निर्णय नं. ८९५३ - उत्प्रेषण समेत

ने.का.प. २०७०, अङ्क २
निर्णय नं.८९५३
सर्वोच्च अदालत, पूर्ण इजलास
सम्माननीय का.मु.प्रधान न्यायाधीश श्री दामोदरप्रसाद शर्मा
माननीय न्यायाधीश श्री वैद्यनाथ उपाध्याय
माननीय न्यायाधीश श्री ज्ञानेन्द्रबहादुर कार्की
पु.नि.नं.०६७–NF-०००९
आदेश मितिः २०७०।१।५।५
मुद्दा :– उत्प्रेषण समेत ।
निवेदक प्रत्यर्थीः भ.पु.जि.,भ.पु.न.पा.वडा नं.१० बस्ने कृष्णमान बासुकला
विरुद्ध
विपक्षी निवेदकः भ.पु.जि.,भ.पु.न.पा.वडा नं. ६ बस्ने रामकुमार वनमाला
यसअघि निर्णय गर्ने :–
सर्वोच्च अदालत संयुक्त इजलास :–
मा.न्या.श्री मीनबहादुर रायमाझी
मा.न्या.श्री कल्याण श्रेष्ठ
§ मोही हक कानूनबमोजिम मात्र प्राप्त र समाप्त हुने हक हो भन्नेमा विवाद छैन । कुनै पनि व्यक्तिका नाममा कायम भएको मोहीको लगत कट्टा गर्नको लागि भूमि सम्बन्धी ऐन, २०२१ र भूमि सम्बन्धी नियमावली, २०२१ मा निर्दिष्ट अवस्था र आधारहरूको विद्यमानता अपरिहार्यता हुने ।
§ गुठी कार्यालयलाई गुठी जग्गाको प्रशासन र व्यवस्थापन गर्ने अधिकार गुठी संस्थान ऐन, २०३३ ले प्रदान गरेको भएपनि मोहीको हक समाप्त हुने गरी मोही लगत कट्टा गर्ने अधिकार प्रदान नगरेकाले मोही लगत कट्टा गर्ने गरी गुठी संस्थानबाट र सो बमोजिम स्रेस्ता पूर्जा बनाउन लेखी पठाउने गरी गुठी संस्थान शाखा कार्यालयबाट गरिएका निर्णय गैरकानूनी हुने ।
(प्रकरण नं.६)
§ मोहीको हक प्राप्ति र समाप्तिसँग जोडिएका उपरोक्त प्रमाणहरूको विश्लेषण गरी मोहीको विवादमा निर्णय गर्ने अधिकार गुठी संस्थानलाई नभएकोले सम्बन्धित भूमिसुधार कार्यालयबाटै निर्णय निरूपण हुनुपर्ने ।
(प्रकरण नं.८)
निवेदकका तर्फवाटः विद्वान वरिष्ठ अधिवक्ता रामप्रसाद भण्डारी “संभव”
विपक्षी तर्फबाटः विद्वान वरिष्ठ अधिवक्ता वसन्तराम भण्डारी, अधिवक्ता ज्ञानेन्द्रप्रसाद पोखरेल
अवलम्बित नजीरः
सम्बद्ध कानूनः
आदेश
न्या.दामोदरप्रसाद शर्माः न्याय प्रशासन ऐन, २०४८ को दफा ११(१) को देहाय खण्ड (ख) बमोजिम यस अदालत संयुक्त इजलासवाट मिति २०६४।९।२५ मा भएको आदेश पुनरालोकन गरिपाऊँ भनी प्रत्यर्थी कृष्णमान बासुकलाको निवेदन परी यस अदालतवाट मिति २०६७।५।४ मा पुनरालोकनको निस्सा प्रदान भई सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ६(१) बमोजिम यस इजलाससमक्ष पेश हुन आएको प्रस्तुत निवेदनको संक्षिप्त तथ्य र आदेश यस प्रकार छ :–
गुठी लगत तथा अभिलेख शाखा भद्रकाली काठमाडौंमा लगत स्रेस्ता कायम रहेको २ नं. ब्रम्हायणी ल.नं.२३७ मोही भैरवबहादुर बनमाला इनाचो कायम रहेको भक्तपुर नवदुर्गा भवानीको चिराग बाल्ने गुठी संस्थान अधिनस्थ छूट गुठी जग्गा, सर्भे नाप नक्सा हुँदा भक्तपुर जिल्ला भक्तपुर नगरपालिका वडा नं. १(ग) कित्ता नं. १ क्षेत्रफल २–१५–०–० कायम भै भैरवलाल भन्ने भैरवबहादुर बनमालाको बुहारी निवेदकको बज्यै बिकुमायाको नाउँमा मोही जनिएको ।
उक्त जग्गाको खास जोताहा मोही बज्यै विकुमाया र जग्गाधनीमा नवदुर्गा भवानीको चिराग बाल्ने गुठीको रकमी नाइके रतनकुमारको नाम जनिएको छ । गुठी संस्थान ऐन, २०३३ ले रकमी खान्गीवालाको सबै हकाधिकार समाप्त गरी गुठी जग्गामा खास जोताहा मोहीको हक रहने व्यवस्था गरेकोले उल्लिखित जग्गामा बज्यै विकुमायाको एकलौटी मोही हक कायम रहेको प्रष्ट छ ।
गुठी संस्थान ऐन, २०३३ को दफा ४८ अनुसार भूमी सुधार कार्यालयबाट बज्यै विकुमायाले मोहियानी हकको जोताहा अस्थायी निस्सासमेत प्राप्त गरी बज्यैले मोहीको हैसियतले जोत कमोद गरी आएको अवस्था बज्यैको हकको सम्पूर्ण सम्पत्ति मेरो आमा विकुलक्ष्मीलाई मिति २०४२।६।८ मा शेषपछिको बकसपत्र लिखत पारित गरी दिनु भएको छ । बज्यै विकुमायाको मिति २०४२।७।७ मा परलोक भएकोले निजको शेषपछि उल्लिखित जग्गा आमा विकुलक्ष्मी तथा निवेदक समेतले जोतभोग गर्दै आएकोमा विकुलक्ष्मीको पनि मिति २०५२।१०।८ मा परलोक भैसकेको छ । तत्पश्चात् उक्त जग्गा निवेदकले मोहीको हैसियतले जोतकमोद गर्दै आएको छु । विकुमायाले पारित गरी दिएको शेषपछिको बकसपत्र लिखतअनुसार विकुलक्ष्मीका नाउंमा नामसारी गर्नसम्म बाँकी रहेको र आमा विकुलक्ष्मीको पनि मृत्यु भएकोले निवेदकको नाउँमा मोही नामसारी गर्नसम्म बाँकी रहेको जग्गा हो । उल्लिखित जग्गाको रकमी नाईके रतनकुमार हुनुभएकोले नापीमा किसानको व्यहोरामा रतनकुमारको नाम जनिएको हो ।
विकुमायाको शेषपछि आमा विकुलक्ष्मीले कमाई आएको र मोही नामसारी गर्नसम्म बाँकी रहेको उक्त जग्गा विपक्षीमध्येका कृष्णमान वासुकलाले कमाई आएको भन्दै नवदुर्गा चिराग बाल्ने छूट गुठी भद्रकालीका नाउँमा सिफारिश पाऊँ भनी २०४६ सालमा भक्तपुर नगरपञ्चायतमा निवेदन दिएका र सो नगरपालिकाबाट मिति २०४७।९।२८ मा सार्वजनिक सूचना प्रकाशित भई तत्काल विकुलक्ष्मीले लिखित जवाफ दिई तारिखमा बसी आउनु भएकोमा उहाँको मृत्युपछि निवेदकले मुद्दा सकार गरी तारिखमा बसी आएको थिएँ । कृष्णमानले दिएको निवेदन र मिति २०४७।९।१५ को सर्जमिन झूठा हो । जोताहा मोही विकुमायाको मृत्यु अगाडि निजले र निजको मृत्युपश्चात् हकखाने मृतक छोरीले जग्गा जोत कमोद गरी बाली बुझी लिएको भन्ने व्यहोरा उल्लेख गरी उक्त जग्गाको रकमी नाईके रतनकुमार वनमालाले भक्तपुर नगरपालिकामा मिति २०४७।११।१५ मा निवेदन गर्नु भएको छ ।
भक्तपुर नगरपालिकाबाट कारवाहीसम्बन्धी कागजात भक्तपुर गुठी तहसील तथा खर्च कार्यालयमा पठाएपश्चात् सो कार्यालयबाट कारवाही अगाडि बढाई केन्द्रीय कार्यालयको मिति २०५३।१०।१३ को पत्र अनुसार उक्त जग्गाको मोहीको परलोक भै हकदार नभएको अवस्थामा गुठी तैनाथी तर्फ दर्ता गर्नुपर्ने हुन्छ भनी लेखी आएकोले स्रेस्तामा कायम साविक मोहीको लगत कट्टा गरी गुठी संस्थानको नाममा मोही र जग्गाधनी समेत कायम गर्न गुठी संस्थानको आदेश आवश्यक पर्ने भएकोले सो अनुसार लेखी पठाउन आवश्यक निकासको लागि पेश गरेको छु भन्ने टिप्पणी सदर गरिएको रहेछ ।
गुठी संस्थान केन्द्रीय कार्यालयबाट माग भई आएअनुसार मोही महलमा गुठी संस्थान, जग्गाधनीमा गुठी संस्थान श्री नवदुर्गाको चिराग बाल्ने गुठी, शिरमा गुठी तैनाथी जग्गा जनाई नापीको मोही महलमा लेखिएको कटाई जग्गा दर्ता गरी उक्त जग्गा कुनै व्यापारिक प्रयोजनका लागि लिजमा जाने जग्गा हो होइन, नभए खुला लिलाम गरी बिक्री गर्न उपयुक्त हुन्छ हुँदैन सो यकीन खुलाई पूर्जाको प्रतिलिपि साथ पाठाउनु भन्ने मिति २०५९।१२।२० मा निर्णय गरी फाइल गुठी संस्थान शाखा कार्यालय भक्तपुरमा पठाएकोमा सो कार्यालयबाट केन्द्रीय कार्यालयको आदेश बमोजिम मोहीको लगत कट्टा गरी गुठी तैनाथी पूर्जा माग गर्ने भनी मिति २०६०।१।१२ मा निर्णय आदेश भएको कुरा जानकारी भएकोले विपक्षीहरूको उल्लिखित गैरकानूनी काम कारवाही र निर्णय आदेश वदरका लागि निवेदन लिई उपस्थित भएको छु ।
साविकदेखि विकुमायाको नाममा खास जोताहा मोही लगत कायम रहेको गुठी अधिनस्थ जग्गा शेषपछिको लिखतबाट नामसारी हुन बाँकी रहेको र गुठी संस्थान ऐन, २०३३ को दफा २७ र ३० अनुसार हकवालामा जाने प्रावधान विपरीत निवेदकले मोही नामसारीको माग गरी रहेको अवस्थामा सो जग्गा गुठी तैनाथीतर्फ दर्ता गर्न मिल्दैन । विपक्षी कृष्णमान वासुकलाले नामसारी गर्न कारवाही चलाएको विषयमा गुठी संस्थान शाखा कार्यालय, भक्तपुरले टिप्पणी उठाउने र केन्द्रीय कार्यालयले मोहीको लगतकट्टा गरी गुठी तैनाथी जनाउने भनी गरेको अनाधिकृत र गैरकानूनी निर्णय गुठी संस्थान ऐन, २०३३ को दफा २(ट) एवं दफा २७ र ३० समेतको विपरीत छ । आफूलाई प्राप्त अधिकारक्षेत्र भन्दा बाहिर गई विपक्षी गुठी संस्थान शाखा कार्यालय भक्तपुरले टिप्पणी पेश गर्ने र केन्द्रीय कार्यालयले मिति २०५९।१२।२० मा मोहियानी लगत कट्टा गर्ने र तैनाथीमा पूर्जा माग गर्ने भनी गरेको गैरकानूनी निर्णय एवं सो निर्णयका आधारमा शाखा कार्यालय, भक्तपुरले गरेको मिति २०६०।१।१२ को निर्णय तथा सो निर्णयका आधारमा भए गरेको सम्पूर्ण काम कारवाहीले निवेदकको संवैधानिक हममा आघात परेको हुँदा उल्लिखित निर्णयहरू उत्प्रेषणको आदेशद्वारा बदर गरी बज्यैको नामको मोहियानी जग्गा निवेदकको नाममा नामसारी दर्ता गरी दिनु भनी परमादेश समेत जारी गरिपाऊँ । साथै सो जग्गा गुठी संस्थानले कुनै पनि बेला निवेदकलाई असर पर्ने गरी बिक्री गर्ने समेतका काम कारवाही गर्न सक्ने हुँदा प्रस्तुत रिट निवेदनको टुङ्गो नलागेसम्म निवेदकको हक हित विपरीत कुनै पनि काम कारवाही नगर्नू नगराउनू भनी विपक्षीका नाउँमा अन्तरिम आदेशसमेत जारी गरिपाऊँ भन्ने समेत व्यहोराको निवेदन पत्र ।
यसमा के कसो भएको हो ? निवेदकको माग बमोजिमको आदेश किन जारी हुनु नपर्ने हो ? यो आदेश प्राप्त भएको मितिले बाटाका म्याद बाहेक १५ दिनभित्र लिखित जवाफ लिई आफैं वा आफ्नो प्रतिनिधिद्वारा उपस्थित हुनु भनी रिट निवेदनको १ प्रति नक्कल साथै राखी विपक्षीहरूलाई सूचना पठाई दिनू । लिखित जवाफ आए वा अवधि नाघेपछि नियमबमोजिम पेश गर्नू । साथै अन्तरिम आदेशको समेत माग हुँदा यो रिट निवेदनको टुङ्गो नलागेसम्म मिति २०५९।१२।२० र मिति २०६०।१।१२ को निर्णय कार्यान्वयन नगर्नू नगराउनू भनी विपक्षीहरूको नाउँमा अन्तरिम आदेश जारी गरी दिएको छ भन्ने समेत व्यहोराको यस अदालतको आदेश ।
भक्तपुर नवदुर्गाको चिराग बाल्ने गुठीमा रत्नकुमार वनमालाका नाउँमा दर्ता भएको साविक ब्रम्हायणी न.नं.१३१ हाल नगरपालिका वडा नं. १(ग) कित्ता नं. १ को २–१५–० जग्गाको जोताहा विकुमाया वनमाला भएको र निज बृद्ध भै २०४२ सालमा आफ्नै कालगतिले परलोक भई हक खाने कोही नभएको, २०४० सालदेखि नै मलाई कमाउन दिएको, मिति २०४६।२।३ मा कृष्णमानले रत्नकुमारसँग जग्गा कमाउने कवुलियत कागज गराई लिएको हुँदा मोही लगतमा नाम दाखिला गरिपाऊँ भनी कृष्णमान वासुकलाको मिति २०४८।१२।६ मा निवेदन पर्न आएको । कृष्णमानको भनाई झूठा हो । सो जग्गा आमा विकुमाया जीवित छउञ्जेल आमाले र शेषपछि मैले जोतकमोद गरी बाली बुझाउदै आएकी हुँदा मेरो नाउँमा कायम गरिपाऊँ भनी विकुलक्ष्मी वनमालाले कागज गरेको । २०४० देखिको तिरो गुठीका नाईकेलाई बुझाई आएको हुँदा जोताहा मोही मोरो नाममा कायम गरिपाऊँ भनी कृष्णमान वासुकलाले गरेको कागज ।
उल्लिखित जग्गा १९२५ मार्ग १४ मा श्री ५ माहिली महारानी सुवर्णप्रभा देवीको नाति चौतरिया शमशेर जंग शाहले नवदुर्गा भवानीको चिराग बाल्ने गुठीको लागि राखेको छूट गुठी हो भन्ने रत्नकुमार वनमालाको निवेदन ।
गुठी जग्गामा २०३० साल चैत्र मसान्तपश्चात् मात्र मोहियानी हक प्रदान गरेको हुँदा तत्काल जग्गा कमाउने विकुमायालाई मोही हक प्राप्त भएकै थिएन । गुठी संस्थान ऐन, २०२९ ले दर्तावाला मोहीको हक समाप्त गरी सकेको हुँदा खास जोताहको नाताले मेरो नाउँमा मोही कायम गरिपाऊँ भन्ने रामकुमार वनमालाको निवेदन परेको । छोराछोरी कोही नभएकी दर्तावाला विकुमायाले २०४० सालमा जग्गाधनी रत्नकुमारलाई कागज गरी छोडी दिएकोले कवुलियत गरी भरपाई लिई जोती आएको भनी पुनः कृष्णमान वासुकलाको निवेदन पर्नआई भक्तपुर नगरपालिकाबाट २०४० सालदेखि कृष्णमानले जोतकमोद गरी आएको भन्ने सिफारिश भई आएको देखिन्छ । नगरपालिकाबाट भएको सिफारिश तथा सर्जमिन मुचुल्कासमेतबाट यो जग्गा विकुमायाले नकमाएको भन्ने देखिएको, निज विकुमाया २०४२ सालमा परलोक भई निजको नाममा मोहियानी नामसारी नभएको जग्गामा मोही कायम गरिपाऊँ भन्ने कृष्णमान र खास जोताहा म हुँ भन्ने रामकुमार वनमाला भै तेरो मेरोसमेत हुँदा गुठी कार्यालयले कसैलाई मोही कायम गर्न सक्ने अवस्था भएन ।
जग्गाधनीसम्म नवदुर्गा भवानीको चिराग बाल्ने गुठी जनाई नापीमा मोही लेखिएको व्यक्ति परालोेक भैसकेकोले निजको नाम कट्टा गरी पूर्जा माग गर्ने निर्णय भएको हो । मोही हक सम्बन्धमा तेरो मेरो भएको अवस्थामा अधिकारप्राप्त निकायमा नगई गुठी संस्थानमा निवेदन गर्न पाउने हक कानूनले प्रदान गरेको छैन । विकुमाया निवेदककी आमाकी आमा भएकोले निवेदकका नाउँमा मोहीहक आउन सक्ने कुनै कानूनी आधार छैन । आमाका नाउँमा मोही हक कायम नभै छोराका नाउँमा आउने अवस्था हुँदैन । विकुमाया नै यो जग्गाको कानूनबमोजिमको मोही होइनन् । निजले पेश गरेको जोताहा अस्थायी निस्सामा जग्गाधनी महलमा नवदुर्गा गुठीको नाम लेखिएको नभई रत्नकुमारको नाम लेखिएको छ । उनाउ व्यक्ति जग्गाधनी देखाएको जोताह अस्थायी निस्सा, प्रमाण लाग्ने नहुँदा निवेदन मागबमोजिमको आदेश जारी गर्न मिल्दैन, निवेदन खारेज हुनुपर्छ, भन्ने समेत व्यहोराको विपक्षी गुठी संस्थान केन्द्रीय कार्यालय र गुठी शाखा कार्यालय भक्तपुरको तर्फबाट परेको संयुक्त लिखित जवाफ ।
श्री नवदुर्गा भवानीको चिराग बाल्ने गुठीका लगतमा दर्ता भएको साविक ब्रम्हायणी मौजाको न.नं. १३१ को लगतअन्तर्गतको भक्तपुर जिल्ला, भक्तपुर नगरपालिका वडा नं. १ग. कि.नं. १ को २–१५–० जग्गाको जोताहा मोही विकुमाया वनमाया तथा छूटवाला गुठियार रत्नकुमार वनमाला भई जोताहाले उक्त जग्गा कमाई आएको अवस्थामा निजको छोरा तथा पति समेत नभएको र उक्त जग्गा कमाउन नसक्ने मनासय व्यक्त गरी २०४० सालदेखि छुटवालाई जिम्मा दिनु भएकोले छूटवाला गुठियारको मञ्जूरीले २०४० सालको बालीदेखि नै मैले जोत कमोद गरी कुतबाली बुझाउदै आएको र सोही मञ्जूरीका आधारमा मिति २०४६।२।३ मा दोहोरो कुत कबुलियतसमेत गरी मोहीको हैसियतले जग्गा कमाई आएको । साविकका जोताहा विकुमाया वनमाला २०४२ सालमा परलोक भएपछि मैले नै कमाई आएको र जोत कायम गर्ने प्रयोजनका लागि सिफारिश पाउन मिति २०४६।१।२० मा नगरपालिकामा निवेदन गरेको हुँ । उक्त जग्गा मैले नै कमाई आएको कुरा मिति २०४७।९।२५ तथा मिति २०५६।५।२९ को सर्जमिनबाट समेत स्पष्ट भएको छ । विपक्षीको बज्यैले आफ्नो जीवनकालमा नै हक छोडिसकेको विवादको जग्गाका सम्बन्धमा शे.व.समेत नभएको र भएकै भए पनि प्राप्तकर्ताले नपाएको अवस्थामा निवेदकले पाउने अवस्था छैन । गुठी संस्थानको गुठी तैनाथी कायम गर्ने निर्णय समेतमा चित्त नबुझी विपक्षी समेतका उपर निर्णय बदर हक कायम मुद्दा भक्तपुर जिल्ला अदालतमा दर्ता गरी विचाराधीन रहेको अवस्थामा सोही मुद्दाबाटै बोलिने विषयमा रिट क्षेत्रबाट हेर्न मिल्दैन । विवादको जग्गा २०४० सालदेखि विकुमायाले कमाउन छाडेपछि निवेदक तथा निजको आमाले कमाएको भन्ने प्रमाण पनि देखाउन सक्नु भएको छैन । विकुमायाले नै मोही छोडी मैले कमाई आएको जग्गाका सम्बन्धमा गुठी संस्थान ऐन, २०३३ को दफा ३० तथा अपुतालीको २ नं.को आधार लिई दावी गर्न नमिल्ने हुँदा निवेदन खारेज गरिपाऊँ भन्ने समेत व्यहोराको विपक्षी कृष्णमान वासुकलाको लिखित जवाफ ।
गुठी संस्थानको मिति २०६०।१।१२ को जग्गा दर्ता गर्ने निर्णयसहितको फाइल गुठी संस्थान शाखा कार्यालय भक्तपुरबाट झिकाई पेशीको सूचना समेत दिई पेश गर्नु भन्ने यस अदालतको आदेश ।
निवेदनमा बदरको माग रहेको र गुठी संस्थान केन्द्रीय कार्यालयबाट मिति २०५९।१२।२० मा भएको निर्णय सहितको सक्कल फाईल गुठी संस्थान केन्द्रीय कार्यालयबाट झिकाई नियमानुसार पेश गर्नु भन्ने यस अदालतको आदेश ।
प्रस्तुत निवेदनमा निर्णय बदर गरिपाऊँ भनी दावी लिएको निर्णयका सम्बन्धमा भक्तपुर जिल्ला अदालतमा विपक्षी कृष्णमान वासुकलाले गुठी संस्थान केन्द्रीय कार्यालय, काठमाडौं समेतउपर निर्णय बदर हक कायमको मुद्दा परी मुल्तबीमा रहेको भन्ने हुँदा उक्त मिसिल भक्तपुर जिल्ला अदालतबाट झिकाई आएपछि नियमबमोजिम पेश गर्नु भन्ने यस अदालतको आदेश ।
विवादको जग्गाको जग्गाधनीको सम्बन्धमा विवाद नभई जोताहा मोहीको सम्बन्धमासम्म विवाद देखिएको छ । संलग्न फिल्डबुकको प्रतिलिपिमा मोही विकुमाया वनामाला, किसानको व्यहोरामा रत्नकुमारको जग्गा जोतीखाई आएको भन्ने उल्लेख भएको र सोही अनुसार गुठीको लगतमा दर्ता कायम हुनु नपर्ने भए दावी विरोध गर्न आउनु भनी भक्तपुर गुठी तहसील तथा खर्च कार्यालयले मिति २०५३।८।७ मा सूचना प्रकाशित गरेको देखिँदा सो जग्गाको साविक मोही विकुमाया वनमाला देखिएको कुरालाई अन्यथा भन्न सक्ने स्थिति रहेन । विवादको जग्गाको भु.सु.४ नं. फाराम जोताहाको अस्थायी निस्सामा विकुमाया वनमालाको नाम उल्लेख भएकोले त्यसरी कायम भएको मोहीले आफ्नो हक कानूनबमोजिम परित्याग गरेमा बाहेक कुनै कारणले त्यस्तो मोहियानी हक निलम्वित वा खारेज हुने स्थिति रहन्न । विवादको जग्गा विकुमाया वनमालाले कमाउन छाडेकोले २०४० सालदेखि छूटवाला रत्नकुमार वनमालाको मञ्जूरीले आफूले जोतीकमाई आएको भन्ने विपक्षी कृष्णमान बासुकलाको लिखित जवाफ देखिन्छ । तर निज वास्तविक मोही भएको भन्ने कुराको सवुद प्रमाणबाट पुष्टि गर्न सकेको देखिँदैन । विपक्षीमध्येका कृष्णमानले मोही विकुमायाको हकदार कोही नभएको भन्ने आधारमा आफ्नो नाममा मोहियानी माग गरी दरखास्त दिएको देखिए पनि मोही विकुमायाले शेषपछिको वकसपत्र गरी छोरीलाई दिएको अवस्थामा हकदार नभएको भन्ने नै उठाउने अवस्था देखिँदैन ।
अतः कुनै स्थापित अभिलेख र कानूनी आधार बेगर एकाको नाममा फिल्डबुक लगायतमा जनिएको मोहियानीसम्बन्धी तथ्यको विपरीत गुठी तैनाथी कायम मानी आफ्नो नाममा जग्गाधनी पूर्जा माग गर्ने गरेको निर्णय गैरकानूनी देखिएकोले गुठी संस्थान केन्द्रीय कार्यालयबाट विवादको जग्गाको मोही महलमा गुठी संस्थान जनाउने भनी गरेको मिति २०५९।१२।२० को निर्णय र सो निर्णयका आधारमा गुठी संस्थान शाखा कार्यालय, भक्तपुरबाट मोहीको लगत कट्टा गरी गुठी तैनाथी पूर्जा माग गर्ने गरी मिति २०६०।१।१२ मा भएको निर्णय उत्प्रेषणको आदेशद्वारा बदर हुने ठहर्छ । विवादको जग्गाको साविक मोही विकुमायाले छोरी विकुलक्ष्मीलाई शे.व.गरिदिएको भन्ने मिसिलबाट देखिँदा निवेदकको मागबमोजिम मोही नामसारी प्रक्रियाको लागि सम्बन्धित निकायमा लेखी पठाई दिनु भनी विपक्षी गुठी संस्थान केन्द्रीय कार्यालय समेतका नाउँमा परमादेश जारी हुने ठहर्छ भन्ने समेत व्यहोराको यस अदालत संयुक्त इजलासबाट मिति २०६४।९।२५ को आदेश ।
विवादको कि.नं.१ जग्गाको जग्गाधनी गुठी संस्थानअन्तर्गत श्री नवदुर्गा भवानीको चिराग बाल्ने गुठी र साविक मोही विकुमाया वनमाला भएकोमा २०४० सालका बालीदेखि नै उक्त जग्गा निजले कमाउन छोडी छूटवाला रत्नकुमारलाई जिम्मा दिनु भएको हो । निज छुटवालाबाट २०४० सालदेखि नै मैले कमाउन लिई सालसालको कुतबाली बुझाउँदै आएको, सिफारिश र स्थानीय सर्जमिनबाट समेत मेरो भोग देखिई मोहीमा तेरोमेरो परेको अवस्था छ । त्यस्तो जग्गालाई गुठी तैनाथी कायम गर्ने गुठी संस्थान शाखा कार्यालयको मिति २०६०।१।१२ को निर्णयउपर मैले निर्णय बदर हक कायम मुद्दा दिई कारवाहीयुक्त रहेकै अवस्थामा सो मुद्दामा असर पर्ने गरी अदालत स्वयंले बादीको स्थान ग्रहण गरी भएको मिति २०६४।९।२५ को आदेश त्रुटिपूर्ण छ । रिट क्षेत्रबाट हेर्नै नमिल्ने विषयमा प्रमाणको गलत मूल्याङ्कन गरी भएको यस अदालत संयुक्त इजलासको निर्णय नेकाप २०५३, नि.नं.६१७१ मा प्रतिपादित सिद्धान्तसमेतको ठाडो बर्खिलाप हुँदा न्याय प्रशासन ऐन, २०४८ को दफा ११ को उपदफा (१) को खण्ड (ख) बमोजिम सो त्रुटिपूर्ण आदेश पुनरालोकन गरी मेरो लिखित जवाफबमोजिम गरिपाऊँ भन्ने समेत ब्यहोराको कृष्णमान बासुकलाको यस अदालतसमक्षको निवेदनपत्र ।
यसमा वादी यिनै निवेदक कृष्णमान बासुकला प्रतिवादी गुठी संस्थान केन्द्रीय कार्यालय समेत भएको निर्णय बदर हक कायम मुद्दाको मिसिल झिकाई आएपछि पेश गर्नु भन्ने समेत व्यहोराको यस अदालतको मिति २०६६।३।१९ को आदेश ।
यसमा भक्तपुर गुठी तहसील तथा खर्च कार्यालयको निर्णय फाइल हेर्दा विवादको कि.नं.१ को जग्गा फिल्डबुकमा जोताहाबाट शे.व.लिखत पाएको आधारमा दा.खा.माग गरी विकुलक्ष्मी वनमालाले यसै कारवाहीमा दावी लिएको भन्ने व्यहोरा उल्लेख भएको छ भने उक्त जग्गा भोग गर्ने कृष्णमान बासुकलाबाट गुठियारले बाली बुझेको र भोगपनि निजले नै गरेको सर्जमिनबाट देखिन आउँछ समेत भनिएको छ । त्यसरी मोही हकमा नै विवाद उठी मोही तेरोमेरोको प्रश्न उपस्थित भएको अवस्थामा साविक मोही विकुमायाले छोरी विकुलक्ष्मीलाई शे.व.गरी दिएको भन्ने मिसिलबाट देखिएको भन्ने समेतको आधारमा मोही नामसारी प्रक्रियाको लागि सम्बन्धित निकायमा लेखी पठाइदिनु भनी गुठी संस्थानका नाउँमा परमादेशको आदेश समेत जारी हुने गरी यस अदालतको संयुक्त इजलासबाट फैसला भएको देखिन आउँछ । यस्तै गुठी जग्गामा मोहियानी हकको तेरोमेरोको प्रश्ननिहीत रहेको मुद्दामा यस अदालत पूर्ण इजलासबाट गुठी जग्गाको मोहियानी हकको तेरोमेरो सम्बन्धी विवादको निरोपण गर्ने अधिकार गुठी संस्थानलाई भएको देखिन आएन भनी गुठी जग्गाको हकमा समेत सबुद प्रमाण बुझी मोही सम्बन्धी तेरोमेरो प्रश्नमा निर्णय गर्ने अधिकार भूमिसुधार अधिकारीलाई भएको मान्नुपर्ने भनी महेन्द्रनाथ उपाध्याय समेत वि.गुठी संस्थान केन्द्रीय कार्यालय समेत नेकाप २०५३, नि.नं.६१७१, पृ.२८७ मा सिद्धान्त प्रतिपादन भएको पाइन्छ । उल्लिखित सन्दर्भमा यस अदालत संयुक्त इजलासबाट मिति २०६४।९।२५ मा भएका फैसला उक्त सिद्धान्त समेतको प्रतिकूल देखिँदा न्याय प्रशासन ऐन, २०४८ कोक दफा ११ को उपदफा (१) को खण्ड (ख) वमोजिम प्रस्तुत मुद्दा पुनरालोकन गरी हेर्ने निस्सा प्रदान गरिदिएको छ भन्ने समेत व्यहोराको यस अदालत पूर्ण इजलासको मिति २०६७।५।४ को आदेश ।
यसमा गुठी संस्थानको निर्णयउपर भक्तपुर जिला अदालतमा परेको निर्णय बदर हक कायम मुद्दामा भएको फैसलाउपर यी निवेदकले पुनरावेदन अदालत, पाटनमा दायर गरेको पुनरावेदन हाल उक्त अदालतको विचाराधीन रहेको भन्ने बहसका सिलसिलामा जानकारी हुन आएको र सो मुद्दामा उठाइएको विषय प्रस्तुत मुद्दासँग समेत सम्बन्धित देखिँदा पुनरावेदन अदालत, पाटनबाट उक्त मिसिल झिकाई प्राप्त भएपछि नियमानुसार गरी पेश गर्नू ।
नियमवमोजिम पेश हुन आएको प्रस्तुत निवेदनमा निवेदकका तर्फवाट उपस्थित विद्वान वरिष्ठ अधिवक्ता श्री रामप्रसाद भण्डारी “संभव” ले विवादित गुठी जग्गाको साविक मोही विकुमाया भएपनि निजले २०४० सालदेखि नै जग्गा कमाउन छोडेको कारण छूटवाला रत्नकुमारले निवेदकलाई दोहोरो कबुलियत गरी मोहीमा कमाउन दिएका हुन् । सो बमोजिम छ वर्षको बाली समेत बुझाएको अवस्था छ । न.पा.को सिफारिश र स्थानीय सर्जमिनबाट समेत विवादित जग्गामा निवेदककै भोग देखिएको अवस्था छ । निवेदकको मोहीहकको जग्गामा अघि नै मोही हक छाडिसकेकी विकुमायाबाट शे.व.पाएको भनी विपक्षीले मोहीमा दावी गरेको कारण प्रष्ट रूपमा मोही तेरोमेरो परेको हो । यस्तो विषयमा गुठी संस्थानले नभई भूमिसुधार कार्यालयले निर्णय गर्नुपर्ने भनी नेकाप २०५३, पृ.२८७ मा प्रतिपादित सिद्धान्त विपरीत विपक्षीका नाममा मोही नामसारीका लागि लेखी पठाउनु भनी संयुक्त इजलासबाट भएको आदेश त्रुटिपूर्ण हुँदा सो आदेश पुनरालोकन हुनु पर्दछ भन्ने समेत वहस प्रस्तुत गर्नुभयो ।
विपक्षी रामकुमार वनमालाको तर्फबाट रहनु भएका विद्वान वरिष्ठ अधिवक्ता श्री बसन्तराम भण्डारीले मोही तेरोमेरोको विवाद नै छैन । जग्गाधनी गुठी र मोही रिट निवेदकको बजै विकुमाया भएको कुरा निर्विवाद छ । विकुमायाले २०४२ सालमा निजको मोहीहक निवेदकको आमा विकुलक्ष्मीलाई शे.व.मार्फत् हक हस्तान्तरण गरिदिएको र २०४५ सालमा निजको मृत्यु भएको हुँदा मागबमोजिम मोही नामसारीसम्म हुनु पर्ने अवस्था छ । विकुमायाले मोही हक छाडेकै छैन । २ नं. अनुसूची र ४ नं. जोताहा अस्थायी निस्सा विकुमाया कै नाउँमा कायम छ । यस्तो अवस्थामा रत्नकुमारलाई विकुमायाको मोहीहक विपक्षीलाई दिन सक्ने अधिकार नै छैन । दिएको पनि होइन । विपक्षी स्वयं गलत बाटो अवलम्बन गरी निर्णय बदर मुद्दा लिएर जानु भएको हुँदा प्रस्तुत रिट निवेदनबाट निजको हक कायम हुन सक्दैन । पुनरालोकनको निस्सामा उल्लेख भएको नजीर आकर्षित हुन सक्ने अवस्था नभएकोले संयुक्त इजलासको निर्णय कानूनसम्मत हुँदा अन्यथा गर्नुपर्ने अवस्था छैन भन्ने समेत बहस गर्नुभयो ।
गुठी संस्थानका तर्फवाट उपस्थित विद्वान अधिवक्ता श्री ज्ञानेन्द्रप्रसाद पोखरेलले मोहीको दावी गर्ने दुवै व्यक्ति मोही कायम हुन सक्ने अवस्था नभएकोले गुठीका नाममा कायम गर्ने गरी गुठी संस्थानबाट निर्णय भएको हो । सो निर्णय कानूनसम्मत् भएको र गुठी संस्थानका विरुद्धमा परमादेश जारी हुन नसक्ने हुँदा संयुक्त इजलासबाट भएको आदेश बदर हुनुपर्दछ भन्ने समेत बहस गर्नुभयो ।
पक्ष विपक्षका विद्वान कानून व्यवसायीहरूले गर्नु भएको उल्लिखित बहस जिकिर मनन् गरी पेश हुन आएको सम्पूर्ण मिसिल कागजात अध्ययन गरिहेर्दा यस अदालत संयुक्त इजलासवाट भएको आदेश पुनरालोकन गरी हेर्नुपर्ने हो, होइन भन्ने बिषयमा केन्द्रित रहि निर्णय दिनुपर्ने हुन आएको छ ।
२. निर्णयतर्फ विचार गर्दा सर्वे नापीमा नवदुर्गा भवानीको चिराग बाल्ने गुठी जग्गाधनी र जोताहा मोही विकुमाया जनिएको भक्तपुर न.पा.वडा नं.१(ग) कि.नं.१ क्षेत्रफल २–१५–० को विवादित गुठी अधिनस्थ छूट जग्गाको जग्गाधनी गुठी संस्थान भन्ने जनिएको पाइन्छ । सो जग्गाको छूटवाला गुठियार रतनकुमार र साविक जोताहा मोही विकुमाया भएको तथ्यमा पनि खासै विवाद रहेको पाइँदैन । जोताहा मोही विकुमायाको पति तथा छोरा नभएको र निजको बृद्धावस्था भएकोले उक्त जग्गा २०४० सालदेखि नै कमाउन छाडी छूटवालाको जिम्मामा दिएकोले छूटवाला गुठियारको मञ्जूरीले २०४० सालदेखि नै जोतकमोद गरी सालसालको कूत बुझाउँदै आएको तथा मिति २०४६।२।३ मा दोहोरो कूत कवुलियत समेत गरी मोहीको हैसियत प्राप्त गरेकोले आफ्नो नाममा मोही कायम हुनुपर्ने भन्ने निवेदक कृष्णमान बासुकलाको निवेदन दावी रहेको पाइन्छ । तर उक्त जग्गाको साविक मोही विकुमायाले निजको मोही हक मिति २०४२।६।८ मा छोरी विकुलक्ष्मीलाई शेषपछिको बकसपत्र गरी दिएकोमा बज्यै विकुमाया तथा आमा विकुलक्ष्मीको समेत दुवैको परलोक भएको कारण आफ्नो हक भएको र नामसारीसम्म गर्न बाँकी रहेको भन्दै विकुलक्ष्मीको छोरा विपक्षी रिट निवेदक रामकुमार वनमालाले मोही नामसारीको दावी गरेको देखिन्छ ।
३. उपरोक्त मोही कायमसम्बन्धी विवादमा भक्तपुर गुठी तहसील तथा खर्च कार्यालयबाट कारवाही हुँदै जाँदा मोही तेरोमेरोको स्थिति परी गुठी संस्थान केन्द्रीय कार्यालयमा परामर्शको लागि पठाइएकोमा मोहीको परलोक भई हकदार नभएको अवस्थामा गुठी तैनाथीतर्फ दर्ता गर्नुपर्ने हुन्छ भनी राय प्राप्त भएको र पुनः सोही बमोजिम निकासाको लागि लेखी पठाइएकोमा मिति २०५९।१२।२० मा मोहीको लगत कट्टा गरी मोही र जग्गाधनी महलमा गुठी संस्थान लेखी गुठी तैनाथी जनाई दर्ता गर्नेतर्फ कारवाही गर्नु भन्ने समेत निर्णय भएको देखियो । गुठी संस्थान केन्द्रीय कार्यालयको उक्त निर्णय र मिति २०५९।१२।२५ को पत्राचार (आदेश) बमोजिम विवादित जग्गाको मोहीको लगत कट्टा गरी गुठी तैनाथी पूर्जा माग गर्ने गरी गुठी संस्थान शाखा कार्यालय भक्तपुरबाट मिति २०६०।१।१२ मा निर्णय भएको र सो दुवै निर्णय उत्प्रेषणको आदेशले बदर गरी मोही नामसारी गरी दिनु भनी परमादेश समेत माग गरी रिट निवेदक रामकुमार वनमालाले प्रस्तुत रिट निवेदन दायर गरेको देखिन आउँछ ।
४. साविकदेखि कायम रहेको दर्तावाल मोही विकुमायाले हक छाडेको प्रमाणका अभावमा अन्य व्यक्तिलाई दोहोरो कुत कबुलियत गरी दिने तथा सोको आधारमा मोही दावी गर्ने अधिकार गुठियार तथा गुठियारबाट कागज गराउने कृष्णमान बासुकलालाई नहुने र साविक मोहीको मोही हक समाप्त हुने गरी मोही लगत कट्टा गरेको गैरकानूनी हुने भनी मोही लगत कट्टा गरी गुठी संस्थानकै नाममा तैनाथी कायम गरेको र सो बमोजिम जग्गाधनी प्रमाण पूर्जा बनाउन लेखी पठाउने उपरोक्त मिति २०५९।१२।२० र २०६०।१।१२ को निर्णय उत्प्रेषणको आदेशद्वारा बदर गरी निवदेकको मागबमोजिम मोही नामसारी प्रक्रियाको लागि सम्बन्धित निकायमा लेखी पठाई दिनू भनी यस अदालतबाट विपक्षी गुठी संस्थानका नाममा परमादेश जारी भएको देखिन्छ ।
५. भूमिसुधार कार्यालयको निर्णयउपर आफूले निर्णय बदर मुद्दा दिई विचाराधीन रहेकै अवस्थामा उक्त मुद्दालाई समेत असर पर्ने गरी मोही तेरोमेरोको विवादमा भूमिसुधार कार्यालयबाट निर्णय हुनुपर्ने भन्ने सिद्धान्त समेतको प्रतिकूल पक्षको स्थान ग्रहण गरी रिट निवेदकका नाममा मोही नामसारीको लागि लेखी पठाउनू भनी परमादेश जारी गरेको संयुक्त इजलासको निर्णय त्रुटिपूर्ण रहेकोले पुनरालोकन गरिपाऊँ भन्ने प्रत्यर्थी कृष्णमान बासुकलाको निवेदन परी सोही आधारमा निस्सा प्रदान भएको रहेछ ।
६. प्रथमतः मोही हक कानूनबमोजिम मात्र प्राप्त र समाप्त हुने हक हो भन्नेमा विवाद छैन । कुनै पनि व्यक्तिका नाममा कायम भएको मोहीको लगत कट्टा गर्नको लागि भूमि सम्बन्धी ऐन, २०२१ र भूमि सम्बन्धी नियमावली, २०२१ मा निर्दिष्ट अवस्था र आधारहरूको विद्यमानता अपरिहार्यता हुन्छ । गुठी कार्यालयलाई गुठी जग्गाको प्रशासन र व्यवस्थापन गर्ने अधिकार गुठी संस्थान ऐन, २०३३ ले प्रदान गरेको भएपनि मोहीको हक समाप्त हुने गरी मोही लगत कट्टा गर्ने अधिकार प्रदान गरेको देखिँदैन । तसर्थ विकुमायाको मोही लगत कट्टा गर्ने गरी गुठी संस्थान केन्द्रीय कार्यालयबाट मिति २०५९।१२।२० मा र सो बमोजिम स्रेस्ता पूर्जा बनाउन लेखी पठाउने गरी गुठी संस्थान शाखा कार्यालय, भक्तपुरबाट मिति २०६०।१।१२ मा गरिएका निर्णय गैरकानूनी देखिएकोले उक्त निर्णयहरू उत्प्रेषणको आदेशले बदर हुने ठहर्याएको संयुक्त इजलासको आदेश अन्यथा देखिन आउँदैन ।
७. जहाँसम्म रिट निवेदकका नाउँमा मोही नामसारीको लागि लेखी पठाउनू भनी परमादेश जारी भएको नमिलेको भन्ने विषय छ, विवादित कि.नं.१ जग्गाको साविक जोताहा मोही विकुमाया हुन् भन्ने तथ्यमा विवाद नभए पनि २०४० सालपछि निजले जग्गा कमाउन छाडेका कारण छूट गुठियारले दोहोरो कबूलियत समेत गरिदिएबाट आफू मोही भएको भनी कृष्णमान बासुकलाले मोही दावी गरेको कारण मोहीमा तेरोमेरो परी विवाद उत्पन्न भएको देखिन्छ । यस स्थितिमा साविक जोताहा मोही विकुमायाले रीतपूर्वक मोही हक छाडेको अवस्था हो होइन, मोही हक छाडेको भए विवादको जग्गा हाल के कुन व्यक्तिले जोतकमोद गरेको अवस्था छ र मोही हक नछाडेको भए निजले गरिदिएको भनिएको शेषपछिको वकसपत्रबमोजिम निजकी छोरी विकुलक्ष्मी तथा निजका छोरा रिट निवेदक रामकुमार बनमालाको नाममा मोही हक कायम हुन सक्ने हो होइन भन्ने आधारभूत प्रश्न एकातर्फ उपस्थित भएको पाइन्छ । त्यस्तै जोताहा मोहीले २०४० सालदेखि जग्गा कमाउन छाडेका कारण छूट गुठियारले दिएको भनिएको कुत कवुलियत र भर्पाईबमोजिम मोहीको हैसियतले जग्गा जोतकमोद गरेको भन्ने निवेदक कृष्णमान बासुकलाको स्थिति के हुने हो, निजलाई दिइएको भनिएको दोहोरो कुत कवुलियत र भर्पाई कागजहरूको अवस्था के कस्तो रहेको छ सोको आधारमा निजका नाममा मोही कायम हुन सक्ने हो होइन भन्ने विषयहरू पनि निर्णायक प्रश्नको रूपमा रहेको देखिन्छ ।
८. मोहीको हक प्राप्ति र समाप्तिसँग जोडिएका उपरोक्त प्रमाणहरूको विश्लेषण गरी मोहीको विवादमा निर्णय गर्ने अधिकार गुठी संस्थानलाई नभएकोले सम्बन्धित भूमिसुधार कार्यालयबाटै निर्णय निरूपण हुनुपर्ने देखिन्छ । गुठी जग्गामा मोहियानी हकको तेरोमेरोको प्रश्न निहीत रहेको यस्तै प्रकृतिको महेन्द्रनाथ उपाध्याय समेत वि.गुठी संस्थान केन्द्रीय कार्यालय समेत भएको मुद्दामा यस अदालत पूर्ण इजलासबाट गुठी जग्गाको मोहियानी हकको तेरोमेरो सम्बन्धी विवादको निरोपण गर्ने अधिकार गुठी संस्थानलाई नभई प्रमाण बुझी मोही सम्बन्धी तेरोमेरो प्रश्नमा निर्णय गर्ने अधिकार भूमिसुधार अधिकारीलाई भएको भनी नेकाप २०५३, नि.नं.६१७१, पृ.२८७ मा सिद्धान्त समेत प्रतिपादन भएको देखिँदा प्रस्तुत मोही तेरोमेरोको विवादको पनि सम्बन्धित भूमिसुधार कार्यालयबाटै टुंगो लाग्नु पर्ने देखियो ।
८. तसर्थः उल्लिखित प्रतिपादित सिद्धान्त समेतको आधार कारणबाट विकुमायाको मोही हक रिट निवेदक रामकुमार वनमालाको नाममा नामसारी गर्न सम्बन्धित कार्यालयमा लेखी पठाउनू भनी गुठी संस्थान केन्द्रीय कार्यालय समेतका नाउँमा परमादेश जारी गरेको हदसम्म यस अदालत संयुक्त इजलासको मिति २०६४।९।२५ को आदेश त्रुटिपूर्ण देखिएकोले सोहदसम्म पुनरालोकन भई मोही तेरोमेरोको विषयमा निर्णय गर्न दुवै पक्षलाई सम्बन्धित भूमिसुधार कार्यालयमा पठाई दिनू भनी विपक्षी गुठी संस्थान शाखा कार्यालय, भक्तपुरका नाममा परमादेश जारी हुने ठहर्छ । सोको जानकारी विपक्षीलाई गराई दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार गरी बुझाईदिनु ।
उक्त रायमा सहमत छौं ।
न्या.वैद्यनाथ उपाध्याय
न्या.ज्ञानेन्द्रबहादुर कार्की
इति संवत् २०७० साल वैशाख ५ गते रोज ५ शुभम्...
इजलास अधिकृतः—नारायण सुवेदी