शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ६४२६ - कर्तव्य ज्यान

भाग: ३९ साल: २०५४ महिना: मंसिर अंक:

निर्णय नं.- ६४२६              २०५४ ने.का.प.               अङ्क ८

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय

माननीय न्यायाधीश श्री केदारनाथ आचार्य

सम्वत् २०५० सालको फौ.पु.नं.........६५४

फैसला मितिः ०५४।३।७।३

 

मुद्दाः-  कर्तव्य ज्यान  ।

 

पुनरावेदक/प्रतिवादीः रुकुम जिल्ला, महत गा.वि.स.वडा नं. ७ घर भै हाल कारागार शाखामा थुनामा रहेको वर्ष ३२ को चंखे खड्का समेत जम्मा ४ ।

विरुद्ध

प्रत्यर्थी/वादीः श्री ५ को सरकार ।

 

संवत २०५० सालको साधक नं. १५८

 

वादीः  श्री ५ को सरकार ।

विरुद्ध

प्रतिवादीः रुकुम जिल्ला, महत गा.वि.स.वडा नं. ७ घर भै हाल कारागार शाखामा थुनामा रहेको वर्ष ३२ को चंखे खड्का समेत जम्मा ४ ।

 

§  प्रतिवादीहरुमा मार्नु पर्ने सम्मको पूर्व रिस इवी भई मार्ने मनसायले कुटपिट गरेको भन्न सकिने आधार मिसिलवाट देखिन नआएकोले घटेको वारदातको आधारमा प्रतिवादीहरु चंखे खडका समेत चारै जनालाई जन्मकैद गर्र्र्दा चर्को पर्न जाने हुँदा अ.वं. १८८ नं. वमोजिम कैद वर्ष १० (दश) हुन मनासिव भनी राय लगाएको पुनरावेदन अदालत, नेपालगंजको फैसला मिलेकै देखिंदा मनासिव ठहर्छ ।                  

(प्र.नं.२१)

 

पुनरावेदक तर्फवाटः विद्वान अधिवक्ता श्री रमन कुमार श्रेष्ठ ।

वादी तर्फवाटः x

अवलम्वीत नजीरः x

 

फैसला

            न्या.केदारनाथ आचार्य : पुनरावेदन अदालत नेपालगंजको मिति २०५०।३।९ को फैसला उपर न्याय प्रशासन ऐन २०४८ को दफा ९(१)((ख) वमोजिम पर्न आएको प्रस्तुत पुनरावेदन सहितको संक्षिप्त व्यहोरा यस प्रकार छः

            २. गाउँघरको सल्लाहवाट घोरमेटी वन जंगल पाल्ने र घांस दाउरा नकाट्ने, वन जंगल नोक्सान गर्नेलाई सजाय गर्ने भनी गाउँ घरको निर्णय वमोजिम गदल रोकालाई वनपाले चौकीदार राखेकोमा हरिलाल खड्का समेतले उक्त वन जंगल काटी फडानी गर्‍यो भनी निज गदल रोकाले गाउँमा आई भनेको हुँदा के कति नोक्सान फडानी गरेको हुन् भनी म समेतका गाउँले मानिसहरु वन जंगल हेर्न जांदा गोकूल वली, प्रसाद वली हौसला दिने र हरिलाल खड्का समेतले लाठी ढुंगा प्रहार गरी मृतक गदल रोका र कासीराम रोका समेतलाई कुटपिट गरी मारेकोले निजहरुलाई सजाय गरी पाउँ भन्ने समेत धन प्रसाद रोका मगरको जाहेरी दरखास्त ।

            ३. प्र.हरिलाल खड्का समेतका प्रतिवादीहरुले गदल रोका र काशिराम रोकालाई मारेका हुन् भन्ने समेत व्यहोराका र्सर्जमिन  मुचुल्का ।

            ४. हामी दुवै भाईले प्रहार गरेको ढुंगा मुढाले लागी मृतक गदल रोका र काशीराम रोकाको मृत्यु हुन गएको हो भन्ने समेत प्र.प्रेम वहादुर खडका, प्र.चंखे खड्का, प्र.खड्ग बहादुर खड्का, प्र.पूर्ण वहादुर खडका समेतले एकै मिलानको प्रहरीमा गरीदिएको वयान ।

            ५. प्र.हरिलाल खडका, चंखे खडका, प्रेम वहादुर खड्का, खडक वहादुर खडका, पूर्ण वहादुर खडका, द्धिराम खडका, विरे खडका समेतले ज्यान सम्वन्धीको १३(३) नं. विरुद्ध कसुर गरेको सिद्ध हुन आएकोले प्र.गोकूल वली र प्रसाद वलीलाई सोही महलको १३(४) नं. वमोजिम सजाय हुन र प्र.हरिलाल, चंखे खडका, पूर्ण खडका, प्रेम वहादुर खडका, चंखे खडका, खडक खडका  वुद्धिराम खडका, विरे खडका समेतले मृतकहरुलाई प्रहार गरेकामा कस्को चोटवाट मृत्यु हुन गएको हो भन्ने कुरा खुल्न नसकेकोले ज्यान सम्वन्धीको १३(३) नं. वमोजिम जन्म कैदको संजाय हुन चंखे खडका, पूर्ण खडका, प्रेम वहादुर खडका, वुद्धिराम खडका, समेत ५ लाई यसै साथ प्रस्तुत गरिएको छ । फरार रहेका प्र.हरिलाल खडका, विरे खडका, गोल प्रसाद समेतका नाउँमा वारेन्ट समेत जारी गरी पाउँन सादर अनुरोध गरेको समेत प्रहरी प्रतिवेदन ।

            ६. पहिले देखिनै मेरा वावुसँग झगडा थियो । हामी ४ भााई घरदेखि केही टाढा वसेका थियौं । हामीलाई मार्छौ भनी मर्ने गदल रोका र काशीराम समेतका १०।१५ जना भै हामीलाई लखेट्दै जांदा हामी, म र मेरा दाजु चंखे वहादुर, प्रेम वहादुरले ढुंगाले हान्दा मृतक काशीराम र मृतक गदललाई चोट लाग्न गै  मरेको हुन् । कसको ढुंगाको चोटवाट मर्न गए, थाहा छैन, हामी ४ भाई वाहेक यो घटनामा अरु कोही थिएन भन्ने समेत पूर्ण वहादुर खडकाले रुकुम जिल्ला अदालतमा गरेको वयान ।

            ७. २०४७।८।८ गतेका दिन राती म समेतका चंखे वहादुर खडका, खडक वहादुर, पूर्ण वहादुर घरमा थियौं । मर्ने काशीराम र गदल रोका समेतका दुई सय मानिस आउँदै थिए । हामी भाग्दै जांदा मार्छन कि भन्ने डरले  म र चंखे खडका अगाडी थियौं । पछाडी पूर्ण खडका, खडक वहादुर खडका थिएं । निजहरुले ढुंगाले हानेका हुन् । म र चंखे खडका अगाडी गएकाले पुर्णे र खडकेलाई चोट लाग्छ की भनी हानेका होइनौ । काशीराम र गदलको कस्ले हानेका ढुंगा मुढाको चोटवाट मर्न गएका हुन् भन्न सक्तिन । मैले ढुंगा हानेको होइन । म समेतका ४ भाई मात्र घटनास्थलमा थियौं भन्ने समेत प्र.प्रेम वहादुर खडकाले रुकुम जिल्ला अदालतमा गरेको वयान ।

            ८. प्रेम वहादुर, पूर्ण वहादुर, खडक वहादुर र म समेत आफ्नो घरमा थियौं । विष्णु रोकाले म समेतलाई मार्नु पर्छ भनी गाउँका मानिसहरु जम्मा गरी आउँदै रहेछन्, सो देखे पछि हामीहरु घरवाट भागेर मास्तीर गयौं । म र प्रेम वहादुर अगाडी थियौं । पूर्ण वहादुर खड्का र खडक वहादुर पछाडी थिए । उनीहरुलाई गाउँलेहरुले भेटाउन थाले पछि ढुंगाले हान्न थाल्यौं, मृतकहरुको मृत्यु भएछ । म र प्रेम वहादुरले २।२ पटक डल्लाले हानेका हौं । कर्तव्य गरी मारेको होइन भन्ने समेत प्र.चंख वहादुरले रुकुम जिल्ला अदालतमा गरेको वयान ।

            ९. विष्णु रोका र मन प्रसाद रोकाले गाउँलेहरुलाई साथमा लिई हामीहरुलाई मार्न भनी   घर देखि माथि जंगलका वुटामा लुकी वस्दा हामीहरुलाई नछोडी लखेट्दै आउँदा हामीले पनि माथिवाट ढुंगा मुढा गरेका हौं । को कस्को चोटवाट मृतकहरुको मृत्यु हुन गएको हो भन्न सक्दिन भन्ने समेत प्र.खडक वहादुर खडकाले रुकुम जिल्ला अदालतमा गरेको वयान ।

            १०. २०४७।८।८ गते भन्दा अगाडी नै म घरमा नभै विस्कूमा भन्ने लेखमा भेडा गुवाली हुँदा त्यहीं छु । अन्य प्रतिवादीहरु कहां थिए थाहा छैन । मृतकहरुको कस्को कर्तव्यवाट के भै मरे थाहा छैन । मैले ढुंगाले हानेको होइन । देवलालले हाम्रो परिवार सवैलाई फसाउने विचारले मलाई समेत पोलेको हो भन्ने समेत वुद्धिराम खडकाले रुकुम जिल्ला अदालतमा गरेको वयान ।

            ११. २०४७।८।८ गते मशाल पार्टीको मान्छे, मन प्रसाद, धन प्रसाद, वर्मन, काशीराम, गदल रोका, मने कामी, आश वहादुर, निमेवली, कमान सिंह वली, समेतका मानिसहरुले म मेरो छोरा विर वहादुर, चंख वहादुर, प्रेम वहादुर, खडक वहादुर, विष्णु वहादुर हाम्रो पार्टीमा नआई काग्रेस पार्टीमा लागेका छन् । यीनिहरुलाई मार्नु पर्छ भनी हुल गरी लखेटदै लगी भाग्दै जांदा ढुंगा हानाहान गरे भन्ने श्रीमती वुहारीले भन्दा सुनेको हुँ । को कस्को चोटवाट गदल र काशीराम रोकाको मृत्यु भएको हो हामीलाई थाहा छैन भन्ने समेत हरिलाल खड्काले रुकुम जिल्ला अदालतमा गरेको वयान ।

            १२. मृतक गदल रोका र काशीराम रोकाको मृत्यु कसरी भयो, सो अवस्थामा म गाउँ घरमा नहुँदा मलाई थाहा छैन । चंख वहादुर समेतका भाईहरुले झगडामा मारपिट गरेकाले यसलाई पनि यस्तैमा फसाउनु पर्छ भन्ने सोची म समेतलाई झूट्टा जाहेरी दिएका हुन् । मैले गदल रोका, र काशीराम रोकालाई मारेको होइन भन्ने समेत प्र.वीर वहादुरले रुकुम जिल्ला अदालतमा गरेको वयान ।

            १३. प्रतिवादी चंख वहादुर, प्र.पूर्ण वहादुर खड्का, प्र.खडक वहादुर खड्का र प्रेम वहादुर खड्काले मृतकहरुलाई ढुंगा समेतले हानी मारेको देखिंदा ज्यान सम्वन्धी महलको १३(३) नं. वमोजिम जन्म कैद हुने ठहर्छ । प्रतिवादी वुद्धिराम खडकाले प्रहरी प्रतिवेदन दावीवाट सफाई पाउने ठहर्छ भन्ने समेत रुकुम जिल्ला अदालतको ०४८।१२।२८।३ को फैसला ।

            १४.   प्रतिवादी हरिलाल खडका र विरे खडका भन्ने विर वहादुर खडका उपरको कसुर प्रमाणित भएको नपांइदा प्रहरी प्रतिवेदन दावी यी प्रतिवादीहरुको हकमा पुग्न सक्दैन । प्रस्तुत कर्तव्य ज्यान मुद्दावाट सफााई पाउने ठहर्छ भन्ने समेत रुकुम जिल्ला अदालतको ०४९।८।१ को फैसला ।

            १५. हामीलाई जन्म कैद हुने ठहर्‍याएको शुरु फैसला वदर घटनाक्रमले भवितव्यको स्थिति देखाएको हुँदा ज्यान सम्वन्धीका ६ नं. अनुसारको सजाय हामीले भोगी सकेको हुँदा कारागारवाट छुटकारा पाउँन र शुरु फैसला उल्टाई पाउँ भन्ने समेत चंखे खडका समेतको संयुक्त पुनरावेदन  पत्र ।

            १६. प्रतिवादीहरु हरिलाल खडका र वीर वहादुर खडकालाई प्रहरी प्रतिवेदन माग दावी वमोजिम सजाय गर्नु पर्नेमा सफाई दिएको रुकुम जिल्ला अदालतको उक्त इन्साफ वदर गरी निजहरुलाई शुरु प्रहरी प्रतिवेदन माग दावी वमोजिम सजाय गरी पाउँ भन्ने समेत वादी श्री ५ को सरकारको तर्फवाट परेको पुनरवेदन पत्र ।

            १७. यसमा प्रतिवादी हरिलाल खडकालाई शुरु जाहेरी दरखास्तमा किटानी पोल गरेको कुरालाई घटना स्थलमा प्रत्यक्षदर्शि र घायल समेत भएका आश वहादुर, लाल वहादुर समेतका व्यक्तिहरुले अदालत समक्षको वकपत्र समेतवाट पुष्टि भै रहेको अवस्थामा निज प्रतिवादी हरिलाल खडकालाई आरोपित कसुरवाट सफाई दिने गरेको शुरु अदालतको फैसला फरक पर्न सक्ने देखिंदा निजको नाममा अ.वं. २०२ नं. र पुनरावेदन अदालत नियमावलीको नियम ४७ वमोजिम म्याद जारी गरी र प्रतिवादी पूर्ण बहादुर खडका समेतले दायर गरेको पुनरावेदन पत्रको प्रतिलिपि पुनरावेदन सरकारी वकिल कार्यालय, नेपालगंजलाई पठाई कानून अनुसार गरी पेश गर्नु भनी पुनरावेदन अदालत, नेपालगंजको ०४७।१२।२२ को आदेश ।

            १८. प्रस्तुत मुद्दामा सवुद प्रमाणका मूल्याकंन गरी प्रतिवादी हरि वहादुर खडका र वीर वहादुर खड्कालाई आरोपित कसुरवाट सफाई दिने गरेको मिति ०४९।८।१ को फैसला र प्रतिवादीहरु चंख वहादुर खड्का, प्रेम बहादुर खड्का, खड्क खड्का भन्ने खड्ग वहादुर खड्का र पूर्ण वहादुर खड्का समेतलाई ज्यान सम्वन्धी महलको १३(३) नं. बमोजिम जन्म कैद हुने ठहर्‍याएको शुरु रुकुम जिल्ला अदालतको मिति ०४८।१२।२८ को फैसला समेत मिलेकै देखिंदा मनासिव ठहर्छ । यी पुनरावेदक चंख वहादुर समेतका चारजना प्रतिवादीलाई ज्यान सम्वन्धी महलको १३(३) नं. वमोजिम जन्म कैदको सजाय गर्दा चर्को हुने देखिएवाट निजहरुलाई जनही कैद वर्ष १० हुनु पर्ने चित्तमा लागी अ.वं. १८८ नं. वमोजिमको राय जाहेर गरिएको छ भन्ने समेत व्यहोराको पुनरावेदन अदालत नेपालगंजको मिति ५०।३।९ के फैसला ।

            १९. पुनरावेदन अदालत, नेपालगंजको उक्त फैसला त्रुटिपूर्ण हुनुका साथै न्याय सँगत नभएकोले उक्त फैसला उल्टी गरी वादी दावीवाट फुर्सद पाउने गरी न्याय गरी पाउँ भन्ने समेत व्यहोराको प्रतिवादीहरुको यस अदालतमा परेको पुनरावेदन ।  

२०. नियमानुसार पेश हुन आएको प्रतिवादीहरुको पुनरावेदन र साधक सदरका लागी पेश हुन आएको साधक नं. १५८ को प्रस्तुत मुद्दामा पुनरावेदक रोहवाट इन्साफ गरिने हुँदा साधकको लगत कट्टा गरी दिएको छ । पुनरावेदककै रोहवाट विचार गर्नु पर्ने भई पुनरावेदक सहिको मिसिल अध्ययन गरी पुनरावेदक तर्फवाट उपस्थित विद्वान अधिवक्ता श्री रमन कुमार श्रेष्ठले लुटपिट मुद्दाको वारदात भएको भन्ने कुरा मिति ०४८।८।७ गते परेको फिरादवाटै स्थापित भएको अवस्था छ, पुनरावेदकहरुले भोली पल्ट मिति ०४८।८।८ का दिन मृतकलाई मारेको भन्ने तथ्य स्थापित हुन सकि रहेको छैन । मान्छे मार्ने तथ्यका साथ मेन्सरिया (Menserea) देखिनु पर्छ, मेन्सरिया (Menserea) स्थापित हुन सकेको अवस्था छैन । प्रतिवादीहरुको वयान कागज समेतवाट रिस इवीलाग केही भएको देखिदैन । केही कारण नपरी मानिसलाई मार्ने अवस्था विश्वासनिय नहुँदा भवितव्य ठहर्‍याउनु पर्नेमा  पुनरावेदकहरु चंख बहादुर खड्का, प्रेम वहादुर खड्का, पूर्ण वहादुर खड्का, र खड्ग वहादुर खड्कालाई ज्यान सम्वन्धीको १३ (३) नं. वमोजिम जन्मकैद हुने ठहर्‍याई पूर्व रिस इवी केहि नभएको आधारमा अ.वं. १८८ नं. वमोजिम १० वर्ष कैद हुने ठहर्‍याएको पुनरावेदन अदालत, नेपालगंजको फैसलामा न्यायीक मनको अभाव देखिंदा ज्यान सम्वन्धीको ६(२) नं. वमोजिम भवितव्य ठहर हुनु पर्ने भनी गर्नु भएको वहस जिकिर समेत सुनियो । यसमा शुरु जिल्ला अदालतको फैसला सदर गरेको पुनरावेदन अदालत नेपालगंजको फैसला मिले नमिलेको के रहेछ भनी निर्णय तर्फ विचार गर्दा गदल रोका मगर र काशीराम रोकाको मृत्यु भएको र मृत्यु हुनाको कारणमा लाठा ढुंगाको प्रहारवाट भएको भन्ने देखिन्छ । मिति ०४७।८।१४।६ मा भएको लाश जाँच प्रकृती मुचुल्का हेरिंदा गदल रोकाको वांया हातको कुहिनामा ४ इन्च वरावरको घाउ देखिएको, सो पाखुरा भांचिएको घाउ जस्तो देखिएको, सो घाउ देखि २ इन्च माथि पाखुरामा दुई इन्च वरावरको भाग किचिएको घाउ जस्तो देखिएको, हत्केलाको माथिल्लो भागमा चारै औंलाहरु जोर्निमा निल र चोटहरु लागेको, वांया कानको डेढ इन्च माथी टाउकोमा डेढ इन्च लामो चिरिएको गहिरो घाउ देखिएको, सो घाउ देखि ३ इन्च माथी टुप्पीतिर साढे दुई इन्च पछाडी पट्टी १ इन्च लम्वाईको चिरिएको घाउ, घाँटी देखि मुनी र वायां दुधनेर राता निलडामहरु र वायां काखी मुनी कोखामा चोट लागे जस्तो रगत जमी रातो निलो भएको भन्ने समेतका घाउ चोटहरु देखिएको तथा मृतक काशीरामको शरीरमा पनि विभिन्न चोट परेको देखिएवाट विभिन्न चोटवाट घाउ लागेको अवस्था देखिन आउँछ । प्रतिवादीहरुले प्रहरी समक्ष कागज गर्दा आरोपित कसुर गरेमा सावित रहेको पाइन्छ भने अदालतमा वयान गर्दा प्रतिवादी मध्येका प्रेम वहादुर वारदात स्थलमा रहेको भनी स्वीकार गरेका र अरु प्रतिवादीहरु आरोपित कसुर गरेमा सावित रहेको अवस्था पाइन्छ । निज प्रतिवादीहरुको वयानवाट प्रेम वहादुर समेतले ढुंगा प्रहार गरेको भनी समर्थन जनाएको पाइन्छ । जाहेरवालाको  साथै अदालतमा वयान गर्ने प्रहरीमा कागज गरी दिने व्यक्ति  तथा सर्जमिनका व्यक्तिहरुको वकपत्रवाट समेत वारदात भएको र प्रतिवादीहरुकै क्रियावाट मृतकहरु गदल रोका र काशिराम रोकाको मृत्यु भएको देखिन्छ ।

            २१. यस्तो स्थितिमा प्रतविादीहरुको चोटवाट मृतक गदल रोका र काशिराम रोका मरेका रहेछन् भन्न नमिलेवाट प्रतिवादीहरुको पुनरावेदन जिकिर पुग्न सक्ने देखिदैन । प्रतिवादीहरु चंखे खड्का, प्रेम वहादुर खड्का, खड्गे खड्का र पूर्ण वहादुर खड्का समेतले मृतक गदल रोका र काशिराम रोका लाई कर्तव्य गरी मारेको ठहरी ज्यान सम्वन्धी महलको १३(३) नं. वमोजिम जन्मकैद हुने ठहर्‍याएको शुरु रुकुम जिल्ला अदालतको फैसला सदर गरेको र प्रतिवादीहरुमा मार्नु पर्ने सम्मको पूर्व रिस इवी भई मार्ने मनसायले कुटपिट गरेको भन्न सकिने आधार मिसिलवाट देखिन नआएकोले घटेको वारदातको आधारमा प्रतिवादीहरु चंखे खडका समेत चारै जनालाई जन्मकैद गर्र्र्दा चर्को पर्न जाने हुँदा अ.वं. १८८ नं. वमोजिम कैद वर्ष १० (दश) हुन मनासिव भनी राय लगाएको पुनरावेदन अदालत, नेपालगंजको फैसला मिलेकै देखिंदा मनासिव ठहर्छ । प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्ने देखिएन । तपसिल वमोजिम गरी मिसिल नियमानुसार गरी वुझाई दिनु ।

 

तपसिल

माथि इन्साफ खण्डमा लेखिए वमोजिम यी पुनरावेदक प्रतिवादीहरु चंखे खड्का, प्रेम वहादुर खड्का, खड्ग खड्का र पूर्ण वहादुर खड्कालाई जन्मकैद ठहरी अ.वं. १८८ नं. वमोजिम १० वर्ष मात्र कैद हुने ठहरीएको हुँदा शुरु जिल्ला अदालतको फैसलाको तपसिल खण्डको १ नं. को लगत कट्टा गरी दिनु भनी शुरु रुकुम जिल्ला अदालतमा लेखि पठाई दिनु ..१

प्रतिवादीहरु चंखे खड्का, प्रेम वहादुर खड्का, खडग खड्का, पूर्ण वहादुर खड्काके माथि इन्साफ खण्डमा लेखिए वमोजिम ज्यान सम्वन्धीको १३(३) नं. वमोजिम जन्मकैद हुने ठहरी अ.वं. १८८ नं. वमोजिम जनही १० वर्ष मात्र कैद हुने ठहरीएको हुँदा सो वमोजिमको कैद लगत कायम गरी कानून वमोजिम गर्नु भनी शुरु रुकुम जिल्ला अदालतमा लेखि पठाई दिनु .............१

 

उक्त रायमा म सहमत छु ।

 

न्या. केदारनाथ उपाध्याय

 

इति सम्वत २०५४ साल असार १७ गते रोज ३ शुभम्

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु