निर्णय नं. ७८७० - लिखत दर्ता बदर

निर्णय नं.७८७० ने.का.प. २०६४ अङ्क ८
सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री शारदाप्रसाद पण्डित
माननीय न्यायाधीश श्री रामकुमारप्रसाद शाह
सम्बत् २०५८ सालको दे..पु.नं.....७०७०
फैसला मितिः २०६४।८।४।३
मुद्दाः– लिखत दर्ता बदर ।
पुनरावेदक/ वादीः जिल्ला सप्तरी राजविराज न.पा. वा.नं ६ घर भै मोरङ्ग जिल्ला विराटनगर उ.प.न.पा. बस्ने वडा नं ७ बस्ने विमला देवी पोखरेल समेत
विरुद्ध
प्रत्यर्थी / प्रतिवादीः जिल्ला काठमाडौं का.म.न.पा. वडा नं. ३३ घर भै मोरङ्ग जिल्ला विराटनगर उ.प.न.पा. वडा नं १७ बस्ने ललिता देवी श्रेष्ठ समेत
शुरु फैसला गर्नेः
मा.न्या. श्री ओमप्रकाश मिश्र
पुनरावेदन तहमा फैसला गर्नेः
मा.न्या. श्री गौरी ढकाल
मा.न्या. श्री परशुराम झा
§ कुनै अचल सम्पत्ति दाइजो हो भन्ने कुरा लिखतबाट नै देखिनु पर्ने र सो कुरा तथ्यपूर्ण रुपमा त्यस्तो जिकिर लिने पक्षले स्थापित गर्नु पर्ने ।
(प्रकरण नं.२२)
§ लिखतमा नै स्पष्ट रुपमा उल्लेख भएको नदेखिएको र लिखतमा नै अभिव्यक्त नभएको कुरा पछि मुद्दा चल्दा जग्गाको दाताले मौखिक रुपमा व्यक्त गरेको कुरालाई अदालतले आधारभूत प्रमाणको रुपमा ग्रहण गर्न नमिल्ने ।
§ जग्गा दाताको निकै लामो अन्तराल पछि व्यक्त कथनले मौकामा लिखतमा उल्लेख नभएको वेहोराको पूर्ति गर्दछ भनी मान्न नमिल्ने ।
(प्रकरण नं.२३)
§ साक्षी वा साक्षीको रुपमा बुझ्ने भनिएको व्यक्तिले आफूले देखी सुनी थाहा पाएको कुनै कुरा व्यक्त गर्नु पर्ने हुन्छ र त्यस्तो मौखिक प्रमाण स्वरुपको कथनको मात्र प्रमाणिक महत्व हुने हुँदा साक्षीले कानून बमोजिम वारेस राख्न नपाउने हुन्छ । साक्षीले त्यसरी वारेस मार्फत व्यक्त गरेको कुरा प्रमाण ऐन, २०३१ बमोजिम प्रमाणमा ग्राह्य हुन नसक्ने ।
§ सामाजिक रुपमा पनि लोग्ने स्वास्नीको सम्बन्धविच्छेद गराउन सकिने भन्ने अवधारणलाई नेपालको कानूनी प्रावधानले अंगिकार गरेको देखिन आँउदैन । लोग्ने स्वास्नीले स्वेच्छापूर्वक अलग अलग बसेमा वा समाजका व्यक्तिको रोहवरमा अलग हुने वचनवद्धता व्यक्त गरी छुट्टिएको भएमा अथवा सामाजिक स्तरमा निर्णय गरी वैवाहिक सम्बन्ध टुटाइदिएको अवस्था भएमा समेत यस्तो वैवाहिक विच्छेदको सामाजिक मान्यता भएपनि नेपालको कानूनी व्यवस्थाले तोकेको प्रक्रिया पूरा गरी रीतपूर्वक अदालतबाट निर्णय गराई सम्बन्धविच्छेद नभएसम्म वा अरुसँग विवाह गरेको वा अरुसँग करणी गराएको कुरा अदालतमा सावित नभएसम्म लोग्ने स्वास्नीको सम्बन्धविच्छेद भएको भनी कानूनको दृष्टिकोणमा मान्न सकिने हुँदैन । कानूनी रुपमा स्थापित नभएसम्म व्यवहार प्रमाणबाट सम्बन्धविच्छेद भएको मात्र नमिल्ने ।
§ समाजका सदस्यहरूको सम्बन्धविच्छेद गर्ने हैसियत र अधिकार नहुने हुँदा प्रतिवादीको पतिसँग सम्बन्धविच्छेद भएको भनी प्रमाणित गरी दिएमा पनि कानूनको दृष्टिमा निजहरूको सम्बन्धविच्छेद भएको भनी सम्झन र कानूनी स्थान प्राप्त भएको भनी मात्र नमिल्ने ।
(प्रकरण नं.२६)
§ अरुसँग विवाह गरिसकेको कुरा स्वीकार गरेको अवस्थामा लोग्ने तर्फबाट पाएको वा लोग्नेको जीवनकालमा लोग्ने तर्फबाट आफ्नो नाँउमा खरीद भइ आएको दावीको जग्गा र घरमा प्रतिवादीको हक समाप्त भई हकवालाको हक भइसकेपछि निजले उक्त जग्गा बिक्री गरेको कार्य स्त्री अंशधनको ६ नं.को व्यवस्था विपरीत रहने ।
(प्रकरण नं.२८)
§ आफ्नो हक हुन आएको अचल सम्पत्ति जग्गा पजनीको महलको २ क नं. बमोजिम हकवालाले जहिले सुकै आफ्नो नाँउमा नामसारी गर्न मिल्ने ।
(प्रकरण नं.२९)
पुनरावेदक वादीहरूको तर्फबाट रहनु भएका वरिष्ठ विद्धान अधिवक्ताहरू श्री श्यामप्रसाद खरेल, अधिवक्ता कृष्णप्रसाद भण्डारी, सनद देवकोटा र सतिसकृष्ण खरेल
प्रत्यर्थी प्रतिवादीबाट विद्धान वरिष्ठ अधिवक्ता श्री गणेशराज शर्मा, अधिवक्ताहरू रामनाथ मैनाली, शम्भु थापा
अवलम्वित नजीरः ने.का.प २०४८ नि.नं ४४३७ पृ ८५९), ने.का.प २०४९ नि.नं ४५५४ पृ.५३८), ने.का.प २०४६ नि.नं. ३८७३ पृ.७२२) ।
फैसला
न्या.रामकुमारप्रसाद शाहः न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१)(क) (ख) बमोजिम मुद्दा दोहोर्याई हेर्ने निस्सा प्राप्त भै पुनरावेदन दायरीमा दर्ता भई पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार रहेको छ ।
२. हामी फिरादीका पति पिता लक्ष्मीप्रसाद भन्ने दिनेशकुमार पोखरेलको २ पत्नी मध्ये जेठी विपक्षी मध्येकी ललिता देवी र कान्छी म विमला देवी भै विपक्षी ललिता देवीबाट कुनै सन्तानको जायजन्म भएन र कान्छी पत्नी म विमला देवीबाट हामी भाष्करकुमार पोखरेल र रवीन्द्रकुमार पोखरेलको जायजन्म भई हामी विपक्षी ललिता समेतका अंशियार हकदार पति पिताकै एकाघर सगोंलमा बसी आएको अवस्था पति पिताले विपक्षी ललिताका नाँउमा मोरङ्ग बि.नं न.पा. वडा.नं. ११ को हाल वार्ड नं १७ र साविक वार्ड नं ६ परिवर्तित वार्ड नं १३ मा जग्गा जमीन समेत खरीद आर्जन गरी वार्ड नं १ को जग्गामा पक्की घर समेत बनाई भोगी आएको हाम्रो बीच अंशवण्डा भएको थिएन । सबै ४ अंशियार हकदार पति पिताकै एकाघर संगोलमा बसी आएको अवस्था हाम्रा पति पिता कालगतिले मिति २०४७।१०।१० गते परलोक हुनुभयो । हामी छोरा पत्नीले हिन्दु धर्मानुसार काज क्रिया गर्यौँ । हामी मध्ये म बिमला देवीको सौता र हामी भाष्कर र रविन्द्र र कान्छी आमा विपक्षी मध्येकी ललिता आफ्नो पति अर्थात हाम्रा पति पिता दिनेशकुमारको सत्य डगाई २०५० साल बैशाखमा काठमाडौं नगरपालिका स्थित कालीमाटी बस्ने लक्ष्मण श्रेष्ठसँग पोइल गएकी हुँदा हाम्रा पति पिताले ललिता देवीका नाँउमा खरीद गरी आर्जन गरेको जग्गाहरूमा मु. ऐन, अंशबण्डाको ५ नं र स्त्री अंशधनको ६ नं बमोजिम प्र ललिताको अंश हक रहने नभै हामी वादीहरूको मात्र अंशहकको जग्गा हुँदा सो ललिता देवीका नाम दर्ताको जग्गा घरमध्ये वि.नं.पा. वडा नं ११(ख) को कि.नं १७३ को ०-४-३ जग्गा हामीहरूका नाँउमा नामसारी दर्ता गरी पाउँ भनी ०५०।११।२५ मा मा.पो.का. मोरङ्गमा निवेदन दिई सो सम्बन्धी कारवाही चली रहेको थियो । हालसम्म त्यस कार्यालयमा विचाराधीन छ । यस्तैमा हाम्रा पति पिताले ललितादेवीका नाँउमा विराटनगरमा अर्को जग्गा पनि खरीद आर्जन गरेको भन्ने जानकारी हुन आई निजका नाँउमा वि.न.पा. वडा नं ६ को कि.नं ७८ को ०—३—१२ जग्गा समेत मा.पो.का. गई निवेदन दिई दुवै कित्ता जग्गा र घर हाम्रो नाममा नामसारी दर्ता हुने गरी सहमति जनाई दिनोस भनी विपक्षी ललिता र लक्ष्मण श्रेष्ठलाई भन्दा हुन्छ भन्नु भएको थियो । यस्तैमा उल्लेखित कि.नं. १७३ को ०—४—३ र सो मा भएको पक्की घर जग्गा मात्र अर्कालाई बिक्री गरी दिएको कुरा थाहा पाई २०५२।१२।४ गते मा.पो.का.बाट नक्कल प्राप्त गरी हेर्दा दिने ललितादेवी भन्ने ललितादेवी उपाध्याय लिने इन्द्रकुमार मास्के भई रु ४,१५,०००।— को थैली राखी ०५२।११।१७ गतेमा मा.पो.का. मोरङ्गको डोर मार्फत राजीनामा पास गरे गराएको कुरा थाहा जानकारी भएको र ललिता देवीलाई किन उक्त जग्गा इन्द्रकुमार मास्केलाई बिक्री गरी दिनु भयो भनी भन्दा मेरो नामको जग्गा बिक्री गरेको छु । तपाइलाई जे मन लाग्छ गर भनी ठाडो जवाफ दिएकाले विपक्षीहरू उपर फिराद गर्न आएको छु । विपक्षी ललिताका नाम दर्ताको वि.न.पा. वडा नं ६ अन्तरगतको कि.नं. ७८ को ०—३—१२ जग्गाको मा.पो.का. मोरङ्गमा नामसारी दर्ता गराउन निवदेन दिई कारवाही हुने नै हुँदा सो बाहेक ललिता देवीले हाम्रा पति पिताको सत्य डगाई विपक्षी मध्ये लक्ष्मण श्रेष्ठसँग पोइल गएपछि निज नाँउ दर्ताको वि.न.पा. वार्ड नं ११ (ख) कि.नं १७३ को ०—४—३ जग्गामा विपक्षी ललिताको कानूनी हक नरही हामी वादीहरूको मात्र अंश हक लाग्ने हुँदा विपक्षी ललिता देवीले विपक्षी इन्द्रकुमार मास्केलाई मिति ०५२।११।१७ गते मा राजीनामा पारित गरी दिनु भएको सम्पूर्ण लिखत र सो आधारमा इन्द्रकुमार मास्केले गराउनु भएको दर्ता समेत बदर गरी न्याय पाउँ भन्ने समेत वादी दावी ।
३. प्र.मध्येको ललिता उपाध्यायबाट मैले वि.न.पा. ११(ख) कि.नं.१७३ को ०—४—३ ०५२।११।१७मा पास गरी लिएको राजीनामा लिखतको जग्गा मेरा नाममा दर्ता भएको बदर हुने होइन । निज ललिताले आफ्ना नाम दर्ताको जग्गा निजबाट रजिष्ट्रेशन पास गरी मैलै खरीद गरी लिएको छु । त्यसो हुँदा मेरो राजीनामा लिखत र दर्ता बदर हुने होइन दावीको जग्गामा विपक्षीहरू कसैको पनि भोग बसोबास थिएन र हाल पनि विपक्षीहरूको सो जग्गा घरमा भोग बसोबास छैन । लेनदेन व्यवहारको ४० नं., ज.मि.का १८ नं ले लिखत र दर्ता बदरमा उजुर गर्ने होईन । जग्गा पजनीको १७ नं. पनि रजिष्ट्रेशन पारित भएको लिखत दर्ता बदर गर्न उजुर गर्ने ऐन नभएकोले उक्त ऐनहरू आर्कषित नहुने प्रष्टै छ । विपक्षीहरूको पति पिताले खरीद गरेको हो भन्ने कुनै सवुद प्रमाण बेगर मौखिक भनाईको आधारमा मैले खरिद गरेको जग्गा विपक्षीको कायम हुने होइन । त्यसका अतिरिक्त हक कायमतर्फ विपक्षीको कुनै दावी नभएको र कोर्ट फी समेत नराखेको हुँदा सो समेत आधारमा वादी खारेज गरिपाऊँ भन्ने समेत व्यहोराको प्र इन्द्रकुमार मास्केको प्रतिउत्तर ।
४. वादी दावी सम्पूर्ण झुठ्ठा हो, वास्तविक कुरा के भने २०१८ साल वैशाख महिनामा जि. सप्तरी प्र. धनकटी मौजे सौरीयाही बस्ने दिनेशकुमार पोखरेलसँग मेरो १४ वर्षको उमेरमा विवाह भएको हो । विवाहको रित पुर्याउन केही दिन पछि दिनेशकुमार पोखरेलको घर मलाई लगियो । केही दिन बस्दै जाँदा पतिले मलाई कुटपीट गरेको हुँदा माइतीघरमा खबर गर्दा दाजु गोपालप्रसाद नेपाल आई भारत दरभंगा लगी उपचार गराई दाजुले माइती ल्याउनु भएको हुँदा त्यसबेला देखि पति पत्नी बीचसम्बन्ध नराम्रो भएको र विराटनगर नै आइ मैले पढी ०१९ सालमा एस.एल.सी. पास गरेकी र आई.ए पनि विराटनगरमा नै ०२० साल देखि ०२२ साल सम्म पढी पास गरेको तत्पश्चात भारतको बनारस हिन्दु युनिर्भरसिटीबाट ०२५ सालमा वि.ए.र २०२७ सालमा एम.ए. पास गरे । यो समयमा म पतिको घरमा बसिन् । पिता चन्द्रप्रसाद उपाध्यायले नै सम्पूर्ण खर्च गरी मलाई पढाउनु भएको हो । ०१८ सालमा विवाह गरे पश्चात माइती घर विराटनगर बसी पढेको कुरा पति तथा वहाँका परिवारलाई मन परेको थिएन । मैले डिग्री हासिल गरेको कुरा पति एवं निजका परिवारलाई ग्राह्य नभएकोले मनमुटाव र विवाद हुन थाली विराटनगरमै भद्रभलादमीको पंचायती बसी मातृकाप्रसाद कोइराला लगायतका पतिका नातेदार गणेशकुमार पोखरेल समेत बसी समाजिक निर्णय गरी निज दिनेशकुमार पोखरेलको र म ललिताको सम्बन्ध कायम राख्न उचित छैन, सम्बन्ध विच्छेद गर्ने सल्लाह निर्णय अनुसार आइन्दा दिनेश र ललिताको कुनै सम्बन्ध नरहने गरी ०२२ सालमा सम्बन्ध टुटाएको थियो । त्यसरी सम्बन्ध टुटाए पश्चात म निज दिनेशकुमार पोखरेलको घरमा कहिले पनि गइन । सम्बन्ध टुटाए पछि निज दिनेशकुमार पोखरेल तथा अन्य परिवार कसैसँग कुनै सम्बन्ध सरोकार राखेको छैन । निजसँग मेरो कुनै सरोकार सम्बन्ध छैन । मैले आफ्नो डिग्री पुरा गरेपश्चात ०२९।७।१५ गते निर्माण तथा यातायात मन्त्रालय, आवास तथा भौतिक परियोजना विभाग काठमाडौंमा रिसर्च अफिसर पदमा कार्यरत भइ एक्लै बसेकी हुँ । त्यसपछि ०३१।३।२५ गते देखि नेपाल परिवार नियोजन संघ काठमाडौंमा बसी ०४९।३।२ मा स्वैच्छिक अवकास लिएको हुँ । मेरा हालका पति लक्ष्मण लाल श्रेष्ठसँग ०३४ सालमा विवाह गरी पति पत्नी भई काठमाडौमा सँगै बसी आएको हो । विपक्षीहरूको भनाई अनुरुप ०५० साल वैशाखमा विवाह भएको होइन । सो कुरा काठमाडौंमा नगरपालिकाबाट भएको सिफारिस समेतबाट प्रमाणित भएकै छ । जुन प्रमाण स्वरूप पेश गरेको छु । यसका अतिरिक्त ०३६ सालमा जनमतसंग्रह हुँदा तथा ०३८ सालमा राष्ट्रिय पंचायतको चुनावमा भोट खसाल्दा पनि म ललिता र प्र लक्ष्मण श्रेष्ठ पति पत्नी एकै परिवार भई भोट खसालेकोका हौँ । सो बुझिएमा समेत पुष्टि हुने नै छ । मेरा नाँउमा २०१९।७।८ गते कपिल यादवबाट ०—३—० र ०२१।८।८ गते कपिल यादवबाटै ०—१—० गरी जम्मा ०—४—० जग्गा हद नम्बर २१ बाट मेरा पिता चन्द्रप्रसादले खरीद गरी दिनु भएको हो । सोही जग्गामा पिता चन्द्रप्रसाद उपाध्यायले घर समेत बनाई दिनु भएको हो । ०—४—० जग्गा पछि सर्वेनापीमा वि.न.पा. ११.(ख) कि.नं १७३ क्षेत्रफल ०—४—३ धुर कायम भएको हो । सो जग्गा मेरो साविकका पति दिनेशकुमार पोखरेलले खरिद गरी दिएको जग्गा होइन । निजको कुनै रकम उक्त जग्गामा खरिद गर्दा र घर बनाँउदा लागेको छैन । ०१९।७।८ गते खरीद गरेको ०—३—० जग्गा नापीमा ०—४—३ नरबढी कायम भएको होइन । ०२१ सालमा पनि ०—१—० जग्गा खरीद गरी जम्मा ०—४—० जग्गा खरीद भएको हो । उक्त जग्गा माइती तर्फबाट मेरो नाममा खरीद गरी घर वनाई दिएको हुँदा सो घर जग्गा मेरो निजी सम्पत्ति हो । अन्य कसैको हक लाग्ने होइन । स्त्रीअंशधनको महलको ६ नं बमोजिम दावी गर्न सोही ऐनको ८ नं मा भए गरेको मितिले २ वर्ष भित्र नालेस नदिए लाग्न सक्दैन भन्ने स्पष्ट हदम्यादको व्यवस्था गरेको पाइन्छ । तर, विपक्षीहरूले उक्त स्त्रीअंशधनको ८ नं को हदम्याद भित्र प्रस्तुत नालेस दायर गरेको छैन । किनकी ०२२ सालमा मेरो पूर्व पतिसँग मैले सम्बन्ध टुटाई बसेको र ०३४ सालमा प्र लक्ष्मण श्रेष्ठसँग विवाह हुँदा विपक्षीहरूको फिराद दावी स्त्रीअंश धनको ८ नं को हदम्याद नाघी परेको हुँदा प्रस्तुत नालेस खारेज गरिपाऊँ भन्ने समेत व्यहोराको प्र ललिताको प्रतिउत्तर व्यहोरा । प्र मध्येकी ललितासँग ०३४ सालमा विवाह गरी पति पत्नी भई निरन्तर जीवन निर्वाह गरी आएको छु । विपक्षीहरूको दावी अनुसार ०५० साल वैशाखमा विवाह गरेको होइन । साथै काठमाडौं कालीमाटीमा हामी कहिल्यै बसेका छैनौं । प्र.ललिता ०३४ साल देखि मसँग पत्नीको रुपमा निरन्तर बसी आएकी हुँदा विपक्षीहरूसँग बसेको भन्ने समेतको वादी दावी झुठृा हो, विपक्षीहरूले म उपर यो अनावश्यक मुद्दा दिएका मात्र हुन । त्यसो हुँदा वादी दावी खारेज गरिपाऊँ भन्ने प्र.लक्ष्मण लाल श्रेष्ठ समेतको संयुक्त प्रतिउत्तर पत्र ।
५. आदेशानुसार वादीको साक्षी विनयराज उपाध्याय बसन्तकुमार पोखरेल, अनन्तकुमार पोखरेल, विजय हरि शर्मा, र प्रतिवादी ललिता र लक्ष्मण लाल श्रेष्ठको साक्षी नन्दकिशोर, कोपिल यादव भन्ने कपिल यादव र प्रतिवादी इन्द्रकुमार मास्केको साक्षी राजेन्द्रबहादुर थापा समेतको वकपत्र भएको ।
६. आदेशानुसार वादीले पेश गरेको चिठ्ठी प्रतिवादी वारेस भरतबहादुर थापालाई सनाखत गराउँदा मिति १०।५, मिति ०८।७।६३ मिति २१।१०।६५ को पत्र हेरे देखे । पिता चन्द्रप्रसाद नेपाल धेरै वर्ष पहिले परलोक भै सक्नु भएका र मिति उल्लेखित १०।५ मा लेखिएको भनेको पत्रमा साल उल्लेख नभएको हुँदा सो कहिले लेखेको प्रष्ट छैन । पत्रको भाषा हेर्दा मेरो विवाह भएको केही समय पश्चात लेखिएको जस्तो लाग्छ, पत्रको लिपी हेर्दा पिता चन्द्र नेपालले नै लेखेको जस्तो लाग्छ । अरु देखाइएका २ वटापत्र मध्ये प्रिय भनी तथा ज्वाई साहेव भनी सम्बोधन गरी २१।१०।६५ मा लेखिएको पत्रबारे म केही जान्दीन र ८।७।६३ लेखिएको पत्र मसँग सम्बन्धित कुरा उल्लेख गर्दै लेखिएको पत्र के कस्तो लेखेको म जान्दिन मेरो भन्नु यति कै हो भन्ने समेत व्यहोराको प्र.वा.भरतबहादुर थापाको बयान ।
७. यसमा मेरो व्यहोरा के भने चन्द्रप्रसाद नेपालको छोरी ललिताको कलिलै उमेरमा दिनेशकुमार पोखरेलसँग विवाह भएको थियो । निजहरूको आपसमा मेल मिलाप नभएकोले सम्बन्ध राम्रो हुन सकेन । ललिता माइती विराटनगरमा नै आइ बसिन । छोरीको दुःख देखी पिता चन्द्रप्रसाद नेपालले पुरानो हवाई फिल्डनेर जग्गा खरीद गरी दिई आफ्नो निरीक्षण र खर्चमा घर समेत बनाई दिनु भएकोले सो जग्गामा ललिताकै भोग बसोबास रहेको हो । दुवैबीच कटुता कायम रहेको र विवाद भएकाले ०२२ सालमा मेरो अध्यक्षतामा पंचायती बस्यो दुवै पक्षका मानिसहरू उपस्थित थिए । सबैको राय सल्लाह र सर्वसम्मति बमोजिम दिनेशकुमार पोखरेल र ललिताको सम्बन्ध कायम राख्न उचित नदेखि निजहरूको सम्बन्ध टुटाउने र आईन्दा दुवै जना स्वतन्त्र भएको सामाजिक निर्णय दुवैपक्षले मानेका थिए । यसरी सम्बन्धविच्छेद भएपछि ललिता वनारस बसी विद्या आर्जन गरी पढी सकी काठमाडौंमा नोकरी गरी बसेको अवस्थामा ०३४ सालमा विवाह गरेको कुरा मलाई थाहा भएको हो भन्ने व्यहोराको अ.वं १३९ नं बमोजिम बुझिएका मातृकाप्रसाद कोइरालाको वारेस मुकुन्दप्रसाद खनालको बयान ।
८. ललिता देवीले इन्द्रकुमार मास्केलाई मिति ०५२।११।१७ मा पारित गरी दिएको कुरा कानून अनुरूपकै देखिँदा उक्त ०५२।११।१७ को लिखत बदर गरी सो लिखतको आधारमा भएको इन्द्रकुमार मास्केको नामको दर्ता बदर गरी फिरादीहरूको नाममा दर्ता गरिपाऊँ भन्ने समेतको वादी दावी पुग्न नसक्ने ठहर्छ भन्ने मोरङ्ग जिल्ला अदालतको फैसला ।
९. विवादित जग्गा प्रतिवादीको बाबुले खरीद गरी दिएको भन्ने ठोस प्रमाणको अभाव एकातिर देखिन्छ भने अर्को तर्फ ललिता देवीले प्राप्त गरेको जग्गाको श्रोतको रुपमा रहेको राजीनामाको लिखतमा ललिता देवीले दिनेशकुमार पोखरेललाई पति भनी उल्लेख गरेकी छिन् । प्रमाण ऐन २०२१ को दफा ६(क) ले संगोलको अंशियारको नामको जग्गा अन्यथा प्रमाणित नभए सम्म संगोलको मानिने कानूनी व्यवस्थाको विपरीत ललिता देवीको दाइजोको सम्पत्ति मानी निजी आर्जनको भनी वादी दावी पुग्न नसक्ने ठहराएको शुरु फैसला त्रुटिपूर्ण हुँदा उल्टी गरिपाऊँ भन्ने वादीको पुनरावेदन पत्र ।
१०. २०१८ सालमा विपक्षी ललिता देवीको लक्ष्मीप्रसाद भन्ने दिनेशकुमार पोखरेल सित विवाह भएको भन्ने कुरामा प्रतिउत्तर पत्रमा समेत स्वीकार गरेकी र उक्त विवादास्पद जग्गाको मिति २०१९।७।८ को र २०२१।८।८ को राजीनामामा स्पष्ट रुपमा दिनेश पोखरेलकी विवाहिता श्रीमती ललितादेवी पोखरेल भन्ने उल्लेख भएकोबाट विवाह पश्चात उक्त जग्गा खरीद भएको रहेछ भन्ने तथ्यमा विवाद भएन । साथै उक्त रजिष्ट्रेशन लिखतमा दाइजो तथा पेवा भन्ने उल्लेखसम्म नभएको अवस्थामा दाताले ललिता देवीका बाबुले किनी दिएको भनी भनेको एकमात्र मौखिक आधारलाई देवानी दायित्व सित सम्बन्धित मुद्दामा अकाट्य प्रमाण स्वरुप ग्रहण गर्न नमिल्ने तथा ०५०।२।१५ मा मालपोत कार्यालयमा ललिता देवीले दिएको निवेदनमा निजले नै पति लक्ष्मीप्रसाद पोखरेल भनी स्वहस्त सही गरी दिएको निवेदनबाट निज ०५०।२।१५ गते पछि पोइल गएको भन्ने तथ्यमा सम्बन्धित हुने स्थिति देखियो । साथै सो मिति पूर्व विधिवत रुपमा वादी ललिता देवी तथा लक्ष्मीप्रसाद पोखरेलका बीच सम्बन्ध विच्छेद भएको कुनै प्रमाणित आधार समेत नभएको अवस्थामा वादी दावी पुग्न नसक्ने ठहराएको शुरु निर्णय फरक पर्ने देखिँदा अ.वं २०२ नं तथा पुनरावेदन अदालत नियमावली, ०४८ बमोजिम विपक्षी झिकाई उपस्थित भए पछि पेश गर्नु भन्ने पुनरावेदन अदालत विराटनगरको आदेश ।
११. विवादित कि.नं १७३ को जग्गा संगोलको अवस्थामा पति तथा पिता लक्ष्मीप्रसाद भन्ने दिनेशकुमार पोखरेलले सौता ललिताको नाममा खरीद गरी दिएको भन्ने वादीको दावी भएकाले सर्वप्रथम सो सम्पत्तिको हक श्रोतको रुपमा रहेको लिखत अध्ययन गरी हेर्दा ०१९।७।८ को राजीनामा र मिति ०२१।८।८ मा खरीद गरेको राजीनामाको व्यहोरामा पति दिनेशकुमार पोखरेलकी विवाहिता श्रीमती ललिता देवीका नाममा खरीद गरी दिएको भन्ने व्यहोरा सम्म परेको तर सो राजीनामाको लिखतमा लक्ष्मीप्रसाद भन्ने दिनेशकुमार पोखरेल साक्षी बसेको पाइदैन । लिखतमा ललिता देवी दिनेशकुमार पोखरेलको विवाहिता श्रीमती भनी लेखिएको छ तर, पुनरावेदक वादीको दावी बमोजिम सो राजीनामा गरी लिँदा दिनेशकुमार पोखरेलले आफ्नो खर्चमा विवाहिता श्रीमतीको नाममा विवादित जग्गा खरीद गरी दिएको भए उक्त लिखतमा निजको उपस्थिति अर्थात लिखतमा साक्षी वसेको अवस्था पनि लिखतबाट देखिँदैन । उता ललिता देवीको दाता कपिल यादवले मेरो नामको ०—३—० जग्गा ०१९ सालमा र ०२१ सालमा ०—१—० जग्गा ललिता देवीले खरीद गरेकी र सो जग्गा ललिता देवीका पिता चन्द्रप्रसादले छोरी ललिता देवीका नाममा खरीद गरी दिएको हो । पैसा चन्द्रप्रसादले दिएका हुन् भनी अदालतमा आई वकपत्र गरी दिएको पाइन्छ । साथै अदालतको आदेशानुसार अ.वं. १३९ बमोजिम बुझिएका मातृकाप्रसाद कोइरालाले समेत ललिता देवीको कलिलै उमेरमा दिनेशकुमारसँग २०१८ सालमा विवाह भएको र आपसमा मेलमिलाप हुन नसकी सम्बन्ध राम्रो नहुँदा ०२२ सालमा मेरो अध्यक्षतामा समाजका व्यक्तिहरूको पंचायती बसी सम्बन्ध कायम राख्नु भन्दा अलग गर्न श्रेयष्कर ठानी निजहरूको सम्बन्ध टुटाई एक आपसमा कुनै सम्बन्ध नहुने स्वतन्त्र हुन पाउने सामाजिक निर्णय गरेको सो निर्णयलाई दुवै पक्षले स्वीकार गरेको कुरा उल्लेख गर्दै विवाह गरेको तत्काल पछि देखि अलग बसेको छोरीले दुःख पाउलीकी भन्ठानी निजका पिता चन्द्रप्रसादले विवादित सम्पत्ति ललिता देवीको नाममा खरीद गरी दिई निजको रेखदेख र खर्चमा घर समेत बनाई दिएको भनी बयान गरेको अवस्था पाइन्छ । पति दिनेशकुमारले ललिता देवीको नाममा विवादित जग्गा खरीद गरी दिएको भन्ने वादीको दावी अन्य कुनै सवुद प्रमाणबाट पुष्टि भएको देखिँदैन । केवल सो जग्गाको राजीनामा गरी लिँदाको लिखतमा पतिको महलमा दिनेशकुमार पोखरेल भनी राजीनामामा नाम लेखिएको भरमा मात्र विवादित जग्गा पतिले खरीद गरी दिएको भनी सम्झन न्याय र कानूनको रोहमा मिलेन ।
१२. ०५० सालमा लोग्नेको सत्य डगाई लक्ष्मण श्रेष्ठसँग ललिता देवी पोइल गएकी र पिता तथा पतिको ०४७ सालमा परलोक भएकोले अंश बण्डाको ५ नं तथा स्त्री अंश धनको ६ नं ले ललिता देवीको विवादित सम्पत्तिमा कानूनी हक रहँदैन भन्ने पुनरावेदन जिकिर भएकोले अंश बण्डाको ५ नं हेर्दा अंश नहुँदै लोग्ने वा बाबु मरेमा उसका स्वास्नी सन्तानले ऐन बमोजिम अंश पाउछन् लोग्नेको सत्य डगाउने स्वास्नीले सो लोग्ने तर्फको अंश पाउँदिन भन्ने र स्त्री अंश धनको ६ नं हेर्दा लोग्ने स्वास्नीको महल बमोजिम लोग्ने स्वास्नीको सम्बन्धविच्छेद भएमा वा विधवा स्वास्नीले आफ्नो लोग्नेको सत्य डगाएमा सो लोग्नेको तर्फबाट पाएको अंश र त्यसबाट बढे बढाएको सम्पत्तिमा स्वास्नीको हक रहँदैन हकवालाको हुन्छ भन्ने उल्लेख भएको पाइन्छ । विवादित सम्पत्ति ललिता देवीले लोग्ने दिनेशकुमार पोखरेलबाट अंश स्वरुप प्राप्त गरेको वा सोबाट बढे बढाएको भन्ने वादीको दावी नै नहुँदा त्यसतर्फ प्रस्तुत मुद्दामा विवेचना गरिरहन परेन । सो कानूनी व्यवस्था अनुसार पहिलो कुरा त विवादित जग्गा पूर्व पति दिनेशकुमार पोखरेलले खरीद गरी दिएको तथ्य स्थापित हुन पर्यो । दोश्रो पुनरावेदक वादीले दावी गरे बमोजिम प्रतिवादी ललिताले आफनो पूर्व पतिबाट अंश पाएको भए यी यी सम्पत्ति लोग्ने दिनेशकुमारबाट अंश वापत ललिताले प्राप्त गरेको हो भनी वादीले सप्रमाण पुष्टि गर्न सक्नु पर्यो । सो कुरा सप्रमाण पुष्टि नभए पछि अंशवण्डाको ५ नं तथा स्त्री अंशधनको ६ नं प्रस्तुत मुद्दामा आकर्षित हुन सक्ने अवस्थाको विद्यमानता देखिएन ।
१३. अब २०५० सालमा ललिता देवी काठमाण्डौ निवासी लक्ष्मण श्रेष्ठसँग पोइल गएकी भन्ने वादीको भनाई तथा ०५० सालमा नभई ०३४ सालमा लक्ष्मण श्रेष्ठसँग पुनः विवाह गरेको भन्ने प्र ललिता देवीको भनाइ भएबाट कहिले पोइल गएको भन्ने मितिमा विवाद भएतापनि पोइल गएको तथ्यमा विवाद देखिएन । आफूहरू बीच ०३४ सालमा विवाह भएको भन्ने प्र.ललिता देवी तथा लक्ष्मण श्रेष्ठको जिकिर भएको पाइन्छ । ०१८ सालमा दिनेशकुमार पोखरेलसँग विवाह भए पश्चात निजसँग २०२२ साल देखि आफ्नो पति दिनेश पोखरेलसँग अलग बसेको भन्ने प्रतिवादी ललितादेवीको जिकिर देखिन्छ । प्र.ललितादेवीले ०३१ सालमा नागरिकताको प्रमाण पत्र लिँदा दिनेशकुमार पोखरेललाई पति नदेखाई पिता चन्द्रप्रसाद उपाध्याय देखाई नागरिकताको प्रमाण पत्र लिँदा ललिता देवी पोखरेल उल्लेख नभई ललिता उपाध्याय उल्लेख भएको पाइन्छ । त्यस्तै ०२२ साल देखि पतिसँग अलग बसेको भन्ने निजको भनाईको पुष्टयाई मातृकाप्रसाद कोइरालाको रोहवरमा भएको कागज मातृकाप्रसाद कोइरालाको बयान कागज, ०२५ सालमा वि.ए. तथा ०२७ सालमा एम. ए. वनारस हिन्दु युनिर्भसिटीमा अध्ययन गरी त्यहाँबाट ललिता देवीले पाएको मार्कसिट तथा प्रमाण पत्रले तथा ०२९ साल देखि २०४९ सालसम्म नेपालका विभिन्न सरकारी कार्यालय कार्यरत रहेको भन्ने सो सम्बन्धी कागजातले पुष्टि गर्दछ । यसबाट प्रतिवादी ललिता देवीको आफ्नो पूर्वपति दिनेशकुमार पोखरेलसँग साथमा सँगै बसेको भन्ने कुरा प्रमाणित हुन आएन । ०४७।१०।१० गते पति तथा पिता दिनेशकुमार पोखरेल परलोक हुँदा ललिता देवी समेत संगोलमा भएको र काज क्रियामा संलग्न रहेको भन्ने वादीको भनाइ रहेकोमा ०३४ सालमा लक्ष्मण श्रेष्ठसँग विवाह भएको र आफू ०४७ सालमा नेपाल परिवार नियोजन संघमा कार्यरत रहेको भन्ने प्र.ललिता देवीको जिकिर भएबाट सो अवधिको निजको हाजिरी अभिलेख बुझ्दा निज कार्यालयमा कार्यरत भै हाजिर रेकर्डबाट हाजिर रहेको देखिन्छ । २०५० सालमा पोइल गएकी भए सो अघि पतिको मृत्यु हुँदा हिन्दु नारीले पतिको क्रियामा रहनु पर्ने सो नदेखिँदा वादीको दावी सवुद प्रमाणबाट पुष्टि नभई खण्डित भएको देखियो । अर्को तर्फ ०४७ सालमा पति दिनेशकुमार पोखरेल स्वर्गीय हुनु भएकाले मृतक दिनेशकुमारको एकमात्र पत्नी म मात्र भएकी भन्दै वादी विमला देवी पोखरेलले मिति ०४७।१२।२ मा नाता प्रमाणित गरिपाऊँ भनी जिल्ला प्रशासन कार्यालय सप्तरीमा विमला देवी मृतक दिनेशकुमारको हक खाने एक मात्र हकदार श्रीमती हुन भनी सर्जमिन भई सो को आधारमा दिनेशकुमार र विमला देवीको बीचमा पति पत्नीका नाता प्रमाणित गरी दिएको भन्ने सो कार्यालयको ०४७।१२।२५ को नाता प्रमाणित पत्रबाट देखिन्छ । २०५० सालमा सम्म ललिता देवी लोग्ने दिनेशकुमारको सत्यमा रहेकी भन्ने वादी कथन मौकामा व्यक्त गरेको नदेखिएबाट पनि सो दावीको कागजबाट खण्डित भएको पाइन्छ । त्यस्तै ०४७।१०।१० मा पति दिनेशकुमार पोखरेलको मृत्यु भएकाले निज मृतकको एकमात्र पत्नी भएकीले जग्गा नामसारी गरिपाऊँ भन्ने निज विमला देवीको मालपोत कार्यालय सप्तरीमा मिति २०४७।१२।२९ मा परेको निवेदन कारवाही हुँदा पतिको नामको जग्गा आफनो नाममा नामसारी गराई लिएको प्रमाण मिसिलबाट देखिन्छ । यसबाट ललिता देवी ०५० सालमा मात्र पोइल गएको भन्ने वादीको दावी प्रमाणबाट स्थापित हुन सकेको देखिएन ।
१४. अतः प्रतिवादी ललिता देवीले प्रतिवादी इन्द्रकुमार मास्केलाई मिति ०५२।११।१७ मा पारित गरी दिएको लिखत बदर गरिपाऊँ भन्ने पुनरावेदक वादीको दावी सवुद प्रमाणबाट स्थापित हुन आएन । वादी दावी पुग्न नसक्ने ठहराएको मोरङ्ग जिल्ला अदालतको मिति ०५४।२।६।६ को निर्णय मनासिव हुँदा सदर हुन्छ । पुनरावेदक वादीको पुनरावेदन जिकिर पुग्न सक्दैन भन्ने पुनरावेदन अदालत विराटनगरको मिति २०५६।१२।२०।१ को फैसला ।
१५. वादीले दावी गरेको जग्गा खरीद गरेको अवस्थामा र सो जग्गामा घर निर्माण गरेको अवस्थामा प्रतिवादी ललिता श्रेष्ठ हाम्रा पति पिता श्री लक्ष्मीप्रसाद भन्ने दिनेशकुमार पोखरेलसँग एकासंगोलमा थिइन भन्ने कुरामा कुनै विवाद छैन । यस्तो अवस्था हुँदा हुँदै पनि पु.वे.अ.विराटनगरबाट लोग्नेको अंशको रुपमा पाएको सम्पत्ति नदेखिएको हुनाले स्त्रीअंशधनको ६ नं आकर्षित हुन सक्ने देखिएन भन्ने निर्णय नि.नं. ३१८३ ने.का.प. २०४४ पृ. ८५५, नि.नं. ४३३५ ने.का.प. २०४८ पृ ३९४, नि.नं १०९९ ने.का.प २०३४ पृ २७५ मा यस अदालतबाट प्रतिपादित सिद्धान्त र प्रमाण ऐन २०३१ को दफा ६ ले गरेको अनुमानको कुरा तथा प्रमाण ऐनको व्याख्या गरिएका नि.नं ४४३७ , ने.का.प. २०४८ पृ ८५९, नि.नं ४९८६ ने.का.प.२०५१ पृ ७६७, नि.नं ४५५४ ने.का.प २०४९ पृ. ५३८ नि.नं. ३७००, ने.का.प २०४६ पृ ५४, २०५२ सालको दे.वि.नं १६१ फैसला मिति २०५४।७।२०, नि.नं. ३८७६ ने.का.प २०४६,पृ ७२२ समेतको त्रुटि रहेको छ । एकासंगोलमा रहे बसेको अवस्थामा खरीद भएको सम्पत्ति एकासंगोलकै हो भनी अनुमान गर्नु पर्ने हुन्छ । पेटवोलीमा बुझिएका मातृकाप्रसाद कोईरालाको भनाईलाई प्रमाणमा लिइएको लोग्ने स्वास्नीको १ नं को विपरीत हुन जान्छ । प्रमाण ऐन २०३१ को दफा ३, २४(४) र ५४ को त्रुटि भएको छ । विपक्षी ललिता स्वयंले २०५०।२।१५।१ मा मोरङ्ग मालपोत कार्यालयमा निवेदन दिंदा र त्यसै विषयमा सो कार्यालयबाट निर्णय हुँदा समेत लक्ष्मीप्रसादको पत्नी हुँ भनी आफैले भन्नु भएको छ । सो तथ्य अदालतबाट मूल्याङ्कन भएको छैन । यसमा नि.नं १३६४ ने.का.प २०३७ पृ ४९ को नजीरको पालना भएको छैन । ललिताको नागरिकता र शैक्षिक प्रमाणपत्रमा उपाध्याय र बाबुको नाम लेखिएको आधारबाट लक्ष्मीप्रसादको सत्य त्यस बखत डगाएको अर्थ गर्न मिल्दैन । परिवार नियोजनको हाजिरी भनिएको हाम्रा विरुद्धमा प्रमाण लगाउन कानूनतः मिल्दैन, कपिल यादवको मौखिक भनाईलाई प्रमाणमा लिन मिल्दैन । घर जग्गा हाम्रै तर्फबाट बनाइएको हो भन्ने सम्बन्धमा विपक्षीका बाबु दाजुले लेखेको चिठीबाट प्रमाणित भएको छ । ललिता देवी र हाम्रा पति पिताको सम्बन्ध २०२२ सालमा टुटेको भन्ने सम्बन्धमा कुनै प्रमाण पेश भएको छैन, रितपूर्वक सम्बन्ध विच्छेद नगरी सम्बन्ध टुटेको मान्न मिल्दैन । ललिता देवीले २०५० सालमा लक्ष्मण श्रेष्ठसँग दोश्रो विवाह गरेकीले निजका नाममा रहेको सम्पत्तिमा स्वतः हाम्रो हक लाग्नेमा सोको प्रतिकूल भएको फैसला त्रुटिपूर्ण हुँदा दोहोर्याई हेरी वादी दावी बमोजिम गरिपाऊँ भन्ने वादी बिमला देवी पोखरेल, रविन्द्रकुमार पोखरेल, भाष्करकुमार पोखरेलको संयुक्त निवेदन पत्र ।
१५. विपक्षी प्रतिवादी ललिता देवीको निवेदकहरूका पति पिता लक्ष्मीप्रसाद भन्ने दिनेशकुमार पोखरेलसँग २०१८ सालमा विवाह भएको कुरामा विवाद देखिँदैन । विवादको जग्गा ललिता देवीको नाँउमा हक हस्तान्तरण भइ आएको मिति २०१९।७।८ को र २०२१।८।८ को राजीनामाको लिखतबाट दिनेश पोखरेलको श्रीमती ललिता देवी पोखरेल भन्ने उल्लेख भएबाट विवाह पश्चात विपक्षी ललिता देवी दिनेश पोखरेलको सत्यमा रहे बसेको अवस्थामा उक्त जग्गा ललिता देवीको नाउँमा खरीद भई आएकोमा समेत विवाद रहेन । प्रतिवादी ललिता देवीका नाउँमा हक हस्तान्तरण भई आएको उक्त लिखतमा आफ्नो बाबुले दिएको सम्पत्तिबाट खरीद गरेको वा दाइजो पेवाको रुपमा प्राप्त भएको भन्ने उल्लेख भएको देखिँदैन । प्रतिवादी ललिता देवी लक्ष्मण श्रेष्ठसँग दोश्रो विवाह गरेको भन्ने मिति सम्ममा वादी प्रतिवादीबीच विवाद रहेतापनि निज ललिता देवी लक्ष्मण श्रेष्ठसँग दोश्रो विवाह गरे पछि मिति २०५२।११।१७ मा विवादको अचल सम्पत्तिको हक हस्तान्तरण गरेको कुरामा समेत विवाद देखिँदैन । विवाहित महिला स्त्रीको आफनो पतिसँग कानून बमोजिम सम्बन्ध विच्छेद नभए सम्म ती स्त्रीको पतिसँग बैवाहिक स्थिति रहिरहन्छ । घरसारमा समाज बसेर गरेको निर्णयबाट ती पति र पत्नीको बीचको वैवाहिक हैसियत समाप्त हुन सक्दैन । निज ललिता देवी निजको पूर्व पति दिनेशकुमार पोखरेलको सत्यमा रही आफनो पतिसँग संसर्गमा रहे बसेको अवस्थामा निजको नामबाट खरीद गरेको सम्पत्ति निजको पिताले खरीद गरीदिएको भन्ने प्रष्ट लिखत प्रमाणको अभावमा भन्न नमिल्ने प्रमाण ऐन २०३१को दफा ६(क) ले संगोलकै सम्पत्ति हुने र त्यस्तो पूर्वपतिकै सत्यमा रहेको अवस्थामा प्राप्त भएको सम्पत्ति प्रतिवादी ललिता देवी लक्ष्मण श्रेष्ठसँग पोइल गए पश्चात निजको हक समाप्त भई उक्त सम्पत्तिमा पूर्वपति तर्फका अंशियार हकवाला वादीहरूको अंशवण्डाको ५ नंले हक लाग्ने देखिन्छ । पूर्व पतिको सत्यमा रहेको अवस्थामा प्राप्त सम्पत्तिमा आफनो हक समाप्त भई सकेको अवस्थामा आफ्नो हकको भनी हस्तान्तरण गरी दिएको लिखतलाई सदर गर्ने गरेको शुरुको फैसला सदर गरेको पुनरावेदन अदालत विराटनगरको फैसलामा मुलुकी ऐन, अंशवण्डाको ५ नं, स्त्रीअंशधनको ६ नं तथा प्रमाण ऐन २०२१ को दफा ६(क) को व्याख्यामा त्रुटि र ने.का.प २०३४ नि.नं १०९९ पृ २७५, ने.का.प २०४४ नि.नं ३१८३ पृ ८५५, मा प्रतिपादित सिद्धान्त समेत विपरीत देखिँदा न्याय प्रशासन ऐन २०४८ को दफा १२ को उप दफा (१) को खण्ड (क)(ख) का आधारमा प्रस्तुत मुद्दा दोहोर्याई हेर्ने निस्सा प्रदान गरी दिएको छ । विपक्षीहरू झिकाई पेश गर्नु भन्ने यस अदालतको मिति २०५८।४।१६।३ को आदेश ।
१६. ललिता देवीले बाबु र पतिको नाउँ सच्याई पाउँ भनी मिति २०५०।२।१५ मा मालपोत कार्यालय मोरङ्गमा दिएको निवेदनको आधारमा मिति २०५०।२।१५ मालपोत कार्यालय मोरङ्गबाट भएको निर्णय सहितको मिसिल मिति २०५६।५।२३ मा मालपोत कार्यालय मोरङ्गले पुनरावेदन अदालत विराटनगरमा पठाएको पत्रबाट देखिन्छ । उक्त पत्रको छाँया प्रति यसै साथ संलग्न छ । उक्त मिसिल पुनरावेदन अदालत विराटनगर वा मालपोत कार्यालय मोरङ्ग जहाँ भएपनि झिकाई पेश गर्नु भन्ने यस अदालतको मिति २०६३।७।९।५ को आदेश ।
१७. नियम बमोजिम दैनिक पेशी सूचीमा चढी निर्णयार्थ इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक वादीहरूको तर्फबाट रहनु भएका वरिष्ठ विद्धान अधिवक्ताहरू श्री श्यामप्रसाद खरेल, अधिवक्ता कृष्णप्रसाद भण्डारी, सनद देवकोटा र सतिशकृष्ण खरेलले २०१८ सालमा ललिता देवीको लक्ष्मीप्रसाद भन्ने दिनेशकुमार पोखरेलसँग विवाह भई वैवाहिक सम्बन्ध कायम रहेकै अवस्थामा विवादित जग्गा निजको नाममा खरीद गरिएको हो एकासंगोलको अवस्थामा खरीद गरेको जग्गालाई विपक्षीले आफ्नो बाबुले खरीद गरी दिएको भन्ने मौखिक कथन बाहेक अन्य प्रमाण छैन । अर्कोसँग दोश्रो विवाह गरेपछि अघिल्लो लोग्नेको सम्पत्तिमा निजको हक समाप्त भै सो सम्पत्तिमा हकवालामा सर्ने हुन्छ । दाईजो पेवा भन्ने कुनै कुराको प्रमाण छैन । बाबुले खरीद गरी दिएको भए सो राजीनामा लिखतमा बाबुको सहीछाप, साक्षी कैफियत आदि व्यहोरा लेखिनु पर्नेमा सो समेत केही छैन । विपक्षीले भने जस्तो २०३४ सालमा दोश्रो विवाह गरेको नभइ २०५० सालमा दोश्रो विवाह गरेकी हुन् । सो कुरा प्रकाशमा आएपछि हामीले नालेश गरेका छौं । त्यसैगरी २०२२ सालमा सम्बन्ध टुटेको होइन । घरायसी व्यवहारले कानूनन सम्बन्धविच्छेद हुन सक्दैन । विपक्षीले २०५०।२।१५।१ मा मोरङ्ग मालपोत कार्यालयमा निवेदन दिँदा आफूलाई लक्ष्मीप्रसाद पोखरेलको श्रीमती भनी निवेदन दिई जग्गाको लालपूर्जामा पति एवं बाबुको नाम समावेश गरिएको छ । विवादित जग्गामा घर लक्ष्मीप्रसादकै तर्फबाट बनाइएको हो भन्ने कुरामा विपक्षीका दाजु एवं पिताले लेनदेनको घरायसी चिठीबाट समेत प्रमाणित भएको छ । यस अवस्थामा दोश्रो विवाह गरेपछि सम्पत्तिमा फिरादीको हक लाग्नेमा सो नगरी प्रतिवादीकै हक कायम हुने गरी भएको पुनरावेदन अदालत विराटनगरको फैसला त्रुटिपूर्ण रहेको हुँदा सो फैसला बदर गरी वादी दावी बमोजिम गरी पाउँ भनी गर्नु भएको बहस सुनियो ।
१९. प्रत्यर्थी प्रतिवादीबाट विद्धान वरिष्ठ अधिवक्ता श्री गणेशराज शर्मा, अधिवक्ताहरू रामनाथ मैनाली, शम्भु थापाले विवादित सम्पत्तिको श्रोत विपक्षी फिरादीका पति एवं पिता नभइ माइती पिताले छोरीलाई कपिल यादवबाट खरीद गरी दिएको सम्पत्ति हो सो कुराको पुष्टि कपिल यादवले अदालतमा जग्गा बेचेको रकम ललिता देवीका पिता चन्द्रप्रसादबाट प्राप्त गरेको भनी बकपत्र गरी दिएबाट पुष्टि भएको छ । ललिता देवी र दिनेशकुमार पोखरेलसँग वैवाहिक सम्बन्ध राम्रो नभएबाट २०२२ सालमा स्थानीय भद्रभलादमीको उपस्थितिमा दुवैपक्षको सम्बन्ध छुटाई दिएको हो । सो तथ्य मातृकाप्रसाद कोइरालालाई अ.वं. १३९ नं बमोजिम बुझ्दा २०२२ सालमा मेरो अध्यक्षतामा समाजका व्यक्तिहरूको पंचायती बसी एक आपसमा सम्बन्ध टुटाई दिएको भनी उल्लेख गरेबाट पुष्टि भएको छ । ललिता देवीले २०३४ सालमा लक्ष्मण श्रेष्ठसँग दोश्रो विवाह गरेकी हुन् । ललिता देवीको पिताबाट प्राप्त सम्पत्ति भएको कारण दिनेशकुमारको जीवनकालमा निजले खोजी गर्ने काम भएन । २०४७ सालमा दिनेशको मृत्यु भएपश्चात ललिता देवीले निजको काजकृया गरेकी छैनन् । सो सम्बन्धमा निज कार्यरत रहेको नेपाल परिवार नियोजनको हाजिर रजिष्टर झिकाई हेरिएबाट समेत पुष्टि भएको छ । जग्गा संगोलबाट खरीद गरेको भन्ने कुनै प्रमाण छैन । विपक्षी विमलाले दिनेशको मृत्यु पश्चात जग्गा नामसारी गराउने प्रयोजनको लागि लिएको सिफारिसमा हक खाने एक मात्र पति भनी आफूलाई देखाएबाट सौता छैन दोश्रो विवाह गरेर पहिले नै गै सकेको भनी स्वीकार गरेको स्थिति छ । यी तथ्यहरूलाई शुरु र पुनरावेदन अदालतले विश्लेषणका साथ वादीदावी नपुग्ने गरी गरेको फैसला मनासिव हुँदा सदर कायम राखी पाउँ भनी गर्नु भएको बहस समेत सुनियो ।
२०. उपर्युक्त बमोजिमको दुवै पक्षका विद्धान कानून व्यवसायीहरको बहस जिकिर तथा मुद्दाका तथ्य एवं मिसिल संलग्न प्रमाणहरूको आधारमा निर्णय दिनु परेको छ । ललिता देवीका नाममा २०१९।७।८ गतेको राजीनामाबाट खरीद गरिएको ज. वि ०—३—०, र मिति २०२१।८।८ को राजीनामाबाट खरीद गरिएको ज .वि ०—१—० समेतका जग्गा हाल सर्वे नापीमा कायम भएको कि.नं १७३ ज.वि ०—४—३ जग्गा एकासंगोलमा रहेको अवस्थामा खरीद गरी घर बनाई भोग गरी आएकोमा निज ललिता देवीले २०५० बैशाखमा लक्ष्मण श्रेष्ठसँग दोश्रो विवाह गरी सो घर जग्गा प्रतिवादी इन्द्रकुमार मास्केलाई २०५२।११।१७ मा हाम्रो मन्जुरी वेगर राजीनामा गरी दिएको हुँदा उक्त सम्पत्ति स्त्रीअंशधनको ६ नं अंशबण्डाको ५ नं ले हाम्रो हक लाग्ने हुँदा उक्त लिखत बदर गरिपाऊँ भनी विमला देवी समेतको फिराद माग दावी भएकोमा उक्त सम्पत्ति जग्गा साविकमा पति दिनेशकुमारले खरीद गरेको नभई माइती तर्फबाट खरीद गरेको निजी आर्जनको हुँदा आफू खुश गर्न पाउने जग्गा बिक्री गरेकोले लिखत बदर हुनु पर्ने होइन भन्ने प्रतिवाद भै मोरङ्ग जिल्ला अदालतबाट वादी पुग्न नसक्ने गरी भएको फैसलालाई सदर गर्ने गरी भएको पुनरावेदन अदालत विराटनगरको फैसला मिलेको छ छैन भन्ने सम्बन्धमा निर्णय दिनु पर्ने देखियो ।
२१. वादी दावी बमोजिम लिखत बदर हुने नहुने भन्ने सम्बन्धमा सर्वप्रथम निर्णयमा पुग्न निम्न प्रश्नहरूको निर्णय गर्नु पर्ने हुन आएको छ ।
(क) बिक्री भएको विवादित जग्गाको श्रोत र प्रकृति के हो ? र उक्त जग्गा दाइजोबाट प्राप्त आफू खुश गर्न पाउने जग्गा हो वा सबैको हक लाग्ने संगोलको जग्गा हो ?
(ख) सामाजिक व्यवहारबाट लोग्ने स्वास्नीको सम्बन्ध विच्छेद हुन सक्छ सक्दैन ? र त्यस्तो अवस्था भएमा यस्तो सम्बन्धविच्छेदले कानूनी स्थान पाउन सक्छ, सक्दैन ?
(ग) ललिता देवी पोखरेलले लक्ष्मण श्रेष्ठसँग कहिले दोश्रो विवाह गरेकी हुन ? र
(घ) ललितादेवीले बिक्री गरी दिएको राजीनामा लिखत बदर हुने हो होइन ?
२२. उल्लेखित पहिलो प्रश्न तर्फ विचार गर्दा विपक्षी ललिता देवीको लक्ष्मीप्रसाद भन्ने दिनेशकुमार पोखरेलसँग २०१८ सालमा विवाह भएको भन्ने कुरामा दुई पक्ष बीच कुनै विवाद देखिएन । निजहरूको वैवाहिक जीवनकालमा नै मिति २०१९।७।८ मा र २०२१।८।८ मा दुई कित्ता जग्गा दाता कपिलदेवबाट ललिता देवी पोखरेलको नाममा खरीद गरिएको र सर्वे नापीमा सोही जग्गाहरू कि.नं. १७३ मा ज.वि.०–४–३ कायम भएको देखिन्छ । सो कि.नं. १७३ को जग्गा र सोमा बनेको घर निज ललितादेवीले यी प्रतिवादी इन्द्रकुमार मास्केलाई बिक्री गरे उपर प्रस्तुत नालेस परेकोमा उक्त जग्गा आफ्नो पिता चन्द्र नेपालले खरीद गरी दिएको जग्गा भएकोले आफ्नो एकलौटी हकको र आफू खुश गर्न पाउने सम्पत्ति बिक्री गरेको भन्ने निज प्रतिवादी ललितादेवीको कथन रहेको छ । कुनै स्वास्नी मानिसले आफ्नो माइती मावलीबाट प्राप्त सम्पत्ति दाइजो ठहर्ने र त्यस्तो सम्पत्ति निज स्वास्नी मानिसले स्त्री अंश धनको ५ नं. अनुसार आफू खुश गर्न पाउने हुन्छ । तर, ललितादेवीले २०१९।७।८ मा र २०२१।८।८ मा खरीद गरी लिएको लिखतहरू हेर्दा उक्त राजीनामाको लिखतमा दाइजोबाट खरीद भएको भन्ने जस्ता कुनै व्यहोराहरू उल्लेख भएको देखिँदैन । साथै उक्त लिखतमा ललिता देवीका पिता समेत माइती तर्फका कोही साक्षी बसेको वा कसैको सहीछाप आदि रहे भएको पनि देखिन आँउदैन । सम्पत्ति खरीद भएको सो अवधिमा ललिता देवी आफ्नो पतिसँग नै रहे बसेको अवस्था हुँदा अन्यथा प्रमाणित नभएमा आफ्नो पतिको तर्फबाट नै सो जग्गाहरू निजको नाममा खरीद भएको भनी अदालतले तर्कसंगत रुपमा अनुमान गर्नु पर्ने हुन्छ । प्रमाण ऐन २०३१ को दफा ६(क) अनुसार “एकाघर सँगका अंशियार मध्ये जुनसुकै अंशियारका नाममा रहेको सम्पत्तिलाई अन्यथा प्रमाणित नभएसम्म संगोलको भनी अदालतले अनुमान गर्ने” हुँदा त्यस्तो अनुमान खण्डन गर्ने भार प्रमाण ऐन,२०३१को दफा २९ बमोजिम प्रतिवादी ललिता देवीको नै रहेकोमा निजले तत्सम्बन्धमा कुनै आधारभूत र तथ्यपूर्ण प्रमाण प्रस्तुत गर्न सकेको पाइदैन । कुनै अचल सम्पत्ति दाइजो हो भन्ने कुरा लिखतबाट नै देखिनु पर्ने र सो कुरा तथ्यपूर्ण रूपमा त्यस्तो जिकिर लिने पक्षले नै स्थापित गर्नु पर्ने हुन्छ । संगोलमा रहेको अवस्थामा खरीद गरिएको सम्पत्तिको वैधानिकताको वारेमा यस अदालतबाट निम्नलिखित सिद्धान्तहरू प्रतिपादन भएको पाइन्छ ।
(क) लिखत प्रमाण बेगर कुनै सम्पत्ति प्रतिवादीहरूकै भनाईको आधारमा नीजि आर्जन भनी ठहर गर्न नमिल्ने, विवादित लिखतमा उल्लेखित सम्पत्ति वादीहरू समेतको अंश लाग्ने संगोलको सम्पत्ति रहेछ भनी प्रमाण ऐन २०३१ को दफा ६(क) अनुसार अनुमान गर्नु पर्ने–
(ललितमान तामाङ समेत वि ज्ञानबहादुर तामाङ ने.का.प २०४८ नि.नं ४४३७ पृ ८५९) ।
(ख) विवादको सम्पत्ति वादीको समेत अंश हक लाग्ने सम्पत्ति हो भनी प्रमाण ऐन २०३१ को दफा ६(क) बमोजिम अदालतले अनुमान गर्नु पर्ने भएकोमा सो वादी समेतको अंश हक लाग्ने संगोलको सम्पत्ति होइन प्रतिवादीको एकलोटी सम्पत्ति हो भनी जिकिर लिने प्रतिवादीले नै सो कुराको प्रमाण पुर्याउनु पर्ने । संगोलको अवस्थामा खरीद भएको जग्गा आफनो नाँउमा खरीद गर्दैमा नीजि एकलौटी भन्न नमिल्ने–
(बलदेव उपाध्याय वि. गीता भट्टराई समेत ने.का.प २०४९ नि.नं ४५५४ पृ.५३८)
(ग) पेश भएको लिखतबाट दाइजो नदेखिने र यस स्थितिमा बण्डा नलाग्ने भन्न मिलेन—
(चिजकुमार श्रेष्ठ समेत विरुद्ध रामकुमार श्रेष्ठ ने.का.प २०४६ नि.नं. ३८७३ पृ.७२२)
२३. उक्त जग्गा बिक्री गर्ने दाता कपिल यादवले अदालतमा गरेको बकपत्रमा उक्त जग्गा खरीद हुँदा मूल्य वापतको रकम ललितादेवीका पिता चन्द्रप्रसाद उपाध्यायले दिएका थिए भनी व्यक्त गरेको छ । सो सम्बन्धमा विचार गर्दा उक्त कुरा लिखतमा नै स्पष्ट रुपमा उल्लेख भएको नदेखिएको र लिखतमा नै अभिव्यक्त नभएको कुरा पछि मुद्दा चल्दा जग्गाको दाताले मौखिक रुपमा व्यक्त गरेको कुरालाई अदालतले आधारभूत प्रमाणको रुपमा ग्रहण गर्न मिल्ने हुदैन । विवादको कि.नं. १७३ को जग्गा दाताको निकै लामो अन्तराल पछि व्यक्त त्यस्तो कथनले मौकामा लिखतमा उल्लेख नभएको व्यहोराको पूर्ति गर्दछ भनी मान्न मिल्ने हुँदैन । विवादको उक्त कि.नं. १७३ को घर जग्गा ललिता देवीको नाँउमा कपिल यादवबाट हक हस्तान्तरण भई आएको २०१९ र २०२१ सालको राजीनामाको लिखतमा स्पष्ट रुपमा दिनेश पोखरेलको श्रीमती ललिता देवी पोखरेल भन्ने उल्लेख भएबाट र विवाह पश्चात दिनेश पोखरेलकै सत्यमा रहे बसेको अवस्थामा उक्त विवादित जग्गा खरीद भै आएको देखिएकोले लिखतमा नै उल्लेख भएको अवस्थामा बाहेक उक्त जग्गा आफनो दाइजोबाट प्राप्त सम्पत्ति हो भन्ने निज प्रतिवादीको जिकिर तथ्यपूर्ण एवं विवाद रहित तवरबाट स्थापित हुन नसकेका तथा उक्त जग्गा आफू खुशी गर्न पाउने भन्ने निज प्रतिवादीको जिकिर कानून र यस अदालतबाट प्रतिपादित उपर्युक्त सिद्धान्त समेत अनुकूल मात्र नसकिने तथा एकासंगोलमा रहेको अवस्था खरीद गरिएको देखिँदा एकासंगोलका सबै अंशियारहरूको हक लाग्ने सम्पत्ति रहेको मान्नु पर्ने हुन आउँछ ।
२४. अब सामाजिक व्यवहार र समाजको निर्णयबाट लोग्ने स्वास्नीको सम्बन्ध विच्छेद हुन सक्छ वा सक्दैन र यस्तो भएमा सो सम्बन्धविच्छेदले कानूनी स्थान प्राप्त गर्न सक्छ वा सक्दैन भन्ने अर्को प्रश्नका सम्बन्धमा विचार गर्दा सर्वप्रथम यस सम्बन्धमा नेपालको कानूनी व्यवस्थालाई अवलोकन गर्नु पर्ने हुन्छ । लोग्ने स्वास्नी महलको १ नं. को कानूनी व्यवस्था अनुसार विवाहवारीको २ नं. को देहाय ९ दफा बमोजिम र ४, ५, ७, नं. को अवस्था र देहायका अवस्थामा बाहेक लोग्ने स्वास्नीको सम्बन्धविच्छेद हुन नसक्ने भनी स्पष्ट प्रावधान रहेको पाईन्छ। सो विवाहवारीको २ नं. को देहाय ९ मा—
(क) लोग्ने मानिस र स्वास्नी मानिस मध्ये कसैको उमेर अठार वर्ष नपुगी विवाह भएको रहेछ र सन्तान पनि जन्मेको रहेनछ भने अठार वर्ष पुगे पछि मंजुरी नगरेको अवस्थामा,
(ख) वक्क लाटो, महारोगी, लुलो, कुंजो, दुवै आँखाको अन्धो, लिङ्ग नभएको नपुंसक, बौलाहा, छारे रोग भएको लोग्ने मानिसलाई सद्दे छ भनी ढाँटी विवाह भएकोमा स्वास्नी मानिसले मंजुर नगरेको अवस्थामा,
(ग) वक्क लाटी, महारोगी, लुली कुंजी, दुवै आँखाकी अन्धी, वा योनीहीन भएकी, बौलाही, छारे रोग भएकी स्वास्नी मानिसलाई सद्दे छ भनी ढाँटी विवाह गरी दिएमा लोग्ने मानिसले मंजुर नगरेको अवस्थामा,
(घ) लोग्ने मानिस र स्वास्नी मानिस दुवैको मंजुरी बिना जवर्जस्ती विवाह गरी दिएमा
(ङ) सधवा, विधवा वा सम्बन्धविच्छेद भई सकेकी स्वास्नी मानिसलाई कन्या हो भनी वा विवाहित विधुर वा सम्बन्धविच्छेद भएको लोग्ने मानिसलाई विवाह नभएको भनी ढाँटी विवाह भएको वा झुक्यानमा पारी विवाह भएकोमा मंजुर नगरेको अवस्थामा सम्बन्धविच्छेद हुन सक्ने हुन्छ ।
२५. त्यस्तै उक्त लोग्ने स्वास्नीको महलको १ नं. अनुसार विवाह विच्छेद हुन गर्नकालागि केहि खास आधार र कारण तोकिइ सो का लागि प्रक्रिया निर्धारण समेत गरिएको छ । त्यस्तो कारण परी सम्बन्धविच्छेद गर्नु परेमा अड्डामा निवेदन दिनु पर्ने र अड्डाबाट निर्णय भए पछि मात्र लोग्ने स्वास्नीको सम्बन्धविच्छेद हुन सक्ने भनी स्पष्ट कानूनी व्यवस्था रहेको छ । सोको अलावा स्वास्नी मानिसले अर्को सँग विवाह गरेमा लोग्ने स्वास्नीको सम्बन्ध स्वतः विच्छेद हुने प्रावधान समेत रहेको देखिन्छ । सो भन्दा पृथक अवस्था, कारण र प्रक्रियाबाट भएको सम्बन्धविच्छेदलाई नेपालको कानूनी व्यवस्थाले अंगीकार गरेको देखिँदैन ।
२६. प्रस्तुत मुद्दामा २०२२ सालमा मातृकाप्रसाद कोइरालाको अध्यक्षतामा पंचायती बसी सामाजिक स्तरमा निर्णय गरी दुवै पक्षको वैवाहिक सम्बन्ध टुटाएको भन्ने निज प्रतिवादीको कथन रहेको छ । सोको प्रमाण स्वरुप अ.वं. १३९ नं. बमोजिम निज मातृकाप्रसाद कोइरालालाई साक्षीको रुपमा बुझ्ने आदेश भएपनि निज आफैँ अदालतमा उपस्थित भई बकपत्र नगरी वारेस मार्फत निजको बकपत्र भएको मिसिलबाट देखिन आउँछ । साक्षी वा साक्षीको रुपमा बुझ्ने भनिएको व्यक्तिले आफूले देखि सुनी थाहा पाएको कुनै कुरा व्यक्त गर्नु पर्ने हुन्छ र त्यस्तो मौखिक प्रमाण स्वरुपको कथनको मात्र प्रमाणिक महत्व हुने हुँदा साक्षीले कानून बमोजिम वारेस राख्न नपाउने हुन्छ । साक्षीले त्यसरी वारेस मार्फत व्यक्त गरेको कुरा प्रमाण ऐन, २०३१ बमोजिम प्रमाणमा ग्राह्य हुन सक्दैन । सोको अलावा त्यसरी सामाजिक रूपमा पनि लोग्ने स्वास्नीको सम्बन्धविच्छेद गराउन सकिने भन्ने अवधारणलाई नेपालको कानूनी प्रावधानले अंगीकार गरेको देखिन आँउदैन । लोग्ने स्वास्नीले स्वेच्छापूर्वक अलग अलग बसेमा वा समाजका व्यक्तिको रोहवरमा अलग हुने वचनवद्धता व्यक्त गरी छुट्टिएको भएमा अथवा पंचायती बसी सामाजिक स्तरमा निर्णय गरी वैवाहिक सम्बन्ध टुटाइदिएको अवस्था भएमा समेत यस्तो वैवाहिक विच्छेदको सामाजिक मान्यता भएपनि नेपालको कानूनी व्यवस्थाले तोकेको प्रक्रिया पूरा गरी रितपूर्वक अदालतबाट निर्णय गराई सम्बन्धविच्छेद नभएसम्म वा अरूसँग विवाह गरेको वा अरूसँग करणी गराएको कुरा अदालतमा सावित नभएसम्म लोग्ने स्वास्नीको सम्बन्धविच्छेद भएको भनी कानूनको दृष्टिकोणमा मान्न सकिने हुँदैन । कानूनी रुपमा स्थापित नभएसम्म व्यवहार प्रमाणबाट सम्बन्धविच्छेद भएको मात्र नमिल्ने हुन्छ । साथै, समाजका सदस्यहरूको सम्बन्धविच्छेद गर्ने हैसियत र अधिकार नहुने हुँदा प्रतिवादी ललितादेवीको निजको पतिसँग सम्बन्धविच्छेद भएको भनी प्रमाणित गरी दिएमा पनि कानूनको दृष्टिमा निजहरूको सम्बन्धविच्छेद भएको भनी सम्झन र कानूनी स्थान प्राप्त भएको भनी मात्र मिल्ने हुँदैन ।
२७. अब प्रतिवादी ललितादेवीको प्रतिवादी लक्ष्मण श्रेष्ठसँग कहिले दोश्रो विवाह भएको हो भनी तेश्रो प्रश्नका सम्बन्धमा विचार गर्दा वादी विमलादेवीले २०५० सालमा प्रतिवादी ललितादेवीको यी प्रतिवादी लक्ष्मण श्रेष्ठसँग दोश्रो विवाह भएको भनी दावी गरेको छ । तर, निज प्रतिवादी ललितादेवी आफ्नो पतिसँग २०२२ सालमा सामाजिक निर्णयबाट सम्बन्धविच्छेद गरेपछि २०३४ सालमा लक्ष्मण श्रेष्ठसँग आफूले दोश्रो विवाह गरेको भनी जिकिर लिएको पाईन्छ । तर, सो जिकिरको कुनै निश्चित एवं वस्तुगत आधार निजले देखाउन सकेको देखिँदैन । वादीका पति लक्ष्मी भन्ने दिनेशप्रसाद पोखरेलको मृत्यु २०४७ साल माघ १० गते भएको भन्ने तथ्यमा पक्ष विपक्षबीच विवाद छैन । र निजको मृत्यु हुनु भन्दा अगावै आफूले यी लक्ष्मण श्रेष्ठसँग विवाह गरेको भनी कुनै अड्डा अदालतको अभिलेखमा वा कुनै कानूनी कारवाहीको सिलसिलामा व्यक्त गरेको समेत देखिन आउँदैन । बरु, २०५०।२।१५ मा कि.नं. १७३ को ज.ध.प्र.पुर्जामा पिताको नाँउ चन्द्रप्रसाद उपाध्याय र पतिको नाँउ लक्ष्मीप्रसाद पोखरेल कायम गरिपाऊँ भनी निज प्रतिवादी ललितादेवीले मालपोत कार्यालय मोरङ्गमा निवेदन दिएको र प्रमाण स्वरूप सोही मितिको विराटनगर नगरपालिकाको च.नं. १३९३२ प.सं न.नं ७०२३ को सिफारिस समेत साथै पेश गरेको देखिन्छ । उक्त सिफारिस पत्रमा कि.नं. १७३ को जग्गा धनी प्रमाण पूर्जामा पिताको नाँउ चन्द्रप्रसाद र पतिको नाँउ लक्ष्मीप्रसाद पोखरेल उल्लेख हुन छुट भएकोले सिफारिस पाँउ भन्ने समेत उल्लेख भएको पाईन्छ । सोही निवेदन र सिफारिसको आधारमा मालपोत कार्यालय मोरङ्गबाट कि.नं. १७३ को ज.ध.प्र.पुर्जामा पतिको नाम लक्ष्मीप्रसाद पोखरेल जनाउने गरी निर्णय भएको तथा सोही आधारमा बनेको जग्गाधनी प्रमाण पुर्जाबाट विवादको कि.नं. १७३ को जग्गा प्रतिवादी इन्द्रकुमार मास्केलाई बिक्री भएको देखिन आउँछ । आफूले अघि नै प्रतिवादी लक्ष्मण श्रेष्ठसँग विवाह गरेको भए २०५० सालमा आफ्नो मृत पतिको नाँउ ज.ध.प्र.पुर्जामा कायम गर्ने तर्फको कारवाही गर्नुपर्ने तर्कसंगत एवं कानूनसंगत कारण देखाउन सकेको प्रतिउत्तरबाट देखिदैन । २०५० साल सम्म आफ्नो पति लक्ष्मी प्र. पोखरेललाई देखाएकोमा २०३४ सालमा नै प्र.लक्ष्मण श्रेष्ठसँग आफ्नो दोश्रो विवाह भएको थियो भनी प्रस्तुत मुद्दाको रोहमा निज ललिता देवीले भन्न नपाउने हुन्छ । कुनै तथ्य यस्तो हो भनी एक पटक स्वीकार गरी विश्वास दिलाई फाइदा समेत लिएकोमा सो पछि चलेको कुनै मुद्दामा निजले सो कुरा यस्तो होइन भनी वा थिएन भनी विवन्धनको सिद्धान्तले निजले भन्न मिल्ने हुँदैन । यसरी आफूले २०३४ सालमा प्र.लक्ष्मण श्रेष्ठसँग विवाह गरेको भनी लिएको जिकिर निजले मा.पो.का. मोरङ्गमा २०५०।२।१५ मा दिएको पति लक्ष्मी प्र.पोखरेल कायम गरिपाऊँ भन्ने निवेदनबाट स्वतः खण्डित हुन गएको देखिएबाट २०३४ सालमा लक्ष्मण श्रेष्ठसँग विवाह गरेको भन्ने जिकिर आधारहीन एवं तथ्यहीन देखिन आउँछ ।
२८. अब प्रतिवादी ललितादेवीले प्रतिवादी इन्द्रकुमार मास्केलाई गरी दिएको २०५२।११।१७ को राजीनामा लिखत बदर हुने हो होइन भन्ने फिराद दावीका सम्बन्धमा विचार गर्दा प्रतिवादी ललितादेवीले प्रतिवादी इन्द्रकुमार मास्केलाई कि.नं. १७३ को क्षे.फ.०–४–३को घर जग्गा बिक्री गरी दिएको बदर गरिपाऊँ भनी वादीको दावी छ । प्रतिवादी ललितादेवीले उक्त जग्गा आफ्नो पतिसँग रहे बसेको अवस्थामा २०१९।७।८ र २०२१।८।८ मा खरिद गरेको देखिएको र सो जग्गा आफ्नो पिताले खरीद गरी दिएको भन्ने निजको जिकिर भएपनि खरीद गर्दाको अवस्थामा निजको पिता वा माइती तर्फबाट खरीद भएको भन्ने देखिने कुनै पनि वस्तुगत आधार प्रमाण उक्त राजीनामा लिखतबाट देखिन आउँदैन । लिखतबाट नै स्पष्ट र निश्चयात्मक रुपमा नदेखिएको कुरा जग्गादाता कपिल यादवले जग्गाको मोल ललिताको पिताले दिएको भन्ने लिखत पारित भएको लगभग ४० वर्षपछि प्रस्तुत मुद्दाको रोहमा व्यक्त गरेको कुराको आधारमा दावीको जग्गा दाइजोबाट खरीद भएको र स्त्रीअंशधनको महलको ५ नं. बमोजिम प्रतिवादी ललितादेवीको आफू खुश गर्न पाउने जग्गा हो भनी मात्र मिल्ने हुँदैन । पति लक्ष्मी भन्ने दिनेशकुमार पोखरेलसँग २०१९ र २०२१ सालमा एकासंगोलमा रहे बसेको अवस्थामा खरीद भएको जग्गामा पतिको मृत्यु पश्चात निज दिनेश पोखरेलका स्वास्नी छोरा यी वादीहरू समेतको अंश हक लाग्ने जग्गा रहेको कुरा निर्विवाद छ । पतिको मृत्यु पछि जेठी पत्नी यी ललितादेवी यी प्र.लक्ष्मण श्रेष्ठसँग अर्को विवाह गरेको कुरा स्वीकार गरेको देखिएको अवस्थामा स्त्री अंशधनको तत्काल प्रचलित ६ नं.को कानूनी व्यवस्था बमोजिम यी प्रतिवादी ललितादेवीको सो जग्गामा हक रहेको देखिन आउदैन । सो स्त्री अंशधनको ६ नं. मा “लोग्ने स्वास्नीको महल बमोजिम लोग्ने स्वास्नीको सम्बन्धविच्छेद भएमा वा विधवा स्वास्नीले आफ्ना लोग्नेको सत्य डगाएमा सो लोग्नेका तर्फबाट पाएको अंश र त्यसबाट बढे बढाएको सम्पत्तिमा स्वास्नीको हक रहदैन । हकवालाको हुन्छ” भन्ने प्रावधान रहेको पाइन्छ । यसरी अरूसँग विवाह गरिसकेको कुरा स्वीकार गरेको अवस्थामा लोग्ने तर्फबाट पाएको वा लोग्नेको जीवनकालमा लोग्ने तर्फबाट आफ्नो नाँउमा खरीद भइ आएको दावीको कि.नं. १७३ को जग्गा र घरमा यी प्रतिवादी ललितादेवीको हक समाप्त भई हकवालाको हक भई सकेपछि निजले २०५२।११।१७ मा उक्त जग्गा बिक्री गरेको उक्त कार्य स्त्री अंशधनको ६ नं.को व्यवस्था विपरीत रहेको स्पष्ट छ ।
२९. जहाँसम्म हदम्याद नाघी फिराद परेको भन्ने प्रतिवादीको कथन छ त्यसतर्फ हेर्दा आफ्नो हक हुन आएको अचल सम्पत्ति जग्गा पजनीको महलको २ क नं. बमोजिम हकवालाले जहिले सुकै आफ्नो नाँउमा नामसारी गर्न मिल्ने नै हुन्छ । तसर्थ २ वर्ष नाघी फिराद परेको भन्ने प्रतिवादीको जिकिर कानून अनुकूल देखिन आउँदैन ।
३०. अतएवः आफ्नो पतिको जीवनकालमा पतिसँग रहे बसेको अवस्थामा खरीद भएको कि.नं. १७३ नं. को जग्गा पतिको मृत्यु पश्चात निज प्रतिवादी ललितादेवीले प्रतिवादी लक्षमण श्रेष्ठसँग अर्को विवाह गरेको देखिएकोले तत्काल प्रचलित स्त्री अंश धनको ६ नं. बमोजिम आफ्नो लोग्नेको सत्यमा नबसेकोले प्रतिवादी ललितादेवीको सो घर जग्गाबाट हक समाप्त भई हकवाला यी वादीहरूको हक भई सकेको अवस्थामा २०५२।११।१७ मा यी प्रतिवादी इन्द्रकुमार मास्केलाई बिक्री गरी दिएको वादी दावीको लिखत बदर गर्नु पर्नेमा वादी दावी नपुग्ने ठहराएको मोरङ्ग जिल्ला अदालतको सदर गरेको पुनरावेदन अदालत विराटनगरको फैसला मिलेको नहुँदा उल्टी हुने र वादी दावीको उक्त लिखत र सो आधारमा भएको दर्ता समेत बदर हुने ठहर्छ । अरु तपसील बमोजिम गर्नु ।
तपसील
वादी बिमलादेवी समेतके माथी इन्साफ खण्डमा उल्लेख भए बमोजिम वादी दावीको कि.नं. १७३ को क्षेत्रफल ०–४–३को मिति २०५२।११।१७ को र.न. ११८५४ को लिखत र दर्ता बदर हुने ठहरेकोले सो कुरा सम्वन्धित लिखत र श्रेस्तामा जनाउनु भनी मालपोत कार्यालय मोरङ्गलाई लेखी पठाइदिन मोरङ्ग जिल्ला अदालतमा लगत दिनु .........१
वादीले फिराद दायर गर्दा राखेको कोर्ट फी रू ३००।– पुनरावेदन गर्दा दाखेल गरेको कोर्ट फी रू ४५।– र यस अदालतमा दाखेल गरेको कोर्ट फी रू ४५।– समेत जम्मा रू ३९०।– कोर्ट फी ऐन, २०१७ को दफा १५ बमोजिम प्रतिवादीहरूबाट भरी पाउँने हुँदा सो कोर्ट फी ऐनका म्याद भित्र भराई पाँउ भनी निज वादीको दरखास्त परे कुनै दस्तुर नलिई प्रतिवादीहरूबाट कानून बमोजिम वादीलाई भराई दिनु भनी मोरङ्ग जिल्ला अदालतलाई लगत दिनु............२
दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार बुझाईदिनु .......३
उक्त रायमा मेरो सहमत छ ।
न्या. शारदाप्रसाद पण्डित
इजलास अधिकृत : राजेन्द्रकुमार आचार्य
इति सम्वत् २०६४ साल मंसिर ४ गते गते रोज ३ शुभम्....................।