२.    मिति २०५९।१।६ गते साझ ७।८ को बीचमा हतियारधारी हज्जारौंको संख्यामा आएका आतंककारी जत्थाले मेरो गोदाम समेत कव्जा गरी ३५८० बोरा धान मोटो बोरा जवरजस्ती लगेको हुँदा दोषीबाट जिन्सी धनमाल फिर्ता गराई उक्त दुर्घटना भएको व्यहोरा प्रमाणित गराई दिनु हुन अनुरोध भन्ने समेत व्यहोराको हरिशंकर गल्ला भण्डारका प्रो.हरी शंकर ठाकुरले जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालय धनगढीमा पेश गरेको मिति २०५९।१।८ को छुट्टाछुट्टै निवेदन पत्र ।

३.    हरीशंकर गल्ला भण्डार र सहकारी संस्थाको गोदाम घरमा रहेको ३५८० बोरा मोटो धान मूल्य रु.१८,८०,०००।बराबरको गल्ला ०५९।१।६ गते साझ ८,९ बजे तिर माओवादीले आक्रमण गरी लगेर गएको व्यहोरा प्रमाणित गरिन्छ भन्ने हसुलिया गा.वि.स.कार्यालय कैलालीले दुर्घटना प्रमाणित गरी दिएको पत्र ।

४.    २०५९।१।६ गते राती ७.८ बजे आतंककारी समुहले जवरजस्ती गोदाममा प्रवेश गरी हरीशंकर ठाकुरको स्वमित्वमा रहेको साझा सहकारी गोदामबाट जाहेरीमा उल्लेखित धान मोटा ३५८०।बोरा लुटीलगेको व्यहोरा प्रमाणित गरिन्छ भन्ने जिल्ला प्रहरी कार्यालय कैलाली धनगढीको मिति २०५९।१।२१ को पत्र ।

५.    राष्ट्रिय बिमा संस्थान धनगढी शाखाबाट मिति डिसेम्बर ६,२००१ देखि लागु हुने गरी बिमा लेख नं. सी. एफ २४२५।००।११२०६ अन्तर्गत साझा सहकारी संस्थाको गोदाममा रहेको १८०० बोरा धान तथा ६०० बोरा गहुको जम्मा बिमाङ्क रु.१४,२७,८५०।र बिमा लेख. नं.सी.एफ २४२६।००११२०६ अन्तर्गत श्री जटेश्वर ठाकुरको गोदाममा रहेको ६०० बोरा धानको जम्मा बिमाङ्क रु.२८५,७५०।बिमा गराउदै आएको र डिसेम्बर २०,२००१ मा साझा सहकारी संस्थाको गोदाममा राखिएको ११८०। बोरा धानलाई सम्पुष्टि नं. धन २४४७ अन्तर्गत बिमा गराई राखेको थिए । अत एवं रक्षावरण गराइएको जोखिम आतंकवाद समेत रहेको एवं क्षतीको नजिकको कारण पनि रक्षावरण गरिएको जोखिम नै भएको हुँदा सो जम्मा रु.३५८० बोरा धानमा पुग्न गएको क्षति वापतको वास्तविक क्षतिपूर्ति स्वरुप दावी गरिएको रकम रु.१७,१३,६००।तथा सो दावी परेको मितिले दावी भुक्तानी हुँदासम्ममा सो रकममा ऐन अनुरुपको व्याज समेत थप गरी सम्पूर्ण रकम यथाशिघ्र विपक्षी राष्ट्रिय बिमा संस्थान धनगढी शाखाबाट दिलाई भराई पाउँ भन्ने हरीशंकर गल्ला भण्डारको प्रोपाइटर हरि शंकर ठाकुरले बिमा समिति काठमाण्डौमा चढाएको निवेदन ।

६.    क्षतिपूर्ति स्वरुप दावी गरिएको रकम रु.१७,१३,६००।तथा सो दावी भुक्तानी हुँदासम्मका सो रकममा ऐन अनुरुपको व्याज समेत थप गरी सम्पूर्ण रकम यथाशिघ्र विपक्षी धनगढी शाखाबाट दिलाई भराई पाउँ भनी लेखी आएकोले सो बिमा दावी क्षतिपूर्ति सम्बन्धी के कसो भए गरेको हो सो को लिखित जवाफका साथ तत्सम्बन्धी बिमा लेख तथा सर्भे प्रतिवेदन लगायतका भए गरेका सम्पूर्ण कागज तथा विवरण समेत यो पत्र प्राप्त भएका मितिले १५ दिन भित्र यस समितिमा पेश गर्नु हुन सुचित गरिन्छ भन्ने समेत बिमा समितिले राष्ट्रिय बिमा संस्थान रामशाहपथ काठमाण्डौंलाई लेखेको च.नं. ७१३७१४ मिति २०५९।६।१६ को पत्र ।

७.    मिति २०५९।१।६ मा आतंककारीहरूले गोदामको ताला तोडी लुटी लगेको भनी दावी पर्न आएकोमा संस्थानले अग्नी बिमा लेख जारी गरेको हुँदा अग्नी बिमा लेखेको दायरा अन्तर्गत चोरी लुटमार पर्न नआउने हुँदा बिमा लेखेको दायरामा नपर्ने व्यहोरा समेत विमितलाई अगत गराउदछौं भन्ने समेत व्यहोराको राष्ट्रिय बिमा संस्थानले बिमा समिति चावहिल लाई लेखेको मिति २०५९।९।४ को पत्र ।

८.    हामी व्यापारी वर्गबाट आफ्नो सम्पत्ति सुरक्षाका लागि बिमा गर्नुपर्ने हुँदा बिमा पनि गराएको हु । बिमा ऐन नियम अनुसार क्षतिपूर्ति दावी गरेकोमा आजसम्म पनि कुनै सुनुवाई भएको छैन । दावी अनुसारको रकम भुक्तानी पाउन निवेदन पेश गरेको छु भन्ने समेत व्यहोराको हरि शंकर ठाकुरले राष्ट्रिय बिमा संस्थानमा चढाएको मिति २०४९।३।२० को  निवेदन ।

९.    हाम्रो कार्यालयको मिति २०५९।१।१७ च.नं. १५१।०५८।०५९ को पत्रबाट कुनै पनि प्रकारको लुटी लगेको धन सम्पत्ति अग्नी बिमाको बिमा लेख अन्तर्गतको दायरा भित्र नपर्ने भनी जानकारी गराउदछौ भन्ने राष्ट्रिय बिमा संस्थानले हरि शंकर गल्ला हसुलिया कैलालीलाई लेखेको मिति २०५९।३।१० को पत्र ।

१०.    हरीशंकर गल्ला भण्डारको दावी सम्बन्धमा माग बमोजिम आवश्यक कभरनोट कपी सि.एफ २४२५ र २४२६ को कागजातहरू पठाएको भन्ने समेत राष्ट्रिय बिमा संस्थानले बिमा समितिलाई लेखेको च.नं. १०३ मिति २०५९।११।२२ को पत्र ।

११.    बिमा लेखले रक्षावरण गरेको क्षति वापत निवेदकले माग गरेको रु.१७,१३,६००।बाट बिमा लेखेको शर्त सुविधा बमोजिम अनिवार्य अधिक वापतको रकम कट्टा गरी बाँकी हुन आउने रकम निवेदकलाई दावी भुक्तानी गर्नु भनी विमक राष्ट्रिय बिमा संस्थानलाई बिमा ऐन,२०४९ को दफा ८(ख१) दफा १७(४) तथा बिमा नियमावली, २०४९ को नियम ३३(२) बमोजिम आदेश दिने ठहर्छ भन्ने समेत व्यहोराको बिमा समितिले मिति २०६०।२।३० मा गरेको निर्णय ।

१२.   विमितले ३५८० बोरा धालुटी लगेको र उक्त धानको मूल्य रु.१७,१३,६००।हुने भनी दावी गर्नु भएकोमा अपराधी गिरोहले चनाखो सुरक्षाकर्मीहरूको संरक्षणमा रहेको क्षेत्रभित्र त्यत्रो परिमाणको धान चोरी लुटी लगे भनी विश्वास गर्न सकिने आधार प्रमाण देखिदैन । बिमा लेख नीतिमा स्थलगत र भौतिक निरीक्षण (Physical Verification) गरेर मात्र पुष्टि गरिन्छ । यसप्रकारको कुनै काम भएको छैन र लुटी लगेको दावी प्रमाणहरू पनि छैन । विपक्षीले धानहरू आफैले बिक्री गरी झुठ्ठा उजूरी गर्नु भएको हो । आगलागी भएको अवस्थामा कसैले आगो निभाउने कार्य गर्दा कुनै हानाले चोरी गरेमा पनि त्यस्तो हानी नोक्सानी समावेश गर्ने छैन भनी प्रष्ट लेखिएको छ । अग्नी बिमा लेखेको दायरा अन्तर्गत चोरी लुटमार पर्न नआउने हुँदा बिमा समितिको मिति २०६०।२।३० को दावी बमोजिम भराउने निर्णय बिमा लेख विपरीत गैरकानूनी हुँदा उल्टी गरी इन्साफ पाउँ भन्ने समेत राष्ट्रिय बिमा संस्थान रामशाहपथको तर्फबाट परेको पुनरावेदन पत्र ।

१३.   वादीका नाउँमा अग्नी बिमा लेख जारी भएका अवस्थामा दावीको वारदात पर्न आउने नआउने र वारदात यर्थातमा भए नभएको एकिन भै रहेको नदेखिएकोमा त्यसतर्फ विचार नगरी दावी भुक्तानी गर्ने गरी भएको बिमा समितिको निर्णय फरक पर्न सक्ने देखिदा प्रत्यर्थीलाई छलफलको निमित्त झिकाई पेश गर्नु भन्ने पुनरावेदन अदालतको मिति २०६१।१।४ को आदेश ।

१४.   यसमा विमित वस्तुको हानी नोक्सानी भयो क्षतिपूर्ति पाउँ भनी प्रत्यर्थी हरीशंकर ठाकुरले दावी गरेको कुरालाई पुनरावेदक संस्थानले आफ्नो तर्फबाट सो कुराको तत्काल छानविन वा सर्भे भएको थियो थिएन सो कुरा कतैबाट स्पष्ट नभएकोले सो कुरा पुनरावेदक राष्ट्रिय बिमा संस्थानलाई खुलाउन लगाई नियमानुसार पेश गर्नु भन्ने पुनरावेदन अदालतको मिति २०६१।१०।१२ को  आदेश ।

१५.   विपक्षीको दावी अग्नी बिमाको नीति भित्र नपर्ने भएको हुँदा हामीले सर्भेएर पठाउनु पर्ने कुनै कारण नभएकोले सर्भेएर पठाएनौं र विपक्षीको उजूरी दावीलाई हामीले स्वीकार नै गरेनौ भन्ने समेत व्यहोराको राष्ट्रिय बिमा संस्थानको जवाफ ।

१६.    यसमा शुर बिमा समितिले निवेदकले माग गरेको रु.१७,१३,६००।बाट बिमा लेखको सर्त सुविधा बमोजिम अनिवार्य अधिक वापतको रकम कट्टा गरी बाँकी हुन आउने रकम निवेदकलाई दावी भुक्तानी गर्नु भनी मिति २०६०।२।३० मा गरेको निर्णयमा परिवर्तन गर्नुपर्ने अवस्था विद्यमान नहुँदा सदर हुने ठहर्छ भन्ने समेतको पु.वे.अ.को फैसला ।

१७.   गोदामको धान ठूलो परिमाणमा रहेको हुँदा लुटी लगेको भन्न मिल्ने हुदैन । धान आफैंले बिक्री गरेको अवस्थामा उजूर परेको छ । आगलागी भै आगो निभाउदा चोरी गरेको अवस्थामा पनि त्यस्तो नोक्सानी बिमा वापत पर्ने होइन । अग्नी बिमाको दायरामा चोरी पर्ने पनि होइन । शुरको निर्णय उल्टी गरिपाऊँ भन्ने समेतको राष्ट्रिय बिमा संस्थानको पुनरावेदन ।

१८.   यसमा विपक्षीले गरेको बिमाले अग्नीलाई मात्र समावेश गरेको भन्ने सि.एफ २४२६।००११२०६ को राष्ट्रिय बिमा संस्थानबाट जारी भएको अन्तरिम कभरनोटबाट देखिन्छ । अन्तरिम कभरनोटको तल खण्डमा सि.एफ २४२६।००११२०६ मा बिमा कभरनोट जारी भएपछि बिमा कभरनोटको सर्त र अवस्था लाग हुने अन्तरिम कभरनोटको व्यवस्था लागु नहुने भन्ने स्पष्ट देखियो । निवेदन साथ पेश भएको राष्ट्रिय बिमा संस्थानबाट जारी भएको अग्नी बिमालेखको सर्त नं. ६(१) र ज ४ बाट पनि आगलागीबाट हुने सर्त क्षती Cover गर्ने Fix Insurance गरिएको तर Terrorism आतंककारी गतिविधी आदीको कारण भएको नोक्सानीको बिमाहरू Cover नभएको भन्ने स्पष्ट देखिदा देखिदै पनि सम्बन्धित प्रमाणको मूल्यांकन नगरी जानकारीमा नलिई गरेको पु.वे.अ.को फैसलामा अ.वं. १८४(क) प्रमाण ऐन, २०३१ को दफा ३ अनुसार सम्बद्ध प्रमाण बुझ्न पर्ने नबुझी दफा ५४ समेतको कानूनी त्रुटी देखिदा न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१)(क) बमोजिम निस्सा प्रदान गरिएको छ भन्ने २०६२।११।३।४ को आदेश ।

१९.    नियम बमोजिम दैनिक पेशी सूचमा चढी इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दासँग सम्बन्धित सम्पूर्ण मिसिल कागजात अध्ययन गरी पुनरावेदक तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री रेवन्तबहादुर कुँवरले वास्तविक रुपमा बिमा भएको सम्बन्धमा मात्र बिमा संस्थानले दायित्व बहन गर्न पर्ने हो । बिमा गरेको विषयवस्तुसँग असम्बन्धित कुरामा पनि दायित्वभागी हुनुपर्ने होइन । नोक्सानी भएको भनेको वस्तु लुटपाट र चोरी भयो भन्ने कुरा उल्लेख भएकोमा व्यापक रुपमा सुरक्षाको प्रवन्ध भएको स्थानमा ठूलो परिमाणको सामान लुटपाट चोरी भयो भन्ने कुरा बनावटी देखिन्छ भन्ने समेतको र विपक्षी तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री नविन कुमार वर्माले हज्जारौंको संख्यामा आएका आतंककारीले गोदाम नै लुटपाट गरेको अवस्थामा सुरक्षा प्रन्ध रहेको थिएन । चोरी लुटपाट भएको भन्ने कुरा स्थानय निकाय र प्रहरी प्रशासन समेतले प्रमाणित गरिदिएको अवस्था छ । बिमा गरेको कुरामा दुइमत नभए पछि बिमा वापत वास्तविक क्षतिपूर्ति पाउन पर्ने हुन्छ । डिसेम्बर ६, २००१।देखि लागू हुने गरी रक्षावरण गराइएको वस्तु अग्नी हुलदंगा र द्धेषपूर्ण कार्य आतंकवाद वापत पनि कभरनोट भएको अवस्थामा संस्थान दायित्वभागी छैन भन्न मिल्दैन भन्ने समेतको हस गर्नु भयो । बिमा वापतको रकम बिमा संस्थानले भुक्तानी गर्नुपर्ने ठहर्याएको शुरको इन्साफ सदर गरेको पुनरावेदन अदालतको इन्साफ मिलेको छ छैन भन्ने निर्णय गर्नुपर्ने देखिन आयो ।

२०.   निर्णयतर्फ विचार गर्दा मिति २०५९।१।६ गते साँझ हतियारधारी हज्जारौको संख्यामा आएका आतंककारी जत्थाले आफ्नो गोदाममा जवरजस्ती प्रवेश गरी जाहेरीमा उल्लेखित धान मोटा ३५८० बोरा लुटिलगेकोमा सो लुटिलगेको धान वापत राष्ट्रिय बिमा संस्थान धनगढी शाखाबाट बिमा लेख नं. सी.एफ. २४२५।००११२०६ तथा सि.एफ २४२६।००११२०६ अन्तर्गत बिमा गराएको, रक्षावरण गराइएको जोखिम भित्र आतंकवाद समेत रहेकोमा चोरी लुटपाट समेतको बिमा नगराएको भनी राष्ट्रिय बिमा संस्थानले बिमा वापत रकम भुक्तानी गर्नबाट इन्कार गरेको भनी वादी हरि शंकर ठाकुरले जम्मा ३५८० बोरा धानमा पुग्न गएको क्षति वापत रु.१७,१३,६००। र व्याज समेत थप गरी सम्पूर्ण रकम विपक्षी राष्ट्रिय बिमा संस्थान धनगढी शाखाबाट दिलाई भराई पाउँ भनी बिमा समिति काठमाडौंमा निवेदन दिएको पाइयो । अग्नी बिमा लेखको दायरा अन्तर्गत चोरी लुटमार पर्न नआउने हुँदा बिमा लेखको दायरामा नपर्ने रकम विमितलाई भुक्तानी गर्न नपर्ने र धान लुटमार भएको भन्ने कुरा पुष्टि भएको छैन भन्ने समेतको राष्ट्रिय बिमा संस्थानको भनाई रहेबाट सोही विषयमा विवाद रहेको पाइयो । २०५९।१।६ गते वादी हरिसंकर ठाकुरको धान राखिएको गोदाममा आतंककारी समूहले जवरजस्ती प्रवेश गरी ३५८० बोरा धान लुटी लगेको हो भनी हसुलिया गा.वि.स. कार्यालय कैलाली र जिल्ला प्रहरी कार्यालय कैलालीले प्रमाणित गरिदिएको कुरा मिसिल संलग्न कागजातबाट देखिएको हुँदा लुटपाट भएकै होइन भन्ने प्रतिवादी बिमा संस्थान र ऐ.को तर्फबाट उपस्थित विद्वान कानून व्यवसायीको भनाई पत्यारलायक देखिदैन । गोदाममा आक्रमण र लुटपाट भइ क्षति हुन गएको भन्ने तथ्य उल्लेखित हसुलिया गा.वि.स. कार्यालय र जिल्ला प्रहरी कार्यालय कैलालीको पत्र समेतबाट पुष्टि भइरहेको हुँदा अब वादीले दावी गरेको नोक्सानी वापतको क्षति बिमा संस्थानबाट वादीलाई भराई दिन पर्ने हो होइन भन्ने सम्म कुराको विचार गर्नुपर्ने देखिन्छ । सि.एफ. नं. २४२५ र २४२६ बाट हरि संकर गल्ला भण्डारका मालिक हरि शंकर ठाकुरले ३५८० बोरा धान बिमा गराएको भन्ने कुरालाई पुनरावेदक बिमा संस्थानले अन्यथा भन्न सकेको पाइन्न । प्रतिउत्तर र पुनरावेदन जिकिर हेर्दा समेत अग्नी बिमा मात्र गरेकोमा आतंकवादको कारणले बिमा गरिएको सामान चोरी लुटपाट भएकोमा आतकंवाद वापत हुने क्षतिलाई बिमाले नसमेटेको भनी राष्ट्रिय बिमा संस्थान बिमा वापतको रकम भुक्तानी गर्नबाट इन्कार रहेको पाइदा वादी प्रतिवादी बीच के कस्तो प्रकारले बिमा भएको रहेछ सो सम्बन्धमा विचार गर्नुपर्ने देखिन्छ । मिसिल साथ संलग्न बिमाको अन्तरिम कभरनोटबाट सि.एफ.नं. २४२५।००११२०६ मा गहुँ ६०० वोरी र धान १८०० वोरीको १४,२७,८५० र सि.एफ.२४२६।००११२०६ मा धान वोरी ६०० को २,८५,७५० गरी जम्मा १७,१३,६००।  अग्नी, हुलदंगा, द्धेषपूर्ण कार्य, आतकंवाद वापत बिमा गराइएको तथ्यलाई अन्तरिम कभरनोटले पुष्टि गरिरहेको अवस्था छ । अन्तरिम कभरनोटको बिमा कभर गरिएको व्यहोरामा यस कभरनोट अन्तर्गत अग्नी अतिरिक्त हुलदंगा, द्धेषपूर्ण कार्य र आतंकवादबाट विमितको क्षति भएमा समेत थप सुरक्षण प्रदान गरिनेछ भन्ने व्यहोराबाट अग्नीका कारण भएको क्षति मात्र व्यहोरिने भनी अर्थ गर्न मिल्ने देखिदैन । अन्तरिम कभरनोट निश्चिय नै बिमा लेख तयार भै जारी नभए सम्मलाई हो । बिमा गराएपछि गराइएको बिमाको बिमा लेख बिमितलाई दिनुपर्ने कर्तव्य र बिमा गराउँदाको अवस्थामा भएको शर्त अनुसार बिमा गराइएको वस्तुको सुरक्षण प्रदान गर्नुपर्ने दायित्व राष्ट्रिय बिमा संस्थानको हुन्छ । बिमा लेख बिमितलाई उपलव्ध नगराइएकोमा अन्तरिम कभरनोटले प्रदान गरेको सुरक्षालाई राष्ट्रिय बिमा सस्थानले इन्कार गर्न सक्ने अवस्था रहदैन ।

२१.   Proximate Cause को सिद्दान्त बिमाको दावीमा महत्वपूर्ण हुन्छ र बिमाको दावीमा प्रदान गरिएको सुरक्षा र क्षतिको कारणको सम्न्ध निकट हुन आवश्यक हुन्छ । वादीले अग्नीको अतिरिक्त हुलदंगा, द्धेषपूर्ण कार्य र आतकंवादको बिमा गराएको परिप्रेक्ष्यमा गाउँ विकास समितिको कार्यालय हसुलियाले २०५९।१।६ गते साँझमा माओवादी आतकंकारीहरू हजारौको संख्यामा आएका जत्थाले ३५८० बोरा धान लगेको भन्ने र जिल्ला प्रहरी कार्यालय धनगढीले ३५८० बोरा आतंककारीहरूले लुटि लगेको भनी प्रमाणित गरेपछि नोक्सानीको नजिकको कारण आतंकवाद नै देखिन आएको छ । अन्तरिम कभरनोटले अग्नीको अतिरिक्त आतंकवादको कारणबाट हुन जाने जोखिमको सम्न्धमा समेत सुरक्षण प्रदान गरेको र आतंकवादको कारणबाट लुटपाट भएको कुरालाई आधिकारिक निकायहरूले समेत प्रमाणित गरिदिएको अवस्था देखियो । यसरी आफूले सुरक्षण प्रदान गरेको जोखिमका सम्बन्धमा बिमा लेख जारी गर्नुपर्ने आफ्नो कर्तव्यलाई राष्ट्रिय बिमा संस्थानले पालना नगरी विमितलाई क्षति वापतको रकम भुक्तानी गर्नुपर्ने आफ्नो दायित्वबाट पन्छिएको अवस्था पाइयो । बिमा गराइएको वस्तुको क्षति भएको अवस्थामा क्षति वापतको रकम भुक्तानी दिनुपर्ने दायित्व भएको राष्ट्रिय बिमा संस्थान जस्तो निकायले आतंकवादको सम्न्धमा बिमा लेख जारी नभएको भनी बिमाको अन्तरिम कभरनोट मार्फत सुरक्षण प्रदान गरेको आतकंवाद वापतको जोखिमका सम्न्धमा रकम भक्तानी गर्नबाट पन्छिने कार्य निश्चय नै राम्रो  होइन ।

२२.   बिमाको अन्तरिम कभरनोटमा अग्नी हुलदंगा, द्धेषपूर्ण कार्य र आतकंवादको जोखिम पनि समावेश गरिएको भन्ने उल्लेख भएको, आतकंवादी समूहले लुटपाट गरेको भनी सम्न्धित गा.वि.स.को कार्यालय र जिल्ला प्रशासन कार्यालय समेतले प्रमाणित गरी दिएको र मिसिल संलग्न कागजात हेर्दा वादीले बिमा वापत प्रिमियम समेत बुझाएको अवस्थामा आतंकवादबाट भएको चोरी लुटपाटको सम्न्धमा बिमा गरेको छैन र आतंकवादको बिमा लेख जारी भएको छैन भन्ने राष्ट्रिय बिमा संस्थानको भनाईसँग सहमत हुन सक्ने अवस्था देखिएन । वादीलाई भएको क्षति वापतको रकम भुक्तानी प्राप्त गर्न नसक्ने भन्न मिलेन ।

तसर्थ,   शुरु बिमा समितिले निवेदकको माग बमोजिम अधिक वापतको रकम कटृा गरी बाँकी हुन आउने रकम निवेदकलाई भुक्तानी गर्ने गरेको निर्णय सदर गरेको पुनरावेदन अदालतको इन्साफ मिलेकै देखिँदा सदर हुन्छ । पुनरावेदकको पुनरावेदन जिकिर पुग्न सक्दैन । दायरी लगत काटी मिसिल नियमानुसार बुझाइ दिनु ।

                       

उक्त रायमा सहमत छु ।

 

न्या.पवनकुमार ओझा

 

 

इति संवत् २०६३ साल फागुण २१ गते रोज २ शुभम्...

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु