शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ६४३७ - जिउ मास्ने वेच्ने

भाग: ३९ साल: २०५४ महिना: पौस अंक:

निर्णय नं. ६४३७              २०५४, ने.का.प.               अङ्क ९

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री केशव प्रसाद उपाध्याय

माननीय न्यायाधीश श्री भैरव प्रसाद लम्साल

सम्वत् २०५२ सालको फौ.पु.नं. ... १०७६,१०७७

फैसला मितिः २०५४।५।१६।२

 

मुद्दाः जिउ मास्ने वेच्ने ।

 

पुनरावेदक/प्रतिवादीः जिल्ला चितवनजुटपानी गाउँ विकास समिति वडा नं. ३ घर भई ऐ. भरतपुर नगरपालिका वडा नं. १ मा डेरा गरी वस्ने हाल कारागार शाखा वीरगंज  पर्सामा थुनामा रहेका कृष्ण प्रसाद पुडासैनी समेत

विरुद्ध

विपक्षी/वादीः श्री ५ को सरकार समेत

 

§  प्रतिवादीहरु रामशरण पुडासैनी तथा कृष्ण प्रसाद पुडासैनीले पार्वती राना मगरसँग मिली भारतको वम्वै पुर्‍याई विक्री गरी फर्केका र विक्री भएको ठाउँबाट भाग्न सफल भई भारतीय प्रहरीहरुको सहयोगमा नेपाल आएका भनी पिडित पक्ष इन्द्रकला श्रेष्ठ तथा शारदा थापा मगरको किटानी जाहेरी परेको देखिन्छ । उक्त जाहेरी दरखास्त तथा अनुसन्धान अधिकारी समक्ष निजहरुले गरेको वयान अदालतबाट प्रमाणित भएको छ । जिउ मास्ने वेच्ने कार्य (नियन्त्रण) ऐन, २०४३ को दफा ६(२) वमोजिम पिडित पक्षको अदालतद्वारा प्रमाणित भएका वयानमा उल्लेखित कुरा झूठ्ठा हो भनी खण्डन गर्ने तथा स्वास्नी मानिसलाई वेचविखन गर्न लगेको होइन भनी प्रमाण पुर्‍याउनु पर्ने भार उक्त ऐनको दफा ७ वमोजिम प्रतिवादी पक्षमा रहेको पाइन्छ । तर सो वमोजिम प्रतिवादीहरुले गर्न सकेको पाइदैन । जाहेरवालीहरुसँग यी प्रतिवादीको रिसइवी भई सोही रिसइवीका आधारमा जाहेरी दिएको भन्ने तथ्य पनि मिसिलबाट देखिएको छैन । प्रतिवादीहरु प्रहरीमा कागज गर्दा जाहेरवालीहरुलाई वम्वैमा लगी विक्री गरेकोमा सावित भएको छन् । अदालतमा वयान गर्दा प्रतिवादी कृष्ण प्रसाद कसुरमा इन्कार रहे पनि शारदा थापा मगरलाई श्रीमती तुल्याई भारतको भिवन्डी भन्ने ठाउमा लगेको कुरामा सावित छन् । सो ठाउँमा आफूले शारदा थापालाई किन एक्लै छोडी आए सो को उपयुक्त कारण एवं आधार निजले खुलाउन सकेको पाइदैन । जेठी स्वास्नीसँग झगडा भएकोले फर्की आई सोही रिसइवीले जाहेरी दिएको हो भनी प्रतिवादी कृष्ण प्रसादले वयान गरेको पाइयो । तर सो कुरा तथ्य साथ पुष्टि भएको छैन । तसर्थ पिडित पक्षको जाहेरी र सो जाहेरीका समर्थन हुने गरी अदालत समक्ष भएको प्रमाणित वयानलाई प्रतिवादीले अन्यथा प्रमाणित गर्न नसकेको र प्रतिवादीहरुको प्रहरी समक्षको वयान उल्लेखित आधारबाट पुष्टि भइरहेकोले अन्यथा भन्न सकिने अवस्था नहुँदा पुनरावेदक प्रतिवादी कृष्ण प्रसाद पुडासैनी तथा रामशरण पुडासैनीलाई जिउ मास्ने वेच्ने कार्य (नियन्त्रण) ऐन, २०४३ को दफा ८(१) वमोजिम कैद वर्ष १५ (पन्ध्र) गर्ने गरेको शुरु चितवन जिल्ला अदालतको फैसला सदर गरेको श्री पुनरावेदन अदालत हेटौडाको फैसला मिलेको देखिंदा सदर हुने ।       

(प्र.नं. २३)

 

पुनरावेदक प्रतिवादी तर्फबाटः  विद्वान अधिवक्ता श्री नारायण प्रसाद घिमिरे

विपक्षी वादी तर्फबाटः विद्वान वरिष्ठ सरकारी अधिवक्ता श्री कृष्णराम श्रेष्ठ

अवलम्वित नजिरः

 

फैसला

            न्या.भैरव प्रसाद लम्सालः पुनरावेदन अदालत हेटौडाको फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ख) बमोजिम प्रतिवादीहरुको छुट्टाछुट्टै पुनरावेदन परी पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार छः

            २. हामी जाहेरवाला हरुलाइ मिति ०५०।४।१५ गते नारायणघाटबाट बस चढाइ किसन भन्ने कृष्ण प्साद पुडासैनी निजको काका राम कृष्ण पुडासैनी र पार्वती राना मगरलाई वीरगंज रक्सौल पुर्‍यार्इ पार्वती फर्किएकी र कृष्ण प्रसादले र रामशरणले त्याहाबाट मोटर रेल चढी भारत बम्बै पुर्‍यार्इ विक्री गरी फर्केका र हामी जाहेरवालाहरु विक्रि भएको ठाउँबाट भाग्न सफल भइ भारतीय प्रहरीको सहयोग पाइ नेपाल अड्डा सार भइ आएकोले हामीलाइ ललाइ फकाइ लगी विक्रि गर्न उल्लेखित व्यक्तिहरु उपर कानून बमोजिम जिउ मास्ने बेच्नेमा कारवाही गरी पाउँ भन्ने समेत व्यहोराको इन्द्रकला श्रेष्ठ र शारदा थापा मगरको संयुक्त जाहेरी दरखास्त-पत्र ।

            ३. मैले र पती भक्तलालले नारायणघाट जिल्ला चोकमा सानौ होटल गरी बसि आएका थिए। सो होटलमा कृष्ण प्रसाद पुडासैनी चिया नास्ता गर्न वारम्बार आउँथे । त्यसैले चिनजान भएको हो । मलाई लोग्नेले रक्सि खाइ कुटपिट गर्ने हुदा निज कृष्ण प्रसादले मलाई भारत तिर म सँग हिड म तिमिलाई राम्रो नोकरी लगाइ दिन्छु भनी फकाएकोले निज चिनजानको मानिस हुदा विश्वास मानी जान मन्जूर भइ मिति २०५०।४।१५ गते निजले बोलाएको ठाउँ पोखरा जाने बसपार्कमा पुगी सोही ठाउँबाट म शारदा थापा, कृष्ण प्रसाद, राम शरण, पार्वती थापा मगर र निजको छोरा बस चढी विरगंज पुगीयो त्यहाँ हामीलाई लजमा एक रात राखी भोलीपल्ट रक्सौल लगे र रक्सौल गएपछि पार्वतीका आमा छोरा फर्कि राम शरण र कृष्ण प्रसादले वस तथा रेल चढाई वम्वे भन्ने ठाउँमा पुर्‍याई एउटा लजमा राखेपछि त्यहा एउटा नेपाली लोग्ने मानिस र आईमाईलाई ल्याइ राम शरण र कृष्ण प्रसादले हामी केटीहरुलाई तिनीहरुकै साथमा ट्याक्सी चढाइ पठाए । हामी पछि आउँछौ भनेको थिए तर निजहरु नआएको र हामीलाई लगेको ठाउ वेश्या कोठी भएको थहा पाई हामी दुइ केटी माथि प्रहरीको मद्दत लिई नेपाल आएका हो भन्ने चन्द्रकला श्रेष्ठको अनुसन्धान अधिकारी समक्ष भएको वयान कागज ।

            ४.    कृष्ण प्रसादले मलाई म सँग विवाह गर्ने भनी विश्वास दिलाई स्वास्नी वनाई केही दिन पार्वतीको डेरामा राखी अव भारततर्फ जाउ भनी मिति २०५०।४।१५ गते वस चढाइ वीरगंज हुँदै रक्सौल लगी रेल चढाउदै वम्वै लगी एउटा नेपाली लोग्ने मानिस र एउटा आइमाइको साथमा विक्री गरी निजहरु भागि आएका हुन मलाई र इन्द्रकलालाई साथै लगेको र लैजादा रक्सौल सम्म पार्वती रानामगर गएको वम्वै सम्म कृष्ण प्रसाद र रामशरण साथै गएका हुन भन्ने समेत व्यहोराको शारदा थापा मगरले अनुसन्धान अधिकरी समक्ष गरेको वयान कागज ।

            ५.    हामीलाई वम्वै लगि विक्री गर्ने यिनै हुन भनी राम शरण र कृष्ण प्रसादलाई जाहेरवालाहरुले सनाखत गरेको कागज ।

            ६.    कृष्ण प्रसाद पुडासैनी पहिला पनि मेरो डेरामा दिदी भन्दै आइ रहने भएकोले मैले भाइ जस्तै मान्दै आइ रहेको थिए । एकदिन निजले एउटा केटीलाई साथमा लिई मेरो डेरामा आए र सो मेरो स्वास्नी हो केहि दिन वस्न देउ भने ४, ५ दिन वसेपछि केटीहरुलाई वम्वै लानु छ अप्ठ्यारो हुन्छ तपाइ पनि रसौल सम्म जाउ भनेकोले राम शरण र कृष्ण प्रसादको साथ शारदा र इन्द्रकलालाई लिई रक्सौल सम्म पुर्‍यार्इ फर्केकि हु भन्ने समेत व्यहोराको प्रतिवादी पार्वती रानामगरले अनुसन्धान अधिकारी समक्ष गरेको वयान ।

            ७.    कृष्ण प्रसादले एउटा केटी लिएर आइ ४, ५ दिन पछि कोठामा राखी मेरो श्रीमती समेत भइ रक्सौल जान्छौ भनी गएको हुन भन्ने समेत व्यहोराको कृष्ण बहादुर राना मगरले प्रहरीमा गरेको वयान कागज ।

            ८.    वेच्ने उद्देश्यले शारदा थापा मगरलाई स्वास्नी वनाइ इन्द्रकलालाई भारत वम्वै लगि दिन्छु भनी पार्वती मगरको मद्दत लिइ म र काका रामशरणले दुवै केटीलाई भारत वम्वै लगि वस्नेत, वस्नेतनीको कोठामा भा रु.१० हजार दरले विक्री गरी हामी काका भतिजाले १०,१० हजार रुपैया वाडेको हो भन्ने समेत व्यहोराको प्रतिवादी किसन भन्ने कृष्ण प्रसाद पुडासैनीले अनुसन्धान अधिकरी समक्ष गरेको वायन कागज ।

            ९.    जाहेरवालाहरुलाई वेच्ने उद्देश्यले पार्वती रानामगरको मद्दत लिइ भतिजो कृष्ण प्रसाद र मैले भारतको वम्वैमा लगि वैश्याकोठीमा रु.१०,१० हजारमा विक्री गरी फर्कि आएका हौं भन्ने समेत व्यहोराको प्रतिवादी रामशरण पुडासैनीले अनुसन्धान अधिकरी समक्ष गरेको वयान कागज ।

            १०.    मिति २०५०।४।१५ गते मेरो श्रीमती हराएकी थिइन पछि भारत वम्वैबाट फर्कि अड्डासारमै म र शारदा थापालाई राम शरण र कृष्ण प्रसादले भारत वम्वै लगि विक्री गरेको थिए भागी आएका हो भनेकोले निजहरुलाई ललाइ फकाइ निजहरुले वम्वै लगि विक्री गरेको हो रहेछ भन्ने इन्द्रकला श्रेष्ठको प्रहरीमा भएको वयान कागज ।

            ११.    मैल रामशरण पुडासैनीलाई तिनवटा आइमाईको साथमा वीरगंजमा रिक्सा, टांगा चढन लाग्दा भेटेको हुँ कहा जान लागेको भनि कृष्ण प्रसादलाई सोध्दा बम्वै जान लागेको हो भनि भनेका थिए भन्ने राम वहादुर तामाङको प्रहरीमा गरेको वयान ।

            १२. रामशरण र कृष्ण प्रसाद पुडासेनीले जाहेरवालाहरुलाई भारतको वम्वै लगी वेचेको कुरा निजहरुलाई कोठीवाट भागी फर्कि आएपछी भनि हिड्दा थाहा पाएका हो त्यो भन्दा अघि पनि रामशरण र कृष्ण प्रसाद उपर केटी वेच्न लैजान लाग्दा प्रहरीले पक्राउ गरेको रहेछ भन्ने घटनास्थल वरिपरिका कागज मानिसहरुको कागज

            १३.   पिडित केटी चन्द्रकला श्रेष्ठ र शारदा थापा मगरलाई प्रतिवादी किसन भन्ने कृष्ण प्रसाद पुडासैनी र रामशरण पुडासैनीले प्रतिवादी पार्वती राना मगरलाई रक्सौल सम्मसँग साथमा लगि गई वोर्डर पठाई त्यसपछि पार्वतीलाई फक्रि प्रतिवादी कृष्ण प्रसाद र राम शरण पुडासैनीले पिडीत केटीहरुलाई भारत वम्वै लगी विक्री गरेको कुरा पुष्टि हुन आएकोले निज प्रतिवादी कृष्ण प्रसाद पुडासैनी र रामशरण पुडासैनीले इन्द्रकला श्रेष्ठ र शारदा थापा मगरलाई भारत वम्वैमा विक्री गरेको हुँदा निज कृष्ण प्रसाद पुडासैनी र रामशरण पुडासैनीको हकमा जिउमास्ने वेच्ने कार्य नियन्त्रण ऐन, २०४३ को दफा ४ को देहाय (क) को कसुर गरेकोमा ऐ. ऐनको दफा ८(१) र ८(२) वमोजिमको हदैसम्म सजांय हुने र केटी वेच्ने कार्यमा सहयोग पुर्‍याउने तथा दुरुत्साहन गर्ने प्रतिवादी पार्वती राना मगरलाई सोही ऐनको दफा ५ को देहाय (घ) को कसुरमा ऐ. ऐनको दफा ८(४) अनुसार संजाय गरी पाउँ भन्ने समेत व्यहोराको अभियोग पत्र दावी ।

            १४. मिति २०५०।४।१५ गते म नारायणघाटको घर डेरामा थिएं । जाहेरवाला हरुलाई मैले देखे चिनेको छैन । इन्द्रकला र शरद थापाले अनुसन्धान अधिकारी समक्ष गरेको कागज सवै झूठा हो । अन्त जिउमास्ने वेच्ने मुद्दा छैन यस अदालतबाटउर्मिला थापाको जाहेरीले हामी समेतलाई प्रतिवादी बनाएको मुद्दा चल्दै छ । अभियोग दावी अनुसार मैले कसुर गरेको छैन भन्ने समेत व्यहोराको प्रतिवादी रामशरण पुडासैनीले शुरु जिल्ला अदालतमा गरेको वयान ।

            १५. मिति २०५० साल साउन १५ गते म चितवन नारायणघाट रक्सोल हुँदै भारतको भिवण्डा भन्ने ठाउँमा गएको थिए । ऐजन १९ गते सो ठाउँबाट फर्कि नारायणघाट डेरामा आएको हुँ । सो ठाउँमा जांद्या म र मेरो श्रीमती शारदा पुडासैनी गएका थियौ । सो ठाउँमा पहिला ५ वर्ष वसेको हुँदा नोकरी गर्ने उद्देस्यले गएको थिए । मैले शारदा थापालाई स्वास्नी बनाई भारत नोकरी गर्ने ठाउँमा लगेको हो । विक्रि गरेको होईन । चन्द्रकला भारत म सँग एकै ठाउँमा काम गर्ने राम वहादुर पाख्रीन भन्ने मानिसले श्रीमती बनाई लगेको हो भनि भनेको थिए. अभियोग दावी झूठा हो भन्ने समेत व्यहोराको प्रतिवादी कृष्ण प्रसाद पुडासैनीले यस शुरु जिल्ला अदालतमा गरेको वयान ।

            १६. म रक्सौलसम्म गएको छैन टाढा भाइलाई भेटन गएको कृष्ण पसाद नारायणघाट सहिद चोकबाट चढेको निज अर्को सिटमा  रहेछन । निज कृष्णलाई  सोध्दा उतै जाने भने टांडीमा ओर्लिए निज ओर्लिनन् अर्को मोटो पुडासैनीलाई चिन्दिन जाहेरवाली इन्द्रकला र शारदा थापालाई मैले चिनेको छैन । शारदा थापालाई मेरो घरमा राखेको पनि छैन मेरो केही गल्ती छैन गल्ती नहुँदा दावी वमोजिमको संजाय हुनुपर्ने होइन भन्ने समेत व्यहोराको पार्वती रानामगरले शुरु जिल्ला अदालतमा गरेको वयान ।

            १७. प्रतिवादी कृष्ण प्रसाद  पुडासैनी र रामशरण पुडासैनीको साक्षी लक्ष्मण नेपालीको वकपत्र भइ मिसिल संलग्न भएको रहेछ ।

            १८. जाहेरी दरखास्त र निजहरुले अनुसन्धान अधिकारी समक्ष गरेको शुरु जिल्ला अदालतबाट प्रमाणित भएको वयान कागज तथा सनाखत कागज समेतका आधार प्रमाणबाट प्रतिवादीहरुलाई निर्दोष मान्न मिलेन । प्रतिवादी रामशरण र कृष्ण प्रसादले जाहेरवालीहरुलाई जिउ मास्ने  बेच्ने कार्य (नियन्त्रण) ऐन, २०४३ को दफा ६ (क) विरुद्ध भारतमा लगेर विक्रि गरेको ठर्हछ र अर्कि पार्वती रानामगरले उक्त ऐनको दफा ४(क) विरुद्ध मानिस विक्रि गर्न सहायोग गरेको ठहर्छ । उक्त ऐनको दफा ८(१) बमोजिम प्रतिवादीहरु रामशरण र कृष्ण प्रसादलाई १५   (पन्ध्र) वर्षका दरले कैद र अर्कि प्रतिवादी पार्वतीलाई उक्त ऐनको दफा ८(४) वमोजिम २ वर्ष कैद हुन्छ भन्ने समेत शुरु चितवन जिल्ला अदालतको मिति २०५१।२।४ गतेको फैसला ।

            १९.    पुनरावेदक प्रतिवादीहरुलाई जाहेरवालाहरुको अनाहकमा जीउ मास्ने वेच्ने कसुर जस्तो जाहेरीमा दिनु पर्ने त्यस्तो कुनै रिसइवी भएको पनि देखिएन । साथै प्रहरीमा कागज गर्दा एक आपसमा पोल गरेको कुरालाई अन्यथा भन्न सकेको नपाइएकोले पुनरावेदक प्रतिवादीहरुले पुनरावेदन जिकिर वमोजिम जीउ मास्ने वेच्ने कार्य नगरेको भनी भन्न सकिने अवस्था देखिएकोले शुरुबाट मिति २०५१।२।४ मा पुनरावेदक प्रतिवादीहरुले जीउमास्ने वेच्ने (नियन्त्रण) ऐन, २०४३ को दफा ४क को कसुर गरेको ठहर गरी सोही ऐनको दफा ८(१) र ८ (५) वमोजिम सजाय हुने ठहर्‍याएको इन्साफ मिलेकै हुँदा सदर हुने ठहर्छ । प्रतिवादीहरुको पुनरावेदन जिकिर पुग्न सक्दैन । भन्ने समेत व्यहोराको पुनरावेदन अदालत हेटौडाको फैसला ।

            २० पुनरावेदन अदालत हेटौडाले पुनरावेदकलाई संजाय गर्ने गरी गरेको फैसला त्रुटीपूर्ण र कानून प्रतिकूल हुँदा वदर गरी अभियोगबाट सफाई पाउँ भन्ने समेत व्यहोराको प्रतिवादी रामशरण प्रसाद पुडासैनी तथा कृष्ण प्रसाद पुडासैनीको छुट्टाछुट्टै यस अदालतमा पर्न आएको पुनरावेदन पत्र ।

            २१. यसमा पुनरावेदक प्रतिवादी मध्येका रामशरणले अदालतमा गरेको इन्कारी वयान निजको साक्षी लक्ष्मी नेपालीले समर्थन गरी बकि दिएको प्रतिवादी कृष्ण प्रसादले अदालतमा वयान गर्दा आफू र आफ्नी श्रीमती भनिएको जाहेरवाली शारदासंगै गएको प्रतिवादी रामशरण भारत बम्बै गएको नभनेको ३-८-१९९३ को वम्वै रेलवे पुलिश स्टेशनको पत्रमा टिकट पैसा व्याग हराएको भन्ने उल्लेख भएको समेतबाट आरोपित कसुर गरेको भन्ने कुराको शंका विहिन तवरबाट प्रमाणित नभएको हुँदा पुनरावेदन अदालत, हेटौंडाले कसुरदार ठहर्‍याई गरेको शुरु फैसला सदर गरेको इन्साफ मिलेको नदेखिदा अ.वं २०२ नं. वमोजिम छलफलको लागि महान्यायाधिवक्ताको कार्यालयलाई झिकाई आएपछि नियमानुसार पेश गर्नु भन्ने यस अदालतको आदेश ।

            २२. नियम वमोजिम पेशी सुचिमा चढी इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादी तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री नारायण  प्रसाद घिमिरेले मेरो पक्षहरु अदालतमा वयान गर्दा कसुरमा इन्कार रहेका छन । वम्वै रेल्वे पुलिश स्टेशनले जाहेरवालीहरुको टिकट र पैसा हराएको भनि पत्र लेखेको हुँदा पुनरावेदकहरुले नै जाहेरवालीहरुलाई वम्वै पुर्‍याएको भन्ने कुरा प्रमाणित हुन सक्ने अवस्था छैन । तर्सथ अभियोगबाट सफाई पाउनु पर्छ भनि वहस प्रस्तुत गर्नुभयो । वादी श्री ५ को सरकारतर्फबाट उपस्थित विद्वान वरिष्ठ सरकारी अधिवक्ता श्री कृष्णराम श्रेष्ठले जाहेरवालीले दिएको जाहेरी तथा अदालत समक्ष भएको निजको प्रमाणीत वयान प्रतिवादी उपर किटानी  पोल परेको छ उक्त कुराको खण्डन गर्ने भार जिउ मास्ने वेच्ने कार्य (नियन्त्रण) ऐन, २०४३ वमोजिम प्रतिवादी पक्षमा रहने हुँदा प्रतिवादीबाट उक्त जाहेरी र वयानको खण्डन हुने प्रमाण पेश गर्न नसेको हुँदा शुरु तथा पुनरावेदन अदालतको फैसला कायमै राखी पाउँ भनि वहस जिकिर प्रस्तुत गर्नुभयो ।

            २३. यसमा पार्वती रानामगर समेतको संलग्नतामा  प्रतिवादी कृष्ण प्रसाद पुडासैनी तथा राम शरण पुडासैनीले जाहेरवालीहरुलाई विदेश भारतमा लगी विक्रि गरेको हुँदा प्रतिवादीहरु रामशरण र कृष्ण प्रसादलाई जिउ मास्ने वेच्ने कार्य नियन्त्रण ऐन, २०४३ को दफा ८(१) र ८(५) वमोजिम र प्रतिवदी पार्वती रानामगरलाई उक्त ऐनको दफा ८(४) वमोजिम  संजाय  गरी पाउँ भन्ने वादी दावी देखिन्छ । प्रतिवादीहरु रामशरण तथा कृष्ण प्रसादलाई १५ (पन्ध्र) वर्ष कैद गर्ने शुरु चितवन जिल्ला अदालतको फैसलालाई पुनरावेदन अदालत, हेटौडाले सदर गरेकोमा प्रतिवादी कृष्ण प्रसाद पुडासैनी तथा राम शरण पुडासैनीको यस अदालतमा पुनरावेदन परेको देखियो । प्रतिवादीहरु रामशरण पुडासैनी तथा कृष्ण प्रसाद पुडासैनीले पार्वती राना मगरसँग मिली भारतको वम्वै पुर्‍याई विक्री गरी फर्केका र विक्री भएको ठाउँबाट भाग्न सफल भई भारतीय प्रहरीहरुको सहयोगमा नेपाल आएका भनी पिडित पक्ष इन्द्रकला श्रेष्ठ तथा शारदा थापा मगरको किटानी जाहेरी परेको देखिन्छ । उक्त जाहेरी दरखास्त तथा अनुसन्धान अधिकारी समक्ष निजहरुले गरेको वयान अदालतबाट प्रमाणित भएको छ । जिउ मास्ने वेच्ने कार्य (नियन्त्रण) ऐन, २०४३ को दफा ६(२) वमोजिम पिडित पक्षको अदालतद्वारा प्रमाणित भएको वयानमा उल्लेखित कुरा झूठ्ठा हो भनी खण्डन गर्ने तथा स्वास्नी मानिसलाई वेचविखन गर्न लगेको होइन भनी प्रमाण पुर्‍याउनु पर्ने भार उक्त ऐनको दफा ७ वमोजिम प्रतिवादी पक्षमा रहेको पाइन्छ । तर सो वमोजिम प्रतिवादीहरुले गर्न सकेको पाइदैन । जाहेरवालीहरुसँग यी प्रतिवादीको रिसइवी भई सोही रिसइवीका आधारमा जाहेरी दिएको भन्ने तथ्य पनि मिसिलबाट देखिएको छैन । प्रतिवादीहरु प्रहरीमा कागज गर्दा जाहेरवालीहरुलाई वम्वैमा लगी विक्री गरेकोमा सावित भएको छन् । अदालतमा वयान गर्दा प्रतिवादी कृष्ण प्रसाद कसुरमा इन्कार रहे पनि शारदा थापा मगरलाई श्रीमती तुल्याई भारतको भिवन्डी भन्ने ठाउमा लगेको कुरामा सावित छन् । सो ठाउँमा आफूले शारदा थापालाई किन एक्लै छोडी आए सो को उपयुक्त कारण एवं आधार निजले खुलाउन सकेको पाइदैन । जेठी स्वास्नीसँग झगडा भएकोले फर्की आई सोही रिसइवीले जाहेर दिएको हो भनी प्रतिवादी कृष्ण प्रसादले वयान गरेको पाइयो । तर सो कुरा तथ्य साथ पुष्टि भएको छैन । तसर्थ पिडित पक्षको जाहेरी र सो जाहेरीका समर्थन हुने गरी अदालत समक्ष भएको प्रमाणित वयानलाई प्रतिवादीले अन्यथा प्रमाणित गर्न नसकेको र प्रतिवादीहरुको प्रहरी समक्षको वयान उल्लेखित आधारबाट पुष्टि भइरहेकोले अन्यथा भन्न सकिने अवस्था नहुँदा पुनरावेदक प्रतिवादी कृष्ण प्रसाद पुडासैनी तथा रामशरण पुडासैनीलाई जिउ मास्ने वेच्ने कार्य (नियन्त्रण) ऐन, २०४३ को दफा ८(१) वमोजिम कैद वर्ष १५ (पन्ध्र) गर्ने गरेको शुरु चितवन जिल्ला अदालतको फैसला सदर गरेको श्री पुनरावेदन अदालत हेटौडाको फैसला मिलेको देखिंदा सदर हुने ठहर्छ । प्रतिवादी कृष्ण प्रसाद पुडासैनी तथा रामशरण पुडासैनीको पुनरावेदन जिकिर पुग्न सक्दैन । मिसिल नियम वमोजिम गरी वुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या.केशव प्रसाद उपाध्याय

 

इति संवत २०५४ साल भाद्र १६ गते रोज २ शुभम ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु