शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ७८८९ - जग्गा खिचोला घर उठाई चलन

भाग: ४९ साल: २०६४ महिना: माघ अंक: १०

निर्णय नं. ७८८९    ने.का.प. २०६४                   अङ्क १०

 

सर्वोच्च अदालत संयुक्त इजलास

माननीय न्यायाधीश श्री अनूपराज शर्मा

माननीय न्यायाधीश श्री ताहिरअलि अन्सारी

संवत २०६० सालको दे.पु.नं.......९६४८

फैसला मितिः २०६४।१०।११।६

 

मुद्दा :जग्गा खिचोला घर उठाई चलन ।

 

पुनरावेदक प्रतिवादीः महोत्तरी जिल्ला फुलहटा परिकौली गा.वि.स.वडा नं. ९ बस्ने तपेश्वरप्रसाद सिंह राजपुत

विरुद्ध

विपक्षी वादीः ऐ. ऐ. बस्ने लक्ष्मेश्वरप्रसाद सिंह

 

शुरु फैसला गर्नेः

      मा.न्या.श्री पवन कुमार शर्मा

पुनरावेदन तहमा फैसला गर्नेः

      मा. न्या.श्री मोहन प्रकाश सिटौला

      मा. न्या.श्री अलि अकवर मिकरानी

 

§  अदालतबाट भै आएको नक्सामा उल्लेख भएको प्रतिवादीले भोग गरेको विवादको जग्गा होइन भनी नक्सा मुचुल्कामा लेखाइदिएपनि आधिकारीक रुपमा नाप नक्सा भई तयार भएको दर्ता श्रेस्तालाई चुनौती दिनको लागि स्तुनिष्ट प्रमाण पेश गर्नुपर्ने ।

§  हकको स्वामित्वको प्रमाण पेश हुन नसकेको अवस्थामा अन्य कुनै पनि आधारले एकाको हकभोगको जग्गामा अन्य व्यक्तिको अधिकार रहेको भन्नु प्रमाण र कानूनको रोहमा उपयुक्त नहुने ।

§  प्रतिवादीले मौखिक सहमतिको आधारले जग्गामा आफ्नो हक भएको भने पनि हक भएको कुराको लिखत प्रमाण पेश दाखिल हुन नसकेको अवस्थामा अन्य गैह्र आधार र मौखिक सम्झौताले अधिकारको श्रृजना गर्न नसक्ने ।

§  जग्गाको हकको स्रोत र स्वामित्वको सम्बन्धमा लिखित प्रमाण नै सर्वोत्तम प्रमाण हुने हुदा सो वाहेकका अन्य प्रमाणले हकको स्रोतको लिखत प्रमाण सरहको स्थान लिन नसक्ने । 

   (प्रकरण नं.११)

 

पुनरावेदक प्रतिवादी तर्फबाट : उपस्थित विद्धान अधिवक्ताद्धय श्री कमलनारायण दास र विजय कुमार सिंह

विपक्षी वादी तर्फबाट :

अवलम्वित नजीरः

 

फैसला

     न्या. अनूपराज शर्माः न्याय प्रशासन ऐन २०४८ को दफा ९ अनुसार पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त टिपोट यस प्रकार छः

      २.    हामी अंशियारहरूको बीचमा २०१९ सालमा अंशको रजिष्ट्रेशन पारित हुँदा गंगाप्रसाद सिंहको नाउँमा दर्ता रहेको तत्कालीन जिल्ला प्र. मौजे फुलहट्टाको साविक कि.नं. १५४७ को पैनी सो उत्तर नेवत सिंहको पूर्व निज सो दिक्षण पश्चिमको ०८ र साविक कि.नं. १५४८ निगहार सो पूर्व उत्तरबाट सो दक्षिण पैनी सो पश्चिम ०४ मध्ये ०१६ गरी ०४ जग्गा मेरो अंश भागमा परेको छ । उक्त दुवै कित्ता जग्गा एकै प्लटमा रहेको  छ । हाल उक्त जग्गा जिल्ला महोत्तरी फुलहट्टा परिकौली गा.वि.स.वडा नं. ९ मा गाउ व्लक भित्रको पैनी सो उत्तर पैनी सो पश्चिम बाटो सो दक्षिण नेवत सिंहको बुहारी तारा देवी सो पूर्वमा रहेको छ । मैले उक्त जग्गा अंशवण्डाबाट प्राप्त गरी त्यसमा पूर्व मोहडाको काठको २ तल्ले घर वनाई भोग चलन गर्दै आई रहेको थिए । कुनै किसिमको विवाद थिएन । २०५७।११।१४ गतेका दिन वेलुका अन्दाजी ४ जेको समयमा विपक्षीले आफ्नो साथमा मैले नचिनेको ३०, ३५ जना लेवर ल्याई उक्त जग्गामा मेरो अघि देखि रहेको दुई तल्ले काठको घर उखेली त्यसमा रहेको नगदपात आफ्नो घरमा लगी मेरो उक्त कि.नं. १५४८ को जग्गामा उत्तर पश्चिम अं. १५ हात लम्बाई र ९ हात चौडाई जग्गा खन्न लगाई ईटाको कुर्स दिन शुरु गरी २०५७।१।२४ गतेमा फुसको घर समेत नाई बाँकी जग्गा धेरबेर गरी जवरजस्ती खिचोला गरेकोले खिचोला मेटाई घर समेत हटाई पाउ भन्ने वादीको फिराद दावी ।

      ३.    दावी बमोजिमको घर जग्गा मैले २०२१ सालमै घरसारमानै खरिद गरेको हु । वादीले उक्त जग्गा मलाई बेचेको नभए ७ नं. फाँटबारी दाखेल गर्दा दावीको जग्गा पनि उल्लेख हुने थियो । तसर्थ वादीको जग्गा मैले खिचोला गरी घर नाएको नहुँदा दावीलाई झुठ्ठो करार गरी वादी दावी खारेज गरी प्रस्तुत मुद्दाबाट उन्मुक्ति प्रदान गरी पाउँ भन्ने व्यहोराको प्रतिउत्तर जिकिर रहेछ ।

      ४.    न.नं. ५ को जग्गा प्रतिवादीले खिचोला गरेको ठहर्‍यार्इ शुरु महोत्तरी जिल्ला अदालतबाट मिति २०५७।१०।९ मा भएको फैसला ।

      ५.    मेरो अंश भागमा परेको जग्गा विपक्षीले खिचोला गरी जवरजस्ती घर नाएको तथ्य प्रमाणबाट प्रमाणित भई रहेको हुँदा हुदै पनि त्यसतर्फ प्रमाणको मुल्याकन नै नगरी भएको शुरुको फैसलामा कानूनी त्रुटि रहेको हुँदा उक्त फैसला बदर गरी खिचोला मेटाई घर उठाई चलन समेत चलाई पाउँ भन्ने पुनरावेदन जिकिर लिई वादीको पुनरावेदन अदालतमा परेको पुनरावेदन पत्र ।

      ६.    घर जग्गा कानून बमोजिम पारित गरी हक टुटाई नलिएको अवस्थामा वादी दावी नपुग्ने ठहर्‍याएको शुरुको ईन्साफ फरक पर्न सक्ने देखिँदा अ.वं. २०२ नं. बमोजिम प्रत्यर्थी झिकाई पेश गर्नु भन्ने पुनरावेदन अदालतको आदेश ।

      ७.    वादी दावीको साविक कि.नं. १५४७ र १५४८ को जग्गा वादीको हक दर्ता श्रेस्ता अन्तर्गतको भएको पुष्टि भएकोले अदालतबाट मिति २०५७।९।२२ मा भई आएको नक्सा कुण्डलीमा उल्लेखित .न.नं. ३, ३ क , ४ र न.नं. ५ का जग्गामा प्रतिवादीले खिचोला गरी न.नं. ३ को घर समेत अनाधिकृत रुपमा नाएको ठहर्छ । सो ठहर्नाले उल्लेखित जग्गा सबैमा वादीले प्रतिवादीबाट चलन पाउने भई दावी बमोजिम न.नं. ३ को घर समेत हटाई चलन पाउने ठहर्छ । न.नं. ३, ३ क. र न.नं. ४ मा वादी दावी नपुग्ने ठहर्‍याएको महोत्तरी जिल्ला अदालतको मिति २०५७।४।९ को फैसला त्रुटिपूर्ण हुँदा सो हदसम्म शुरुको फैसला केही उल्टी हुन्छ भन्ने पुनरावेदन अदालतको फैसला ।

      ८.    कि.नं. १५४८ को क्षेत्रफल ०४ मध्ये ०१५ धुर जग्गा मात्र विपक्षीको अंश भागमा परेको हो । कि.नं. १५४८ को जग्गा मध्ये ०१५ धुर जग्गा विपक्षीको अंश भागमा परी ०९ धुर जग्गा बाँकी रहेको छ । कि.नं. १५४८ को जग्गा मध्ये ०१५ धुर जग्गा विपक्षीको अंश भागमा परेकोमा पुरै जग्गा विपक्षीको अश भागमा परी विपक्षीको हक स्थापित भएको भनी गरेको फैसला त्रुटिपूर्ण छ । वादी दावीको जग्गा मैले पहिला देखि नै घर नाई सी आएको छु । मिति २०५७।१।१४ मा गा.वि.स.ले घर निर्माण रोक्का पत्र मलाई पठाएको भन्ने सम्बन्धमा उक्त पत्र गा.वि.स.ले हालसम्म मलाई बुझाएको छैन । मलाई बुझाउदै नबुझाएको पत्रको आधारबाट मलाई हराएको फैसला प्रमाण कानून विपरीत छ । वादी दावीको जग्गा साविक देखि मैले घर नाई भोग चलन गरी आएको भनेको र हाल पनि मेरै भोगमा रहेकोमा विपाक्षीले साविक देखि मेरो भोग नरहेको फिराद दावीको मितिमा मात्र खिचोला गरेको भन्ने कथनलाई कहि कतैबाट पुष्टि गराउन सक्नु भएको छैन । फिराद दावीको मितिमा खिचोला गरेको भन्ने साक्षी वकपत्र समेत नगराई वादी दावी पुग्ने ठहर्‍यार्इ गरेको फैसला बदर भागी छ भन्ने समेतको पुनरावेदक प्रतिवादीको पुनरावेदन पत्र ।

      ९.    यसमा २०२० सालको वण्डापत्रबाट वादीले पाएको भनेको कि.नं. १५४८ को ०४ जग्गामा वादीले ज.वि. ०१६ जग्गामात्र पाएको र उक्त जग्गा प्राप्त गर्दा उक्त कि.नं. १५४८ को पश्चिम साँध निज घर सो पूर्व भन्ने उल्लेख भएको देखिन्छ र हाल सर्भे नापीमा कि.नं. १५४७ र १५४८ एउटै प्लट गाउँ व्लकको नक्सा भित्र पारी नापी भएको हुँदा पुनरावेदक प्रतिवादीले उक्त २०२० सालको वण्डापत्रबाट वादीले पाएको कि.नं. १५४८ को जग्गा बाहेक पश्चिमतर्फ रहेको घरमा समेत प्र.ले खिचोला गरेको ठहर गरी उक्त घर समेत वादीले पाउने ठहर गरेको पुनरावेदन अदालतको ईन्साफ मिलेको नदेखिई फरक पर्ने सक्ने देखिँदा अ.वं. २०२ नं. बमोजिम छलफलको लागि विपक्षी झिकाई आएपछि नियमानुसार पेश गर्नु भन्ने समेतको यस अदालतको २०६३।२।२१ को आदेश ।

      १०.    नियम बमोजिम दैनिक पेशी सूचीमा चढी ईजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दासँग सम्बन्धित सम्पूर्ण मिसिल कागजात अध्ययन गरी प्रत्यर्थी वादीका तर्फबाट उपस्थित विद्धान अधिवक्ता श्री कमलनारायण दास र विजय कुमार सिंहले वादीले अशबाट पाएको जग्गामा नेको घर समेतमा प्रतिवादीले जवरजस्ती घर भत्काई कि.नं. १५४८ को जग्गाको पश्चिम उत्तर कुना च्यापी खिचोला गरेको कुरा प्रष्ट हुन्छ भन्ने समेतको बहस गर्नुभयो । प्रस्तुत मुद्दामा शुरु अदालतले विवादको कित्ता जग्गा मध्ये न.नं. ५ तर्फ मात्र दावी पुग्ने ठहर्‍याएकोमा पुनरावेदन अदालतले शुरुको ईन्साफ केही उल्टी गरी न.नं. ३,३क, ४ र ५ का घर जग्गा समेतमा खिचोला ठहर्‍याएको इन्साफ मिलेको छ, छैन ? भन्ने कुराको निर्णय गर्न पर्ने देखिन आयो ।

११.    ईन्साफ तर्फ विचार गर्दा प्रस्तुत मुद्दामा वादीले कि.नं. १५४७ र १५४८ का जग्गामा प्रतिवादीले खिचोला गरेको भनी दावी गरेका छन् । विवादको जग्गाको हकको श्रोतको रुपमा बादीले २०२६ सालको पारित वण्डापत्रलाई देखाएको पाइन्छ । मिसिल संलग्न २०२० सालमा पारित भएको बण्डापत्र अनुसार विवादको कि.नं. १५४७ र १५४८ का जग्गा वादीले पाएको भन्ने कुरा उक्त वण्डापत्रको लिखतबाट  देखिन्छ । अदालतबाट २०५७।९।२२ मा भै आएको नक्सामा उल्लेख भएको प्रतिवादीले भोग गरेको विवादको न.नं. ३, ३क र ४ ले चर्चेको जग्गा कि.नं १५४७ को होइन भनी वादीले नक्सा मुचुल्कामा लेखाईदिएपनि आधिकारीक रुपमा नाप नक्सा भई तयार भएको दर्ता श्रेस्तालाई चुनौती दिनको लागि स्तुनिष्ट प्रमाण समेत पेश गर्नुपर्ने हुन्छ । उल्लेखित न.नं. ३ समेतका जग्गाहरू कि.नं १५४७ को होइन भन्ने प्रतिवादीले कि.न. १५४७ को अर्को जग्गा के कुन हो भनी देखाउन सकेको समेत पाईदैन । वण्डापत्र अनुसार वादीले पैन से उत्तर कि.नं.१५४७ समेतका जग्गा पाएकोमा भै आएको नक्सा समेतबाट सो कुरा पुष्टि भएको पाइन्छ ।  प्रतिवादीवादीले दावीको जग्गा आफले वादीबाट पाएको भन्ने जिकिर लिएपनि सो कुराको प्रमाण पुर्‍याउन सकेको पाईदैन । हकको स्वामित्वको प्रमाण पेश हुन नसकेको अवस्थामा अन्य कुनै पनि आधारले एकको हकभोगको जग्गामा अन्य व्यक्तिको अधिकार रहेको भन्नु प्रमाण र कानूनको रोहमा उपर्युक्त हुंदैन । प्रतिवादीले मौखिक सहमतिको आधारले जग्गामा आफ्नो हक भएको भने पनि हक भएको कुराको लिखत प्रमाण पेश दाखिल हुन नसकेको अवस्थामा अन्य गैह्र आधार र मौखिक सम्झौताले अधिकारको श्रृजना गर्न सक्ने हुन्न । जग्गाको हकको स्रोत र स्वामीत्वको सम्बन्धमा लिखित प्रमाण नै सर्वोत्तम प्रमाण हुने हुँदा सो बाहेकका अन्य प्रमाणले हकको स्रोतको लिखत प्रमाण सरहको स्थान लिन सक्ने हुँदैन । अदालतबाट भै आएको नक्सा .नं. ३, , ४ र ५ समेतका सम्पूर्ण घर जग्गा वादीको हकको श्रोत भित्रकै जग्गा देखिएको छ। यसै विवादका घर जग्गाहरूको विषयमा अघि पनि वादी प्रतिवादीबीच विवाद हुँदा गा.वि.स.को कार्यालयले २०५७।१।१४ मा विपक्षीको नाउँमा घर निर्माण रोक्का गर्ने पत्र पठाएको भन्ने कुरा मिसिल प्रमाणबाट देखिन्छ । प्रतिवादीले सो कुराको सम्बन्धमा चित्त नबुझेको भए तत्काल उजुर वाजुर गर्न सक्नुपर्नेमा सो गर्न सकेको भन्ने कुरा मिसिल प्रमाणबाट देखिँदैन । उल्लेखित आधार, कारण र २०२० सालको वण्डापत्र र भै आएको नक्सा समेतलाई  दृष्टिगत  गर्दा न.नं. ३, ३.क.र ४ समेतका जग्गामा खिचोला ठहर गर्नु पर्नेमा न.नं. ५ मा मात्र खिचोला ठहर गरेको शुरुको ईन्साफ केही उल्टी गरी विवादको न.नं. ३, ३क , ४ र ५ समेतमा खिचोला ठहर गरेको पुनरावेदन अदालत जनकपुरको ईन्साफ मिलेकै देखिँदा सदर हुन्छ । पुनरावेदक प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्दैन । दायरीको लगत काटी मिसिल नियमानुसार गरी बुझाई दिनु ।

 

उक्त रायमा सहमत छु ।

   

न्या. ताहिरअलि अन्सारी

 

फैसला तयार गर्नेः उ.स. स्वीकृति पराजुली

 

इति सम्वत् २०६४ साल माघ ११ गते रोज ६ शुभम्–––––

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु