निर्णय नं. ७८६९ - जर्वजस्ती करणी

निर्णय नं. ७८६९ ने.का.प. २०६४ अङ्क ८
सर्वोच्च अदालत संयुक्त इजलास
माननीय न्यायाधीश श्री मीनबहादुर रायमाझी
माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ
संवत् २०६२ सालको फौ.पु.नं. ......३४२१, ३४२२, ३४२३
फैसला मितिः २०६४।८।१२।४
मुद्दाः जर्वजस्ती करणी ।
पुनरावेदक : प्रतिवादी जिल्ला सप्तरी गा.वि.स. कल्याणपुर वडा नं. २ घर भै हाल कारागार शाखा राजविराज सप्तरीमा थुनामा रहेका हजरत मिया
विरुद्ध
प्रत्यर्थी : वादी पदम बहादुर तामाङको जाहेरीले श्री ५ को सरकार
पुनरावेदक : प्रतिवादी जिल्ला सप्तरी गा.वि.स. कल्याणपुर वडा नं. २ घर भै हाल कारागार शाखा राजविराज सप्तरीमा थुनामा रहेका अन्सारुल मिया
विरुद्ध
प्रत्यर्थी : वादी पदमबहादुर तामाङको जाहेरीले श्री ५ को सरकार
पुनरावेदक : प्रतिवादी जिल्ला सप्तरी गा.वि.स. कल्याणपुर वडा नं. २ घर भै हाल कारागार शाखा राजविराज सप्तरीमा थुनामा रहेका मोहम्मद ताहिर मिया
विरुद्ध
प्रत्यर्थी वादी पदम बहादुर तामाङको जाहेरीले श्री ५ को सरकार
शुरु फैसला गर्ने अदालतः सप्तरी जिल्ला अदालत
मा.न्या.श्री गोपालप्रसाद भट्टराई
पुनरावेदन अदालत राजविराज सप्तरीः मा.न्या.श्री तर्कराज भट्ट
मा.न्या.श्री गौरीबहादुर कार्की
§ जबरजस्तीकरणी जस्तो संगिन फौजदारी अपराधमा पीडित, पीडितको साक्षी जाहेरवालाका सम्बन्धमा अदालतले परिस्थितिलाई गम्भिर रुपमा मूल्याङ्कन गर्नुपर्ने हुन्छ । जाहेरवाला, पीडित, पीडितको साक्षी उपरको डर, धाक, जिउ ज्यानको खतरासम्मको कारणबाट जाहेरी समयमा नपरेको, शारीरिक जाँच हुन नसकेको वा साक्षी उपर अनुचित प्रभावमा पर्न सक्ने सम्मको अवस्था रहे नरहेको सो कुराको मूल्याङ्कन हुनु पर्ने ।
§ डर, धाक, जिउ ज्यानको खतराको कारण जाहेरी समयमा नपर्न पनि सक्छ । डर धाकको प्रभाव न्यूनीकरण वा सुरक्षाको अनुभूति पश्चात अपराधको जानकारी वा जाहेरी पर्नुलाई अवस्थाको बाध्यताको रुपमा लिनु पर्दछ । यस्तो अवस्थाको विद्यमानतामा शारीरिक परीक्षण हुन नसक्नु स्वभाविक नै हुन्छ । जिउ ज्यानको खतराको कारणले समयमा जाहेरी नपरेको वा शारीरिक परीक्षण हुन नसकेको अवस्थाबाट न्यायीक कार्यमा जटिलता आउन सक्ने । पीडित वा साक्षीहरूको संरक्षण सम्बन्धी कानून वा कार्यक्रमको अभावमा यस्ता परिस्थितीको पुनरावृत्ती भइरहन सक्छ । तथापि अन्य प्रमाणको आधारमा अपराधको छिनोफानो र न्याय प्रदान गर्ने कार्य सम्पन्न हुनु पर्ने ।
(प्रकरण नं.२६)
§ जबरजस्तीकरणी अपराधका सम्बन्धमा मुलुकी ऐन जबरजस्तीकरणी महलको १ नं. मा भएको कानूनी व्यवस्था बमोजिम “कन्या, विधवा वा अर्काकी सधवा स्वास्नी मानिसमा सोह्र वर्ष मुनिकीलाई उसको मञ्जुरी लिई वा नलिई जुनसुकै व्यहोरासँग करणी गरे पनि र सोह्र वर्ष नाघेकीको राजीखुसी बिना बेमञ्जुरीले जुनसुकै तरहसँग भए पनि जोर जुलुम गरी डर धाक देखाई वा अनुचित प्रभावमा पारी करणी गरेको समेत जबरजस्तीकरणी गरेको ठहर्छ” भन्ने कानूनी व्यवस्था रहेको देखिँदा जाहेरवालाको घरमा रातको १ बजेको समयमा मार्ने सम्मको डर धाक, धम्की दिई संत्रासको वातावरण बनाई पीडितलाई उठाई लगी पालै पालो सामूहिक रुपमा जबरजस्तीकरणी गरेको प्रमाणको विवेचनाको आधारमा पुष्टि हुन आएको हुँदा प्रतिवादीहरूले जबरजस्तीकरणीको १ नं. को कसूर गरेको देखिने ।
(प्रकरण नं.२७)
पुनरावेदक प्रतिवादी तर्फबाट : विद्वान वैतनिक अधिवक्ताहरू श्री टंकबहादुर रावल, श्री अनिता दिक्षीत र विद्वान अधिवक्ता श्री मोतिलाल श्रेष्ठ
प्रत्यर्थी वादी तर्फबाट :
अवलम्वित नजीरः
फैसला
न्या. मीनबहादुर रायमाझीः न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम पुनरावेदन अदालत राजविराजको मिति २०६२।१।११ को फैसला उपर प्रतिवादीहरूको यस अदालत समक्ष पर्न आएको प्रस्तुत पुनरावेदन यस अदालतको अधिकार क्षेत्र भित्र पर्ने हुँदा मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छः–
२. मिति २०६०।७।२१ गते रातको अं. १:०० बजेको समयमा हामी सबै घरका परिवारहरू सुती निदाई रहेकै अवस्थामा जोडले कुकुर भुकेको आवाजबाट निन्द्रा खुली व्युँझिदा मैले चिनेका जिल्ला सप्तरी कल्याणपुर गा.वि.स. वडा नं. २ बस्ने लजिमियाको छोरा अं. वर्ष २१ को मोहम्द अन्सारी मिया, ऐ. ऐ. बस्ने जुरी मियाको छोरा अं. वर्ष २४ को मोहमद ताहिर मिया, ऐ. बस्ने नथुनी मियाको छोरा हजरत मिया समेत जना ३ ले मुखमा नकाव लगाई हामीहरू माओवादी हौं भनी तिमीहरू मध्ये एकजनालाई हाम्रो कमाण्डरले ल्याउनु भनेको छ भनी मेरो घरमा आई भित्र सुतेको छोरी वर्ष १४ की मिनाकुमारी तामाङलाई उठाई मोहम्मद ताहिर मियाले काँधमा बोकी घर देखि पश्चिम दक्षिण तर्फ लिई गएकोले तत्काल हो हल्ला गरी गाउँलेको सहयोगमा छोरीको खोज तलास गर्दा ऐ. वडा नं. ३ स्थित डुमजोर खोला र खड्ग खोलाको दोभानबाट आधा कि.मि. दक्षिण पश्चिममा पर्ने अजिम मियाको आँप बगैचाको छाप्रोमा पुग्दा उल्लेखित अभियुक्तहरू भागी गएका र छाप्रो भित्र छोरी आलस तालस नाङ्गो अवस्थामा फेला पारेकोले के भयो भनी सोद्दा मलाई उल्लेखित प्रतिवादीहरूले पालै पालो जबरजस्तीकरणी गरे भनेको हुँदा उल्लेखित प्रतिवादीहरूको खोज तलास गरी कारवाही गरी पाउँ भन्ने जाहेरी दरखास्त।
३. जिल्ला सप्तरी कल्याणपुर गा.वि.स. वडा नं. ३ स्थित अजिम मियाको आँप बगैचामा आप तथा सब्जी रुग्न बनाएको खरको छाना लगाई बाँसको टाटीको सुत्ने खाट बनाएको छाप्रामा पीडित मिनाकुमारी तामाङलाई उत्तर टाउको दक्षिण गोडा पारी बोल्न चल्न नदिई जबरजस्तीकरणी गरेको भन्ने घटनास्थल मुचुल्का ।
४. मिति २०६०।७।२१ गते बिहानको राती म आफ्नो घर भित्र सुती रहेकै अवस्थामा एक्कासी एक जना मानिस टर्च बाल्दै आई मलाई उठ भनी पक्री तान्दा को हो भनी हात खुस्काउन खोज्दा चुप लाग भनी हातमा पक्री बाहिर निकाली बुबा आमालाई समेत डर त्रास देखाई बोल्दा निजहरू को रहेछन् भनी निजहरूको बोली सुन्दा गाउँ कै जिल्ला सप्तरी कल्याणपुर गा.वि.स. वडा नं. २ बस्ने जुरी मियाको छोरा मोहम्द ताहिर मिया, ऐ.ऐ. वस्ने मोहम्द लजिमको छोरा मोहमद अन्सारुल मिया, ऐ.ऐ. बस्ने नजुनी मियाको छोरा महमद हरजत मिया रहेछन् । मलाई ताहिर मियाले बाहिर निकाल्दा किन मेरो छोरीलाई तेसो गर्नु हुन्छ छाडि दिनुहोस् भनेर बुबाले भन्दा हाम्रो कमाण्डरले एक जना मानिस ल्याउनु भनेको छ एक छिन पछि ल्याई दिन्छौं भनी भन्दा आमा बुबाले हुँदैन भन्दा कराईस भने गोली हानी मारी दिन्छौं भन्दै ताहिर मियाले मलाई बलपूर्वक काँधमा बोकी कल्याणपुर गा.वि.स. वडा नं. ३ स्थित अजिज मियाको आँप बगैचामा रहेको आँप सब्जी कुर्न बनाएको छाप्रोमा लगी मलाई उत्तर टाउको दक्षिण खुट्टा पारी उत्तानो अवस्थामा राखी मैले लगाएको फ्रक खोली सो भित्रको पेन्टी समेत खोली निजहरूले पालैपालो जबरजस्तीकरणी गरेपछि म बेहोस भएँ कसले कति चोटी गरे थाहा भएन भन्ने पीडित मिनाकुमारी तामाङको कागज ।
५. मिति २०६०।७।२० गते बेलुका घरका सबै परिवारहरू खाना खाई सुतेका थियौं । छोरी मिनाकुमारी तामाङ र डोल्मा तामाङ घर भित्र सुतेका थिए । सोही राती अ. १ बजे तिर जोडले कुकुर भुकेको आवाज आएकोले निन्द्राबाट व्युझी मेरो श्रीमान कुकुर भुके तिर जान खोज्दा मुखमा नकाव लगाएका मैले पहिले देखिनै देखे चिनेका कल्याणपुर गा.वि.स. वडा नं. २ बस्ने वर्ष २१ को मोहमद अन्सारुल मिया, ऐ.ऐ. बस्ने मोहमद ताहिर मिया, ऐ.ऐ. बस्ने मोहमद हजरत मिया समेत ३ जना हाम्रो घरमा आई हामी माओवादी हौं तिमीहरूमध्ये एक जना हामीहरूको कमाण्डर कहाँ जानु पर्छ भनेकोले हामी जाँदैनौ किन जानु भन्दा घरभित्र को छ भनी मोहमद ताहिर मिया घर भित्र पसी छोरी मिनाकुमारी तामाङलाई घरदेखि बाहिर निकाली हामीलाई निजका अन्य साथीले बोलिस भने मारी दिन्छौ भनी निज मोहमद ताहिर मियाले छोरीलाई काँधमा बोकी लिई गएकोले तत्काल हो–हल्ला गर्दा गाउँले छिमेकीको सहयोगमा छोरीको खोजतलास गर्दा ऐ. ३ स्थित अजिज मियाको आँप बगैचाको छाप्रोमा छोरी मिनाकुमारी तामाङको आलस तालस अवस्थामा फेला परेकोले के भयो भनी सोद्धा मलाई मोहमद ताहिर, मोहमद अन्सारुल मिया, मोहमद हरजत मियाले पालै पालो जबरजस्तीकरणी गरे भनेकी हुँदा निजहरू माथि कारवाही गरी पाउँ भनी पीडितको आमा चिनीमाया तामाङले गरेको कागज ।
६. प्रतिवादी मोहमद अन्सारुल मिया, मोहमद ताहिर मिया, मोहमद हरजत मियालाई पक्राउ गरी दाखिला गरेको भन्ने प्र.स.नि. आनन्दकुमार बस्नेतको प्रतिवेदन ।
७. योनी स्वावमा शुक्रकिट नपाईएको योनी लगायत शरिरको अंगहरूमा कुनै घाउ चोट पटक र सुनिएको नपाईएको भन्ने पीडितको जाँच प्रतिवेदन ।
८. मिति २०६०।७।२१ गते जाहेरवालाकी छोरी मिनाकुमारी तामाङले मो. ताहिर मियालाई राती आउनु, बुबा आमा निदाई हाल्छन् मलाई विस्तारै बोलाउनु भनी बोलाएकी रहिछन् र हामी आफ्नो सल्लाह गरी ३ जना नै निजको घरमा जाँदा रातको १ बजेको थियो । कुकुर साह्रै भुकेको कारणले गर्दा निजको आमा बुबा निन्द्राबाट व्यूँझिएकाले हामीहरू माओवादी हौ भनी तपाईको छोरीलाई हाम्रो कमाण्डरले बोलाएको छ एक छिनपछि ल्याई दिन्छौं भन्दा निज पदम बहादुर तामाङ र निजको श्रीमती नमानेकोले बढी बोलिस भने मारी दिन्छौ भनी डर त्रास देखाई निज मिनाकुमारी तामाङलाई मेरो साथी मोहमद ताहिरले घरबाट लिई अजिम मियाको आँप बगैचामा भएको छाप्रोमा लगी पहिला मोहमद ताहिर मिया दोश्रो मोहम्द हरजत मिया तेश्रो पटक मोहमद अन्सारुल मियाले एक एक पटक करणी गर्यो । जबरजस्ती साथ करणी गरेको हैन निज मिनाकुमारीकै मञ्जुरी साथ गरेको हो भन्ने एकै मिलानको प्रतिवादी मोहमद ताहिर मिया, मोहमद हरजत मिया, मोहमद अन्सारुल मियाले अधिकार प्राप्त अधिकारी समक्ष गरेको बयान कागज ।
९. जाहेरीमा उल्लेख भएको मिति समयमा म घरमा नै सुती रहेको थिए । जाहेरवाला पदम बहादुर तामाङले हो हल्ला गरेकोले के भएछ भनी निजको घरमा जाँदा मेरो छोरीलाई घरबाट उठाई लगे भनी खोजतलास गर्दै जाँदा जिल्ला सप्तरी कल्याणपुर गा.वि.स. वडा नं. ३ स्थित पर्ने अजिज मियाको आँप बगैचामा भएको छाप्रोमा पुग्दा २/३ जना मानिस भागेको देखेको थिए, चिन्न सकिन । छाप्रो भित्र जाहेरवालाको छोरी मिनाकुमारी तामाङ नग्न अवस्थामा थिईन । के भयो भनी सोद्दा मलाई मो.हरजत मिया, मो. ताहिर मिया, मो. अन्सारुल मियाले पालै पालो करणी गरे भनेकीले निजहरू गाउँकै मानिस भएकोले र पहिला देखिनै फटाहा प्रवृत्तिका मानिस भएका हुँदा निजहरूले जबरजस्तीकरणी गरेको विश्वास लाग्छ भन्ने प्राय एकै मिलानको बद्री सदा मुसहर, राम किसन भगतले गरेको कागज ।
योनी स्वाव परीक्षणको लागि केन्द्रीय वैज्ञानिक प्रयोगशालालाई लेखेको पत्र ।
प्रतिवादी मो. ताहिर मिया, मो. अन्सारुल मिया र मो. हरजत मिया समेतको सगरमाथा अञ्चल अस्पताल राजविराजबाट जाँच गराएको शारीरिक परीक्षण रिपोर्ट ।
१०. जाहेरीमा उल्लेख भएको मिति समयमा जाहेरवालाको छोरी मिनाकुमारी तामाङलाई जाहेरीमा उल्लेख भएका प्रतिवादीहरू मो. अन्सारुल, मो. हरजत र मो. ताहिर मिया समेत जना ३ भई कल्याणपुर गा.वि.स. वडा नं. ३ स्थित अजिम मियाको आँप बगैचामा लगि जबरजस्तीकरणी गरेको हुन् भन्ने कुरा सुनी थाहा पाएको हो । निजहरूले जबरजस्तीकरणी गरेकोमा विश्वास लाग्छ भनी प्रायः एकै मिलानको भुटाई चौधरी, दिल बहादुर तामाङ, पुष्पलाल तामाङ समेतले गरी दिएको वस्तुस्थिति मुचुल्का ।
११. जिल्ला सप्तरी कल्याणपुर गा.वि.स. वडा नं. २ बस्ने मो. अन्सारुल मिया, लजिम मिया समेतको नाउँमा कुनै पनि जग्गा नभएको भन्ने मालपोत कार्यालय सप्तरीको पत्र ।
१२. प्रतिवादीहरूले वर्ष १४ कि मिनाकुमारी तामाङलाई जबरजस्ती घरबाट उठाई आँप बगैचामा लगि सामूहिक रुपमा जबरजस्तीकरणी गरी मुलुकी ऐन जबरजस्तीकरणीको १ नं. विपरीत कसूर गरेको पुष्टि भएकोले ऐ. को ३ नं. को देहाय (२) बमोजिम सजाय एवं सामूहिक रुपमा जबरजस्तीकरणी गरे वापत ऐ. को ३क नं. बमोजिम थप सजाय समेत हुन र पीडित मिनाकुमारीलाई ऐ. को १० नं. बमोजिम आधा अंश समेत भराई पाउँ भन्ने समेत व्यहोराको अभियोग पत्र रहेछ । प्रहरीले गरेको कागज व्यहोरा मैले भने बमोजिम लेखिएको होइन । जबरजस्ती डर त्रास देखाई सही छाप गर भनेकोले सही छाप गरेको हुँ । व्यहोरा मेरो होइन । सही छाप मेरै हो । मैले जबरजस्तीकरणी नगरेको हुँदा मिनाकुमारीको कागज झुठ्ठा हो भन्ने समेत व्यहोरा भएको प्रतिवादी मोहमद हरजतले अदालत समक्ष गरेको बयान ।
जिल्ला सरकारी वकील कार्यालय सप्तरीमा गरेको बयानको व्यहोरा झुठ्ठा हो । सो मा भएको सहिछाप मेरो हो । मैले केही पनि भनेको थिईन । मिनाकुमारीको कागज झुठ्ठा हो । सजाय हुनु पर्ने होइन भन्ने समेत व्यहोरा भएको प्रतिवादी मो. ताहिर मियाले गरेको अदालत समक्षको बयान ।
अधिकार प्राप्त अधिकारी समक्ष भएको बयानमा भएको सहिछाप मेरो हो । त्यो व्यहोरा मैले भने बमोजिमको होइन । प्रहरीले नै आफ्नो मनले के लेखि सहि गराए, पढेर सुनाएनन् । सुनाउनु अनि सही गर्छु भन्दा जबरजस्ती गरी कुटपिट गरे अनि डरले सही गरेको हुँ । जाहेरी व्यहोरा झुठ्ठा हो भन्ने समेत व्यहोरा भएको प्रतिवादी मो. अन्सारुलले अदालत समक्ष गरेको बयान ।
मिति २०६०।८।१० को जाहेरी दरखास्तको व्यहोरा र सो मा भएको सही छाप मेरै हो भन्ने समेत व्यहोरा भएको जाहेरवाला पदम बहादुर तामाङले अदालत समक्ष उपस्थित भै गरेको बकपत्र ।
मिति २०६०।८।११ मा प्रहरीमा गरेको कागजको व्यहोरा र सो मा परेको सहीछाप मेरै हो भन्ने समेत व्यहोरा भएको मिनाकुमारी तामाङको अदालत समक्ष भएको वकपत्र ।
प्रतिवादी मोहमद अन्सारुलको साक्षी मोति मिया समेत तथा प्रतिवादी ताहिर मियाका साक्षी रसुल मियाको वकपत्र भएको रहेछ ।
प्रहरीमा कागज गर्ने बद्रि सदा मुसहरको अदालत समक्ष बकपत्र भएको रहेछ ।
केन्द्रिय प्रहरी वैज्ञानिक प्रयोगशालाबाट परीक्षण भई आएको परीक्षण प्रतिवेदन मिसिल संलग्न रहेको ।
गा.वि.स.को कार्यालय कल्याणपुर सप्तरीबाट प्राप्त बसाई सराईको सक्कल प्रमाण तथा गा.वि.स. को कार्यालय हडिया उदयपुरबाट जन्मदर्ताको सक्कल रजिष्ट्रर मिसिल संलग्न रहेको देखिन्छ ।
१३. संकलन भएका सवुदलाई बेवास्ता गरी कसूर नै भएको होइन भनी मान्न नमिल्ने हुँदा प्रतिवादीहरूले पीडित मिनाकुमारी तामाङलाई जबरजस्तीकरणीको महलको १ नं. मा वर्णित कसूर गरेको ठहर्छ । अभियोग दावी बमोजिम मिनाकुमारीको उमेर सम्बन्धमा विवाद भएको साविकमा निजको परिवार सहतिको बसोबास भएको उदयपुर जिल्ला हडिया गा.वि.स. बाट प्राप्त जन्म दर्ता किताबमा २०५१।१२।२१ मा निजको जन्म दर्ता हुँदा २०४२।१०।१२ को जन्म मिति अंकित भएको देखिँदा निजको हकमा जबरजस्तीकरणीको महलको ३ नं. को देहाय २ आकर्षित हुने भएन । सजायको हकमा प्रतिवादीहरू मोहमद अन्सारुल मिया, मोहमद ताहिर मिया तथा मोहमद हजरत मियालाई जबरजस्तीकरणीको महलका ३ नं. को देहाय ३ बमोजिम जनही ५ वर्ष ऐ. का ३क नं. बमोजिम सामूहिक रुपमा जबरजस्तीकरणी गरेको हुँदा जनही थप ५ वर्ष कैद हुने र ऐ .का १० नं. बमोजिम प्रतिवादीहरूको आधा अंश समेत पीडितलाई भराई दिने ठहर्छ भन्ने सप्तरी जिल्ला अदालतको मिति २०६१।५।२ को फैसला ।
१४. जाहेरवालाले भनेको मिति र समयमा मैले कुनै जबरजस्तीकरणीको अपराध गरेको छैन । मिति २०६०।७।२० गते राती म निज मिनाकुमारीको घरमा गएको छैन । नकाव लगाएका तीनजना केटा घर भित्र पसेको भनी नचिनी अभियोग लगाएको छ । जबरजस्तीकरणी भएको कुनै प्रमाण छैन । योनीमा रक्तश्राव घाउ, चोट पटक लागेको छैन । परीक्षण प्रतिवेदनमा जबरजस्तीकरणी गरेको विर्य समेत पाईएको छैन । प्रहरी कार्यालयमा गरेको बयान र बिना आधार प्रमाण अन्सारुल मियालाई जबरजस्तीकरणी महलको ३ नं. को देहाय ३ बमोजिम ५ वर्ष ऐ. ३क नं. बमोजिम सामूहिक रुपमा जबरजस्तीकरणी गरेको हुँदा थप ५ वर्ष कैद हुने र ऐ. को १० नं. बमोजिम प्रतिवादीहरूको आधा अंश समेत पीडितलाई भराई दिने ठहरी भएको शुरु फैसला त्रुटिपूर्ण हुँदा उल्टी गरी इन्साफ दिलाई पाउँ भन्ने समेतको २०६१।७।१६ को प्रतिवादी मोहमद अन्सारुल मियाको पुनरावेदन पत्र ।
१५. सगरमाथा अञ्चल अस्पतालबाट भै आएको मेडिकल रिपोर्टमा करणी भएको भनी एकिन साथ भन्न नसकिने पीडितको योनी तथा योनाङ्गमा कुनै पनि चोट पटक नदेखिएको योनीको झिल्ली नभएको योनी स्वावमा शुक्रकिट नपाईएको योनी लगायत शरिरको अंगहरूमा कुनै घाउ चोट पटक देखिएको नपाईएको केन्द्रीय प्रहरी वैज्ञानिक प्रयोगशालाबाट आएको रिपोर्टमा समेत योनी स्वावमा शुक्रकिट नभेटिएको भन्ने स्पष्ट रुपमा लेखिदै आएको, पीडितले आफ्नो बचाउको निमित्त कुनै संघर्ष नगरेको तत्काल उजुरी नगरी २०/२५ दिन पछि मात्र मौखिक आधारमा उजुरी गरेको लुगा कपडामा रगत तथा विर्य लागेको भनेतापनि सो कपडाहरू हतारमा सफा गर्नु समेतमा क्रियाकलापबाट जबरजस्तीकरणी नभएको प्रष्ट हुँदा हुँदै शुरुले सजाय गर्ने गरेको फैसला न्यायीक मन र कानूनी सिद्धान्त विपरीत हुँदा बदर गरी पाउँ भन्ने समेतको प्रतिवादी हजरत मिया र ताहिर मियाको संयुक्त पुनरावेदन जिकिर ।
१६. मिसिल संलग्न प्रमाणहरूबाट पीडित मिनाकुमारी तामाङको उमेर १४ वर्ष नै भएको स्पष्ट छ । सो स्थितिमा पीडित मिनाकुमारीको उमेर सम्बन्धमा विवाद रहेको एवं पीडितको जन्मदर्ता किताबमा उल्लेखित जन्म मितिको आधार लिई प्रतिवादीहरू उपर दावी लिईएको जबरजस्तीकरणीको महलको ३ नं. को देहाय २ बमोजिम सजाय नगरी दावी घटाई ऐ. को ३(३) नं. बमोजिम सजाय गर्ने शुरु सप्तरी जिल्ला अदालतको फैसला इन्साफको दृष्टिबाट त्रुटिपूर्ण हुँदा सो बदर गरी प्रतिवादीहरूलाई अभियोग माग दावी बमोजिम सजाय गरी पाउँ भन्ने समेतको वादी श्री ५ को सरकारको पुनरावेदन पत्र ।
१७. आफ्नै बाबुको अगाडि माओवादी कमाण्डरको हवाला दिई एउटी छोरीको अपहरण भई जबरजस्तीकरणी गरेको घट्ना देखे पछि सो घट्नाबाट पीडित समेतले लेखाएको भनाई र अदालतमा गरेको वकपत्रलाई अस्वभाविक र अन्यथा भन्न सकिएन । वादी दावी बमोजिम प्रतिवादीहरूले पीडित मिनाकुमारी तामाङलाई जबरजस्तीकरणी गरेको ठहर गरी शुरु सप्तरी जिल्ला अदालतले २०६१।५।२ मा गरेको फैसला मिलेकै देखिदा सदर हुने ठहर्छ । वादी श्री ५ को सरकार प्रतिवादीहरूको पुनरावेदन जिकिर पुग्न सक्दैन भन्ने पुनरावेदन अदालत राजविराजको २०६२।१।११ को फैसला ।
१८. पुनरावेदन अदालत सप्तरी राजविराजको फैसला त्रुटिपूर्ण हुँदा चित्त बुझेन । जाहेरवालीलाई मैले करणी पनि नगरेको निजको पिता, आमाको साम्नेबाट लगेको भए तत्कालै प्रतिकार, उजुरी गर्नु पर्ने थियो । म माथि गाउँघरमा भएको गुटबन्दीको परिणाम नै जाहेरी हो । २०६०।७।२१ मा घट्ना घटेको भनी २०६०।८।१० मा परेको जाहेरीबाट सो तथ्य पुष्टि भएको छ । शारीरिक जाँचको सगरमाथा अञ्चल अस्पतालले दिएको प्रतिवेदन समेतमा योनीमा शुक्रकिट नदेखिएको, सुनिएको चोट पटक नरहेको भनिएबाट जाहेरी झुठ्ठा भएको प्रष्ट छ । प्रहरीमा भएको साविती स्वेच्छाको नभएको कुरा मेरो अदालतमा भएको बयानले स्पष्ट गरेको छ । पीडितले लगाएको पेन्टी समेतका केही कुरा बरामद भएका छैनन् । शंकाजन्य स्थिति बनाई बनावटी आधारमा मलाई फसाउने हेतुले जाहेरी गरेको र सोही आधारमा भएको निर्णय ने.का.प. २०४१ अंक २ पृ. १७३ मा प्रतिपादित सिद्धान्त विपरीत छ । उल्लेखित तथ्य एवं प्रमाणका अभावमा गरिएको शुरुको फैसला उल्टी गरी अभियोग दावीबाट सफाई गरी पाउँ भन्ने प्रतिवादी हजरत मियाको यस अदालत समक्ष पर्न आएको पुनरावेदन ।
१९. जाहेरी दरखास्त समयमा दिन नसक्नुको पछाडि यथोचित कारण देखाईएको छैन । सगरमाथा अञ्चल अस्पतालले दिएको प्रतिवेदनलाई प्रमाण ऐनको दफा १८ विपरीत गलत ढंगबाट लिईएको छ । घट्ना भएको प्रत्यक्ष देख्ने साक्षी अभियोजन पक्षले पेश गर्न सकेको छैन । सबै सुनी जान्ने प्रमाण छन् । सुनी जान्ने प्रमाणमा टेकी निर्णय गरिएको प्रमाण ऐन, २०३१ को दफा २५ विपरीत छ । पीडितको योनीमा शुक्रकिट पाईएको, करणी भएको कुनै चिन्ह निलडाम त्यस्तो देखाउन सकिएको पनि छैन । सगरमाथा अञ्चल अस्पतालबाट म पुनरावेदकको शारीरिक जाँच हुँदा पनि करणीको कुनै चिन्ह प्रमाण देखाउन सकेको छैन । पीडितलाई घरबाट उठाई लगेको भन्ने देख्ने प्रत्यक्षदर्शी साक्षी प्रमाण केही छैन । घट्ना घटेको भनी लिएको स्थान ५ घण्टाको फरक दुरीमा छ । जबरजस्तीकरणी भएको भए दुरीमा त्यस्तो फरक आउन पर्ने होइन । बाबु आमाको अगाडि लगिएको भए त्यति पछाडि उजुरी गर्नु पर्ने थिएन । बाबु आमाले पनि जाहेरी गर्न सक्ने थिए । जाहेरी निजहरूले नगर्नुको पछाडि नै मलाई फसाउन जाल भएको प्रस्ष्ट छ । शंकाको भरमा वास्तविक तथ्य प्रमाणको मूल्याङ्कन नगरी भएको शुरू निर्णय सदर गरेको पुनरावेदन अदालतको फैसला उल्लेखित जिकिरको आधारमा समेत त्रुटिपूर्ण हुँदा बदर गरी अभियोग दावीबाट सफाई पाउँ भन्ने प्रतिवादी मध्येबाट अन्सारुल मियाको यस अदालत समक्ष पर्न आएको पुनरावेदन ।
२०. मलाई फसाउने नियतबाट ढिलो गरी जाहेरी परेको छ । जाहेरीनै शंकास्पद छ । शंकास्पद जाहेरी, प्रहरीमा भएको साविती सम्मलाई आधार बनाई फैसला गरिएको छ । पीडित मिनाकुमारी तामाङको शारीरिक जाँच प्रतिवेदनलाई प्रमाण ऐन, २०३१ को दफा १८ बमोजिम प्रमाणमा लिईएको छैन । घट्ना भएको देख्ने प्रत्यक्षदर्शी साक्षी यो हो भनेर अभियोजन पक्षले देखाउन सकेको छैन । प्रमाण ऐनको दफा २५ बमोजिम प्रमाणको भार अभियोजन पक्षमा रहने सो पूरा गर्न सकेको छैन । पीडितको योनीमा कुनै शुक्रकिट, निलडाम घाऊ चोटपटक देखिएको छैन । कुनै दशी पेश भएको छैन । न्यायीक मनको प्रयोग नभै भएको शुरु इन्साफ सदर गरेको पुनरावेदन अदालतको फैसला बदर गरी अभियोग दावीबाट सफाई पाउँ भन्ने प्रतिवादी मध्येको मोहम्मद ताहिर मियाको यस अदालत समक्ष पर्न आएको पुनरावेदन ।
२१. नियम बमोजिम दैनिक मुद्दा पेशी सूचीमा समावेश भई निर्णयार्थ इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादीहरू तर्फबाट उपस्थित वैतनिक अधिवक्ताहरू श्री टंक बहादुर रावल, श्री अनिता दिक्षीत तथा अधिवक्ता श्री मोतिलाल श्रेष्ठले आमाको साम्नेमा पिडीतलाई लगिएको भनेको छ, निजहरूले तत्कालै जाहेरी दिन सकेको छैन । शंकास्पद ढंगले जाहेरी परेको छ । पीडितको शारीरिक जाँचमा अस्पतालको बोर्डबाट दिएको प्रतिवेदनको मूल्याङ्कन नगरी प्रहरीमा भएको साविती बयानलाई आधार बनाई कसूर कायम गरिएको छ । प्रत्यक्षदर्शी साक्षीको अभावमा भएको फैसला त्रुटीपूर्ण हुँदा बदर गरी प्रतिवादीहरूले अभियोग दावीबाट सफाई पाउनु पर्दछ भनी गर्नु भएको बहस समेत सुनियो ।
२२. विद्वान अधिवक्ताहरूको उपरोक्त बमोजिम बहस समेतलाई मध्यनजर राखी पुनरावेदन अदालत राजविराजले प्रतिवादीहरूलाई जनही १० वर्ष कैद र आधा अंश पिडीतलाई भराई दिने गरी भएको फैसला मिले नमिलेको के रहेछ निर्णय दिनु पर्ने देखिन आयो ।
२३. निर्णय तर्फ विचार गर्दा, मिति २०६०।७।२१ मा रातको अन्दाजी १ बजे घरमा सुतेकी छोरी उठाई लगि प्रतिवादीहरूले जबरजस्तीकरणी गरेको हुँदा आवश्यक कारवाही गरी पाउन परेको मिति २०६०।८।१० को पदम बहादुर तामाङको जाहेरीको आधारबाट भएको अनुसन्धानबाट प्रतिवादीहरूले सामूहिक रुपमा जबरजस्तीकरणी गरी मुलुकी ऐन जबरजस्तीकरणीको १ नं. को विपरीत कसूर गरेको पुष्टि भएकोले ऐ. को ३(२) र ३(क) नं. बमोजिम सजाय गरी पीडितलाई ऐ. को १० नं. बमोजिम आधा अंश समेत भराई पाउँ भन्ने अभियोग दावी रहेको देखियो । उल्लेखित दावी रहेको प्रस्तुत मुद्दामा प्रतिवादीहरूलाई जबरजस्तीकरणीको महलको ३(३) नं. बमोजिम जनही ५ वर्ष कैद र ऐ. ३क नं. बमोजिम सामूहिक जबरजस्तीकरणी गरेकोमा थप ५ वर्ष र १० नं. बमोजिम पीडितलाई आधा अंश भराई दिने ठहराएको शुरु सप्तरी जिल्ला अदालतको २०६१।५।२ को फैसला उपर वादी प्रतिवादी दुवै पक्षको पुनरावेदन पर्दा पुनरावेदन अदालत राजविराजले शुरु निर्णय सदर गरेको २०६२।१।११ को फैसला उपर प्रतिवादीहरूको यस अदालत समक्ष प्रस्तुत पुनरावेदन परेको पाईयो ।
२४. २०६१।७।२१ गते रातको १ बजेको समयमा छोरी मिनाकुमारीलाई घरबाट उठाई प्रतिवादीहरूले जबरजस्तीकरणी गरेको भन्ने जाहेरवाला पदम बहादुर तामाङको जाहेरी रहेकोमा अनुसन्धानको क्रममा प्रतिवादीहरू हजरत मिया, मोहम्मद अन्सारुल मिया, मोहम्मद ताहिर मियाले जिल्ला न्यायाधिवक्ता मेदिनीप्रसाद पौडेल समेत समक्ष उपस्थित भै बयान गर्दा पीडित मिनाकुमारीलाई रातको १ बजेको समयमा उठाई लगेको र पालै पालो गरी करणी गरेको कुरामा सावित भै बयान गरेको पाईयो । अदालत समक्ष भएको निजहरूको बयानमा अनुसन्धानको क्रममा भएको साविती बयान स्वेच्छापूर्वक नभएको भनी आरोपित कसूरमा इन्कार रही बयान गरेतापनि स्वेच्छाबाट बयान नभएको अवस्था पुष्टि गर्न सकेको देखिन आएन । रातको १ बजेको समयमा छोरी मिनाकुमारीलाई उठाई आफूहरू माओवादी भएको, हो–हल्ला गरे गोली हानी मारी दिने भनी धम्कि दिई छोरीलाई प्रतिवादी मध्येको ताहिर मियाले काँधमा बोकी अन्य २ जना प्रतिवादी समेतले लगेका हुन् । तत्कालै हल्ला गरी गाउँलेको सहयोगमा छोरीको खोज तलास गर्दै जाँदा अजिम मियाको आँपको बगैचामा रहेको छाप्रोमा पुग्दा अभियुक्तहरू भागी गएका र छोरी छाप्रो भित्र नांगो अवस्थामा आलस–तालस अवस्थामा फेला पारी के भयो भनी सोद्धा उल्लेखित प्रतिवादीहरूले पालै पालो जबरजस्तीकरणी गरेका हुन भनेकी हुँदा कारवाही गरी पाउँ भन्ने पदम बहादुरको किटानी जाहेरी दरखास्त रहेको र सो जाहेरीलाई समर्थन गरी अदालत समक्ष उपस्थित भै वकपत्र गरेको पाईयो । पीडित मिनाकुमारीले मौकामा गरेको कागजमा प्रतिवादीहरूले रातको १ बजेको समयमा आफू सुती रहेको अवस्थामा उठाई माओवादीको हवाला दिई उठाई लैजान लाग्दा बाबु आमाले निजहरूसँग मलाई नलैजान बिन्ती गर्नु भएको थियो । हल्ला गरे मारी दिने धम्की दिई प्रतिवादी मध्येको मोहम्मद ताहिर मियाले काँधमा उठाई लगेका र अजिज मियाको आँपको बगैंचाको छाप्रोमा लगि पालो पालो गरी जबरजस्तीकरणी गरेका हुन् भनी उल्लेख गरी सोही व्यहोरालाई समर्थन गरी अदालत समक्ष उपस्थित भै वकपत्र गरेको देखिन्छ । बद्री सदा मुसहरको रातको १० बजेको समयमा निज घरमै सुतिरहेको अवस्था थियो, जाहेरवाला पदम बहादुरले हो हल्ला गरे पछि के भएछ भनी निजको घरमा जाँदा प्रतिवादीहरूले छोरीलाई उठाई लगे भनेका र खोज तलास गर्दै जाँदा अजिज मियाको आँपको बगैचामा रहेको छाप्रोमा पुग्दा प्रतिवादीहरू भागी गएका, पीडित मिनाकुमारी नग्न अवस्थामा आलस–तालस रहेकोमा निजलाई के भयो भनी सोद्धा प्रतिवादीहरूले जबरजस्ती पालो पालो करणी गरेको भनेकी र उल्लेखित प्रतिवादीहरू पहिला देखिनै फटाहा प्रवृत्तिका हुँदा पीडितको भनाई विश्वास लाग्छ भन्ने मौकाको कागजलाई समर्थन गरी अदालत समक्ष उपस्थित भै वकपत्र गरेको पाईयो । प्रतिवादीहरू हजरत मिया, ताहिर मिया र अन्सारुल मिया उपर जबरजस्तीकरणी जस्तो संवेदनशील अपराधमा जाहेरी दिनु पर्ने सम्मको जाहेरवालासँग कुनै पूर्व रिसइवी भएको भनी प्रतिवादीहरूले उल्लेख गर्न सकेको देखिएन । यसै गरी पीडित स्वयंले प्रतिवादीहरू उपर जबरजस्तीकरणी जस्तो गम्भिर अपराध गरेको भनी आरोप लगाउनु पर्ने अवस्था प्रतिवादीले भन्न देखाउन सकेको अवस्था देखिदैन ।
२५. प्रतिवादीहरू रातको समयमा नकाव लगाई माओवादीको हवाला दिई पीडितको घरमा पुगेको र पीडितको परिवारलाई पेस्तोल देखाई हल्ला गरे मारी दिने धम्कि समेत दिएको र आफूलाई उठाई लगेको भन्ने पीडितको भनाई रहेको छ । बद्री सदा मुसहर, जाहेरवाला समेत भै पीडितलाई मध्य रातमा फर्काएको अवस्था छ । प्रतिवादीहरू अनुसन्धानको क्रममा पीडितलाई करणी गरेकोमा सावित रहेका छन् । पीडितको मञ्जुरी थियो भन्ने भनाई रहेकोमा पीडितको मञ्जुरीबाट करणी भएको भए हो–हल्लाको अवस्था र जाहेरवाला समेत भै पीडितको उद्धार गर्ने अवस्था पर्ने थिएन । आफूहरू माओवादी भन्दै हल्ला गरे गोली हानी मारी दिने धम्की दिई जोर जुलुम गरी पीडितलाई उठाई लगेको भन्ने जाहेरवाला, पीडित र मौकामा उद्धार गर्न गएको व्यक्तिको भनाईबाट जिउ ज्यानको खतराको अवस्था विद्यमान हुँदा समयमा जाहेरी नपरेको र पीडितको स्वास्थ्य परीक्षण हुन नसकेको भन्ने भनाई देखिन आयो ।
२६. जबरजस्तीकरणी जस्तो संगिन फौजदारी अपराधमा पीडित, पीडितको साक्षी जाहेरवालाका सम्बन्धमा अदालतले परिस्थितिलाई गम्भिर रुपमा मूल्याङ्कन गर्नु पर्ने हुन्छ । जाहेरवाला, पीडित, पीडितको साक्षी उपरको डर, धाक, जिउ ज्यानको खतरा सम्मको कारणबाट जाहेरी समयमा नपरेको, शारीरिक जाँच हुन नसकेको वा साक्षी उपर अनुचित प्रभावमा पर्न सक्ने सम्मको अवस्था रहे नरहेको सो कुराको मूल्याङ्कन हुन आवश्यक हुन्छ । डर, धाक, जिउ ज्यानको खतराको कारण जाहेरी समयमा नपर्न पनि सक्छ । डर धाकको प्रभाव न्यूनीकरण वा सुरक्षाको अनुभूति पश्चात अपराधको जानकारी वा जाहेरी पर्नुलाई अवस्थाको बाध्यताको रुपमा लिनु पर्दछ । यस्तो अवस्थाको विद्यमानतामा शारीरिक परीक्षण हुन नसक्नु स्वभाविक नै हुन्छ । जिउ ज्यानको खतराको कारणले समयमा जाहेरी नपरेको वा शारीरिक परीक्षण हुन नसकेको अवस्थाबाट न्यायीक कार्यमा जटिलता आउन सक्ने हुन्छ । पीडित वा साक्षीहरूको संरक्षण सम्बन्धी कानून वा कार्यक्रमको अभावमा यस्ता परिस्थितीको पुनरावृत्ती भई रहन सक्छ । तथापि अन्य प्रमाणको आधारमा अपराधको छिनोफानो र न्याय प्रदान गर्ने कार्य सम्पन्न हुनु पर्ने हुन्छ ।
२७. जबरजस्तीकरणी अपराधका सम्बन्धमा मुलुकी ऐन जबरजस्तीकरणी महलको १ नं. मा भएको कानूनी व्यवस्था बमोजिम “कन्या, विधवा वा अर्काकी सधवा स्वास्नी मानिसमा सोह्र वर्ष मुनिकीलाई उसको मञ्जुरी लिई वा नलिई जुनसुकै व्यहोरासँग करणी गरे पनि र सोह्र वर्ष नाघेकीको राजीखुसी बिना बेमञ्जुरीले जुनसुकै तरहसँग भए पनि जोर जुलुम गरी डर धाक देखाई वा अनुचित प्रभावमा पारी करणी गरेको समेत जबरजस्तीकरणी गरेको ठहर्छ” भन्ने कानूनी व्यवस्था रहेको देखिन्छ । जाहेरवालाको घरमा रातको १ बजेको समयमा मार्ने सम्मको डर धाक, धम्कि दिई संत्रासको वातावरण बनाई पीडितलाई उठाई लगि पालै पालो सामूहिक रुपमा जबरजस्तीकरणी गरेको उल्लेखित मिसिल संलग्न प्रमाणको विवेचनाको आधारमा पुष्टि हुन आएको हुँदा निज प्रतिवादीहरूले जबरजस्तीकरणीको १ नं. को कसूर गरेको देखिन आयो । शुरु सप्तरी जिल्ला अदालतले प्रतिवादीहरूलाई जबरजस्तीकरणी अपराधमा जनही ५ वर्ष कैद गरी सामुहिक रुपमा सो कसूर गरेकोमा जनही थप ५ वर्ष कैद र प्रतिवादीहरूको आधा अंश सर्वश्व गरी पीडितलाई भराई दिने ठहराएको फैसला सदर गरेको पुनरावेदन अदालत राजविराजको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । पुनरावेदक प्रतिवादीहरूको पुनरावेदन जिकिर पुग्न सक्दैन । मिसिल नियम बमोजिम बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या.कल्याण श्रेष्ठ
उप–सचिव कविप्रसाद न्यौपाने
इति संबत् २०६४ साल मंसिर १२ गते रोज ४ शुभम् ...................