निर्णय नं. ७८९८ - कर्तव्य ज्यान

निर्णय नं. ७८९८ ने.का.प. २०६४ अङ्क ११
सर्वोच्च अदालत संयुक्त इजलास
माननीय न्यायाधीश श्री मीनबहादुर रायमाझी
माननीय न्यायाधीश श्री ताहिर अलि अन्सारी
सम्व्त २०६० सालको फौ.पु.नं. ....३४८२
फैसला मितिः२०६४।७।१२।२
मुद्दा :– कर्तव्य ज्यान ।
पुनरावेदक/वादीः कान्छामान मगरको जाहेरीले नेपाल सरकार
विरुद्ध
प्रत्यर्थी/प्रतिवादीः अम्बर बहादुर आले मगर
शुरु फैसला गर्नेः
मा.जि.न्या श्री जगदीशप्रसाद शर्मा
पुनरावेदन फैसला गर्नेः
मा.न्या.श्री जागेश्वर सुवेदी
मा.न्या.श्री हरिबहादुर बस्नेत
§ मृतकले आफ्नो मृत्युको कारण अस्पतालको बेडमा घरधनीको रोहवरमा व्यक्त गरेको र सो व्यक्त गरेको कुरालाई त्यहाँ उपस्थित प्रहरी कर्मचारीले टिपोट गरेको, टिपोट गर्ने प्रहरी कर्मचारी अदालतमा उपस्थित भै मृतकले भने अनुसारको कुरा मैले टिपोट गरी निज मृतकको ल्याप्चे सहीछाप गराएको हुँ भनी वकपत्र गरिदिएको अवस्थामा मृतकले आफ्नो मृत्युको सम्बन्धमा व्यक्त गरेको कुरालाई प्रमाणमा लिन नमिल्ने भन्न नमिल्ने ।
(प्रकरण न.६)
§ मृतकले आफू मर्नुको कारण आफू समक्ष उपस्थित मानिस समक्ष व्यक्त गर्ने स्वभाविक प्रकृया हो । मृतकले आफ्नो मृत्यु सम्बन्धमा कुन समयमा के कुरा व्यक्त गर्दछ सो समयमा त्यहाँ जुन-जुन व्यक्ति उपस्थित हुन्छन् ती व्यक्तिहरूले नै ती कुरा सुन्ने र टिप्ने हुँदा कानूनले सो सम्बन्धमा स्पष्ट व्यवस्था नगरेको अवस्थामा उपस्थित व्यक्तिले सुनेको र टिपेको कुरालाई प्रमाण योग्य नमान्ने भन्न उपयुक्त नदेखिने ।
§ मृत्युकालिन घोषणामा हुनु पर्ने मूख्य तत्व भनेको मृतकको मृत्युको कारण, मृतक मर्नु भन्दा पहिले सो कुरा व्यक्त गरेको हुनु पर्ने, मृतकले व्यक्त गरेको कुरा निजको मृत्युसँग सम्बन्धित हुनु पर्ने र कुनै व्यक्तिको उपस्थितिमा व्यक्त गरेको हुनुपर्ने ।
(प्रकरण नं.७)
पुनरावेदक वादी तर्फबाट : विद्वान श्री उपन्यायाधिवक्ता वज्रेश प्याकुरेल
प्रत्यर्थी प्रतिवादी तर्फबाट :
अवलम्वित नजीरः ने.का.प.२०६३,नि.नं.७६६३, पृष्ठ ३२१
फैसला
न्या. मीनबहादुर रायमाझीः पुनरावेदन अदालत पाटनको मिति २०५३।५।११ को फैसला उपर चित्त नबुझी वादी नेपाल सरकारको तर्फबाट न्याय प्रशासन ऐन २०४८ को दफा ९(१) बमोजिम यस अदालतमा दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छः–
मेरो दाजु अम्बर बहादुर मगर र भाउजु सुमित्रा मगरले मिति २०५१।१०।११ गते डेरामा बसी दुवैले मादक पदार्थ सेवन गरी झगडा गरेका र दाजुले भाउजूलाई मट्टितेल खन्याई आगो लगाई जलेको हुँदा वीर अस्पतालमा उपचारको लागि लगेकोमा मृत्यु भएको, दाजु अम्बर बहादुरले भाउजू सुमित्रालाई मट्टितेल हाली आगो लगाएको हो भन्ने कुरा भाउजूले अस्पतालमा नर्सहरू समेतलाई बताएकोबाट थाहा पाएकोले आवश्यक कार्यवाही गरी पाउँ भन्ने समेत व्यहोराको कान्छामान मगरको जाहेरी दरखास्त ।
अम्बर बहादुर मगरको डेरा कोठा भित्र आगोले सिरक समेत जली नष्ट भएको भन्ने समेत उल्लेख भएको घटनास्थल मुचुल्का ।
मेरो लोग्ने अम्बर बहादुर मगरले २०५१।१०।११ गते राती रक्सी सेवन गरी आई झगडा गरी मेरो जिउमा मट्टितेल खन्याई टुकिले आगो लगाई दिए । निजले रक्सी खाई आई मलाई मार्छु भनी सधै धम्की दिन्थे भन्ने समेत व्यहोराको मृतक सुमित्रा मगरले मर्नु अघि गरेको कागज ।
गोडाको नली खुट्टा देखि माथि अनुहारसम्म आगोले जलेको भन्ने समेत उल्लेख भएको लाश जाँच मुचुल्का ।
शरिरको पुरै भाग जलन भई उत्पन्न तरल लसबाट सिन्कोप भई मृत्यु भएको हो भन्ने व्यहोराको लाश पोष्टमार्टम रिपोर्ट ।
मिति २०५१।१०।११ गते ७.३० बजे अफिसबाट घर आउँदा श्रीमती र म वीच नाना थरिका कुरा गरी झगडा हुँदा सधैको कचकच भन्दा मर्न पाए हुन्थ्यो भनेकीले ल त तलाई मर्न मन भए मर भनी मट्टितेल सुमित्राको शरिरमा खन्याई आगो लगाई दिएको हुँ । जल्न थालेपछि म आफैले आगो निभाउन थाल्दा मेरो हातखुट्टा समेत जल्न गएका हुन् । सुमित्राको सोही आगोले जलेर मृत्यु भएको हो भन्ने समेत व्यहोराको प्रतिवादी अम्बर बहादुर मगरले अधिकार प्राप्त अधिकार समक्ष गरेको बयान ।
लक्ष्मण अधिकारी समेत जना ६ को प्रहरीमा गरेको कागज मिसिल सामेल रहेको ।
प्रतिवादी अम्बर बहादुर आले मगरले मुलुकी ऐन ज्यान सम्बन्धी महलको १ नं. विपरीत ऐ.को १३(३) बमोजिम कसूर अपराध गरेको हुँदा निजलाई सोही महलको सोही नं. बमोजमको सजायको माग दावि लिई नेपाल सरकारको तर्फबाट दायर भएको अभियोग पत्र ।
मेरो टोलको १० वर्षको बच्चाले मेरो अफिसमा आई कोठामा आगो आगी रहेछ तपाई आउनोस् भनी मलाई भनेकाले म दौडेर कोठामा जाँदा मेरी श्रीमतीले मट्टितेल शरिरमा खन्याई आगो लागिसकेको रहेछ मैले उसलाई बचाउँछु भनी आगो निभाउन लाग्दा मेरो हात र गोडा समेत आगोले पोल्यो । पुलिसको भ्यानमा नै प्रहरीले हस्पिटल पुर्याए । मेरी श्रीमतीको हस्पिटलमा उपचार भईरहेको थियो । मेरो पोलेको घाउमा हस्पिटलमा नै औषधी उपचार र व्याण्डेज समेत गराई मलाई थुनामा राखेको हो । मेरो श्रीमतीसँग सो दिन कुनै झगडा भएको छैन । के कसरी आगो लाग्यो मलाई थाहा भएन । उसैले हस्पिटलमा गरेको कागज बमोजिम मैले आगो लगाई मारेको होइन भन्ने समेत व्यहोराको प्रतिवादी अम्बर बहादुर आले मगरले काठमाण्डौँ जिल्ला अदालतमा गरेको बयान ।
म घटना घटेको दिन औषधी लिन गएको थिएँ । औषधी लिई मृतक निर आएपछि एउटा कागजमा सहि गर्न लगाए । त्यस कागजमा म पढे लेखेको नहुँदा के लेखेको थियो थाहा भएन । सहि छाप मेरै हो भन्ने समेतको घर धनी कान्छा तण्डुकारले काठमाडौँ जिल्ला अदालतमा गरेको वकपत्र ।
मिति २०५१।१०।१३ गते मैले उल्लेखित व्यहोरा राखी जाहेरी दिएको होइन, सहिछाप समेत मेरो होइन । प्रहरीले दुईवटा कागजमा औठा सहिछाप गराएका थिए । म लेखपढ गर्न समेत जान्दिन भनी जाहेरवाला कान्छा मगरले काठमाडौँ जिल्ला अदालतमा गरेको वकपत्र ।
प्रहरीमा लेखिएको कागजको व्यहोरा र सहिछाप समेत मेरै हो भन्ने समेतको प्रहरीमा बुझिएका लक्ष्मण अधिकारी समेतका व्यक्तिहरूले काठमाडौँ जिल्ला अदालतमा गरेको बकपत्र मिसिल सामेल रहेको ।
प्रतिवादीले प्रहरीमा गरेको साविति बयान, मृतकको मिति २०५१।१०।११ को कागज समेतबाट प्रतिवादीले मृतक निजको श्रीमती सुमित्रा मगरलाई मट्टितेल खन्याई आगो लगाई दिएका कारणबाट मृत्यु हुन गई निज प्रतिवादीले वादीको अभियोग दावी बमोजिम ज्यान सम्बन्धी महलको १ र १३ (३) नं. अनुसार अपराध गरेको देखिन आउँदा निज प्रतिवादी अम्बर बहादुर आले मगरलाई ऐ.को १३(३) अनुसार सर्वश्वसहित जन्मकैद हुने ठहर्छ भन्ने व्यहोराको काठमाडौँ जिल्ला अदालतको मिति २०५२।९।२६।४ को फैसला ।
प्रमाणहरूको न्यायसम्मत तरिकाले विवेचनानै नगरी मलाई नियोजित तवरबाट मुद्दा चलाई गलत र आत्मनिष्ठ रूपबाट भएको फैसला सर्वोच्च अदालतबाट प्रतिपादित विभिन्न नजिर र प्रमाण ऐन समेतको प्रतिकूल भई अन्यायपूर्ण एंव त्रुटिपूर्ण हुँदा मलाई ज्यान सम्बन्धी महलको १३(३) नं. बमोजिम सर्वश्व सहित जन्मकैद हुने ठहराएको काठमाडौं जिल्ला अदालतको मिति २०५२।९।२६ को फैसला बदर गरी कसूरबाट पूर्ण सफाई पाउँ भन्ने समेत व्यहोराको प्रतिवादी अम्बर बहादुर आले मगरको पुनरावेदन पत्र ।
मृतकले मर्नु भन्दा अगाडि अस्पतालमा २०५१।१०।११ मा गरेको भनेको कागज र सो कागजको रोहवरमा बसि सहिछाप गर्ने कान्छा तण्डुकारले अदालत समक्ष गरिदिएको बकपत्रको कागजलाई समेत आधार प्रमाण मानी शुरु काठमाडौं जिल्ला अदालतले गरेको २०५२।९।२६ को फैसला विचारणीय देखिँदा वादी श्री ५ को सरकारलाई झिकाई पेश गर्नु भन्ने पुनरावेदन अदालत पाटनको मिति २०५३।२।८ को आदेश ।
आदेशानुसार प्र.ना.नि.रघु लामा र प्रेम बहादुर भण्डारीले यस अदालतमा गरेको वकपत्र मिसिल सामेल रहेछ ।
जाहेरवालाको अदालती बयानमा जाहेरीको व्यहोरा मैले लेखाई दिएको होइन भनि लेखाई दिएबाट जाहेरी दरखास्त विश्वास लायक र प्रमाणयोग्य नभएको, मृतकले अदालतमा अमूक चिकित्सक वा तत्काल काममा खटिएकी परिचारिका आदिको रोहवरमा व्यक्त गरेको हुनुपर्नेमा सो बमोजिम भएको नदेखिएको, शव परिक्षण रिपोर्ट हेर्दा मृतकको मृत्यु जलेर भएको, यस्तो घचम मभनचभभ जलेको बिरामीले होसमा आई निजले आफ्नो भएको व्यहोरा व्यक्त गर्न सक्छ भन्ने कुरा विश्वास लायक नदेखिएको, मृत्युकालिन घोषणाको कागज तैयार गर्ने व्यक्तिको नाम उल्लेख भएको नदेखिएको, मौकामा घटना देख्ने घर धनी कान्छा तन्डुकारको कागज समेतको आधारमा प्रतिवादीले मृतकलाई मट्टीतेल हाली जलाई मारेको पुष्टि नहुँदा प्रतिवादी अम्बर बहादुर आले मगरलाई ज्यान सम्बन्धी महलको १३(३) बमोजिम सर्वश्व सहित जन्मकैद हुने ठहराई भएको शुरु फैसला नमिलेकोले उल्टी भै प्रतिवादी अम्मर बहादुर आले मगरले अभियोगदावीबाट सफाई पाउने ठहर्छ भनी भएको पुनरावेदन अदालत पाटनको मिति २०५३।५।११ को फैसला ।
पुनरावेदन अदालतले गरेको फैसला उपर चित्त बुझेन । प्रतिवादीका सहोदर भाई कान्छा मगरले भाउजुको मृत्यु दाजुले मट्टीतेल खनाई गराएका हुन भनेका छन् र सो कुरालाई प्रतिवादी अम्बर बहादुर आले मगरले आफ्नो अधिकार प्राप्त अधिकारी समक्ष गरेको बयानमा स्वीकार गरेका छन् र आफ्नो जाहेरवाला भाईसँग कुनै रिसइवी छैन भनी बयानमा उल्लेख गरेका, सबैभन्दा महत्वपूर्ण प्रमाणको रुपमा रहेको मृत्युकालिन घोषणा हो । सो घोषणा अस्पतालको आकस्मिक कक्षमा मृतक सुमित्राले मलाई मेरो श्रीमानले मट्टीतेल खनाई आगो लगाई दिएका हुन् भनी अस्पतालका कर्मचारी एवं प्रहरी कर्मचारीहरूको रोहवरमा भनेको र त्यो भनेको कुरा प्रमाणित गर्न प्रहरी कर्मचारीले अदालतमा आई वकपत्र गरी आफ्नो भनाईलाई समर्थन गरेको हुँदा मृत्युकालिन घोषणालाई कान्छा तन्डुकारको मिसिलको तथ्य विपरीतको बकपत्रको आधारमा भएको फैसला मिलेको छैन । मृतकले मर्ने बेलामा आफ्नो श्रीमानको विरुद्धमा नभएको लान्छना लगाउनु पर्ने कुनै कारण भएको कुरा प्रतिवादीले देखाउन पनि नसकेको अवस्थामा प्रतिवादीले अदालतमा बयान गर्दा मृतकका मानसिक अवस्था ठीक नभएकोले त्यस्तो भनेको हुन सक्दछ भने तापनि सो कुरालाई पुष्टि हुने गरी प्रमाण पेश गर्न नसकेको हुँदा मृतकको मृत्यु प्रतिवादीकै कारणबाट भएकोले अभियोग दावी बमोजिम सजाय हुनु पर्दछ भनि वादी नेपाल सरकारको तर्फबाट यस अदालतमा पर्न आएको पुनरावेदन पत्र ।
यसमा जाहेरवालाले मौकामा जाहेरी दिई, मृतकलाई मर्नु पूर्व जलेको अवस्थामा अस्पतालमा ल्याई प्रहरी अधिकृत तथा घरधनी कान्छा तन्डुकार समेतको रोहवरमा मृतकले मर्नु अघि प्रतिवादीले मट्टीतेल खन्याई आगो लगाएको भनी कागज गरी दिएको देखिएको, तद्नुसार उक्त कागजमा रोहवरमा बस्ने व्यक्तिहरूले अदालतमा आई वकपत्र गरी दिएको अवस्थामा त्यसको समुचित मूल्याङ्कन नगरी गरेको पुनरावेदन अदालतको इन्साफ फरक पर्न सक्ने हुँदा अ.वं. २०२ नं. बमोजिम छलफलको निमित्त विपक्षी झिकाई पेश गर्नु भन्ने यस अदालतको संयुक्त इजलासको आदेश ।
२. नियम बमोजिम आजको दैनिक मुद्दा पेशी सूचीमा चढि इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक नेपाल सरकारको तर्फबाट महान्याधिवक्ताको कार्यालयका उपन्यायाधिवक्ता ब्रजेश प्याकुरेलले सरकारवादी मुद्दामा जाहेरवाला एउटा सूचक मात्र हो । जाहेरवालाले जाहेरी दिइसकेको अवस्थामा पछि आएर जाहेरी विपरीत बयान गरेकै आधारमा प्रतिवादीको कर्तव्यबाट मृतकको मृत्यु भएको होइन भन्न नसकिने, जाहेरवाला प्रतिवादीका सहोदर भाई भएको हुँदा बिनाकारण आफ्नो दाजुलाई पोल गर्ने थिएनन् । निजलाई प्रमाण ऐनले नै उन्मुक्ति दिएको छ । मृतकले आफ्नो मृत्युका सम्बन्धमा व्यक्त गरेको कुरालाई शंका गरी मृतकको मृत्यु प्रतिवादीले मट्टीतेल खनाई आगो लगाई भएको होइन भन्न सकिने अवस्था छैन । पुनरावेदन अदालतले अस्पतालको डाक्टर वा नर्सको रोहवरमा मृतकले आफ्नो मृत्युको कारण घोषणा नगरेको हुँदा त्यसलाई प्रमाण योग्य मान्न नमिल्ने भनि लिएको जिकिर मनासिव छैन । प्रमाण ऐनको दफा ११ मा मृतकले मृत्युकालिन घोषणा गर्दा यो व्यक्तिसँग यसरी गर्नु पर्दछ भनि कहि कतै उल्लेख नभएको हुँदा अस्पतालको डाक्टर र परिचारिकाको रोहवरमा नभएको भनी त्यस्तो अकाट्य प्रमाणलाई शंका गर्नु हुदैन । मृतकले कस्तो अवस्था र स्थितिमा घोषणा गरेको थियो सो कुरा मात्र हेरिनु पर्दछ । मृतकको मृत्यु प्रतिवादीकै कारणबाट भएको कुरा पुष्टि भै रहेकै अवस्थामा पनि पुनरावेदन अदालतबाट प्रतिवादीलाई अभियोग दावीबाट सफाई दिने गरी गरेको इन्साफ नमिलेकोले उल्टी गरी शुरु जिल्ला अदालतबाट भएको इन्साफ सदर हुनु पर्दछ भनी गर्नु भएको बहस समेत सुनियो ।
३. पुनरावेदक वादीको तर्फबाट महान्यायाधिवक्ताको कार्यालयको तर्फबाट उपस्थित उप न्यायाधिवक्ताले गर्नु भएको बहस समेत सुनी, मिसिल संलग्न कागजातहरूको अध्ययन गरी पुनरावेदन अदालतबाट भएको इन्साफ मिले नमिले सम्बन्धमा निर्णय दिनु पर्ने हुन आयो ।
४. निर्णय तर्फ विचार गर्दा दाजु अम्बर बहादुर आले मगर ट्रली बसमा नोकरी गरी भाउजुसँगै बानेश्वर मीन भवनमा डेरा गरी बस्नु हुन्थ्यो । २०५१।१०।११ गते दाजु भाउजु दुवै जनाले जाँड रक्सी खाई झगडा गरी दाजुले भाउजुलाई मट्टीतेल खनाई आगो लगाई दिएकोले भाउजु जली वीर अस्पतालमा लगी भर्ना गरी मलाई खबर गरी सकेपछि म वीर अस्पतालमा आई सोधपुछ गर्दा भाउजु बोल्न सक्नु हुन्थेन । तर, त्यहाँ उपस्थित नर्सहरूबाट “भाउजुले भनेको दाजुले मट्टीतेल हाली आगो लगाएको हो हाम्रो झगडा भएको थियो” भन्ने कुरा मैले थाहा पाए । सोही आगोले जलेको कारणबाट उसै दिन बेलुका भाउजुको मृत्यु भएकोले कानून बमोजिम कारवाही गरी पाउँ भन्ने जाहेरीको आधारमा आवश्यक अनुसन्धान भै मुद्दा दायर भएको देखियो ।
५. मृतक सुमित्रा मगरले २०५१।१०।११ गते साँझ २०.३० बजेको समयमा “आज २०५१।१०।११ गते साँझ ७ बजेको समयमा लोग्ने अमर बहादुर मगरले रक्सी खाई आई म अध्यारोमा टुकी बाली बसिरहेको अवस्थामा मेरो जीउमा मट्टीतेल खनाई टुकीले सल्काई दिँदा शरिर जल्न गएको हो । लोग्नेले सधै रक्सी खाई आउने झगडा गर्ने, मार्छु भनी धम्की दिन्थे अहिले मलाई वीर अस्पतालको इमरजेन्सीमा ल्याएको छ । मेरो शरिर पोलेकोले अरू केही भन्न सक्दिन” भनि घरधनी कान्छा महर्जन र प्रहरी कर्मचारीको रोहवरमा निज मृतकले आफ्नो मृत्युको कारण सम्बन्धमा व्यक्त गरेको कुरा मिसिल संलग्न कागजबाट देखियो । मिसिल संलग्न रहेको घटनास्थल तथा प्रकृति विवरण हेर्दा मृतक र प्रतिवादी अमर बहादुर आले मगर बस्ने कोठामा शिसाको बोतल लडी रहेको, आगलागी भै सिरक जली नोक्सानी भएको, लास प्रकृति विवरण हेर्दा मृतकको नली खुट्टा देखि माथि अनुहारसम्म आगोले जली शरीरको छाला खुइलीई सेतो भाग देखिएको भनि उल्लेख भएको र मिसिल संलग्न रहेको लास जाँच प्रतिवेदनमा मृतकको मृत्यु शरीरको करिब पुरै भाग जलन भई उत्पन्न तरल लसबाट सिकोप भई मृत्यु भएको हो भन्ने देखिएको अवस्थामा मृतकको मृत्यु आगोको जलनबाट भएको हो भन्ने कुरा तथ्यबाट देखिन आयो ।
६. मृतक सुमित्राले आफ्नो मृत्यु हुनु पूर्व आफ्नो मृत्युका सम्बन्धमा व्यक्त गरेको कुरा टिप्ने प्रहरी कर्मचारी र निज मृतकको घरधनी बाहेक अरू कसैको सही परेको अवस्था छैन । यस्तो कागजलाई प्रमाणमा लिन मिल्दैन भनी पुनरावेदन अदालतले अभियोग दावीबाट सफाई दिने गरी लिएको आधार सम्बन्धमा विचार गर्दा मृतकले आफ्नो मृत्युका सम्बन्धमा बोलेका कुरा अदालतका डाक्टर वा नर्स बाहेक अरू व्यक्तिको सामुमा व्यक्त कुरालाई अन्य सबुदबाट पुष्टि हुन्छ हुदैन हेर्नु पर्ने हुन्छ । ने.का.प. २०६३ नि.न. ७६६३ पुष्ठ संख्या ३२१ मा “अस्पतालमा डाक्टर वा नर्स समक्ष व्यक्त गरेको कुरा मात्र प्रमाणमा लिन हुने भन्ने स्पष्ट कानूनको अभावमा डाक्टर वा नर्स समक्ष भएको मृत्युकालिन घोषणालाई मात्र प्रमाणमा लिन मिल्ने भन्नु कानून सम्मत नदेखिने” “मृतकले अस्पतालमा आफ्नो होस खुलेपछि दिएको बयान (मृत्युकालिन घोषणा) रोहवरमा बस्ने मृतकका दाजुले अदालतमा उपस्थित भै मृत्युकालिन तथ्यलाई समर्थित हुने गरी वकपत्र गरेको र निजको बकपत्रलाई शंका गरी रहनु पर्ने अवस्था विद्यमान नहुँदा मृतकले आफ्नो होस छँदै आफ्नो मृत्युको कारण सम्बन्धमा व्यक्त गरेको कुरालाई प्रमाण लिन मिल्ने” भनि सिद्धान्त प्रतिपादन भै सकेको अवस्थामा प्रस्तुत मुद्दामा पनि मृतकले आफ्नो मृत्युको कारण अस्पतालको बेडमा घर धनीको रोहवरमा व्यक्त गरेको र सो व्यक्त गरेको कुरालाई त्यहाँ उपस्थित प्रहरी कर्मचारीले टिपोट गरेको, टिपोट गर्ने प्रहरी कर्मचारी अदालतमा उपस्थित भै मृतकले भने अनुसारको कुरा मैले टिपोट गरी निज मृतकको ल्याप्चे सहीछाप गराएको हुँ भनी वकपत्र गरिदिएको अवस्थामा मृतकले आफ्नो मृत्युको सम्बन्धमा व्यक्त गरेको कुरालाई प्रमाणमा लिन नमिल्ने भन्न मिलेन ।
७. प्रमाण ऐन, २०३१ को दफा ११ मा “कुनै मरेको व्यक्तिले आफू मर्न लागेको अवस्थामा होस छँदै आफ्नो मृत्युको कारणका सम्बन्धमा व्यक्त गरेको कुरा प्रमाणमा लिन हुन्छ” भन्ने कानूनी व्यवस्था गरेको छ । प्रमाण ऐनको कानूनी व्यवस्था हेर्दा मृत्युकालिन घोषणा यो यस्तो रुपमा यी यी व्यक्तिको सामूमा हुनु पर्दछ भन्ने कुरा कहि कतै तोकेको नदेखिएको अवस्थामा मृतकले आफ्नो मृत्युको सम्बन्धमा प्रहरी कर्मचारी र घरधनीको रोहवरमा व्यक्त गरेको कुरालाई प्रमाणमा लिन नमिल्ने भन्न मिलेन । मृतकले आफू मर्नुको कारण आफूसमक्ष उपस्थित मानिस समक्ष व्यक्त गर्ने स्वभाविक प्रकृया हो । मृतकले आफ्नो मृत्यु सम्बन्धमा कुन समयमा के कुरा व्यक्त गर्दछ सो समयमा त्यहाँ जुन जुन व्यक्ति उपस्थित हुन्छन ती व्यक्तिहरूले नै ती कुरा सुन्ने र टिप्ने हुँदा कानूनले सो सम्बन्धमा स्पष्ट व्यवस्था नगरेको अवस्थामा उपस्थित व्यक्तिले सुनेको र टिपेको कुरालाई प्रमाण योग्य नमान्ने भन्न उपयुक्त देखिँदैन । मृत्युकालिन घोषणामा हुनु पर्ने मूख्य तत्व भनेको मृतकको मृत्युको कारण, मृतक मर्नु भन्दा पहिले सो कुरा व्यक्त गरेको हुनु पर्ने, मृतकले व्यक्त गरेको कुरा निजको मृत्युसँग सम्बन्धित हुनु पर्ने र कुनै व्यक्तिको उपस्थितिमा व्यक्त गरेको हुनु पर्ने हुन्छ । प्रस्तुत मुद्दामा यी सबै तत्वहरू विद्यमान देखिएको हुँदा मृतकले आफ्नो मृत्युका सम्बन्धमा प्रहरी कर्मचारी र घर धनीका सामु व्यक्त गरेको कुरालाई प्रमाणमा लिन नमिल्ने अवस्था देखिँदैन ।
८. मृतकको मृत्युको कारण आगो भएको तथ्य पुष्टि भै रहेकोमा प्रतिवादी अमर बहादुर आलेमगरले अधिकार प्राप्त अधिकारी समक्ष मृतकलाई आफूले मट्टीतेल खनाई आगो सल्काएकोमा साविति बयान दिएको पाईयो । अदालतमा अमर बहादुर आले मगर इन्कारी रहेको अवस्था छ । निजले अदालतको बयानमा टोलको नाम थर थाहा नभएको १० वर्ष जतिको बच्चा मेरो कार्यालयमा आई कोठामा आगो लागि हुँदैछ तपाई आउनुहोस् भनेकोले दौडेर कोठामा जाँदा मृतक श्रीमतीले शरीरमा मट्टीतेल खनाई आगो लागि सकेको रहेछ भन्ने भनाई प्रतिवादी अमर बहादुरले नै नचिनेको १० वर्षको बालकले जिम्मेवार नागरिक सरह निजको अफिसमा आई खबर गरेको भन्ने भनाई आफैंमा पत्यार लायक देखिदैन । डेरा र अफिस ५–७ मिनेटको फरकमा छ भनि व्यक्त गरेको कुरा, डेरा र अफिसमा आउने जाने समय र नाम थाहा नभएको बच्चाले भनेको भन्ने अदालतको भनाई पत्यार लायकको नदेखिएको अवस्थामा मृतकको मृत्यु अभियोग दावी बमोजिम प्रतिवादीको कारणबाटै भएको देखिन आयो ।
९. मृतकको मृत्यु प्रतिवादी अमर बहादुर आले मगरले मृतकको शरीरमा मट्टीतेल खनाई आगो सल्काई दिएको कारणबाट भएको कुरा तथ्यबाट पुष्टि भै सकेको अवस्थामा निज प्रतिवादीलाई अभियोग दावीबाट सफाई दिने ठहरार्ई गरेको पुनरावेदन अदालत पाटनको फैसला मिलेको नदेखिँदा उल्टी हुने ठहर्छ । प्रतिवादी अम्बर बहादुर आले मगरलाई मुलुकी ऐन, ज्यान सम्बन्धी महलको १३(३) नं. अनुसार सर्वश्व सहित जन्मकैद हुने ठहराई गरेको शुरु काठमाडौं जिल्ला अदालतको इन्साफ मिलेकै हुँदा सदर हुने ठहर्छ । अरु तपसील बमोजिम गर्नु ।
तपसिल
माथि इन्साफ खण्डमा पुनरावेदन अदालत पाटनबाट प्रतिवादी अमर बहादुर आले अमरलाई अभियोग दावीबाट सफाई दिने ठहराई गरेको फैसला उल्टी भै अभियोग दावी बमोजिम सर्वश्व सहित जन्म कैद हुने ठहराई फैसला भएकोले निज प्रतिवादी २०५१।१०।१६ गतेबाट प्रहरी हिरासतमा रहे देखि पुनरावेदन अदालतबाट सफाई पाएको मिति २०५३।५।११ सम्मको अवधि कटाई बाँकी अवधि कानून बमोजिम असुल उपर गर्नु भनी शुरु काठमाडौं जिल्ला अदालतलाई लगत दिनु.............१
प्रतिवादी अम्बर बहादुर आले मगरलाई माथि इन्साफ खण्डमा लेखिए बमोजिम सर्वश्व सहित जन्मकैदको सजाय हुने ठहरी फैसला भएकोले निज प्रतिवादीको अंश भाग कानून बमोजिम गर्नु भनी शुरु जिल्ला अदालतमा लेखी पठाई दिनु .....२
मिसिल नियम अनुसार गरी बुझाई दिनु ......३
उक्त रायमा सहमत छु ।
न्या.ताहिरअलि अन्सारी
इजलास अधिकृत (उप सचिव) मोहनराज भट्टराई
इति सम्व्त २०६४ साल कार्तिक १२ गते रोज २ शुभम् ........