शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ६४४८ - भ्रष्टाचार

भाग: ३९ साल: २०५४ महिना: माघ अंक: १०

निर्णय नं. ६४४८       २०५४, ने.का.प.                 अङ्क १०

 

पूर्ण इजलास

माननीय न्यायाधीश श्री गोविन्द बहादुर श्रेष्ठ

माननीय न्यायाधीश श्री नरेन्द्र बहादुर न्यौपाने

माननीय न्यायाधीश श्री टोप बहादुर सिंह

सम्वत् २०५० सालको फौ.पु.इ.नं. ... २६, २७

फैसला मितिः २०५४।७।२८।५

 

मुद्दाः भ्रष्टाचार ।

 

पुनरावेदक/प्रतिवादीः का.जि.का.न.पा. वडा नं. १४ वस्ने विष्णु प्रसाद पराजुली समेत जम्मा २ ।

विरुद्ध

प्रत्यर्थी/वादीः श्री ५ को सरकार

 

§  भ्रष्टाचारको कसुर प्रमाणित हुनको लागि मनसाय तत्वको साथै वदनियतपूर्ण कृयाबाट कार्य कारण भएको भन्ने प्रष्ट रुपमा देखिनु पर्ने हुन्छ । यी तत्वको अभावमा भएका कृयालाई हानि नोक्सानीको आधारबाट मात्रै भ्रष्टाचार गरेको भनी ठहर गर्नु न्यायिक दृष्टिकोणले उपयुक्त हुने देखिंदैन । प्रतिवादी विष्णु प्रसाद पराजुली आफू उक्त गोदामको गोदाम किपर रहेकोमा स्वीकार गरेका सामान घटी भएमा पनि सावितै रहे तापनि उक्त सामान राखिएको भौतिक स्थिति समेतबाट सामान हराउन सक्ने र हराएको परिमाण तुरुन्त थाहा नलाग्ने अवस्था पर्न जाने समेत देखिन आउँछ । निज विष्णु प्रसादको उक्त सामानहरुको क्षतिपूर्ति संस्थालाई वुझाउनु तिर्नुमा भने निजको कानूनी र नैतिक दायित्व रहे भएको मान्नु पर्ने हुन आउँछ । नपुग भै घटी भएको सामानको विगो कानून वमोजिम निजबाट असुल गर्न मिल्ने नै देखिन्छ । माथि गरिएको सम्पूर्ण विश्लेषणबाट यी प्रतिवादी विष्णु प्रसाद पराजुलीले वदनियत र मनसायपूर्वक संस्थाको सामान हिनामिना गरी निजलाई फायदा हुने र आफू कार्यरत संस्थालाई गैरकानूनी हानी नोक्सानी हुने कार्य गरेको पुष्टी हुन आएको नदेखिंदा तत्कालिन वागमती विशेष अदालत र तत्कालिन मध्यमान्चल क्षेत्रीय अदालतले निजलाई कसुरदार ठहराई गरेको फैसला उल्टी गरी यी पुनरावेदक प्रतिवादी विष्णु प्रसाद पराजुलीलाई भ्रष्टाचारको आरोपित कसुरबाट सफाइ र उक्त कसुर गर्न संलग्न रहेको सवुद प्रमाणको अभावमा पुनरावेदक प्रतिवादी राम बहादुर थापालाई समेत सफाइ दिने ठहराएको माननीय न्यायाधीश श्री केशव प्रसाद उपाध्यायको राय मनासिव ठहर्ने ।

(प्र.नं. ३२)

 

पुनरावेदक तर्फबाटः विद्वान अधिवक्ता श्री हरि अर्याल

प्रत्यर्थी तर्फबाटः विद्वान अधिवक्ता श्री कुमारराज जोशी

अवलम्वित नजिरः स.अ. निर्णय संग्रह भाग २१, पृ. २९२

 

फैसला

न्या. गोविन्द बहादुर श्रेष्ठः तत्कालीन मध्यमान्चल क्षेत्रीय अदालतको मिति ०४६।८।५ गतेको फैसला उपर उपर्युक्त प्रतिवादीहरुको यस अदालतमा परेको पुनरावेदनमा सुनुवाई हुँदा संयुक्त इजलासका माननीय न्यायाधीशहरुको वीचमा मतैक्य हुन नसकी सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३(१)(क) बमोजिम यस पूर्ण इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको निर्णय सहितको व्यहोरा यस प्रकार छ :

      २.    गोदाम किपर विष्णु प्रसाद पराजुली जिम्मा रहेको उक्त गोदाममा भएको   आर्टिकल नम्वर २२८१ को छाता ६२३ गोटाको मुल्य रु. ६२।ले हुने रु.३८,६२६।आर्टिकल नं. २२८९ नं. को छाता ४७२३ गोटाको बिक्रि मुल्य रु.५०।ले हुने रु. २,३६,१५०।आर्टिकल नं. ९४९ को २२८९ को छाता प्रतिगोटाको विक्रि मुल्य रु.४०।ले ९१,५६०।र खिलौना पि. आई १३६ को ८२७२ गोटाको मुल्य रु.१०।ले हुने रु.८२,७२०।समेत जम्मा रु.४,४९,०५६।मुल्य पर्ने उपरोक्त सामान घटी हुन गै संस्थानलाई हानी पुग्न गएको हुँदा आवश्यक छानवीन गरी कारवाही समेत हुन अनुरोध गरेका छौं भन्ने समेत व्यहोराको नेशनल ट्रेडिङ लिमिटेड केन्द्रिय कार्यालय, प्रशासन व्यवस्था, विभागको मिति २०४०।९।१९।३ को पत्र ।

      ३.    मेरो जिम्मा रहेको उक्त सामान हिनामिना भएपछि सो को जवाफदेही आफै हुने हुँ । सुरक्षागार्डसंग मिली सामान हिनामिना गरेको होइन भन्ने समेत व्यहोराको प्रतिवादी बिष्णु प्रसाद पराजुलीले विशेष प्रहरी विभागमा गरेको वयान ।

      ४.    गोदाम नं. १८ को छाता समेतका सामान हिनामिना हुन गएको देखिएकोले कानूनले जो ठहर्छ भन्ने समेत व्यहोराको विशेष प्रहरी विभागमा प्रतिवादी राम वहादुर थापाले गरेको वयान ।

      ५.    छाता र खिलौना घटी देखिन आएकोले जिन्सि प्रमुखको हैसियतले मेरो दोष कानूनले ठहर्‍याएमा सहन मंजुर छु भन्ने समेत व्यहोराको विशेष प्रहरी विभागमा मोहनमान श्रेष्ठले गरेको वयान ।

      ६.    गोदामको सांचो दिनभरि गोदाम किपरकै जिम्मा र कार्यालय समयपछि गोदाम व्यवस्थापक र अर्को अधिकृत वुद्धि प्रसाद भट्टराई जिम्मा रहने व्यवस्था भएको थियो । म भन्दा पहिले माधव जंग राणा र पुष्कर प्रसाद व्यवस्थापक थिए । सुरक्षाको व्यवस्था हेड गार्डवाट र गोदामको व्यवस्था गोदाम व्यवस्थापकले गर्दछ भन्ने समेत व्यहोराको श्याम प्रसाद श्रेष्ठले विशेष प्रहरी विभागमा गरेको वयान ।

      ७.    गोदाम किपर विष्णु प्रसाद पराजुलीले गार्ड राम वहादुर थापाको मिलेमतोवाट आफुलाई गैरकानूनी लाभ श्री ५ को सरकरको स्वामित्वमा रहेको संस्था नेशनल ट्रडिंग लिमिटेडलाई गैरकानूनी हानी पुर्‍याई भ्रष्टाचार पूर्ण कार्य गरेका छन् । विष्णु प्रसाद पराजुली उपर भ्र.नि.ऐन २०१७ को दफा १३ अन्तर्गत कारवाही भै हदैसम्म सजाय हुन र दफा २९ वमोजिम विगो रकम रु.४४९०५६।निज बिष्णु प्रसादले यस विभागमा राखेको जेथा जमानीवाट नपुग हुन आए निजको घर धरानवाट नेशनल ट्रेडिंग लिमिटेडलाई भराई दिनु हुन र राम वहादुर थापालाई उक्त ऐनको दफा १६ क बमोजिम सजाय भै हदैसम्म सजाय हुन अनुरोध गरिन्छ भन्ने समेत व्यहोराको आरोपपत्र ।

      ८.    आफ्नु जिम्माको मालसामानहरु अरु व्यक्तिहरुसंग मिली हिनामिना गर्नु पर्ने कारण छैन, पछि खुद गिन्ति गर्दा मालसामानहरु नपुग हुन आएपछि मालसामान नपुगभयो भन्ने कुरा थाहा पाएको हुँ भन्ने समेत व्यहोराको प्रतिवादी विष्णु प्रसाद पराजुलीले वागमती विशेष अदालतमा गरेको  वयान ।

      ९.    मैले गोदाम किपर विष्णु प्रसाद संग मिलोमतो हुने गरी कुनै पनि मालसामान हिनामिना गरेको र हिनामिना गर्नमा मद्दत पुर्‍याएको छैन । आरोपपत्र अनुसार मलाई सजाय हुनु पर्ने होइन भन्ने समेत व्यहोराको प्रतिवादी राम वहादुर थापाले वागमती विशेष अदालतमा गरेको वयान ।

      १०.    गोदामको सांचो कार्यालय प्रमुख श्याम प्रसाद श्रेष्ठको २०३९।११।३० को पत्र अनुसार ०३९।१२।१ देखि मैले र अधिकृत वुद्धि प्रसाद भटृराईले लिई सुरक्षित राखेको  हो । गोदाममा रहेको छाता समेतका सामान क कसले हिना मिना गरेको हो मलाई थाहा छैन भन्ने समेत व्यहोराको मोहनमान श्रेष्ठले बागमती विशेष अदालतमा गरेको  वयान ।

      ११.    मेरो काम विक्रि वितरण गर्नु हो । सो काम पनि त्यहांको प्रचलन अनुसार गरेको छु भन्ने समेत व्यहोराको श्याम प्रसाद श्रेष्ठले बागमती विशेष अदालतमा गरेको वयान ।

      १२.   बिष्णु प्रसादको साक्षी नरहरि थापा समेतको वकपत्र ।

      १३.   प्र.राम वहादुरले भ्रष्टाचार गरे भन्ने कुरा मलाई थाहा छैन निजलाई आरोप किन लगाए भन्न सकिन्न भन्ने समेत व्यहोराको प्रतिवादी राम वहादुर थापाको साक्षी कृष्ण वहादुर खड्का समेतको वकपत्र ।

      सामान नपुग हुनुमा प्रतिवादी विष्णु प्रसाद पराजुली कुन हदसम्म दोषि छन् त भनि हेर्दा आफुले आफ्नु पदको लागी निर्धारित कार्य विवरण वमोजिम वुझी आफ्नु जिम्मामा रहेको सामान समय समयमा रेखदेख गरी नपुग भएको तत्कालै सो को जानकारी सम्वन्धित अधिकृत समेतलाई दिनु पर्ने, जनाउनु पर्नेमा मैले सो सामान खुद गन्ती गर्दाको अवस्थामा मात्र घटी भएको कुरा थाहा पाएको हुँ भनेवाट निज आफ्नु कर्तव्य प्रति सचेष्ट र पूर्णरुपले निष्ठ रहेको देखिएन । तसर्थ दावीको सामान विष्णु प्रसादको लापरवाहीले गर्दा घटी भै नपुग हुन आएको देखिंदा ती सामान लापरवाही गरी भ्रष्टाचार गरेमा नीज प्रतिवादी विष्णु प्रसादलाई भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १३ ले तजविजि सजाय कैद वर्ष १ एक हुने  ठहर्छ । दफा २९ को दावी तर्फ विचार गर्दा गोदाम नं. १८ को झ्यालहरुको अवस्था मर्मत संभारको अभाव र गोदाम जिर्ण भई, सांचो वन्द भएको अवस्थामा पनि छाता र खिलौना जस्ता दावीका सामानहरु हानी नोक्सानी हुन सक्ने स्थिती विद्यमान रहेको मिसिल सामेल रहेको पत्राचार वाट देखिनाले दावीको सामान नोक्सानी हुनमा प्रतिवादी विष्णु प्रसादको लापरवाही भएपनि निजले आफुलाई वा अन्य कसैलाई गैरकानूनी लाभ गरे वा पुर्‍याएको भन्ने प्रमाणित नहुँदा विगो भराउन न्यायोचित नदेखिंदा विगो तर्फ दावी पुग्न सक्दैन । दावीको सामान लापरर्वाही गर्ने समेतको क्रियामा प्रतिवादी राम वहादुर थापाको कुनै संलग्नता रहेको प्रमाण पुग्न सकेको नदेखिएकोले प्रतिवादी राम वहादुर थापाले आरोपित कसुरवाट सफाई पाउने ठहर्छ । अदालतवाट झिकाई तारेखमा रहेका अन्य प्रतिवादीहरुले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा संस्थानलाई हानी पुर्‍याउने कार्यगरी दावीको कसुर गरेको भन्ने प्रमाण पुग्न नआएकोले तारेखमा राखिएकै कारणवाट निजहरुलाई कसुरदार ठहर्‍याउन नमिल्ने हुँदा निजहरुले सफाई पाउने ठहर्छ भन्ने समेत व्यहोराको मिति २०४४।११।२६।४ को बागमती विशेष अदालतको फैसला ।

      १४.   ने.ट्रे.ली.को व्यवस्थापनले गोदाम नं. १८ को समुचित मर्मत गरी उक्त गोदामलाई सुरक्षित नबनाई दिएको सामानहरु व्यवस्थीत रुपमा राख्ने तर्फ आवश्यक व्यवस्था नमिलाई दिएको यस अवस्थामा ने.ट्रे.लि. व्यवस्थापनकै लापरवाहीको कारणवाट सामानहरु नपुगभएको कुरा प्रमाणवाट देखिंदा देखिंदै र सो कुरा वागमती विशेष अदालतवाट भन्दा भन्दै पनि फेरी उल्टै मेरो लापरवाहीवाट सामान नपुग भएको भनी वा.बि.अ.वाट म जस्तो निम्न स्तरको कर्मचारीलाई कसुरदार ठहर्‍याई मलाई १ बर्ष (एक) कैद गर्ने गरी भएको फैसला कानूनी त्रुटिपूर्ण हुँदा वदर गरी मेरो पुनरावेदन जिकिर वमोजिम इन्साफ गरी पाउं भन्ने समेत व्यहोराको प्रतिवादी विष्णु प्रसाद पराजुलीको तत्कालीन मध्यमान्चल क्षेत्रीय अदालतमा परेको पुनरावेदन ।

       १५.  भ्रष्टाचार निवारण ऐन २०१७ को दफा १३ र दफा २९ बमोजिम माग दावी भएको वादी श्री ५ को सरकार प्रतिवादी नेपाल खाद्य संस्थान उपशाखा कार्यालय वाग्लुङका लेखा सहायक कुल वहादुर क्षेत्रीले भ्रष्टाचार गरेको ठहर्‍याई सर्वोच्च अदालत पूर्ण इजलासवाट २०४३ सालको फौ.पु.नं. १५ को भ्रष्टाचार मुद्दामा निर्णय भएको देखिंदा र प्रस्तुत मुद्दामा पनि सोही माग दावी भएको देखिएकोले प्र. विष्णु प्रसाद पराजुलीलाई भ्रष्टाचार निवारण ऐन २०१७ को दफा १३ बमोजिम कैद वर्ष १ एक गरेको सम्म निर्णय मनासिव ठहर्छ । तर विगोको हकमा वादी दावी वमोजिमको रकमको आधा नीज प्र. विष्णु प्रासदवाट असुल उपर गर्ने र प्रतिवादी राम वहादुर थापा अधिकार प्राप्त अधिकारी समक्ष कसुर गरेमा सावित भै अदालतमा इन्कार भएपनि निजले कसुर गरेको मिसिल संलग्न प्रमाणवाट देखिंदा निजलाई भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १६ क वमोजिम कैद महिना ६ र वादी दावी वमोजिम रकमको आधा विगो असुल गर्नु पर्ने हुँदा वागमती विशेष अदालतको इन्साफमा केही उल्टी हुने ठहर्छ भन्ने समेत व्यहोराको मध्यमान्चल क्षेत्रीय अदालतको मिति २०४६।८।५।२ को फैसला।

      १६.    भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १३ बमोजिम सजाय हुन जालसाज लापरवाही वा वदनियत गरेको हुनुपर्नेमा खुद माल गन्ती गर्दा नपुग भएको अवस्थामा उक्त १३ नं. लगाउन मिल्ने होइन मैले काम गरेको १८ नं. गोदाम निकै पुरानो र जिर्ण भै सकेको कुरा कार्यालय प्रमुख श्याम प्रसाद श्रेष्ठको वयानवाट पनि प्रमाणित भै सकेवाट मेरो लापरवाहीवाट उक्त हानी नोक्सानी हुन नगएको र गोदामको पश्चिम झ्यालवाट सामान झिकी नयां वजार वस्ने रायमाझीको पसलमा लगि दिंदै गरेको त्यसवाट प्राप्त भएको  रकम मध्ये कृष्ण वहादुर खत्रीवाट २०००।आफुले पाएको कुरा प्र. राम वहादुर थापाले साविती वयान गरेवाट मैले उक्त छाता र खिलौना नपुग हुने वदनियत पूर्ण कार्य नगरेको र मेरो लापरवाहीवाट हानी नोक्सानी नभएको कुरा अदालतवाट समेत स्विकारी सकेको प्रष्ट हुँदा हुँदै पनि आकृष्ट हुनै नसक्ने वादी श्री ५ को सरकार प्रतिवादी कुल वहादुर खत्री भएको सम्वत २०४३ सालको फौ.पु.नं. १५ को भ्रष्टाचार मुद्दामा सर्वोच्च अदालत पूर्ण इजलासवाट मिति ०४४।१०।१२ मा प्र. कुल वहादुर खत्रीले भ्रष्टाचार गरेको ठहर्‍याएको नजीर लगाई गरेको बागमती बिशेष अदालत एवं मध्यमान्चल क्षेत्रीय अदालतवाट भएको गैरकानूनी फैसला उल्टी गरी दावीवाट सफाई पाउं भन्ने समेत व्यहोराको प्रतिवादी बिष्णु प्रसाद पराजुलीको यस अदालतमा परेको पुनरावेदन ।

      १७.   डण्डी तोडी झ्याल फोरी चोरी गरे गराएको छैन मैले चोरी गरेको भए मौकैमा पोल उजुर कर्वाही चलाउनु पर्नेमा त्यस्तो केही कार्यवाही भएको वादीले प्रमाणित गर्न सकेको छैन । प्रहरीमा डर,त्रास र धम्कीव्दारा गराइएको वयान मेरो स्वेच्छाको वयान होइन मैले कसुर गरेको कुरा कुनै स्वतन्त्र प्रमाणवाट पुष्टि गर्न सकेको  पाईदैन । गोदाम किपरले मसंग समेत मिलेमतो छैन भनी वयान समेत गरेका छन् । तलावन्दी गोदाम घरको वाहिरवाट मात्र राती सुरक्षा गर्ने गार्ड भएकोले उक्त कसुरमा मेरो सहभागीताको कुनै आधार प्रमाण समेत नभएको र वादीले म उपर भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा २९ को दावी नलिई उक्त ऐनको दफा १६ क वमोजिम मतियारलाई हुने सजायको मात्र दावी लिएकोमा म वाट समेत आधा विगो भराउने गरी वादी दावी भन्दा वाहिर गै गरिएको मध्यमान्चल क्षेत्रीय अदालतको फैसला वदर गरी शुरु वागमती विशेष अदालतको फैसला सदर गरी अभियोगवाट सफाई पाउं भन्ने समेत व्यहोराको राम वहादुर थापाको यस अदालतमा परेको पुनरावेदन ।

      १८.   प्र. विष्णु प्रसादलाई भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १३ वमोजिम कैद वर्ष एक ज्ञ गरेको बागमती विशेष अदालतको फैसलालाई सदर गरी आधा विगो असुल गर्ने गरेको म.क्षे.अ. को ईन्साफ फरक पर्न जाने देखिंदा अ.वं. २०२ नं. वमोजिम बिपक्षी श्री ५ को सरकार वि.प्र.वि. लाई सूचना दिई पेश गर्नु भन्ने समेत व्यहोराको मिति २०४९।८।३ को यस अदालत संयुक्त इजलासको आदेश ।

      १९.    राम वहादुर थापाले विशेष प्रहरी विभागमा गोदामको पश्चिम झ्यालवाट सामान झिकी नयां वजार वस्ने राममाझीको पसलमा लगी दिंदै गरेको भन्ने उल्लेख गरेको पाइन्छ । सो कथनलाई विशेष अदालतमा वयान गर्दा इन्कार गरेको पाइए पनि अनुसन्धानको क्रममा तथ्य् पत्ता लगाउने तर्फ विशेष प्रहरी विभागवाट कुनै सक्रियता देखाएको पाइएन । गोदाम किपर विष्णु प्रसाद पराजुली भएको र निजको जिम्मामा सामान रहेकोले निज उपर नै भौतिक परीक्षणवाट घटी हुन गएको सामान भ्रष्टाचार गरेको भनी आरोप लगाएको देखिन्छ । १० को अघि ५ बजेपछि गोदाम नेपाल वैंक कार्यालय र गार्डको हातमा रहने कुरा मिसिलवाट निर्विवाद रुपमा स्थापित भै रहेको छ । गोदाममा भएको मालसामान नपुग भएको तथ्य्लाई गोदाम किपर विष्णु प्रसादले स्वीकार गरेको पाइन्छ । यसवाट निजको वदनियत छ भन्न सक्ने अवस्था प्रमाणीत हुँदैन । हजारौ थान छाता र खिलौना दिनको उज्यालोमा लिए लगे हिनामिना गरेको भनि ठहर्‍याउन तथ्य् विवेक र न्यायले दिंदैन अभियुक्तहरुले सोसामान लगि हिनामिना गरेको भन्ने कुरा मिसिलवाट संकारहित रुपवाट प्रमाणित भएको पाइदैन । प्रतिवादीहरुले आरोपित कसुरवाट सफाई पाउने ठहर्छ । वागमती विशेष अदालतको फैसलालाई सदर गर्ने गरी गरेको म.क्षे.अदालतको फैसला गल्ती भै उल्टी हुन्छ । वागमती विशेष अदालत र मध्यमान्चल क्षेत्रीय अदालतको फैसलाले कायम गरेको लगत कट्टा गरीदिनु माननीय न्यायाधीश श्री कृष्ण कुमार वर्मा संग राय नमिलेकोले सर्वोच्च अदालत नियमावली २०४९ को नियम ३(१)(क) बमोजिम पूर्ण इजलाश समक्ष पेश गर्नु भन्ने समेत व्यहोराको माननीय न्यायाधीश श्री केशव प्रसाद उपाध्यायको राय ।

      २०.   प्रतिवादी विष्णु प्रसाद पराजुली नेशनल ट्रेडिंग लि. को १८ नं. गोदाममा कार्यरत स्टोर किपर भएको र निजले इन्ट्री किताव वमोजिमका सामानहरु आफ्नो जिम्मामा रहेको र इन्ट्रि गरेकोमा सावित रहेको पाइन्छ । नीजले इन्ट्री कितावमा कुनै आशंका जनाएको पनि पाइदैन । यसरी इन्ट्री कितावमा लेखिए वमोजिम आफ्नो जिम्मामा रहेको मालसामान हिनामिना भएकोमा यथा समयमा नीजले त्यस कुराको जानकारी समेत कतै गरेको समेत मिसिलवाट नपाइएको हुँदा निजको लापरवाही वा वदनियत नभएको भन्न मिल्ने देखिदैन ।

      २१.   स्टोर किपर भै कार्यालय समयको पुरै समय अर्थात १० बजेदेखि ५ बजे सम्म गोदाममा रहने व्यक्तिले कुन सामान कस्तो अवस्थामा छ, सम्पूर्ण सामानहरु दुरुस्त छ, छैन निरीक्षण गर्नु पर्ने दायित्व वोकेको कर्मचारीले आफ्नो जिम्माको सामान नपुग भएकोमा सावित भै स्वीकारी वसेको पाइन्छ । यस्तो अवस्थामा आफ्नो जिम्माको सामान नपुग भै हानी हुन गएकोमा निजको वदनियत नरहेको भन्न मिल्ने देखिएन । प्र.विष्णु प्रसाद पराजुलीलाई भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १३ वमोजिम १ एक वर्ष कैद वादी दावी वमोजिमको रकमको आधा विगो रु. २२४५२८।को लगत कसि असुल उपर गर्ने ठहराएको मध्यमान्चल क्षेत्रीय अदालतको इन्साफ मनासिव ठहर्छ । प्रतिवादी राम वहादुर थापा अधिकार प्राप्त अधिकारी समक्ष कसुर गरेमा सावित भै अदालतमा इन्कारी भएपनि निजले कसुर गरेको मिसिल संलग्न प्रमाणवाट देखिंदा निजलाई भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १६ क वमोजिम कैद महिना ६(छ) र वादी दावी वमोजिम रकमको आधा असुल उपर गर्ने गराउने म.क्षे.अदालतको इन्साफ मनासिव ठहर्छ । यसमा प्रतिवादीहरुको पुनरावेदन जिकिर पुग्न सक्दैन । पुनरावेदन गरे वापत अ.वं. २०३ नं. ले दोश्रो पुनरावेदन गरे वापत प्र.विष्णु प्रसाद पराजुलीलाई १(एक) वर्षको सयकडा ५५ ले १८ दिन र प्र. राम वहादुर थापालाई ६(६) महिनाको सयकडा ५ ले ९ नौ दिन थप कैद हुन्छ । सहयोगी माननीय न्यायाधीश श्री केशव प्रसाद उपाध्यायको रायसंग सहमत हुन नसकेकोले सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३(१)(क) बमोजिम पूर्ण इजलास समक्ष पेश गर्नु भन्ने समेत व्यहोराको माननीय न्यायाधीश श्री कृष्ण कुमार वर्माको राय सहितको ०५०।२।११।१ को फैसला ।

      २२.   नियमानुसार यस इजलास समक्ष पेश भएको प्रस्तुत मुद्दामा पुनरावेदन सहितको मिसिल अध्ययन गरि पुनरावेदक प्रतिवादी विष्णु प्रसाद पराजुलीको तर्फवाट रहनु भएका विव्दान अधिवक्ता श्री श्रीहरि अर्यालले प्रतिवादी विष्णु प्रसाद पराजुली स्टोरकिपर पदमा कार्यरत रहेको भए पनि सामान असंख्य रहेकोले के  कति घट वढ भयो समयमा थाहा पाउन सक्ने अवस्था नरहेको, भ्रष्टाचार गरेको ठहर हुनको लागी वदनियत तत्व आवश्यक रहने हुन्छ, प्रतिवादी विष्णु प्रसाद पराजुलीको के कुन कार्यवाट निजमा वदनियत रहेको थियो भन्ने कुरा आरोपपत्र र भएको फैसलाहरुले समेत पुष्टी गरेको छैन, लापरवाही सम्म रहेको भन्न सकिने अवस्था भएपनि लापरवाहीबाट भएको कार्यवाट भ्रष्टाचार ठहर गर्न मिल्ने होइन, मध्यमान्चल क्षेत्रीय अदालतको फैसलामा उल्लेख भएको नजीरको तथ्य् र प्रस्तुत मुद्दाको नजीरको तथ्य फरक हुँदा प्रतिवादी विष्णु प्रसादलाई सफाई दिने ठहर गरी व्यक्त गरेको माननीय न्यायाधीश श्री केशव प्रसाद उपाध्यायको राय सदर हुनुपर्दछ भन्ने समेत व्यहोराको प्रस्तुत गर्नु भएको वहस समेत सुनियो । पुनरावेदक प्रतिवादी राम वहादुर थापाको तर्फवाट रहनु भएका विद्धान अधिवक्ता श्री कुमारराज जोशीले प्रतिवादी राम वहादुर थापा कसुर गरेमा इन्कार रहेको, आरोप पत्रमा निज उपर दावी समेत नभएको हुँदा माननीय न्यायाधीश श्री केशव प्रसाद उपाध्यायको राय सदर हुनुपर्दछ भन्ने समेत व्यहोराको तथा बिपक्षी श्री ५ को सरकारको तर्फवट उपस्थित विद्धान सरकारी अधिवक्ता श्री सत्य नारायण प्रजापतीले प्रतिवादी विष्णु प्रसाद पराजुली स्टोर किपर हुन् भन्नेमा विवाद नरहेको, स्टोरको ढोका विग्रेको गाह्रो भत्केको भन्ने कुरा व्यवस्थापन समक्ष निजले जाहेर गरेको नपाइएको सामान घटेको कुरा स्वीकार गरेको प्रतिवादी राम वहादुर थापाको वयान समेतवाट निजहरुले आरोपित कसुर गरेको प्रमाणित भई रहेको हुँदा कसुरदार ठहर गरेको माननीय न्यायाधीश श्री कृष्ण कुमार वर्माको राय सदर हुनुपर्दछ भन्ने समेत व्यहोराको प्रस्तुत गर्नु भएको वहस जिकिर समेत सुनियो ।

      २३.   आज निर्णय सुनाउन तारेख तोकिएको प्रस्तुत मुद्दाको मिसिल कागजात तथा पुनरावेदक प्रतिवादी विष्णु प्रसाद पराजुलीको तर्फवाट विद्धान अधिवक्ता श्री श्रीहरि अर्यालले प्रस्तुत गर्नु भएको वहस नोट समेत अध्ययन गरी हेर्दा गोदाम किपर विष्णु प्रसादको वदनियत छ भन्न सक्ने अवस्था प्रमाणित नभएको, अभियुक्तहरुले सो सामान लगी हिनामिना गरेको भन्ने कुरा मिसिलवाट संकारहित रुपवाट प्रमाणित भएको पाईदैन, प्रतिवादीहरुले आरोपित कसुरवाट सफाई पाउने ठहर्छ । बागमती विशेष अदालतको फैसला सदर गर्ने गरेको मध्यमान्चल क्षेत्रीय अदालतको फैसला गल्ती भै उल्टी हुन्छ भन्ने माननीय न्यायाधीश श्री केशव प्रसाद उपाध्यायको राय र आफ्नो जिम्मामा रहेको मालसामान हिनामिना भएकोमा यथासमयमा निजले त्यस कुराको जानकारी समेत कतै गरेको मिसिलवाट नपाइएको हुँदा निजको लापरवाही वा वदनियत नभएको भन्न मिल्ने देखिंदैन, प्रतिवादी विष्णु प्रसाद पराजुलीलाई भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १३ बमोजिम र प्रतिवादी राम वहादुर थापा अधिकार प्राप्त अधिकारी समक्ष कसुर गरेमा सावित भै अदालतमा इन्कारी भए पनि निजले कसुर गरेको मिसिल संलग्न प्रमाणबाट देखिंदा निजलाई भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १६ क. वमोजिम दावी वमोजिमको आधा असूल उपर गर्ने गरेको मध्यमान्चल क्षेत्रीय अदालतको फैसला मनासीव ठहर्छ भन्ने समेत व्यहोराको माननीय न्यायाधीश श्री कृष्ण कुमार वर्माको राय भै संयुक्त इजलासका माननीय न्यायाधीश वीच मतैक्य हुन नसकी सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३(१)(क) बमोजिम यस पूर्ण इजलासमा प्रस्तुत मुद्दा पेश हुन आएको देखिन्छ ।

      २४.   उपर्युक्तानुसार पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादीहरुलाई कसुरदार करार गरेको तत्कालीन मध्यमान्चल क्षेत्रीय अदालतको फैसला मिले नमिलेको के रहेछ ? संयुक्त इजलासको माननीय न्यायाधीशहरु को कुन राय समर्थन (सदर) हुने हो त्यस तर्फ निर्णय दिनुपर्ने देखिन आयो ।

      २५.   निर्णय तर्फ बिचार गर्दा प्रतिवादी विष्णु प्रसाद पराजुली उपर भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १३ अन्तर्गत कारवाइ भै हदैसम्म सजाय हुन र दफा २९ वमोजिम विगो रकम रु. ४,४९,०५६।नेशनल टेडिंग लिमिटेडलाई भराई दिनु को साथै राम वहादुर थापालाई उक्त ऐनको दफा १६ क बमोजिमको सजाय को मांग गरी निजहरु उपर आरोपपत्र परेको देखिन्छ । भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १३ मा कुनै राष्ट्र सेवकले आफ्नो ओहदाको वा सो सम्वन्धी काम कुरा गर्दा राष्ट्रिय वा सार्वजनिक सम्पत्ति वा आफ्नो जिम्मा वा नियन्त्रणमा रहेको राष्ट्रको वा श्री ५ वा श्री ५ को सरकारको वा सरकारी मान्यता प्राप्त कुनै संस्थाको चल अचल सम्पत्ति लापरवाही वदनियत वा जालसाजी गरी हिनामिना, हानी नोक्सानी वा दुरुपयोग गरे गराएमा वा मासेमा वा निजी प्रयोगमा लगाएमा वा त्यस्तो गर्ने गराउने प्रयत्न गरेमा निजलाई कसुरको मात्रा अनुसार एक वर्ष देखि पांच वर्ष सम्म कैद वा जरिवाना वा दुवै सजाय हुनेछ भन्ने उल्लेख गरेको पाइन्छ । सोही ऐनको दफा १६ क. मा यस परिच्छेद अन्तर्गत सजाय हुने कुनै कसुरको मतियारलाई त्यस्तो कसुर गर्ने व्यक्तिलाई हुने सजायको आधा सजाय हुने छ भन्ने व्यवस्था रहेको देखिन्छ ।

      २६.   उपर्युक्त आरोप पत्र र ऐनमा भएको व्यवस्था अनुरुप नेशनल ट्रेडिङ लिमिटेडको गोदाम नं. १८ मा रहेको छाता समेतका जिन्सी सामान घटी र नपुग देखिएको भन्ने आधारमा सो गोदाममा कार्यरत स्टोर किपर यी प्रतिवादी विष्णु प्रसाद पराजुली तथा सुरक्षा गार्ड प्रतिवादी राम वहादुर थापालाई क्रमशः भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १३ र १६ क. वमोजिम कसुर गरेको ठहर्‍याई तत्कालीन मध्यमान्चल क्षेत्रीय अदालतले दावी वमोजिम निजहरुलाई सजाय गरेको देखिन आउंछ । मध्यमान्चल क्षेत्रीय अदालतले फैसला गर्दा वादी श्री ५ को सरकार विरुद्ध प्रतिवादी कूल वहादुर क्षेत्री भएको भ्रष्टाचार मुद्दा सर्वोच्च अदालत फूलवेन्चबाट ०४४।१०।१२।३ मा प्रतिवादी कूल वहादुर क्षेत्रीले भ्रष्टाचार गरेको ठहर्‍याई फैसला भएको प्रस्तुत मुद्दामा सोही अनुरुप भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १३ र दफा २९ वमोजिम माग  दावी भएको देखिएकोले र प्र.बिष्णु प्रसाद राष्ट् सेवक भएको र निजको जिम्माको सामान हिनामिना भएको भन्ने र प्रतिवादी राम वहादुर थापा अधिकार प्राप्त अधिकारी समक्ष कसुर गरेमा सावीत भै अदालतमा इन्कार रहेपनि कसुर गरेको देखिंदा भन्ने आधारमा कसुर ठहर गरेको देखिन्छ ।

      २७.   पुनरावेदक प्रतिवादी विष्णु प्रसाद पराजुलीले अधिकार प्राप्त अधिकारी समक्ष वयान गर्दा गोदाम किपरको हैसियतले गोदाममा नपुग सामान मेरै जिम्माको देखिन्छ, र कानूनले मलाई नै दोषी ठहराएमा कानून वमोजिम सहन वुझाउन मन्जुर छु, कस कसको कार्यवाट घटेका सामानहरु नपुग भएको हो अनुसन्धान र दोषी पत्ता लागेपछि कानून वमोजिम सहुँला वुझाउंला के कस्तो प्रकृयावाट हिनामिना हुन गएको भन्न सक्दिन भनी वयान गरेको देखिन्छ । वागमती विशेष अदालत समक्षको वयानमा पनि आफू गोदाम किपर रहेको र दिनको १० वजे देखि ५ बजे सम्म मात्र आाफ्नो जिम्मामा उक्तगोदाम रहने भन्ने कुरा स्वीकार गरेको देखिन्छ ।

      २८.   यस परिप्रेक्ष्यमा निज प्रतिवादी विष्णु प्रसाद पराजुलीले आरोपित अभियोग वमोजिम भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १३ बमोजिमको कसुर निजले गरेको हो, होइन भन्ने सम्वन्धमा नै निर्णय गर्नुपर्ने देखिन आउंछ ।

      २९.   उल्लेख गरे बमोजिम भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १३ मा भएको व्यवस्था अनुसार  कुनै राष्ट्र सेवक कर्मचारीले संस्थाको चल अचल सम्पत्ति लापरवाही वा वदनियत वा जालसाजी गरी हानी नोक्सानी पुर्‍याएमा भ्रष्टाचार गरेको ठहर्ने तर यी ३ तत्व मध्ये कुनै   एक तत्वको विद्यमानताको अभावमा यस दफा अन्तर्गतको कसुर कायम गर्न मिल्ने देखिंदैन । तत्कालीन मध्यमान्चल क्षेत्रीय अदालतको फैसलाधारमा यी प्रतिवादी विष्णु प्रसाद पराजुलीको जिम्मामा उक्त सामान रहे भएको भन्ने सम्म रहेको देखिन्छ । यी पुनरावेदक प्र. बिष्णु प्रसादको वदनियत पूर्वक, वा जालसाजीको तवरले वा निजको लापरवाही पूर्ण कार्यले उल्लेखित सामान  हिनामिना भै संस्थालाई हानी र निजलाई फाईदा हुने कार्य गरेको भन्ने अवस्था मिसिल संलग्न कागजातको व्यहोरावाट देखिन आउंदैन । प्रस्तुत मुद्दाको अभियोगमा अपराधिक मनसाय विद्यमान छ, वा छैन भन्ने तर्फ पुनरावेदन अदालत मौन रहेको देखिन्छ । तर दुषित अपराधिक मनसायलाई फौज्दारी कसुरको प्रमुख निर्माणतत्वको रुपमा फौज्दारी विधिशास्त्रले लिने गरेको पाइन्छ ।

      ३०.   प्रस्तुत मुद्दाको प्रकृति हेर्दा आ.व. ०३९।०४० को अन्तमा भौतिक परीक्षण गराउंदा छाता र खेलौनाका केही वाकस खाली देखिन आई सामान कम भएको आशंकामा छानवीन गर्न लगाई प्रतिवेदन संचालक समितिमा ०४०।८।१८ मा पेश गरी छलफल पश्चात गोदाम किपर श्री बिष्णु प्रसाद पराजुलीको जिम्मा भएको सबै माल सामान अन्य कर्मचारीलाई सकेसम्म राखी अनुसन्धान गरी दोषी पत्ता लगाउन तत्सम्वन्धी कागजातहरु संलग्न राखी आवश्यक छानवीन गरी कारवाई चलाई दिनु हुन अनुरोध गरेका छौं भन्ने नेशनल ट्रेडिङ लिमिटेडको मिति ०४०।९।१३ को बिशेष प्रहरी विभागलाई प्रेषित पत्र पश्चात प्रस्तुत मुद्दा उठान भएको देखिन्छ ।

      ३१.   उक्त पत्रमा प्रतिवादी बिष्णु प्रसाद पराजुलीकै कार्यकारणवाट निजले जानजान वदनियत वा जालसाजी पूर्वक वा लापरवाही पूर्वक सामान हिनामिना गरी निजलाई फाईदा र संस्थालाई गैर कानूनी हानी नोक्सानी पुर्‍याएको भन्ने उल्लेख भएको पाईदैन । फौज्दारी मुद्दामा अपराध कायम हुनको लागी बदनियतपूर्ण मनसाय सहितको कार्य हुन अनिवार्य हुन्छ । लापरवाहीको अवस्थामा बदनियत मनसायको विद्यमानता रहेको हुन्न । लापरवाहीवाट पनि भ्रष्टाचारको कसुर हुन सक्दछू भनी अर्थ गर्न मिल्ने देखिएन । ( सर्वोच्च अदालत निर्णय संग्रह भाग २१, पृष्ठ २९२) भन्ने सिद्धान्त यस अदालत पूर्ण इजलासवाट प्रतिपादन भएको देखिन आउंछ । उक्त सिद्धान्तमा असहमत हुनुपर्ने अवस्था देखिएन ।

      ३२.   समष्टीगत  रुपमा  विश्लेषण गर्दा भ्रष्टाचारको कसूर प्रमाणित हुनको लागी मनसाय तत्वको साथै वदनियतपूर्ण कृयावाट कार्य कारण भएको भन्ने प्रष्ट रुपमा देखिनु पर्ने  हुन्छ । यी तत्वको अभावमा भएका कृयालाई हानी नोक्सानीको आधारवाट मात्रै भ्रष्टाचार गरेको भनी ठहर गर्नु न्यायिक दृष्टिकोणले उपयुक्त हुने देखिंदैन । प्रतिवादी विष्णु प्रसाद पराजुली आफू उक्त गोदामको गोदाम किपर रहेकोमा स्वीकार गरेको सामान घटी भएमा पनि सावीतै रहे तापनि उक्त सामान राखिएको भौतिक स्थिति समेतबाट सामान हराउन सक्ने र हराएको परिमाण तुरुन्त थाहा नलाग्ने अवस्था पर्न जाने समेत देखिन आउंछ। निज विष्णु प्रसादको उक्त सामानहरुको क्षतिपूर्ति संस्थालाई वुझाउनु तिर्नुमा भने निजको कानूनी र नैतिक दायीत्व रहे भएको मान्नु पर्ने हुन आउंछ । नपुग भै घटी भएको  सामानको विगो कानून वमोजिम निजवाट असूल गर्न मिल्ने नै देखिन्छ । माथी गरिएको संपूर्ण विश्लेषणवाट यी प्रतिवादी विष्णु प्रसाद पराजुलीले वदनियत र मनसाय पूर्वक संस्थाको सामान हिनामिना गरी निजलाई फाईदा हुने र आफू कार्यरत संस्थालाई गैर कानूनी हानी नोक्सानी हुने कार्य गरेको पुष्टी हुन आएको नदेखिंदा तत्कालीन बागमती विशेष अदालत र तत्कालीन मध्यमान्चल क्षेत्रीय अदालतले निजलाई कसुरदार ठहराई गरेको फैसला उल्टी गरी यी पुनरावेदक प्रतिवादी विष्णु प्रसाद पराजुलीलाई भ्रष्टाचारको आरोपित कसुर सफाई र उक्त कसुर गर्न संलग्न रहेको सवुद प्रमणको अभावमा पुनरावेदक प्रतिवादी राम वहादुर थापालाई समेत सफाई दिने ठहराएको माननीय न्यायाधीश श्री केशव प्रसाद उपाध्यायको राय मनासीव ठहर्छ। पुनरावेदक प्रतिवादीहरुले आरोपित कसुरवाट सफाई पाउने ठहर्छ । अरु तपसिल बमोजिम  गर्नु ।

 

तपसील

      पुनरावेदक प्रतिवादी विष्णु प्रसाद पराजुली तथा राम वहादुर थापा के माथी इन्साफ खण्डमा लेखिए वमोजिम निजहरुले आरोपित कसुरवाट सफाई पाउने ठहरेकोले तत्कालीन बागमती विशेष अदालतको फैसलाको तपसिलको देहाय १ र तत्कालीन मध्यमान्चल क्षेत्रीय अदालतको फैसलाको तपसिलको देहाय १ को देहायले कायम गरेको लगत काय राख्नु नपर्ने भएकाले उक्त लगतहरु कटृा गरी दिनु भनी काठमाण्डौ जिल्ला अदालत तहसिल शाखामा लेखी पठाई दिनु ......................     

      माथि इन्साफ खण्डमा लेखिए वमोजिम ठहरेकाले प्रतिवादी विष्णु प्रसाद पराजुलीले विशेष प्रहरी विभागमा जमानी राखेको रोक्का रहेका निजको नाउंको कि.नं. ८२ को जग्गा र सो जग्गामा वनेको घर र तथा श्री श्रीहरि अर्यालको नाउंको कि.नं. ५९५ र ५९२ को जग्गा मालपोत कार्यालय काठमाण्डौको च. नं. ९००७ मिति ०४१।१।२१, च.नं. ६५९ मिति ०४१।१।२२ को पत्रद्धारा रोक्का रहेको देखिएकोले सो जग्गा रोक्का राख्नु पर्ने अवस्था नभएवाट फुकुवा गरी दिनु भनी काठमाण्डौ जिल्ला अदालत तहसिल शाखामा लेखी पठाई दिनु –––––––––           

      पुनरावेदक प्रतिवादी राम वहादुर थापा के माथि इन्साफ खण्डमा लेखिए बमोजिम निजले आरोपित कसुरवाट सफाई पाउने ठहरेकोले तत्कालीन मध्यमान्चल क्षेत्रीय अदालतको फैसलाले ठहर गरेको कैद वापत यस अदालतमा पुनरावेदन गर्दा नगद रु..१३००।यस अदालत मार्फत काठमाण्डौ जिल्ला अदालतमा पत्र संख्या १२४१ मिति ०४७।३।१ को पत्रव्दारा धरौट राखेको देखिंदा उक्त रकम फिर्ता पाउने हुँदा फिर्ता पाउं भनी  कानूनका म्याद भित्र मांग गर्न आएमा निजलाई फिर्ता दिनु भनी काठमाण्डौ जिल्ला अदालतमा लेखी पठाई दिनु ––––––       

      नियमानुसार गरी मिसिल बुझाई दिनु ––––––

 

उपर्युक्त रायमा हामी सहमत छौं ।

 

न्या.नरेन्द्र बहादुर न्यौपाने

न्या.टोप बहादुर सिंह

 

ईति सम्बत् २०५४ साल कार्तिक २८ गते रोज ५ शुभम् 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु