शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ६४५१ - हक सफा

भाग: ३९ साल: २०५४ महिना: माघ अंक: १०

निर्णय नं. ६४५१             ने.का.प.०५४                        अङ्क १०

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री मोहन प्रसाद शर्मा

माननीय न्यायाधीश श्री हरिश्चन्द्रप्रसाद उपाध्याय

सम्वत् २०५१ सालको दे.पु.नं. ... २५४८

फैसला मितिः २०५३।१२।११।२

 

मुद्दाः हक सफा ।

 

पुनरावेदक/प्रतिवादीः रुकुम अर्मा गा.वि.स. वार्ड नं. ७ पुरन टाकुरा वस्ने वर्ष ५५ का शशिराम खड्का ।

विरुद्ध

विपक्षी/वादीः ऐ.ऐ.वस्ने धनिराम कामी ।

 

§  वादीले न.नं. ६ को जग्गामा हक सफा नहुने गरी रुकुम जिल्ला अदालत र पुनरावेदन अदालतले गरेको फैसला उपर वादीको कुनै पुनरावेदन नपरेबाट त्यसमा विचार गरी रहन पर्ने अवस्था आएन । न.नं. ७ को जग्गा हक सफा गर्ने गरी गरेको शुरु रुकुम जिल्ला अदालतको फैसला र सो फैसला सदर गरेको पुनरावेदन अदालत नेपालगंजको फैसला उपर प्रतिवादीको पुनरावेदन फैसला हेरी सो फैसलाले वादीको पश्चिम किल्लाको एक मात्र आधारको हक सफा गरी दिने गरी फैसला भएको पाइन्छ । हक सफाको लागि वादी सन्धी सर्पन पर्ने स्पष्ट आधारमा दावी गर्नु पर्छ । सिर्फ पश्चिम किल्लाको मात्र आधारले हक सफा गर्न लेनदेन व्यवहारको ११ नं. ले नमिल्ने भएबाट सो न.नं. ७ को जग्गा वादीले हक सफा गर्ने गरी गरेको पुनरावेदन अदालत नेपालगंजको फैसला उल्टी हुने ।

(प्र.नं. ९)

 

पुनरावेदक प्रतिवादी तर्फबाटः

विपक्षी वादी तर्फबाटः

अवलम्वित नजिरः

 

फैसला

            न्या.मोहन प्रसाद शर्माः पुनरावेदन अदालत नेपालगंजको फैसला उपर पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं व्यहोरा यस प्रकार छः

            २.    रुकुम मौजा काडा तालुक २०३२ सालको पाखा मोठ नं. ५४ मा महाविर वली समेत ४ मोही दर्ता निज महावीर वलीबाट रुकुम अर्मा गा.पं. वडा नं. ७ काडा वस्ने मेरो कान्छा वावु तुल्सीराम कामीले हदमुनिको राजिनामा लिएको पूर्व वुकाटारी खोला पश्चिम धनीराम कामीको जग्गाको ठिक उत्तर लिला घर खड्काको जग्गा र देउराम खड्काको जग्गा दक्षिण धनी रामको जग्गा र ऐभान कामीको जग्गा यति ४ किल्ला भत्रिको विजन ।।।४ मुठी भनी राजिनामामा उल्लेख भएको विजन ।।।३ मुठीको तिरो रु.५। लागेको ठुलो लेख भन्ने पाखो जग्गा उक्त तुल्सी राम कामीबाट विपक्षीले मोल रु.४०,०००। मा खरिद गरी मिति ०४५।१।२४ गते. खडा गराएको थैली रु.७०,०००। को राजिनामा रुकुम मालबाट पारित गराएको थाहा पाए पछि विपक्षीलाई भेटी महावीर दर्ताको विजन ।।।४ मुठी मध्ये विजन ।।।३ मुठी सम्मको जग्गा खरिद विक्री गर्नु पर्नेमा समुच्चै विजन ।।।४ को जग्गा खरिद भएको सम्वन्धमा र सो को थैली र.४०,०००। र पारित दस्तुर समेत वुझ्नु होस भनी निज शशीराम खड्कालाई मैले भन्दा विजन सदर गराई दिदैन र जग्गाको थैली तथा पारित दस्तुर समेत वुझि लिन मंजु छैन भनी ठाडै इन्कार गरेकोले दर्ता विजन ।।।४ मध्ये विजन ।।।१ सम्मको लिखत वदर तर्फ मिति २०४५।६।५ मा रुकुम जि.अ. मा उजुर दायर गरेको छु र हक सफाई तर्फ मिति ०४५।३।१७ गते रुकुम माल कार्यालयमा दरखास्त साथ थैली र पारित दस्तुर दाखिल गरेकोमा विक्री भएको जग्गाको दक्षिणी र पश्चिमी किल्लामा उल्लेखित जग्गा धनी राम कामीको नभै धनी राम खड्काको हो भन्ने र तुलसीरा कामीका ३ पुस्ताभित्र हकदार नभई टाउकेको छोरा ऋणी तुल्सी राम भए तापनि राउटैको नाती विपक्षी धनीराम भएकोले हकदार नभएका र सन्धी सर्पन नपर्ने भएबाट थैली वुझी जग्गा निखाई दिन मंजुर छैन भनी विपक्षी शशीराम खड्काले विवाद खडा गरेबाट सन्धी सर्पन पर्ने नपर्ने र हकदार भए नभए तर्फ प्रमाण वुझी इन्साफ दिनु पर्ने भएकोले मिति २०४५।११।२।२ मा रुकुम माल कार्यालयबाट निर्णय पर्चा खडा भएकोले सो निर्णय पर्चा खडा भएको ३५ दिन भित्र यो उजुरी दायर गरेको छु । उल्लेखित विजन ।।।३ को पाखो जग्गा हक निखनाई फिराद दायर गर्दा राखेको कोर्ट फि र अनय दस्तुर समेत दिलाई भराई पाउँ भन्ने समेत व्यहोराको फिराद दावी ।

            ३.    रुकुम मौजे काडा तालुक ०३२ सालका पाखा मोठ नं. ५४ मा महावीर वली समेत ४ मोहि दर्ता निज महावीर वलीबाट मलाई राजिनामा दिने दाता तुल्सीराम कामीले राजिनामा पाएको विजन मुठी ।।।४ को ठुला लेख भन्ने जग्गा मैले राजिनामा गरी लिदा भूलबाट किल्ला फरक पर्न गई सर्व जितको जग्गा समेत च्यापिन गएकोले सर्वजित खत्रीले म र मलाई राजिनामा दिने यता तुल्सीराम कामीलाई रुकुम जि.अ. मा लिखत वदर जालसाज मुद्दा दिई कारवाही भै मुद्दा मिलापत्र हुँदा राजिनमामा जुनसुकै किल्ला लेखएि तापनि पूर्व वुकाठारी खोला नभै सो को सट्टा सो ठुला लेख जग्गाको पूर्व पट्टि सर्वजित खत्रीको जग्गा उत्तर लिलाधर खड्का र देउराम खड्काको जग्गा नभै उत्तर मोतीलाल खड्काको जग्गा पश्चिम धनीरामको जग्गा नभै मोतिलाल र देउराम खड्काको खर काल्नो दक्षिण धनी राम कामीको जग्गा नभई लिलाधर खड्काको हाल ऐमान कामीको जग्गा यति ४ किल्ला भित्रको ठुला लेख भन्ने जग्गालाई थैली रु.४०,०००। मा परित गरी लिएको हुँदा राजिनामाको किल्ला लेख्दा भूलबाट जात फरक पर्न गएको कारणबाट विपक्षीले धरौटी राख्नु भएको हो । विपक्षी मलाई राजिनामा दिदै दाता तुल्सी राम कामीको ऐन वमोजिम अर्थात ३ पुस्ता भित्रका हकदार नभएको र मैले खरीद गरेको जग्गाको किल्ला सिमानामा विपक्षीको जग्गा पनि नरहे नभएकोले विपक्षीले हक सफा गरी पाउँ भनी यो उजुरी दिन नै हकदैया पुग्दैन मैले खरीद गरेको जग्गाको साध सिमानामा विपक्षीको जग्गा नै पर्दैन । विपक्षीले मैले खरीद गरेको विजन मुठी ।।।४ को जग्गा मध्ये विज मुठी ।।।१ को जग्गा आफ्नो पर्छ भनी किल्लाले च्यापी पारित गरे गराए भनी रुकुम जिल्ला अदालतमा लिखत किल्ला वदर जालसाजको उजुरी दिनु भएको छ भने रुकुम मालमा धरौट राखी उजुरी गर्दा किल्लामा आफ्नो पर्छ भनी उजुरी दिएबाट विपक्षीको जग्गा न त किल्ला सिमानामा पर्छ न त पारित राजिनामाको किल्ला भित्र चेपिएकै छ । मलाई राजिनामा दिने दाता तुल्सी रामले ३ कित्ता जग्गा एकै दिन एउटै राजिनमामा लेख्दा लेखाउँदा पूर्व राख्नु पर्ने किल्ला पश्चिम पश्चिमको उत्तर र खड्का लेख्नू पर्नेमा कामी जात लेखिन गएतापनि हाल सो जग्गाको नक्सा सर्जमिन हुने हो भने मैले राजिनामा लेखिएको ठुला लेख जग्गाको चारैतिर विपक्षीको जग्गाको जग्गा छैन पर्दैन नक्सा सर्जमिन भएमा छलंग देखिन्छ । किन वेच गरेका जग्गाको संधियार नपर्ने व्यक्ति विपक्षीले राखेको थैली धरौटी वुझी मैले जग्गा निखनाई दिनु पर्दैन । विपक्षी सन्धी सर्पन पर्ने ऐन वमोजिमको हकदार नभएको र जग्गाको सांध सिमानामा पनि विपक्षीको जग्गा नपर्ने मानिसले राखेका थैली वुझी लिनु मंजुर पनि छैन हक सफा पनि गरि दिनु नपर्ने हुँदा दूःख दिई सताउनलाई झूठ्ठा उजुरी दिने विपक्षीलाई सजाय गरी झूठ्ठा उजुरी दावीबाट फुर्सद गरी पाउँ भन्ने समेत व्यहोराको प्रतिवादी शशिराम खड्काको प्रतिउत्तर जिकिर ।

            ४.    प्र. ले टाउकेको छोरा दलवीर होइन भन्न नसकेको र प्र. का साक्षीहरुले यी वादी धनी राम तुल्सी रामको हकदार होइन भनी एकीनसाथ वकपत्र गर्न सकेको देखिन आएन भने वादीका साक्षीहरुले प्र. को    दाता तुल्सी राम वादी धनीरामको काका पर्ने हकदार हुन संधियार पनि हुन भनी यकिन साथ वादी दावीलाई समर्थन गरी वकपत्र गरि दिएको देखिएकोले मिसिल संलग्न सवुद प्रमाणको आधारबाट यी वादी धनीराम प्रतिवादीको ३ पुस्ता भित्रको हकदार भएको देखिने र नक्सा नं. ११८ को जग्गा निज वादीको कायम भएपछि साध जोरिएको कारणबाट समेत नक्सा नं. ७ को प्रतिवादीले तुल्सीरामबाट खरिद गरि लिएको विजन ।।।३ को ठुला लेख भन्ने जग्गा सन्धी सर्पन समेत पर्ने देखिएकाले वादी दावी वमोजिम उक्त जग्गा वादीले हक सफा गरि पाउने ठहर्छ भन्ने समेत व्यहोराको रुकुम जिल्ला अदालतको फैसला ।

            ५.    न.नं ८।११ को जग्गा तुल्सी राम कामीको भै निजबाट मैलै राजिनमा लिएको जग्गा विपक्षीको नभएको र सो जग्गा विपक्षीको नभएपछि वादीको सन्धी नपर्ने र वादी ऐन वमोजिमको हकदार नभएको मानिसले हक सफा गर्नु नपाउनेमा हक सफा हुने ठहराएको शुरुको फैसला उल्टाई पाउँ भन्ने समेत व्यहोराको शशी राम खड्काको पुनरावेदन जिकिर ।

            ६.    लेनदेन व्यवहारको ११ नं. वमोजिम वादी धनीरामले हक सफा गराई लिन पाउने ठहराएको शुरु रुकुम जिल्ला अदालतले गरेको फैसला मिलेकै देखिंदा मनासिव ठहर्छ । पुनरावेदकको प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्दैन भन्ने मिति २०५०।१।६ मा पुनरावेदन अदालत नेपालगंज वांकेबाट भएको फैसला ।

            ७.    उक्त पुनरावेदन अदालत नेपालगंजबाट भएको फैसला उपर चित्त नवुझी मुद्दा दोहोर्‍याई पाउँ भनी प्रतिवादीको तर्फबाट यस अदालत समक्ष निवेदन पर्दा यसमा पुनरावेदन अदालत नेपालगंजले वादीको जग्गा सांध जोडीएको कारणले सन्धिसर्पन पर्ने भन्न नहुने भनी यस अदालतबाट सिद्धँन्त प्रतिपादन भै रहेका हुँदा निखनाई दिने गरेको पुनरावेदन अदालत नेपालगंजको फैसलामा न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१)ख) अन्तर्गतको त्रुटी विद्यमान देखिदा मुद्दा दोहोर्‍याई हेर्ने निस्सा प्रदान गरिएको छ । नियमानुसार पेश गर्नु भनी यस अदालतबाट २०५१।८।२३।६ मा निस्सा प्रदान भै सोही निवेदन नै पुनरावेदनको रुपमा परिणत भै मुद्दा अगाडी वढेको ।

            ८.    नियम वमोजिम दैनिक पेशी सूचीमा चढी यस इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको मिसिल एवं कागजात समेत अध्ययन गरी हेर्दा सन्धि सर्पन परेबाट विवादित विजन ।।।३ को पाखो जग्गा हक निखनाई पाउँ भन्ने वादी दावी र विपक्षी सन्धी सर्पन पर्ने हकदार नभएको र जग्गाको सांध सिमानामा पनि विपक्षीको जग्गा नपर्ने हुँदा निजले राखेको थैली लिन मन्जूर छैन हक सफा गरी दिनु पर्ने छैन मुद्दा उजुरीबाट फुर्सद पाउ भन्ने प्रतिउत्तर प्रतिवादीको तर्फबाट पर्न आएको आधार प्रमाण समेतका आधारमा जग्गा सन्धी सर्पन पर्ने देखिएकोले वादी दावी वमोजिम उक्त जग्गा वादीले हक सफा गरी पाउने ठहर्छ भनी शुरु रुकुम जिल्ला अदालतबाट मिति २०४७।६।२१।१ मा फैसला भए उपर चित्त नवुझी प्रतिवादीका तर्फबाट पुनरावेदन पर्दा शुरु जिल्ला अदालतको फैसलालाई नै सदर कायम गरी पुनरावेदन अदालत नेपालगंजबाट मिति २०५०।१।६ मा फैसला हुँदा चित्त नवुझी यीनै प्रतिवादीबाट यस अदालत समक्ष दोहोर्‍याई पाउँन निवेदन पर्दा निस्सा प्रदान भै पुनरावेदन परिणत भई मुद्दा अगाडी वढेको पाइन्छ ।

            ९.    यसमा पुनरावेदन माग दावी वमोजिम शुरु अदालतले सन्धीसर्पन पर्ने देखि वादी दावी वमोजिम हक सफा गरी पाउने ठहराएको फैसलालाई सदर कायम गरी गरेको पुनरावेदन अदालत नेपालगंजको इन्साफ मिले नमिले तर्फ के रहेछ भनी निर्णय दिनु पर्ने हुन आयो । तसर्थ यसमा वादीले न.नं. ६ को जग्गामा हक सफा नहुने गरी रुकुम जिल्ला अदालत र पुनरावेदन अदालतले गरेको फैसला उपर वादीको कुनै पुनरावेदन नपरेबाट त्यसमा विचार गरी रहन पर्ने अवस्था आएन । न.नं. ७ को जग्गा हक सफा गर्ने गरी गरेको शुरु रुकुम जल्ला अदालतको फैसला र सो फैसला सदर गरेको पुनरावेदन अदालत नेपालगंजको फैसला उपर प्रतिवादीको पुनरावेदन फैसला हेरी सो फैसलाले वादीको पश्चिम किल्लाको एक मात्र आधारको हक सफा गरी दिने गरी फैसला भएको पाइन्छ । हक सफाको लागि वादी सन्धी सर्पन पर्ने स्पष्ट आधारमा दावी गर्नु पर्छ । सिर्फ पश्चिम किल्लाको मात्र आधारले हक सफा गर्न लेनदेन व्यवहारको ११ नं. ले नमिल्ने भएबाट सो न.नं. ७ को जग्गा वादीले हक सफा गर्ने गरी गरेको पुनरावेदन अदालत नेपालगंजको फैसला उल्टी हुने ठहर्छ । तपसिल वमोजिम गरी मिसिल नियमानुसार वुझाई दिनु ।

 

तपसिल

मथि इन्साफ खण्डमा लेखिए वमोजिम हुने ठहरेकोले पुनरावेदना अदालत नेपालगंज वाकेको मिति २०५०।१।६ को फैसलाले राखेको लगत तथा शुरु रुकुम जिल्ला अदालतको मिति २०४७।६।२१।१ को फैसला अनुसार कायम गरेको लगत समेत राख्नु नपर्ने हुँदा उक्त लगत कट्टा गर्नु भनी रुकुम जिल्ला अदालतमा लेखि पठाउनु ।

कोर्टफिको हकमा यस अदालतबाट उक्त पुनरावेदन अदालतको इन्साफ उल्टी भएकोले यस अदालत समक्ष पुनरावेदन गर्दा प्रतिवादी शशिराम खड्काले राखेको कोर्ट फि वापतको रकम रु.१।५० निज प्रतिवादीबाट फिर्ता पाउँ भनी ऐनका म्याद भित्रि दरखास्त पर्न आए कानून वमोजिम गरी भराई दिनु भनी शुरु रुकुम जिल्ला अदालतमा लेखि पठाउनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या.हरिश्चन्द्र प्रसाद उपाध्याय

 

इति संवत २०५३ साल चैत्र ११ गते रोज २ शुभम ।

                                                           

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु