निर्णय नं. ७८७१ - कर्तव्य ज्यान

निर्णय नं. ७८७१ ने.का.प. २०६४ अङ्क ८
सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री शारदाप्रसाद पण्डित
माननीय न्यायाधीश श्री राजेन्द्रप्रसाद कोईराला
सम्वत् २०६२ सालको फौ.पु.नं–––––३६२८
सम्वत् २०६२ सालको साधक नं....२०४
फैसला मितिः २०६४।६।२३।४
मुद्दा : कर्तव्य ज्यान ।
पुनरावेदक /प्रतिवादी जि.रुपन्देही देवदह गा.वि.स.वडा नं.४ घरभै कारागार कार्यालय रुपन्देहीमा थुनामा रहेका चेतराज काफ्ले भन्ने चेतन काफ्ले
विरुद्ध
प्रत्यर्थी /वादीः भिमप्रसाद काफ्लेको जाहेरीले नेपाल सरकार
वादीः भिमप्रसाद काफ्लेको जाहेरीले नेपाल सरकार
विरुद्ध
प्रतिवादीः रुपन्देही जिल्ला ,देवदह गा.वि.स.वडा नं.४ घर भै कारागार कार्यालय रुपन्देहीमा थुनामा रहेका चेतराज काफ्ले भन्ने चेतन काफ्ले
शुरु निर्णय गर्नेः–
मा.न्या.श्री चण्डीराज ढकाल
पुनरावेदन फैसला गर्नेः–
मा.न्या.श्री विश्वनाथ जोशी
मा.न्या.श्री केशवप्रसाद मैनाली
§ मुलुकी ऐन दण्ड सजायको १ नं.मा “आफूले गरेको कामको प्रकृति र परिणाम थाहा नपाउने गरी मगज बिग्रेको वा बौलाएको रहेछ भने निजलाई खत बात लाग्न वा कुनै प्रकारको सजाय हुन सक्दैन” भन्ने कानूनी व्यवस्था रहेको देखिँदा उक्त कानूनी व्यवस्था आकर्षित हुनको लागि अभियुक्त आफूले गरेको कामको प्रकृति र परिणाम थाहा नपाउने प्रकृतिको हुनु पर्ने ।
(प्रकरण नं.२६)
§ प्रतिवादीलाई सिजोफिरीनिया रोग लागि यसको परिणाम यस्तै हुन्छ भन्ने सम्पूर्ण स्थिति थाहा पाउन नसक्ने स्थिति भएको नदेखिँदा आफूले होसियारीपूर्वक गरेको कामको प्रकृति थाहा नभएको भन्न नसकिने ।
(प्रकरण नं.२६)
§ मानसिक रोगबाट पीडित भएपनि वारदात हुनुपूर्व यी प्रतिवादी घरबाट जथाभावी हिड्ने, खाना नखाने लगायतका अस्वभाविक क्रियाकलाप गरेको भन्ने खुल्दैन । वारदात घटाउनु भन्दा तत्काल अघि पनि यी प्रतिवादी पूर्ण सचेत अवस्थामा देखिन्छन् । वारदात पछि आफूले गरेको अपराध छुपाउन सक्छु कि, बच्न सक्छु कि भन्ने भावानाबाट प्रेरित भई फरार भएको अवस्था छ । अतः प्रतिवादीले वारदात अघि र पछि गरेका कार्यहरूबाट त्यस्तो कामको प्रकृति र परिणामनै थाहा नपाउने गरी मगज बिग्रेको वा पागल भएको भन्ने नदेखिँदा मुलुकी ऐन, दण्ड सजायको १ नं. समेत प्रस्तुत वारदातमा आकर्षित हुन नसक्ने ।
(प्रकरण नं.२७)
पुनरावेदक प्रतिवादी तर्फबाट : विद्वान अधिवक्ता श्री चन्द्रकान्त ज्ञवाली
प्रत्यर्थी वादी तर्फबाट : विद्वान उपन्यायाधिवक्ता श्री शरदकुमार खड्का
अवलम्वित नजीरः
फैसला
न्या.राजेन्द्रप्रसाद कोइरालाः पुनरावेदन अदालत वुटवलको मिति २०६१।६।२५ को फैसला उपर प्रतिवादीको तर्फबाट न्याय प्रशासन ऐन, २०४८ को दफा ९ अनुसार यस अदालतमा दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छः–
२. २०५९।७।९ गते राती भाइ केशव काफ्ले र उनको जेठो छोरा चेतन काफ्ले समेत एकै कोठामा अलग–अलग खाटमा सुतेकोमा छोरा चेतन काफ्लेले आफ्नै बुबालाई धारिलो हतियार वन्चरोले घाँटीमा हानी कर्तव्य गरी मारी भागेकोले निजलाई प्रकाउ गरी कानून बमोजिम सजाय गरी पाउँ भन्ने समेत व्यहोराको मृतकको दाजु भिमप्रसाद काफ्लेले इलाका प्रहरी कार्यालय बुटवलमा दिएको जाहेरी दरखास्त ।
३. रुपन्देही जिल्ला, देवदह गा.वि.स. वडा नं.४ पिपलडाडा स्थित पूर्वमा गिरीधारी भुषालको घर, पश्चिम मृतककै खेत, उत्तर सार्वजनिक बाटो र दक्षिण मृतककै गोठ यति चार किल्ला भित्र उत्तर तर्फ मोहडा भएको एक तले मृतक केशवराज काफ्ले कै पक्की घर, सो पक्की घरको उत्तर तर्फको मोहडाबाट पस्दा शुरुको वायाँ कोठामा रहेको काठको पलंगमा दक्षिण तर्फ टाउको, उत्तर तर्फ खुट्टा भई सिरक ओढी उत्तानो अवस्थामा घाँटी पूर्णरूपमा धारीलो हतियारले काटिइ रगताम्य अवस्थामा मृतक केशव राज काफ्लेको लास रहेको घटनास्थल तथा लास प्रकृति मुचुल्का । घाँटी पूर्ण रूपमा काटिएको कारणबाट मृतकको मृत्यु भएको भन्ने पोष्टमार्टम रिपोर्ट प्रतिवेदन ।
४. २०५९।७।९ गते रातको समयमा केशवराज काफ्लेलाई निजकै घर कोठामा सुतेको अवस्थामा निजकै जेठो छोरा चेतन काफ्लेले घर व्यवहार सम्बन्धी विषयमा वादविवाद भई बन्चराले हानी कर्तव्य गरी मारेका हुन् भन्ने समेत व्यहोराको खिमानन्द तिवारी, महेश्वर काफ्ले,भिम लाल काफ्ले, खेम नारायण लम्साल, चिरञ्जिवी काफ्ले समेतको एकै मिलानको वस्तुस्थिति मुचुल्का ।
५. बाबुसँग घर व्यवहार चलाउने सम्बन्धमा बुबालाई राय सल्लाह दिँदा मैले दिएको राय सल्लाह बुबाले अस्वीकार गर्ने गरेकोले बुबा प्रति मेरो दिन प्रतिदिन रिसीवी बढ्दै गएकाले २०५९।७।९ गते खाना खाई कोठाको एउठा खाटमा म र भाइ सुत्यौ र अर्को खाटमा बुबा सुत्नुभयो । बुबाले म प्रति गरेका व्यवहारले गर्दा रिस उठी वहिनी सुत्ने कोठामा रहेको बन्चरो ल्याई रातको १२ बजेको समयमा घाँटीमा प्रहार गरे बुबा छट्पटाए, घाँटी पुर्ण रुपमा नछिनिएकाले तीन पटकसम्म घाँटीमा प्रहार गरी कर्तव्य गरी मारेको हुँ भन्ने समेत व्यहोराको अभियुक्त चेतन काफ्लेले अधिकार प्राप्त अधिकारी समक्ष गरेको बयान ।
६. मेरो श्रीमान केशवराज काफ्ले र छोरा चेतन काफ्लेबीच पहिल्यै देखिनै घर व्यवहार सम्बन्धमा वादविवाद भइ रहन्थ्यो । २०५९।७।९ गते खाना खाइ एकै कोठामा सुतेको अवस्थामा करिब १२ बजेतिर घद्राक घुद्रुक गरेको आवाज आयो । के हो ? के भयो भनी कराउदै उठी कोठामा गई हेर्दा सानो छोरा सुतेको र श्रीमानको घाँटी पूर्णरूपमा छिनिई मृतक अवस्थामा देखी हार गुहार गरी छिमेकी जम्मा भए । घरको अगाडि रगताम्य अवस्थाको बन्चरो समेत देखी बन्चरोमा लागेको रगत पानीले धोएको हुँ भन्ने समेत व्यहोराको मृतककी श्रीमती धर्मी काफ्लेले प्रहरी समक्ष गरेको कागज ।
७. २०५९।७।९ गते साँझ खाना पिना गरी दाजु चेतन काफ्ले र म एउटा खाटमा, बुबा केशवराज काफ्ले एउटै कोठामा रहेको अर्को खाटमा सुत्नु भयो । बहिनी छुट्टै कोठामा र आमा घरको भित्र गल्लीमा सुत्नुभयो । रातको करिब १२ बजेको समयतिर आमाले हल्ला खल्ला गरेको थाहा पाई उठ्दा बुबाको घाँटीमा धारिलो हतियारले काटिई मृत अवस्थामा हुनुहुन्थ्यो । दाजु घरमा थिएनन् । दाजुले नै बुबाको घाँटीमा धारीलो बन्चरोले हानी कर्तव्य गरी मारेका हुन् भन्ने समेत व्यहोराको मृतकको छोरा टंकराज काफ्लेले प्रहरी समक्ष गरेको कागज ।
८. प्रतिवादी चेतन काफ्लेले मिति २०५९।७।९ गते राती घरको एउटै कोठामा अलग अलग खाटमा सुति निदाएका आफ्नो बुबा केशव राज काफ्लेलाई घर व्यवहार सम्बन्धी पहिल्यै देखिको रिसईविको कारण घाँटीमा धारीलो जोखिमी हतियार बन्चरोले प्रहार गरी घाँटी छिनाई कर्तव्य गरी मारेकोले निज चेतन काफ्लेलाई मुलुकी ऐन ज्यान सम्बन्धी महलको १नं. बमोजिम कसूर गरेकोले ऐ.को १३(१) नं. बमोजिम सजाय गरी पाउँ भन्ने अभियोग पत्र ।
९. २०५९।७।९ गते राती बुबा गाउकै छिमेकी कहाँ रेडियो सुन्न जानुभयो र राती १०:३० बजे तिर घरमा आई सुत्नु भयो । उक्त समयमा म निदाएको थिइन । बुबा सुतेपछि कोठाको बत्ती बालि म बाहिर पिसाब गर्न गए । पिसाब फेरेर आई म आफ्नै बिस्तारामा बसे । बुबा निदाएका होलान भनी बहिनी सुत्ने गरेको कोठामा रहेको बन्चरो लिई बुबा सुत्ने गरेको कोठामा गए । त्यसपछि बन्चरो लिई पुनः बहिनी सुत्ने गरेको कोठामा बन्चरो राखी आफ्नो बिस्तारामा गए । केहि बेरपछि पुनः बन्चरो लिई गए र केहि नगरी बन्चरो लिई फर्के । तेस्रो पटक लगभग १२ बजेको समयमा फेरी बुबा सुतेको कोठामा बन्चरो लिई गै बुबा निदाएको अवस्थामा बुबाको घाँटीमा ३ पटक बन्चरो प्रहार गरी घाँटी छिनाली कर्तव्य गरी मारेको हो । उक्त कार्यमा म बाहेक अरू कसैको पनि संलग्नता छैन भन्ने समेत व्यहोराको प्रतिवादी चेतन काफ्लेले अदालतमा गरेको बयान ।
१०. प्रतिवादी चेतन काफ्लेले अदालत समक्ष गरेको, वयान घटनास्थल लास जाँच मुचुल्का, शव परीक्षण प्रतिवेदन, जाहेरी दरखास्त, प्रहरीमा कागज गर्ने मानिसको भनाई, वस्तुस्थिति मुचुल्काका मानिसको भनाई समेतका मिसिल संलग्न तत्काल प्राप्त प्रमाणबाट निज प्रतिवादी कसूरदार भएको देखिँदा अ.व. ११८(२) को अवस्था विद्यमान हुदा पछि प्रमाण बुझ्दै जादा ठहरे बमोजिम हुने गरी हाललाई कानून बमोजिको सिधा खान पाउने गरी थुनामा राखी पुर्पक्ष गर्न निज प्रतिवादीलाई कारागारमा पठाइदिनु भनी अ.व. १२४(ग) नं.अनुसार रुपन्देही जिल्ला अदालतबाट मिति २०५९।८।८ मा भएको थुनछेक आदेश ।
११. २०५९।७।९ मा दाई र म एउटा पलङमा सुतेका थियौ । बुबा अर्को पलङमा सुत्नुभएको थियो । आमा कोठा बाहिर गल्लीमा सुत्नुभएको थियो भने दिदी छुट्टै कोठामा सुत्नुभएको थियो । राती अचानक आमा रोएको सुने, दिदी पनि उठेकी र रून थालेको हुँदा के रहेछ भनी हेर्दा बुबा आफ्नै खाटमा लडेको देखे । दाजु चेतन काफ्लेले बन्चरोले हानि मारेको भन्ने कुरा थाहा पाए । दाई त्यस ठाउँमा थिएन, दाजुले दिमागको बिरामी भै औषधि खाइ राख्नु भएको थियो भन्ने समेत व्यहोराको प्रहरीमा कागज गर्ने मृतकको भाइ टंकराज काफ्लेले गरेको वकपत्र ।
१२. २०५९।७।९ गते म आफ्नै घरमा सुती रहेको अवस्थामा ढोका हानेको आवाज आइ उठेकोमा घरभन्दा मुनी भाइ केशवराजको घरमा रुवावासी भएको सुनी त्यहाँ गए । भाइ केशवराज आफू सुत्ने पलङमा अगाडिपट्टी घाँटी काटिएको, पछाडि थोरै भाग बाँकी रही मृत अवस्थामा र निजका अन्य परिवार रोइरहेका थिए । छोरा चेतन काफ्लेले बुबालाई सुतेको अवस्थामा बन्चराले हानि मारी भागेको रहेछ भन्ने समेत व्यहोराको जाहेरवाला भिमप्रसाद काफ्लेले अदालतमा गरेको वकपत्र ।
१३. मृतक केशवराजको मृत्यु निजको छोरा चेतनले बन्चरो हानि काटी मारेका भन्ने कुरा सुनी थाह पाएको हुँ । चेतन काफ्ले दिमाग सम्बन्धी बिरामी भै औषधी खाई रहेका थिए भन्ने समेत व्यहोराको प्रहरीमा कागज गर्ने खिमानन्द तिवारीले अदालतमा आई गरेको वकपत्र ।
१४. चेतन काफ्लेको मानसिक अवस्थाका सम्बन्धमा स्वास्थ्य परीक्षण गरी गत ३।४ वर्ष देखि मानसिक रोग लागी चिकित्सकसँग उपचार गराएको प्रेस्क्रिप्सन हेर्दा निज “सिजोफ्रेनिया” भन्ने मानसिक रोगबाट पीडित भएको भन्ने व्यहोराको ”भिम अस्पताल विकास समिति’ रूपन्देहीका मानसिक रोग विशेषज्ञ डा. ब्रह्म नारायण भारीको प्रतिवेदन ।
१५. प्रतिवादी चेतन काफ्ले प्रहरी र अदालतमा गरेको साविति बयान लगायतका मिसिल संलग्न प्रमाणबाट निज प्रतिवादीले बन्चरो प्रहार गरी केशवराज काफ्लेलाई कर्तव्य गरी मारेको पुष्टि भएको र निजलाई सोधेका हरेक प्रश्नको जवाफ दिन सक्ने कुरा स्पष्ट वुझ्ने र बुबाको मृत्युको कुरा सुनाउँदा दुखित समेत भएको देखियो । यस्तो अवस्थाका यी प्रतिवादीले मानसिक रोगको कारणले आफ्नो बुबालाई मारेको भनी अर्थ गर्न मिल्ने देखिँदैन । तसर्थ, प्रतिवादीले बन्चरो जस्तो जोखिम हतियारले आफ्नै जन्मदाता बुबालाई घाँटी जस्तो मर्मस्थलमा हानी मारेकोले ज्यान सम्बन्धीको १३(१) को कसूरमा सर्वस्वसहित जन्मकैद को सजाय हुने ठहर्छ भन्ने समेत व्यहोराको रुपन्देही जिल्ला अदालतको मिति २०६०।११।१७ को फैसला ।
१६. मैले अदालतमा गरेको बयानमा मानसिक अवस्था ठिक नभएको भनी भनेको छु । भिम अस्पताल, रुपन्देहीका मानसिक रोग विशेषज्ञ डा. व्रह्म नारायण भारीले “सिज्रोफ्रोनिया” भन्ने मानसिक रोग लागेको भनी प्रतिवेदन लेखिदिएको साथै मैले पहिले देखि नै मानसिक रोग सम्बन्धी औषधी सेवन गरेको भन्ने भारतका डा. प्रकाश मोहन वेरिको प्रेस्क्रिप्सन साथै रहि आएको अवस्थामा मलाई मानसिक रोग लागेको प्रष्ट हुँदा हुँदै अभियोग दावी बमोजिम सजाय गर्ने गरेको रुपन्देही जल्ला अदालतको फैसला त्रुटिपुर्ण हुँदा उल्टी गरी अभियोग दावीबाट सफाई पाउ भन्ने समेत व्यहोराको प्रतिवादी चेतन काफ्लेले पुनरावेदन अदालत, बुटवलमा दिएको पुनरावेदन पत्र ।
१७. मानसिक अवस्था ठिक नभएको भन्ने पुनरावेदन जिकीर सम्बन्धमा यो समय देखि विक्षिप्त भएको भन्ने कुरा घटना पुर्वको विश्वसनीय प्रमाण पेश हुन नसकेको र प्रतिवादीबाट पुनरावेदनमा उल्लेख गरेको नजीर प्रस्तुत मुद्दाको सन्दर्भमा आकर्षित हुन सक्ने नदेखिएकोले प्रतिवादीको पुनरावेदन जिकीरसँग सहमत हुन सकिएन । अतः शुरु रुपन्देही जिल्ला अदालतबाट प्रतिवादी चेतन राज काफ्ले भन्ने चेतन काफ्लेलाई सर्वस्व सहित जन्म कैद हुने ठहर्याइ भएको मिति २०६०।११।१७ को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ भन्ने समेत व्यहोराको पुनरावेदन अदालत बुटवलको मिति २०६१।६।२५ को फैसला ।
१८. वारदात पुर्व मैले बुबा केशव राजलाई मार्ने सम्बन्धमा कुनै पूर्व मनसाय, योजना, तयारी गरी हत्या गरेको नभई मानसिक असन्तुलनको कारण तत्काल आवेसमा आई बन्चरो प्रहार गरी मारेको भन्ने कुरा मिसिल संलग्न कागजबाट देखिन्छ । २,३ वर्ष अगाडि देखि नै मानसिक रोग सम्बन्धी औषधी सेवन गरेको र मानसिक रोग विशेषज्ञ डा. व्रहृम नारायण भारीले चेतन काफ्ले “सिजोफ्रिरोनिया” नामक मानसिक रोगी भएको भनी दिएको प्रतिवेदन समेतबाट प्रमाणित भएको र वस्तुस्थिति मुचुल्कामा उल्लेखित खिमानन्द तिवारी समेतले अदालतमा आइ गरेको वकपत्रमा चेतन काफ्ले दिमाग सम्बन्धी बिरामी भै उपचार गराइ रहेको भनेबाट समेत म मानसिक रोग लागि एक्कासी मानसिक विचलन हुन गै उक्त वारदात घट्न गएकाले अभियोग दावी बमोजिम रुपन्देही जिल्ला अदालतको फैसला सदर गर्ने गरी भएको पुनरावेदन अदालत बुटवलको फैसला उल्टी अभियोग दावीबाट पूर्ण रूपमा सफाई पाउँ भन्ने समेत व्यहोराको प्रतिवादी चेतन काफ्लेको यस अदालतमा पर्न आएको पुनरावेदन पत्र ।
१९. यसमा पुनरावेदक प्रतिवादीको मानसिक स्वास्थ्यको परीक्षण गरी प्रतिवेदन गर्ने डाक्टरलाई प्रमाण ऐन, २०३१ को दफा २३(७) बमोजिम बुझी प्रमाणको मुल्याङ्कन गर्नु पर्नेमा सो नगरी निर्णय गरेको पुनरावेदन अदालत बुटवलको फैसला फरक पर्न सक्ने हुँदा अ.व. २०२ नं. बमोजिम छलफलको निमित्त महान्यायाधिवक्ताको कार्यालयलाई पेशीको सुचना दिई प्रतिवेदन गर्ने डाक्टरलाई झिकाइ पेश गर्नु पर्ने भन्ने व्यहोराको यस अदालतको २०६२।९।१० को आदेश ।
२०. यसमा पटक–पटक पत्राचार गर्दा पनि डा. ब्रह्म नारायण भारी उपस्थित हुन नआएको हुँदा बन्द सवालद्धारा बुझ्ने आदेशका लागि इजलास समक्ष पेश गर्न मनासिव देखी टिप्पणी सहित इजलासमा पेश हुँदा प्रस्तुत मुद्दा नियमानुसार गरी इजलास समक्ष पेश गर्नु भन्ने मिति ०६३।६।२९ को आदेश ।
२१. यसमा यस अदालतको मिति २०६२।९।१० गतेको आदेशानुसार प्रतिवादीको मानसिक अवस्था जाँच गर्ने डा. लाई पटक–पटक पत्राचार गर्दा समेत उपस्थित भई वकपत्र गरेको देखिन आएन । मुद्दाको गाम्भिर्यतालाई विचार गर्दा डा. को वकपत्र हुन आवश्यक देखिएकोले एक पटकलाई अब आइन्दा अदालतको आदेशको अवज्ञा नगर्नु भनी लेखी पठाई उपस्थित भई बकपत्र गरेपछि पेश गर्नु भन्ने यस अदालतको आदेश बमोजिम प्रतिवादीको स्वास्थ्य परीक्षण गर्ने डा. व्रह्म नारायण भारीको वकपत्र भई मिसिल सामेल रहेछ ।
२२. नियम बमोजिम दैनिक मुद्दा पेशी सूचीमा चढी इजलास समक्ष पेश हुन आएको प्रस्तुत कर्तव्य ज्यान मुद्दाको सम्पूर्ण मिसिल अध्ययन गरी यी पुनरावेदक प्रतिवादीको तर्फबाट उपस्थित विद्धान अधिवक्ता चन्द्रकान्त ज्ञवालीले प्रतिवादी चेतन भन्ने चेतराज काफ्ले सिजोफोरीनिया रोगी भएको कुरा वारदात पूर्व निजको उपचारमा संलग्न चिकित्सकहरूको प्रेस्क्रिप्सन एवं निजले सेवन गरेका औषधीबाट प्रमाणित हुन आएको छ । यो रोग लागेको व्यक्तिले आफूले गरेको कामको परिणाम थाहा पाउन नसक्ने हुन्छ । प्रतिवादीले बुबालाई बन्चरो प्रहार गरेपछि कुनै पछुतो छैन र आफूले गरेको कामको परिणाम त्यस्तो भयो भन्ने ग्लानी पनि छैन । आफ्नै बाबुलाई मार्नु पर्नाको कुनै मनसाय कारण नभएको र पूर्व योजना तथा तयारी समेत केही नदेखिँदा सिजोफोरिनीया रोगकै कारण वारदात घटेको अवस्था भएकोले प्रतिवादी चेतन काफ्लेले अभियोग दावीबाट सफाई पाउनु पर्दछ । सम्मानित अदालतबाट ने.का.प.२०४२ अंक ५ नि.नं.२३५५ पृष्ठ ४३५ मा प्रकासित नजीर सिद्धान्त समेतका आधारमा शुरू एवं पुनरावेदन तहबाट भएको त्रुटीपूर्ण फैसला उल्टी भई मुलुकी ऐन दण्ड सजायको १ नं. अनुसार पूर्ण सफाई पाउनु पर्दछ भनी बहस गर्नु भयो । प्रत्यर्थीवादी नेपाल सरकारको तर्फबाट उपस्थित विद्धान उप–न्यायाधिवक्ता शरदकुमार खडकाले जिल्ला अदालतले प्रतिवादीलाई इजलासमा बोलाई सोधनी गर्दा समेत होसपूर्ण सबै विवरण भनेको देखिन्छ । प्रतिवादीले बुबाको हत्या गरिसकेपछि फरार रहेको र पछि घोडाहा भन्ने ठाउँमा पक्राउ परेका छन । आफूले गरेको कामको परिणाम थाहा नपाउने गरी मानसिक बिरामी भएको भए त्यसरी भाग्नु पर्ने थिएन । बचाउ पक्षका विद्धान कानून व्यवसायीले प्रस्तुत गर्नु भएको नजीर प्रस्तुत मुद्दामा आकर्षित हुने प्रकृतिको छैन । यस स्थितिमा शुरू एवं पुनरावेदन तहबाट भएको फैसला कानून सम्मत हुँदा सदर हुनु पर्दछ भनी बहस गर्नु भयो ।
२३. उपर्युक्त विद्वान अधिवक्ता र उप–न्यायाधिवक्ताको बहस समेतलाई दृष्टिगत गरी प्रस्तुत मुद्दामा शुरु फैसलालाई सदर हुने ठहर्याएको पुनरावेदन अदालतको फैसला मिले वा नमिलेको के हो ? र पुनरावेदक प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्ने वा नसक्ने के हो ? त्यस सम्बन्धमा निर्णय दिनु पर्ने भएको छ ।
२४. निर्णयतर्फ विचार गर्दा, घाँटीपूर्ण अवस्थामा छिनिएको मुतक केशवराज काफ्लेको लास रहेको भन्ने घटनास्थल लास प्रकृति मुचुल्का, घाँटी पूर्णरूपमा काटिएको कारणबाट केशवराज काफ्लेको मुत्यु भएको भन्ने पोष्टमोर्टम रिर्पोट, बरामद भएको दशीको बञ्चरो, किटानी जाहेरी दरखास्त, जाहेरवालाको एवं मौकामा कागज गर्ने मानिसले अदालतमा उपस्थित भई गरेको बकपत्र समेतका मिसिल संलग्न प्रमाणबाट केशवराज काफ्लेको मुत्यु कर्तव्यबाट भएको कुरामा विवाद देखिँदैन ।
२५. घर व्यवहार सम्बन्धी पूर्व रिसइवीको कारणले आफ्नो बाबु केशवराज काफ्लेलाई मिति २०५९।७।९ गते राती सुतिरहेको अवस्थामा घाँटीमा बञ्चरो प्रहार गरी घाँटी छिनाई कर्तव्य गरी मारेको हुँ भनी प्रतिवादी चेतन भन्ने चेतराज काफ्लेले अधिकारप्राप्त अधिकारी र अदालतमा समेत साबित भई बयान गरेको देखिन्छ । वस्तुस्थिति मुचुल्काका मानिस एवं प्रतिवादीकै आमाले समेत प्रहरीमा कागज गर्ने क्रममा प्रतिवादी चेतराज काफ्लेकै कर्तव्यबाट केशवराज काफ्लेको मृत्यु भएको हो भनी लेखाएको पाइन्छ । प्रतिवादीबाट सनाखत गराईएको बञ्चरो समेतका दशी प्रमाण, मौकाको लास प्रकृति मुचुल्का, जाहेरवालाको वकपत्र तथा मौकामा कागज गर्ने प्रतिवादीका आमा तथा भाइ लगायतका मानिसको कागज व्यहोरा समेतबाट प्रतिवादीको वयान समर्थित भएको अवस्था हुँदा प्रतिवादी चेतन भन्ने चेतराज काफ्लेको प्रहारबाट केशवराज काफ्लेको मुत्यु भएको कुरा स्थापित हुन आएको देखिन्छ ।
२६. प्रतिवादी चेतराज काफ्लेले आफ्नो बुबा केशवराज काफ्लेको हत्या गरेको वारदातमा सावित भएतापनि वारदात समयमा दिमागमा के भयो ? के भयो ? के सुरूमा बुवालाई मारे, सो समेत मलाई थाहा भएन, म मानसिक रोग सिजोफोरीनियाबाट ग्रस्त भएको हुँदा अभियोग दावी बमोजिम सजाय हुने होईन भनी पुनरावेदन जिकिर लिएको देखिन्छ । वारदातको अवस्थामा प्रतिवादी चेतन भन्ने चेतराज काफ्लेको मानसिक स्थिति के कस्तो थियो भन्ने तर्फ विचार गर्दा, मिसिल संलग्न प्रतिवादीको उपचारमा संलग्न डा. व्रम्हनारायण भारीले यस अदालतमा उपस्थित भई गरेको वकपत्र समेतका आधारमा निज प्रतिवादी चेतन काफ्लेलाई सिजोफोरीनिया रोग लागेको भन्ने कुरामा विवाद देखिँदैन । मुलुकी ऐन दण्ड सजायको १ नं.मा “आफूले गरेको कामको प्रकृति र परिणाम थाहा नपाउने गरी मगज बिग्रेको वा बौलाएको रहेछ भने निजलाई खत वात लाग्न वा कुनै प्रकारको सजाय हुन सक्दैन” भन्ने कानूनी व्यवस्था रहेको देखिन्छ । उक्त कानूनी व्यवस्था आकर्षित हुनको लागि अभियुक्त आफूले गरेको कामको प्रकृति र परिणाम थाहा नपाउने प्रकृतिको हुनु पर्दछ ।
२७. अब वारदात अवस्थामा यी प्रतिवादी चेतन भन्ने चेतराज काफ्ले आफूले गरेको कामको प्रकृति र परिणाम थाहा पाउन सक्ने अवस्थाका थिए थिएनन् भन्ने तर्फ हेर्दा, सिजोफोरीनिया रोग लागेका यी प्रतिवादी विचेत अवस्थामा रहने अथवा होस नभए सरी जथा भावी गरी हिड्ने, जे पायो त्यही गर्ने, बोल्ने अथवा सामाजिक दैनिकचर्यामा समेत अस्वभाविकता देखाउने जस्तो प्रकृतिको नभई घरमा सामान्य रुपमा बस्ने, उठ्ने सुत्ने, खाने, दिउँसो, राती, सुत्ने बेला थाहा पाउने, को–कति बेला कहाँ गएको, कति बेला आएको र अब के गर्दैछ, आफूले चाहेको कुरा कति बेला गर्दा आफू सुरक्षित हुन्छु अथवा आफूले गरेको बिज्याईको काम गर्दा पीडितले प्रतिवाद गर्न सक्दैन भन्ने जस्ता सबै कुराको विवेक हेक्का राख्न सक्ने रोगी भन्ने कुरा निजले गरेको बयान व्योहोरा र कार्य परिणामबाट स्पष्ट भएको छ । निज आफैले घटना घटाउने निश्चित गरी बुबा रेडियो सुन्न छिमेकी कहाँ गएको र आएपछि सुत्न गए भनी विचार गरेको, निदाए कि निदाएनन्, ननिदाईकन आफूले गरेको काम बुबाले थाहा पाए भने प्रतिवाद गर्लान भनी वारदात गर्नु भन्दा अगाडि तीन पटक बञ्चरो लिई बाबुको कोठा र बञ्चरो रहेको कोठामा ओहोर दोहोर गरेको, बाबु निदाए भन्ने एकिन भएपछि ढुक्क भएर बाबुको कोठामा बञ्चरो लिई गएर लगातार मार्मिक स्थानमा तीन चोटी बञ्चरोले हानी बाबुलाई काँटी मारेको प्रष्ट रूपमा बयान व्यहोरा र वारदातको प्रकृतिबाट स्पष्ट हुन आएको छ । यस तथ्यबाट प्रतिवादीलाई सिजोफिरीनिया रोग लागि यसको परिणाम यस्तै हुन्छ भन्ने सम्पूर्ण स्थिति थाहा पाउन नसक्ने स्थिति भएको नदेखिँदा आफूले होसीयारीपूर्वक गरेको कामको प्रकृति थाहा नभएको भन्न सकिएन । उल्लेखित कार्य परिणामको विवेचना समेतको आधारमा वारदातको अवस्थामा प्रतिवादीको मानसिक अवस्था आफूले गरेको कामको परिणाम र मतलव थाहा पाउन सक्ने अवस्थाको देखिन आएको छ ।
२८. प्रतिवादी तर्फका विद्धान कानून व्यवसायीले बहसको क्रममा समेत उल्लेख गर्नु भएको ने.का.प.२०४२ अंक ५ पृष्ट ४३५ नि.नं.२३५५ पुनरावेदक पदमराज जोशी वि. नेपाल सरकार भएको कर्तव्य ज्यान मुद्दामा प्रतिपादित नजीर प्रस्तुत मुद्दामा आकर्षित हुन सक्ने देखिँदैन । उक्त मुद्दाको तथ्य र प्रस्तुत मुद्दाको तथ्य नै फरक देखिन आउँदछ । उक्त मुद्दाका प्रतिवादी पदमराज जोशी खाना नखाने, जथा भावी हिड्ने, कम बोल्ने नित्यकर्म नगर्ने, कोही बेला मानिसलाई झम्टने अवस्थाका देखिन्छन् भने वारदात पश्चात श्रीमतीलाई मारे भनी ठूलो स्वरमा चिच्चाएको अवस्था देखिन्छ । निजको उपचार भए गरेको अवस्था छैन । सर्जमिनका व्यक्तिहरूले पागल भएको भनी लेखाई दिएको देखिन्छ । तर, प्रस्तुत वारदातमा संलग्न यी प्रतिवादी चेतन काफ्ले आफूले गरेको कामको प्रकृति र परिणाम थाहा नपाउने अवस्थाका देखिँदैनन् । मानसिक रोगबाट पीडित भएपनि वारदात हुनुपूर्व यी प्रतिवादी घरबाट जथाभावी हिड्ने, खाना नखाने लगायतका अस्वभाविक क्रियाकलाप गरेको भन्ने खुल्दैन । वारदात घटाउनु भन्दा तत्काल अघि पनि माथि उल्लेख अनुसार यी प्रतिवादी पूर्ण सचेत अवस्थामा देखिन्छन् । वारदात पछि आफूले गरेको अपराध छुपाउन सक्छु कि, बच्न सक्छु कि भन्ने भावानाबाट प्रेरीत भई फरार भएको अवस्था छ । अतःप्रतिवादी चेतन काफ्लेले वारदात अघि र पछि गरेका निजका कार्यहरूबाट त्यस्तो कामको प्रकृति र परिणामनै थाहा नपाउने गरी मगज बिग्रेको वा पागल भएको भन्ने नदेखिँदा उक्त नजीर एवं मुलुकी ऐन, दण्ड सजायको १ नं. समेत प्रस्तुत वारदातमा आकर्षित हुन सक्ने अवस्था देखिँदैन ।
२९. तसर्थ, प्रतिवादी चेतन काफ्लेले थाहा पाउन सकिने प्रकृतिको कसूर गरेकै देखिन आएको र त्यसमा मृतकको मृत्यु धारिलो हतियार प्रयोगबाट भएकै देखिँदा निजलाई मुलुकी ऐन, ज्यान सम्वन्धी महलको १३(३) नं. अनुसार सजाय हुने ठहराएको पुनरावेदन अदालत बुटवलको फैसला मिलेको देखिँदा सदर हुने ठहर्छ । प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्दैन । प्रस्तुत फैसलाको जानकारी थुनामा रहेका प्रतिवादी चेतराज भन्ने चेतन काफ्ले र महान्यायाधिवक्ताको कार्यालयलाई दिनु । प्रतिवादीको पुनरावेदन परी सोही पुनरावेदनको रोहबाट इन्साफ बोलिएको हुँदा साथै पेश हुन आएको सम्वत् २०६२ सालको साधक नं.२०४ बाट अब केही बोली रहनु नपर्ने हुँदा उक्त साधक तथा प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार गरी बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या.शारदाप्रसाद पण्डित
शा.अ.भद्रकाली पोखरेल
ईति सम्वत् २०६४ साल असोज २३ गते रोज ४ शुभम्.................