निर्णय नं. ७८५९ - आयकर

निर्णय नं. ७८५९ ने.का.प.२०६४ अङ्क ६
सर्वोच्च अदालत संयुक्त इजलास
माननीय न्यायाधीश श्री रामप्रसाद श्रेष्ठ
माननीय न्यायाधीश श्री पवनकुमार ओझा
सम्बत् २०५९ सालको फौ.पु.न ३०६६
फैसला मितिः २०६४।३।२८।५
मुद्दा :- आयकर ।
पुनरावेदकः ल.पु.जि.ल.पु.उ.म.न.पा. शहीद शुक्रमार्ग कुपण्डोल स्थित १६/२०७१ होटल हिमालय प्रा.लि.का. तर्फबाट अख्तियार प्राप्त ऐ.ऐ. वार्ड नं. १ घर भै ऐ होटलमा अर्थ नियन्त्रक पदमा कार्यरत लक्ष्मण नारायण श्रेष्ठ
विरूद्ध
प्रत्यर्थीः नेपाल सरकार, अर्थ मन्त्रालय, कर कार्यालय, ललितपुर समेत
§ कुनै करदाताले सालभर गरेको आम्दानी खर्चको हिसाब किताब सो वर्षको अन्तमा कानून बमोजिम गणना गर्दा नाफा भएमा त्यसलाई सो व्यक्तिको सो वर्षको आय मानिन्छ । त्यस्तो करको दर आयकर ऐन, २०३१ को दफा ४ को व्यवस्था आय वर्षको अन्तिम दिन कायम रहेको कर दर अनुसार निर्धारण गरिन्छ । छुटफुट कारोबार गरि आय गरेकोमा बाहेक आयकर जहिले पनि पुरै एक वर्षको आयमा लगाइने हुँदा आयकरको प्रयोजनको लागी पूर्ण वर्ष नै आयकर प्रयोजनको निमित्त आधार हुन्छ यद्यपि खास अवस्था र स्थितिका आयको सन्दर्भमा जुन बेला आय भयो त्यसैमा आयकर लाग्ने लगाउने गरी कानूनी व्यवस्था गर्न सकिने ।
§ आयकरको दर आयवर्षको अन्तिममा कायम रहेको दर हुने हुँदा सो आयवर्षमा पटक पटक कानूनले आयकरको दर संशोधन गरे पनि आयवर्षको अन्तिम दिन अर्थात आषाढ मसान्तका दिन कायम रहेको दरबाटै करदाताको आयकरको निर्धारण हुनपर्ने ।
§ जहिले पनि आयकर अघिल्लो वर्षभरि गरेको कारोबार वा प्राप्ती खर्चहरू पछिल्लो वर्षमा हिसाब किताब गरी नाफा वा नोक्सान एकिन गर्नु पर्ने हुँदा वर्षको अन्तिममा कायम रहेको करको दर अनुसार आयकर निर्धारण गर्ने कुराको औचित्य समेत पुष्टि हुन्छ । तसर्थ वर्षभरि लगातार कारोबार गर्ने करदाताको हकमा आयकरको दर कहिल्यै पनि एक भन्दा बढी हुन नसक्ने ।
(प्रकरण नं.१२)
पुनरावेदक तर्फबाट : विद्वान अधिवक्ता श्री शम्भु थापा
प्रत्यर्थी तर्फबाट : विद्वान उपन्यायाधिवक्ता श्री रेवतीराज त्रिपाठी
अवलम्वित नजीरः
फैसला
न्या.पवनकुमार ओझाः राजश्व न्यायाधीकरण, काठमाडौको मिति २०५८।६।१६।३ को फैसला उपर पुनरावेदक होटलको तर्फबाट राजश्व न्यायाधीकरण ऐन, २०३१ को दफा ८ बमोजिम यस अदालत समक्ष पुनरावेदनको अनुमति पाउँ भन्ने निवेदन परी यस अदालतबाट मिति २०५९।६।३ मा अनुमति भै पुनरावेदनमा दायर भएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा र निर्णय यस प्रकार छ:-
२. पुनरावेदक करदाताले आर्थिक वर्ष ०५३।५४ मा होटल उद्योगबाट आयकर प्रयोजनको लागि खुद आय रु.६०,३३,४५५।६१ देखाई कर रु.१२,०६,६९१।१२ मध्ये रु.१७,११,८८६।९९ अग्रिम दाखिल गरेको उल्लेख गरी कर कार्यालय, ललितपुरमा पेश गरेको स्वयंकर निर्धारण विवरण ।
३. पेश भएको स्वयंकर निर्धारण विवरणलाई प्रारम्भिक छानविन बमोजिम आ.व. ०५३।५४ मा रु १७,११,८८६।९९ दाखिल गरेकोमा यस आ.ब.मा लाग्ने कर रु.१६,४०,४३८।७२ कटाई बाँकी बढी रु.७१,४४८।२७ आगामी आ.ब.मा मिलान गरिने भन्ने समेत व्यहोराको मिति ०५४।११।२२ को कर कार्यालय, ललितपुरको निर्णय ।
४. औद्योगिक व्यबसाय ऐन, २०४९ को (पहिलो संशोधन २०५४ जारी मिति २०५४।२।२६) को दफा १५ (ङ) बमोजिम २० प्रतिशत आयकर निर्धारण गर्नु पर्नेमा उक्त संशोधन जारी भएको मिति २०५४।२।२६ भन्दा अगाडिको दिनहरूमा २० प्रतिशत कायम नगरी २८ प्रतिशत कायम गर्ने गरेको निर्णय कानून विपरीत भएको हुँदा बदर गरी उद्योगले पेश गरेको विवरण बमोजिम आयकर निर्धारण गरिपाऊँ भन्ने समेत व्यहोराको पुनरावेदकको पुनरावेदन जिकिर ।
५. यसमा शुरु निर्णय विचारणीय हुँदा छलफल निमित्त सरकारी वकील झिकाई नियमानुसार पेश गर्नु भन्ने समेत व्यहोराको राजश्व न्यायाधिकरणबाट भएको आदेश ।
६. खुद आय कायम गरे सम्बन्धमा पुनरावेदक सहमतै भएको मिसिलबाट देखिएको र प्रतिशत लगाएको मिले नमिलेको सम्बन्धमा मिसिल संलग्न प्रमाण कागजातहरू हेर्दा औद्योगिक व्यवसाय ऐन, २०४९ लाई (संशोधन गर्न बनेको औद्योगिक व्यवसाय पहिलो संशोधन) अध्यादेश, २०५४ मिति ०५४।२।२७ देखि लागू हुने गरी नेपाल राजपत्रमा २०५४।२।२७ मा सूचना प्रकाशित भएको र सो जारी अध्यादेशमा २० प्रतिशतले कर लगाउने व्यवस्था गरेको अध्यादेश मिति ०५४।२।२७ देखि लागु हुने स्पष्ट कानूनी व्यवस्था भएको र सोही आधारमा मिति ०५४।२।२७ भन्दा अगाडिको अवधिको लागि साविकको कानूनी व्यवस्था बमोजिम कै करको इकाई दर लगाई तत्पश्चात मिति ०५४।२।२७ देखि बाँकी अबधिको लागि ०५४।२।२७ मा प्रकाशित सूचना बमोजिमको करको इकाई दर लगार्ई शुरु कार्यालयले गरेको निर्णयलाई कानून अनुरूप भएन भन्न मिल्ने नदेखिएको अवस्थामा प्रस्तुत पुनरावेदक करदाताले मिति ०५४।२।२७ मा प्रकाशित सूचनाको आधार लिई सो मिति अगावैको अवधिको हकमा समेत पछि आएको सूचना बमोजिम नै करको इकाई दर लगाइनु पर्छ भनी लिएको पुनरावेदन जिकिरसँग सहमत हुन सक्ने कानूनी आधार समेत नदेखिएको अवस्थामा पुनरावेदक करदाताको आ.ब. २०५०।५१ को लागि शुरु कार्यालयबाट खुद आय कायम गर्ने सम्बन्धमा निर्णय गर्दा औ.व्य. ऐन, २०४९ संशोधन मिति २०५४।२।२६ देखि आयकर दरमा सुविधा दिएको देखिँदा मिति ०५२।५।२५ मा खडा गरेको निर्णय पर्चा र सोही आधारमा भएको आयकर निर्धारण आदेश मनासिव ठहर्छ भन्ने राजश्व न्यायाधीकरण, काठमाडौंको मिति २०५८।६।१६।३ को फैसला ।
७. राजश्व न्यायाधीकरणको उक्त फैसलामा चित्त बुझेन । होटलको नाफा नोक्सान हिसाब गरी रु.९३७६३७८।२१ नोक्सान भएको भनी स्वयम् कर निर्धारणमा रु.६०,३३,४५५।६१ खूद आय कायम गरी औद्योगिक व्यवसाय ऐन, अनुसार २०% लाग्ने करको हिसाब गरी रु.१२,०६,६९१।१२ स्वयम कर निर्धारण विवरणमा उल्लेख गरी पेश गरेकोमा सो कर विवरणलाई अमान्य गरी गरेको कर कार्यालयको कर निर्धारण आदेशलाई राजश्व न्यायाधीकरण काठमाडौंले प्रमाणको मूल्यांकन नै नगरी सदर गरेको त्रुटीपूर्ण छ । आ.व. ०५३।५४ को कर निर्धारण गर्दा आ.ब.को अन्त्यमा हाल बहाल रहेको कानून बमोजिम मात्र स्वयम् आयकर निर्धारण गर्नु पर्ने व्यवस्था आयकर ऐन, २०३१ को दफा ४ मा छ । सोही व्यवस्था र औद्योगिक ब्यवसाय ऐन, २०४९ को पहिलो संशोधनको दफा १५ (ङ) बमोजिम पनि निवेदक उद्योगले स्वयम् कर निर्धारण गरी पेश गरेको कर विवरणलाई अमान्य गरी साविक देखिको कानूनी व्यवस्था बमोजिम नै २८% ले कर निर्धारण गर्ने गरी भएको शुरु कर कार्यालयको निर्णय र सोलाई सदर गरेको राजश्व न्यायाधीकरणको फैसला समेत आयकर ऐन, २०३१ को दफा ४ औद्योगिक ब्यवसाय ऐन, २०४९ को दफा १५(ङ) तथा सर्वोच्च अदालतबाट प्रतिपादित कानूनी सिद्धान्त समेतको विपरीत भै त्रुटीपूर्ण रहेको छ । आ.ब. ०५३।५४ को अन्त्यमा बहाल रहेको ऐन अनुसार २०% र साविक ऐन बमोजिम २०% कर निर्धारण गर्नु पर्नेमा उक्त ऐन संशोधन भई नेपाल राजपत्रमा प्रकाशित भएको मिति २०५४।२।२६ भन्दा अगाडिको साविक ऐन बमोजिम ३२८ दिनको २०% कायम नगरी हचुवाको भरमा २८% कर निर्धारण गरेको निर्णय सदर गरेको राजश्व न्यायाधीकरणको फैसला त्रुटीपूर्ण छ । अध्यादेश जारी हुनु पूर्वको मिति २०५४।२।२६ सम्म ३२८ दिनको २८% ले रु.१५,१८,११६।६१ र २०५४।२।२७ देखि असार मसान्त सम्म ३७ दिनको आयकर २०% ले रु.१२२३२२।११ समेत जम्मा रु१६,४०,४३८।७२ कर लाग्ने भनी भएको कर निर्धारण आदेश अनुसार करदाताले रु.१७,११,८८६।९९ अग्रिम कर दाखिला गरेकोमा सो कट्टा गरी बाँकी हुन आउने रु.७१४४८।२७ आगामी आ.व.मा मिन्हा गर्ने भनी गरेको कर कार्यालयको निर्णय र सोलाई सदर गरेको राजश्व न्यायाधीकरणको फैसला समेत बदर गरी करदाताले उक्त आ.व.मा दाखिला गरेको कर विवरण नै कायम गरिपाऊँ भन्ने समेत व्यहोराको होटल हिमालय प्रा.लि.का तर्फबाट अख्तियार प्राप्त सोही होटलका अर्थ नियन्त्रक लक्ष्मणनारायण श्रेष्ठको यस अदालतमा परेको निवेदन पत्र ।
८. यसमा औद्योगिक व्यवसाय ऐन, २०४९ (पहिलो संशोधन जारी मिति २०५४।२।२७) को दफा १५ (ङ) बमोजिम २०% आयकर निर्धारण गर्नु पर्नेमा नगरी २८% कर कायम गर्ने गरी भएको कर कार्यालय ललितपुरको निर्णय कानून विपरीत हुँदा बदर गरिपाऊँ भन्ने निवेदकको पुनरावेदन जिकिर देखिन्छ । आयकर ऐन, २०३१ को दफा ४ मा सालबसाली वा कुनै एक सालको निमित्त आयकर लगाउने गरी कुनै ऐनबाट व्यवस्था भएमा यस्तो आयकर यो ऐन र यस ऐन अन्तर्गत बनेको नियम बमोजिम करदाताले अघिल्लो आयवर्ष भित्र आर्जन गरेको वा प्राप्त गरेको आयमा यस्तो आयवर्षको अन्तिम दिन लागू रहेको आयकरको दर बमोजिम निर्धारण गरी असूल उपर गरिनेछ भन्ने व्यवस्था रहेको देखिन्छ भने मिति २०५४।२।२७ मा जारी भएको औद्योगिक व्यवसाय (पहिलो संशोधन) अध्यादेश, २०५४ को दफा १५ (ङ) मा चुरोट, बिंडी, सिगार, खानेसूर्ती, खैनी र सूर्ती मुख्य कच्चा पदार्थ हुने यसै प्रकारका अन्य बस्तु उत्पादन हुने उद्योग, मदिरा वा वियर उत्पादन गर्ने उद्योग बाहेक अन्य उद्योगबाट आर्जित आयमा २०% भन्दा बढी कर लगाइने छैन भन्ने व्यवस्था रहेको देखिन्छ । उल्लेखित कानूनी व्यवस्थाहरू र ने.का.प. २०४६ नि.नं. ३९००, ने.का.प. २०५१ नि.नं. ४९६०, ने.का.प. २०५३ नि.नं. ६१५१ मा प्रतिपादित कानूनी सिद्धान्तहरू समेतको परिप्रेक्ष्यमा राजश्व न्यायाधीकरण, काठमाडौंको मिति २०५८।६।१६ को फैसला फरक पर्न सक्ने देखिँदा राजश्व न्यायाधीकरण ऐन, २०३१ को दफा ८ बमोजिम पुनरावेदनको अनुमति प्रदान गरिएको छ भन्ने यस अदालतको मिति २०५९।४।६।२ को आदेश ।
९. नियमानुसार पेशी सूचीमा चढी निर्णयार्थ यस ईजलास समक्ष पेश भएको प्रस्तुत मुद्दामा पुनरावेदक होटलका तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री शम्भु थापाले औद्योगिक व्यवसाय ऐन, २०४९ लार्ई संशोधन गर्न बनेको विधेयक २०५४ मिति २०५४।२।२७ देखि लागू भई सो अध्यादेशले २०% कर लगाउनु पर्ने व्यवस्था गरेकोमा सोही बमोजिम उक्त आयवर्ष २०५३।०५४ को लागी २०% खूद आयकर लगाउनु पर्नेमा सोको विपरीत मिति २०५४।२।२७ अगाडि सम्म २८% र सो मिति पछिको लागि २०% कर निर्धारण गरी खूद आयकर निर्धारण गरेको शुरू निर्णय सदर गरेको मिलेको छैन भनी र प्रत्यर्थी कर कार्यालय तर्फबाट उपस्थित विद्वान उपन्यायाधिवक्ता रेबतीराज त्रिपाठीले करदाता होटलको खूद आय निर्धारण गरेतर्फ कुनै विवाद नरहेको, औद्योगिक व्यवसाय ऐन, २०४९ लाई संशोधन गर्न बनेको औद्योगिक व्यवसाय पहिलो संशोधन अध्यादेश २०५४ मिति २०५४।२।२७ देखि लागू भएको सन्दर्भमा उक्त अध्यादेश लागू हुने मिति भन्दा अगाडिसम्म बहाल रहेको कानूनी व्यवस्था बमोजिम अध्यादेश लागू हुनु भन्दा अगाडिको मिति सम्मको लागि २८% र अध्यादेश लागू भएपछिको अवधिको लागि सोही अध्यादेशले व्यवस्था गरे बमोजिम २०% कर निर्धारण गरी शुरु कर कार्यालयले गरेको निर्णय सदर गरेको राजश्व न्यायाधीकरणको फैसला मिलेको हुँदा सदर हुनु पर्छ भनी बहस गर्नुभयो ।
१०. उपर्युक्त बमोजिम विद्वान कानून व्यवसायीहरूले प्रस्तुत गर्नु भएको बहस जीकिर सुनी पुनरावेदन सहितको मिसिल अध्ययन गरी विचार गर्दा राजश्व न्यायाधीकरण काठमाडौंको फैसला मिले नमिलेको के रहेछ ? पुनरावेदन जीकिर पुग्न सक्ने हो होइन ? भन्ने सन्दर्भमा हेरी निर्णय दिनु पर्ने देखियो ।
११. निर्णय तर्फ विचार गर्दा प्रस्तुत विवादमा आ.व. २०५३।०५४ को लागि यी करदाता होटलको खूद आय निर्धारण गरे तर्फ पुनरावेदक सहमतै रहेको देखिँदा सो सम्बन्धमा केही विवेचना गरिरहनु परेन । अब उक्त खूद आयमा निर्धारण गरेको करको दर मिलेन भन्ने नै मुख्य पुनरावेदन जीकिर देखिन आई सो सम्बन्धमा विचार गर्दा आयकर ऐन, २०३१ को दफा ४ मा साल बसाली वा कुनै एक सालको निमित्त आयकर लगाउने गरी कुनै ऐनबाट व्यवस्था भएमा यस्तो आयकर यो ऐन र यस ऐन अन्तर्गत बनेको नियम बमोजिम करदाताले अघिल्लो आयवर्ष भित्र आर्जन गरेको वा प्राप्त गरेको आयमा यस्तो आयवर्षको अन्तिम दिन लागू रहेको आयकरको दर बमोजिम निर्धारण गरी असूल उपर गरिनेछ भन्ने कानूनी व्यवस्था रहेको देखिन्छ । औद्योगिक व्यवसाय ऐन, २०५४ मा भएको पहिलो संशोधन अध्यादेश, २०५४ मिति २०५४।२।२७ देखि लागू हुने गरी सोही मितिको राजपत्रमा प्रकाशित भएको र उक्त अध्यादेशको दफा १५(ङ) ले वर्गीकरण गरी तोकिएका उद्योगहरूको लागि २०% आयकर निर्धारण हुने व्यवस्था गरेको देखिँदा आ.व. २०५३।०५४ को अन्तिम दिन अर्थात २०५४ आषाढ मसान्तका दिन सो वर्गीकरण भित्र परेका निवेदक जस्तो उद्योगको लागि आयकरको दर २०% कायम भएको देखिन आयो । उल्लेखित आयकर ऐन, २०३१ को दफा ४ को कानूनी व्यवस्था बमोजिम कर निर्धारण गर्दा कुनै एक आय वर्षको लागि सो आय वर्ष भित्रको खूद आयमा नै त्यस्तो आय वर्षको अन्तिम दिन लागू रहेको आयकरको दर बमोजिम कर असूल उपर गरिने भन्ने स्पष्ट कानूनी व्यवस्था देखिँदा औद्योगिक व्यवसाय ऐन, २०४९ को प्रथम संशोधन अध्यादेश, २०५४ को दफा १५(ङ) बमोजिम सो ऐन अन्तर्गत आयकर लाग्ने उद्योगहरूको लागि आ.व. २०५३।०५४ आयवर्षमा २०% नै कर निर्धारण हुने भन्ने देखिन आउँछ । पुनरावेदक होटल औद्योगिक व्यवसाय ऐन, २०४९ (प्रथम संशोधन अध्यादेश, २०५४ सहितको) दफा १५(ङ) अन्तर्गत आयकर लाग्ने उद्योग रहेको भन्ने देखिँदा होटलको आ.व. २०५३।२०५४ को लाग्ने आयकरको दर २०% नै हुने देखियो ।
१२. आयकर बार्षिक कर हो । कुनै करदाताले सालभर गरेको आम्दानी खर्चको हिसाब किताब सो वर्षको अन्तमा कानून बमोजिम गणना गर्दा नाफा भएमा त्यसलाई सो व्यक्तिको सो वर्षको आय मानिन्छ । त्यस्तो करको दर आयकर ऐन, २०३१ को दफा ४ को व्यवस्था माथि उल्लेख गरे जस्तो आय वर्षको अन्तिम दिन कायम रहेको कर दर अनुसार निर्धारण गरिन्छ । छुटफुट कारोबार गरि आय गरेकोमा बाहेक आयकर जहिले पनि पुरै एक वर्षको आयमा लगाइने हुँदा आयकरको प्रयोजनको लागी पूर्ण वर्ष नै आयकर प्रयोजनको निमित्त आधार हुन्छ यद्यपि खास अवस्था र स्थितिका आयको सन्दर्भमा जुन बेला आय भयो त्यसैमा आयकर लाग्ने लगाउने गरी कानूनी व्यवस्था गर्न सकिन्छ । आयकरको दर आयवर्षको अन्तिममा कायम रहेको दर हुने हुँदा सो आयवर्षमा पटक पटक कानूनले आयकरको दर संशोधन गरे पनि आयवर्षको अन्तिम दिन अर्थात आषाढ मसान्तका दिन कायम रहेको दरबाटै करदाताको आयकरको निर्धारण हुन पर्ने हुन्छ । जहिले पनि आयकर अघिल्लो वर्षभरि गरेको कारोबार वा प्राप्ती खर्चहरू पछिल्लो वर्षमा हिसाब किताब गरी नाफा वा नोक्सान एकिन गर्नु पर्ने हुँदा वर्षको अन्तिममा कायम रहेको करको दर अनुसार आयकर निर्धारण गर्ने कुराको औचित्य समेत पुष्टि हुन्छ । तसर्थ वर्षभरि लगातार कारोबार गर्ने करदाताको हकमा आयकरको दर कहिल्यै पनि एक भन्दा बढी हुन सक्दैन।
१३. उल्लेखित कानूनी व्यवस्था समेतबाट एकजना करदाताको कुनै एक आय वर्ष भित्र दुईवटा फरक फरक दरमा आयकर लाग्न नसक्ने हुँदा प्रत्यर्थी कर कार्यालयका कर अधिकृतले मिति २०५४।२।२७ अघिको लागि २८% का दरले र मिति २०५४।२।२७ पछि २०५४।३ मसान्त सम्मको लागि २०% का दरले आयकरको दर कायम गरी यी पुनरावेदक होटलको आय वर्ष २०५३।०५४ को आय कर निर्धारण गरेको निर्णयलार्ई सदर गरेको राजश्व न्यायाधीकरण काठमाडौंको मिति २०५८।६।१६।३ को फैसला मिलेको देखिएन ।
१४. तसर्थ उपर्युक्त विवेचना गरिएका आधारबाट पुनरावेदक होटलको आ.व. २०५३।०५४ को आयवर्षको लागि कर निर्धारण गर्दा २०% को दरले निर्धारण गर्नु पर्नेमा मिति २०५४।२।२७ अगाडिको लागि २८% र सो मिति पछाडि २०% को दर कायम गरी कर निर्धारण गरेको शुरु कर कार्यालयको निर्णयलाई सदर गरेको राजश्व न्यायाधीकरण काठमाडौंको उक्त मिति २०५८।६।१६।६ को फैसला २८% को दर कायम गरी कर निर्धारण गरेको हदसम्म मिलेको नदेखिँदा केही उल्टी भै आ.व. २०५३।०५४ आयवर्षको लागि २०% का दरले आयकर निर्धारण हुने ठहर्छ । अरुमा तपसिल बमोजिम गर्नु ।
तपसील
माथि इन्साफ खण्डमा लेखिए बमोजिम राजश्व न्यायाधीकरण कठमाडौंको फैसला केही उल्टी भै यी पुनरावेदक होटलको आ.व. २०५३।०५४ को लागि २०% का दरले आयकर निर्धारण हुने ठहरी फैसला भएकोले मिति २०५४।२।२६ सम्मको जम्मा ३२८ दिनको आयकर समेत २०% का दरले असूल गर्नु पर्ने हुँदा अग्रिम दाखिला गरिएको रु.१७,११,८८६।९९ बाट लाग्ने कर कट्टा गरी बाँकी रकम फिर्ता माग्न आए कानून बमोजिम पुनरावेदक होटललाई केही दस्तुर नलिई फिर्ता दिनू भनी शुरु कर कार्यालयमा लेखी पठाई दिनु –– १
दायरीको लगत कट्टा गरी मिसिल बुझाई दिनु ––––२
उक्त रायमा म सहमत छु ।
न्या.रामप्रसाद श्रेष्ठ
इति सम्बत् २०६४ साल आषाढ २८ गते रोज ५ शुभम–––––––––