शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ७८९१ - कर्तव्य ज्यान

भाग: ४९ साल: २०६४ महिना: माघ अंक: १०

निर्णय नं. ७८९१     ने.का.प. २०६४                   अङ्क १०

 

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री खिलराज रेग्मी

माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ

सम्वत् २०५९ सालको फौ.पु.न. २७६८

फैसला मितिः २०६४।१।३१।२

 

मुद्दाःकर्तव्य ज्यान ।

 

पुनरावेदक / वादीः रामसिंह खड्काको जाहेरीले श्री ५ को सरकार

विरुद्ध

प्रत्यर्थी / प्रतिवादीः डडेलधुरा जिल्ला दिव्यपुर गा.वि.स. वडा नं. २ बस्ने पिलायल गाउ बस्ने नरेशसिंह खड्का

 

§  भवितव्य हुन ज्यान लिनेसम्मको इविलाग वा मनशाय नभएको र आफूले गरेको कर्तव्यले मानिस मर्ला जस्तो नदेखिएको हुनुपर्ने र यसबाट कुनै कार्य फौज्दारी अपराध हुनको लागि आवश्यक पर्ने मनशाय (Mensera) र आपराधिक कार्य (Acrusrius) दुई तत्वहरूको विद्यमानता नभई आशयरहितको अप्रत्यासित भएको कार्य भवितव्य ठहरिने ।

§  ज्यान मार्ने मनशाय पनि नभएको, इवि पनि नभएको र लुकी चोरी पनि नहानेको तर, त्यसैबेला उठेको कुरामा रिस थाम्न नसकी लाठा, ढुंगा, लात, मुक्काले हान्दा मानिसको मृत्यु भएमा आवेशप्रेरित हत्या ठहर्ने ।

§  प्रतिवादीले तत्काल उठेको रिस थाम्न नसकी प्रहार गरेको कुरा ज्यानसम्बन्धी महलको १४ नं. मा वर्णित अवस्थाभित्रै पर्ने हुँदा यस्तोलाई आवेशप्रेरित हत्याभन्दा अन्यथा भन्न नमिल्ने । 

   (प्रकरण नं.१०)

 

पुनरावेदक वादी तर्फबाट : विद्वान उपन्यायाधिवक्ता विश्वराज कोइराला

प्रत्यर्थी प्रतिवादी तर्फबाट :

अवलम्वित नजीरः

 

आदेश

            न्या.खिलराज रेग्मीः न्याय प्रशासन ऐन, ०४८ को दफा ९ बमोजिम पुनरावेदन अदालत, महेन्द्रनगरको मिति ०५८।८।१९ को फैसलाउपर तत्कालीन श्री ५ को सरकारका तर्फबाट यस अदालतमा पुनरावेदन दायर हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छ ।

            मिति २०५७।४।३ गते बिहान म मकै गोडमेल गर्न मकैबारीमा गएको र वेलुकी मकैबारीबाट फर्की घरमा आउदा बुहारी मदनादेवी खड्काको आफ्नै सुत्ने कोठाको खटियामा मृत्यु भएका अवस्थामा लाश फेला परेकोले जाहेर गर्न आएको छु, कानूनबमोजिम गरिपाऊँ भन्नेसमेत व्यहोराको रामसिंह खड्काको मिति २०५७।४।४ गतेको जाहेरी ।

            पिलायल गाउँ स्थित नरेशसिंह खड्काको घरमा मदनादेवी खड्का सुत्ने गरेको भनेको कोठाभित्र काठको खटियामा उत्तर सिरान दक्षिण गोडा भै बाया कोल्टे पल्टी रहेको मदनादेवी खड्काको लाश पूरै सुनिएको र दुरगन्ध आइरहेको, शरीरको ठाउ ठाउँमा फोका उठेको, अनुहार सुनिई निलो भएको, दाया तिघ्रामा दुई ठाउमा र ढाड पिठ्यूको दुई ठाउमा निलहरू देखिएका र मुखबाट पुरै जिब्रो कालो भै बाहिर निस्केको भन्नेसमेत व्यहोराको मिति २०५७।४।५ गतेको लाशजाच मुचुल्का ।

            Intracrenial and intraabdominal hemorrhages was more markable findings to cause death.  भन्नेसमेत व्यहोराको मिति २०५७।४।६ गतेको शवपरीक्षण प्रतिवेदन ।

            मृतक मदनादेवी खड्का मेरी भान्जी नाताकी हुन्, मदनादेवी खड्का मरेकी छ भन्ने कुरा मिति २०५७।४।४ गतेका दिन सुनी निजको घरमा जादा लाशको प्रकृतिसमेत देखे बाटोमा मृतक मदना र निजको श्रीमान नरेशसिंह खडकाबीच मिति २०५७।४।३ गतेका दिन झगडा भएको थियो भन्ने कुरासमेत सुनेको हुँदा नरेशसिंह खडकाकै कुटपिटबाट मदनादेवी खडकाको मृत्यु भएकोमा विश्वास लाग्छ भन्नेसमेत व्यहोराको मिति २०५७।४।७ गतेको गोपालसिंह ठगुन्नाको कागज ।

            मिति २०५७।४।३ गतेका दिन बेलुकी मकैबारीबाट घरमा आई बुहारी मरेको देखी छोरा नरेशलाई बुहारी के कसरी मरी भनी सोद्धा तत्काल नबताएको र हाल निजको परिवर्तित चाल चलन देखी राम्ररी सोद्धा घटनाबारे तत्काल मैले डरले नबताएको हो, मिति २०५७।४।३ गतेका दिन मदनाले माइत जान्छु भनेकी र मैले नाई भन्दासमेत नमानी जिद्दी गर्दा निज र मेरोबीच झगडा भई रिशको झोकमा कुटपीट गर्दा मरेकी हो भनी ताएको भन्नेसमेत व्यहोराको मिति २०५७।४।८ गतेको जाहेरवाला रामसिंह खडकाको कागज ।

            मिति २०५७।४।१० गते अभियुक्त नरेशसिंह खडकालाई पक्राउ गरी दाखिल गरेको भन्नेसमेत व्यहोराको प्र.स.नि. दुर्गादत्त पन्तको प्रतिवेदन ।

            मिति २०५७।४।३ गतेका दिन जेठी आमा र ३ र्षकी हिनी गाल गाउमा, कान्छी आमा र ससाना २ वटा भाईहरू खरमेलोतिर, बुवा मकै गोड्न र म, श्रीमती मदना, बजै र डेढर्षकी हिनीसमेत घरमै थियौ, श्रीमती मदनाले माइती जान्छु भन्दा मैले इन्कार गर्दासमेत नमानी जिद्दी गर्दा झगडा भएको र रिशको झोकमा निज श्रीमतीको घाँटीमासमेत समाती कुटपीट गर्दा मेरै कुटाइबाट श्रीमती मदनाको मृत्यु भएको हो बेलुकी बुबा आमाहरू घरमा आई बुहारी के कसरी मरेकी हो भनी सोद्धा तत्काल डरले नबताएको हो भन्नेसमेत व्यहोराको अभियुक्त नरेशसिंह खडकाको बयान ।

            मिति २०५७।४।३ गतेका दिन म भैसी किन्न पिलायल गाउमा गएको थिएँ र भैसी बेच्ने मानिससँग मोलभाउमा चित्त नबुझी घर फर्किन लाग्दा जाहेरवाला रामसिंह खडका मेरो साला भएकोले भेट गरी जाउ भनी निजको घरमा जादा कसैले पनि मलाई ढोग गरेनन्, समय बेलुकी ७ बजेको थियो । जाहेरवाला रामसिंह खडकाका घर परिवार सबैले रुन्चे अनुहार लगाई आँशु बगाइरहेका थिए, किन के भयो भनी सोद्धा जाहेरवालाले बुहारी खतम भएकी छ छोरा पनि घरै थियो छोरालाई बुहारी कसरी मरी भनी सोद्धा थाहा छैन भन्दछ भनी रामसिंह खड्काले ताएपछि जुठो परेको ठाउमा म खाना पनि नखाने हुँदा प्रहरीमा जाहेर गर्ने भनी सल्लाह दिई आफ्नो घरतिर लागेको हुँ । हाल सुने अनुसार मिति २०५७।४।३ गतेका दिन नरेशसिंह खड्का र मदनादेवी खडकाबीच माइती जाने बिषयमा झगडा भएको र नरेशसिंह खड्काको कुटपीटबाटै मदनाको मृत्यु भएको कुरा बुझिन आएकोले सोही कुरामा विश्वास लाग्छ भन्नेसमेत व्यहोराको धनसिंह डांगीको कागज ।

            मिति २०५७।४।२ गतेका दिन म गालगाउँको आफ्नै मकैबारीमा थिएँ । त्यसको ठीक पारीपट्टि पिलायल गाउँमा जाहेरवाला रामसिंह खड्काको घरमा झगडा र गाली गलौज भैरहेको आवाज टाढैबाट सुनेको हुँ । ती झगडियाहरूलाई बीचमा सम्झाउने कुनै तेस्रो व्यक्तिको आवाज सुनिएको थिएन । झगडा गर्ने को-को हुन भन्ने कुरा टाढा भएकोले चिन्न सकिन । भोलीपल्ट जाहेरवाला रामसिं खड्काकी बुहारीको घरभित्र मरेका अवस्थामा लाश भेटियो भन्ने खर सुनेपछि हिजो भएकै झगडाका कारण लाश परेको होला भन्ने शंका लागेको थियो । हाल गाउघरमा सुने वुझे अनुसार मिति २०५७।४।३ गतेका दिन नरेशसिंह खड्का र निजकी श्रीमती मदनाका बीच माइती जाने विषयमा झगडा हुँदा नरेशसिंह खडकाको कुटाइबाट मदनादेवी खड्काको मृत्यु भएको कुरामा विश्वास लाग्छ भन्नेसमेत व्यहोराको मिति २०५७।४।१७ गतेको कमलसिं खडकाको कागज ।

            जाहेरवालाको छोरा नरेशसिंह खड्का र निजको श्रीमती मदनादेवी खड्काका बीच माइती जाने विषयमा झगडा हुँदा नरेशसिंह खड्काले मदनादेवी खड्कालाई कुटपीट गरी मारेको हो भन्ने कुरोको गाउँघरमा हल्ला सुनको हुँ । नरेशसिंह खड्का सन्काहा र मूर्खखालको भएकोले रिको बेला आफ्नी श्रीमतीलाई कुटपीट गरी मारेको कुरामा विश्वास लाग्छ भन्नेसमेत व्यहोराको दुर्गादत्त पन्तको कागज।

            मृतक मदनादेवी खड्का मेरो छोरी हो, निजलाई ज्वाई नरेशले बेला बेलामा तिमी मलाई मन परेकी छैनौ भनी झगडा र कुटपिट गरी रहन्थे भनी छोरीले समय समयमा मलाई ताउने गरेकीले मिति २०५७।४।३ गतेका दिन ज्वाई नरेशसिंह खड्काले नै मेरो छोरी मदनालाई कुटपीट गरी मारेको पूर्ण विश्वास लाग्छ भन्नेसमेत व्यहोराको हरिसिं महतको कागज ।

            मिति २०५७।४।३ गतेको बिहानको खाना खाई म २ घण्टा ससाना छोराहरूसमेत साथमा लगी घास काट्न र गाई गोरु चलाउन खरबारीतिर गै बेलुकी फर्की घरमा पुग्दा बुहारीलाई नदेखी छोरा नरेशलाई बुहारी कहाँ गै भनी सोद्धा निजले मदना भित्र खटियामा पल्टेकी छ भनेकोले हेर्न जाँदा मृत अवस्थामा देखेकी हुँ । तत्काल बुहारी के कसरी मरी भन्ने कुरा छोराले बताएन । केही दिनपछि माइती जाने विषयमा झगडा भएको थियो । कुटपिट गर्दा मरेकी हो भन्नेसमेत व्यहोराको धौलीदेवी खड्काको कागज ।

            हाम्रो गालगाउँ र पिलायल गाउ २ ठाउमा स्ती भएकोले घरको पहरोसमेत गर्नका लागि म गालतिर बस्ने गरेकी हुँदा मिति २०५७।४।३ गतेका दिन पनि म गालगाउँमै थिएँ । बुहारी मदना मरेको खबर पाएपछि पिलायल गाउ आएकी हु । तत्काल के कसरी बुहारी मरी भन्ने कुरा मलाई थाहा भएन । पछि मिति २०५७।४।३ गतेका दिन माइती जाने विषयमा मदना र मेरो झगडा हुँदा मैले निजलाई गरेको कुटपीटका कारण मदनाको मृत्यु भएको हो भन्ने कुरा छोरा नरेशले भने अनुसार थाहा पाएकी हु भन्नेसमेत व्यहोराको बिस्नादेवी खडकाको कागज ।

            मिति २०५७।४।३ गतेका दिन नाति नरेश, बुहारी मदनादेवी, डेढर्षको नातिनी र म घरमै थियौ । नाति नरेश र बुहारी मदनाको माइती जाने विषयमा झगडा भैरहेको थियो । मैले झगडा नगर भन्दा कसैले पनि सुनेनन् र वास्ता गरेनन् । म बिरामी भएकीले बाहिर आउन सकिन । नाति नरेशले बुहारी मदनालाई कुटपीट गर्दै आफ्नो सुत्ने कोठाभित्र लगी गएको थियो । नरेशकै कुटपीटबाट मदनाको मृत्यु भएकोमा पूर्ण विश्वास लाग्छ र नरेशले नै मदनालाई मारेको हो भन्नेसमेत व्यहोराको मैनादेवी खड्काको कागज ।

            प्रतिवादी नरेशसिंह खडकाले मृतक मदनादेवीको घाटीमा समाती लात मुक्काले निजको शरीरको विभिन्न भागमा कुटपीट गरेको र सोही कारणबाट मृतकको मृत्यु भएकोले प्रतिवादी नरेशसिंह खड्काले मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १ नं.ले निषेध गरेको कसूर अपराध गरेको देखिँदा निजउपर सोही ऐनको सोही महलको १४ नं. बमोजिम सजायको मागदावी लिदै प्रस्तुत मुद्दाको सक्कल मिसिल कागजातसहित अभियुक्त नरेशसिंह खड्कालाई यसै साथ प्रस्तुत गरिएको व्यहोरा सादर अनुरोध गरिएको छ भन्नेसमेत व्यहोराको अभियोगपत्र ।

            सानोतिनो विवादमा माइत भाग्नु हुन्न घर हिड भन्दा फर्किन नमानेकीले मैले हातमा समातेको सानो लोरोले एक चोटी निजको दाया खुट्टामा बिस्तारै हानेपछी निज उठी घरतिर फर्की म सगै घरमा पुगेकी हो पछि म काम गर घर फर्की आउदा घर भित्र कोठामा श्रीमती मृत अवस्थामा पल्टिरहेको देखेपछि बुबा आमालाई भनें बुबा आमासहित सबै परिवार रोई कराई गर्न लागे, खटिया छेउ भुइमा पानीको लोटा र मुसा मार्ने दवाई लेखेको कागजको पोको देखें सो पाको उठाई मैले घर बाहिर करेसामा फाली दिएको हु, मृतकलाई मैले कर्तव्य गरी मारेको हैन ।

            सरकारी वकीलले बयान गर्दा कुटछन कि भन्ने डरबाट मैले रिस उठी कुटेका चोटबाट मृतक मदनाको मृत्यु भएको हो भनी लेखाई दिएको हु । भन्ने समेत व्यहोराको प्रतिवादी नरेशसिंह खड्काले डडेलधुरा जिल्ला अदालतमा गरेको बयान ।

            मिति २०५७।४।३ गतेका दिन बुहारी आफैले औषधी खाई मरेकी हुन्, बुहारी मदना मरेको ठाउमा सिसमा झोल औषध देखेकी थिएँ, सो विषको सिस प्रहरीले आफ्नो जिम्मा लगी गएका हुन् कहा लगे के गरे मलाई केही थाहा छैन, बुहारी आफैले विष खाई मरेकी हो भन्ने कुरा प्रहरीले विषको सिस देखाउदा देखेकीले विष खाई मरेकी हो भन्ने कुरामा मलाई विश्वास लाग्छ भन्ने बिस्नादेवी खडका र मृतक मदनादेवी खड्काले आफै विष खाई मरेकी हुन सो विषको सिसी प्रहरीले आफू जिम्मा लिएका हुन् भन्ने धौलीदेवी खड्का, प्रतिवादी नरेशसिंह खडकाले मृतक मदनादेवी खड्कालाई कुटपिट गरी मार्यो होला भन्ने मलाई विश्वास लाग्दैन, लाश नजिकै दबाईको सिसी थियो सो दबाई खाई मरी होला भन्ने कुरा मैले सुनेकोले दबाई खाई मरेकी हुनु पर्छ भन्ने प्र. का साक्षी धनसिं डांगी । मृतक मदनादेवीलाई मरेको अवस्थामा देखेको हुँ, मृतक मदनादेवीको दुवै तिघ्रामा र पिठ्युमा समेत साना साना तिलहरू थिए, दाहिने कानबाट रगत आइरहेको र मुखको भाग निलो अवस्थामा देखेकोले मृतक मदनादेवीको मृत्यु प्र. नरेशसिंह कै कुटपिटबाट भएकोमा विश्वास लाग्छ नरेशसिंह र मृतकबीच झगडा भएको भन्ने कुरा जाहेरी दरखास्त परेपछि मात्र थाहा पाएको हु भन्ने गोपालसिं ठगुन्ना । प्रतिवादी नरेशसिंह खडकाले मृतक मदनादेवीलाई कुटपीट गरी मारेको हैन, लाश नजिकै दवाइको सिसी राखिएको थियो, कसरी मरी भनी मैले भन्दा यो सिसीमा भएको किरा मार्ने दबाई खाई मरेकी हुन भन्ने कुरा सुनेको थिए, प्र. नरेशले कुटपीट गरी मारेको होला भन्ने मलाई केही थाहा छैन भनी मैले प्रहरीसमक्ष गरेको कागजमा लेखाएको थिएँ र प्र. नरेशसिंह खडकाले आफ्नी श्रीमती मदनादेवीलाई कुटपीट गरी मारेकोमा विश्वास लाग्छ भनी मैले भनेको थिइन, यसका साथै प्र. नरेशसिंह खडका सनकाहा खालको र मुर्ख टाइपको मान्छे हो भन्ने कुरा पनि मैले प्रहरीमा भनेको थिइन, लेख्नेले आफ्नै व्यहोरा कागज नाई लेखेको हुनुपर्छ भन्ने दुर्गादत्त पन्त समेतले छुट्टा छुट्टै गरी दिएको वकपत्र ।

            मिति २०५७ साल श्रावण ३ गतेका दिन बिहान मेरो छोरा रामसिं खड्का निजका दुवै श्रीमतीसहित खाना खाई गहत छर्न गएका थिए । दिउँसो बिस्तारै बाहिर आई निज बुहारी मदना सुत्ने गरेको कोठामा गई बुहारी पानी दे भन्दा बोलिनन् त्यसपछि निज सुत्ने खटियामा गै हातले छामछुम गर्दा खटियामा पल्टेकीमा बुहारी भन्दा बोलिन पछि छोरा बुहारीहरू आई रुन थाले के भो भन्दा बुहारी मरी भन्नेसम्म थाहा पाएकी हुँ, के कसरी मरी भनी घर परिवारसँग सोधपुछ गर्दा विष खाएकी हो भन्थे म कान कम सुन्ने, हिड्न नसक्ने र अशक्त भएकीले मसँग सबै कुरा गर्न आएनन के कसरी मरेकी रहिछ थाहा छैन, नाति नरेशले बुहारीलाई बिना कारण किन मारे होला निजले बुहारीलाई मारेको होइन भन्ने कुरामा विश्वास गरेकी छु भन्नेसमेत व्यहोराको मैनादेवी खड्काले गरी दिएको वकपत्र ।

            यसमा नरेशसिंह खड्का र मृतक श्रीमती मदनाबीच आपसी झगडा हुँदा मृतकले प्र. नरेशसिंहलाई गाली गर्दा सोही कुराबाट निज रिशको आवेशमा आई मृतक मदनालाई कुटपीट गर्दा सोही कुटपीटको चोटको कारणबाट निज मदनादेवी खड्काको मृत्यु भएको पुष्टि हुनआएकोले अभियोगपत्र मागदावी अनुसार मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १४ नं. बमोजिम प्र. नरेशसिंह खड्कालाई १० बर्षको कैदको सजाय हुने ठहर्छ भन्नेसमेतको शुरु डडेलधुरा जिल्ला अदालतको फैसला ।

            मलाई गाली गर्दा र आपसी कल झगडाबाट कुटपीट गर्दा त्यसैबाट मदनाको मृत्यु भएको पुष्टी हुन्छ भनी सजाय तोकेको छ, त्यसको पुष्टि कुन प्रमाणबाट कसरी हुन गएको हो, त्यो भने उल्लेख गरेको पाइदैन । बिना कसूर १० बर्ष कैदको सजाय हुनु अन्यायपूर्ण छ, मैले आफ्नी स्वास्नीलाई माइत नजानु भन्नु कुनै अपराध हुन सक्दैन र केवल त्यही कारणबाट ज्यानै समाप्त पार्ने कार्य मबाट भएको भनी दोषी ठहर गर्नु न्यायोचित भएको भन्न मिल्दैन । ज्यानसम्बन्धी महलको १४ नं. यसमा आकृष्ट हुनसक्ने अवस्था नै छैन, लाग्नै नसक्ने ऐनको दफा लगाई गर्दै नगरेको कसूरका लागि सजाय तोकिएको हुँदा शुरु अदालतबाट भएको फैसला कानून र तथ्यको विरुद्ध हुँदा बदर गरी सफाइ पाउँ भन्नेसमेतको प्रतिवादी नरेशसिंह खडकाको पुनरावेदन अदालतमा पर्नआएको पुनरावेदन ।

            यसमा मुद्दाको घटनाक्रमलाई मध्यनजर गर्दा ज्यानसम्बन्धीको १४ नं. लगाई गर्ने गरेको शुरुको फैसला फरक पर्नसक्ने हुँदा अ.वं. २०२ नं. तथा पुनरावेदन अदालत नियमावली, २०४८ को नियम ४७ बमोजिम प्रत्यर्थी वादी श्री ५ को सरकारलाई पेशीको सूचना दिई नियमानुसार पेश गर्नु भन्ने पुनरावेदन अदालतको आदेश ।

            शुरु डडेलधुरा जिल्ला अदालतको फैसला उल्टी गरी प्रतिवादी नरेशसिंह खड्कालाई मुलुकी ऐन ज्यानसम्बन्धी महलको ५ नं.बमोजिमको अपराध देखिँदा सोही महलको ६(४) बमोजिम रु. ५००।जरिवाना र दुई र्षको कैद सजाय हुने ठहर्याएको पुनरावेदन अदालत, महेन्द्रनगरको मिति ०५८।८।१९ को फैसला ।

            प्रतिवादी लोग्नेसँगको भनाबोलको कारण रिसाई माइत जान लागेकी मृतकलाई सम्झाउदा नमानी उल्टै अभद्र व्यवहार गरेको कारण उठेको रिस थाम्न नसकी मृतकको घाटीमा समाती कुटपीट गरेको हु भनी प्रतिवादीले अधिकारप्राप्त अधिकारीसमक्ष समेत साविति बयान दिएसमेतको अवस्थामा उक्त आवेशप्रेरित हत्याको वारदातलाई भवितव्य ठहर्याएको पुनरावेदन अदालतको फैसला मिसिल संलग्न अन्य प्रमाणहरू समेतबाट मिलेको नदेखिई त्रुटीपूर्ण भएकाले सो फैसला बदर गरी शुरु डडेलधुरा जिल्ला अदालतको फैसला सदर गरिपाउ भन्नेसमेत व्यहोराको वादी तत्कालीन श्री ५ को सरकारका तर्फबाट यस अदालतमा दर्ता हुनआएको मिति २०५९।५।३ को पुनरावेदन पत्र ।

            यसमा प्रतिवादीले अदालतमा बयान गर्दा नै आफूले मृतकलाई लौराले हानेको स्वीकार गरेको देखिन्छ । मृतकको शवपरीक्षण प्रतिवेदनमा Cause of death मा intracranial and intra abdominal hemorrhages भनी उल्लेख भएको देखिन्छ । प्रतिवादीले अधिकारप्राप्त अधिकारीसमक्ष बयान गर्दा आफूले कर्तव्य गरी मृतक श्रीमतीलाई मारेकोमा सावित भई बयान गरेको साथै प्रतिवादी विरुद्ध किटानी जाहेरी परेकोमा प्रतिवादीलाई भवितव्य ठहर गरी सजाय गरेको पुनरावेदन अदालत, महेन्द्रनगरको फैसला फरक पर्नसक्ने देखिँदा प्रत्यर्थी झिकाई पेश गर्नू भन्ने व्यहोराको मिति २०६३।८।२४ को यस अदालतको आदेश ।

            २.    नियमानुसार दैनिक मुद्दा पेशीसूचीमा चढी निर्णयार्थ इजलाससमक्ष पेश भएको पुनरावेदनसहितको मिसिल अध्ययन गरियो ।

            ३.    पुनरावेदक वादी नेपाल सरकारका तर्फबाट विद्वान उपन्यायाधिवक्ता विश्वराज कोइरालाले प्रतिवादी नरेशसिंह खड्काले मृतक पत्नीसँगको विवादको कारण माइती जान लागेकी मृतक पत्नीलाई सम्झाउदा नमानी उल्टै गाली गरेको र सो गालीको कारण उठेको रिस थाम्न नसकी मृतकको घाटीमा समाति कुटपीट गरेको हु भनी अनुसन्धान अधिकारीसमक्ष साविति बयान दिएको र अदालतमा समेत माइती नजाउ भनी फर्काउने क्रममा लौराले खुट्टामा हानेको थिएँ भनी बयान दिएको अवस्थामा उक्त हत्यालाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १४ नं. को व्यवस्थाको विपरीत पुनरावेदन अदालतले आवेशप्रेरित हत्या नठहराई भवितव्य ठहर्याएको फैसला त्रुटीपूर्ण भएकाले बदर गरी शुरु जिल्ला अदालतको फैसला सदर गरिपाउ भनी बहस प्रस्तुत गर्नुभयो ।

            ४.    विद्वान कानून व्यवसायीबाट प्रस्तुत भएको बहससमेत सुनी पुनरावेदनसहितका मिसिल कागजात अध्ययन गरी पुनरावेदन अदालतको फैसला मिले नमिलेको के रहेछ र पुनरावेदन जिकिर पुग्न सक्ने नसक्ने के रहेछ निर्णय दिनुपर्ने देखियो ।

            ५.    निर्णयतर्फ विचार गर्दा प्रतिवादी नरेशसिंह खड्काले मृतकलाई कर्तव्य गरी मारी मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १ नं. को कसूर गरेको हुँदा सोही महलको १४ नं. बमोजिम सजायको मागदावी भएको प्रस्तुत मुद्दामा शुरु डडेलधुरा जिल्ला अदालतले मागदावी बमोजिम ज्यानसम्बन्धी महलको १४ नं. बमोजिम १०(दश) बर्ष कैद सजाय हुने ठहर्याए उपरको पुनरावेदनमा पुनरावेदन अदालतबाट जिल्ला अदालतको फैसला उल्टी गरी ज्यानसम्बन्धी महलको ६(४) बमोजिम रु. ५००।– (पाचसय) जरिवाना र २ बर्ष कैद सजाय गर्ने ठहर्याएउपर वादीका तर्फबाट प्रस्तुत पुनरावेदन पर्नआएको देखियो ।

            ६.    यस अदालतमा पुनरावेदन गर्दा लिएको जिकिरका आधारमा प्रस्तुत वारदात आवेशप्रेरित हत्या हो कि भवितव्य हो भन्ने सम्बन्धमा हेर्दा प्रतिवादी नरेशसिंह खड्काले अधिकारप्राप्त अधिकारीसमक्ष मृतक श्रीमती मदनासँग माइत जाने सम्बन्धमा भएको विवादको क्रममा निजले आफूलाई गाली गर्दा झनक्क रिस उठी मैले निजको घाटी समाउदै कोठाभित्र लगी लातमुक्काले हानेपछि खटियामा लड्न गई निजको मृत्यु भएको हो भनी साविती बयान गरेको देखिन्छ । अदालतमा आई अधिकारप्राप्त अधिकारी समक्ष गरेको आफ्नो बयानलाई निज प्रतिवादी नरेशसिंह खड्काले इन्कार गर्दै मृतक पत्नीले बृद्ध बज्यैलाई बलेनीको पानी खान दिएको कुरामा हप्काएकोमा रिसाई माइत जान हिडेकीले निजलाई बीच बाटोबाट फर्काउदा लौराले एकचोटी खुट्टामा मात्र हानेको थिएँ, घरमा फर्की आएपछि निज श्रीमती कोठामा एक्लै भएकी र सोही मौकामा मुसा मार्ने दबाई खाई मरेकी रहिछ, सो दबाई मैले निज पल्टेको खटियाको छेउ भुईमा पाएको र कसैलाई नदेखाई करेसामा फालिदिएको हुँ, कुटी मारेको होइन भनी बयान गरेको देखिन्छ ।

            ७.    उपर्युक्त अधिकारप्राप्त अधिकारीसमक्ष गरेको साविती बयान र अदालतमा गरेको प्रतिवादीको बयानलाई विश्लेषण गर्दा प्रतिवादी नरेशसिंह खड्काले अदालतमा दिएको इन्कारी बयानमा समेत पनि मृतक श्रीमतीलाई लौराले खुट्टामा हानेको कुरा उल्लेख गरी आफूले कुटपीट गरेको कुरा स्वीकारेको हुँदा प्रतिवादीको बयान व्यहोरालाई मृतकको मौकामा भएको घटनास्थल लाशजाच प्रकृति मुचुल्कामा मृतकको शरीरको विभिन्न ठाउमा नीलडाम भएको भन्ने व्यहोराको उल्लेखनले पुष्टी गरेको देखिन आयो । घटनास्थल लासजाच प्रकृति मुचुल्कामा उल्लेखन भएको यस्तो व्यहोरालाई पुष्ट्याई हुनेगरी शव परीक्षण प्रतिवेदन (Autopsy report) मा मृत्युको कारण (Cause of death) मा टाउकाको भित्री भागमा र पेटको भित्री भागमा रक्तश्राव भएबाट मृत्यु भएको (Intracrenial and intra abdominal hemorrhages was more markable findings to cause death) भनी उल्लेख भएको पाइएको छ ।

            ८.    अदालतमा यी प्रतिवादीले मुसा मार्ने दवाई खाई मृतकको मृत्यु भएको भनी गरेको बयानका सम्बन्धमा हेर्दा शवपरीक्षण प्रतिवेदनमा पनि मृतकले विषादी सेवन गरेको लक्षणका सम्बन्धमा केही पनि उल्लेख गरेको पाइएन । यसरी अदालतमा विष सेवन गरी मृतकको मृत्यु भएको भनी प्रतिवादीले गरेको बयानको संपुष्टि मिसिल संलग्न कुनै पनि प्रमाण कागजबाट हुनसकेको देखिदैन । तसर्थ सो विष सेवन मृत्युको कारण भनी गरेको प्रतिवादीको बयान निरर्थक सावित हुनगएको छ । यसरी बिना तथ्यगत आधार र प्रमाण अदालतमा विष सेवन गरी मृतकको मृत्यु भएको भनी गरेको बयानलाई आधिकारिक मान्न सकिने स्थिति नदेखिँदा सो तथ्यसँग सहमत हुन सकिएन ।

            ९.    उल्लिखित प्रमाण र तथ्यको विवेचनाबाट मृतक मदनाको मृत्यु विष सेवन गरी भएको नदेखिई प्रतिवादीको कुटपिटबाट नै भएको देखिन आएको र निज प्रतिवादीले अधिकार प्राप्त अधिकारीसमक्ष गरेको बयान प्रामाणिक तवरले अन्यथा प्रमाणित हुन नसकेको अवस्थामा सो मौकाको प्रतिवादीको साविति बयानमा उल्लेख भएबमोजिम निज प्रतिवादीले पत्नीसँग माइत जाने सम्बन्धमा भएको विवादमा मृतक पत्नीले गरेको गालीबाट उठेको रिले आवेशमा आई कुटपीट गरेकाबाट नै भएको भन्ने देखिन आयो ।

            १०.    मुलुकी ऐन ज्यानसम्बन्धी महलको ५ नं. ले भवितव्य सम्बन्धमा गरेको व्यवस्थालाई हेर्दा ज्यान लिने इविलाग वा मनशाय नभई कसैले आफूले गरेको कर्तव्यले मानिस मर्ला जस्तो नदेखिएको कुनै काम कुरा गर्दा त्यसैद्धारा केही भई कुनै मानिस मर्न गए भवितव्य ठहर्छ भन्ने उल्लेख भएको देखिन्छ । ज्यानसम्बन्धी महलको ५ नं. को यस्तो व्यवस्थालाई हेर्दा भवितव्य हुन ज्यान लिनेसम्मको इविलाग वा मनशाय नभएको र आफूले गरेको कर्तव्यले मानिस मर्ला जस्तो नदेखिएको हुनुपर्ने र यसबाट कुनै कार्य फौज्दारी अपराध हुनको लागि आवश्यक पर्ने मनशाय (Mensera) र आपराधिक कार्य (Acrusrius ) दुई तत्वहरूको विद्यमानता नभई आशयरहितको अप्रत्यासित भएको कार्य भवितव्य ठहरिने भन्ने देखिन आउछ । प्रस्तुत मुद्दामा निर्विवाद तथ्यको रुपमा देखिएको प्रतिवादीको लठ्ठीले हाने भन्नेसम्मको अदालतमै गरेको बयान र अधिकारप्राप्त अधिकारीसमक्ष मृतक पत्नीले आफूलाई गरेको गालीको कारण रिस उठी लातमुक्काले हानी निजको मृत्यु भएको भनी गरेको मौकाको बयानलाई हेर्दा प्रतिवादीले अन्जानमा मृतक पत्नीलाई कुटेको नभई रिसको आवेगमा कुटेको पुष्टी भएको र त्यसलाई शवपरीक्षण प्रतिवेदनसमेतले पुष्टी गरेको अवस्था विद्यमान देखिन्छ । यसै प्रशंगमा मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १४ नं. को व्यवस्थालाई हेर्दा त्यसमा ज्यानमार्नाको मनशाय रहेनछ, ज्यान लिनुपर्नेसम्मको इवि पनि रहेनछ, लुकी चोरी हानेको पनि रहेनछ उसै मौकामा उठेको कुनै कुरामा रिस थाम्न नसकी जोखिमी हतियारले हानेको वा विष खुवाएकोमा बाहेक साधारण लाठा, ढुंगा, लात, मुक्का इत्यादिले हान्दा ऐनका म्यादभित्र ज्यान मरेमा दश बर्ष कैद गर्नु पर्छ भनी उल्लेख भएको पाइन्छ । यसबाट के देखिन्छ भने ज्यान मार्ने मनशाय पनि नभएको, इवि पनि नभएको र लुकी चोरी पनि नहानेको तर त्यसैबेला उठेको कुरामा रीस थाम्न नसकी लाठा, ढुंगा, लात, मुक्काले हान्दा मानिसको मृत्यु भएमा आवेशप्रेरित हत्या ठहर्छ । प्रस्तुत मुद्दामा प्रतिवादीले तत्काल उठेको रिस थाम्न नसकी प्रहार गरेको कुरा ज्यानसम्बन्धी महलको १४ नं. मा वर्णित अवस्थाभित्रै पर्ने हुँदा यस्तोलाई आवेशप्रेरित हत्याभन्दा अन्यथा भन्न मिल्ने देखिदैन । झगडा भै रिस थाम्न नसकी हानेकोबाट मानिस मर्न गएकोलाई भवितव्य भन्न मिल्ने देखिदैन ।

            ११.    तसर्थ उपर्युक्त विवेचनाबाट पुनरावेदन अदालत, महेन्द्रनगरले भवितव्य ठहर्याएको फैसलासँग सहमत हुन सक्ने अवस्था नदेखिँदा पुनरावेदन अदालतको सो फैसला उल्टी भै शुरु डडेलधुरा जिल्ला अदालतले ज्यानसम्बन्धी महलको १४ नं. बमोजिमको कसूर गरेको हुँदा निज प्रतिवादी नरेशसिंह खडकालाई १० (दश) बर्ष कैद सजाय हुने ठहर्याएको फैसला कायम हुने ठहर्छ। अरुमा तपसिलबमोजिम गरी मिसिल नियमानुसार गरी बुझाई दिनु ।

 

तपसिल

माथि ठहरखण्डमा उल्लेख भएबमोजिम पुनरावेदन अदालतमहेन्द्रनगरको  रु. ५००।जरिवाना र २(दुई) बर्ष कैद सजाय गर्ने गरेको फैसला उल्टी भई प्रतिवादी नरेशसिंह खडकालाई ज्यानसम्बन्धी महलको १४ नं.बमोजिम १०(दश) र्ष कैद सजाय हुने शुरु डडेलधुरा जिल्ला अदालतको फैसला कायम हुने ठहरेकाले पुनरावेदन अदालत, महेन्द्रनगरको फैसलाबमोजिम राखेको लगत कट्टा गरी शुरु डडेलधुरा जिल्ला अदालतको मिति २०५८।२।९ को फैसलाबमोजिमको लगत कायम गरी कैद असूल गर्नु भनी शुरु डडेलधुरा जिल्ला अदालतलाई लेखी पठाई दिनु .....१

 

उक्त रायमा सहमत छु ।

 

न्या.कल्याण श्रेष्ठ

 

 

इति सम्वत् २०६४ साल बैशाख ३१ गते रोज २ शुभम्........

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु