निर्णय नं. ८९५२ - लेनदेन जालसाज

ने.का.प. २०७०, अङ्क २
निर्णय नं.८९५२
सर्वोच्च अदालत, पूर्ण इजलास
सम्माननीय प्रधान न्यायाधीश श्री खिलराज रेग्मी
माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ
माननीय न्यायाधीश श्री प्रकाश वस्ती
पु.नि.नं. ०६७–NF–०००२
फैसला मितिः २०६९।९।१२।५
मुद्दाः लेनदेन जालसाज ।
निवेदक वादीः मोरङ्ग जिल्ला, विराटनगर उपमहानगरपालिका वडा नं. १४ बस्ने काशीराम अग्रवालको मु.स. गर्ने दुर्गावती अग्रवाल खेरिया
विरुद्ध
विपक्षी प्रतिवादीः मोरङ्ग जिल्ला, विराटनगर उपमहानगरपालिका वडा नं. १७ बस्ने गिरीराज कार्की समेत
यस अदालत संयुक्त इजलासमा फैसला गर्नेः–
मा.न्या.श्री चन्द्रप्रसाद पराजुली
मा.न्या.श्री बलराम के.सी.
§ पछि भएका लिखतहरूमा अघिल्लो लिखतको व्यवहारलाई समेत खुलाई सम्पूर्ण हिसाब किताब मिलान गरिएको भन्ने व्यहोरा पारी कागज भएपछि अघिल्लो लिखतको अस्तित्व कायमै रहिरहेको मान्न उचित र कानूनसंगत हुन नसक्ने ।
(प्रकरण नं.५)
वादीको तर्फबाटः विद्वान अधिवक्ता श्री महादेव पण्डित
प्रतिवादी तर्फबाटः विद्वान वरिष्ठ अधिवक्ता शम्भु थापा र अधिवक्ता कृष्ण थापा
अवलम्बित नजीरः
सम्बद्ध कानूनः
§ मुलुकी ऐन, अंशबण्डाको १८ नं.
§ साहू असामीको १ नं.
फैसला
न्या.कल्याण श्रेष्ठः यस अदालतको मिति २०६२।१।१२ को फैसलाउपर वादी पक्षबाट परेको निवेदनमा न्याय प्रशासन ऐन, २०४८ को दफा ११ को उपदफा (१) को खण्ड (ख) बमोजिम पुनरालोकन गरी हेर्ने निस्सा प्रदान भई पेश भएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र निर्णय यस प्रकार छः–
विपक्षीहरूले मबाट रु.९,५०,०००।– (नौलाख पचास हजार) रूपैयाँ कर्जा लिई २०४७ साल कात्तिक मसान्तसम्ममा साँवा व्याज एकमुष्ट बुझाउने भाखा गरी मिति २०४७।५।१५ गते कपाली तमसुक गरेकामा भाखाउप्रान्त विपक्षीहरूलाई ताकेता गर्दा पनि रकम नबुझाएकाले लेनदेन व्यवहारको ४ नं.बमोजिम साँवा र भरिभराउ हुँदासम्मको व्याजसमेत भराई पाऊँ भन्नेसमेत व्यहोराको वादीको फिराद पत्र ।
हामी र विपक्षीको छोरा गोविन्दरामसमेतले २०४७।१।१८ मा लकडीको साझेदार भई काम गर्न करार गरेका थियौं । गोविन्दरामले हामीलाई चिरानकटान गर्न सहयोगका लागि रु.६ लाख दिने र सो रूपैयाँ दिएबापत लकडी बिक्री गरी रु.१,५०,०००।– आगामी ४५ दिनमा हामीले विना शर्त दिने, रु.६ लाख दिएबापतमा गजेन्द्रजंगका नामको ज.वि. ८–१–८ जग्गा सुरक्षणबापत धितो राख्ने गरी मोरङ्ग मालपोत कार्यालयमा मिति २०४७।८।६ मा दृष्टिबन्धक पास गरेको र मिति २०४७।९।१२ मा रु.४,००,०००।– चुक्ता गरी दृष्टि बन्धक बुवा गजेन्द्रजंगले निखन्नु भएको हो । यो कागज सम्बन्धमा विपक्षी मौन भई नालिस गरी आउनु भएपनि गोविन्दरामले २४०० फीट साखु चिरान र ४६९ फीट कुकाठ चिरान आफ्नो कम्पाउण्ड गोदाममा र ६ ट्रिप लकडी बैंकमा रहेको चिरान काठ समेत हुँदा र व्यवहार मिलाउनु भन्दा नमानी नालिस गरेको हो । अ.वं. १३९ नं. बमोजिम गजेन्द्रजंगलाई झिकाई बुझी झूठा दावीबाट फुर्सद पाऊँ भन्ने समेत प्रतिउत्तरपत्र ।
२०४७।५।१५ को रु.९,५०,००० को सक्कल कागज हेरेँ, देखेँ । त्यसको मिति बन्दमा परेको सहिछाप हाम्रा हुन् । सो रूपैयाँ हामीले तिर्नु बुझाउन बाँकी छैन । यसै लगाउको मुद्दालाई प्रमाण लगाई पाऊँ भन्नेसमेत प्रतिवादीको वारेसले गरेको बयान ।
प्रतिवादीहरूले लकडीको कारोबार गर्न मसँग कर्जा माग्दा २०४७।५।१५ मा रु.९,५०,०००।– कर्जा दिई कपाली तमसुक गरिदिएको हो । विपक्षीहरूको भनाई बदनियतपूर्ण भएकाले दावीबमोजिम गरिपाऊँ भन्नेसमेत वादीको वारेसले गरेको बयान ।
प्रतिवादीहरूले मेरो बुवाबाट लिएको कर्जा पार्टनरशीपको लागि काम गर्न लिएको भन्ने व्यहोरा झूठा हो । झूठा बयानबाट फुर्सद गराई प्रतिवादीहरूलाई नै सजाय गरिपाऊँ भन्नेसमेत व्यहोराको जालसाजतर्फ प्रतिवादी कायम भएका गोविन्दराम अग्रवालको वारेसले गरेको बयान ।
वादीबाट लिएको रकममा सहमति भएपछि सो कागजले वादीलाई रकम दिनु नपर्ने भन्ने देखाउँदैन । दावीबमोजिमको साँवा व्याज वादीले प्रतिवादीबाट भरी पाउने ठहर्छ भन्ने समेत व्यहोराको मोरङ्ग जिल्ला अदालतको मिति २०५२।५।१५ को फैसला ।
शुरुको फैसलामा चित्त बुझेन । लेनदेन व्यवहारको ५(१) नं.बमोजिम लिखत फट्टा भएको प्रष्ट हुँदाहुँदै जालसाजतर्फको दावीमाथि विचारै नगरी गरेको शुरुको त्रुटिपूर्ण फैसला बदर गरी प्रतिउत्तर जिकीरबमोजिम गरिपाऊँ भन्नेसमेत प्रतिवादीहरूको पुनरावेदन अदालत विराटनगरमा परेको पुनरावेदन पत्र ।
प्रत्यर्थी फिरादी काशीरामले दावी गरेको रूपैयाँ कर्जाकै रूपमा बाँकी रहेको भन्ने दावी विचारणीय देखिएकोले छलफलको निमित्त प्रत्यर्थी झिकाइ पेश गर्नु भन्ने पुनरावेदन अदालत विराटनगरको आदेश ।
प्रतिवादीले वादीलाई मिति २०४७।५।१५ मा गरिदिएको कपाली तमसुकको कानूनी अस्तित्व यथावत कायम रहेको र सो लिखतलाई प्रतिवादीहरूले अन्यथा भन्न नसकेको, लिखतअनुसारको साँवा व्याज प्रतिवादीले वादीलाई तिरे बुझाएको कानूनअनुसारको सबूद प्रमाण पेश गर्न नसकेको अवस्था र स्थितिमा वादी दावीबमोजिमको साँवा व्याज प्रतिवादीले वादीलाई तिर्न बुझाउन पर्ने ठहर्याएको शुरु फैसला मनासिव देखिँदा सदर हुने ठहर्छ भन्ने पुनरावेदन अदालत विराटनगरबाट मिति २०५४।१२।६ मा भएको फैसला ।
वादी काशीराम अग्रवाल र गोविन्दराम अग्रवाल एकासगोलका बाबुछोरा भएकोमा कुनै विवाद छैन । अंशबण्डाको १८ नं.बमोजिम एकासगोलमा जोजसका तर्फबाट आर्जन गरे पनि ऋण कर्जा लिए पनि सो सगोलको नै हुने भएकोले विपक्षीका छोरा गोविन्दराम र हामीबीचमा भएको २०४७।५।२१ को साझेदारी लिखतबमोजिम हुने नाफा नोक्सानसमेत सगोलकै हुने देखिन्छ । २०४७।५।१५ को कपाली तमसुकको अस्तित्व २०४७।५।२१ मा नै शून्य भएको प्रमाण हामीले प्रतिउत्तर बयान साथ पेश दाखेल गरेका छौं । त्यसको मूल्याङ्कन भएन । दावीको लिखतबाट व्यापारिक कारोबारको लागि रूपैयाँ लिएको भन्ने स्पष्ट देखिदा लेनदेनको ४० नं. बमोजिम नालिस गर्नुपर्ने भनी सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्त समेतको वर्खिलाप हुँदा मुद्दा दोहोर्याई हेरी इन्साफ पाऊँ भन्ने प्रतिवादीहरूको यस अदालतमा परेको निवेदन पत्र ।
यसमा विवादको मिति २०४७।५।१५ को लिखतको रूपैयाँबाट लकडीको व्यापार गर्न लिएको, सोही रूपैयाँमा यिनै वादी काशीराम अग्रवालका छोरा गोविन्दराम अग्रवालले हामी दुवै जनासँग मिली पार्टनरशीप रही साझेदारी भई लकडीको व्यापार ठेक्का गरी नाफा नोक्सान आधीआधी व्यहोर्ने भन्ने व्यहोरा उल्लेख गरी मिति २०४७।५।३१ मा गरेको करारको कागजलाई यी वादीले अन्यथा भन्न सकेको पाइदैन । वादीकै छोरा गोविन्दराम अग्रवाल वादी भएको लगाउको नि.नं. ६४१८ को लेनदेन मुद्दामा दावी लिएको रकमको लिखतमा समेत अगाडि लकडीको कारोबार गर्दा तिर्न बाँकी भएको भन्ने व्यहोरा उल्लेख गरी लिखत भएको भन्ने देखिन्छ । प्रस्तुत मुद्दाको दावीको २०४७।५।१५ को लिखतमा पानी परेको र अक्षर समेत फुली नबुझ्ने र लिखत समेत च्याती चार ठाउँमा टेप लगाई टाँसेको अवस्था समेत देखिएको, उक्त लिखतको रूपैयाँ मिति २०४७।५।२१ को पार्टनरशीपको लिखतमा उल्लेख भई वादीको छोरालाई समेत पार्टनरशीपमा राखी लकडीको कारोवार गरी आएको, सो करारको लिखतलाई यी वादीले अन्यथा भन्न नसकेको अवस्थामा उक्त मिति २०४७।५।१५ को लिखतमा पुनः दावी लिई आएको जालसाजी व्यहोराको हुँदा रूपैयाँ तिर्नुपर्ने होइन भन्ने प्रतिवादीको जिकीर समेत भएको त्यस्तो लिखतको रूपैयाँ वादीले प्रतिवादीबाट भरी पाउने ठहर्याएको शुरुको सदर गरेको पुनरावेदन अदालत विराटनगरको फैसलामा नेकाप २०३७, पृष्ठ १०९, नि.नं. १३८३ मा यस अदालतबाट प्रतिपादित सिद्धान्तको प्रतिकूल देखिँदा न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) को खण्ड (ख) को आधारमा दोहोर्याउने निस्सा प्रदान गरिएको छ, नियमानुसार गरी पेश गर्नु भन्ने यस अदालत संयुक्त इजलासको मिति २०५७।३।१५ को आदेश ।
प्रतिवादीहरूले वादी काशीरामसँग लिएको कर्जा रकम समेत लगानी गरी एकासगोलका छोरा गोविन्दरामले सो व्यहोरा मिति २०४७।५।२१ को लिखतमै स्पष्टसँग उल्लेख गरी साझेदारीमा लकडीको कारोबार गरेबाट विवाददित मिति २०४७।५।१५ को कपाली तमसुकको अस्तीत्व कायम रहेको मान्न मिलेन । वादीका एकासगोलका छोरा गोविन्दराम र प्रतिवादीहरूबीच मिति २०४९।७।४ मा प्रतिवादी गिरीराज कार्की र कृष्ण कार्कीले आजका मिति अघि लकडीको कामकारवाही गर्दा पटकपटक लिएको सम्पूर्ण हिसाब किताब मिलान गरी अब उप्रान्त बुझाउन बाँकी ठहर हुन आएको रकम रु.४,५१,०००।–भनी तय गरी छुट्टै कागज भएको तथ्य लगाउको मुद्दाबाट समेत देखिँदा वादी दावीबमोजिमको लिखतको रूपैयाँ वादीलाई प्रतिवादीहरूले बुझाउनु पर्ने अवस्था नदेखिदा दावीबमोजिमको रकम वादीले भरी पाउने ठहर्याएको शुरुको फैसला सदर गरेको पुनरावेदन अदालत विराटनगरको मिति २०५४।१२।६ को फैसला मिलेको देखिएन । तसर्थ उक्त फैसला उल्टी भई वादीको दावी पुग्न नसक्ने ठहर्छ भन्ने यस अदालतको मिति २०६२।१।१२ को फैसला ।
मिति २०४७।५।१५ मा लिखत भएको कुरालाई अन्यथा भन्न नसकेको, सो लिखतमा उल्लिखित रकम तिरेबुझाएको रीतपूर्वकको भर्पाई पेश हुन नसकेको तथा मिति २०६२।१।१२ को फैसलामा ठहर गर्नुपर्ने प्रश्नसँग समान प्रकृतिको विषय रहेको मुद्दाहरूमा यस अदालतबाट प्रतिपादित नजीरहरूसँग बाझिने गरी फैसला भएको हुनाले न्याय प्रशासन ऐन, २०४८ को दफा ११ बमोजिम पुनरालोकन गरी हेरिपाऊँ भन्ने वादीको निवेदन पत्र ।
यसमा मिति २०४७।५।१५ मा यी वादी र प्रतिवादीहरूबीच भएको कपाली तमसुकमा साहू यी वादीलाई रकम बुझाएको कुनै प्रमाण पेश दाखिल हुन नआएको अवस्थामा वादीका छोरा गोविन्दराम अग्रवाल र प्रतिवादीहरू बीच भएको भनिएको मिति २०४७।५।२१ मो पार्टनरशीपको कागजको आधारमा मिति २०४७।५।१५ को कपाली तमसुकको अस्तित्व नै कायम नरहेको भन्ने निष्कर्षमा पुगेको पाइयो । कपाली तमसुकका साहू यी वादीको कुनै प्रकारको संलग्नता नदेखिएको पार्टनरशीपको कागजलाई आधार बनाई वादी दावी पुग्न नसक्ने गरी भएको यस अदालतको संयुक्त इजलासको मिति २०६२।१।१२ को फैसला नेत्रबहादुर कंशाकार विरुद्ध गोबर्द्धनदास माडबारी भएको लेनदेन मुद्दा (दे.फु.नं ३८२) मा यस अदालतको पूर्ण इजलासबाट कायम भएको सिद्धान्त समेतको प्रतिकूलको देखिँदा न्याय प्रशासन ऐन, २०४८ को दफा ११ को (१) को खण्ड (ख) बमोजिम प्रस्तुत मुद्दा पुनरालोकन गरी हेर्ने निस्सा प्रदान गरिएको छ भन्ने यस अदालतको मिति २०६५।४।१४ को आदेश ।
नियमबमोजिम पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दामा निवेदक वादीको तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री महादेव पण्डितले मिति २०४७।५।१५ मा लिखत गरी रूपैयाँ लिएको भन्ने कुरालाई विपक्षीले स्वीकार गर्नुभएको र उक्त रकम चुक्ता गरेको कुरा प्रमाणित गर्न सकेको अवस्था छैन । अन्य व्यक्तिसँग भएको करार वा लिखतको आधारमा प्रस्तुत मुद्दाको लिखतलाई अमान्य गर्न मिल्ने होइन । छुट्टाछुट्टै अस्तित्व भएका लिखत भएको हुँदा यस अदालतबाट भएको फैसला उल्टी बदर हुनुपर्छ भनी बहस गर्नुभयो । विपक्षी प्रतिवादीका तर्फबाट उपस्थित विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भु थापा र अधिवक्ता कृष्ण थापाले काशीराम र गोविन्दराम एकासगोलमा रहेका बाबुछोरा भएकोमा मिति २०४७।५।१५ मा कपाली तमसुक भएपछि गोविन्दरामसँग मिति २०४७।५।२१ मा पार्टनरशीपको कागज भएको, मिति २०४९।७।४ मा भएको लिखतमा आजको मिति अघि लकडीको काम कारोवार गर्दा पटकपटक लिएको सम्पूर्ण हिसाब किताब मिलान गरिएको भन्ने उल्लेख भएको हुँदा छुट्टै लिखत हो भनी भन्न सकिने अवस्था छैन । यस अदालतबाट पुनरालोकनको निस्सा प्रदान गरिदा उल्लेख गरिएको नजीर प्रस्तुत मुद्दामा अकार्षित हुने अवस्था नरहेकाले यस अदालत संयुक्त इजलासको फैसला सदर होस् भनी गर्नु भएको बहस सुनियो ।
पेश भएको मिसिल कागज अध्ययन गरी विद्वान कानून व्यवसायीहरूको बहस जिकीरलाई दृष्टिगत गर्दा यस अदालत संयुक्त इजलासको फैसला मिलेको छ, छैन ? यस अदालतबाट पुनरालोकन निस्सा प्रदान गर्दा लिइएको आधारसँग सहमत हुन सक्ने अवस्था छ, छैन ? भन्ने सम्बन्धमा निर्णय दिनुपर्ने देखिन आएको छ ।
२. निर्णयतर्फ विचार गर्दा प्रतिवादीहरूले मिति २०४७।५।१५ मा लिखत गरी रु.९५०,०००।–लिएका र भाखाभित्र नबुझाएकाले साँवा व्याज भराई पाऊँ भन्ने वादी दावी भएकोमा वादीलाई बुझाउनुपर्ने सम्पूर्ण रकम बुझाई कारोबार मिलाई सकेको भन्ने प्रतिउत्तर जिकीर रहेछ । शुरु जिल्ला अदालतले वादी दावीबमोजिम साँवाव्याज भराइपाउने ठहर गरेको फैसला पुनरावेदन अदालतबाट समेत सदर भएकोमा यस अदालतबाट मुद्दा दोहोर्याई हेरी पुनरावेदन अदालतको फैसला उल्टी हुने ठहर भएउपर पुनरालोकनको निस्सा प्रदान भइ आएको पाइयो । यस अदालत संयक्त इजलासले कपाली तमसुकका साहू यी वादीको कुनै प्रकारको संलग्नता नदेखिएको मिति २०४७।५।२१ को पार्टनरशीपको कागज समेतलाई आधारलिई वादी दावी नपुग्ने भनी फैसला गरेको पाइँदा प्रस्तुत मुद्दाको मिति २०४७।५।१५ को कपाली तमसुकको स्वतन्त्र अस्तित्व छ छैन ? उक्त लिखतको कारोवारलाई पछि गरिएको पार्टनरशीपलगायतका अन्य लिखत र कारोवारसँग जोडिएको वा मिलान गरिएको देखिन्छ देखिँदैन भन्ने सम्बन्धमा हेर्नुपर्ने देखिन आएको छ ।
३. वादी काशीराम अग्रवालसँग प्रतिवादीहरू गिरीराज कार्की र कृष्ण कार्कीले मिति २०४७।५।१५ मा लकडीको कारोवार गर्न भनी रु.९,५०,०००।– लिई लिखत गरिदिएको कुरामा विवाद देखिँदैन । त्यसरी लिखत भएको केही दिन पछि मिति २०४७।५।२१ मा वादी काशीराम अग्रवालका छोरा गोविन्दराम अग्रवाल र यी प्रतिवादीहरूका बीचमा लकडीको कारोवार गर्ने गरी पार्टनरशीपको कागज भएको र त्यस कागजमा पहिले लिएको रु.९,५०,०००।– चिरान लकडीको खरीद गर्नमा लगाउने तथा कारोवारबाट हुने लाभ र हानि बराबरी व्यहोर्ने भन्ने समेतको व्यहोरा उल्लेख गरिएको पाइयो । त्यसरी कागज भई कारोवारसमेत गर्ने गरेको तथ्यलाई वादी काशीराम अग्रवालले अन्यथा भन्न सकेको पाइदैन । तत्पश्चात् मिति २०४९।७।४ मा गोविन्दराम अग्रवाल र यी प्रतिवादीहरूका बीचमा कागज हुँदा आजसम्म भएको कारोवारको हिसाब किताब गर्दा लकडीको कारोवारको क्रममा पटकपटक लिएको सम्पूर्ण हिसाब किताब मिलान गरी अब उप्रान्त बुझाउन बाँकी रकम रु.४,५१,०००।– ठहर हुन आएको र उक्त रकम २०४९ मंसिर मसान्तसम्ममा बुझाउने भन्ने व्यहोरा उल्लेख भई कागज भएको देखिन्छ । त्यसरी भएको उक्त पछिल्लो लिखतको सम्बन्धमा समेत मुद्दा परी वादीले साँवा व्याज भराई पाउने ठहर फैसला भई अन्तिम भएर बसेको संलग्न प्रमाण मिसिलबाट देखिएको छ ।
४. यी वादी काशीरामले आफू र छोरा गोविन्दराम बीच २०३७ सालमा नै अंशबण्डा भै वेग्लावेग्लै बन्दव्यापार र व्यवहार गरी आएको र छोराले प्रतिवादीहरूसँग साझेदारी लकडीको कारोवार गरी आएतापनि त्यसमा आफ्नो कुनै सरोकार नरहेको भनी जिकीर लिएको पाइयो । वादीले उक्तबमोजिम दावी लिएको मिति २०३७।१२।९ को बण्डापत्रको लिखत रजिष्ट्रेशन पास हुन सकेको नदेखिँदा त्यसलाई कानूनअनुरूपको बण्डापत्रको मान्यता दिन मिल्ने भएन । यस अवस्थामा काशीराम र गोविन्दराम एकासगोलमै बसी सगोलमै वन्द व्यापार र व्यवहार गरी आएका भनी मान्नुपर्ने हुन आउछ । अंशबण्डाको १८ नं.ले मानो नछुट्टिई सगोलमै बसेको अंशियारले सगोलको सम्पत्तिबाट वा सगोलको खेती, उद्योग, व्यापार व्यवसायबाट बढेबढाएको सगोलको आर्जन सबै अंशियारलाई भाग लाग्ने व्यवस्था गरेको पाइन्छ ।
५. यस प्रकार वादी काशीराम र निजको छोरा गोविन्दराम अग्रवाल एकासगोलका रही बन्दव्यापार गरी रहेका, प्रतिवादीहरू कृष्ण कार्की र गिरीराज कार्कीले वादी काशीरामसँग लिएको रकमसमेत लगानी गरी छोरा गोविन्दरामसँग पार्टनरशीपमा लकडीको कारोबार गरी आएका र वादीका छोरा गोविन्दरामसँग भएका पछिल्ला मितिका लिखतमा अघिको कारोवार र लेनदेनको सन्दर्भसमेत उल्लेख गरी पटकपटकको हिसाब किताब मिलान गरिएको भन्ने व्यहोरा उल्लेख भएको देखिएको अवस्थामा यस मुद्दामा विवादित रहेको मिति २०४७।५।१५ को लिखतलाई छुट्टै अस्तित्व रहेको लिखत भनी मान्न मिल्ने देखिएन । पछि भएका लिखतहरूमा अघिल्लो लिखतको व्यवहारलाई समेत खुलाई सम्पूर्ण हिसाब किताब मिलान गरिएको भन्ने व्यहोरा पारी कागज भए पछि अघिल्लो लिखतको अस्तित्व कायमै रही रहेको मान्न उचित र कानूनसंगत हुन सक्दैन ।
६. यस अदालतबाट पुनरालोकनको निस्सा प्रदान हुँदा नेत्रबहादुर कंसाकार विरुद्ध गोवर्द्धन दास माडवारी भएको लेनदेन मुद्दा (दे.फु.नं ३९२) मा स्थापित भएको सिद्धान्त समेतको प्रतिकूल देखिएको भनी आधार लिएको पाइदा सो सम्बन्धमा समेत हेर्नुपर्ने हुन आएको छ । साविकको मुलुकी ऐन साहू असामीको नं. १ अन्तर्गतको विवादको सन्दर्भ रहेको उक्त मुद्दामा मिति २०२२।९।१६ मा यस अदालतबाट फैसला भएको देखिन्छ । समान किसिमको तथ्य रहेको मुद्दामा उही कानूनको व्याख्याको प्रश्नमा अघि कुनै महत्वपूर्ण सिद्धान्त स्थापित रहेको छ भने पछिको त्यस्तै किसिमका मुद्दाहरूमा अवलम्बन गरिनु पर्छ भन्ने मान्यता नजीरको सिद्धान्तमा रहेको हुन्छ । हाम्रो संवैधानिक व्यवस्था र यस अदालतले अङ्गाली आएको मान्यता पनि त्यही नै हो । प्रस्तुत मुद्दामा मुलुकी ऐन लेनदेन व्यवहारको महलअन्तर्गतको विवाद रहेको र मुद्दाको तथ्य समेत उस्तै प्रकृतिको रहेको नपाईदा उल्लिखित नजीर यस मुद्दामा आकर्षित हुन सक्ने अवस्था रहेको पाइएन ।
७. अतः माथि विवेचना गरिएका आधार र प्रमाणहरूबाट यी वादी प्रतिवादीहरूका बीचमा भएको मिति २०४७।५।१५ को लिखतको छुट्टै अस्तित्व कायम रहेको अवस्था देखिन नआएकाले यस अदालतबाट मिति २०६५।४।१४ मा दिइएको पुनरालोकनको निस्सासँग सहमत हुन सकिएन । तसर्थ उक्त निस्सा कायम रहन नसक्ने भएकोले यस अदालत संयुक्त इजलासको मिति २०६२।१।१२ को फैसला सदर हुने ठहर्छ । डायरीको लगत कट्टा गरी मिसिल नियमानुसार बुझाई दिनु ।
उक्त रायमा हामी सहमत छौं ।
प्र.न्या.खिलराज रेग्मी
न्या.प्रकाश वस्ती
इति संवत् २०६९ साल पुस १२ गते रोज ५ शुभम् ..
इजलास अधिकृतः टीकाराम आचार्य