निर्णय नं. ७८७८ - जिउ मास्ने बेच्ने

निर्णय नं. ७८७८ ने.का.प. २०६४ अङ्क ९
सर्वोच्च अदालत संयुक्त इजलास
माननीय न्यायाधीश श्री मीनबहादुर रायमाझी
माननीय न्यायाधीश श्री राजेन्द्रप्रसाद कोइराला
संवत् २०६२ सालको फौ.पु.नं. .......३३७३, ३५४०, ३६५३, ३६५८
संवत् २०६३ सालको फौ.पु.नं. ..... ३६९६
संवत् २०६३ सालको फौ.पु.नं. ..००१०
फैसला मितिः २०६४।८।२६।४
मुद्दाः जिउ मास्ने बेच्ने ।
पुनरावेदक/प्रतिवादीः नुवाकोट जिल्ला सुनखानी गा.वि.स. वडा नं. ९ घर भै कारागार शाखा डिल्लीबजारमा थुनामा रहेका रामप्रसाद सिटौला
विरुद्ध
प्रत्यर्थी/वादीः अनु भन्ने अनिता भट्टराईको जाहेरीले नेपाल सरकार
पुनरावेदक /प्रतिवादीः चितवन जिल्ला कठार गा.वि.स. वडा नं. ७ घर भै जिल्ला प्रशासन कार्यालय कारागार शाखा डिल्ली बजारमा थुनामा रहेका अमर भन्ने सोनाम गुरुङ
विरुद्ध
प्रत्यर्थी/वादीः अनु भन्ने अनिता भट्टराईको जाहेरीले नेपाल सरकार
पुनरावेदक/प्रतिवादीः मोरङ्ग जिल्ला शनिश्चरे गा.वि.स. वडा नं. १ घर भै कारागार शाखा डिल्ली बजारमा थुनामा रहेको हर्क बहादुर सुनुवार समेत
विरुद्ध
प्रत्यर्थी/वादीः अनिता भट्टराईको जाहेरीले नेपाल सरकार
पुनरावेदक/वादीः अनु भन्ने अनिता भट्टराईको जाहेरीले नेपाल सरकार
विरुद्ध
प्रत्यर्थी/वादीः सुनसरी जिल्ला इटहरी नगरपालिका वडा नं. १ घर भै कोटेश्वर काठमाडौं बस्ने मिलन भन्ने आकाश लामा गुरुङ समेत
पुनरावेदक/प्रतिवादीः धादिङ जिल्ला बुढाथुङ्ग गा.वि.स. वडा नं. ५ घर भै कारागार शाखा डिल्ली बजार काठमाडौंमा थुनामा रहेको अर्जुन के.सी.
विरुद्ध
प्रत्यर्थी/वादीः अनु भन्ने अनिता भट्टराईको जाहेरीले नेपाल सरकार
पुनरावेदक/प्रतिवादीः सुनसरी जिल्ला इटहरी न.पा. वडा नं. १ घर भै हाल कारागार शाखा अन्तर्गत भद्रबन्दी गृहमा थुनामा रहेको आकाश लामा (गुरुङ)
विरुद्ध
प्रत्यर्थी/वादीः अनु भन्ने अनिता भट्टराईको जाहेरीले नेपाल सरकार
शुरु फैसला–मा.न्या. श्री ओम प्रकाश मिश्र काठमाडौं जिल्ला अदालत ।
पुनरावेदन फैसला गर्ने न्यायाधीशः– मा.न्या.श्री तप बहादुर मगर, पुनरावेदन अदालत पाटन ।
मा.न्या.श्री अलि अकवर मिकरानी, पुनरावेदन अदालत पाटन ।
§ एउटै तथ्यको अपराधमा अपराधीलाई एक पटक भन्दा बढी मुद्दा नचलाइने विधिशास्त्रीय विकासलाई अक्सर धेरै राष्ट्रले स्विकारेको अवस्था छ । लिखित संविधान भएका कतिपय राज्यले आफ्नो संविधानमा यो सिद्धान्तलाई उचित स्थान दिएको पाईन्छ । स्पष्ट कानुनी व्यवस्थाको अभावमा पनि दोहारो खतराको सिद्धान्त अन्तर्गत फौजदारी कारवाहीमा कार्याविधीगत प्रतिरक्षा (Procedural Defense) को स्थान ग्रहणगर्न सक्ने ।
§ प्रतिरक्षामा कसूर वा अभियोग लगाईएको कसूरमा पहिले नै मुद्दा चलाई सफाई पाइसकेको (Autrefois acquit) वा कसूर वा अभियोग लगाइएको कसूरमा पहिले नै दोषी भइसकेको (Autrefois convict) हुनु अनिवार्य हुन्छ । तसर्थ, यो सिद्धान्तले कुनै पनि व्यक्ति जसलाई कुनै खास फौजदारी कार्यवाहीमा पहिले मुद्दा चलाई सफाई दिइएको होस वा दोषी ठहराई सजाय दिइएको होस, पुनः सोहि विषयमा अनुसन्धान तहकिकात शुरु गर्नु मुद्दा चलाउनु न्यायको रोहमा उपयुक्त नहुने ।
§ एउटै फौजदारी अपराधका सम्बन्धमा एक पटक भन्दा बढी अनुसन्धान तहकिकात भै मुद्दा चल्न सक्ने अवस्थालाई दाहोरो खतराको सिद्धान्त (Principle of Double Jeopardy) ले सुरक्षा प्रदान गर्ने ।
§ सक्षम अदालतबाट एकपटक फौजदारी कारवाही अन्तिम भएपछि पुनः सोही विषयमा सोही व्यक्ति उपर मुद्दा चलाई सजाय गर्न राज्य विवन्धित हुन्छ । त्यसैले यो सिद्धान्तलाई वैयक्तिक अधिकारको रक्षकको रूपमा पनि लिईन्छ ।
§ एउटै कसूरको अभियोगमा पटक पटक अनुसन्धान तहकिकात गरी मुद्दा चलाउँदै जाने हो भने राज्यको फौज्दारी न्याय प्रणाली न्याय अनुकूल नभै आतंकपूर्ण हुन सक्ने खतरा रहन्छ। नागरिकलाई यस अवस्थाबाट जोगाउन, एउटा अपराधमा एकपटक भन्दा बढी सजायको अवस्था सृजना हुन नदिन र साथै र फौज्दारी मुद्दाको अन्त्य (Finality of the Case) लाई यो सिद्धान्तले अंगालेको छ ।
(प्रकरण नं.९)
§ मानिसको बेचबिखन गर्ने कार्य भन्नु र कानुनी संरक्षकत्वबाट बञ्चित गर्ने, गैरकानुनी शारीरिक सम्बन्धका लागि भारतमा आयात गर्ने तथा वेश्यावृतिका लागि खरिद गर्ने भन्ने विषय नितान्त फरक देखिएबाट भारतमा र नेपालमा कारवाही चलाएको अभियोगको कसूर समान प्रकृतीको भन्ने देखिन नआउने ।
(प्रकरण नं.११)
§ जिउ मास्नेबेच्ने कार्य (नियन्त्रण) ऐन, २०४३ को दफा २ को “ऐनको बहिक्र्षेत्रिय प्रयोग” सम्बन्धी कानुनी व्यवस्थामा “कसैले यो ऐन बमोजिम सजाय हुने कसूर नेपाल अधिराज्य बाहिर बसी गरेको भएतापनि निजले त्यस्तो कसूर नेपाल अधिराज्य भित्र वसी गरे सरह मानी निजलाई यस ऐन बमोजिम कारवाई र सजाय हुनेछ” भन्ने उल्लेख भएको देखियो । ऐनमा प्रयोग भएको बहिक्र्षेत्रिय शब्दले राज्यको भौगोलिक सिमा (Territorial area) मात्र नसमेटी राज्यको सिमा बाहिर पनि जिउ मास्ने बेच्ने कार्य (नियन्त्रण) ऐन, २०४३ को कसूरलाई स्पष्ट रूपमा समेटेको छ । नेपालको कानुन विपरीतको अपराधमा विदेशमा विदेशी अदालतले नेपालको कानुन बमोजिम सजाय दिने अवस्था रहँदैन । भारतीय दण्ड संहिता नेपाल अधिराज्य भित्र लागू हुने नेपालको कानुन नभएको हुँदा भारतमा भारतीय कानुन बमोजिम कारवाही चलेको अवस्थालाई नेपालको कानुन बमोजिम कारवाही चलेको भन्न नमिल्ने ।
(प्रकरण १२)
पुनरावेदक प्रतिवादी तर्फबाट : विद्वान अधिवक्ताहरू हर्क बहादुर सुनार श्री टीकाराम भट्टराई, श्री मोतीलाल श्रेष्ठ
पुनरावेदक वादी तर्फबाट : नेपाल सरकारको तर्फबाट उपन्यायाधिवक्ता कृष्णप्रसाद पौडेल
अवलम्वित नजीरः
फैसला
न्या.मीनबहादुर रायमाझीः न्याय प्रशासन ऐन, २०४८ को दफा ९ को उपदफा (१) को खण्ड (ख) अनुसार दर्ता भएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छः–
२०५६ साल कार्तिक २८ गते झापा डाँगीवारीबाट दिदीसँग काठमाडौं आई हात्ती गौडा स्थित दिदी भिनाजुको घरमा बसी पढ्दै थिएँ । आकास भन्ने मिलन गुरुङ निजको भान्जीको घरमा बारम्बार आउने जाने गर्थ्यौ । स्कुल जाँदा बाटोमा बारम्बार भेट हुने गर्थ्यौ र बारम्बार घुम्न जाँउ भनी भन्दा नमाने पछि निजले मलाई धम्क्याई यदि तिमी नजाने भए तिम्रो दिदी (फुपुको छोरी) लाई लान्छु भनेकोले डरले दिदीलाई जोगाउन म आफैं उसँग २०५८।१।२५ मा जान तयार भएँ । म तिमीलाई बिहे गर्छु भनी पुरानो बसपार्कको सगरमाथा होटलमा २ दिन, सूर्य विनायक नेवारको घरमा डेरा गरी करिब १ महिना जति राखे पछि ठिमीमा करिब डेढ महिना बसेपछि फेरि जडिवुटीमा डेरा गरी राख्यो । दशै आउन लाग्यो, कपडाहरू किनेर घर जानु पर्छ, साथीहरू पनि जान्छन् । नेपाल र इण्डियाको सिमानामा कपडा सस्तो र राम्रो पाईन्छ भनी असोज १२ गते शर्मिला लामा, रुपा राई, अमित वि.क., आकास भन्ने मिलन गुरुङ तथा नं. ३ मा उल्लिखित मानिसहरू समेत नाईटबसमा धनगढी गई बोर्डर क्रस गरी पालिया हुँदै दिल्लीसम्म पुर्याई दिल्लीमा वालाजी होटलमा २–३ दिन बसेपछि त्यहाँबाट बम्बई हुँदै पुनामा पुर्याई होटलमा राखी उनीहरू बजार गए । त्यसपछि उनीहरूसँग एकजना अधवैंसे नेपाली महिला पनि आएकी थिई, मलाई मिलनले उहाँ दिदी हुनुहुन्छ, उहाँसँग बस्तै गर भनी महिलासँग पठाए । बाटामा गई रहेको अवस्थामा शंका लागि मैले तपाईसँग नजाने मिलनसँग फर्काई दिनुहोस् भन्दा उहाँले तलाई मैले रु. ५०,०००।– मा किनेर ल्याएकी छु त्यसै छाड्न मिल्दैन, कि मेरो ५० हजार ल्याउ, हैन भने मेरो पैसा असुल नभएसम्म धन्दा गर्नुपर्छ, मेरो पैसा असुल भएपछि म तिमीलाई घर पठाई दिउँला भनेपछि आफू बेचिएको थाहा पाई रिक्साबाट हाम फाली बचाउ भनी दौडेर पुलिसको शाखामा गएकोमा प्रहरीले महिला सुधार गृहमा पठाएको र त्यहाँबाट मलाई मुम्बई स्थित माईती नेपालमा ल्याईदिएकोले माईती नेपालको संरक्षणमा बसिरहेको छु । त्यसरी मलाई कपडा किन्न जाने भनी झुक्याई भारतको पुनामा लगि बिक्री गर्ने मिलन भन्ने आकाश गुरुङ, अमित भन्ने हर्क बहादुर र रुपा राई समेतलाई कारवाही गरिपाऊँ भन्ने समेत ब्यहोराको अनु भन्ने अनिता भट्टराईको जाहेरी दरखास्त ।
२०५६ साल कार्तिक २८ गते झापा डाँगीबारीबाट दिदीसँग काठमाडौं आई हात्ती गौडा स्थित दिदी भिनाजुको घरमा बसी पढ्दै थिएँ । आकास भन्ने मिलन गुरुङ निजको भान्जीको घरमा बारम्बार आउने जाने गर्थ्यौ । स्कुल जाँदा बाटोमा बारम्बार भेट हुने गर्थ्यौ र बारम्बार घुम्न जाँउ भनी भन्दा नमाने पछि निजले मलाई धम्क्याई यदि तिमी नजाने भए तिम्रो दिदी (फुपुको छोरी) लाई लान्छु भनेकोले डरले दिदीलाई जोगाउन म आफैं उसँग २०५८।१।२५ मा जान तयार भएँ । म तिमीलाई बिहे गर्छु भनी पुरानो बसपार्कको सगरमाथा होटलमा २ दिन, सूर्य विनायक नेवारको घरमा डेरा गरी करिब १ महिना जति राखे पछि ठिमीमा करिब डेढ महिना बसेपछि फेरी जडिबुटीमा डेरा गरी राख्यो । दशै आउन लाग्यो, कपडाहरू किनेर घर जानु पर्छ, साथीहरू पनि जान्छन् । नेपाल र इण्डियाको सिमानामा कपडा सस्तो र राम्रो पाईन्छ भनी असोज १२ गते शर्मिला लामा, रुपा राई, अमित वि.क., आकास भन्ने मिलन गुरुङ तथा नं. ३ मा उल्लिखित मानिसहरू समेत नाईटबसमा धनगढी गई बोर्डर क्रस गरी पलिया हुँदै दिल्लीसम्म पुर्याई दिल्लीमा बालाजी होटलमा २–३ दिन बसेपछि त्यहाँबाट बम्बई हुँदै पुनामा पुर्याई होटलमा राखी उनीहरू बजार गए । त्यसपछि उनीहरूसँग एक जना अधवैसे नेपाली महिला पनि आएकी थिई, मलाई मिलनले उहाँ दिदी हुनु हुन्छ, उहाँसँग बस्तै गर भनी महिलासँग पठाए । बाटामा गई रहेको अवस्थामा शंका लागि मैले तपाईसँग नजाने मिलनसँग फर्काई दिनु होस् भन्दा उहाँले तलाई मैले रु.५०,०००।– मा किनेर ल्याएकी छु भन्दा आफू बेचिएको थाहा पाई रिक्साबाट हाम फाली बचाउ भनी दौडेर पुलिसको शाखामा गएकोमा प्रहरीले महिला सुधार गृहमा पठाएको र त्यहाँबाट मलाई मुम्बई स्थित माईती नेपालमा ल्याईदिएकोले माईती नेपालको संरक्षणमा बसिरहेको छु । त्यसरी मलाई कपडा किन्न जाने भनी झुक्याई भारतको पुनामा लगी बिक्री गर्ने मिलन भन्ने आकाश गुरुङ, अमित भन्ने हर्क बहादुर वि.क. र रुपा राई समेतलाई कारवाही गरिपाऊँ भन्ने अनु भन्ने अनिता भट्टराईको बयान अदालतबाट प्रमाणित भएको ।
मैले जाहेरवाला अनिता भट्टराईलाई विवाह गर्छु भनी आफूसँग लगी राखी हर्क बहादुर सुनार र अर्जुन के.सी. रामप्रसाद सिटौला, सोनाम गुरुङ, रुपा राई म लगायतले केटीहरूलाई भारत लगी बिक्री गर्ने र रुपैया कमाउने सल्लाह गरी कपडा किन्ने बहाना बनाई भारतको पुना भन्ने ठाउँमा पुर्याई केटी किन्ने र धन्दा गर्ने अधवैशे नेपाली आईमाईलाई मेरो दिदी हो भनी रु. ५०,०००।– मा बिक्री गरी आएको रकम हामी सबैले बाँडी खाएका हौं । त्यसै गरी शर्मिला लामा समेतका अरु केटीलाई समेत बिक्री गरेका थियौं भन्ने प्रतिवादी मिलन भन्ने आकाश लामा गुरुङले अनुसन्धान अधिकृत समक्ष गरेको बयान ।
अनिता भट्टराईलाई आकाशले विवाह गर्छु भनी ल्याएपछि आकाश गुरुङ, रुपा राई लगायत जाहेरीमा उल्लेखित व्यक्तिहरू समेत मिली केटीहरू जम्मा पारी भारत लगी बिक्री गर्ने सल्लाह अनुसार विभिन्न प्रलोभनमा पारी बिक्री गर्ने मनसायले जाहेरवाली अनिता भट्टराई, शर्मिला समेतका केटीहरूलाई महेन्द्रनगर हुँदै भारतको पलियाबाट दिल्ली बम्बई हुँदै पुनामा लगी अधवैशे नेपाली महिलालाई प्रतिवादी आकाशको दिदीको रूपमा देखाई रु.५०,०००।– मा विक्री गरेको हो । नेपालमा आउँदा तुरुन्त पक्राउ पर्ने डरले रुपा राई समेत मिली १०/११ महिना गेम खेली बसेका थियौं भन्ने समेत हर्क बहादुर सुनारले अनुसन्धान अधिकृत समक्ष गरेको बयान ।
अनु भन्ने अनिता भट्टराईलाई आकाशले विवाह गर्छु भनी ल्याई राखेकोमा हामीहरू रूपा राई, आकाश गुरुङ, हर्क बहादुर सुनार, प्रकाश प्रेम सुनुवार, लुपेश के.सी., प्रकाश थापा, सोनाम गुरुङ, रामप्रसाद सिटौला, मिना तामाङ्ग भन्ने समेत भई अनिता भट्टराई र शर्मिला भन्ने केटी समेतका अन्य केटीहरूलाई भारत लगी बिक्री गर्ने सर सल्लाह गरी बिक्री गर्ने उद्देश्यले फकाई बिक्री गरी रुपैया बढी कमाईन्छ भन्ने प्रलोभनमा जाहेरवालीलाई रु.५०,०००।– मा बिक्री गरेको हो । शर्मिला समेतका अन्य केटीलाई पनि त्यसै गरी बिक्री गरेको हो । केटीहरूलाई बिक्री गरी सकेपछि १०/११ महिना भारतको विभिन्न ठाउँमा बसी सेक्सको प्रलोभनमा त्यहाँका व्यक्तिहरूलाई फसाई बेहोस गर्ने औषधी दिई वेहोस पारी निजहरूसँग भएको नगद जिन्सी लुटी लग्ने काम गरेका थियौं भन्ने रुपा राई, अर्जुन के.सी., रामप्रसाद सिटौला, सोनाम गुरुङ समेतले अनुसन्धान अधिकृत समक्ष गरेको छुट्टाछुट्टै बयान ।
अभियुक्तहरू हर्क बहादुर, अर्जुन के.सी.(सार्की), रुपा राई, अमर भन्ने सोनाम गुरुङ, रामप्रसाद सिटौला, कुमार कान्छा, प्रकाश भन्ने मानिस, प्रेम सुनार, सागर, प्रकाश परियार, लुपेश के.सी., प्रकास थापा, सुनिल, मिना तामाङ्ग र भक्ते भन्ने मानिस समेत मिली कपडा किन्ने बहाना बनाई भारतको पुना भन्ने ठाउँमा लगि बिक्री गरेकोमा मुम्बाई स्थित माईती नेपाल मार्फत फर्की आएकी जाहेरवालीलाई बिक्री गरेको पूर्ण विश्वास लाग्छ भनी मानबहादुर खड्काले लेखाई दिएको कागज ।
अनिता भट्टराईलाई मिलन भन्ने आकाश गुरुङले बिहे गर्छु भनी लगी जाहेरीमा उल्लेखित अन्य प्रतिवादीहरूसँग मिलेमतो गरी कपडा किन्ने बहाना बनाई भारतको पुना भन्ने ठाउँमा बिक्री गरेको भन्ने सनि थाहा पाएको हो भन्ने हेमराज खड्का, भिमा खड्काले गरेको कागज ।
मलाई भारतको पुनामा लगि बिक्री गर्ने व्यक्तिहरू देखाई सनाखत गराउँदा एउटै लाईनमा उभ्याई देखाउँदा देखि आकाश गुरुङ, हर्क सुनुवार, अर्जुन के.सी., रामप्रसाद सिटौला र सोनाम गुरुङहरूलाई तथा रुपा राईलाई चिने भनी जाहेरवाला अनिता भट्टराईले गरेको २ छुट्टा छुट्टै सनाखत कागज ।
जाहेरवाला अनिता भट्टराईलाई प्रतिवादी मिलन भन्ने आकाश गुरुङले विवाह गर्छु भनी ललाई फकाई कपडा किन्ने बहानामा लगी उल्लेखित प्रतिवादीहरूले भारतको पुना भन्ने ठाउँमा लागी बिक्री गरेको कुरामा जाहेरवालाले भने बमोजिम मलाई पूर्ण विश्वास लाग्छ भन्ने रेवतीप्रसाद उप्रेतिले गरेको कागज ।
अनिता भट्टराईलाई मिलन भन्ने आकाश गुरुङले विवाह गर्छु भनी घरबाट लगि जाहेरीमा उल्लेखित प्रतिवादीहरूको मिलोमतोबाट ललाई फकाई कपडा किन्ने बहानामा भारतको पुनामा लगि रु. ५०,०००।– मा बिक्री गरेका रहेछन् भन्ने किरण राणाले गरेको कागज ।
प्रतिवादीहरूले जिउ मास्ने बेच्ने कार्य (नियन्त्रण) ऐन, २०४३ को दफा ४(क) अनुसार कसूर अपराध गरेको हुँदा स–प्रमाण पुष्टि भएको हुँदा निज प्रतिवादीहरू मिलन भन्ने आकाश गुरुङ, रुपा राई, हर्क बहादुर सुनार, रामप्रसाद सिटौला, सोनाम गुरुङ समेतलाई जिउ मास्ने बेच्ने कार्य (नियन्त्रण) ऐन, २०४३ को दफा ४(क) अनुसारको कसूर गरेको अभियोगमा सोही ऐनको दफा ८(१) बमोजिम सजाय गरी दफा ८(५) अनुसार थप सजाय हुन समेत माग दावी लिई प्रस्तुत गरेको मिति २०५९।८।१२ को अभियोग पत्र ।
जाहेरवाली र निजका पति आकाश लामाले पहिला पनि होटलमा केटाहरू लठ्याउने दवाई खुवाई रकम झिकी ल्याएको हो । जाहेरवाली र म बसेको कोठा नजिकै भएकोले मलाई पनि जाउँ भन्दा म समेत सुनौलीबाट दिल्ली गै बालाजी भन्ने होटलमा त्यस्तो केटाहरूको रकम ठग्ने गेम खेल्यौं । १ हप्ता पछि बम्बईमा गयौं र पुनामा गयौं र त्यहाँ पनि गेम खेल्यौं । प्रहरीले भेटाई केटाहरू लठ्याउने दवाई साथ पक्राउ गरेपछि प्रहरीले छाडी दिएपछि हामी नेपाल आएका हौं । सुनिता राई अर्को मुद्दाकी जाहेरवाली र यी अनिता माईती नेपालबाट र म समेत त्यसै माध्यमबाट नेपाल आयौं । जाहेरवालीलाई बिक्री गर्न लगेको होइन । केटाहरू ठगी रकम लिनसम्म गएकी हुँ । ठगी केशमा जाहेरवाली समेत पक्राउ भए पछि माईती नेपालको साहाराबाट नेपाल फर्केका हौं । जाहेरवालीलाई बिक्री गरेको होइन । मलाई अभियोग अनुसार सजाय हुनु पर्ने होइन भन्ने समेत रुपा राईले अदालतमा गरेको बयान ।
जाहेरवालीलाई लगनखेल बसपार्कमा रेष्टुरेण्टमा काम गर्ने हुँदा निजसँग २०५८ साल वैशाखमा मन परापर भएर विवाह गरी भक्तपुरमा रहँदा २ महिना ठिमीमा बस्यौं । त्यति बेलासम्म यिनीहरूको होटलमा केटाहरूलाई परिचय गरी वियर कोक खाने खुवाउने र टेन नम्बर भन्ने गोटी खुवाई दिए पछि केटाहरू लठ्ठ पार्ने र पैसा, सुन, औंठी धुत्ने र कमाएको पैसाले होटल खोली व्यवसाय गरी खान मेरी श्रीमती अनिता, अर्को मुद्दाकी जाहेरवाली सुनिता राई र रेष्टुरेण्ट मै काम गर्ने रमा क्षेत्री बाहुन समेतले भनेको र हामी केटाहरू चै झैं झगडा पर्यो भने बचाउने मात्र काम गर्ने भनी भारतको दिल्ली बम्बई गै कमाई पुनामा होटलमा बसेको दिन प्रहरीले पक्राउ गरी हामी केटाहरूलाई ठगी केशमा थुनामा राखी केटीहरूलाई महिला आश्रममा राखिदियो । कोही सोही आश्रम मार्फत नेपाल आए, कोही भागेर आएछन् । हामी केटाहरू ११ महिनामा मुक्त भै नेपाल आयौं । जाहेरवालीलाई जाहेरी बमोजिम बिक्री गरेको होइन, सो झुठ्ठा हो । सो पोल अनुसार मैले अपराध गरेको होइन भन्ने समेत मिलन भन्ने आकाश लामाले अदालतमा गरेको बयान ।
कामको खोजीमा गएको बेला प्रतिवादीसँग मेरो दिल्लीमा भेट भएको हो । त्यहीबाट हामी सबै बम्बैमा गयौं । होटलमा बस्यौं । घुम्न जाँउ भनेकोले उनीहरूसँग पुनामा गएको हो । दिल्लीमा म बेखर्ची भएकोले हामी भाडा हाली दिन्छौं भनी अरु प्रतिवादीले भनेकाले गएको हुँ । पुनामा गई होटलमा बसेको २ घण्टा पछि प्रहरीले समातेको हो । मैले जाहेरवालीलाई बेचेको छैन । मैले अभियोग बमोजिम सजाय पाउनु पर्ने होइन भन्ने समेत सोनाम गुरुङले अदालतमा गरेको बयान ।
म दिल्लीमा प्यारालाईसिसको उपचार गर्न गएको र होटलमा बसेको बेला जाहेरवाला र अरु प्रतिवादीहरू पनि त्यहीँ बस्न आएकोले चिनजान भएको हो । सँगै नेपाल जाने भनेकोले निजहरूसँग पुना गयौं । पुनामा एउटा होटलमा बस्दा त्यहाँको प्रहरीले हामी सबैलाई समाती ११ महिनासम्म थुन्यो । त्यहाँबाट छुटे पछि अरु सबै नेपाल आए । म खर्च नभएकोले केही समय बसी खर्च जम्मा गरी काठमाडौं आएँ । म समेत भै जाहेरवालीलाई भारतको पुनामा लगी बेचेको होइन । मैले जाहेरवालीलाई बेचेको पैसा पनि लिएको छैन । दिल्लीबाट पुनामासँगै गएको सम्म हो । केटी बेचेको होइन, सजाय हुनु पर्ने होइन भन्ने समेत प्रतिवादी रामप्रसाद सिटौलाले अदालतमा गरेको बयान ।
मोर्डन डान्स रेष्टुरेन्टमा जाहेरवाली काम गर्ने हुँदा चिनजान भएको हो । उनी समेतले इण्डिया घुम्न जाउँ भनेकोले सँगै दिल्ली गयौं । त्यहाँबाट बम्बई र पुना भन्ने ठाउँमा गयौं । जाहेरवाली समेतका केटीले सिल्पिङ्ग टेवलेट समेत खुवाई केटाहरूलाई लठ्ठ पारी हामी अर्को होटलमा बसेको ठाउँमा सुन चाँदी गर-गहना ल्याउने र होटल खर्च ब्यहोर्थे । पुना पुगेकै दिन हामी र केटीहरू दवाई साथ पक्राउ परेका हौं । केही केटीहरू शरणार्थी मार्फत माईती नेपाल हुँदै वा कसरी भागेर नेपाल आएछन् । केटाहरू चाहि प्रहरीको अनुसन्धानमा परी ११ महिना पछि छुटकारामा परी २०५९ भदौ तिर नेपाल आएका हौं । जाहेरवालीलाई बिक्री नगरेको हुँदा अभियोग दावी अनुसार सजाय हुनु पर्ने होइन भन्ने समेत व्यहोराको हर्क बहादुर सुनारले अदालतमा गरेको बयान ।
जाहेरवालीले म समेतलाई घुम्न गेम खेल्न जाउँ भनी इण्डिया गएका हौं । गेम भनेको केटाहरूलाई लठ्याउने दवाई खुवाई लठ्याई पैसा सुन लुटी ल्याउने र लुटी ल्याएको पैसाले हामी प्रतिवादीहरूलाई खान बस्न घुम्न खर्च दिन्थे । त्यस प्रकारको ठगी काम गर्दै दिल्ली, बम्बै हुँदै पुनामा पुग्यौं । त्यहाँ पक्राउ परी ११ महिना पछि हामी केटाहरू नेपाल आयौं । केटीहरू महिला आश्रम मार्फत नेपाल आएछन् । जाहेरवालीलाई बिक्री गर्ने उद्देश्यले गएको होइन । जाहेरवालीलाई बिक्री गरेको होइन । तसर्थ अभियोग माग दावी अनुसार सजाय हुने होइन भन्ने समेत प्रतिवादी अर्जुन के.सी. ले अदालतमा गरेको बयान ।
मिलन भन्ने आकाश गुरुङ लगायतका अन्य साथीहरू मिलेर मेरी बहिनी अनु भन्ने अनिता भट्टराईलाई भारतको पुना भन्ने ठाउँमा बेच्न लगेको थियो भन्ने बैनीको कुराबाट खुल्न आएको छ भन्ने हेमराज खड्काले गरेको बकपत्र ।
जाहेरी ब्यहोरा र सहीछाप मेरो हो । मलाई नयाँ बसपार्कबाट महेन्द्र नगर हुँदै पुनासम्म पुर्याई बिक्री गरी रिक्साबाट लान लाग्दा शंका लागी रिक्साबाट ओर्ली भागी पुलिस सोधी फारस खाना चौकीमा पुगी अनाथ आश्रममा मलाई राखी मैले घरमा खबर गरी माईती नेपालको सहायताले घरमा आएको हो । मलाई भा.रु. ५०,०००।– मा बिक्री गरेका रहेछन् भन्ने थाहा पाएको हो भन्ने जाहेरवाली अनु भन्ने अनिता भट्टराईले गरेको वकपत्र ।
मुख्य प्रतिवादी मिलन भन्ने आकाश गुरुङ र निजका साथीहरू मिली जाहेरवालीलाई बिक्री गरेका हुन् । इण्डियाको पुना भन्ने ठाउँबाट माईती नेपाल र भारतीय प्रहरीले ल्याएको भनी अनु भन्ने अनिता भट्टराईले भनेकोले थाहा पाएको हो भन्ने समेतको रेवतीप्रसाद उप्रेती र मान बहादुर खड्काले गरेको वकपत्र ।
प्रतिवादी रुपा राई, अर्जुन के.सी., हर्क बहादुर सुनार, मिलन भन्ने आकाश लामा (गुरुङ), रामप्रसाद सिटौला, अमर भन्ने सोनाम गुरुङ समेतले जाहेरवालीलाई भारतको पुनामा लगी रु.५०,०००।– भा.रु. मा बिक्री गरेको कुराको पुष्ट्याई भएकोले प्रतिवादीहरूले जिउ मास्ने बेच्ने कार्य (नियन्त्रण) ऐन, २०४३ को दफा ४(क) को कसूर गरेको ठहर्छ । सजायको हकमा विचार गर्दा पहिलो कसूर भएकोले जिउ मास्ने बेच्ने (नियन्त्रण) ऐन, २०४३ को दफा ८(१) ले जनही १०–१० वर्ष कैद र सोही ऐनको दफा ८ को उपदफा (५) ले भा.रु.५०,०००।– को हुन आउने ने.रु.८०,०००।– दामासाहीले जरिवाना हुने समेत ठहर्छ भन्ने शुरु काठमाडौं जिल्ला अदालतको २०६०।८।१२ को फैसला ।
ऐन कानून विपरीत जाहेरवाली र प्रतिवादीहरू सामूहिक रूपमा भारत गई विभिन्न मानिसहरूलाई दिल्ली बम्बई तथा पुनामा लठ्याउने औषधी खुवाई ठगी गर्दै हिड्ने क्रममा पक्राउ परी ठगीमा थुनामा परेपछि कोही प्रहरी मार्फत कोही आफ्नै तरिकाबाट नेपाल आई भाग वण्डाका हिसाब नमिलेको कारणबाट परेको उजुरीलाई आशंका गरी प्रहरी बयानकै भरमा भएको का.जि.अ. को फैसला त्रुटीपूर्ण छ भन्ने समतेको मिलन भन्ने आकाश लामा (गुरुङ) को पुनरावेदन अदालतमा परेको पुनरावेदन पत्र ।
विवादित घटनाक्रममा मेरो संलग्नता नरहेको, शंकारहित तवरबाट अभियोग पुष्टि हुन नसकेको, प्रमाणको उचित मूल्याङ्कन नभएको, फौजदारी न्यायको मान्य सिद्धान्त विपरीत भएको फैसला उल्टी गरी अभियोग दावीबाट सफाई पाउँ भन्ने समेत प्रतिवादी सोनाम गुरुङको पुनरावेदन अदालतमा परेको पुनरावेदन पत्र ।
बनावटी कथाका आधारमा मात्र कसूरदार ठहर गर्न मिल्दैन । जिउ मास्ने बेच्ने कार्य (नियन्त्रण) ऐन, २०४३ को दफा ७ बमोजिमको प्रमाणको भार पुर्याउने कार्य अभियुक्तमा रहेको भन्नुको अर्थ काल्पनिक कथाको भार पुर्याउने भार अभियुक्तमा रहन्छ भन्ने हैन । जाहेरवालीले आफ्नो जाहेरी शंका रहित स्वतन्त्र प्रमाणबाट पुष्टि गरे पश्चात मात्र त्यस पछिको हैन भन्ने प्रमाणको भार अभियुक्तमा रहने भएकोले शुरु निर्णय उल्टी गरिपाऊँ भन्ने समेत प्रतिवादी हर्क बहादुर सुनुवार र रुपा राईको पुनरावेदन अदालतमा परेको संयुक्त पुनरावेदन पत्र ।
कुनै पनि निर्णय गर्दा वस्तुनिष्ठ प्रमाणका आधारमा निर्णय दिनु पर्नेमा प्रस्तुत मुद्दामा आत्मनिष्ठ निर्णय गरिएको छ । जाहेरवालीलाई फकाउने विदेश लाने काम कारवाही मैले नगरेको, निजलाई बिक्री गरेको रकम मैले नलिए नखाएको हुनाले शुरु फैसला उल्टी गरी पाउ भन्ने समेत प्रतिवादी अर्जुन के.सी.को पुनरावेदन अदालतमा परेको पुनरावेदन पत्र ।
ऐनमा थप सजाय गरी थैलीको विगो बमोजिम जरिवाना हुने कानूनी व्यवस्थालाई दामासाहीको हिसाब व्यवस्था नभएकोले दामासाही जरिवाना गर्ने गरेको फैसला त्रुटिपूर्ण भएकोले सो हदसम्म फैसला उल्टी गरी जनही रु. ८०,०००।– जरिवाना गरिपाऊँ भन्ने समेतको वादीको पुनरावेदन अदालतमा परेको पुनरावेदन पत्र ।
जाहेरवालीको भनाई बमोजिम बिक्री नै भएको भए उक्त रकम कुन प्रतिवादीसँग थियो, कसले कोबाट रुपैया लिएको, सो कुरा जाहेरीमा खुलाउनु पर्ने र त्यस बमोजिम बरामद हुनु पर्नेमा सो भएको अवस्था छैन । बुझ्नु पर्ने कुरा नबुझी तथ्यको पर्याप्त विश्लेषण नगरी भएको शुरु फैसला त्रुटिपूर्ण भएकोले उल्टी गरी सफाई पाउँ भन्ने समेतको रामप्रसाद सिटौलाको पुनरावेदन अदालतमा परेको पुनरावेदन पत्र ।
प्रतिवादीहरूले जाहेरवालीलाई भारतको पुनामा लगी भा.रु. ५०,०००।– मा बिक्री गरी जिउ मास्ने बेच्ने कार्य (नियन्त्रण) ऐन, २०४३ को दफा ४(क) को कसूर गरेको ठहर्याई ऐ. ऐनको दफा ८(१) बमोजिम जनही दश–दश वर्ष कैद र रु. ८०,०००।– दामासाहीले जरिवाना हुने ठहर गरेको शुरु काठमाडौं जिल्ला अदालतको मिति २०६०।८।१२।६ को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ भन्ने पुनरावेदन अदालत पाटनको २०६२।४।२० को फैसला ।
अन्य स्वतन्त्र प्रमाणले पुष्टि नभएको अवस्थामा जाहेरीको भरमा मात्रै कसूरदार ठहर गर्न फौजदारी न्यायको सिद्धान्तले मिल्ने होइन । शुरु अदालतमा प्रमाणित बयान कार्यविधीगत व्यवस्थाको रित पुर्याएको कुरा हुँदा यस्तो कुरालाई निर्णयाधार बनाउन मिल्ने कुरै होइन । मलाई दवाव, करकाप तथा त्रासमा पारी गराएको बयान मेरो अदालतको बयानबाट पूर्णतः खण्डित भैसकेको छ । साक्षीका बकपत्रहरू प्रयत्क्ष नभई परोक्ष रूपमा सुनी जानेको भन्ने कुरा स्पष्ट छन् । मेरो तत्कालीन स्वास्थ्य अवस्थालाई न्युनतम विचार गरिएमा पनि म विरामी मानिसले जाहेरवालीलाई भारत पुर्याउने र बेचाउने कार्य हुने सम्भावना नै नरहेको छर्लङ्ग हुन्छ । अन्य स्वतन्त्र प्रमाणको अभावमा जाहेरी र वकपत्र कै आधारमा दोषी ठहर गर्न कानूनसंगत नहुने भनी सिद्धान्त प्रतिपादन भैसकेका छन् । पुनरावेदन अदालतले भारतमा मुद्दा चलिसकेको भनी लिएको दोहोरो खतराको सिद्धान्तको दावीलाई अत्यन्त हलुका रूपमा लिएको छ । मलाई कसूरदार ठहर्याई १० वर्ष कैद र दामासाहीले हुन आउने जरिवाना रु.१३,३३३।३४ गर्ने गरी शुरु अदालतले गरेको त्रुटिपूर्ण फैसला जस्ताको तस्तै सदर गर्ने गरेको पुनरावेदन अदालत पाटनको फैसला कानून विपरीत त्रुटिपूर्ण भएकोले बदर गरी अभियोगबाट फुर्सद दिलाई पाउँ भन्ने प्रतिवादी रामप्रसाद सिटौलाको यस अदालतमा परेको पुनरावेदन पत्र ।
पीडित भनिएकी व्यक्तिको उजुरी र निजको बकपत्रलाई र जवरजस्ती रूपमा भएको अधिकारप्राप्त अधिकारी समक्षको कथित साविती बयानलाई आधार मानी विदेश भारतमा नै अभियोग लागि सकेको कुरामा पुनः नेपाल अधिराज्यको संविधान २०४७ को धारा १४ विपरीत गरी लगाईएको अभियोगको कसूर कायम गर्ने गरी काठमाडौं जिल्ला अदालतबाट भएको फैसलालाई सदर गर्ने गरी पुनरावेदन अदालत पाटनबाट भएको फैसला न्याय र कानूनको मान्य सिद्धान्त विपरीत भएको हुँदा अभियोग दावीबाट सफाई दिई छुट्कारा पाउँ भन्ने समेत ब्यहोराको प्रतिवादी अमर भन्ने सोनाम गुरुङको यस अदालतमा परेको पुनरावेदन पत्र ।
जाहेरवाली अनिताको कुरालाई काट्न नसकी निजको भनाईमा लागेर केटाहरू ठगी रकम लिन सम्म गएको र रुपैया बराबरी लिने कार्य नभएकोले लेनदेन सम्बन्धी रिसइवि साँधी म रुपा राई समेतलाई विपक्षी बनाई दिएको जाहेरी नै सबै प्रमाण हुन सक्दैन । गोश्वारा जाहेरी दरखास्त परेको आधारमा त्यसैलाई आधार मानी निर्णयमा पुग्न मिल्दैन । जाहेरवालीले अनुसन्धान अधिकारी समक्ष बयान गर्दा म हर्क सुनुवारको नाम उल्लेख नगरेबाट मेरो निर्दोषिता प्रमाणित भैसकेको छ । प्रहरीमा बुझिएका मानिसले बिक्री गरे अरे भन्ने सुनेको आधारमा गरेको बकपत्रलाई आधार मानी गरिएको फैसला सुनिजान्ने प्रमाण होइन भन्ने सर्वमान्य सिद्धान्तको विपरीत छ । भारतको स्थानीय अदालतको फैसलामा हामी विरुद्ध लगाइएको अभियोग र हाल प्रस्तुत मुद्दामा लगाइएको अभियोग एउटै कसूरबाट उत्पन्न भएको भन्नेमा विवाद नभए पछि एकपटक मुद्दा दर्ता भई सफाई पाए पछि सोही कसूरमा पुन अर्को मुद्दा दर्ता भई हामीलाई हराउने गरी भएको फैसला नेपाल अधिराज्यको संविधान २०४७ को धारा १४ विपरीत भई प्रतिपादित नजिर तथा अ.बं. १८४(क), प्रमाण ऐन २०३१ को दफा ३,९ र ५४ समेतको विपरीत हुँदा उल्टी गरी सफाई दिलाई पाउँ भन्ने समेत ब्यहोराको प्रतिवादी हर्क बहादुर सुनुवार र रुपा राईको यस अदालतमा परेको संयुक्त पुनरावेदन पत्र ।
जिउ मास्ने बेच्ने कार्य (नियन्त्रण) ऐन, २०४३ को दफा ८(५) मा मानिस बेचबिखन गरेकोमा किन्नेको थैली भुस हुने र बेच्ने व्यक्तिलाई उपदफा १ मा लेखिएको सजायमा थप सो थैलीको विगो बमोजिम जरिवाना समेत हुने भन्ने व्यवस्था भएकोमा प्रतिवादीहरूलाई थप सजाय गर्दा दामासाहीको हिसाबले मात्र जरिवाना गरी व्यक्ति पिच्छे नगरेको शुरु फैसला सदर गर्ने गरी गरेको फैसला सो हदसम्म त्रुटिपूर्ण हुँदा बदर गरी विगो रु. ८०,०००।– प्रतिवादीहरूलाई जनही जरिवाना गरिपाऊँ भन्ने वादीको यस अदालतमा परेको पुनरावेदन पत्र ।
कथित जाहेरवाली र निजको सँग साथमा यात्रा गर्ने अन्य सहकर्मीहरूसँग यात्राकै क्रममा चिनजान हुन पुगेको र परिस्थिति एंवम परिवेशले सँगसाथ भएको र सँगसाथ हुँदा कै क्रममा भारतीय प्रहरीद्धारा पक्राउ परेको कारणले जाहेरवालीलाई बिक्री गर्न नै गएको भनी अर्थ लगाउनु कानूनन् गलत एंवम अनुचित हुन्छ । अनुसन्धान अधिकारी समक्ष डर त्रासबाट लेखि ल्याएको कागजमा सहि गराएको हो । अनुसन्धानको क्रममा बुझिएका व्यक्तिले बकपत्र गर्दा शंका सम्मको भरमा सजायको भागीदार बनाउनु Hearsay evidence is no evidence को सिद्धान्तले मिल्दैन । प्रस्तुत मुद्दा Extra-territorial Jusisdiction अन्तर्गत भएबाटै भारत स्थित मुद्दा चलाई कानूनी कारवाई भई म पुनरावेदकले सजायको भुक्तान गरी पुनः सोही विषयमा मुद्दा लगाई कानुनी कारवाई गर्नुबाट संविधानले संरक्षण गरेको मौलिक हकको वर्खिलाप भएको हुँदा शुरु काठमाडौं जिल्ला अदालतको फैसला र पुनरावेदन अदालत पाटनको फैसला बदर गरी सफाई दिलाई पाउँ भन्ने प्रतिवादी अर्जुन के.सी.को पुनरावेदन पत्र ।
म र जाहेरवालीको परस्पर सहमति मुताविक वैवाहिक प्रणय सुत्रमा बाँधिई श्रीमती र निजका साथीहरूको सल्लाहमा यात्रामा गई भारत स्थित यात्रामा रहेका यात्रुहरूलाई ठग्ने प्रयास गर्न थाली सो काम कारवाई गर्दा कै क्रममा हामी बसेको होटलको कोठामा एक्कासी प्रहरीहरूले पक्राउ गरी वेश्यावृत्तीको आरोप लगाई मुद्दा चलाई ११ महिना जति थुनामा राखी अदालतले सफाई दिएको हो । अभियोजन पक्षले लेखी ल्याएको कागजमा यातना दिई डर त्रासमा पारी सहीछाप गराएका हुन् । अनुसन्धानमा बुझिएका व्यक्तिले वकपत्रको क्रममा सुनेको सम्म हो भन्ने कुराको अभिव्यक्ति दिएका छन् । महाराष्ट्र राज्य अन्तर्गतको अदालतमा प्रतिवादीहरू उपर मुद्दा चलेको र सोही विषयमा अभियोजन पक्षले मुद्दा चलाएको हुँदा संविधानको वर्खिलाप गई म माथि अन्याय हुने गरी शुरु काडमाडौं जिल्ला अदालत र पुनरावेदन अदालतले सजाय गर्ने गरी गरेको फैसला बदर भागी हुँदा बदर गरी न्यायोचित इन्साफ पाउँ भन्ने व्यहोराको प्रतिवादी आकाश लामा (गुरुङ) को पुनरावेदन पत्र ।
यसमा दोहोरो पुनरावेदन परेको देखिँदा दुवै पक्षलाई एक अर्काको पुनरावेदन परेको जानकारी गराई लगाउको फौ.पु.नं. ३६९६, ३५४०, ३६५५, ३६५८ र ००१० को पुनरावेदन साथै राखी पेश गर्नु भन्ने यस अदालतको मिति २०६३।९।१२ को आदेश ।
२. नियम बमोजिम पेशी सुचीमा चढी आज यस इजलास समक्ष पेश भएको प्रस्तुत मुद्दामा पुनरावेदन सहितका सम्पूर्ण मिसिल कागजात अध्ययन गरी उपस्थित विद्वान कानुन व्यवसायीहरूले गर्नुभएको निम्न बहस समेत सुनियो ।
३. पुनरावेदक प्रतिवादी हर्क बहादुर सुनार र रुपा राईको तर्फबाट उपस्थित विद्वान अधिवक्ता टीकाराम भट्टराईले प्रतिवादी आकाश लामा र जाहेरवाली लोग्ने स्वास्नी हुन्, जाहेरवाली र प्रतिवादीहरू एकै पटक विदेशमा पक्राउ परेका छन्, विदेश भारतमा ग्राहकहरूसँग बसी लोभ लालचमा पारी लठ्याउने औषधी खुवाई रूपैया पैसा तथा सुनचाँदी लुट्ने उद्देश्यले गएको भन्ने देखिन्छ, सोही क्रममा पक्राउ परेकोमा प्रतिवादीहरू उपर मुद्दा चली सफाई दिइएको छ, जाहेरवालीलाई बेचविखन गर्ने उद्देश्यले भारतमा लगिएको भन्ने तथ्य नै स्थापित नभएकोमा सोही विषयमा पुनः नेपालमा मुद्दा चलाउन दोहोरो खतराको सिद्धान्तले रोक लगाउँछ, अभियोजन पक्षले शंकारहित तवरले दावी पुष्टि गर्न सकेकै छैन, भारत गई रेष्टुराँमा ग्राहक ठग्ने कुराको सन्दर्भमा मुद्दा चलाउनै परे पनि वेश्यावृत्तीको अपराधसम्मको शंका सम्म गर्न सकिन्छ, त्यसको दावी पनि छैन, विदेश जादैमा बेचबिखन हुन नसक्ने, बेचबिखन गर्ने उद्देश्यले लगेको भन्ने देखिनु पर्ने भन्ने सम्बन्धमा सिद्धान्त समेत प्रतिपादन भै सकेको अवस्था छ, जिउ मास्ने बेच्ने कार्यमा विगो बमोजिम जरिवानाको सजाय जनही भन्ने नभई दामासाहीले हुने हो, प्रस्तुत मुद्दामा एउटै विषयमा २ पटक मुद्दा चलेको अवस्था हुँदा मुद्दाको विषय वस्तुमा प्रवेश गर्नै नपर्ने हुँदा खारेज हुनु पर्छ भनी गर्नु भएको बहस सुनियो ।
४. पुनरावेदक प्रतिवादी रामप्रसाद सिटौलाको तर्फबाट उपस्थित विद्वान अधिवक्ता मोतीलाल श्रेष्ठले बैयक्तिक अधिकारको विषयमा कानुनको प्रत्याभूती विपरीत जान मिल्दैन, नेपाल र भारत दुवैले एक अर्कालाई मान्यता दिएका राष्ट्र हुन्, दुवै राष्ट्रमा एकै विषयमा मुद्दा चलाईएको अवस्था हुँदा दोहोरो खतराको सिद्धान्त आकर्षित हुन्छ, जाहेरवाली आफ्नो लोग्नेसँग विदेश भारत गएकी अवस्था हुँदा त्यस्तो अवस्थामा कसूर प्रमाणित गर्ने भार वादी मै रहन्छ, जाहेर वाली समेतका केटीलाई भारतमा पक्राउ गरे पछि रिमाण्ड होममा पठाइएको र माइती नेपाल मार्फत नेपाल आएका हुन्, प्रतिवादीहरू उपर भारतमा मुद्दा चलाई थुनामा राखिएको र ११ महिना पछि सफाई पाएको अवस्था छ,, जाहेरवालीलाई बिक्री गरेको भए नेपाल आएर तत्काल कारवाही चलाएको हुनु पर्नेमा त्यस्तो नदेखिई १ वर्ष पछि मात्र जाहेरी दिएको पाइन्छ,, अन्र्तजातिय विवाह गरेको कारण माइतीमा फर्किने बाटो सहज बनाउने उद्देश्यले माइती नेपालको उक्साहटमा जाहेरी दिएको अवस्था छ,, प्रतिवादी रामप्रसाद प्यारालाइसिसको रोगी भई उपचार गर्न भारत गएको अवस्था जाहेरवाली तथा अन्य प्रतिवादीसँग भेट भएको भन्ने सम्म देखिँदा सो कुराको स्वीकारोक्ति साविति हुन नसक्ने हुँदा पुनरावेदन अदालतको फैसला उल्टी भै सफाई पाउनु पर्छ भनी बहस गर्नु भयो ।
५. पुनरावेदक प्रतिवादी अर्जुन के.सी को तर्फबाट विद्वान अधिवक्ता कमलनयन पन्तले प्रतिवादीहरू र जाहेरवाली भारतमा पक्राउ परेको वास्तविक तथ्य जाहेरीमा लुकाइएको छ, प्रतिवादीलाई फसाउने नियतबाट जाहेरी दिइएको छ, भारतको अदालतले प्रतिवादीहरूलाई सफाई दिएबाट सो कुरा पुष्टि भएको छ, जाहेरवालीलाई बेचविखन गर्ने उद्देश्यले लगेको र बेचेको भन्ने पुष्टि भएकै छैन, यदि बेचबिखन गर्न लगेको भन्ने पुष्टि भए पनि पूर्ण अपराध मान्न सकिने अवस्था छैन, भारतमा प्रहरीले प्रतिवादीहरू र जाहेरवालीलाई एकैसाथ पक्राउ गरेको छ, बेचबिखन भएकै छैन, बेच्ने उद्देश्य भएकै भए पनि उद्योगसम्म हो कि भन्ने देखिन्छ, एउटै अपराधमा भारत र नेपालमा कारवाही चलाएबाट प्रस्तुत कारवाही दोहोरो खतराको सिद्धान्त विपरीत हुँदा प्रतिवादीले सफाई पाउनु पर्छ भनी बहस गर्नु भयो ।
६. पुनरावेदक वादी नेपाल सरकारको तर्फबाट उप–न्यायाधिवक्ता कृष्णप्रसाद पौडेलले प्रतिवादीहरूले एकै कसूरमा २ पटक सजाय पाएको भन्ने देखिन्न, भारतमा र नेपालमा पृथक पृथक कसूरको अभियोगमा मुद्दा चलेको हो, आफुलाई बिक्री गरेको भन्ने किटानी जाहेरी परी सोही अनुरूप जाहेरवालीको बकपत्र भएको छ, जाहेरवालीलाई बिक्री गरेकोमा प्रतिवादीहरू अनुसन्धान अधिकारी समक्ष सावित भएका छन्, सो बयान इच्छा विरुद्ध गराइएको भन्ने पुष्टि हुन सकेको छैन, जाहेरवाली र प्रतिवादी आकाश लामा लोग्नेस्वास्नी भनिए पनि सो जाहेरवालीलाई भारतमा लैजाने माध्यम बनाइएको भन्ने देखिन्छ, विवाहको प्रलोभनमा भारतमा बिक्री गर्न लगिएको अवस्थामा प्रतिवादी जाहेरवालीको अभिभावक हुन सक्दैनन्, जाहेरवाली माइती नेपालको सहयोगमा नेपाल फर्किएकी र जाहेरी दिएका हुन्, जाहेरी दिने समय किटान गरिएको छैन, जिउ मास्ने बेच्ने ऐनको दफा १२ ले प्रमाणको भार प्रतिवादीमा राखेकोमा बेच्न नलगेको भन्ने कुरा प्रतिवादीले पुष्टि गर्नु पर्छ, सो पुष्टि भएको छैन, प्रतिवादीहरूको कसूर स्थापित भएको छ, कसूर स्थापित भए पछि कैदको साथै जरिवाना गर्दा विगो बमोजिम नै जनही गर्नुपर्नेमा दामासाहीले गरिएको हुँदा दामासाहीले जरिवाना गरेको हदसम्म पुनरावेदन अदालतको फैसला नमिलेकोले विगो बमोजिम नै सबै प्रतिवादीलाई जनही जरिवाना हुनुपर्छ भनी गर्नु भएको बहस समेत सुनियो ।
७. पुनरावेदकको पुनरावेदन जिकिर एंवम विद्वान कानून व्यवसायीहरूको बहस जिकिर समेतलाई मध्यनजर राखी इन्साफ तर्फ विचार गर्दा प्रतिवादीहरू मिलन भन्ने आकाश गुरुङ, रुपा राई, हर्क बहादुर सुनार, रामप्रसाद सिटौला, सोनाम गुरुङ र अर्जुन के.सी. समेतले जाहेरवालीलाई भा.रु.५०,०००।– मा भारतको पुनामा लगी बिक्री गरेको भनी जिउ मास्ने बेच्ने कार्य (नियन्त्रण) ऐन, २०४३ को दफा ४(क) को कसूर अपराधमा सोही ऐनको दफा ८(१) बमोजिम सजाय गरी दफा ८(५) बमोजिम थप सजाय गरिपाऊँ भन्ने समेत अभियोग पत्र रहेको प्रस्तुत मुद्दामा निम्न प्रश्नहरूको निरूपण गर्नुपर्ने हुन आयो ।
१) प्रस्तुत मुद्दामा दोहोरो खतराको सिद्धान्त आकर्षित हुने हो होइन ?
२) अभियोग दावी बमोजिम प्रतिवादीहरूले कसूर अपराध गरेको ठहराएको पुनरावेदन अदालतको फैसला मिलेको छ छैन ?
८. पहिलो प्रश्नको सन्दर्भमा विचार गर्दा दोहोरो खतराको सिद्धान्त सम्बन्धमा नेपाल कानुनमा के कस्तो व्यवस्था रहेको छ, यस सम्बन्धमा दुष्टिगत गर्नुपर्ने हुन आयो । दोहोरो खतराको सिद्धान्त (Principle of Double Jeopardy) फौजदारी कार्यवाहीमा महत्वपूर्ण सिद्धान्तको रूपमा रहेको छ ।
९. एउटै तथ्यको अपराधमा अपराधीलाई एक पटक भन्दा बढी मुद्दा नचलाइने विधिशास्त्रीय विकासलाई अक्सर धेरै राष्ट्रले स्विकारेको अवस्था छ । लिखित संविधान भएका कतिपय राज्यले आफ्नो संविधानमा यो सिद्धान्तलाई उचित स्थान दिएको पाईन्छ । स्पष्ट कानुनी व्यवस्थाको अभावमा पनि दोहारो खतराको सिद्धान्त अन्तर्गत फौजदारी कारवाहीमा कार्याविधीगत प्रतिरक्षा (Procedural Defence) को स्थान ग्रहणगर्न सक्ने हुन्छ । यो प्रतिरक्षामा कसूर वा अभियोग लगाईएको कसूरमा पहिले नै मुद्दा चलाई सफाई पाई सकेको (Autrefois acquit) वा कसूर वा अभियोग लगाईएको कसूरमा पहिले नै दोषी भई सकेको (Autrefois convict) हुनु अनिवार्यहुन्छ । तसर्थ, यो सिद्धान्तले कुनै पनि व्यक्ति जसलाई कुनै खास फौजदारी कार्यवाहीमा पहिले मुद्दा चलाई सफाई दिइएको होस वा दोषी ठहराई सजाय दिइएको होस, पुनः सोहि विषयमा अनुसन्धान तहकिकात शुरु गर्नु मुद्दा चलाउनु न्यायको रोहमा उपयुक्त हुँदैन । एउटै फौजदारी अपराधका सम्बन्धमा एक पटक भन्दा बढी अनुसन्धान तहकिकात भै मुद्दा चल्न सक्ने अवस्थालाई दाहोरो खतराको सिद्धान्त (Principle of Double Jeopardy) ले सुरक्षा प्रदान गर्दछ । सक्षम अदालतबाट एकपटक फौजदारी कारवाही अन्तिम भएपछि पुनः सोही विषयमा सोही व्यक्ति उपर मुद्दा चलाई सजाय गर्न राज्य विवन्धित हुन्छ । त्यसैले यो सिद्धान्तलाई वैयक्तिक अधिकारको रक्षकको रूपमा पनि लिईन्छ । एउटै कसूरको अभियोगमा पटक पटक अनुसन्धान तहकिकात गरी मुद्दा चलाउँदै जाने हो भने राज्यको फौज्दारी न्याय प्रणाली न्याय अनुकूल नभै आतंकपूर्ण हुन सक्ने खतरा रहन्छ । नागरिकलाई यस अवस्थाबाट जोगाउन, एउटा अपराधमा एकपटक भन्दा बढी सजायको अवस्था सृजना हुन नदिन र साथै र फौज्दारी मुद्दाको अन्त्य (Finality of the Case) लाई यो सिद्धान्तले अंगालेको छ ।
१०. दोहोरो खतराको सिद्धान्त (Principle of Double Jeopardy) लाई फौजदारी कार्यवाहीमा स्थापित सिद्धान्त मानिए तापनि यसलाई राज्यको आफ्नो कानुन प्रणालीमा आ–आफ्नै ढंगले स्थान दिइने हुँदा यसको प्रयोग हरेक राज्यमा समान रूपले हुन्छ भन्न सकिन्न । बेलायती फौज्दारी कानुन प्रणालीमा Criminal procedure and Investigations Act, 1996 ले यो सिद्धान्तको अपवादलाई स्विकार गरी jury का सदस्यहरू (jurors) वा साक्षीलाई हस्तक्षेप गरी वा दवाव (Intimidation) मा पारी कसूरबाट भएको रिहाई दुषित (Tainted) भएको पत्ता लागेमा त्यस्तो निर्णय रद्द (Quash) गरी पुनः कारवाही चलाउन पाउने व्यवस्था गरेको देखिन्छ । त्यस्तै Criminal Justice Act, 2003 ले गहन अपराध (Serious offence) का मुद्दामा सफाई पाएको विरुद्ध नयाँ र विश्वासिलो प्रमाण (New and compelling evidence) प्राप्त भएमा सफाई पाएको निर्णय रद्द गरी पुनः कारवाही गर्न Court of Appeal ले आदेश गर्न सक्ने व्यवस्था गरी केही खास अवस्थामा दोहोरो खतराको सिद्धान्तको अपवादलाई कानुनमा स्थान दिइएको पाइन्छ । हाम्रो देशको कानुन प्रणालीलाई अवलोकन गर्दा तत्कालीन नेपाल अधिराज्यको संविधान, २०४७ को धारा १४ को फौज्दारी न्याय सम्बन्धी हक अन्तर्गत उपधारा (१) मा तथा वर्तमान नेपालको अन्तरिम संविधान, २०६३ को धारा २४ को उपधारा (४) मा “तत्काल प्रचलित कानूनले सजाय नहुने कुनै काम गरे वापत कुनै व्यक्ति सजायको भागी हुने छैन र कुनै पनि व्यक्तिलाई कसूर गर्दाको अवस्थामा प्रचलित कानूनमा तोकिए भन्दा बढी सजाय दिईने छैन” भन्ने उल्लेख भई कानुनले तोकेको कार्य मात्र कसूर हुने र कानुनले तोके बमोजिम मात्र सजाय हुने भन्ने सर्वमान्य फौज्दारी न्यायका सिद्धान्तहरूलाई स्थान दिईएको पाईन्छ । नेपाल अधिराज्यको संविधान २०४७ को धारा १४ को उपधारा २ मा “कुनै पनि व्यक्तिउपर अदालतमा त्यसै कसूरमा एक पटक भन्दा बढी मुद्दा चलाईने र सजाय गरिने छैन” भन्ने उल्लेख भएको र सोही व्यवस्थालाई वर्तमान नेपालको अन्तरिम संविधान, २०६३ को धारा २४ को उपधारा ६ मा स्थान दिईएको छ । नेपाल कानुन व्याख्या सम्बन्धी ऐन, २०१० को दफा २(थ) अनुसार “कसूर” शब्दले “प्रचलित कानुन बमोजिम गरेमा वा नगरेमा सजाय हुने कार्य सम्झनु पर्छ ” भन्ने उल्लेख भएको र सोही ऐनको दफा २(ड) मा “नेपाल कानुन” शब्दले नेपाल ऐन वा नेपालको कुनै भागमा कानुन सरह लागू हुने ऐन, सवाल, नियम, आदेश वा उप–नियम सम्झनु पर्छ” भनी परिभाषित गरेबाट संविधानमा प्रयोग भएको प्रचलित कानुनले नेपाल कानुनलाई समेटेको अवस्था देखिन आएपछि राज्यले एउटै कसूरमा एक पटक भन्दा बढी मुद्दा नचलाउने र सजाय नदिने प्रतिबद्धता व्यक्त गरी Double Jeopardy को सिद्धान्तको अवधारणालाई कानुनमा स्थान दिएको अवस्था छ ।
११. प्रस्तुत मुद्दामा प्रतिवादीहरू उपर भारतमा मुद्दा चलाएकै विषयमा नेपालमा पनि मुद्दा चलाई सजाय दिइएको हुँदा संविधानले प्रत्याभूत गरेको दोहोरो खतरा विरुद्धको हक उल्लंघन भएको भन्ने प्रश्न उठेको पाइयो । प्रतिवादी रामप्रसाद सिटौला समेतका अन्य व्यक्तिहरूलाई भारतीय दण्ड संहिता (The Indian Penal code) १८६० को दफा ३६३, ३६६–B र ३७३ सँग दफा ३४ विपरीतको अभियोगमा कारवाही चलेको भन्ने ३०।८।२००२ मा निर्णय भएको District and Sessions Court Pune को मिसिल संलग्न फैसलाको प्रमाणित छाँयाप्रतिबाट देखियो । उक्त दण्ड संहिताको दफा ३६३ मा कानूनी संरक्षकत्वबाट बञ्चित गर्ने सम्बन्धी, दफा ३६६–द्य मा अन्य मुलुकबाट २१ वर्ष मुनिका केटीलाई अरु व्यक्तिसँग गैर कानूनी शारीरिक सम्बन्ध गराउनको लागि भारतमा आयात गर्ने सम्बन्धी, दफा ३७३ मा १८ वर्ष मुनिका व्यक्तिलाई वेश्यावृती लगायतका उद्देश्यको लागि खरिद गर्ने, भाडामा लिने वा कब्जामा लिने सम्बन्धी र दफा ३४ मा साझा अपराधिक मनशाय लिई धेरै मानिसहरूले काम गरेमा सबैले समानरूपले व्यक्तिगत रूपमा दायीत्व ब्यहोर्नु पर्ने भन्ने कुरा उल्लेख भएको देखियो । प्रतिवादीहरू उपर नेपालमा जिउ मास्ने बेच्ने कार्य (नियन्त्रण) ऐन, २०४३ को दफा ४(क) को मानिस बेच विखन गरेको भन्ने कसूरको अभियोगमा कारवाही चलाएको भन्ने देखियो । मानिसको बेच बिखन गर्ने कार्य भन्नु र कानुनी संरक्षकत्वबाट बञ्चित गर्ने, गैरकानुनी शारीरिक सम्बन्धका लागि भारतमा आयात गर्ने तथा वेश्यावृतिका लागि खरिद गर्ने भन्ने विषय नितान्त फरक देखिएबाट भारतमा र नेपालमा कारवाही चलाएको अभियोगको कसूर समान प्रकृतीको भन्ने देखिन आएन ।
१२. जिउ मास्ने बेच्ने कार्य (नियन्त्रण) ऐन, २०४३ को दफा २ को “ऐनको बहिक्र्षेत्रिय प्रयोग” सम्बन्धी कानुनी व्यवस्थामा “कसैले यो ऐन बमोजिम सजाय हुने कसूर नेपाल अधिराज्य बाहिर बसी गरेको भए तापनि निजले त्यस्तो कसूर नेपाल अधिराज्य भित्र बसी गरे सरह मानी निजलाई यस ऐन बमोजिम कारवाई र सजाय हुनेछ” भन्ने उल्लेख भएको देखियो । ऐनमा प्रयोग भएको बहिक्र्षेत्रिय शब्दले राज्यको भौगोलिक सिमा (Territorial area) मात्र नसमेटी राज्यको सिमा बाहिर पनि जिउ मास्ने बेच्ने कार्य (नियन्त्रण) ऐन, २०४३ को कसूरलाई स्पष्ट रूपमा समेटेको छ । नेपालको कानुन विपरीतको अपराधमा विदेशमा विदेशी अदालतले नेपालको कानुन बमोजिम सजाय दिने अवस्था रहँदैन । भारतीय दण्ड संहिता नेपाल अधिराज्य भित्र लागू हुने नेपालको कानुन नभएको हुँदा भारतमा भारतीय कानुन बमोजिम कारवाही चलेको अवस्थालाई नेपालको कानुन बमोजिम कारवाही चलेको भन्न मिल्ने देखिँदैन । भारतमा कारवाही चलेको मुद्दा र प्रस्तुत मुद्दा एउटै प्रकृतीको समेत नदेखिँदा संविधानले प्रत्याभुत गरेको “कुनै पनि व्यक्ति उपर अदालतमा त्यसै कसूरमा एक पटक भन्दा बढी मुद्दा चलाउने र सजाय गरिने छैन” भन्ने प्रावधान प्रस्तुत मुद्दामा आकर्षित हुन सक्ने देखिएन ।
१३. अब दोश्रो प्रश्नको सन्र्दभमा विचार गर्दा प्रतिवादी आकाश भन्ने मिलन गुरुङले बिहे गर्छ्रु भनी विभिन्न ठाउमा डेरा गरी राखी कपडा किन्न जाने भनी झुक्याई प्रतिवादीहरू समेतले भारतको दिल्ली, बम्बै हुदै पुनामा भा.रु.५०,०००।– मा बिक्री गरेको भन्ने जाहेरीमा उल्लेख भएको पाइएको र अदालतबाट प्रमाणित भएको बयानमा समेत जाहेरवालीले सोही ब्यहोरा उल्लेख गरेको देखियो । जाहेरवालीले अदालतमा बकपत्र गर्दा समेत जाहेरी ब्यहोरालाई समर्थन जनाएको समेत पाइयो । प्रतिवादीहरू मिलन भन्ने आकाश गुरुङ, अमित भन्ने हर्क सुनार, अर्जुन के.सी, अमर भन्ने सोनम गुरुङ, रामप्रसाद सिटौला र रुपा राईलाई चिनी निजहरू नै जाहेरीमा उल्लेखित प्रतिवादीहरू हुन् भनी जाहेरवालीले सनाखत गरेको पनि पाईयो । प्रतिवादी मिलन भन्ने आकाश गुरुङले अनुसन्धान अधिकारी समक्ष बयान गर्दा २०५८ बैशाख २५ गते जाहेरवाली अनिता भट्टराईलाई विवाह गर्छु भनी होटलमा २ दिन राखि भक्तपुरको सुर्य विनायक, ठीमी, कोटेश्वर जडिबुटी नजिक समेतमा डेरामा राखी दशैं आउन लाग्यो, नेपाल भारत सिमानामा राम्रो सस्तो कपडाहरू पाइन्छ भनी जाहेरवाली लगायतका अन्य केटीहरूलाई पनि लगी पक्राउ परेका प्रतिवादीहरू समेतले भारतको दिल्ली, बम्बई हुदै पुनामा केटी किन्ने धन्दा गराउने नेपाली अधवैंसे आइमाईलाई भा.रु.५०,०००।– बिक्री गरेको भन्ने उल्लेख गरेको र सोही बयान समर्थित हुने गरी अन्य प्रतिवादीहरू अमित भन्ने हर्क बहादुर सुनार, रुपा राई, अर्जुन के.सी, रामप्रसाद सिटौला र अमर भन्ने सोनम गुरुङले बयान गरेको देखिन्छ । अदालतमा बयान गर्दा प्रतिवादीहरूले जाहेरवालीलाई बिक्री गरेकोमा ईन्कार रही बयान गरेको देखिए पनि ईन्कारी बयान पुष्टि हुने कुनै सवूत प्रमाण प्रेषित गर्न सकेको पाईएन ।
१४. जाहेरवाली प्रतिवादी मिलन भन्ने आकाश लामाकी पत्नी भई सँगै गेम खेल्न भारत गएको अवस्था पक्राउ परेकोमा आफ्नै अभिभावकसँग भारत गएकोमा प्रमाणको भार प्रतिवादीमा नरहने र जाहेरवालीलाई बिक्री गर्न लगेकै मानिए पनि बिक्री भैसकेको नदेखिएको भन्ने प्रतिवादी तर्फका कानून व्यवसायीहरूले बहसको क्रममा उल्लेख गर्नु भएको छ । जाहेरवालीलाई प्रतिवादी मिलन भन्ने आकाश लामाले विवाह गरेको भन्नेसम्म अदालतको बयानमा उल्लेख गरेको पाइए पनि सो कुरा पुष्टि हुने कुनै विश्वासिलो प्रमाण पेश हुन आएको छैन । विवाह गर्छु भनी काठमाडौंका विभिन्न ठाउँमा कोठा सार्दै राखेको कपडा किन्ने बहानामा भारत लगी बेचेको भन्ने जाहेरी परी सोही अनुरूपको जाहेरवालीको वकपत्र समेत रहेको छ । जाहेरवालीलाई काठमाडौंबाट भारत लगिएको र निज माईती नेपाल मार्फत नेपालमा आएको भन्ने तथ्यमा विवाद छैन । एक आपसमा भावी जीवन बिताउने उद्देश्यले विवाह गरेको अवस्था भए वैवाहिक सम्बन्ध नै खलबलिने गरी आरोप लगाउनु पर्ने अवस्था समेत मिसिलबाट देखिँदैन । निज प्रतिवादीले जाहेरवालीलाई आफूसँग राखेको अवस्थामा पनि छोटो समयमा पटक पटक डेरा कोठा सार्दै राखेको भन्ने प्रतिवादीले स्वीकार गरेको समेत पाईंदा जाहेरवालीलाई निजका आफन्तले थाहा नपाऊन् भन्ने प्रतिवादीले उद्देश्य राखेको भन्ने देखिन्छ । जाहेरवाली २०४३।१२।२९ मा जन्मिएकी भन्ने मिसिल संलग्न विद्यार्थीको परिचयपत्रको छायाँप्रतिबाट देखिएको र निज कक्षा ८ मा अध्ययन गर्दै रहेको भन्ने २०६०।२।१ मा SHREE MAHAKAL J.J. SECONDARY SCHOOL, Golphutar Kathmandu बाट जारी भएको उक्त परिचयपत्रबाट देखिँदा निजलाई २०५८ सालमा प्रतिवादीले विवाहको प्रलोभन देखाई भारत लैँजादा निजको उमेर १६ वर्ष पुगेको समेत देखिँदैन । यसरी विवाह गर्छु भनी पटक पटक डेराकोठा सार्दै अवोध बालिकालाई भारत लगेको भन्ने देखिएको अवस्थामा विवाहको बहानालाई भारतमा लैजाने माध्यमको रूपमा प्रयोग गरेको अवस्था देखिँदा प्रतिवादी आकाश गुरुङ जाहेरवालीको अभिभावक भन्न मिल्ने देखिएन ।
१५. जिउ मास्ने बेच्ने कार्य (नियन्त्रण) ऐन, २०४३ को दफा ७ (१) मा “कुनै स्वास्नी मानिसलाई निजको अभिभावक वा नजिकको नातेदार बाहेक अन्य कसैले विदेश लैजान लागेकोमा बेचविखन गर्ने वा वेश्यावृत्तिमा लगाउने उद्देश्यले लगेको हो भन्ने दफा (५) बमोजिम कसैको उजुर परेमा त्यस्तो उद्देश्यले लगेको होइन भन्ने कुराको प्रमाण अभियुक्तले पुर्याउनु पर्नेछ” भन्ने उल्लेख भई उपदफा (२) मा “दफा ६ को उपदफा (२) बमोजिम अदालतद्धारा प्रमाणित बयानमा उल्लिखित कुरा झुठा हो भन्ने प्रमाण अभियुक्तले पुर्याउनु पर्नेछ” भन्ने उल्लेख भएको छ । प्रतिवादी जाहेरवालाको अभिभावक भन्ने नदेखिएको अवस्थामा उक्त कानूनमा उल्लेख भए बमोजिम जाहेरवाला अनु भन्ने अनिता भट्टराईलाई भारतमा लगी बिक्रि नगरेको भन्ने कुरा प्रमाणित गर्ने भार प्रतिवादीमा रहेको प्रष्टै छ । प्रतिवादी मिलनले पुनामा आफ्नी दिदी भनि अधवैंसे आइमाईसँग गएर बस्दै गर भनि पठाउँदा बाटामा शंका लागि सोध्दा ५० हजारमा किनेर ल्याएको हो त्यसै छाड्न मिल्दैन, कि मेरो ५० हजार ल्याउ हैन भने मेरो पैसा असुल नभएसम्म धन्दा गर्नुपर्छ भनेपछि रिक्साबाट भागेको भन्ने जाहेरवालीको जाहेरी र बयान ब्यहोराबाट देखिएको र निजलाई बिक्री नगरेको भए अनुसन्धान अधिकारी समक्ष भएको बयान तथा जाहेरवालीको अदालतमा भएको प्रमाणित बयान समेत झुठो हो भनी विश्वास गर्न सकिने आधार प्रमाणको अभावमा प्रतिवादीहरूले जीउ मास्ने बेच्ने कार्य (नियन्त्रण) ऐन, २०४३ को दफा ४(क) को कसूर अपराध नगरेको भन्न मिलेन ।
१६. वादी नेपाल सरकार तर्फबाट परेको जरिवाना दामासाहीले हुनुपर्ने भन्ने पुनरावेदन जिकिर सम्बन्धमा विचार गर्दा जिउ मास्ने बेच्ने कार्य (नियन्त्रण) ऐन, २०४३ को दफा ८ को उपदफा १ मा “मानिस बेचबिखन गर्ने व्यक्तिलाई दश वर्ष देखि बीस वर्षसम्म कैद हुनेछ” भन्ने उल्लेख भई उपदफा ५ मा “मानिस बेचबिखन गरेकोमा किन्नेको थैली भुस हुनेछ र बेच्चे व्यक्तिलाई उपदफा (१) मा लेखिएको सजायमा थप सो थैलीको बिगो बमोजिम जरिवाना समेत हुनेछ” भन्ने उल्लेख भएको पाईयो । उपदफा ५ बमोजिमको जरिवाना दफा ८(१) को सजायमा थपिने सजाय देखिएकोले उक्त सजाय थैलीको विगो भन्दा बढ्न नसक्ने भै बिगो बमोजिम नै हुने प्रष्ट व्यवस्था रहेकोले सो बिगो भन्दा बढी जरिवाना गर्न मिल्ने देखिएन । प्रस्तुत मुद्दामा प्रतिवादीहरू एक भन्दा बढी नै रहेको पाईदा बिगो बमोजिमको जरिवाना दामासाहीले हुने नै देखियो।
१७. माथि विवेचित तथ्यहरूबाट प्रतिवादीहरूले जाहेरवालीलाई भारतको पुनामा लगी भा.रु. ५०,०००।– मा बिक्री गरी जिउ मास्ने बेच्ने कार्य (नियन्त्रण) ऐन, २०४३ को दफा ४ (क) को कसूर गरेको ठहर्याई सोही ऐनको दफा ८(१) बमोजिम जनही दश दश वर्ष कैद र भा.रु.५०,०००।– को हुन आउने ने.रु. ८०,०००।– दामासाहीले जरिवाना हुने ठहर गरेको शुरु काठमाडौं जिल्ला अदालतको २०६०।८।१२ को फैसला सदर हुने ठहर्याएको पुनरावेदन अदालत पाटनको २०६२।४।२० को फैसला मिलेकै देखिँदा सदर हुन्छ । वादी प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्तैन । फैसलाको जनाउ दुवै पक्षलाई दिई दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार बुझाई दिनु ।
उक्त रायमा सहमत छु ।
न्या.राजेन्द्रप्रसाद कोइराला
इजलास अधिकृतः– दीपककुमार दहाल
इति सम्वत् २०६४ साल मंसिर २६ गते रोज ४ शुभम.........