निर्णय नं. ७८७४ - बैना रकम फिर्ता

निर्णय नं. ७८७४ ने.का.प.२०६४ अङ्क ८
सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री रामकुमारप्रसाद शाह
माननीय न्यायाधीश श्री गौरी ढकाल
संवत २०६० सालको दे.पु.नं.– ८६८३
फैसला मितिः २०६४।७।२२।५
मुद्दाः– बैना रकम फिर्ता ।
पुनरावेदक वादीः काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं.५ हाँडीगाउँ बस्ने पृथ्वीबहादुर महर्जन
विरुद्ध
प्रत्यर्थी प्रतिवादीः काठमाडौं जिल्ला महाकाल गा.वि.स वडा नं.८ बस्ने विराटबहादुर खड्का
शुरु फैसला गर्ने का.जि.अ.
मा.न्या.श्री हरिकुमार पोखरेल,
पुनरावेदन तहमा फैसला गर्ने पु.वे.अ. पाटनः
मा.न्या.द्वयश्री राजेन्द्रप्रसाद कोइराला,
श्री केशरमान पति
§ कुनै लिखत करार हुनका लागि दुई पक्षले कुनै काम गर्न वा नगर्नका लागि कुनै प्रतिफल वापत सम्झौता गरिएको लिखत नै करार हो । तर, बैना बट्टाको लिखत दुइ पक्षले हस्ताक्षर गरी गरिने कुनै सम्झौता नभई एक पक्षले अर्को पक्षलाई कुनै चल वा अचल सम्पत्ति बिक्री गर्न मंजुर गरी सो वापत अग्रिम रकम बुझी लिई गरी दिने लिखत हो । बैनाबट्टाको कागजमा दुइ पक्षको हस्ताक्षर परेको हुँदैन । त्यसकारण एक पक्षले कुनै रकम अग्रिम रुपमा बुझी लिई गरी दिएको लिखतलाई करार भन्न नमिल्ने र यस्तो लिखतका सम्बन्धमा करार ऐन, २०२३ को व्यवस्था आकर्षित हुने नभई लेनदेनको व्यवहार भन्नु पर्ने हुन्छ र यस्तो लिखतका सम्बन्धमा सोही लेनदेन व्यवहारको ४० नं. को हदम्याद लाग्ने ।
§ बैना कागज अन्तर्गतको विषयमा करार ऐन, २०२३ बमोजिम नालेश गर्नुपर्ने भन्न मिल्ने नहुँदा लेनदेन व्यवहारको ४० नं. अन्तर्गत फिराद परेकोलाई अन्यथा भन्न नमिल्ने ।
(प्रकरण नं.१५)
§ बैना बट्टाको कागजका सम्बन्धमा करार ऐन, २०२३ बमोजिम हुने नभई लेनदेन व्यवहारको ४० नं.नै आकर्षित हुने र लिखतमा उल्लेख भए बमोजिम २ वर्ष भित्र दर्ता भएको वादीको प्रस्तुत फिराद उक्त ऐनको हदम्याद भित्र नै रहेको देखिँदा हदम्याद नाघेको भनी खारेज गर्ने ठहराएको फैसला कानुनको व्याख्यात्मक त्रुटि हुने ।
(प्रकरण नं.१७)
पुनरावेदक वादीका तर्फबाट रहनु भएका विद्वान अधिवक्ता राजकुमार उप्रेती
प्रत्यर्थी प्रतिवादीका तर्फबाट रहनु भएका विद्वान अधिवक्ता द्वय राजेश खडका र शिवराज अधिकारी
अवलम्वित नजीरः ने.का.प. २०५९ नि.नं. ७०६० पृ.६३
फैसला
न्या.रामकुमारप्रसाद शाहः पुनरावेदन अदालत पाटनको मिति २०६०।२।१९ को फैसला उपर वादीको तर्फबाट न्याय प्रशासन ऐन, २०४८ को दफा ९ को उपदफा (१)को खण्ड (ग) बमोजिम दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छ :-
२. म फिरादीलाई जग्गा चाहिएकोले किन्न पर्यो भनी बुझ्दैं जाँदा विराटबहादुर खड्काले हामीसँग जग्गा छ हेर्नुहोस् भनी भनेकाले का.जि.चपली भद्रकाली गा.वि.स.९ वडा (ग) कि.नं.३७२ को क्षे.फ. ०–१५–० जग्गा हेरी जग्गाको धनी प्रमाण पुर्जा दिनुहोस भनी माग गर्दा यो जग्गा दाजु शम्भु खड्काको हो । दर्ताको कारवाहीमा भएकाले दर्ता भएपछि तपाईलाई पास गरी दिनेछु जग्गाको मोल रु ११,४३,७५०।– कायम गर्ने र हाल रु ७,५००,००।– दिनु होस् भनी मबाट ०५२।११।२३ मा बैना वापत उक्त रुपैया बुझी दाजुका नाममा धनी पुर्जा आएका मितिले ९ महिना भित्र जग्गा रजिष्ट्रेशन गरी दिने बैना बट्टाको कागज लेखी दिनु भएकोमा मैले बैना गरेको उक्त जग्गा दर्ता भए नभएको बारेमा जानकारी लिई नै रहेको र उक्त जग्गा ०५७।१।३० मा दर्ता भएको थाहा पाई अब मलाई जग्गा पास गरी दिनुहोस भन्दा आलटाल गरी अन्तमा जग्गा पास गर्न सक्तैनौ सकेको गर भनी विपक्षी दुवै दाजुभाईले मेरो उक्त रकम खाने नियत गरेकाले लेनदेन व्यवहारको ४० नं. समेतको आधारमा यो फिराद गर्न आएको छु । तसर्थ विपक्षीले आफू घर व्यवहार चलाउने मुख्य भई बैनाको कागज गरेकाले उक्त कागजमा उल्लेखित मबाट लिएको रु.७,५०,०००।– विपक्षीहरूबाट दिलाई भराई पाउँ भन्ने समेत व्यहोराको वादीको फिराद दावी ।
३. वादीले पेश गरेको लिखत करार सम्बन्धी हुँदा करार ऐन बमोजिम फिराद दायर गर्नुपर्नेमा लेनदेन व्यवहारको ४० न.को हदम्याद देखाई दायर गरेकोमा उक्त नम्बर आर्कषित हुन सक्तैन । विवादित जग्गा दर्ता गरेको ०५७।१।३० गतेको मिति प्रष्ट भै सकेपछि बैना बमोजिमको लिखत पारीत गराई पाउँ भन्ने फिराद दायर गर्न सक्नु भएको छैन । तसर्थ लिखतमा उल्लेखीत ९ महिना व्यतित भै सकेपछि नालेश लाग्ने भनी कुनै पनि हदम्यादको व्यवस्था गरेको पाइदैन । असम्बन्धित ऐनको सहारा लिई हदम्याद समेत नघाई दायर गरेको फिराद खारेज गरिपाऊँ भन्ने समेत व्यहोराको प्रतिवादी विराटबहादुर खडकाको प्रतिउत्तर पत्र ।
४. वादी र म प्रतिवादी शम्भु खड्काबीच कुनै पनि सम्झौता भएको छैन । एकाका नाममा बनिने जग्गाधनी पुर्जाको विषयमा अर्को व्यक्तिसँग बैना कागज हुँदैमा त्यसको दायित्व ममा निहित हुने होईन । यसरी वादीसँग मेरो कुनै कारोबार तथा सम्बन्ध नै नभएकोले बैना रकम फिर्ता दिलाई पाउँ भनी लेनदेन व्यवहारको ४० नं. को हदम्याद उल्लेख गरी अन्य कुनै पनि दफाको उल्लेख नै नगरी दायर गरेको फिराद विरोधाभाषपूर्ण हुँदा झुठ्ठा व्यहोराको फिराद खारेज गरिपाऊँ भन्ने समेत व्यहोराको प्रतिवादी शम्भु खड्काको प्रतिउत्तर पत्र ।
५. शुरु अदालतको आदेशानुसार विवादित सक्कल लिखत वादी पक्षबाट दाखिल भै खाम बन्द भै मिसिल सामेल रहेको ।
६. लिखतमा उल्लेख भएको जग्गा पास गरी दिएको नदेखिएको र म्याद भित्र कै फिराद पत्र परेको बैना पट्टाको लिखत रित पूर्वक कै देखिन आएको अवस्थामा वादीले प्रतिवादीबाट बैनाको रकम फिर्ता पाउन नसक्ने भन्न मिलेन । तसर्थ वादीले प्रतिवादीलाई दिएको बैना रकम रु.७,५०,०००।– (सात लाख पचास हजार) वादीले प्रतिवादी विराट खडकाबाट फिर्ता भराई लिन पाउने ठहर्छ भन्ने समेत व्यहोराको शुरु काठमाडौं जिल्ला अदालतको २०५८।६।११।५ को फैसला ।
७. शुरु जिल्ला अदालतले मलाई हराई गरेको फैसलामा चित्त बुझेन । प्रस्तुत कागज नितान्त रुपमा शर्तहरू उल्लेख गरी जग्गा पास रजिष्ट्रेसन गरी दिने शर्त खोली दुवै पक्षले गर्नु पर्ने र नपर्ने बाध्यात्मक शर्त बन्देज उल्लेख भई भएको करार ऐन अन्तर्गत भएको कागज हो । मुलुकी ऐन लेनदेन व्यवहारको हवाला दिएर ऐ. को ४० नं. र अ.वं. ८२ नं. बमोजिम फिराद दायर गर्ने हक अधिकार विपक्षीलाई छैन । शुरुको फैसला बदर गरिपाऊँ भन्ने समेत व्यहोराको प्रतिवादी विराटबहादुर खडकाको पुनरावेदन अदालत पाटनमा परेको पुनरावेदन पत्र ।
८. यसमा करार ऐन र लेनदेन व्यवहारको ४० नं. को हदम्याद सम्बन्धी व्याख्यात्मक प्रश्नबाट शुरु फैसला फरक पर्न सक्ने हुँदा छलफल निमित्त अ.वं. २०२ नं. तथा पुनरावेदन अदालत नियमावली, २०४८ को नियम ४७ बमोजिम विपक्षी झिकाई आएपछि पेश गर्नु भन्ने पुनरावेदन अदालत पाटनको आदेश ।
९. लेनदेन व्यवहारको ४० नं.को हदम्याद भित्र प्रस्तुत मुद्दा परेको नदेखिएको अवस्थामा खारेज गर्नुपर्नेमा इन्साफ गरेको शुरु काठमाडौं जिल्ला अदालतको मिति ०५८।६।११ को फैसला मिलेको नदेखिँदा उल्टी भइ हदम्यादको आधारमा खारेज हुने ठहर्छ भन्ने पुनरावेदन अदालत पाटनको मिति २०६०।२।१९ को फैसला ।
१०. जग्गा दर्ता भएको नौ महिनाभित्र मलाई पास गरी दिने भाका बैना कागजकै लिखतमा उल्लेख भैरहेको र बैना बट्टाको कागजमा उल्लेख गरी दिएको भाकासम्म पर्खनु पर्ने मेरो कानूनी तथा बाध्यात्मक बाध्यता भएको तथा उक्त नौ महिनाको भाका समाप्त भैसकेपछि पनि विपक्षीले जग्गा पास गरी नदिएपछि मैले लेनदेन व्यवहारको ४० नं. को आधार लिई दायर भएको फिराद लिखत भएको मितिले २ वर्ष भित्र नपरेको भनी हदम्यादको आधारमा खारेज गर्ने गरी पुनरावेदन अदालत पाटनले गरेको फैसला प्रमाण ऐन, २०३१ को दफा ५४ र सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्त विपरीत भएकोले उक्त फैसला उल्टी गरी शुरु काठमाडौं जिल्ला अदालतबाट भएको फैसला सदर गरी मेरो बैना रकम फिर्ता दिलाई पाउँ भन्ने समेत व्यहोराको वादीको यस अदालतमा दायर हुन आएको पुनरावेदन पत्र ।
११. यसमा वादी प्रतिवादी बीच मिति २०५२।११।२३ मा भएको बैनाको कागजमा उल्लेखित जग्गाको जग्गाधनी प्रमाण पूर्जा लिएको ९(नौं) महिनाभित्र सम्बन्धित कार्यालयबाट रजिष्ट्रेशन पारित गर्ने शर्त राखी रु ७,५०,०००।– प्रतिवादीले बुझी बैना बट्टाको कागज भएको कुरालाई प्रतिवादीले अन्यथा भन्न नसकेको र प्रतिवादीले मिति ०५७।१।३० मा उक्त जग्गाको प्रमाण पूर्जा प्राप्त गरेको भन्ने कुरामा समेत विवाद नभएको स्थितिमा मिति ०५७।११।९ मा परेको फिरादलाई लेनदेन व्यवहारको ४० नं. को हदम्याद नाघी फिराद परेको भन्ने आधारमा फिराद पत्र नै खारेज गर्ने गरेको पुनरावेदन अदालत पाटनको फैसला फरक पर्न सक्ने हुँदा अ.वं. २०२ नं. बमोजिम प्रत्यर्थी प्रतिवादी झिकाई नियमानुसार पेश गर्नु भन्ने यस अदालतको मिति २०६३।३।२१ को आदेश ।
१२. नियम बमोजिम दैनिक मुद्दा पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दाको पुनरावेदन सहितको मिसिल अध्ययन गरी पुनरावेदक वादीका तर्फबाट रहनु भएका विद्वान अधिवक्ता राजकुमार उप्रेतीले लेनदेन व्यवहारमा बैना बट्टाको विषयमा अदालत प्रवेश गर्नु पर्दा लेनदेन व्यवहारको ४० नं. नै आकर्षित हुने हो । मेरो पक्ष र प्रतिवादी बीच मिति २०५२।११।२३ मा भएको लिखतमा कही कतै पनि करार वा सम्झौता भन्ने शव्द उल्लेख नभएको र लिखतको प्रकृतिले नै उक्त लिखत बैना बट्टाको लिखत हो भनी देखिईरहेको तथा मेरो पक्ष र प्रत्यर्थी प्रतिवादी बीच लिखत हुँदा जग्गा दर्ता भएका मितिले नौ महिना भित्र जग्गा पास गरी दिने शर्त राखी लिखत गरेको तर जग्गा दर्ता भै सकेपछि पनि लिखतमा उल्लेखित समयमा जग्गा पास नगरी दिएको कारणबाट मुद्दा गर्नुपर्ने अवस्था सिर्जना भएको हुँदा प्रस्तुत मुद्दामा लेनदेन व्यवहारको ४० नं.नै आकर्षित हुने हुँदा पुनरावेदन अदालतले सो.४० नं.को हदम्यादको भित्र फिराद नपरेको भनी शुरुको फैसला उल्टी गरी गरेको फैसला त्रुटिपूर्ण हुँदा उक्त फैसला बदर गरी शुरु काठमाडौं जिल्ला अदालतको फैसला सदर गरिपाऊँ भनी र प्रत्यर्थी प्रतिवादीका तर्फबाट रहनु भएका विद्वान अधिवक्ता द्वय राजेश खडका र शिवराज अधिकारीले प्रस्तुत मुद्दा लेनदेन व्यवहार अन्तर्गतको दावी लिई आउन पाउने नभई करार ऐन अन्तर्गतको दावी लिई आउनु पर्ने विषय भएको र पुनरावेदक वादी र प्रतिवादी बीच अर्काका नाउँको जग्गाको सम्बन्धमा लिखत भएकोले लेनदेन व्यवहारको ४० नं. बमोजिम लिखत भए गरेका मितिले २ वर्षभित्र नै आउनु पर्ने हुँदा पुनरावेदन अदालत पाटनले पुनरावेदक वादीको फिराद हदम्यादका आधारमा खारेज हुने ठहर्याई गरेको फैसला मिलेकै हुँदा सदर गरिपाऊँ भनी गर्नु भएको बहस समेत सुनियो ।
१३. पुनरावेदक वादी तथा प्रत्यर्थी प्रतिवादीका तर्फबाट रहनु भएका विद्वान अधिवक्ताहरूले गर्नु भएको बहस समेत सुनी निर्णयतर्फ विचार गर्दा पुनरावेदन अदालत पाटनले गरेको फैसला मिलेको छ, छैन ? र पुनरावेदक वादीको पुनरावेदन जिकिर पुग्न सक्ने हो वा होइन ? भनी निर्णय दिनु पर्ने देखिन आयो ।
१४. प्रतिवादीले काठमाडौं जिल्ला चपली भद्रकाली गा.वि.स.वडा नं.९ (ग) को कि.नं.३७२ को क्षेत्रफल ०–१५–० जग्गा मेरा दाजु शम्भु खड्काका नाउँमा दर्ताको लागि कारवाही चलिरहेको र उक्त जग्गा दर्ता भएपछि दर्ता भएको मितिले ९ (नौ) महिना भित्र मलाई बिक्री गरी दिने गरी उक्त जग्गाको मूल्य रु ११,४३,७५०।–कायम गरी रु ७,५०,०००।– म फिरादीबाट मिति ०५२।११।२३ मा बैना लिई लिखत गरी दिएकोमा मिति ०५७।१।३० मा जग्गा दर्ता भएको र सो जग्गा दर्ता भैसके पश्चात ९(नौं) महिना व्यतित भैसकेपछि पनि जग्गा पास नगरी इन्कार गरेकाले बैना कागजमा लेखीएको रकम रु ७,५०,०००।– विपक्षीहरूबाट दिलाई भराई पाउँ भन्ने फिराद जिकिर रहेकोमा मिति २०५७।१।३० मा जग्गा दर्ता गरेको ९ (नौ) महिना व्यतित भएको मिति २०५७।९।३० पछि लेनदेन व्यवहारको ४० नं.को हदम्याद आकर्षित हुन नसक्ने हुँदा वादीको फिराद हदम्याद भित्र नपरेकोले फिराद पत्र खारेज गरिपाऊँ भन्ने प्रतिवादी विराटबहादुर खडकाको र एकाको नाममा बनिने जग्गाधनी पूर्जाको विषयमा अर्को व्यक्तिसँग बैना कागज हुँदैमा वा अर्को व्यक्तिले बैना कागज गर्दैमा त्यसको दायित्व म शम्भु खड्कामा निहित हुने अवस्था नहुँदा फिराद पत्र खारेज गरिपाऊँ भन्ने समेत प्रतिवादी शम्भु खड्काको प्रतिउत्तर जिकिर रहेका पाईन्छ । वादीले प्रतिवादीलाई दिएको बैना रकम रु ७,५०,०००।– फिर्ता भराई लिन पाउने ठहराई काठमाडौं जिल्ला अदालतबाट भएको फैसला उपर प्रतिवादी विराटबहादुर खड्काको पुनरावेदन परी लेनदेन व्यवहारको ४० नं.को हदम्याद भित्र प्रस्तुत मुद्दा नपरेको भनी काठमाडौं जिल्ला अदालतको फैसला उल्टी गरी फिराद दावी खारेज हुने ठहराई पुनरावेदन अदालत पाटनबाट भएको फैसला उपर वादीको प्रस्तुत पुनरावेदन दायर हुन आएको देखियो ।
१५. निर्णय तर्फ विचार गर्दा काठमाडौं जिल्ला चपली भद्रकाली गा.वि.स.वडा नं.९ (ग) को कि.नं. ३७२ को क्षेत्रफल ०–१५–०–० जग्गा दाजु शम्भु खडकाको नाउँमा दर्ता भई आएपछि ९ (नौ) भित्र सो जग्गा पास गरी दिने भनी यी पुनरावेदक वादीबाट प्रतिवादीले बैना वापत रु ७,५०,०००।– लिई मिति २०५२।११।२३ मा लिखत गरी दिएको कुरालाई प्र. विराटबहादुर खड्काले स्वीकार गरेको देखिन्छ । सो लिखतमा उल्लेखित कि.नं.३७२ को जग्गा दर्ता भई जग्गाधनी प्रमाण पूर्जा लिएको ९ महिना भित्रमा वादीका नाउँमा पास गरी दिने भन्ने व्यहोरा उल्लेख भएको पाइन्छ । उक्त जग्गा मिति २०५७।१।३० मा लिखत गरी दिने विराटबहादुरका दाजु शम्भु खड्काका नाउँमा दर्ता भई निजले जग्गाधनी प्रमाण पूर्जा लिएको कुरामा पनि दुई पक्ष बीच मतैक्य रहेको छ । तर, लिखतमा उल्लेख भए बमोजिम ९ महिना भित्र वादीलाई उक्त जग्गा पास गरी नदिएकोमा लेनदेन व्यवहारको ४० नं. बमोजिम २०५७।११।९ मा वादीको प्रस्तुत फिराद परेको छ । तर, बैना बट्टाको लिखतका सम्बन्धमा करार ऐन, २०२३ को कानूनी व्यवस्था बमोजिम सोही ऐनको हदम्याद भित्र फिराद गर्नु पर्नेमा सो नभएको फिराद खारेज हुनुपर्ने भन्ने प्रतिवादीको कथन छ । सर्वप्रथम बैनाबट्टाको लिखत करार हो होइन ? र करार ऐन,२०२३ बमोजिम फिराद दिनुपर्ने हो वा लेनदेन व्यवहारको महल बमोजिम हदम्याद भित्र फिराद दिएको कानून अनुकूल छ वा छैन ? सो सम्बन्धमा विचार गर्नुपर्ने हुन आएको छ । कुनै लिखत करार हुनका लागि दुई पक्षले कुनै काम गर्न वा नगर्नका लागी कुनै प्रतिफल वापत सम्झौता गरिएको लिखत नै करार हो । तर बैना बट्टाको लिखत दुई पक्षले हस्ताक्षर गरी गरिने कुनै सम्झौता नभई एक पक्षले अर्को पक्षलाई कुनै चल वा अचल सम्पति बिक्री गर्न मंजुर गरी सो वापत अग्रिम रकम बुझी लिई गरी दिने लिखत हो । बैनाबट्टाको कागजमा दुई पक्षको हस्ताक्षर परेको हुदैन । त्यसकारण एक पक्षले कुनै रकम अग्रिम रुपमा बुझी लिई गरी दिएको लिखतलाई करार भन्न नमिल्ने र यस्तो लिखतका सम्बन्धमा करार ऐन, २०२३ को व्यवस्था आकर्षित हुने नभई लेनदेनको व्यवहार भन्नु पर्ने हुन्छ र यस्तो लिखतका सम्बन्धमा सोही लेनदेन व्यवहारको ४० नं. को हदम्याद लाग्ने हुन्छ । यस सम्बन्धमा बैना कागज अन्तर्गतको विषयमा करार ऐन २०२३ बमोजिम नालेश गर्नुपर्ने भन्न मिल्ने नहुँदा लेनदेन व्यवहारको ४० नं. अन्तर्गत फिराद परेकोलाई अन्यथा भन्न नमिल्ने भनी ने.का.प. २०५९ नि.नं. ७०६० पृ.६३ मा प्रकाशित सीताराम तिमिल्सिना वि.भक्तबहादुर तामाङ्ग भएको लेनदेन मुद्दामा यस अदालतको पूर्ण इजलासबाट सिद्धान्त प्रतिपादन भएको समेत देखिन आउँछ । त्यसकारण बैना बट्टाको लिखतका सम्बन्धमा लेनदेन व्यवहारको ४० नं. अन्तर्गत प्रस्तुत फिराद परेको कानून अनुकूल नै छ ।
१६. अब प्रस्तुत फिराद सो ४० नं. भित्र दायर भए नभए तर्फ विचार गर्दा लेनदेन व्यवहारको ४० नं. मा “........यस महलमा अन्यत्र हदम्याद लेखिएको वा हदम्याद लाग्दैन भनेको कुरामा बाहेक अरुमा भए गरेको मितिले २ वर्ष भित्र नालेश नदिए लाग्न सक्तैन ” भन्ने कानूनी व्यवस्था रहेको पाइन्छ । वादी दावीको बैनाको कागज गरी दिंदा कि.नं. ३७२ को जग्गा दाजु शम्भु खड्काको नाउँमा दर्ता भई ज.ध. प्रमाण पुर्जा लिएको ९ महिना भित्र पास गरी दिनेछु भनी उल्लेख गरी कागज गरी दिएको र निज शम्भुबहादुरका नाउँमा उक्त जग्गा २०५७।१।३० मा मात्र दर्ता भई ज.ध. प्रमाण पूर्जा आएको देखिन्छ । सो दर्ता भएको मितिले ९ महिना भित्र वादीलाई जग्गा पास गरी नदिएपछि मात्र नालेश गर्नुपर्ने अवस्था उत्पन्न भएको पाइन्छ । लिखतमा उल्लेख भए अनुसार सो मितिले २ वर्ष भित्र नै मिति २०५७।११।९ मा प्रस्तुत नालेश परेको र २०५७।१।३० मा जग्गा दर्ता भएको र लिखतमा उल्लेख भएको ९ महिना व्यतीत भएको मितिले २ वर्ष भित्र नै फिराद परेको देखिँदा उक्त लेनदेन व्यवहारको ४० नं. को हदम्याद भित्र नै दायर भएको देखिन आउँछ ।
१७. अतः बैना बट्टाको कागजका सम्बन्धमा करार ऐन, २०२३ बमोजिम हुने नभई लेनदेन व्यवहारको ४० नं.नै आकर्षित हुने र लिखतमा उल्लेख भए बमोजिम शम्भु खड्काको नाउँमा जग्गा दर्ता भएको मिति २०५७।१।३० बाट ९ महिना भित्र वादीको नाउँमा पास गरी नदिएकोले सो मितिबाट २ वर्ष भित्र दर्ता भएको वादीको प्रस्तुत फिराद उक्त ऐनको हदम्याद भित्र नै रहेको देखिँदा हदम्याद नाघेको भनी खारेज गर्ने ठहराएको पुनरावेदन अदालत पाटनको फैसलामा कानुनको व्याख्यात्मक त्रुटि हुँदा सो फैसला उल्टी हुने र दावी बमोजिम बैना रकम भराई दिने ठहराएको काठमाडौं जिल्ला अदालतको मिति २०५८।६।११ को फैसला मनासिब हुँदा सो सदर हुने ठहर्छ । अरु तपसील बमोजिम गर्नु ।
तपसील
माथि ठहर खण्डमा उल्लेख भए बमोजिम पुनरावेदन अदालत पाटनको मिति ०६०।१।९ को फैसला उल्टी भई शुरु काठमाडौं जिल्ला अदालतको मिति २०५८।६।११ को फैसला सदर हुने ठहरी फैसला भएकाले वादी पृथ्वीबहादुर महर्जनले प्रतिवादी विराटबहादुर खड्काबाट भराई पाउने ठहरेको रु ७,५०,०००।– भराई पाउँ भनी प्रतिवादीका नाउँको यसै सरहदको जेथा देखाई कानूनका म्याद भित्र दरखास्त दिए नियमानुसार लाग्ने दस्तुर लिई भराई दिनु भनी शुरु काठमाडौं जिल्ला अदालतमा लगत दिनु .........१
पुनरावेदन अदालत पाटनको फैसला उल्टी भई शुरुको फैसला सदर हुने ठहरेकोले शुरु फैसला बमोजिम वादीले प्रतिवादीबाट भराई लिन पाउने कोर्टफि रु ११,२७०।– प्रतिवादीले पुनरावेदन अदालत पाटनमा पुनरावेदन गर्दा र.नं.२०३९५ मिति २०५९।२।२४ मा धरौटीमा आम्दानी बाँधेको देखिँदा उक्त कोर्टफि भराई पाउँ भनी वादीले कानूनका म्याद भित्र दरखास्त दिए भराई दिनु भनी पुनरावेदन अदालत पाटनमा लेखी पठाई दिनु............. २
पुनरावेदक वादीले यस अदालतमा पुनरावेदन दायर गर्दा दाखिला गरेको कोर्टफि रु १६९०।५० प्रतिवादीबाट भराई लिन पाउने हुँदा उक्त कोर्टफि भराई पाउँ भनी वादीले प्रतिवादीको नामको यस सरहदको जेथा देखाई कानूनका म्यादभित्र दरखास्त दिए दस्तूर नलिई भराई दिनु भनी शुरु अदालतमा लगत दिनु ....३
दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार अभिलेख शाखामा बुझाई दिनु .......
उक्त रायमा सहमत छु ।
न्या.गौरी ढकाल
ईति संवत २०६४ साल कार्तिक महिना २२ गते रोज ५ शुभम–––––––