निर्णय नं. ७८८४ - बहुविवाह

निर्णय नं. ७८८४ ने.का.प. २०६४ अङ्क ९
सर्वोच्च अदालत संयुक्त इजलास
माननीय न्यायाधीश श्री गौरी ढकाल
माननीय न्यायाधीश श्री ताहिरअली अन्सारी
सम्वत् २०५७ सालको फौ.पु.नं. ––२७४४
फैसला मितिः २०६४।४।२८।२
मुद्दाः बहुविवाह ।
पुनरावेदक
वादीः जिल्ला झापा हल्दीबारी गा.वि.स. वडा नं १ बस्ने नरेन्द्रकुमार कटुवालको जाहेरीले नेपाल सरकार
विरुद्ध
प्रत्यर्थी
प्रतिवादीः जिल्ला झापा हल्दीबारी गा.वि.स. वडा नं. १ बस्ने कुमार थपलिया
शुरु फैसलाः
मा.न्या.जनार्दनबहादुर खड्का
पुनरावेदन फैसलाः
मा.का.मु.न्या. श्री राजेन्द्रकुमार भण्डारी
मा.न्या. श्री ज्ञानेन्द्रबहादुर कार्की
§ ऐनमा जे लेखिएको छ, प्रत्येक नागरिकले त्यसको पालन गर्नु पर्छ । ऐनमा प्रयुक्त शब्द र भाषा स्पष्ट छन् भने तिनको अन्यथा ब्याख्या गर्ने ठाउँ रहँदैन । कुनै व्यक्तिले आफ्नो सुबिधा अनुसार कानूनको भाषा र मनशाय विपरीत प्रयोग गर्न हुँदैन । अदालतले पनि कानूनका स्पष्ट शब्द र भाषालाई सोही अनुरूप समान ढंगबाट प्रयोग गर्नुपर्छ । त्यस्तोमा औचित्य र आवश्यकतानुसार एउटै शब्दको अलग अलग ढंगबाट वा असमान प्रयोग हुने गरी भिन्ना भिन्नै अर्थ र ब्याख्या गर्न नहुने ।
(प्रकरण नं.२३)
§ बिहावारीको महलको ९ नं. ले स्वास्नी मानिसले अंश मुद्दा दायर गर्दैमा लोग्नेले अर्को विवाह गर्न पाउने छूट दिएको छैन । “अंश लिई भिन्न बसेको” भन्नु “मानो छुट्टिएको” वा अदालतमा अंश मुद्दा परेको भनी कदापि हुन सक्दैन । यदि अंश मुद्दा परेको छ भने अंश पाउने ठहरी भएको फैसला कार्यान्वित भएर अंश छुट्याई सकेपछि मात्र त्यस्ती स्वास्नीले “अंश लिई भिन्न बसेको” भन्न र मान्न सकिन्छ । त्यो भन्दा अगाबै अर्को पक्ष अर्थात लोग्नेको सुविधा र पारिवारिक वा अन्य आवश्यकतालाई औचित्यको मापदण्ड बनाएर “अंशमा नालिश परेको” वा त्यसै “अलग बसेको” वा “मानो छुट्टिएर अलग बसेको” अवस्थालाई अंश लिई भिन्न बसेको भनेर मान्न वा बिहावारीको ९ नं. को बिस्तारित ब्याख्या गर्न नामिल्ने ।
§ घरमा जेठी श्रीमती हुँदाहुँदै दोश्रो विवाह गरी बिहावारीको ९ नं. को कसूर गरेको भनी अंश मुद्दा दायर गरेकोलाई भिन्न बसेको भनी ब्याख्या गरी शुरु जिल्ला अदालतको फैसला उल्टी गरी प्रतिवादीलाई सफाई दिएको पुनरावेदन अदालतको फैसला मिलेको नदेखिने ।
(प्रकरण नं.२४)
पुनरावेदक वादी तर्फबाट : विद्वान न्यायाधिवक्ता श्री ठोकप्रसाद सिवाकोटी
प्रत्यर्थी प्रतिवादी तर्फबाट : विद्वान अधिवक्ता श्री हरिहर दाहाल र तेजनाथ धमला
अवलम्वित नजीरः
फैसला
न्या.ताहिरअलि अन्सारीः न्याय प्रशासन ऐन, २०४८ को दफा ९ को उप दफा १ को खण्ड (ग) अनुसार यसै अदालतको क्षेत्राधिकार भित्रको भै पुनरावेदन अदालत, इलामको मिति २०५७।१।६।३ को फैसला उपर वादी नेपाल सरकारको पुनरावेदन परी पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छः–
२. कुमार थपलियाले मेरी छोरी सरस्वती थपलियालाई २०४६।११।२२ गते विवाह गरी लगेका थिए, कान्छी श्रीमती विवाह गरी चन्द्रगढी–७ मा डेरा गरी बसेको ठाउँमा २०५१।६।१ गते भित्र्याएको थाहा पाएकोले सजाय गरिपाऊँ भन्ने मिति २०५१।६।४ को जाहेरी दर्खास्त ।
३. कुमार थपलियासँग विवाह भई एक छोराको जन्म भई सकेको छ, मेरो श्रीमानले अर्को श्रीमती भित्राएको कुरा २०५१।६।१ मा थाहा पाएकोले कारवाही गरिपाऊँ भन्ने सरस्वती थपलियाले २०५१।८।३२ मा गरेको कागज ।
४. रजिष्ट्री गरेको मैले दिएको जाहेरी दर्खास्त हो भन्ने जाहेरवाला नरेन्द्रकुमार कटुवालको २०५१।८।२२ को सनाखत कागज ।
५. कुमार थपलियाले श्रीमती हुँदा हुँदै दोश्रो विवाह गरेको हो भन्ने दुर्गाबहादुर राई समेतले मिति २०५१।९।३ मा गरेको वस्तुस्थिति मुचुल्का ।
६. प्रतिवादी कुमार थपलिया र निजको कान्छी श्रीमतीलाई बिहावारीको १० नं. बमोजिम सजाय गरिपाऊँ भन्ने २०५१।९।५ को अभियोग पत्र ।
७. जाहेरवालाको छोरी सरस्वतीसँग मेरो विवाह भएको होइन, निजले म उपर दायर गरेको दे.पु.नं. ९४८ को अंश मुद्दामा चिनजान नभएको भनि प्रतिउत्तर फिराएको छु । मेरो पहिलो विवाह अनितासँग भएको हो, मैले दोश्रो विवाह गरेको छैन । झुठा अभियोगबाट फुर्सद पाउँ भन्ने प्रतिवादी कुमार थपलियाले २०५१।११।२१ गते गरेको बयान ।
८. कुमार थपलियाको बयानमा उल्लेख भएको अनिता थपलियालाई बुझी पेश गर्नु भन्ने शुरु अदालतको २०५२।१।१८ को आदेश ।
९. प्रतिवादी कुमार थपलियासँग मेरो विवाह २०५१।१।१७ गते भएको हो । १ महिनाको छोरा छ । निजको जेठी श्रीमती छन् भन्ने कुरा थाहा थिएन । झुठा अभियोगबाट फुर्सद गरिपाऊँ भन्ने प्रतिवादी अनिता थपलियाको २०५२।५।११ गरेको बयान ।
१०. वस्तुस्थिती मुचुल्काका दल बहादुर भारती, दुर्गा बहादुर राई, घनश्याम कार्की, जाहेरवालाकी छोरी सरस्वती थपलिया, प्रतिवादीहरूको साक्षी खडग बहादुर कोइराला, गंगाबहादुर बानियाँ समेतको बकपत्र भएको रहेछ ।
११. प्रतिवादी कुमार थपलियाले आफ्नी जेठी श्रीमती हुँदा हुँदै कान्छी श्रीमतीलाई दोश्रो विवाह गरेको देखिएकोले विहावारीको १० नं. ले प्रतिवादी कुमार थपलियालाई १ महिना कैद र रु. १,०००।– जरिवाना हुने ठहर्छ । प्रतिवादी अनिता थपलियाले जेठी श्रीमती छ भनी जानी जानी विवाह गरेको भन्ने ठोस प्रमाण वादी पक्षले गुजार्न नसकेकोले प्रमाणको अभावमा प्रतिवादी अनिता थपलियाले अभियोग दावीबाट सफाई पाउने ठहर्छ भनि शुरु झापा जिल्ला अदालतबाट भएको मिति २०५५।३।८ को फैसला ।
१२. शुरुबाट भएको फैसलामा चित्त बुझेन । विवाह दर्ता ऐन २०२८ ले विवाह दर्ता गर्न लेखिएको ढाँचामा विवाह भएका दुवै पक्षको तीन पुस्ते खुलाई विवाह भएको मिति समेत खुलाई दुवै पक्षले लेखात्मक तथा रेखात्मक रूपमा सहीछाप समेत गर्नुपर्ने अनिवार्य व्यवस्था गरेको छ । उक्त ऐनमा २।४ जना मानिसले भनेकै भरमा विवाह दर्ता हुन सक्ने व्यवस्था भएको पाइदैन । विपक्षीद्धारा पेश गरिएको विवाह दर्ता प्रमाणपत्रले मेरो विवाह भएको कुरा पुष्टी गर्न सक्दैन । त्यसतर्फ शुरु झापा जिल्ला अदालतले ध्यानै नदिई मेरो सहिछाप नै नभएको जालसाज पूर्ण तरिकाले खडा गरिएको प्रमाणपत्रलाई आधार मानि गरिएको फैसला मु.ऐ विहावारीको १ नं. सँग विवाह दर्ता ऐन २०२८ को दफा ११ विपरीत भएको शुरुको त्रुटीपूर्ण फैसला बदर गरी अभियोग दावीबाट अलग फुर्सद गराई पाउँ भन्ने समेत व्यहोरा भएको प्रतिवादी कुमार थपलियाको पुनरावेदनपत्र ।
१३. यसमा विवाह दर्ता भएको कागजमा प्रतिवादीको सहिछाप नभएको अवस्थामा बहुविवाह ठहराएको शुरुको फैसला फरक पर्न सक्ने देखिँदा छलफलको लागि अ.बं. २०२ नं. बमोजिम पुनरावेदन सरकारी वकिल कार्यालय, इलामलाई पेशीको जानकारी दिई पेश गर्नु भनी पुनरावेदन अदालत इलामबाट मिति २०५५।१२।१८ मा भएको आदेश ।
१४. जेठी स्वास्नी सरस्वती थपलियाले प्रतिवादी कुमार थपलियासँग पहिले देखिनै साथमा नबसी अंश लिई छुट्टि बस्ने उद्देश्यले २०५०।१०।१२ मा अंश मुद्दा दायर गरी मानो समेत छुट्टिई सकेको अवस्थामा प्रतिवादीले अनिता थपलियासँग विवाह गरेको देखिन आएकोले सो क्रिया बिहाबारीको ९ नं. को ब्यवस्था विपरीत भएको मान्न नमिल्ने भएको अवस्थामा प्रतिवादी कुमार थपलिया समेतलाई अभियोग दावीबाट सफाई दिनुपर्नेमा कसूरदार ठहराई सजाय गर्न गरेको झापा जिल्ला अदालतको फैसला मिलेको नदेखिँदा उल्टी भै प्रतिवादी कुमार थपलियाले अभियोग दावीबाट सफाई पाउने ठहर्छ भन्ने पुनरावेदन अदालत, इलामको मिति २०५७।१।६।३ को फैसला ।
१५. प्रतिवादी कुमार थपलियालाई अभियोग दावीबाट सफाई दिने ठहराई भएको पुनरावेदन अदालतको फैसला कानूनी त्रुटीपूर्ण छ । जाहेरवालाकी छोरी सरस्वतीले २०५०।१०।१२ मा अंश मुद्दा दायर गरेपनि बारदात हुँदाका अवस्थामा यी प्रतिवादीसँग अंश लिई छुट्टि भिन्न भई बसेको अवस्था छैन । कानून बमोजिम अंश लिई छुट्टि भिन्न नभै बसेको अवस्थामा बिहावारीको ९ नं. को अवस्था बिद्यमान नहुँदा शुरुले प्रतिवादीलाई सजाय गर्ने ठहराएको फैसला उल्टी गरेको पुनरावेदन अदालत इलामको फैसला कानूनी त्रुटीपूर्ण हुँदा बदर गरी प्रतिवादी कुमार थपलियालाई शुरु अभियोग माग दावी बमोजिम सजाय होस् भन्ने समेत ब्यहोराको बादी नेपाल सरकारको तर्फबाट यस अदालतमा परेको पुनरावेदन जिकिर ।
१६. यसमा बिहावारीको ९ नं. ले अंशवण्डाको १० वा १०(क) नम्वर बमोजिम स्वास्नीले अंश लिई भिन्न बसेको अवस्थामा अर्को विवाह गर्न छुट भएकोमा श्रीमतीले दायर गरेको अंश मुद्दामा मिलापत्र हुनु अघिनै अंश नै नलिएको अवस्थामा प्रत्यर्थीले अर्को विवाह गरेको देखिँदा बिहावारीको ९ नं. को अवस्था विद्यमान रहेको नदेखिएको अवस्थामा प्रत्यर्थीलाई सफाई दिएको पुनरावेदन अदालत, इलामको इन्साफ फरक पर्ने हुँदा अ.बं. २०२ नं. बमोजिम प्रत्यर्थीलाई झिकाई आएपछि नियमानुसार पेश गर्नू भन्ने यस अदालतको मिति २०६१।१०।४।२ को आदेश ।
१७. यस्मा झापा जिल्ला अदालतबाट प्रतिवादीका नाममा तामेल भएको मिति २०५१।९।२४ को तामेली हेर्दा हल्दीबारी गा.वि.स. वडा नं. १ को प्रतिवादीको घरदैलोमा टाँस भएको देखिएको र यस अदालतबाट जारी भएको म्यादको तामेली हेर्दा प्रतिवादीको हल्दीबारी गा.वि.स. वडा नं. १ मा घरबास नै नभएको भनि पाराखोपी चोकको चौतारामा टाँस भएको भनि तामेल भएको र गा.वि.स. ले १ प्रति म्याद बुझेको समेत नदेखिँदा २०६२।८।९ मा प्रतिवादीका नाउँमा तामेल भएको म्याद बदर गरीदिएको छ । पुनः प्रतिवादीका नाउँमा म्याद पठाई प्रमाणमा लगाउको अंश मुद्दाको मिसिल समेत झिकाई आएपछि नियमानुसार पेश गर्नू भन्ने समेत मिति २०६३।२।३।४ गतेको आदेश ।
१८. विपक्षी फिरादी सरस्वती थपलियाले मेरा विरुद्ध मिति २०५१।६।४ मा बहुविवाह उपर जाहेरी दिई झापा जिल्ला अदालतबाट मिति २०५५।३।८ मा फैसला हुँदा १ महिना कैद गर्ने गरी भएको फैसला उपर सरस्वती थपलियाले मिति २०५०।१०।१२ मा अंश मुद्दा दायर गरी मानाचामल समेत छुट्टिइ सकेको हुँदा उक्त पुनरावेदन अदालत इलामको फैसला न्याय र कानूनसम्मत हुँदा उक्त फैसलालाई यथावत कायम राखी पाउँ भन्ने समेत व्यहोराको प्र.कुमार थपलियाको लिखित जवाफ ।
१९. नियम बमोजिम आजको पेशी सूचीमा चढी इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको पुनरावेदन सहितको मिसिल कागजात अध्ययन गरियो । पुनरावेदक नेपाल सरकार तर्फबाट उपस्थित विद्वान सह न्यायाधिवक्ता ठोकराज सिवाकोटीले पुनरावेदन अदालत, इलामबाट प्रतिवादी कुमार थपलियालाई अभियोग दावीबाट सफाई दिने ठहराई भएको फैसला मिलेको छैन । कानून बमोजिम प्रतिवादी र निजकी जेठी श्रीमती सरस्वती थपलिया बीच वैबाहिक सम्बन्ध कायमै रहेको अवस्थामा प्रतिवादीले अर्को विवाह गरेकोले बिहावारीको ९ नं. को गलत अर्थ लगाई पुनरावेदन अदालत, इलामले फैसला गरेको छ । तसर्थ उक्त फैसला बदर गरी प्रतिवादी कुमार थपलियालाई शुरु अभियोग माग दावी बमोजिम सजाय होस् भन्ने समेतको बहस गर्नुभयो । प्रत्यर्थी प्रतिवादी कुमार थपलियाका तर्फबाट उपस्थित बिद्वान अधिवक्ता श्री हरिहर दाहाल र तेजनाथ धमलाले जेठी श्रीमती सरस्वती कहिले पनि सँगै नबस्ने गरेकी र निजले २०५०।१०।१२ गते यी प्रतिवादी उपर अंश मुद्दा दायर गरी सकेपछि सोही मिति देखि मानो छुट्टिएको अवस्था छ । त्यसपछि मात्र घर ब्यवहार चलाउन आवश्यक भएकोले प्रतिवादीले दोश्रो विवाह गरेका हुन् । मानो छुट्टिएको अवस्था पनि अंश लिई छुट्टिएको अवस्था जस्तै हुनाले शुरु झापा जिल्ला अदालतको फैसला उल्टी गरी प्रतिवादीलाई सफाई दिने गरी भएको पुनरावेदन अदालत, इलामको फैसला कानून, न्याय संगत हुँदा सदर होस् भन्ने समेत बहस गर्नुभयो ।
२०. इन्साफ तर्फ विचार गर्दा यस्मा पुनरावेदन अदालत, इलामले गरेको फैसला मिलेको छ, छैन र पुनरावेदकको पुनरावेदन जिकिर पुग्न सक्छ सक्दैन, सोही विषयमा निर्णय दिनू पर्ने देखियो ।
२१. निर्णय तर्फ बिचार गर्दा प्रतिवादी कुमार थपलियाले घरमा श्रीमती छँदा छँदै कान्छी श्रीमती विवाह गरी मुलुकी ऐन विहेबारीको महलको ९ नं. विपरीत कसूर गरेकोले निज र निजकी कान्छी श्रीमतीलाई समेत ऐ महलको ९ नं. विपरीतको कसूरमा ऐ १० नं. अनुसार सजाय गरिपाऊँ भन्ने अभियोग पत्र भएको प्रस्तुत मुद्दामा अधिकार प्राप्त अधिकारी समक्ष फरार भए पनि शुरु अदालतमा बयान गर्दा कसूरमा इन्कार रही प्रतिवादीले बयान गरेको देखिन्छ । शुरु झापा जिल्ला अदालतले प्रतिवादी कुमार थपलियालाई बिहावारीको कसूरमा ऐ १० नं. बमोजिम १ महिना कैद र रु. १०००।– जरिवाना हुने ठहराई मिति २०५५।३।८ गते गरेको फैसला उपर प्रतिवादी कुमार थपलियाको पुनरावेदन अदालत, इलाममा पुनरावेदन पर्दा अभियोग दावीबाट प्रतिवादी कुमार थपलियालाई सफाई दिने ठहराई पुनरावेदन अदालत इलामबाट भएको फैसला उपर वादी नेपाल सरकारको यस अदालतमा पुनरावेदन परी प्रस्तुत मुद्दा निर्णयार्थ यस अदालत समक्ष पेश हुन आएको देखियो ।
२२. यस सम्बन्धमा निर्णयार्थ विचार गर्दा प्रतिवादी कुमार थपलियाले आफनी छोरी सरस्वतीलाई मिति २०४६।११।२२ मा विवाह गरी लगेको र हाल कान्छी श्रीमती विवाह गरी ल्याएको हुँदा कारवाही गरिपाऊँ भनि नरेन्द्रकुमार कटुवालले २०५१।६।६ गते किटानी जाहेरी दिएको र सो जाहेरीलाई मिति २०५१।८।२२ गते सनाखत समेत गरेको देखिन्छ । पीडित भनिएकी सरस्वती थपलियाले म घरमा जेठी श्रीमती हुँदा हुँदै कान्छी श्रीमती विवाह गरी राखेको हुँदा प्रतिवादी र कान्छी श्रीमती समेत दुवैजनालाई कानून बमोजिम सजाय गरिपाऊँ भन्ने समेतको कागज प्रहरीमा गरेको पाइन्छ । प्रतिवादी कुमार थपलियाकी श्रीमती अनिता थपलियाले शुरु झापा जिल्ला अदालतमा बयान गर्दा प्रतिवादी कुमारको घरमा जेठी श्रीमती छ भन्ने थाहा नभएको र वैदिक विधी अनुसार विवाहा भएपछि श्रीमानको घरमा आएको हो भनि बयान गरेको पाइन्छ । वस्तुस्थिति मुचुल्कामा कागज गर्ने घनश्याम कार्की दुर्गा बहादुर राई, दल बहादुर भारतीले समेत अदालतमा आई बकपत्र गरीकुमार थपलियाले घरमा जेठी श्रीमती सरस्वती हुँदा हुँदै कान्छी अनिता थपलियालाई विवाह गरेको हो भनि बकपत्र गरेको देखिन्छ । त्यस्तै पीडित सरस्वती थपलियाले अदालतमा आई बकपत्र गर्दा मौकाको कागज लाई समर्थन गरी बकपत्र गरीदिएको पाइन्छ । प्रमाणमा आएको बादी सरस्वती थपलिया र प्रत्यर्थी प्रतिवादी कुमार थपलिया समेत भएको सम्वत् २०५० सालको दे.पु.नं. ४८५ को अंश मुद्दामा उक्त मुद्दामा यस मुद्दाका प्रत्यर्थी / प्रतिवादी कुमार थपलियाकी श्रीमती, प्रस्तुत मुद्दाको जाहेरवालीको छोरी सरस्वती थपलियाले २०५०।१०।१२ मा फिराद लिई अदालत प्रवेश गरेको उक्त मुद्दाको प्रमाण मिसिलबाट देखिन आयो । त्यसपछि प्रतिवादी कुमार थपलिया र वादी सरस्वती कटुवाल भएको सो अंश मुद्दामा मिति २०५५।१२।१८ मा वादी दावी र पुनरावेदन जिकिर, छोडी मिलापत्र भएको पाइन्छ । शुरु झापा लिल्ला अदालतले पेश गरेको तायदाती फाँटबारीबाट बाबु र छोराको एक एक भाग लगाई सो १ भागबाट ५ भाग लगाई २ भाग अंश वादीहरूले पाउने ठहराई मिति २०५५।३।८ मा फैसला गरेको र यसरी प्रत्यर्थी प्रतिवादी कुमार थपलियाकी जेठी श्रीमतीले दायर गरेको अंश मुद्दामा अंश पाउने गरी फैसला हुनु वा मिलापत्र गर्नु अघि नै अंश नै नलिएको अवस्थामा प्रत्यर्थीले अर्को विवाह गरेको कुरामा विवाद देखिदैन।
२३. मुलुकी ऐन, विवावारीको महलको ९ नं. मा “लोग्ने मानिसले कुन अवस्थामा अर्को बिहे गर्न हुन्छ र कुन अवस्थामा हुँदैन” भन्ने उल्लेख भएको पाइन्छ । उक्त नं. मा “देहायका अवस्थामा वाहेक कुनै लोग्ने मानिसले आफ्नी स्वास्नी जिवित छँदै वा कानून बमोजिम लोग्ने स्वानीको सम्बन्धबिच्छेद नहुँदै अर्को स्वास्नी मानिससँग विवाह गर्न वा अर्को स्वास्नी राख्न हुँदैन भन्ने उल्लेख गरिएको छ । सोही ९ नं. मा उल्लिखित अवस्थाहरू मध्ये छैठौं र अन्तिम अवस्थामा अंशवण्डाको महलको १० नं. बमोजिम अंश लिई भिन्न बसेमा भन्ने उल्लेख भएको देखिन्छ । ऐनमा जे लेखिएको छ, प्रत्येक नागरिकले त्यसको पालन गर्नु पर्छ । ऐनमा प्रयुक्त शब्द र भाषा स्पष्ट छन् भने तिनको अन्यथा ब्याख्या गर्ने ठाउँ रहँदैन । कुनै व्यक्तिले आफ्नो सुविधा अनुसार कानूनको भाषा र मनशाय विपरीत प्रयोग गर्न हुँदैन । अदालतले पनि कानूनका स्पष्ट शब्द र भाषालाई सोही अनुरूप समान ढंगबाट प्रयोग गर्नुपर्छ । त्यस्तोमा औचित्य र आवश्यकतानुसार एउटै शब्दको अलग अलग ढंगबाट वा असमान प्रयोग हुने गरी भिन्ना भिन्नै अर्थ र ब्याख्या गर्न हुँदैन ।
२४. बिहावारीको महलको ९ नं. ले स्वास्नी मानिसले अंश मुद्दा दायर गर्दैमा लोग्नेले अर्को विवाह गर्न पाउने छूट दिएको छैन । “अंश लिई भिन्न बसेको” भन्ने “मानो छुट्टिएको” वा अदालतमा अंश मुद्दा परेको भनी कदापि हुन सक्दैन । यदि अंश मुद्दा परेको छ भने अंश पाउने ठहरी भएको फैसला कार्यान्वित भएर अंश छुट्याई सकेपछि मात्र त्यस्ती स्वास्नीले “अंश लिई भिन्न बसेको” भन्न र मान्न सकिन्छ । त्यो भन्दा अगावै अर्को पक्ष अर्थात लोग्नेको सुविधा र पारिवारिक वा अन्य आवश्यकतालाई औचित्यको मापदण्ड बनाएर “अंशमा नालिश परेको” वा त्यसै “अलग बसेको” वा “मानो छुट्टिए र अलग बसेको” अवस्थालाई अंश लिई भिन्न बसेको भनेर मान्न वा बिहावारीको ९ नं. को विस्तारित ब्याख्या गर्न मिल्दैन । यसर्थ पुनरावेदन जिकिर र पुनरावेदक तर्फका बिद्वान अधिवक्ताहरूको बहस जिकिरसँग सहमत हुन सक्ने देखिएन । अंशवण्डाको महलको १० नम्वर बमोजिम स्वास्नीले “अंश लिई भिन्न बसेमा” भन्ने उल्लेख भएको देखिन्छ । मुलुकी ऐन विहावारीको ९ नं. को अवस्था प्रस्तुत मुद्दामा विद्यमान नदेखिएकोले घरमा जेठी श्रीमती हुँदाहुँदै अनिता थपलियासँग यी प्रत्यर्थी प्रतिवादीले दोश्रो विवाह गरी बिहावारीको ९ नं. को कसूर गरेकोले अंश मुद्दा दायर गरेकोलाई भिन्न बसेको भनी ब्याख्या गरी शुरु झापा जिल्ला अदालतको फैसला उल्टी गरी प्रतिवादी कुमार थपलियालाई सफाई दिएको पुनरावेदन अदालत इलामको फैसला मिलेको देखिएन ।
२५. तसर्थ माथि उल्लेखित आधार प्रमाणबाट प्रत्यर्थी प्रतिवादी कुमार थपलियालाई विहावारीको ९ नं. को कसूरमा ऐ. १० नं. बमोजिम १ महिना कैद र रु. १०००।– जरीवाना गर्ने ठहराई भएको झापा जिल्ला अदालतको २०५५।३।८ को फैसला उल्टी गरी प्रत्यर्थी प्रतिवादीलाई अभियोग दावीबाट सफाई दिई भएको पुनरावेदन अदालत, इलामको मिति २०५७।०१।६।३ को फैसला मिलेको नदेखिँदा उल्टी भै शुरु झापा जिल्ला अदालतको फैसला सदर हुने ठहर्छ । अरु तपसिल बमोजिम गर्नु ।
तपसिल
माथि इन्साफ खण्डमा लेखिए बमोजिम पुनरावेदन अदालत, विराटनगरको फैसला उल्टी भै शुरु झापा जिल्ला अदालतको फैसला सदर हुने ठहरेको हुँदा पुनरावेदन अदालतको फैसलाको तपसिल खण्डको ल.नं. १ कट्टा गर्न पुनरावेदन अदालत इलाममा जनाउ दिई शुरु जिल्ला अदालतको फैसलाको तपसिल खण्डको ल.नं. १ यथावत राख्नु भनी झापा जिल्ला अदालतमा लेखि पठाउनु ––––––––१
माथि इन्साफ खण्डमा लेखिए बमोजिम हुने हुँदा पुनरावेदन अदालत, इलामको फैसलाको तपसिल खण्डको ल.नं. २ को लगत नरहने हुँदा कट्टा गर्नु भनि पुनरावेदन अदालत इलाममा लेखि पठाउनु २
प्रस्तुत मुद्दा फैसला भएको जनाउ महान्यायाधिवक्ताको कार्यालयलाई दिनु ––३
प्रस्तुत मुद्दाको दायरी लगत कट्टा गरी मिसिल नियमानुसार बुझाइदिनु –––––४
उक्त रायमा सहमत छु ।
न्या.ताहिर अलि अन्सारी
इजलास अधिकृतः
हरिप्रसाद शर्मा उपाध्याय पंज्ञानी
इति सम्वत् २०६४ साल श्राबण २८ गते रोज २ शुभम् –––––