निर्णय नं. ७८५८ - अपुताली हक कायम दर्ता चलन

निर्णय नं. ७८५८ ने.का.प.२०६४ अङ्क ६
सर्वोच्च अदालत संयुक्त इजलास
माननीय न्यायाधीश श्री मीनबहादुर रायमाझी
माननीय न्यायाधीश श्री पवनकुमार ओझा
संबत् २०५७ सालको दे.पु.नं. .....६८९६
फैसला मितिः २०६४।६।२१।२
मुद्दाः अपुताली हक कायम दर्ता चलन ।
पुनरावेदक
वादीः जिल्ला पर्सा मनियारी गा.वि.स. वडा नं.१ बस्ने मंगलमतिया देवी मरी निजको मु.स.गर्ने ऐ.ऐ. बस्ने राजाप्रसाद यादव
विरूद्ध
प्रत्यर्थी
प्रतिवादीः जिल्ला पर्सा मनियारी गा.वि.स. वडा नं.३ बस्ने रघुनाथ राउत अहिरको मुद्दा सकार गरी आफ्नो हकमा समेत ऐ.ऐ.बस्ने परमा राउत अहिर समेत
§ सँगै बसेका सबै अंशियार मरी अपुताली पाउने भएमा सबै अंशियारको छोरीले बाँडी खान पाउने अवस्था बाहेकको अवस्थामा जो मरी अपुताली परेको हो उसैको छोरीले अपुताली पाउने कानुनी व्यवस्था भएकोमा एक मात्र सन्तान छोरी भएको अवस्थामा निजले बाबुको अपुतालीमा दावी गर्न नपाउने भन्न तत्कालिन अपुतालीको २ र ४ नं. को व्यवस्थाले मिल्ने नदेखिने ।
(प्रकरण नं.१४)
§ वादीका बाबु समेतका अंशियाराहरू बीच अंश नभएको भन्ने तथ्यमा कुनै विवाद नदेखिँदा अंश नभै संगोलमा बसेका अंशियार अंशवण्डा नहुँदै मृत्यु भै अपुताली परेमा अंशवण्डा नभै सम्पत्ति नछुट्टिएको कारणले अपुतालीको हैसियत कायम नहुने भन्न अपुतालीको महलको तत्कालको ४ नं. ले भिन्न नभैसँग बसेका अंशियार सबै मरी अपुताली परेमा सबै अंशियारका छोरीले बाँडी खान पाउने र पछिबाट जो मरी अपुताली परेको हो उसै तिरका छोरीले अपुताली पाउँछन् भन्ने भएबाट अंशवण्डा भै वण्डा छुट्टिनु पर्ने अवस्था नदेखिने ।
(प्रकरण नं.१५)
पुनरावेदक वादी तर्फबाट : विद्वान अधिवक्ता श्री हरिहर दाहाल र श्री देवन्द्रलाल नेपाली
प्रत्यर्थी प्रतिवादी तर्फबाट : विद्वान श्री शम्भु थापा
अवलम्वित नजीरः
फैसला
न्या.मीनबहादुर रायमाझीः पुनरावेदन अदालत हेटौडाको फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) को खण्ड (क) को आधारमा मुद्दा दोहोर्याई हेर्ने निस्सा प्रदान भै पुनरावेदन दायरीमा दर्ता भै पेश हुन आएको प्रस्तुत मुद्दाको तथ्य र ठहर यस प्रकार छः
२. बाजे बंगाली राउत अहिरको जेठो छोरा मेरो पिता बृक्षा राउत अहिर, माहिलो जगरनाथ राउत अहिर र कान्छो रघुनाथ राउत अहिर हुन् । बृक्षाको एक मात्र सन्तान छोरी म मंगल मतिया देवीको विवाह सुरज राउत अहिरसँग भएको । जगरनाथ राउतको २ छोरामा जेठो विपक्षी विदेशी राउत र कान्छो सुदेशी राउत हुन् । काका रघुनाथको २ छोरामा जेठो विपक्षी परमा राउत र कान्छो प्रभु राउत अहिर हुन् । विपक्षी रघुनाथ राउत, जगरनाथ राउत, परमा राउत र विदेशी राउत अहिर समेतका नाउँमा मेरो पिताको अंश हक लाग्ने पैतृक जग्गा जमिन निजहरूको नाउँमा दर्ता भए तापनि सो जग्गाहरू संगोलमा अशंवण्डा रहेको छ । पिताको जीवनकालमा संगोल भै बसी भोग गरी आउँदा पिता बृक्षा र आमा महजनी देवीको आ–आफ्नो कालगतिले क्रमश २०५०।१२।२९ र २०५१।७।१५ मा मृत्यु भयो । पिताको अंश हक लाग्ने संगोलको श्रीसम्पत्तिको ३ खण्डको १ खण्ड अंश भागमा म एकमात्र सन्तान छोरीको अपुताली हक लाग्ने जगरनाथ राउतका नाउँमा दर्ता रहेको जिल्ला पर्सा भवानीपुर गा.वि.स.वडा नं. ३ कि.नं. ८० क्षेत्रफल ०–८–०, ऐ.कि.नं. २८३ क्षेत्रफल ०–०–१७ ,ऐ. मनियारी गा.वि.स. वडा नं. १ कि.नं. ३७ क्षेत्रफल ०–५–१०, ऐ.वडा नं. ३ कि.नं.१९ क्षेत्रफल ०–११–१०, ऐ.कि.नं. ३९ क्षेत्रफल ०–२–० , ऐ कि.नं.७९ क्षेत्रफल ०–४–४ , ऐ. वडा नं.४ कि.नं. १४९ क्षेत्रफल ०–२–१९ , ऐ. कि.नं.२७ क्षेत्रफल ०–०–१६, ऐ. वडा नं. ३ कि.नं. ९६ क्षेत्रफल ०–०–४, ऐ.कि.नं. ९७ क्षेत्रफल ०–०–१३, ऐ.वडा नं.४ कि.नं. २५२ क्षेत्रफल ०–२–१४, ऐ.कि.नं.२५३ क्षेत्रफल ०–०–१, ऐ.वडा नं.३ कि.नं. ९४ क्षेत्रफल ०–०–१, ऐ.कि.नं.९५ क्षेत्रफल ०–६–१८, ऐ.कि.नं. ४२ क्षेत्रफल ०–०–७।।, ऐ.कि.नं.२८ क्षेत्रफल ०–०–१०।। र रघुनाथ राउतको नाउँमा दर्ता रहेको ऐ.ऐ.को कि.नं. ४० क्षेत्रफल ०–०–१२, ऐ.कि.नं. ४१ क्षेत्रफल ०–०–१५, ऐ वडा नं.४ कि.नं. २०८ क्षेत्रफल ०–५–१७।।, ऐ.कि.नं. २०९ क्षेत्रफल ०–४–१० र परमा राउतको नाउँमा दर्ता रहेको ऐ.वडा नं. ४ कि.नं. ३४२ को क्षेत्रफल ०–२–१० साथै विदेशी राउतका नाउँमा दर्ता रहेको ऐ.कि.नं. २६ क्षेत्रफल ०–०–१५ र ऐ.कि.नं. २६१ को क्षेत्रफल ०–६–५ समेतका विभिन्न कित्ता जग्गा जमिन मेरा नाउँमा दर्ता गरि दिन विपक्षीहरूसँग बारम्बार भन्दा आलटाल गरी नदिनु भएकोले मेरो अपुताली हक पर्न आएको सम्पूर्ण जग्गा र घरको ३ खण्ड गरी जग्गा पूर्व तर्फबाट ३ खण्डको १ खण्ड भागमा अपुतालीको २ र ४ नं. अनुसार मेरा नाउँमा नामसारी दर्ता गरी चलन समेत पाउँ भन्ने व्यहोराको फिराद पत्र ।
३. फिरादी अपुतालीको हकदार नहुँदा दावी बमोजिम ३ खण्डको १ खण्ड अपुताली कायम हुने होइन । बृक्षा राउतको छोरा नभएको र ०४०।०४२ साल तिर निजको र निजको श्रीमतीको ४।५ वर्ष अगाडि मृत्यु भै सकेको छ । वादीको विवाह भारत जिल्ला पूर्वी चम्पारण थाना दरवा पोष्ट पुरैनिया ग्रा.भवानीपुर बस्ने विश्वनाथ राउतसँग भएको र निजको सत्य डगाई पर्सा मनियारी वडा नं. १ बस्ने सुरज राउतसँग पोइल गई बसेकी हुँदा निजको अपुतालीमा हक हुन सक्दैन । पिताको ०४०।०४२ सालमा र आमाको परलोक भएको ४।५ वर्ष व्यतित भै सकेपछि प्रस्तुत फिराद अपुतालीको १८ नं. को हदम्याद नाघी सकेको छ । वृक्षा राउत र निजको पत्नीको संगोलमै रहँदाको अवस्थामा परलोक भएकोले बाँकी रहेका २ भाई अंशियार रहेकोले वादी अपुतालीको हकदार हुने अवस्था रहदैन । हामी प्रतिवादीहरूबीच अंश मुद्दा परी यी वादी समेत बसी सल्लाह गरी २०५३।७।११ मा अदालतबाट मिलापत्र भएको छ । विवाहिता लोग्नेको सत्य डगाएको कारण चाडवाडमा नबोलाएको रिसइवीले दुःख दिने उद्देश्यले दिएको फिराद खारेज गरिपाऊँ भन्ने व्यहोराको प्रतिवादीहरूको संयुक्त प्रतिउत्तर पत्र ।
४. अंशवण्डाको १ नं. को व्यवस्था अनुसार संगोलका जिवित अंशियार बीच जिय जियकै मात्र अंश भाग लाग्ने देखिन्छ । वादीका बाबु आमाले नै आफ्नो अंश हक कायम नगराई सकेको स्थितिमा प्राप्त नै नभएको अंशमा अपुताली पर्न सक्ने अवस्था समेत नहुँदा त्यस्तो सम्पत्तिमा अपुताली हक कायम गरिपाऊँ भन्ने वादी दावी पुग्न सक्दैन भन्ने समेत व्यहोराको शुरु पर्सा जिल्ला अदालतको मिति २०५४।११।१९ को फैसला ।
५. पिता माताबाट म मात्र एकजना छोरी भई विपक्षीहरूसँग संगोलमै रहे बसेको अवस्था वहाँहरूको मृत्यु भएको हुँदा मेरो पिता माताको अंश भागमा पर्ने सम्पत्तिमा मेरो अपुताली हक हुने कुरा अंशवण्डाको ३ र ५ नं. मा स्पष्ट व्यवस्था हुँदा हुँदै अंशवण्डाको १ नं. को गलत व्याख्या गरी सोही आधारमा गरिएको पर्सा जिल्ला अदालतको त्रुटीपूर्ण फैसला बदर गरी दावी बमोजिम अपुताली हक कायम गरिपाऊँ भन्ने समेत व्यहोराको वादीको पुनरावेदन अदालत हेटौडामा परेको पुनरावेदन पत्र ।
६. वृक्षा राउत र निजकी पत्नीका मरणोपरान्त निजहरूको अपुताली खाने हक मात्र पाएकी विवाहिता छोरी जसको कानूनी हैसियत अंशियारको छैन त्यसले अंश हक सम्बन्धमा निक्र्यौल गराई लिन पाउने अवस्था भएन । वादीको बाबु र आमाले आफ्नो जीवनकालमा अंश हक कायम गराई नलिएको सम्पत्तिमा निजहरूको मरणोपरान्त दावी गर्ने हक विवाहिता छोरी वादी पुनरावेदीकाको नभएकोले वादी दावी नपुग्ने ठहर्याएको पर्सा जिल्ला अदालतको फैसला मिलेकै देखिनाले सदर हुने ठहर्छ भन्ने समेत व्यहोराको पुनरावेदन अदालत हेटौडाको मिति २०५५।३।१ को फैसला ।
७. आफ्नो जीवनकालमा अंशहक कायम नगराउने स्वर्गवासी अंशियारहरूका हकवालाले पूर्ववर्तीको हक नै धारणा गर्न नसक्ने तर्क गरी अ.वं. ८२ नं. को व्याख्यात्मक त्रुटी गरिएको छ। अंश हक नछुट्टिएको सम्पत्तिमा अपुताली हकको सृजना हुन सक्दैन भनी अपुतालीको ४,५ नं., अंशवण्डाको ५ नं. को गलत व्याख्या गरी अ.ब. १८४ क, १८५ र १८९ तथा प्रमाण ऐन, २०३१ को दफा ३, ५४ को गंभिर कानूनी त्रुटी गरी यस अदालतबाट प्रतिपादित सिद्धान्त विपरीत भएको पुनरावेदन अदालत हेटौडाको फैसला न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) को खण्ड (क) र (ख) को आधारमा मुद्दा दोहोर्याई हेरी वादी दावी बमोजिम इन्साफ पाउँ भन्ने समेत व्यहोराको वादीको यस अदालतमा परेको निवेदन पत्र ।
८. यसमा सम्बन्धित शुरु, रेकर्ड भए प्रमाण मिसिल समेत झिकाई आएपछि साथै राखी नियम बमोजिम पेश गर्नु भन्ने यस अदालतको मिति २०५६।११।१ को आदेश ।
९. यसमा, वृक्षा राउत र निजको स्वास्नीको मृत्यु उप्रान्त निजहरूको छोरा नभए पनि छोरी मंगलमतिया देखिएकोले अपुतालीको महलको २ नं. को व्यवस्था प्रतिकूल छोरीले अपुताली नपाउने गरी पुनरावेदन अदालत हेटौडाबाट भएको फैसलामा अपुतालीको महलको २ नं. को व्याख्यात्मक त्रुटी विद्यमान रहेकोले न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) को खण्ड (क) को आधारमा दोहोर्याउने निस्सा प्रदान गरिएको छ । नियमानुसार गरी पेश गर्नु भन्ने मिति २०५७।७।३० को यस अदालतको आदेश ।
१०. प्रत्यर्थी प्रतिवादीहरू परमा राउत अहिर, प्रभु राउत अहिर, रघुनाथ राउत अहिर, विदेशी राउत अहिर र सुदेशी राउत अहिर समेत ५ जना रहेकोमा निजहरूको नाउँमा तामेल भएको मिति २०५७।११।१६।३ को सवै म्यादमा उत्तर मुख भएको खपडाको घरमा तामेल भएको भन्ने जनाई म्याद तामेल भएको स्थिति देखिएको र कुनै पनि प्रत्यर्थीहरू अदालतमा उपस्थित हुन नआएको अवस्था हुँदा मिति २०५७।११।१६ मा तामेल भएको म्याद बदर गरी दिएको छ । पुनः प्रत्यर्थीहरूको नाउँमा अर्को म्याद जारी गरी अ.बं. ११० नं. को रित पुर्याई तामेल गरी नियम बमोजिम पेश गर्नु भन्ने मिति २०६१।९।१ को यस अदालतको आदेश ।
११. वादीले दावी लिएका घर जग्गा निजको बाबु आमाको नाउँमा नरहेको र अंश हक कायम गराई नसकेको अवस्था अपुतालीको २ नं. आकर्षित हुन सक्दैन । अंशवण्डाको ५ नं. तथा अपुतालीको ४ र ५ नं. को दावी प्रस्तुत मुद्दाको विषय वस्तुसँग सान्दर्भिक समेत नहुँदा दावी नपुग्ने ठहर्याई भएको शुरुको फैसला सदर गरेको पुनरावेदन अदालतको फैसला सदर कायम राखी पाउँ भन्ने समेत व्यहोराको प्रतिवादीहरूको यस अदालतमा परेको लिखित प्रतिवाद ।
१२. नियम बमोजिम दैनिक मुद्दा पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक तर्फबाट रहनु भएका विद्वान अधिवक्ताहरू श्री हरिहर दाहाल र श्री देवेन्द्रलाल नेपालीले वादीका बाबुले नै आफ्नो जीवनकालमा अंश नलिएको भन्ने आधारमा भएको शुरु र पुनरावेदन अदालतको फैसला अपुतालीको २ नं. को दावी लिएको सन्दर्भमा मिलेको छैन । प्रतिवादीहरूले वादीको अपुताली हकमा असर पर्ने गरी अपुताली मुद्दा परी सकेपछि वादीका बाबु तथा आमाको मृत्यु दर्ता प्रमाण पत्र बनाएको देखिएको छ । अपुतालीको १, २ र ५ नं. तथा अंशवण्डाको ५ नं. को कानूनी व्यवस्था विपरीत फैसला भएको छ । अंश मुद्दामा मिलापत्र गराएर अपुतालीको दावीलाई निरर्थक बनाइएको छ । बाबु आमाको हकको सम्पत्ति छोरीले अपुताली पाउने निर्विवाद देखिएकोमा अंशवण्डा नभएर बसेको अंशियारको अपुताली कायम नहुने भन्न मिल्दैन । तीन दाजु भाईको बीचमा अंशवण्डा नभएको भन्ने कुरामा विवाद छैन । अंश नभै सकेको अवस्थामा अपुताली पाउन नसक्ने भनी फैसलामा लिएको तर्क कानुन विपरीत छ । जो मरी अपुताली परेको हो उसै तर्फकाले अपुताली पाउने स्पष्ट कानूनी व्यवस्था भएकोमा वृक्षाको एक मात्र सन्तान छोरी मंगलमतियाले सो अपुताली नपाउने अवस्था छैन । मंगलमतियाको नाममा सम्पत्ति नै आएको छैन भन्ने तर्क गरी छोरा राजाप्रसादले नपाउने भन्न मिल्दैन । प्रस्तुत मुद्दामा तत्कालिन अपुतालीको महलको ४ नं.को व्याख्या गरी शुरु जिल्ला अदालत र पुनरावेदन अदालतको फैसला बदर हुनु पर्छ भन्ने समेत व्यहोराको बहस प्रस्तुत गर्नु भयो । त्यसै गरी प्रत्यर्थी तर्फबाट रहनु भएका विद्वान अधिवक्ता श्री शम्भु थापाले वृक्षाको सम्पत्ति अपुतालीमा दावी गरे पनि निजका नाउँमा जग्गा दर्ता छैन । जगरनाथ र रघुनाथको नाउँमा दर्ता भएको सम्पत्तिमा वृक्षाको छोरीले दावी गर्न मिल्दैन । अपुताली र अंश भन्ने अलग-अलग विषय भएको कुरामा सिद्धान्त स्थापित भएका छन् । अंश पाउन जिवित रहनु पर्ने कुरा अंशवण्डाको १ नं. ले गरेको छ । अंशी मरेपछि सो सम्पत्ति त्यहीँ समाहित हुन्छ । अपुतालीको महलले अपुताली पाउनलाई पालन पोषण र हेरविचारलाई प्रश्रय दिएको देखिन्छ । छोरी हुने बित्तिकै स्वतः अपुताली पाउने अवस्था समेत रहँदैन । वृक्षा र निजको पत्नीको हेरविचार संगोलकै दाजुभाईबाट भएको देखिन्छ । वृक्षाको सम्पत्तिमा हक कायम हुन अपुतालीको कानूनी व्यवस्थाले वादीलाई मद्दत गर्न सक्दैन । अपुतालीमा दावी गर्ने मंगलमतिया देवीको मृत्यु भै सकेको अवस्थामा निजका छोरा राजाप्रसादले दावी गर्न मिल्दैन । सम्पत्ति नभएको अवस्थामा कस्को सम्पत्ति पाउने हो दावी नै स्पष्ट छैन । शुरु र पुनरावेदन अदालतले गरेको इन्साफ कायम हुनुपर्छ भन्ने समेत व्यहोराको बहस गर्नु भयो।
१३. उपर्युक्त विद्वान अधिवक्ताहरूको बहस सुनी पुनरावेदन सहितको मिसिल अध्ययन गरी निर्णय तर्फ विचार गर्दा वादी दावी पुग्न नसक्ने ठहर्याई भएको पर्सा जिल्ला अदालतको फैसला सदर गरेको पुनरावेदन अदालत हेटौडाको फैसला मिले नमिले सम्बन्धमा निर्णय दिनु पर्ने देखिन आयो ।
१४. निर्णय तर्फ विचार गर्दा, बाजे वंगाली राउत अहिरको ३ छोरा मध्ये जेठो बाबु वृक्षा राउत अहिर र आमा महजनीको मृत्यु भै सकेको र म एक मात्र सन्तान छोरी भएकोले सम्पुर्ण जग्गा र घरको ३ खण्ड गरी जग्गा पूर्व तर्फबाट अपुताली हक कायम गरी ३ खण्डको १ खण्ड जग्गा मेरो नाउँमा दर्ता गराई चलन समेत पाउँ भनी बाबुको अंश हकको घर जग्गाहरूमा अपुतालीको २ र ४ नं. बमोजिमको दावी लिएको देखियो । मुलपुरुष वगांली राउत अहिरका छोराहरू मध्ये जेठो वृक्षा राउत, माहिलो जगरनाथ राउत र कान्छो रघुनाथ राउत अहिर भएको पुस्तावारी देखियो । वृक्षा राउत र निजको श्रीमती महजनी देवीको एकमात्र सन्तान वादी मंगलमतिया देवी भएको र वृक्षा समेतका ३ अंशियार संगोलमै रहेबसेको अवस्थामा वादीका बाबु वृक्षा र आमा महजनीको मृत्यु भएकोमा समेत वादी प्रतिवादी दुवै पक्षको मुख मिलेकै देखियो । वादी मंगलमतिया देवीले लोग्नेको सत्य डगाई पोइल गएकी र वादीको फिराद हदम्याद नाघी परेको भन्ने प्रतिउत्तर जिकिर लिएको देखियो । तत्कालिन अपुतालीको २ नं. ले अपुताली पर्दा मर्नेको लोग्ने, स्वास्नी, छोरा वा छोराको छोरा भएसम्म छोरीले अपुताली पाउँदैन । त्यस्ता कोही नभए छोरीले अपुताली पाउँछ । छोरीहरूमध्ये कोही कन्या र कोही विवाह भएकी वा पोईल गएकी भए प्रत्येक कन्या छोरीले दुई खण्ड र प्रत्येक विवाह भएकी वा पोइल गएकी छोरीले एक खण्डको हिसाबले अपुताली पाउँछ । छोरी नभएसँग बसेका हकवाला भए त्यस्ता हकवालाले र त्यस्ता हकवाला नभए अरू हकवालाले अपुताली पाउँछ भन्ने व्यवस्थाले मर्नेको लोग्ने, स्वास्नी, छोरा वा छोराका छोरा नभएको अवस्थामा छोरीले अपुताली पाउन सक्ने अवस्था देखियो । त्यसैगरी सँग बसेका वा भिन्न बसेका बाबु छोरामा अघिबाट छोरो र पछिबाट बाबु मरी अपुताली परेकोमा त्यो अपुताली छोरीहरूले पाउने रहेछन् भने बाबुकी छोरी र छोराकी छोरी दुवै भए दुवैले बाँडी खान पाउँछन् । भिन्न नभैसँग बसेका अरू अंशियारहरूमा सबै मरी अपुताली पाउने भएमा सबै अंशियारका छोरीहरूले ऐन बमोजिम बाँडी खान पाउँछन् । लेखिए बाहेक अरू अवस्थामा पछिबाट जो मरी अपुताली परेको हो उसैतिरका छोरीले मात्र अपुताली पाउँछन् भन्ने तत्कालिन अपुतालीको ४ नं. मा कानूनी व्यवस्था रहेको देखिन्छ । उल्लेखित कानूनी व्यवस्था अनुसारसँग बसेका सबै अंशियार मरी अपुताली पाउने भएमा सबै अंशियाराको छोरीले बांडी खान पाउने अवस्था बाहेकको अवस्थामा जो मरी अपुताली परेको उसैको छोरीले अपुताली पाउने कानुनी व्यवस्था भएको सन्दर्भमा वृक्षा राउत र निजको श्रीमती महजनी देवीको छोरा नभई एक मात्र सन्तान छोरी मंगलमतिया देवी भएको अवस्थामा निजले बाबु वृक्षाको अपुतालीमा दावी गर्न नपाउने भन्न तत्कालिन अपुतालीको २ र ४ नं.को व्यवस्थाले मिल्ने देखिएन ।
१५. वादीका बाबु वृक्षा राउत समेतका अंशियाराहरू बीच अंश नभएको भन्ने तथ्यमा कुनै विवाद देखिएको छैन । अंश नभै संगोलमा बसेका अंशियार अंशवण्डा नहुँदै मृत्यु भै अपुताली परेमा अंशवण्डा नभै सम्पत्ति नछुट्टिएको कारणले अपुतालीको हैसियत कायम नहुने भन्न अपुतालीको महलको तत्कालको ४ नं. ले भिन्न नभै सँग बसेका अंशियार सबै मरी अपुताली परेमा सबै अंशियारका छोरीले बाँडी खान पाउने र पछिबाट जो मरी अपुताली परेको हो उसै तिरका छोरीले अपुताली पाउँछन् भन्ने भएबाट अंशवण्डा भै वण्डा छुट्टिनु पर्ने अवस्था कानूनको रहेको देखिएन । वादी मंगलमतिया वृक्षा राउत अहिरको छोरी भन्ने तथ्यमा विवाद नरहेको, वृक्षाको छोरा नभै निजको श्रीमती महजनी देवी मरी परेको अपुतालीमा निजको छोरीको हक लाग्न नसक्ने भन्न उपरोक्त कानुनी व्यवस्थाले मिल्ने नहुँदा वृक्षा र निजको श्रीमती महजनी देवी मरी वृक्षा राउतको अंश भागमा परेको अपुताली वादी मंगलमतिया देवीले पाउने नै देखियो । तसर्थ वादी दावी पुग्न नसक्ने ठहर्याएको शुरु पर्सा जिल्ला अदालतको फैसला सदर गरी भएको पुनरावेदन अदालत हेटौडाको मिति २०५५।३।१ को फैसला मिलेको नदेखिदा उल्टी भई वादीको अपुताली हक कायम हुने ठहर्छ । अरू तपसील बमोजिम गर्नु ।
तपसिल
माथि इन्साफ खण्डमा लेखिए बमोजिम वादी दावी बमोजिम वृक्षा राउत अहिरको अंश भागमा पर्ने सम्पत्तिमा वादीको अपुताली हक कायम हुने ठहरेकोले जग्गा छुट्याई चलन चलाई पाउँ भनी ऐनका म्याद भित्र वादीको दरखास्त परे फिराद पत्रमा उल्लेख गरेका मिसिलबाट विवाद नदेखिएका निम्न कित्ता जग्गाबाट ३ भागको १ भाग छुट्याई वादीको नाममा नामसारी गरी चलन चलाई दिन शुरु पर्सा जिल्ला अदालतमा लगत दिनु ....१
जगरनाथ राउतको नाममा दर्ता रहेको
जिल्ला पर्सा
गा.वि.स वडा नं. कि.नं.
भवानीपुर ३ ८०
” ३ २८३
मनियारी १ ३७
” ३ १९
” ३ ३९
” ३ ७९
” ४ १४९
” ४ २७
” ३ ९६
” ३ ९७
” ४ २५२
” ४ २५३
” ३ ९४
” ३ ९५
” ३ ४२
” ३ २८
रघुनाथ राउत अहिरको नाउँमा दर्ता रहेको
जिल्ला : पर्सा
गा.वि.स वडा नं. कित्ता नं.
मनियारी ३ ४०
,, ३ ४१
” ४ २०८
” ४ २०९
परमा राउत अहिरको नाउँमा दर्ता रहेको
जिल्ला पर्सा
गा.वि.स. वडा नं. कित्ता नं.
मनियारी ४ ३४२
विदेशी राउतको नाउँमा दर्ता रहेको
जिल्लाः पर्सा
गा.वि.स. वडा नं. कित्ता नं.
मनियारी ४ २६
” ४ २६१
वादीले फिराद दायर गर्दा रु. १९८४।२० कोर्टफी राखेको देखिँदा उक्त कोर्टफी सदर स्याहा गर्नु र वादीले प्रतिवादीबाट भराई पाउने कोर्ट फी बापतको रु.१९८४।२० भराई पाउँ भनी प्रतिवादीहरूको जेथा देखाई कानूनका म्याद भित्र वादीले दरखास्त दिए भरार्ई दिनु भनी शुरु पर्सा जिल्ला अदालतमा लगत दिनु ....२
मिसिल नियम बमोजिम बुझाई दिनु ...३
उक्त रायमा सहमत छु ।
न्या.पवनकुमार ओझा
इजलास अधिकृत (शा.अ.) पुनाराम खनाल
इति सम्बत् २०६४ साल आश्विन २१ गते रोज २ शुभम् .........।