निर्णय नं. ७९०७ - धितो बन्धक फुकुवा

निर्णय नं. ७९०७ ने.का.प. २०६४ अङ्क १२
सर्वोच्च अदालत, संयुक्त इजलास
सम्माननीय प्रधानन्यायाधीश श्री केदार प्रसाद गिरी
माननीय न्यायाधीश श्री रामप्रसाद श्रेष्ठ
सम्वत् २०६० सालको दे..पु.नं. ९५४९
फैसला मितिः २०६४।१२।७।५
मुद्दाः धितो बन्धक फुकुवा ।
पुनरावेदक
वादी का.जि. काठमाडौं महानगरपालिका वडा नं.३१ बागबजार बस्ने शायरा बानु
विरूद्ध
प्रत्यर्थी
प्रतिवादीः का.जि. काठमाडौं महानगरपालिका वडा नं.२९ मा मुख्य कार्यालय भएको आधार ट्रेडर्सका प्रो.शरदराम भण्डारी
अघि फैसला गर्ने
काठमाडौं जिल्ला अदालतः
मा.न्या. डा.आनन्दमोहन भटृराई
पुनरावेदन अदालत पाटनः
मा.न्या. श्री दामोदरप्रसाद प्रजापती
मा.न्या. श्री जगन्नाथ पाठक
§ करारका निश्चित शर्तहरु हुन्छन्, निश्चित प्रयोजन हुन्छ र निश्चित कार्य सम्पन्न भएपछि त्यसको अवधि स्वतः समाप्त हुने ।
(प्रकरण नं.९)
§ एक प्रयोजनका लागि करारको एक पक्षलाई दिइएको धितो बन्धक अर्को प्रयोजन र करारको पक्ष नै नरहेको तेस्रो पक्षका लागि समेत प्रयोग गर्न दिने गरी जारी भएको काउण्टर ग्यारेण्टीलाई करार अनुरुपको मान्न सक्ने अवस्था नहुँदा त्यस्तो काउण्टर ग्यारेण्टीको दायित्व वादीले व्यहोर्नुपर्ने भनी अर्थ गर्न नमिल्ने ।
§ जुन प्रयोजनको लागि जमानत दिइएको हो सो प्रयोजन समाप्त भै सकी त्यसका लागि राखिएको काउण्टर ग्यारेण्टी समेत फुकुवा भैसकेको तथ्य स्थापित भएपछि धितो बन्धकमा राखिएको जग्गा फुकुवा नहुने भनी धितो बन्धकलाई अनन्तकालसम्म कायम राख्ने गरी धितो फुकुवाको विषय धितो बन्धक लेखिदिने पक्षको अधिनमा नभै ऋणीको एकतर्फी अधिनको विषय बनाउन कानूनतः नमिल्ने ।
§ निजी कानून भन्दैमा जस्तोसुकै करार गर्न पाइने, करारको लाभ करारको पक्ष नै नरहेको व्यक्तिले समेत उपभोग गर्न पाउने तर त्यसको दायित्व भने एकपक्षले वहन गर्नुपर्ने, करार बमोजिमको कार्य सम्पन्न भएपछि पनि करारले असिमित दायित्व सिर्जना गरेको भन्दै अनन्तकालसम्म दायित्वबाट मुक्त हुन नपाउने अवस्था सिर्जना गर्ने जस्ता कार्यलाई पनि न्यायिक परीक्षणको विषय नबनाउने भन्ने नहुने ।
§ निजी कानूनको विषय भनी करार सम्बन्धी विषयलाई व्यवस्थित र नियमित गर्न बनेको कानूनी व्यवस्था भन्दा पृथक रहेर करारलाई आफूखुशी व्याख्या गर्न नहुने ।
(प्रकरण नं.१०)
पुनरावेदक वादी तर्फबाट : विद्वान अधिवक्ता श्री खम्वबहादुर खाती
प्रत्यर्थी प्रतिवादी तर्फबाट : विद्वान अधिवक्ता श्री विमल सुवेदी र पवनराम भटृराई
अवलम्वित नजीरः
फैसला
प्र.न्या.केदारप्रसाद गिरीः न्याय प्रशासन ऐन, २०४८ को दफा ९ (१)(ग) अनुसार यस अदालतमा दायर भई पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छः
मेरा नाउँमा मालपोत कार्यालय कलंकीमा दर्ता श्रेस्ता कायम रहेको काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं. ६ कि.नं. २५० क्षेत्रफल ०–२–२–० (दुईआना दुई पैसा) जग्गा मेरो निर्विवाद हकभोग स्वामित्वको जग्गा हो । प्रतिवादी मध्ये मेरो पारिवारिक चिनजान भएका व्यक्ति आधार ट्रेडर्सका प्रो. शरदराम भण्डारीलाई निजले जिल्ला प्रहरी कार्यालय सर्लाहीका लागि पाएको आ.व. ०५४।०५५ को राशन ठेक्काका लागि लुम्बिनी फाइनान्सबाट जारी हुने कर्जा र बैंक ग्यारेण्टीका लागी मिति २०५४।१०।२९ गतेका दिन र.नं. ३१२५ बाट मा.पो.का. कलंकीमा लुम्बिनी फाइनान्स एण्ड लिजिङ कम्पनीलाई विगो वापत जमानी पास गरी दिएको र सोही मितिदेखि धितो बन्धक रोक्का रहेको छ । उक्त जग्गा प्रो.शरदराम भण्डारीले लुम्बिनी फाइनान्सबाट कर्जा लिन सक्ने गरी मन्जुनरनामा समेतको धितो बन्धक विपक्षी कम्पनीका नाउँमा लेखी दिएको थिएँ । सोही आधारमा ठेक्का कारोबार गरेका हुन् । उक्त जग्गा ठेक्काको कारोबार सकिएपछि फुकुवा गरिपाऊँ भनी निवेदन दिई सो बैंकले मिति २०५५।१०।१४ च.नं. १०३० बाट फुकुवा गरेको जानकारी लुम्बिनी फाइनान्स एण्ड लिजिङ्ग कम्पनीलाई दिएको देखिएको र उक्त जग्गा फुकुवा गरी दिनु होस् भनी प्रो. शरदराम भण्डारीलाई भन्दा आल टाल गरी फुकुवा गरी नदिएको हुँदा म फिरादीले लेखी दिएको जमानतको आधारमा धितो जमानत दिदै नदिएको व्यक्ति फ्रेण्डस विल्डर्सको प्रो. रामनरेश सिंहलाई ग्यारेण्टी दिई मेरो उक्त सम्पत्ती रोक्का राख्नु गैर कानूनी भै गैर कानूनी कार्यबाट सम्पूर्ण दायित्वको भागीदार विपक्षी प्रतिवादीहरु हुने कुरामा विवाद रहन नसक्ने हुँदा करार सम्बन्धी ऐन, २०५६ को दफा ३६ को उपदफा १ ले करारमा अन्यथा भएकोमा बाहेक जुन ऋणका लागि धितो राखिएको हो, सो ऋण चुक्ता भएपछि वा जुन कामका लागि धरौट दिएको हो, सो काम सम्पन्न भएपछि त्यस्तो धितो वा धरौट फिर्ता गर्नुपर्ने कानूनी व्यवस्था रहेकोमा सो विपरीत शरदराम भण्डारीको पक्षमा लुम्बिनी फाइनान्सलाई धितो जमानत दिएको जग्गा सोहि धितो जमानतको आधारमा अर्को उनाऊ व्यक्तिका नाउँमा मिति २०५५।११।२० मा करार गरी सो का निमित्त कर्जा जारी गरी मेरो जग्गा धितो जमानत वापत रोक्का राखी रहन मिल्दैन, सो कार्य कानूनतः बदरभागी भएकाले बदर गरी मैले लुम्बिनी फाइनान्सलाई मिति २०५४।१०।२९ मा र.नं. ३२२५ बाट लेखी दिएको धितो जमानत फुकुवा गरिपाऊँ भन्ने समेत व्यहोराको सायरा वानुको फिराद दावी ।
वादीले मिति २०५४।१०।२९ मा गरी दिनु भएको तमसुक बमोजिम आधार ट्रेडर्सले यस कम्पनीबाट हायर फर्चेज कर्जा अन्तर्गत लिएको टाटा ट्रक लगायत राशन ठेक्काको लागि धितो बन्धक रहन गएको हो । काउण्टर ग्यारेण्टी फुकुवा भए पनि प्रो. शरदराम भण्डारीले लिएको अन्य कर्जा नतिरेसम्म कम्पनीले कर्जा सुरक्षण वापत धितो लिएको हो, फुकुवा गर्न मिल्दैन । कर्जा सुरक्षण वापत दिएको धितो बन्धक कारोबार गर्न नमिल्ने भनी गरेको वादी दावी प्रमाण ऐन, २०३१ को दफा ३४ को प्रष्ट प्रतिकूल रहेको छ । वादीले यस कम्पनी समेतका उपरमा परमादेश समेतको मुद्दा दिई पुनरावेदन अदालत पाटनबाट खारेज भई सकेका छन् । जग्गा फुकुवा हुनुपर्ने आधार करार ऐन, २०५६ को दफा ३६(१) लाई बनाई हदम्यादको सम्बन्धमा अ.वं. ३६ नं. को दावी गर्नु भएको छ । कानूनको हदम्याद भित्रको फिराद नभएको हुँदा खारेज गरी वादी दावीबाट अलग फुर्सद गरिपाऊँ भन्ने समेत व्यहोराको लुम्बिनी फाइनान्स एण्ड लिजिङ कम्पनीको तर्फबाट चिन्तामणी भट्टराईको प्रतिउत्तर जिकिर ।
विपक्षी वादीले सिमित समय र सिमित विषयको लागी धितो दिएको होइन । ऋणीले धनी कम्पनीलाई बुझाउनु पर्ने सम्पूर्ण रकम समेतको लागी तपसिलमा उल्लेखित चल अचल सम्पत्ति जग्गा तपाई धनी कम्पनीको नाउँमा धितो बन्धक राख्न मन्जूर भएको हुनाले ऋणीले प्राप्त गर्ने माथि उल्लेखित ऋण रकम र पछि कुनै विषयमा शर्त कबुलियत गरी वा नगरी प्राप्त गर्ने हायर पर्चेज विडवण्ड प्रोजेक्ट लोन टर्म लोन बुकिङ क्यापीटल जमानत दिई उत्पन्न दायित्व र ऋणी आफैं संलग्न भएको फर्म कम्पनी उद्योग समेतले लिएको कर्जा समेतमा धनी कम्पनीबाट प्राप्त हुने सम्पूर्ण ऋण सुविधाहरुको संरक्षण वापत धितो बन्धक लेखी दिएको उक्त लिखतबाटै देखिई रहेको छ । लिखत कागजमा असिमित रुपमा म बाट हुने प्रत्येक कारोबार गर्न पूर्ण अधिकार भई कारोबार गरेको हो । वादी दावी झुठ्ठा हो, ठेक्का कारोबारबाट नाफा नोक्सान पर्यो भन्ने कारणले मुद्दा दिएका हुन् भन्ने समेत व्यहोराको प्रो शरदराम भण्डारीको प्रतिउत्तर जिकिर ।
करार ऐन, २०५६ को दफा ३६ मा जुन ऋणको लागि धितो राखिएको हो । सो ऋण चुक्ता भएपछि वा जुन कामको लागि धरौट लिएको हो सो काम सम्पन्न भएपछि त्यस्तो धितो वा धरौट राख्ने व्यक्तिलाई फुकुवा गर्नु पर्छ भन्ने उल्लेख भएको पाइएको र धितोको कागजमा उल्लेख भएको व्यहोराका आधारमा मात्र सम्झौताको पक्ष नै नभएको व्यक्तिले लिएको ऋणको सुरक्षण वापत पनि धितो प्रयोग हुन सक्छ भनी अर्थ गर्न कानून तथा न्याय दुवै दृष्टिबाट समेत नमिल्ने देखिँदा वादी दावी बमोजिम धितो बन्धक फुकुवा हुने ठहर्छ भन्ने समेत व्यहोराको काठमाडौं जिल्ला अदालतको मिति २०५८।३।२७ को फैसला ।
मिति २०५४।१०।२९ मा कर्जा सुरक्षण वापत जमानी लेखी दिनु भएको लिखतमा एक वर्षको लागि मात्र धितो बन्धक लेखेको भन्ने कुरा उल्लेख छैन । धितो लिखत बमोजिम आधार ट्रेडर्सले यस कम्पनीबाट टाटा ट्रक लिँदा लिएको ऋण कर्जा वापतको ऋण नै चुक्ता नभएको अवस्थामा करार ऐनको दफा ३६(१) बमोजिम धितो बन्धक फुकुवा हुन नसक्ने लिखत प्रमाणबाट प्रष्ट देखिँदा देखिँदै भएको फैसला ऐ. दफा ३६(१) प्रतिकूल छ । आधार ट्रेडर्सले लिएको र लिने कर्जा वापतको रकमको लागी उक्त जग्गा धितोमा रहन सक्ने कुरा विपक्षी वादीले स्वीकार गरी लिखत गर्नु भएको छ । आधार ट्रेडर्सले यस कम्पनीबाट टाटा ट्रक लिन ऋण कर्जा लिनु भएको छ भने राशन ठेक्का लिनको लागि पनि काउण्टर ग्यारेन्टीको माग नभई कम्पनीबाट काउण्टर ग्यारेन्टी जारी गरेको हुँदा आधार ट्रेडर्सको यस कम्पनीमा दुई वटा ऋण कर्जा रहन गई यद्यपि ऋण कर्जा कायम नै रहेको अवस्थामा लिखतको प्रतिकूल अर्थ गर्न खोज्नु आफैंमा त्रुटीपूर्ण छ । अतः काठमाडौं जिल्ला अदालतबाट भएको फैसला उल्टी गरी न्याय पाउँ भन्ने समेत व्यहोराको लुम्बिनी फाइनान्सको तर्फबाट परेको पुनरावेदन पत्र ।
लिखतलाई ध्यानै नदिई वादीले दावी लिए अनुसार एक वर्षको लागि मात्र धितो जमानी दिएको भन्ने आशय गरी फैसला गरिनुबाट सो फैसला हचुवाको भरमा भएको छर्लङ्ग हुन्छ । फैसला करार ऐन, २०५६ को दफा ३६ समेतको विपरीत भएको छ । ऋण कर्जा लगायतमा जमानत दिई उत्पन्न दायित्व समेत वहन गर्न मन्जूर भई गरी दिएको लिखतका आधारमा प्रवाह भएको ऋण कर्जालाई असर पुग्ने गरी भएको फैसला कानूनको मनसाय विपरीत हुन गएको छ । विपक्षीले फिरादमा करार ऐन, २०५६ को दफा ३६ को दावी गर्दै मुलुकी ऐन, अ.वं. ३६ को हदम्याद भित्र भनी फिराद दायर गर्नु भएको छ, जुन विपक्षीले उल्लेख गरेकै कानूनका आधारमा हदम्याद विहिन छ । अतः विपक्षीको फिराद खारेज गर्नु पर्नेमा सो नगरी वादी दावी बमोजिम हुने ठहर्याएको फैसला त्रुटीपूर्ण हुँदा उल्टी गरी न्याय पाउँ भन्ने समेत व्यहोराको शरदराम भण्डारीको तर्फबाट परेको पुनरावेदन पत्र ।
यसमा वादीले हदम्यादको कुरा उठाएकोमा त्यसतर्फ फैसला मौन रहेको र २०५४।१०।२९ को लिखत व्यहोरा हेर्दा निज सायरा वानुले आफ्नो कि.नं. २५० को ०–२–२–० जग्गाबाट विभिन्न काम कुरा गर्न सक्ने गरी कागज गरेको र सायरा वानुले यही जग्गाको सम्बन्धमा दिएको निषेधाज्ञा एवं परमादेशको मुद्दामा निवेदन खारेज हुने गरी मिति २०५७।४।२७ मा फैसला भई अन्तिम रुपमा रहेको समेतबाट काठमाडौं जिल्ला अदालतबाट मिति २०५८।३।२७ मा भएको फैसला फरक पर्ने देखिँदा अ.वं. २०२ नं. तथा पुनरावेदन अदालत नियमावली २०४८ को नियम ४७ बमोजिम विपक्षी झिकाई आएपछि वा अवधि नाघेपछि नियमानुसार पेश गर्नु भन्ने समेत व्यहोराको पुनरावेदन अदालत पाटनको मिति २०५८।१२।१९ को आदेश ।
ऋण चुक्ता नभएसम्मको लागि जमानतको लागि यी विपक्षी सायरा वानुले यी पुनरावेदकहरुलाई आफ्नो जग्गा धितो वन्धक पारित गरी दिएको देखिन्छ । सोही धितो वन्धकको आधारमा पुनरावेदक शरदराम भण्डारीले पुनरावेदक फाइनान्स कम्पनीबाट लिएको ऋण अद्यापि चुक्ता हुन सकेको देखिँदैन । यस्तो अवस्थामा जुन प्रयोजनका लागि जुन शर्तमा धितो वन्धक दिएको हो, सो प्रयोजन र शर्त पूरा नभएसम्म धितो वन्धक दिएको सम्पत्ति फुकुवा गर्न मिल्ने देखिँदैन । तसर्थ पुनरावेदक प्रतिवादी फाइनान्स कम्पनीबाट लिएको ऋण चुक्ता नहुँदै ऋण रकम वापत सुरक्षणमा दिएको जग्गा फुकुवा हुने ठहर्याएको शुरू काठमाडौं जिल्ला अदालतको मिति २०५८।३।२७ को फैसला उल्टी हुने ठहर्छ भन्ने समेत व्यहोराको पुनरावेदन अदालत पाटनको मिति २०५९।९।२ को फैसला ।
मेरा नामको कित्ता नं. २५० को क्षेत्रफल ०–२–२–० जग्गा मेरो मञ्जुरी वेगर करारका पक्ष नै नभएका उनाउ व्यक्ति रामनरेश सिंहका नाममा धितो जमानत सुरक्षण वापत र धितो जमानत नै नलिएका शरदराम भण्डारीले लिएको हायर पर्चेजमा रोक्का राखिएको र मैले शरदराम भण्डारीलाई मिति २०५४।१०।२९ मा लेखिदिएको धितो जमानत बमोजिम प्रतिवादी शरदराम भण्डारीले प्रत्यर्थी कम्पनीलाई तिर्नु पर्ने सम्पूर्ण ऋण चुक्ता नभएसम्म फुकुवा गर्न मिल्दैन भनी भएको पुनरावेदन अदालत पाटनको फैसला कानूनी, संवैधानिक र अदालतद्धारा प्रतिपादित सिद्धान्त समेतको प्रतिकूल हुँदा उल्टी गरी शुरु फैसला बमोजिम गरिपाऊँ भन्ने समेत व्यहोराको वादीको पुनरावेदनपत्र ।
यसमा मिति २०५४।१०।२९ को लिखतको पक्ष नै नभएको फ्रेण्डस विल्डर्सले लिएको ऋणको सुरक्षण वापत धितो प्रयोग गरेको अवस्थामा वादी दावी पुग्न नसक्ने ठहर्याएको पुनरावेदन अदालतको फैसला फरक पर्न सक्ने देखिँदा अ.वं. २०२ नं. बमोजिम प्रत्यर्थी झिकाई पेश गर्नु भन्ने समेत व्यहोराको यस अदालतको मिति २०६३।३।२१ को आदेश ।
२. नियम बमोजिम पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक वादीतर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री खम्मबहादुर खातीले एकपक्षलाई दिएको जमानत अर्को पक्षलाई हस्तान्तरण गर्न मिल्ने हुँदैन, एउटा पक्षलाई दिएको जमानत अर्को पक्षलाई हस्तान्तरण गर्दै जाने हो भने कहिल्यै पनि फुकुवा नहुने अवस्था सिर्जना हुन जान्छ, कानूनले त्यस्तो अवस्थाको परिकल्पना गरेको हुँदैन, कृषि विकास बैंकको काउण्टर ग्यारेन्टी फुकुवा पत्रले पनि अबधि निश्चित भएको छ, लुम्बिनी फाइनान्स र आधार ट्रेडर्सको सम्झौतामा जारी मिति र समाप्त मिति उल्लेख भएबाट पनि लिखत अनन्तकाल सम्मका लागि हो भन्ने अवस्था छैन, तसर्थ पुनरावेदन अदालतको फैसला उल्टी गरी शुरु अदालतबाट भएको न्यायोचित फैसला कायम गरिपाऊँ भनी आफ्नो बहस प्रस्तुत गर्नुभएको थियो । त्यसैगरी प्रत्यर्थी प्रतिवादीमध्येको आधार ट्रेडर्सका प्रो. शरदराम भण्डारीका तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री विमल सुवेदीले २०५४।१०।२९ को लिखत ३ पक्षबीच भएको करारका रुपमा रहेको छ, लिखतले प्रयोजन निश्चित गरेको छैन, अबधि पनि तोकेको छैन, लिखतले मेरो पक्षलाई अन्य कुनै व्यक्ति, फर्म, कम्पनी, उद्योगलाई समेत धितो दिन सक्ने गरी absolute right प्रदान गरेको छ । करार भनेको Personal Law पनि भएकाले पक्षहरुले करारका रुपमा निर्धारण गरेका शर्तहरु भन्दा पर गएर दावी गर्न मिल्दैन । जुन मितिमा सम्पत्ति फुकुवाका लागि निवेदन गरिएको छ त्यसपछि सो सम्पत्ति अन्य प्रयोजनका लागि धितो राखिएको पनि छैन भनी र अर्का प्रतिवादी लुम्बिनी फाइनान्सका तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री पवनराम भटृराईले वादीले गरिदिएको लिखतका आधारमा शरदराम भण्डारीको ऋण चुक्ता नभएसम्म सुरक्षण वापत दिइएको धितो फुकुवा हुन सक्ने अवस्था छैन भनी आ–आफ्नो बहस जिकीर प्रस्तुत गर्नु भएको थियो ।
३. विद्वान कानून व्यवसायीहरुको बहस जिकीर समेत सुनी सम्पूर्ण मिसिल अध्ययन गरी हेर्दा आफ्नो नाउँको कि.नं. २५० को जग्गा आधार ट्रेडर्सका प्रो. शरदराम भण्डारीले जिल्ला प्रहरी कार्यालय सर्लाहीका लागि पाएको राशन ठेक्काका लागि लुम्बिनी फाइनान्सबाट जारी हुने कर्जा र बैंक ग्यारेण्टीका लागी धितो वापत जमानी पास गरी दिएको र सोही मितिदेखि धितो बन्धक रोक्का रहेकोमा ठेक्काको कारोबार सकिएपछि फुकुवा गरीदिनुपर्नेमा आफूले धितो जमानत दिदै नदिएको व्यक्ति फ्रेण्डस विल्डर्सको प्रो. रामनरेश सिंहलाई ग्यारेण्टी दिई मेरो उक्त सम्पत्ती रोक्का राखेबाट सो कार्य कानूनतः बदरभागी भएकाले धितो जमानत फुकुवा गरिपाऊँ भन्ने मुख्य फिराद दावी रहेको प्रस्तुत मुद्दामा काउण्टर ग्यारेण्टी फुकुवा भए पनि अन्य कर्जा नतिरेसम्म कम्पनीले कर्जा सुरक्षण वापत धितो लिएको जग्गा फुकुवा गर्न मिल्दैन भनी प्रतिवादीमध्येको लुम्बिनी फाइनान्स एण्ड लिजिङ कम्पनीको तर्फबाट र वादीले सिमित समय र सिमित विषयको लागी धितो दिएको नभै ऋणीले धनि कम्पनीलाई बुझाउनु पर्ने सम्पूर्ण रकम समेतको लागी धितो बन्धक राख्न मन्जूर भै लिखत गरिदिएको हुनाले फिराद दावी निरर्थक रहेको छ आधार ट्रेडर्सका प्रो. शरदराम भण्डारीको तर्फबाट प्रतिउत्तर जिकिर लिईएको देखिन्छ । शुरु अदालतबाट जुन कामको लागि धरौट लिएको हो सो काम सम्पन्न भएपछि त्यस्तो धितो वा धरौट राख्ने व्यक्तिलाई फुकुवा गर्नु पर्छ भन्ने कानूनी व्यवस्था रहेको सन्दर्भमा धितोको कागजमा उल्लेख भएको व्यहोराका आधारमा मात्र सम्झौताको पक्ष नै नभएको व्यक्तिले लिएको ऋणको सुरक्षण वापत पनि धितो प्रयोग हुन सक्छ भनी अर्थ गर्न कानून तथा न्याय दुवै दृष्टिबाट समेत नमिल्ने भनी धितो बन्धक फुकुवा हुने ठहर्याई फैसला भएकोमा प्रतिवादीहरुको पुनरावेदन परेको र पुनरावेदन अदालतबाट ऋण चुक्ता नभएसम्मको लागि जग्गा धितो वन्धक पारित गरी दिएको देखिँदा ऋण चुक्ता नहुँदै ऋण रकम वापत सुरक्षणमा दिएको जग्गा फुकुवा हुन नसक्ने भनी शुरु फैसला उल्टी हुने ठहर्याई फैसला भएको देखिन्छ । सो उपर वादीको यस अदालतमा परेको पुनरावेदनमा विपक्षी झिकाउने आदेश समेत भै प्रस्तुत मुद्दा यस इजलास समक्ष पेश हुन आएको अवस्था छ ।
४. प्रस्तुत मुद्दाको मूल विवादको विषय भनेको यी वादी र प्रतिवादीमध्येको आधार ट्रेडर्सका प्रो. शरदराम भण्डारी समेतका बीच मिति २०५४।१०।२९ मा भएको करारको लिखतमा परेका शर्तहरु नै हुन्, जसलाई वादी पक्षले सिमित रुपमा र प्रतिवादी पक्षले असिमित रुपमा अर्थ लगाई आ–आफ्ना तर्कहरु पेश गरेको अवस्था हुँदा प्रथमतः सो करारको संरचना र त्यसमा निहित रहेका शर्तहरु के कस्ता रहेछन् भनी हेर्नु यहाँ सान्दर्भिक हुन आउँछ ।
करारका पक्षहरुः
१. लुम्बिनी फाइनान्स एण्ड लिजिङ कम्पनी लिमिटेड (धनी कम्पनी)
२. श्रीमती शायरा बानु (धितो बन्धक लेखीदिने)
३. आधार ट्रेडर्सका प्रो. शरदराम भण्डारी (ऋणी) धितो बन्धक राखिएको जग्गाः काठमाडौं जिल्ला टंकेश्वर गा.वि.स. वार्ड नं. ६ स्थित कित्ता नं. २५०, क्षेत्रफल ०–२–२–० जग्गा ।
धितोले समेटेको दायित्वः
१. धनी कम्पनीसँग एकमुष्ठ वा पटक पटक बिड बण्ड, परफरमेन्स बण्ड, जमानत, विभिन्न प्रकारको कर्जाहरु र सुविधा लिए/लिने वापत रु.७,००,०००।– सम्मको लागि र सो को धनी कम्पनीको नियमानुसारको लाग्ने व्याज र अन्य रकम समेतका लागि ।
२. भविष्यमा शर्त कबुलियत गरी वा नगरी प्राप्त गर्न हायर पर्चेज, बिड बण्ड, प्रोजेक्ट लोन, टर्मलोन, वर्किङ्ग क्यापिटल, जमानतपत्र, लिज फाइनान्स, ऋणीले अन्य कुनै व्यक्ति/ कम्पनी/फर्म/उद्योगलाई जमानत दिई उत्पन्न दायित्व र ऋणी आफैं संलग्न भएको कुनै पनि फर्म/ कम्पनी/ उद्योग समेतले लिएको कर्जा समेतमा तथा धनी कम्पनीबाट प्राप्त हुने अन्य सम्पूर्ण ऋण सुविधाहरुको सुरक्षण समेतका लागि ।
५. करारका शर्तहरुको स्पष्टता पछि अब देहायका प्रश्नहरुको निरोपण गरी पुनरावेदन अदालत पाटनबाट भएको फैसला मिले नमिलेको के रहेछ भन्ने सम्बन्धमा विचार गर्नुपर्ने देखिन्छः
१. प्रस्तुत मुद्दाको तथ्यबाट प्रतिवादी रामनरेश सिंह प्रोप्राइटर रहेको फ्रेण्डस बिल्डर्समा अर्का प्रतिवादी आधार ट्रेडर्सका प्रो. शरदराम भण्डारीको संलग्नता देखिन्छ वा देखिँदैन ?
२. यदि देखिँदैन भने आधार ट्रेडर्सका प्रो. शरदराम भण्डारीका लागि करार लिखतका आधारमा अर्को पक्षले सुरक्षण वापत धितो दिएको जग्गा करारको पक्ष नै नभएको र निज शरदराम भण्डारीको संलग्नता समेत नरहेको फ्रेण्डस बिल्डर्सका प्रो. रामनरेश सिंहका लागि पुनः सुरक्षण दिन मिल्छ वा मिल्दैन ?
३. धितो राखिएको वादीको जग्गा फुकुवा हुनुपर्ने हो वा होइन ?
६. प्रस्तुत मुद्दामा वादीसँगको करारका आधारमा धितो बन्धक राखिएको जग्गालाई प्रतिवादी शरदराम भण्डारीले अर्का प्रतिवादी रामनरेश सिंहका लागि पुनः सुरक्षण स्वरुप राखिएको अवस्था हुँदा यी दुई प्रतिवादीहरुका बीचको व्यावसायीक सम्बन्धको विषय पनि महत्वपूर्ण हुन आउँछ । तसर्थ प्रथमतः प्रतिवादी रामनरेश सिंह प्रोप्राइटर रहेको फ्रेण्डस बिल्डर्समा अर्का प्रतिवादी आधार ट्रेडर्सका प्रो. शरदराम भण्डारीको संलग्नता देखिन्छ वा देखिँदैन ? भन्ने प्रश्नको निरोपण पछि मात्र करारका शर्तहरु र त्यसले सिर्जना गर्ने दायित्वको विषयमा विवेचना गरिनु सान्दर्भिक हुन आउँछ । मिति २०५४।१०।२९ को करारको लिखतलाई आधार मान्दा प्रतिवादी मध्येका शरदराम भण्डारी करारको एउटा पक्ष रहेको कुरामा विवाद छैन । तर अर्का प्रतिवादी फ्रेण्डस बिल्डर्सका प्रो. रामनरेश सिंह उक्त करारको पक्ष रहेको भन्ने कुरा कहिँ कतैबाट खुल्दैन । त्यसैगरी वादीले उनाउ व्यक्तिको संज्ञा दिइएको निज रामनरेश सिंहलाई आफूसमेत संलग्न रहेको फर्म वा कम्पनीमा आबद्ध व्यक्ति हुन् भनी प्रतिवादी शरदराम भण्डारीले कहिँ कतै जिकीर लिन सकेका छैनन् । प्रतिउत्तरसाथ पेश हुन आएको लुम्बिनी फाइनान्सका कार्यकारिणी निर्देशकलाई संवोधन गरी लेखिएको पत्रमा आधार ट्रेडर्सका प्रो. शरदराम भण्डारी र फ्रेण्डस बिल्डर्सका प्रो. रामनरेश सिंहको संयुक्त दस्तखत रहेको र पत्रको व्यहोरामा दुबैजना मध्ये कसैको नाममा ठेक्का भएमा त्यसको घाटा नाफा दुबैले बराबर बेहोर्ने भन्ने व्यहोरासम्म उल्लेख भएको पाइन्छ । तर सो पत्रमा मिति समेत स्पष्ट छैन भने आधार ट्रेडर्स र फ्रेण्डस बिल्डर्सबीच कहिले के कस्तो शर्तमा संझौता सम्पन्न भएको हो ? भन्ने जस्ता आधारभूत कुराहरु समेत उल्लेख गरिएको छैन । त्यस्तो अस्पष्ट र अधुरो पत्रले दुईसंस्थाबीचको साझेदारी वा सझौता वा संलग्नता स्थापित गर्न सक्ने अवस्था छैन । करार लिखतले सिर्जना गर्ने असिमित दायित्वको आधारमा आफ्ना लागि धितो बन्धक राखिएको जग्गा फ्रेण्डस बिल्डर्सका प्रो.रामनरेश सिंहका लागि पुनः सुरक्षण स्वरुप प्रदान गरिएको भनी लिइएको प्रतिउत्तर जिकीरबाट पनि दुई संस्थाबीचको संलग्नताको विषयलाई कत्ति पनि महत्व नदिईएको अवस्था दर्शाउँछ । यसरी करारको पक्ष रहेका प्रतिवादी स्वयंले नै निज रामनरेश सिंहसँगको व्यावसायीक संलग्नता देखाउन र पुष्टी गर्न नसकेको अवस्थामा अदालतले त्यस्तो संलग्नताको अनुमान गर्न मिल्ने अवस्था देखिएन ।
७. यसरी पहिलो प्रश्नबाट प्रतिवादी शरदराम भण्डारीको व्यावसायीक संलग्नता रामनरेश सिंह प्रोप्राइटर रहेको फ्रेण्डस बिल्डर्ससँग नदेखिए पछि अब आधार ट्रेडर्सका प्रो. शरदराम भण्डारीका लागि करार लिखतका आधारमा अर्को पक्षले सुरक्षण वापत धितो दिएको जग्गा करारको पक्ष नै नभएको र निज शरदराम भण्डारीको संलग्नता समेत नरहेको फ्रेण्डस बिल्डर्सका प्रो. रामनरेश सिंहका लागि पुनः सुरक्षण दिन मिल्छ वा मिल्दैन ? भन्ने विषयमा विवेचना गरौं । आधार ट्रेडर्सका प्रो. शरदराम भण्डारीका लागि करार लिखतका आधारमा वादीले सुरक्षण वापत धितो बन्धक दिएको जग्गा करारको पक्ष नै नभएको र निज शरदराम भण्डारीको संलग्नता समेत नरहेको फ्रेण्डस बिल्डर्सका प्रो. रामनरेश सिंहका लागि मिति २०५५।११।२० मा पुनः सुरक्षण दिइएको भन्ने कुरामा विवाद छैन । प्रतिवादीहरुको लिखित जवाफ तथा प्रतिवादी तर्फका कानून व्यावसायीहरुको बहस जिकीरमा मिति २०५४।१०।२९ को करारको लिखतलाई समयाबधि र प्रयोजन समेत निश्चित नगरिएको असिमित दायित्व निहित रहेको करारको संज्ञा दिईएको पाइन्छ । प्रतिवादी शरदराम भण्डारीले अन्य कुनै व्यक्ति/ कम्पनी/ फर्म/उद्योगलाई जमानत दिई उत्पन्न दायित्व र ऋणी आफैं संलग्न भएको कुनै पनि फर्म/कम्पनी/उद्योग समेतले लिएको कर्जा समेतमा तथा धनी कम्पनीबाट प्राप्त हुने अन्य सम्पूर्ण ऋण सुविधाहरुको सुरक्षण समेतका लागि वादी पक्षबाट प्राप्त भएको धितोको जग्गा उपयोग गर्न सक्ने करारको शर्तका आधारमा सो जग्गा फ्रेण्डस बिल्डर्सका प्रो. रामनरेश सिंहका लागि पुनः सुरक्षणमा राखिएको भन्ने नै प्रतिवादीहरुको मुख्य जिकीर रहेको छ । प्रतिवादीहरुद्धारा उद्धृत करारको उल्लिखित अंशलाई हेर्दा धितो बन्धक लिखतमाथि तीनवटा दायित्व निहित रहने देखिन्छः
१. ऋणी अर्थात् आधार ट्रेडर्सका प्रो.शरदराम भण्डारीले अन्य कुनै व्यक्ति/कम्पनी/ फर्म/उद्योगलाई जमानत दिई उत्पन्न दायित्व ।
२. ऋणी आफैं संलग्न भएको कुनै पनि फर्म/कम्पनी/उद्योग समेतले लिएको कर्जाबाट उत्पन्न दायित्व ।
३. धनी कम्पनीबाट ऋणीलाई प्राप्त हुने अन्य सम्पूर्ण ऋण सुविधाहरुको सुरक्षण सम्बन्धी दायित्व ।
८. यसमध्ये पहिलो बुँदाबाट अन्य कुनै व्यक्ति/कम्पनी/फर्म/उद्योगलाई जमानत दिन सक्ने आधार ट्रेडर्सका प्रो.शरदराम भण्डारीको अधिकार सुनिश्चित गर्दै त्यसरी जमानत दिएको कारणबाट सिर्जित दायित्वबाट धितो बन्धक स्वरुप रहेको वादीको जग्गालाई अलग गर्न नसकिने अर्थ निस्कन्छ । अर्थात् शरदराम भण्डारीले अर्को पक्षका लागि जमानत दिएको कारणबाट उत्पन्न हुने दायित्व वहनका लागि धितो बन्धकमा रहेको जग्गाको उपयोग गर्न सम्म सकिने देखिन्छ । तर त्यसको अर्थ धितो बन्धक लेखिएको वादीको जग्गा नै अर्को पक्षलाई सुरक्षण स्वरुप लेखाउन मिल्ने भन्ने त्यसको आशय देखिँदैन, त्यसो गर्ने अनुमति करारको लिखतले दिँदैन । त्यसैगरी दोस्रो बुँदाले ऋणी आफैं संलग्न भएको कुनै पनि फर्म/कम्पनी/उद्योग समेतले लिएको कर्जाबाट उत्पन्न दायित्वलाई ईंगित गरेको छ, तर फ्रेण्डस बिल्डर्समा प्रतिवादी शरदराम भण्डारीको संलग्नता छैन भन्ने कुरा माथि गरिएको विश्लेषणबाट नै प्रष्ट भैसकेको अवस्थामा निजको कुनै प्रकारको संलग्नता नरहेको फर्मका लागि धितो बन्धकमा रहेको अर्को पक्षको जग्गालाई प्रयोग गर्न पाउने भन्ने हुँदैन । तेस्रो बुँदालाई हेर्दा त्यसले धनी कम्पनीबाट ऋणीलाई प्राप्त हुने अन्य सम्पूर्ण ऋण सुविधाहरुको सुरक्षणमा धितो बन्धकमा रहेको वादीको जग्गाको उपयोग गर्न सकिने भन्ने अर्थ दिन्छ, तर प्रस्तुत विवादमा त्यस्तो अवस्था पनि विद्यमान छैन।
९. यसरी उल्लिखित तीनै बुँदाहरुले करारको पक्ष नरहेको र प्रतिवादी शरदराम भण्डारीको संलग्नता समेत नरहेको कुनै व्यक्ति/कम्पनी/फर्म/उद्योगका लागि वादीको जग्गा सुरक्षणमा राख्न मिल्ने भन्ने देखिँदैन । करारका ती शर्तहरु प्रतिवादीले जिकीर लिए जस्तो प्रयोजन र समयाबधि समेत निश्चित नरहेको असिमित दायित्व सिर्जना गर्ने खालको करार हो भन्ने देखिँदैन । विधिशास्त्रीय दृष्टिकोणबाट हेर्ने हो भने करार कहिल्यै पनि अनिश्चित हुँदैन, त्यसका निश्चित शर्तहरु हुन्छन्, त्यसको निश्चित प्रयोजन हुन्छ र निश्चित कार्य सम्पन्न भएपछि त्यसको अबधि स्वतः समाप्त हुन्छ । मिति २०५४।१०।२९ को करारले पनि धितो बन्धकमा रहेको वादीको जग्गालाई आधार ट्रेडर्सका प्रो.शरदराम भण्डारी स्वयं वा निजको संलग्नता रहेका कुनै व्यक्ति/कम्पनी/फर्म/ उद्योगबाट हुने कारोबार सिर्जित दायित्वसँग सिमित तुल्याएको हुँदा प्रतिवादीहरु तर्फबाट उपस्थित विद्वान कानून व्यवसायीहरुको बहस जिकीरसँग सहमत हुन सक्ने अवस्था देखिएन ।
१०. अब, माथि निर्धारण गरिएको मध्येको अन्तिम प्रश्न धितो बन्धक राखिएको वादीको जग्गा फुकुवा हुनुपर्ने हो वा होइन ? अर्थात् पुनरावेदन अदालत पाटनको फैसला मिलेको छ वा छैन ? भन्ने तर्फ विचार गरौं । करार ऐन, २०५६ को दफा १७(१) को खण्ड (क) मा ऋण तिर्नुपर्ने वा दायित्व पूरा गर्नुपर्ने व्यक्तिले जमानत दिने व्यक्तिको सहमतिबिना करारमा तात्विक असर पर्ने गरी करारका शर्तहरु हेरफेर गरेमा त्यस्तो हेरफेरपछि हुने कारोबारमा जमानत दिने व्यक्ति आफ्नो दायित्वबाट मुक्त हुनेछ भन्ने कानूनी व्यवस्था रहेको पाइन्छ । प्रस्तुत विवादमा त्यसरी करारका शर्तहरु हेरफेर गरिएको अवस्था नभएतापनि जमानत दिने व्यक्तिको सहमतिबिना करारको पक्ष नै नरहेको उनाउ व्यक्तिलाई सुविधा प्रदान गर्ने र जमानत दिने व्यक्ति माथि दायित्व थोपर्ने गरी करारमा तात्विक असर पर्ने किसिमबाट व्यवहार भएको देखिन्छ । त्यसरी एक प्रयोजनका लागि करारको एक पक्षलाई दिइएको धितो बन्धक अर्को प्रयोजन र करारको पक्ष नै नरहेको तेस्रो पक्षका लागि समेत प्रयोग गर्न दिने गरी जारी भएको मिति २०५५।११।२० को काउण्टर ग्यारेण्टीलाई मिति २०५४।१०।२९ को करार अनुरुपको मान्न सक्ने अवस्था नहुँदा त्यस्तो काउण्टर ग्यारेण्टीको दायित्व यी वादीले व्यहोर्नुपर्ने भनी अर्थ गर्न मिल्ने देखिँदैन । त्यसैगरी करार ऐन, २०५६ को दफा ३६(१) मा करारमा अन्यथा व्यवस्था भएकोमा बाहेक जुन ऋणको लागि धितो राखिएको हो सो ऋण चुक्ता भएपछि वा जुन कामको लागि धरौट लिएको हो सो काम सम्पन्न भएपछि त्यस्तो धितो वा धरौट धितो वा धरौट राख्ने व्यक्तिलाई फिर्ता गर्नुपर्नेछ भन्ने कानूनी व्यवस्था रहेको देखिन्छ । उक्त कानूनी व्यवस्थाको रोहमा प्रस्तुत विवादलाई हेर्दा मिति २०५४।१०।२९ मा भएको करारले जिल्ला प्रहरी कार्यालय सर्लाहीको राशन सप्लाई ठेक्काको प्रयोजनका लागि आधार ट्रेडर्सका नाउँमा परफरमेन्स बण्ड काउण्टर ग्यारेण्टी जारी गर्न जमानत स्वरुप यी वादी शायरा बानुका नाउँ दर्ताको कित्ता नं २५० को जग्गा धितो बन्धक राखिएको देखिन्छ । मिति २०५४।१०।२९ मा भएको करारपछि तत्कालै सोही मितिमा करारको एक पक्ष लुम्बिनी फाइनान्सले कृषि विकास बैंकको रत्नपार्क शाखालाई लेखेको पत्र (Re: PFB-LF-0023/54) र सोही पत्रलाई उद्धृत गरी कृषि विकास बैंकको बैंकिङ कार्यालय रत्नपार्कले लुम्बिनी फाइनान्सलाई सम्बोधन गरी काउण्टर ग्यारेण्टी फुकुवा गरिएको बारेको पत्रले पनि करारको सन्दर्भलाई अरु प्रष्ट्याउँछ । त्यस आधारमा सो करारको सन्दर्भ भनेको प्रतिवादी मध्येको आधार ट्रेडर्सका प्रो. शरदराम भण्डारीले गर्न लागेको ठेक्का कारोबारसँग रहेको स्पष्ट नै छ । त्यसरी राशन सप्लाई ठेक्काको प्रयोजनका लागि जमानत राखिएको वादीको जग्गा सो ठेक्का बमोजिमको कार्य सम्पन्न भै त्यस बमोजिमको काउण्टर ग्यारेण्टी फुकुवा भैसकेपछि करारको प्रयोजन पनि स्वतः समाप्त हुने भन्ने नै देखिन्छ । जुन प्रयोजनको लागि जमानत दिइएको हो सो प्रयोजन समाप्त भै सकी त्यसका लागि राखिएको काउण्टर ग्यारेण्टी समेत फुकुवा भैसकेको तथ्य स्थापित भएपछि धितो बन्धकमा राखिएको यी वादी शायरा बानुको जग्गा फुकुवा नहुने भनी धितो बन्धकलाई अनन्तकालसम्म कायम राख्ने गरी धितो फुकुवाको विषय धितो बन्धक लेखिदिने पक्षको अधिनमा नभै ऋणीको एकतर्फी अधिनको विषय बनाउन कानूनतः मिल्ने देखिएन । जहाँसम्म करार भनेको व्यक्तिहरुबीचको निजी कानून (Personal Law) भएकाले त्यसमा करारका शर्त नै कानूनका रुपमा रहेका हुन्छन् भन्ने बहस जिकीरको सन्दर्भ छ, निजी कानून भन्दैमा जस्तोसुकै करार गर्न पाइने, करारको लाभ करारको पक्ष नै नरहेको व्यक्तिले समेत उपभोग गर्न पाउने तर त्यसको दायित्व भने एकपक्षले वहन गर्नुपर्ने, करार बमोजिमको कार्य सम्पन्न भएपछि पनि करारले असिमित दायित्व सिर्जना गरेको भन्दै अनन्तकालसम्म दायित्वबाट मुक्त हुन नपाउने अवस्था सिर्जना गर्ने जस्ता कार्यलाई पनि न्यायिक परीक्षणको विषय नबनाउने भन्ने हुँदैन । निजी कानूनको विषय भनी करार सम्बन्धी विषयलाई व्यवस्थित र नियमित गर्न बनेको कानूनी व्यवस्था भन्दा पृथक रहेर करारलाई आफूखुशी व्याख्या गर्ने भन्ने पनि हुँदैन ।
११. तसर्थ माथि गरिएको विश्लेषण तथा यी वादी प्रतिवादीबीच मिति २०५४।१०।२९ मा सम्पन्न भएको करारले निश्चित गरेका शर्तहरु, करारको सर्वमान्य सिद्धान्त र करार ऐन, २०५६ को दफा १७ एवं दफा ३६ समेतका आधारमा धितो बन्धक फुकुवा गर्न नमिल्ने भनी भएको पुनरावेदन अदालत पाटनको फैसला मिलेको नदेखिँदा उल्टी हुने र वादी दावी बमोजिम धितो बन्धक फुकुवा हुने ठहर्याएको शुरु काठमाडौं जिल्ला अदालतको फैसला सदर हुने ठहर्छ । अरुमा तपसिल बमोजिम गर्नु ।
तपसिल
माथि ठहर खण्डमा लेखिए बमोजिम पुनरावेदन अदालतको फैसला उल्टी भै वादी दावी बमोजिम धितो बन्धक फुकुवा हुने ठहरेको सन्दर्भमा वादीले फिराद दायर गर्दा राखेको कोर्ट फि रु.१००।– र यस अदालतमा पुनरावेदन गर्दा राखेको कोर्ट फि रु.१५।– समेत प्रतिवादीबाट भराई पाउने हुँदा कानून बमोजिम वादीको दरखास्त परे केही दस्तुर नलिई प्रतिवादीहरुबाट भराई दिनु भनी शुरु काठमाडौं जिल्ला अदालतमा लेखी पठाईदिनु .......... १
माथि ठहर खण्डमा लेखिए बमोजिम धितो बन्धक फुकुवा हुने ठहरेकोले धितो रहेको काठमाडौं जिल्ला, टंकेश्वर गा.वि.स. वडा नं.६ स्थित वादीको कित्ता नं.२५० क्षेत्रफल ०–२–२–० जग्गा फुकुवा गरीदिनु भनी सम्बन्धित कार्यालयमा लेखी पठाउन शुरुमा लगत दिनु ....... २
प्रस्तुत मुद्दाको दायरीको लगत कटृा गरी मिसिल नियमानुसार गरी बुझाईदिनु ...३
उक्त रायमा म सहमत छु ।
न्या.रामप्रसाद श्रेष्ठ
इजलास अधिकृतः उमेश कोइराला
इतिसम्बत् २०६४ साल चैत्र ७ गते रोज ५ शुभम् ....................