निर्णय नं. ७८७३ - गोश्वारा अशंवण्डा घर जग्गा वण्डा गरिपाउँ

निर्णय नं. ७८७३ ने.का.प. २०६४ अङ्क ८
सर्वोच्च अदालत संयुक्त इजलास
माननीय न्यायाधीश श्री राजेन्द्रकुमार भण्डारी
माननीय न्यायाधीश श्री ताहिरअली अन्सारी
सम्वत २०६० सालको दे.पु.नं. ...९६७०
फैसला मितिः २०६४।६।१४।२
मुद्दाः– गोश्वारा अशंवण्डा घर जग्गा वण्डा गरिपाउँ ।
पुनरावेदक
वादीः काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं. १० को हाल का.म.न.पा. वडा नं. ३४ वस्ने ओमविक्रम शाह समेत
विरूद्ध
प्रत्यर्थी
प्रतिवादीः काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं. ३४ बस्ने शान्त विक्रम शाह समेत
शुरु फैसला का.जि.अ. :
मा.न्या.देवेन्द्रगोपाल श्रेष्ठ
पुनरावेदन फैसला, पु.वे.अ.पाटनः
मा.न्या.माधवराज थापा,
मा.न्या.केशवप्रसाद मैनाली,
§ अंशियारहरूका बीचमा गोश्वारा अंशवण्डामा राखिने सम्पत्ति कुनै स्थायी प्रकृतिको र कुनै अस्थायी प्रकृतिको हुने हुन्छ । त्यस्ता प्रकृतिका सम्पत्तिहरू स्थायी रुपमा गोश्वारा अंशवण्डामा राखिने हुन्छ र यस्तो सम्पत्ति अंशियाराहरूको अंशवण्डा र सामुहिक उपभोगको आधारमा सार्वजनिक महत्वको पनि हुन जान्छ भने अन्य प्रकृतिका घर जग्गा चल धनमाल पछि अंशियारहरूका बीचमा भएको सहमति अनुसार विभाजन भएको हुन्छ। कुनै पनि प्रकृतिको गोश्वारा अंशवण्डा सम्पत्तिमा कुनै खास प्रयोजन भने रहनु अनिवार्य हुने ।
(प्रकरण नं.२१)
§ गोश्वारा अंशवण्डा सम्पत्तिले पार्न सक्ने प्रभावहरूको बारेमा विश्लेषण गर्दा यसमा सम्पत्ति गोश्वारामा राखिएपछि त्यसले अंशियार अंशियारका बीचमा अधिकार एवं कर्तव्यको सिर्जना गरेको हुन्छ । सबै अंशियारहरूको मंजुरी सहमतिबिना सम्पत्तिको हक एवं स्वामित्व हस्तान्तरण एवं परिवर्तन हुन सक्दैन । तर, एक अर्का अंशियारहरूका बीचमा प्रतिकूल भोग भने हुन सक्दछ । संक्षेपमा अशंवण्डा गोश्वारा सम्पत्तिले सामुहिक अधिकार एवं कर्तव्यको सिर्जना गर्दछ । जसलाई पालन गर्नमा सम्पूर्ण अंशियाराहरू बाध्य हुनुपर्ने।
(प्रकरण नं.२२)
§ साझा अशंवण्डामा रहेका सम्पत्तिका बारेमा के गर्ने भन्ने सम्बन्धमा पक्षहरू बीच भएका संव्यवहारहरूले प्रभाव पार्ने हुन्छ । व्यक्त वा अव्यक्त रुपमा दिइएको सहमति मंजुरीबाट सम्पत्तिको स्वामित्व एवं भोगमा परिवर्तन हुन सक्ने विधिशास्त्रीय अवधारणाले मान्यता पाउने ।
(प्रकरण नं.२३)
§ अंशियाराहरूका बीचमा सार्वजनिक महत्वको अशंवण्डा गोश्वारा सम्पत्ति बाहेक अन्य सम्पत्ति लामो समयसम्म अंशियाराहरूको हकभोग कारोबार प्रचलन समेतमा असर पर्ने गरी तथा हकाधिकारलाई सिमीत गरिरहन नसक्ने यथास्थितिमा रहेको अवस्थामा प्रस्तुत मुद्दामा विवादित सम्पत्ति त्यसरी अशंवण्डामा नै राखेको भनी भन्न सकिने स्थिति नआउने ।
(प्रकरण नं.२७)
पुनरावेदन वादी तर्फबाट : विद्धान अधिवक्ताद्धय श्री हरिहर दाहाल र श्री श्यामराज ढुंगेल
प्रत्यर्थी प्रतिवादी तर्फबाट : विद्धान अधिवक्ता श्री शम्भु थापा, इन्द्रखरेल, श्री विश्वप्रसाद सिग्देल, श्री पुष्पराज पाठक
अवलम्वित नजीरः ने.का.प.२०२९, अंक १, नि.नं.६५६, पृष्ठ २, ने.का.प.२०३०, नि.नं.७८६, पृष्ठ ३४५
फैसला
न्या.राजेन्द्रकुमार भण्डारीः न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१)(क)(ख) बमोजिम मुद्दा दोहोर्याई हेर्ने निस्सा प्रदान भै पुनरावेदन दायरीमा दर्ता भई पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छ :-
२. हामीहरूका बाबु तथा बाजे श्यामबहादुर शाहका दुई श्रीमती मध्ये जेठी तर्फबाट जन्मेका जेठा छोरा शेद विक्रम शाह १९८२ सालमा अंश लिई भित्र भएको श्यामबहादुर १९९२ सालमा परलोक भएको निजको कान्छी श्रीमती भिमकुमारी शाही र चार छोराहरूमा माहिलो कृष्ण विक्रमशाह, साहिला राम विक्रम शाह, काहिँलो लक्ष्मण विक्रम शाह र कान्छो हरि भन्ने दुर्गा विक्रम शाह समेत पाँच अंशियार भएको हुँदा २००२ सालदेखि संगोलमा रहन मुस्किल भई २००२।११।११ का दिन अंशियार मध्ये कै राम विक्रमका नाउँमा साविक पोता नं. ३६०५ को खेत रोपनि १।। र सो जग्गामा बनेको गोश्वारा घर जग्गा २०२१ सालको सर्भे नापीमा भिमसेन गोला पं.१(ग) हाल का.म.न.पा. वडा नं. १० को कि.नं. ४० को क्षे.फ. १–१–१ सो मा बनेको घर कम्पाँउण्ड इनार तवेला समेत हाललाई भोगचलन गर्नको लागि आमा तथा हजुर आमा मिनकुमारी समेतलाई पाँचै भोगमा छुट्याई संगोलकै दर्तावाला अंशियार राम विक्रमका नाउँमा गोश्वारा राखी अन्य चलअचल वण्डा गरी लिएका थियौं । सो बाहेकको आफ्ना भोगमा परेको जग्गाको ज.ध. दर्ता प्रमाण पुर्जा समेत प्राप्त गरेका छौ । उक्त घर जग्गाको जिम्मेवार राम विक्रम शाह सो घर जग्गाको वण्डा हुनु पूर्व नै २०४० सालमा परलोक हुनुभयो र वहाँका हकदार विपक्षीहरूले नामसारी माग गरी मा.पो.का.ले नामसारी गरी दिएतापनि हामीहरूले अविछित्र भोग गरेको कुरालाई विपक्षीले अन्यथा भन्न पाउने अवस्था छैन । २०४६ सालमा उक्त स्थानमा नापी हुँदा भोग अनुसार नाप नक्सा गराई जग्गा धनीपुर्जा समेत प्राप्त गरेका छौ । यस्तो अवस्थामा गोश्वारा जिम्मा लिने राम विक्रम शाहको हकवाला भनी आफ्ना नाँउमा दर्ता गरी पुर्जा पाँउ भनी मा.पो.का.मा निवेदन दिएकोमा हामीलाई समेत झिकाएकोमा विपक्षीहरूको नाममा मात्र दर्ता हुने होइन भनी हामीले लिखत निवेदन दिई तारेखमा बसी आएका थियौ । तर, विपक्षीका नाममा ज.ध.द.प्र पुर्जा दिने निर्णय गरेकोले सो निर्णयमा चित्त नबुझी पुनरावेदन गरेका छौ । विवादित कि.नं. ४० को क्षेत्रफल १–१–१ जग्गा र घर विपक्षीहरूका बाबुको मात्र स्वआर्जनको होइन हामीहरू समेतको हक लाग्ने अशंवण्डा गोश्वाराको जग्गा हो तसर्थ चार अंशियार मध्ये तीन अंशियार परलोक भै सकेकोले र अंशियारमध्ये लक्ष्मण विक्रम मात्र बाँकी भएकोले ४ भोगको १ भोग निजका र अन्य तीन अंशियार कृष्ण विक्रम शाहको म फिरादी मध्येको भरत विक्रम शाह, हरि भन्ने दुर्गा विक्रम, ओम विक्रम तथा राम विक्रम शाहको अंश भोग ०४६ सालमा नापी दर्ता भए अनुसार वण्डागरी चलन समेत चलाई पाँउ भन्ने समेत व्यहोराको वादीको फिराद दावी ।
३. विवादित जग्गा अशंवण्डा गोश्वाराको होइन र दावी बमोजिम वण्डा लगाउनु पर्ने पनि होइन । विवादित घर जग्गा समेतका विभित्र ३८ कित्ताका जग्गाहरू २०२१, २०२२ सालको नापीमा फिरादी मध्ये ओम विक्रम र भूपेन्द्र विक्रमका पिता दुर्गा विक्रम शाह, भरत विक्रमका पिता कृष्ण विक्रम शाह र विपक्षी लक्ष्मण विक्रम शाह हामी प्रतिवादीहरूका पिता राम विक्रम शाह तथा बोधकुमारी, भद्रकुमारी समेत संयुक्त नाममा नापी भै सबैबाट तिरो समेत हुदै आएकोमा २०२५।१२।२९ मा अरू हकदारको वारेस भै विपक्षी ओम विक्रम शाह समेतका पिता दुर्गा विक्रम शाहको मा.पो.का.को समेत कार्य गर्ने भु.प्र.का काठमाडौंमा नापी भएका जग्गा कुन कुन कित्ता कसले पाउँने भन्ने बारेमा निवेदन परी कारवाही हुदै जाँदा २०२६।२।२ मा भएको ठहर पर्चाको अलग–अलग व्यक्तिका नाँउमा पुर्जा बनाई सो को जानकारी गराउने निर्णय भएको थियो । सो निर्णय बमोजिम कि.नं. ४० हामी प्रतिवादीहरूका पिता राम विक्रम शाहका नाममा परी मिति ०५६।५।३१ मा सबै जग्गा धनी पुर्जाहरू दुर्गा विक्रम शाहले बुझी साझा गोश्वाराको कुरा सोही समयबाट समाप्त भएको हो । सो ठहर पर्चाले पनि उक्त जग्गा अशंवण्डा गोश्वाराको भन्ने देखाएको पनि छैन । सो ठहर पर्चा बमोजिम पिता राम विक्रमको भोगमा परेको कि.नं. ४० को जग्गा पिताको ०४१ सालमा परलोक भएपछि विपक्षी मध्येका लक्ष्मण विक्रमका छोरा विदुर विक्रम शाह तत्कालीन का.न.पा. वडा नं. १० हाल ३४ को वडा अध्यक्षको सिफारिसबाट हामी प्रतिवादीहरूका नाममा नामसारी भै २०२६ साल देखि अविछिन्न भोग गरी आएका छौ । दोहोरो नापी भएपछि साविक श्रेस्ता पुर्जाका आधारमा मा.पो.का.मा निवेदन परेपछि उक्त घरजग्गा साझा हो भनी विवाद गरे पनि हामीहरूको ठहर हुने गरी ०५४।१२।२५ मा भएको निर्णयमा विपक्षीहरूको चित्त नबुझी पुनरावेदन अदालत पाटनमा पुनरावेदन परी विचाराधीनमा छ र २०२६ सालमा नै हामीहरूका पिताका एकलौटी हुने निर्णय भै पूर्जा समेत प्राप्त गरेकोमा ज.प. र जग्गा मिच्नेको ऐन बमोजिम दुई वर्ष भित्र फिराद पर्न नसकेको र मा.पो.का. काठमाडौंले दोश्रो नापीमा भएको नाप जाँचलाई अद्यावधिक गर्ने भएको मिति ०५४।११।२५ को निर्णय भएको ६ महिना नाघी परेको हदम्यादबिहिन फिराद खारेज गरिपाऊँ भन्ने समेत व्यहोराको प्रतिवादीको प्रतिउत्तर पत्र ।
४. भूमि प्रशासन कार्यालयबाट मिति ०२६।२।३ गतेको पर्चाबाट विवादित कि.नं. ४० को जग्गा प्रतिवादीहरूका पिता राम विक्रम शाहको भोगमा परी पुर्जा तयार भएको देखिन आएकोले यी वादीहरू मध्ये ओम विक्रम, भूपेन्द्र विक्रमको पिता दुर्गा विक्रम शाहले अन्य अंशियारहरूको हकमा समेत वारेस भई आफ्ना हकमा समेत भनी सबै अंशियारहरूको भोग अलग–अलग देखिने गरी निवेदन दिनु र सो को आधारमा काम दर्ता समेत भएको देखिन आएको कुरालाई मन्जुर गरी बसेबाट कि.नं. ४० को विवादित जग्गा अशंवण्डा भन्ने वादी दावी पुग्न सक्तैन । सो दावी नपुगेबाट अंश वण्डागरी चलन चलाई पाँउ भन्ने दावी समेत पुग्न सक्तैन भन्ने समेत व्यहोराको शुरु काठमाडौं जिल्ला अदालतको मिति ०५६।१०।१९ को फैसला ।
५. शुरु जिल्ला अदालतले वादी दावी पुग्न सक्दैन भनी हामीलाई हराई गरेको फैसलामा चित्त बुझेन अंश वण्डाको ३५ नं. ले अशंवण्डा सम्पतिमा हाम्रो दावी लाग्ने स्पष्ट छ । लिखत एवं भोग दुवै दृष्टिले हामी फिरादीको अंश भोगको घर जग्गा रहे भएको पुष्टि भएकोमा त्यस तर्फ का.जि.अ.ले ध्यान नपुर्याई त्रुटीपूर्ण फैसला गरको छ । २००२ सालमा पनि विपक्षीहरूका पिता राम विक्रम शाहकै नामको दर्ताको भएको सोही व्यहोरा उल्लेख गरी वण्डापत्रमा अशंवण्डा राखिएको त्यसै हुनाले उल्लेखित घर जग्गा २०२६ सालमा पनि लगत भिडाई राम विक्रम कै नाममा कायम सम्म रहने गएको हो । जग्गाको दर्ता एका अंशियारका नाममा रहेकै कारणले मात्र अशंवण्डा गोश्वाराको जग्गामा विपक्षीहरूको मात्र हक लाग्छ पुग्छ भन्न कसै गरे मिल्दैन । शुरुको फैसला उल्टी गरी हाम्रो फिराद दावी बमोजिम गरिपाउँ भन्ने समेत व्यहोराको पुनरावेदक वादी ओमविक्रम शाह समेतको यस अदालतमा परेको पुनरावेदन पत्र।
६. यस्मा दावीको घर जग्गा दुवै पक्षको भोगमा रहेको भन्ने जिकिर पनि रही रहेको र २००२ सालमा भएको वण्डापत्रमा साविक पोता नं. ३६०५ को घर जग्गा गोश्वारा रहेकोमा सोही जग्गा विवादको घर जग्गा हो भन्ने हुँदा सो सम्बन्धमा एकिन नगरी भूमि प्रशासन कार्यालयमा दिएको निवेदनको आधार मात्र ग्रहण गरी वादी दावी नपुग्ने ठहर गरेको शुरुको फैसला फरक पर्ने देखिएको हुँदा छलफलको लागि अ.वं. २०२ नं. तथा पुनरावेदन अदालत नियमावली २०४८ को नियम ४७ बमोजिम विपक्षी झिकाई आए वा गुजारेमा पेश गर्नु भन्ने पुनरावेदन अदालत पाटनको मिति ०५७।५।२१ को आदेश ।
७. यस्मा मिति २००२।११।११ को अंशवण्डाको लिखत र सोही मितिको अंश भरपाई अंशवण्डाको ३५ नं. को परिप्रेक्ष्यमा अ.वं. ७८ नं. बमोजिम सुनाउनु पर्ने हुँदा सुनाई दुवै पक्षका साक्षी समेत वुझी नियमानुसार पेश गर्नु भन्ने पुनरावेदन अदालत पाटनको मिति ०५७।८।२८ को आदेश ।
८. विपक्षीले पेश गरेको २००२।११।११ को सक्कल वण्डापत्र र भरपाईहरू देखाउँदा घरायसी लिखतहरू भएको उक्त वण्डापत्र हेरी देखे उक्त वण्डापत्र र घरायसी कागज हुँदाका बखत हामी ४।५ बर्षका नावालक व्यक्ति भएकाले सो सम्बन्धमा हामीलाई एकिन थाहा हुने कुरा भएन, हाम्रा पिता दुर्गा विक्रम शाहले वण्डापत्र र भरपाई गरेको भए पनि हामी नावालक भएपछि विपक्षीहरूका पिता र हाम्रा पिता अलग–अलग बसेको अचल सम्पतिको आयस्ता संगोलमा नै भएको २०२१ सालको नापी हुँदा हामीहरूले सम्पूर्ण अचल सम्पति चार जना दाजुभाई र २ जना अविवाहिता दिदी बहिनी समेत ६ जना अंशियारका नाँउमा नापी गराई विपक्षीका पिता दुर्गा विक्रम शाहले नै संयुक्त ज.ध.प्रमाण पुर्जा बनाएका थिए भन्ने समेत व्यहोराको शान्त विक्रम शाह समेतका वारेस मातृकाप्रसाद भट्टराईले पुनरावेदन अदालत पाटनमा गरेको बयान ।
९. पुनरावेदकका साक्षी भक्तबहादुर मगरले हाल मुद्दा परेको जग्गामा चार भाइ बस्छन् विवादित घर दुवै पक्ष चार भाइको संगोलको घर जग्गा हुँदा वण्डा लाग्ने सम्पत्ति हो भनी पुनरावेदन अदालत पाटनमा गरि दिएको बकपत्र मिसिल सामेल रहेको ।
१०. विपक्षीका साक्षी ओमबहादुर रायमाझीले यस मुद्दामा २०२१ सालमा नापी भएको र २०२६ सालमा आ–आफ्नो गर्ने सम्बन्धमा ४० नं. को घर जग्गा रामविक्रमको नाममा दर्ता भई भोग चलन गरेको र २०४० सालमा स्वर्गे भए पछि छोरा शान्त विक्रम र अविवाहित छोरी भवानी शाह र जुना शाहले भोग चलन गर्दै आइरहनु भएको छ । विवादित घर शान्त विक्रम समेतको एकलौटी हक भोग दर्ता को हो वण्डा लाग्ने होइन भनी पुनरावेदन अदालत पाटनमा गरिदिएको बकपत्र मिसिल सामेल रहेको ।
११. विवादको कि.नं. ४० को घर जग्गा सर्भे नापी हुँदा फिल्डवुकमा २०२१ सालमा ६ जना व्यक्तिहरूको नाम जनिएपनि सो पछि नापी कार्यालयमा निवेदन परी कित्ताकाट भएका व्यक्तिकै भोग कायम गरी आ-आफ्नो भोगको जग्गा लिन आफूले जग्गाधनी प्रमाणपूर्जा उठाउन निवेदन दिई यिनै वादीहरूका पिता दुर्गा विक्रमशाहले लक्ष्मण विक्रम, कृष्ण विक्रम, राम विक्रम, वोधकुमारी शाह आफूहरूको वारेस समेत बनी पूपक्र्षमा बसी अलग–अलग जग्गाधनी पूर्जा दिने निर्णय गराएको देखिन्छ, नापी कार्यालयको निर्णय पश्चात पनि ६ जनाको नाम जनिएकोमा शंका जनाई पुनः टिप्पणी उठाइएकोमा निर्णय बमोजिम गर्ने भनी २०२८।५।९ र २०२८।५।३० मा थप तोक आदेश भएको देखिन्छ , २००२ सालको अंश वण्डामा समावेश भएका अंशियारा दुर्गा विक्रम, लक्ष्मण विक्रम, कृष्ण विक्रमले नै आफू अग्रसर भै विवादीत जग्गा राम विक्रम कै भोगको हो भनी अलगै जग्गा धनी प्रमाण पूर्जा बनाई दिएको र सोही अनुसार सबै अशियाराले आफ्नो अंश भागको जग्गाको जग्गाधनी प्रमाणपूर्जा लिई पाइसकेको देखिन्छ । पछि नापी हुँदा यिनै वादीहरूले कि.नं. ४० बाट अलग–अलग कित्ताफोड गराए पनि उजुर पर्दा साविक अनुसारकै कि.नं. ४० कायम गर्ने गरी गरेको मालपोत कार्यालयको निर्णय उपर यिनै वादी पुनरावेदकहरूको पुनरावेदन परेकोमा यस अदालतबाट २०५६।५।४ मा सो निर्णय सदर हुने ठहराई फैसला भएको देखिदा एक पटक धेरै पहिले २००२ सालमा गोश्वारा भएको भनी लेखिएको कारणले पछि सम्म पनि निरन्तर गोश्वारामा अशंवण्डानै राखेको सम्झन मिलेन । २०२५ सालमा नापी गोश्वारामा गरेको कारवाही र २०२८ सालको निर्णय प्रमाण ग्राह्य नै देखियो, सो कारवाहीको मूलकर्ता वादीहरूकै पिता दुर्गा विक्रम, लक्ष्मण विक्रम, कृष्ण विक्रम भएको हुँदा वादीहरू विवन्धित हुनुपर्ने नै हुन्छ । सो निर्णय समेतको कारवाहीले अब वादीहरूलाई अशंवण्डा भनी प्रस्तुत दावी गर्न रोक लागेको छ, अदालतले सो २०३४ साल भन्दा अघिको व्यवहार प्रमाण र निर्णयलाई अंगिकार गरी निर्णय दिनुपर्ने हुन आएकोले शुरु अदालतले गरेको ठहर फैसलालाई अन्यथा गरेको भन्न मिलेन अतः अशंवण्डा घर जग्गा वण्डा गरिपाऊँ भन्ने वादी दावी नपुग्ने ठहर्याएको काठमाडौं जिल्ला अदालतको मिति २०५६।१०।१९ को फैसला मिलेकै देखिँदा मनासिव हुने ठहर्छ वादीहरूको पुनरावेदन जिकिर पुग्न सक्दैन भन्ने पुनरावेदन अदालत पाटनको मिति २०५७।१०।२५।४ को फैसला ।
१२. निवेदकको बाबु तथा बाजे श्याम विक्रम शाहको १९९३ सालमा परलोक भएको, मुमा तथा बाजे भिमकुमारी शाही र उहाँका चार छोराहरू क्रमश कृष्ण विक्रम शाह, राम विक्रम शाह, लक्ष्मण विक्रम शाह, हरि भन्ने दुर्गा विक्रम शाह बीच २००२।११।११ मा चल अचल सम्पत्ति वण्डा लगाई छुट्टिदा अंशियारमध्ये राम विक्रम शाहका नाममा दर्ता रहेको साविक पोता नं. ३६०५ को १–८–० जग्गा र सो जग्गामा बनेको घर कम्पाउण्ड इनार तवेला समेत अशंवण्डा गोश्वारामा राखी भोग गर्दै आएको, उक्त घर जग्गा २०२१ सालमा नापी हुँदा का.जि.भिमसेन गोला गा.वि.स.वा.नं. १(ग) कि.नं. ४० क्षे.फ. १–१–१ कायम भई श्रेस्ता खडा भएको, दोश्रो नापी २०४६ सालमा हुँदा खेरी हामी अंशियारले आफ्नो आफ्नो भोगमा रहेको घर जग्गाको क्षेत्रफल समेत छुट्टा छुट्टै नाप–नक्सा भई पूर्जा समेत प्राप्त भएको, हामीले आफ्नो पूर्जा लिएको करिब ६ बर्ष पछि विपक्षीका पिता राम विक्रमका नाममा साविक दर्ता भएकै आधारमा विपक्षीहरूले आफ्ना नाममा दर्ता गरि दिने गरेको मा.पो.का. को ठहर पर्चालाई सदर गर्ने गरी का.जि..अ.को फैसलालाई नै सदर गर्ने गरी पु.वे.अ. पाटनको फैसला अ.वं. १८४ क नं. १८५ नं. १८९ नं., जग्गा नापजांच ऐन २०१९ को दफा ६(५), ६(६), ६(७), ने.का.प. २०४२ पृ. ३५४ नि.न. २३२८, ने.का.प. २०४७ पृ. ५१२ नि.नं. ४१७२ ने.का.प. २०४६ पृ. ४५२ नि.न. ३८०७ समेतको त्रुटी हुँदा न्याय प्रशासन ऐन २०४८ को दफा १२(१)(क) र (ख) को पुर्णवस्था विद्यमान भएकोले मुद्दा दोहोर्याई दावी बमोजिम गरीपाँउं भन्ने समेतको यस अदालतमा पर्न आएको निवेदन ।
१३. यसमा रामविक्रम शाह नाम दर्ताको साविक पोता नं. ३६०५ हाल कि.नं. ४० को जग्गा तथा घर मिति २००२।११।११ को घरसारको वण्डापत्रबाट गोश्वारामा राखेको देखिनुका साथै २०२१ साल र ०४५ सालको नापीमा समेत सो जग्गा यिनै वादी प्रतिवादीहरूको बीचमा आ–आफ्नो नाममा कित्ताकाट भएको एवं निजहरूकै भोगमा रहेको भन्ने कुरा समेत मालपोत अधिकृत समेतको मिति २०५४।१०।१२ को स्थलगत निरिक्षण प्रतिवेदनबाट समेत देखिन आइरहेको अवस्थामा एक पटक धेरै पहिले २००२ सालमा गोश्वारा भएको भनी लेखिएको कारणले पछिसम्म पनि निरन्तर अवस्थामानै राखेको सम्झन नमिल्ने भनी अशंवण्डा नठहराएको शुरुको फैसला सदर हुने ठहराएको पुनरावेदन अदालत पाटनको मिति २०५७।१०।२५ को निर्णयमा अंशवण्डाको ३० नं. तथा ३५ नं. को व्याख्यात्मक त्रुटी तथा ने.का.प. २०५१ नि.नं. ४९०७ नि.का.प. २०५४ नि.नं. ६३०९ मा यस अदालतबाट प्रतिपादित सिद्धान्त समेतको प्रतिकूल देखिँदा न्याय प्रशासन ऐन २०४८ को दफा १२(१) को खण्ड (क) र (ख) अनुसार प्रस्तुत मुद्दा दोहोर्याई हेर्ने निस्सा प्रदान गरिएको छ, कानून बमोजिम विपक्षीहरूलाई झिकाई पेश गर्नु भन्ने यस अदालतको मिति २०६०।३।२५।४ को आदेश ।
१४. साविक सर्वे हुँदा कायम भएको कि.नं. ४० को जग्गा नक्सा अनुसार गरी त्यस मध्ये हाल २०४६ सालको सर्वेमा कायम कि.न. ७८,७९,८०,८१,८२,८३,१७६ को जग्गा पूरै र कि.नं. ६९ मध्ये ०–१–०–० कि.नं. १७७ मध्ये ०–२–०–३ कि.नं. २५९ मध्ये ०–२–१–० कि.नं. ९० मध्ये ०–३–०–३, कि.नं. १६९ मध्ये ०–१–०–२ का जग्गा, ती कि.नं. का जग्गा नापी शाखा काठमाडौंको मिति २०५६।८।२२ को पत्रानुसार कि.का. भई कायम भएका कि.नं. ६९ बाट कि.का. भई कायम भएका कि.नं. ३३४ र ३३५, कि.नं. १७७ बाट कि.नं. ३३६ र ३३७, कि.नं. २५९ बाट कि.नं. ३३८ र ३३९ कि.नं. ९० बाट कि.नं. ३४० र ३४१, कि.नं. १६९ बाट कि.नं. ३४२ र ३४३ कायम भएका जग्गामा के कसको भोग चलन, घर बगैँचा धारो, पानी आदि जे जस्तो छ सम्पूर्ण खुलाई अ.वं. १७१ नं. अनुसार नाप नक्सा गरी मुचुल्का समेत वनाई लगाउको मुद्दा समेत साथै राखी नियमानुसार पेश गर्नु भन्ने यस अदालतको मिति २०६३।९।३।२ को आदेश । आदेशानुसार नापनक्सा सहितको मुचुल्का मिसिल सामेल रहेको ।
१५. नियम बमोजिम दैनिक पेशी सूचीमा चढी निर्णयार्थ इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक वादीहरूको तर्फबाट रहनु भएमा विद्धान अधिवक्ताद्धय हरिहर दाहाल र श्यामराज ढुंगेलले हालदावी गरिएको जग्गा साविक २००२ साल देखिनै अशंवण्डा रहेको जग्गा हो, कि.नं. ४० को जग्गा ५ जनाकै नाममा नापी भएको भोगमा कुनै विवाद नरहेको, आ-आफ्नै धारापानी जडान गरी भोग भएको छ, २००२ सालमा अंश लागेको लिखत बनाइएको हो तर, यो यसको सो सम्पत्ति भनी खुलाइएको छैन । गोश्वारामा रहेको सम्पत्तिमा कुनै हदम्याद लाग्ने हुँदैन, कुनै एक लिखतले निर्धारण गरेको हक अधिकार बिना आधार प्रमाण हक छाडेको भन्न मिल्दैन, अनवरत रुपमा भोग चलनमा रहेको कारण वादी दावी अनुसार हुनुपर्ने हो, जग्गा शुरुदेखिनै राम विक्रमका नाममा भएको कारण २०३६ सालमा पनि निजकै नाममा दर्ता गरिएको हो कि.नं. ४० मा हक छाडेको कुनै लिखत छैन, गैर अंशियारको हकमा भोगबाट स्वामित्व सिर्जना हुने हो अंशियारको हकमा भोग चलन हेरिनुपर्छ, यस अवस्थामा पुनरावेदन अदालत पाटनबाट शुरु इन्साफ सदर गर्ने गरि भएको फैसला त्रुटीपूर्ण रहेको हुँदा सो फैसला वदर गरी फिराद मागदावी बमोजिम होस भनी र प्रत्यर्थी प्रतिवादीहरूको तर्फबाट रहनु भएका विद्धान अधिवक्ता शम्भुथापा, इन्द्रखरेल, विश्वप्रसाद सिग्देल, पुष्पराज पाठकले २०२५।१०।३० को भूमि प्रशासनमा द..नं. ४३ को निवेदनमा आ–आफ्ना भोगमा परेको जग्गाको विवरण खुलाइएको छ । वादी प्रतिवादीहरू बीच भएका व्यवहारहरूले पृथक–पृथक आस्तित्व देखिएको छ । अशंवण्डा गोश्वाराको सम्पत्ति पृथक भै सकेको अवस्थामा अब दावी गर्न मिल्दैन । २०२६ सालमा यस विषयमा निर्णय भै सोको कार्यान्वयन भैसकेको छ । राम विक्रमको मृत्यु पश्चात छोरा र अविवाहित छोरीका नाममा सम्पत्ति नामसारी भएको छ । २०४२।९।६ मा भएको सिफारिसमा सिफारिस कर्ता विदुर विक्रम शाह हाल प्रतिवादी हुनुहुन्छ । २०३४।९।२७ पूर्व अड्डाबाट निर्णय गराई आ–आफ्नो नाममा जग्गा लिएपछि अब आएर दावी गर्न मिल्दैन २०२१ सालको नापीमा कि.नं. ४० संगोलको भन्ने प्रमाण विपक्षीबाट आएको छैन । सम्पत्तिको विषयमा पिताहरूकै पालामा छिनोफानो भएको हुनाले हाल आएर विवाद गर्न मिल्दैन । कि.नं. ४० को जग्गा विपक्षीहरूले नै प्रतिवादीहरूलाई दिएको हो । २०२६ सालको निर्णयमा कि.नं. ४० को जग्गा सबैको हकलाग्ने भनेर भनिएको छैन । यस अवस्थामा पुनरावेदन अदालत पाटनबाट शुरु फैसलालाई सदर गर्ने गरी भएको फैसला कानूनसम्मत हुँदा सदर हुनुपर्छ भनी गर्नु भएको बहस समेत सुनियो ।
१६. उपरोक्त बमोजिमको बहस तथा मिसिल अध्ययन गरी हेर्दा शुरु काठमाडौं जिल्ला अदालतबाट दाविको कि.नं४० को अशंवण्डा भनिएको जग्गामा वादी दावी पुग्न नसक्ने गरी भएको फैसलालाई पुनरावेदन अदालत पाटनले सदर गर्ने गरी गरेको मिति २०५०।१०।२५।४ को फैसला मिलेको छ छैन भन्ने सम्बन्धमा निर्णय दिनु पर्ने देखियो ।
१७. फिरादी ओम विक्रम शाह, भूपेन्द्र विक्रमशाह, भरत विक्रम शाह, लक्ष्मण विक्रम शाह समेतको मुख्य दावी हेर्दा साविक कि.नं. ४० को क्षे.फ. १–१–१–० जग्गा तथा सोमा बनेको घर कम्पाउण्ड २००२ सालको वण्डापत्र बमोजिम गोश्वारा अशंवण्डामा राखिएकोमा उक्त अशंवण्डा सम्पत्तिमा हाल विपक्षीहरूले उक्त सम्पत्तिमा विवाद खडा गरेकाले २०४६ सालको नापीमा दर्ता भए अनुसार अंशवण्डा गरी चलाई पाँउ भन्ने रहेको पाइन्छ । त्यसै गरी प्रतिवादी जुना शाह, भवानी शाह, शान्त विक्रम शाहको मुख्य प्रतिवादी जिकिर हेर्दा फिरादीले अशंवण्डा भनी लिएको दावी झुठा हो २०२१।०२२ सालको नापीमा वादी प्रतिवादीहरूका पिता समेतमा संयुक्त नाँउमा नापी भै तिरो समेत ६ जनावाटै हुदै आएकोमा २०२५।१२।२९ मा अरू हकदारका वारेस भै आफ्ना हकमा समेत ओम विक्रम शाह समेतका पिता दुर्गा विक्रम शाहको निवेदन तत्काल भूमी प्रशासन कार्यालय काठमाडौंमा परी सो निवेदनमा नै सबैको नाँउमा नापी भएका जग्गाहरू मध्ये कुन कुन कित्ता कुन कुन हकदारले पाँउने भन्ने व्यहोरा उल्लेख गरी सो निवेदनमा कारवाही हुँदा २०२६।२।२ मा भएको ठहर पर्चा अनुसार निवेदन माग बमोजिम नै अलग–अलग व्यक्तिका नाँउमा पूर्जा वनाई सो को जानकारी दिने निर्णय भएको, सो अनुसार २०२६।५।३१ मा सबै जग्गाधनी पुर्जाहरू दुर्गा विक्रम शाहले वुझी सबै हकदारलाई वितरण गरेका हुन अशंवण्डा सम्बन्धी विवाद २०२६ सालमा टुँगी सकेको हुँदा फिराद दावी खारेजभागी छ भन्ने रहेको पाइन्छ ।
१८. तत्काल २००२ सालमा अशंवण्डा गोश्वारामा रहेको भनिएको विवादित कि.नं. ४० को जग्गा भूमि प्रशासन कार्यालयबाट मिति २०२६।२।३ मा प्रतिवादीहरूका पिता राम विक्रम शाहको भोगमा परी पूर्जा तयार भएको देखिन आएको र यी वादीहरू मध्ये ओम विक्रम, भुपेन्द्र विक्रमका पिता दुर्गा विक्रम शाहले अन्य अंशियाराहरूको भोग अलग–अलग देखिने गरी निवेदन दिएकोमा सोको आधारमा दर्ता समेत भएको देखिन्छ । उक्त आधार लिदै शुरु काठमाडौं जिल्ला अदालतबाट वादी दावी पुग्न नसक्ने ठहर भएकोमा सो उपर पुनरावेदन परी कारवाही हुँदा पु.वे.अ. पाटनबाट उपरोक्त आधारको साथमा एक पटक धेरै पहिले २००२ सालमा गोश्वारामा राखेको भनीएकोमा पछिसम्मपनि गोश्वारा कै निरन्तरता राखेको सम्झन नमिल्ने भन्ने समेतका आधारमा शुरु इन्साफ सदर हुने गरी फैसला गरेको पाइन्छ ।
१९. यस अदालतबाट मुद्दा दोहोर्याई हेर्ने निस्सा प्रदान गर्दा अंशवण्डाको ३० नं., ३५ नं.. एवं यस अदालतबाट नि.नं. ४९०७ ने.का.प.२०५१ अंक ५ पृ. ३५२, नि.नं. ६३०९ ने.का.प.२०५४ अंक १ पृ.५२ मा प्रतिपादित सिद्धान्तको प्रतिकूल देखिएको आधारमा न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१)(क)(ख) को आधारमा मुद्दा दोहोर्याई हेर्ने निस्सा प्रदान भएको देखिन्छ ।
२०. उपरोक्त तथ्य एवं सन्दर्भको रुपमा प्रस्तुत गरिएका कानून, नजीर समेतलाई दृष्टगत गर्दा प्रस्तुत मुद्दामा निम्न प्रश्नहरूको निरोपण गर्नुपर्ने देखिन आयो ।
(क) गोश्वारा अशंवण्डा सम्पत्ति भनेको के कस्तो प्रकृतिको सम्पत्ति हो ?
(ख) गोश्वारा अशंवण्डा सम्पत्तिले पार्न सक्ने प्रभावहरू के हुन ?
(ग) पक्षहरू बीच भएका व्यवहारहरूले अंशवण्डा सम्बन्धी विद्यमान कानूनलाई के कस्तो प्रभाव पार्दछ ? र प्रस्तुत मुद्दामा रहेको विवादित कि.नं. ४० को जग्गा गोश्वारा अशंवण्डामा रही रहेको देखिन्छ देखिँदैन ?
२१. अब प्रश्न नं. १ को सन्दर्भमा हेर्दा अंशवण्डा गर्दाको अवस्थामा केही सम्पत्ति अशंवण्डा गोश्वारामा राख्ने प्रचलन रहेको र त्यसलाई मुलुकी ऐन अंशवण्डाको ३५ नं. समेतले कानूनी मान्यता प्रदान गरेको पाइन्छ । अशंवण्डा गोश्वारामा रहेको सम्पत्ति के कस्तो प्रकृतिको सम्पत्ति हो भन्ने सम्बन्धमा हालको सैद्धान्तिक अवधारणाको साथै व्यवहारिक प्रयोगको आधारमा त्यसलाई विश्लेषण गर्नुपर्ने हुन आएको छ । कुनै खास प्रकृतिको चल अचल सम्पत्तिलाई सबै अंशियारहरूले समान रुपमा अधिकार राखेको सम्पत्तिलाई गोश्वारा सम्पत्ति भनिन्छ । यस्तो सम्पत्ति गैर अंशियाराहरूले प्रयोग गर्ने भएमा सार्वजनिक महत्वको सम्पत्ति पनि बन्न जान्छ । अंशियाराहरूका बीचमा गोश्वारा अशंवण्डामा राखिने सम्पत्ति कुनै स्थायी प्रकृतिको र कुनै अस्थायी प्रकृतिको हुने हुन्छ । जस्तै चोक, कुवा, इनार, धारा, पूजास्थल लगायतका सम्पति जो वण्डा गर्न प्राविधिक रुपबाट कठिनाई उत्पत्र हुन्छ । त्यस्ता प्रकृतिका सम्पत्तिहरू स्थायी रुपमा गोश्वारा अशंवण्डामा राखिने हुन्छ र यस्तो सम्पत्ति अंशियाराहरूको अवण्डा र सामुहिक उपभोगको आधारमा सार्वजनिक महत्वको पनि हुन जान्छ भने अन्य प्रकृतिका घर जग्गा चल धनमाल पछि अंशियारहरूमा बीचमा भएको सहमति अनुसार विभाजन भएको हुन्छ । कुनै पनि प्रकृतिको गोश्वारा अशंवण्डा सम्पत्तिमा कुनै खास प्रयोजन भने रहनु अनिवार्य हुन्छ । त्यस्तो प्रयोजन व्यक्त वा अव्यक्त दुवै प्रकारको हुन्छ ।
२२. प्रश्न नं. २ गोश्वारा अशंवण्डा सम्पत्तिले पार्न सक्ने प्रभावहरूको बारेमा विश्लेषण गर्दा यसमा सम्पत्ति गोश्वारामा राखिएपछि त्यसले अंशियार अंशियारका बीचमा अधिकार एवं कर्तव्यको सिर्जना गरेको हुन्छ । सबै अंशियारहरूको मंजुरी सहमति बिना त्यस्तो सम्पत्तिको हक एवं स्वामित्व हस्तान्तरण एवं परिवर्तन हुन सक्दैन । तर, एक अर्का अंशियारहरूका बीचमा प्रतिकूल भोग भने हुन सक्दछ । संक्षेपमा अशंवण्डा गोश्वारा सम्पत्तिले सामुहिक अधिकार एवं कर्तव्यको सिर्जना गर्दछ । जसलाई पालन गर्नमा सम्पूर्ण अंशियाराहरू बाध्य हुन्छन् ।
२३. साझा अशंवण्डामा रहेका सम्पत्तिका बारेमा के गर्ने भन्ने सम्बन्धमा पक्षहरू बीच भएका संव्यवहारहरूले प्रभाव पार्ने हुन्छ । व्यक्त वा अव्यक्त रुपमा दिइएको सहमति मंजुरीबाट सम्पत्तिको स्वामित्व एवं भोगमा परिवर्तन हुन सक्ने कुरा विधिशास्त्रीय अवधारणा हो । नेपालमा पनि यस कुरालाई मान्यता दिइएको छ ।
२४. पक्षहरू बीच भएका व्यवहारहरूले अंशवण्डा सम्बन्धि विद्यमान कानूनलाई के कस्तो प्रभाव पार्दछ ? र प्रस्तुत मुद्दामा रहेको विवादित कि.नं. ४० को जग्गा गोश्वारा अशंवण्डामा रही रहेको देखिन्छ देखिदैन भन्ने अर्को प्रश्न तर्फ विशलेषण गर्ने सन्दर्भमा मुलुकी ऐन अंशवण्डाको महल अध्ययन गर्नु पर्ने हुन आएको छ । सो महलको समुच्चा अध्ययन गर्दा सम्पत्तिको हक अधिकारमा २०३४।९।२७ लाई सीमा रेखाको रुपमा राखेर २ प्रकारको अवधारणा विकसित गरेको पाइन्छ ।
१. २०३४।९।२७ पूर्व अंशियारहरूका बीचमा भएका संव्यवहारहरूबाट जे जस्तो प्रकृति र परिणाम देखिन्छ त्यसलाई मान्यता प्रदान गरेको,
२. २०३४।९।२७ पश्चात अंशियारहरूका बीचमा भएका संव्यवहारहरू अनिवार्य लिखत गरिएको हुनुपर्ने र त्यस्तो लिखत रजिष्ट्रेशन पारित भएको हुनुपर्ने ।
२५. २०३४ साल पूर्व भएका घरायसी व्यवहारहरू लिखत भएपनि नभएपनि तथा रजिष्ट्रेशन पारित भएपनि नभएपनि त्यसले कानूनी मान्यता प्राप्त गरेको देखिन्छ । प्रस्तुत मुद्दामा अशंवण्डा गोश्वारामा रहेको भनी दावी गरिएका साविक पोता नं. ३६०५ को भनिएको २०२१ सालको नापिको कि.नं. ४० को जग्गाको हालको अवस्था के रहेको छ भनी हेर्दा यी वादी प्रतिवादीहरूमा पिता समेतका बीचमा अंशवण्डा हुँदा तत्काल २००२।११।११ मा घरसारको लिखत गरी लिखतमा लेखिएको सम्पत्ति अंश भागमा लिई अरू सम्पत्ति अशंवण्डा गोश्वारामा रहेको भन्ने देखिन्छ । उक्त जग्गा साविकमा रामविक्रम शाहमा नाममा दर्ता रहेको देखिन्छ । २०२५।१२।३० मा कृष्ण विक्रम शाह–१ राम विक्रम शाह–१, लक्ष्मण विक्रम शाह–१ भद्रकुमारी–१ बोधकुमारी–१ समेतको वारेस भई आफ्नो हकमा समेत दुर्गा विक्रम शाहले तत्कालीन भूमी प्रशासन कार्यालयमा छुट्टा–छुट्टै जग्गाधनी दर्ता प्रमाण पूर्जा पाँउ भनी निवेदन दिएको र सो निवेदनसाथ संलग्न गरिएको वारेसनामामा हामीहरूको हकभोगको जग्गा छुट्टाछुट्टै दर्ता गरि आफू आफूले पाँउने जग्गाधनी दर्ता प्रमाण पूर्जा लिन आउन नसकेबाट हामीहरूको भाई दुर्गा विक्रम शाहलाई वारेसनामा दिई पठाएको निजले जहाँ जो जे गर्नुपर्छ गरेमा हामीहरूको मञ्जुर छ भनी छुट्टाछुट्टै जग्गा धनी दर्ता प्रमाण पुर्जा बनाउन पठाएको भन्ने व्यहोरा समेत उल्लेख गरेको पाईन्छ । सो निवेदन उपर कारवाही भई २०२६।२।३ मा निवेदन माग दावी अनुसार गरिदिने गरी भूमी प्रशासन कार्यालयबाट निर्णय समेत भएको देखिन्छ । २०२५।१२। ३० मा दिएको निवेदन हेर्दा जग्गाको बाँडफाँड देहाय बमोजिम गरिएको पाईन्छ ।
कृष्ण विक्रमको भागमा
वार्ड नं. १ ग को कि.नं. ५१४३२८ ३२४०५७३१ ।
राम विक्रमको भागमा
वार्ड नं.१ ग को कि.नं. ३७, ४० ३५, ५८ ६०, ४९ ५२, ५६
लक्ष्मण विक्रमको भागमा
वार्ड नं. १ग को कि.नं. ५३, ३९४२, ३३, ३६
भद्रकुमारीको भागमा
कि.नं. ६५
बोधकुमारीको भागमा
कि.नं.२७ र ५९
दुर्गा विक्रमको भागमा
वार्ड नं.१ग को कि नं.५४,३८४१,३५, ४८
२६. दुर्गा विक्रम शाहले दिएको निवेदन अनुसार कारवाही गर्न चाहनु हुन्छ हुदैन भनी भूमि प्रशासन कार्यालयले मिति २०२६।१।२ मा कागज गराउँदा निज दुर्गा विक्रम शाहले भिमसेन गोला वार्ड नं. १(ग) कि.नं. ५१, ४३, २८, ३२, ५० र ५७, ३१ कृष्ण विक्रमको भाग, ऐ कि.नं. ३७, ४०, ३५, ५८, ६०, ४९, ५२, ५६ राम विक्रम शाहको भाग, ऐ कि.नं. ५३, ३९, ४२, ३३,३६ लक्ष्मण विक्रमको भाग, ऐ कि.नं. ६५ भद्रकुमारीको भाग, ऐ कि.न २७,५९ बोधकुमारीको भाग र ऐ कि.नं. ५४, ३८, ४१, ३५,४८ दुर्गा विक्रमको भागमा परेको ज.ध. प्रमाण पूर्जा पाँऊ भनी कागज समेत गरिदिएको पाईन्छ । त्यसैगरि सो निवेदन उपर कारवाही गर्ने क्रममा २०२६।१।४।४ मा श्री मे. सर्वे सेक्सन काठमाडौ (डोर मुकाम भिमसेनगोला)ले स्थलगत कित्ता निरिक्षण मुचल्कामा विभिन्न कित्ताहरूको विवरण दिँदै जग्गा धनीको तर्फबाट भनी दुर्गा विक्रम शाहले सही गरेको पाईन्छ । २०२६।२।३ मा निर्णय हुँदा कि.नं. ३५ दुर्गा विक्रम शाह र राम विक्रम शाह दुवै व्यक्तिको नाममा दर्ता हुने गरी माग गरेकोमा सो कित्ता गल्तीबाट लेखिन गएको हुनाले सो कि.नं. ३५ को जग्गा राम विक्रम शाहको नाउँमा मिति २०२६।२।३ को निर्णय बमोजिम कायम गरि पाउँन भनी दुर्गा विक्रम शाहले २०२८।३।३० को निवेदन पछाडि सनाखत समेत गरेको देखिन्छ । निज दुर्गा विक्रम शाहले २०२८।५।३१ मा निर्णय बमोजिम ठहर सुनि पाएँ र उक्त सम्बन्धी कागज पत्र र पुर्जाहरू जवान ६ को समेत बुझि लिए भनी भूमि प्रशासन कार्यालयबाट खडा भएको ठहर पर्चाको पिठमा सहीछाप समेत गरेको देखिन्छ । त्यसै गरी कृष्ण विक्रम शाहको छोरा भरत विक्रम शाहले २०३२।३।२६।५ मा भूमी प्रशासन कार्यालयमा मिति २०२६।२।३ मा भएको जग्गा धनी प्रमाण पूर्जा सम्बन्धी निर्णयको नक्कल माग गरेको, त्यसैगरी २०३३।८।२२।३ मा मदन विक्रम शाहले समेत नक्कल पाउँ भनी निवेदन गरी नक्कल समेत लिएको देखियो । भूमि प्रशासन कार्यालयको निर्णयानुसार जग्गाधनी प्रमाण पूर्जा तयार गरी मिति २०२६।५।३१ मा सबै जग्गाधनी पूर्जाहरू दुर्गा विक्रम शाहले बुझी सबै हकदारलाई वितरण गरेको देखियो । त्यसै गरी २०४० सालमा राम विक्रम शाहको मृत्यु भएपछि लक्ष्मण विक्रमका छोरा विदुर विक्रम शाह तत्कालीन का.न.पा. वडा नं.१० का वडाध्यक्षको सिफारिस नाता प्रमाणपत्र आदि लिई हाल विवादित जग्गा समेत प्रतिवादीहरूका नाँउमा नामसारी समेत गराएको देखियो ।
२७. उल्लेखित संव्यवहारहरूको आधारमा अब विवादित जग्गा अशंवण्डा गोश्वारामा रहेको भन्ने वादी दावी तर्फ हेर्दा तत्काल २००२ सालमा भएको अंशवण्डाको लिखत अनुसार जग्गा प्राप्त गरी तदनुसार भोग चलन समेत गरेकोमा २०२६ सालमा आएर सो लिखतको प्रकृति भन्दा फरक रुपबाट व्यवहार मिलाई विभित्र कित्ता जग्गाहरू सहमतिका आधारमा छुट्याई लिई दाखिल दर्ता गरि लिई दिई प्रतिवादीहरूकै हकभोग स्वामित्वलाई स्वीकार गरि भोग व्यवहार गरेको र अंशवण्डाको ३० नं. ले उक्त व्यवहारलाई मान्यता प्रदान गरेको पाईन्छ । यसप्रकारको वादीहरूको आचरण व्यवहार समेतबाट सो विवादित जग्गा अशंवण्डा गोश्वारामा राखेको भन्न सकिने स्थिति बाँकी देखिन आएन । अंशियाराहरूका बीचमा सार्वजनिक महत्वको अशंवण्डा गोश्वारा सम्पत्ति वाहेक अन्य सम्पत्ति लामो समयसम्म अंशियाराहरूको हकभोग कारोबार प्रचलन समेतमा असर पर्ने गरी तथा हकाधिकारलाई सिमित गर्ने गरी रहन सक्ने हुदैन । उल्लेखित निर्णय यथास्थितिमा रहेको अवस्थामा प्रस्तुत मुद्दामा रहेको विवादित सम्पत्ति त्यसरी अशंवण्डामा नै राखेको भनी भन्न सकिने स्थिति आएन । अंशवण्डाको ३० नं. मा वण्डापत्र खडा गरि वा नगरि घरसारमा नरम गरम मिलाई अचल अंशवण्डा गरि छुट्टिई आफ्नो आफ्नो हिसाब भाग शान्ति बमोजिम लिई अचल छुट्टाछुट्टै भोग बिक्री व्यवहार गरेकोमा व्यवहार प्रमाणबाट वण्डा भईसकेको ठहरेमा पछि वण्डा पत्र रजिष्ट्रशन भएको छैन वा वण्डा घटीबढी असल कमसल भयो भन्न पाँउदैन । रजिष्ट्रेशन नभए पनि वण्डा भएको सदर हुन्छ, भन्ने व्यवस्था भएको पाईन्छ । त्यसैगरि अंशवण्डाको ३५ नं. मा अंशवण्डा नै नभएको वा वण्डा हुँदा अंशवण्डा गोश्वाराको लिखत भएको र लिखत नभए पनि हिसाब शान्ति दुवै थरको भोग भएकोमा जहिले सुकै पनि र लिखत र भोगै नभएकोमा अघि वण्डा भै बाँकी रहेको वा दवाए छुपाएको पाँउ भन्न आएमा भिन्न भिन्न जिउसम्म मात्र नालेश लाग्छ अंशवण्डा गोश्वाराको लिखत भएकोमा आ–आफ्ना अंश हक लाग्ने जति अवण्डा आ–आफ्नो खुश हुन्छ भन्ने व्यवस्था रहेको पाईन्छ । प्रस्तुत मुद्दामा वादी प्रतिवादीहरूको माथि उल्लेखित उपरोक्त संव्यवहारहरूको आधारमा विवादित जग्गा अंशवण्डा गोश्वारामा रहेको नदेखिए पछि मुद्दा दोहोर्याउने निस्सा प्रदान हुँदा अबलम्वित नजीर प्रस्तुत मुद्दाको तथ्यसँग सान्दर्भिक देखिएन । जवसम्म २०२६ सालको निर्णय कायम रहन्छ तवसम्म यी वादीलाई त्यसको विपरीतमा जान सक्ने अधिकार रहँदैन । न्याय प्रशासन ऐन २०४८ को दफा १९ मा ऐन वा प्रचलित कानूनमा अन्यथा व्यवस्था भएकोमा बाहेक मुद्दामा कुनै अदालत, निकाय, वा अधिकारीले गरेको निर्णय अन्तिम हुनेछ र सो निर्णय मुद्दामा पक्षहरूलाई मान्न कर लाग्ने छ भनी व्यवस्था भएको र नेपाल अधिराज्यको संविधान २०४७, धारा ९६, नेपालको अन्तरिम संविधान २०६३, धारा ११६ मा समेत सो अनुसारको प्रावधान रहेको पाइन्छ । त्यसै गरी यसै अदालतबाट नि.नं. ६५६ने.का.प.२०२९अंक१पृ.२ वुद्धिराजराई समेत विपक्षी टेकबहादुर लिम्वु भएको जग्गावाली मुद्दामा वदर गराउन नसकि अन्तिम भै बसेको कुनै पनि अदालतको फैसला विपरीत पछि गरिएको जिकिरले वदर हुन नसक्ने, त्यसैगरि नि.नं. ७८६ ने.का.प. २०३० पृ. ३४५ उदयबहादुर खत्री विरुद्ध वीरबहादुर मास्के मगरको मुद्दामा अन्तिम भइराखेको फैसला र न्यायीक परिपाटि सिद्धान्तको विपरीत हुने गरि फैसला गर्न नमिल्ने भन्ने सिद्धान्त समेत प्रतिपादित भएकोबाट अन्तिम भै रहेको उक्त २०२६ सालको निर्णयबाट आ–आफ्ना नाममा जग्गाहरू पृथक–पृथक गरी जग्गाधनी दर्ता प्रमाण पूर्जा समेत बनाएबाट सम्पत्ति अशंवण्डा गोश्वारामा रहेको नदेखिँदा अशंवण्डा घर जग्गा वण्डा गरिपाउँ भन्ने वादी दावी नपुग्ने ठहर्याएको शुरु काठमाडौं जिल्ला अदालतको मिति २०५६।१०।१९ गतेको फैसला सदर गर्ने गरी भएको पुनरावेदन अदालत पाटनको मिति २०५७।१०।२५ को फैसला मनासिव हुँदा सदर हुने ठहर्छ । पुनरावेदक प्रतिवादीहरूको पुनरावेदन जिकिर पुग्न सक्दैन । मिसिल नियमानुसार बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या.ताहिरअलि अन्सारी
न्या.राजेन्द्रकुमार आचार्य
ईति सम्वत २०६४ साल असोज १४ गते रोज २ मा शुभम् ।