शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ६४५२ - भ्रष्टाचार

भाग: ३९ साल: २०५४ महिना: माघ अंक: १०

नर्णय नं. ६४५२           ने.का.प.०५४                अङ्क १०

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री मोहन प्रसाद शर्मा

माननीय न्यायाधीश श्री राजेन्द्रराज नाख्वा

सम्वत् २०५१ सालको फौ.पु.नं. ... ११३२

फैसला मितिः २०५३।९।२।३

 

मुद्दाः भ्रष्टाचार ।

 

पुनरावेदक/प्रतिवादीः जिल्ला वांके कचनापुर गाउँ विकास समिति वडा नं. ७ टिकुलीपुर वस्ने वर्ष ४२ को खड्ग बहादुर खत्रि ।

विरुद्ध

विपक्षी/वार्दीः दल बहादुर खत्री समेतको जाहेरीले श्री ५ को सरकार ।

 

§  एकै अभियोगमा अनुसंधान अधिकारी समक्ष भएको एकै प्रतिवादीको दुई थरी परस्पर विरोधाभासयुक्त वयान मध्ये इन्कारीलाई छाडी साविती वयानलाई मात्र प्राधन्यता दिई सोही आधारमा कसुरदार ठहर्‍याउन फौजदारी न्यायको सिद्धान्त प्रतिकूल हुने हुँदा प्रतिवादी खड्ग बहादुर खत्रीलाई भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा ७(२) बमोजिम भ्रष्टाचारको कसुर गरेको ठहर्‍याई ऐजनको दफा २९(१) बमोजिम निजबाट विगो समेत असुल गर्ने ठहर्‍याएको पुनरावेदन अदालत, नेपालगन्जको फैसला मिलेको नदेखिंने ।             

(प्र.नं. ३३)

 

पुनरावेदक प्रतिवादीका तर्फबाटः विद्वान अधिवक्ता श्री मुक्ति प्रधान

विपक्षी वादीका तर्फवाटः विद्वान सरकारी अधिवक्ता श्री शंकर कुमार श्रेष्ठ

अवलम्बित नजीरः

 

फैसला

            न्या.मोहन प्रसाद शर्माः पुनरावेदन अदालत नेपालगंजका मिति २०५१।३।३० गतेका फैसला उपर प्रतिवादीको पुनरावेदन परी इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार छ ।

            २.    वांके कंचनापुर गा.पं. वडा नं. ७ टिकरीहवा वस्ने टिकुलीपुरका हामीहरुले उक्त मौजामा सुकुम्वासी परिवारलाई जग्गा वितरण हुँदा वांके वर्दिया जिल्ला वन क्षेत्र सुदृढिकरण आयोगको पक्षपात तथा गैरकानूनी निर्देशनमा सम्वन्धित गा.पं. का प्र. पंच तथा वडा अध्यक्षले हामीबाट ठगिएको रकम फिर्ता दिलाउने तथा निष्पक्ष रुपले जग्गा वितरण गर्ने एवं भ्रष्टाचारी माथि कारवाही गर्ने भनी हामीले २०४४।११।१४ र २०४४।१२।२ मा निवेदन गर्दा कुनै ठोस कारवाही नभएकाले पुनः निवेदन गरेका छौं । वडा अध्यक्ष खडग वहादुर खत्री तथा निजको सहयोगी जयराज भण्डारी, टेक वहादुर खत्री, कर्ण जैसी तथा प्र.पं. पाराश्वर पौडेल माथि कडा कारवाही गरी हामीवाट प्रतिव्यक्ति रु.५,०००। का दरले उठाएको रकम फिर्ता गरी पाउँ भन्ने समेत व्यहोराको दल वहादुर खत्री समेत जना २३ को जाहेरी दरखास्त ।  

            ३. शेर वहादुर शाही समेतले गरी दिएको मिति २०४५।८।२५ को सरजमीन मुचुल्का ।

            ४.    आयोगवाट जाहेरवालालाई ५ कठ्ठा जग्गा दिने भनी नापजाँच भई फिल्डवुक तयार भएको छ, लालपूर्जा वितरण भएको   छैन । म समेतका ४३ जनालाई १-१ विगाहका दरले र जाहेरवाला समेतका ८३ जनालाई ५ कठ्ठाको दरले जग्गा दिने निर्णय आयोगबाट भएको हो । मैले वडा नं. ७ का सुकुम्वासीहरुवाट निवेदन लिई सुकुम्वासी हुन भनी प्रमाणित गरी पंचायतमा पेश गरेपछि प्र.पं. ले सवै वडाका निवेदन जम्मा गरी सिफारीस साथ आयोगमा पठाएका थियौं । अरु सल्लाह केही गरेको छैन । नुवाकोटका २८ जना व्यक्तिको नाम मैले सिफारीस गरेको  होईन । सरजमीन मुचुल्कामा मैले रु.५०००। का दरले लिए खाएको भनी उल्लेख गरेको ठिक हो । सरजमीनले किन मलाई रकम खायो भनि सरजमीन गरी दिए मैले रकम खाएको छैन । शेर वहादुरले रिसइवीले मैले रु.५०००। का दरले उठाएको भनी भनेका हुन । आफ्नो र छोरा समेतको नामबाट १-१ विगाहा जग्गा लिएको सम्म गल्ती हो भन्ने समेत व्यहोराको प्रतिवादी खडग वहादुर खत्रीले विशेष प्रहरी विभाग, डोर मुकाम नेपालगंजमा गरेको वयान ।

            ५.    आयोगको जग्गा वितरण सम्वन्धी समेतका कार्यमा गा.पं. का प्रधान पंचहरुको कुनै संलग्नता र सहभागिता भएको थिएन र छैन । अधिकारै नभएको व्यक्तिले जग्गा दिलाउँछ भन्ने कुरा गर्यो भन्ने समेत विश्वास नपर्ने कुरो हो । मेरो स्वच्छ राजनैतिक चरित्र हत्या गर्ने उद्देश्यले चेत बहादुर थापा समेतले झूठ्ठा आरोप लगाएका हुन मैले कुनै रकम उठाएको जानकारी समेत पाएको छैन भन्ने समेत व्यहोराको पाराश्वर पौडेलले भेरी अंचलाधीश कार्यालयमा गरेको वयान ।

            ६. आयोगको शाखा अधिकृत ध्रुर्व विक्रमले रु.५०००। दिने व्यक्तिलाई एक विगाहा जग्गा मिलाई दिन्छु भनि भनेकाले वडा नं. ७ का विभिन्न सुकुम्वासीहरुबाट उठाई निज शाखा अधिकृतलाई रु.२,४६,०००।- दिएका हुँ । मैले कुनै रकम खाएको छैन र म र छोरालाई १-१ विगाहा जग्गा सम्म मिलाई दिएको हो सो कार्यमा प्रधानपंचको कुनै हात थिएन भन्ने समेत व्यहोराको प्रतिवादी खड्ग वहादुर खत्रीले जिल्ला प्रशासन कार्यालय, वांकेमा गरेको वयान ।

            ७. कचंनापुरको टोलीमा मलाई पनि समावेश गरिएको थियो । हामीलाई लगत लिंदा केवल पंचायतको सिफारीस लिनु र ती व्यक्तिहरु त्यहाँभए नभएको हेर्नु भनि आदेश थियो । १५१ जनाको नामावली आयोगमा पेश गर्‍यो आयोगले पंचायतको सिफारीसको आधारमा वा अन्य कारण हो एक विगाहा र ५ कठ्ठाको वर्गिकरण गर्‍यो मलाई थाहा छैन । मैले कतैवाट पैसा उठाएको छैन । वडा अध्यक्ष सँगको रिसइविको कारणले निजले मलाई पोलेको हो भन्ने समेत व्यहोराको धूर्व विक्रम शाहले जिल्ला प्रशासन कार्यालय, वांकेमा गरेको वयान कागज ।

            ८. प्रतिवादी खड्ग वहादुर खत्रीले सुकुम्वासीहरुलाई जग्गा दिलाई दिन्छु भनि जनतावाट  ,४६,०००। उठाएकोमा पूर्ण सावित रहेको र धूर्व विक्रम इन्कार भएता पनि निजको सिफारीसमा समितिमा रही केही व्यक्तिलाई एक विगाहा र केहीलाई ५ कठ्ठाका दरले जग्गा दिन लिखित रुपमा राय व्यक्त गरेकोबाट निजको मिलोमतोबाट रकम खाएको देखिएको र अन्य व्यक्ति फेला नपरेकोले प्रतिवादी ध्रुर्व विक्रम शाह उपर भ्र. नि. ऐन, २०१७ को दफा ७(१) वमोजिम र प्रतिवादी खड्ग वहादुर खत्री उपर ऐजनको दफा ७(२) वमोजिम कारवाही र संजाय हुन सो कसुरसँग सम्वन्धित हाल फेला नपरेका जयराज भण्डारी, टेक वहादुर खत्री र कर्ण जैसी उपर ऐ.को दफा ८ वमोजिम संजाय हुन अनुरोध गरिन्छ भन्ने समेत व्यहोराको प्रतिवेदन दावी ।

            ९. नाम नजानेको विशेष प्रहरी अधिकृतले मलाई करेण्ट लगाई यो व्यहोरा लेख भनि वोली टिपाए वमोजिम वयान लेखेको हुँ । उजुरवाला सहितका ५०० जनाको भिडले मलाई घेरी राखेको र कुटपिट गर्ने धम्की दिएको हुँदा जिल्ला प्रशासन कार्याल, वांके मा लेखी राखेको कागजमा मैले व्यहोरा सुन्दै नसुनी सहीछाप गरी दिएको हुँ । मैले रुपैया उठाउने लगायतको कुनै कसुर गरेको छैन । दावी अभियोगबाट फुर्सद पाउँ भन्ने समेत व्यहोराको प्रतिवादी खड्ग वहादुर खत्रीले तत्कालिन भेरी अन्चल अदालतमा गरेको वयान ।

            १०. मैले खडग वहादुरलाई रुपैया उठाउन भनेको र रुपैया लिएको पनि छैन । निजले रिसईविले झूठा पोल वयान गरेको हो भन्ने समेत व्यहोराको प्रतिवादी ध्रुर्व विक्रम शाहले तत्कालिन भेरी अन्चल अदालतमा गरेको वयान ।

            ११. मैले जग्गा दिलाई दिउँला भनि कसैसँग मिलोमतो गरी सुकुम्वासीसँग रुपैया उठाएको होइन छैन । म खड्ग वहादुरको साथमा गई आयोगका शाखा अधिकृतलाई पैसा दिएको समेत कुनै कुरा होईन, प्रतिवादी खड्ग वहादुरले डर त्रासमा परी त्यस्तो कागज गरेको हुनु पर्छ । मैले कसुर गरेको नहुँदा दावीबाट फुर्सद पाउँ भन्ने मसेत व्यहोराको प्रतिवादी कर्ण जैसीले तत्कालिन भेरी अन्चल अदालतमा गरेको वयान ।

            १२. मैले खडग वहादुरयंग मिली पैसा उठाई आयोगका शाखा अधिकृतलाई दिएको समेत कुनै कुरा होईन । मैले आयोगबाट एक विगाहा जग्गा पाएको र जाहेरवालाहरुले ५(५ कठ्ठामात्र पाएकोले आयोगसँग मिलोमतो गरी मैले वढी जग्गा पाएको भन्ने शंका गरी मलाई समेत दोषारोपण गरी जाहेरी दिएका  हुन । प्रतिवादी खडग वहादुरले डर त्रासमा परी वयान गरेका हुन । मैले कसुर नगरेको हुँदा दावी अभियोगबाट सफाइ पाउँ भन्ने समेतको प्रतिवादी टेक वहादुर खत्रीले तत्कालिन भेरी अन्चल अदालतमा गरेको वयान ।

            १३. मैले रुपैया उठाएको र खड्ग वहादुरका साथमा गई आयोगका शाखा अधिकृतलाई वुझाएको समेत केही होइन । मैले वढी जग्गा पाएको जरियाबाट जाहेरवालाहरुले म उपर पोल गरी जाहेरी दिएका हुन । मैले कसुर गरेको नहुँदा दावीबाट रिहाई पाउँ भन्ने समेत व्यहोराको प्रतिवादी जयराज भण्डारीले तत्कालिन भेरी अन्चल अदालतमा गरेको  वयान ।

            १४. गते वारको संझना भएन । २०४४ साल  पौष महिनामा तत्कालिन प्रधान पंच पाराश्वर पौडेलले एक विगाहा जग्गा पाउनेबाट रु.५०००।- उठाउनु भनेकाले मेरो श्रीमानले तत्कालिन वडा अध्यक्ष खड्ग वहादुरलाई दिनु भएको थियो भन्ने समेत व्यहोराको सरजमीनको मानिस विष्णु कुमारी चन्दको वकपत्र ।

            १५. २०४४ लसाल पौष १०-१२ गते तिर तपाईहरुले रु.५०००।- का दरले पैसा दिनु होस जग्गा दिलाई दिन सिफारीस गरी दिनेछौं भनि प्रधान पंच पारश्वरले भनेकाले ऐजन १४ गते खड्ग वहादुर, टेक वहादुर, जयराज, कर्णजैसी समेतलाई रुपैया दिएको हुँ भन्ने समेत व्यहोराको जाहेरवाला दल वहादुर खत्रीको वकपत्र ।

            १६. गते याद छैन २०४४ साल पौष महिना हो प्रधान पंच पराश्वर हाम्रो गाउँमा आई राजश्व लाग्दैन १-१ विगाहा जग्गा गराई दिन्छु । ५०००। रुपैयाका दरले वडा अध्यक्षलाई दिनुहोस भनेकाले मैले रु. ५०००।- वडा अध्यक्ष खडग वहादुरलाई दिएको हुँ । मैले ५ कठ्ठा जग्गा पाएं । रुपैया फिर्ता पाएको छैन भन्ने समेत व्यहोराको जाहेरवाला शेर वहादुर शाहीको वकपत्र ।

            १७. मिति २०४४।९।११ गते प्रधान पंच पाराश्वर हाम्रो गाउँमा आई १-१ विगाहा जग्गाको सिफारीस मवाट हुन्छ । ५-५ हजार रुपैया खड्ग वहादुरलाई वुझाउनु होस, नवुझाए सिफरीस हुँदैन भनेर गएका ऐ. १४ गते मैले रु.५०००।- खडग वहादुरलाई बुझाएको हुँ भन्ने समेत व्यहोराको जाहेरवाला अम्वर वहादुर खत्रीको वकपत्र ।

            १८.   प्रधान पंचले भने अनुसार मिति २०४४।९।१४ गते रु.५०००।- खड्ग वहादुरलाई दिएको हुँ । एक विगाहा दिने  भनि पैसा लिएकोमा मैले ५ कठ्ठा मात्र  पाएको हुँ भन्ने समेत व्यहोराको जाहेरवाला परवीर खत्रीले गरेको वकपत्र ।

            १९. २०४४ साल पौष १०-१२ दश र वाह्र गतेतिर प्रधान पंच पाराश्वरले सवैलाई जम्मा गरी तपाईहरुले ५-५ हजार रुपैया दिनुहोस । १-१ विगाहा जग्गा पाउनु हुन्छ । पैसा वडा अध्यक्ष खड्ग वहादुरलाई दिनु भनि गएकोले ऐ. १६ १७ गते तिर रु.५०००।- लगी प्रतिवादी खड्ग वहादुरलार्इ दिएको हुँ भन्ने समेत व्यहोराको जाहेरवाला मान वहादुर खत्रीको वकपत्र ।

            २०.   पछि राजश्व लाग्दैन, तपाईहर ५-५ हजार रुपैया वडा अध्यक्षलाई दिनुहोस । १-१ विगाहा जग्गाको सिफारीस गरी दिन्छौ भनि प्रधान पंचले भनेकाले प्रतिवादी खडग वहादुरलाइृ रु.५०००।- दिएको हुँ भन्ने समेत व्यहोराको जाहेरवाला दलवीर खत्रीको र करिव सोही मिलानको जाहेरवालाहरु शेर वहादुर खत्री, सर्जन शाही, लखीराम खत्री, लिल वहादुर चन्द समेतको वकपत्र ।

            २१.   रु.५०००। खडग वहादुरलाई दिएको थिएं । जग्गा वापत दिएको हो । निजले राजश्व लाग्दैन एक विगाहा जग्गा पाईन्छ भनेका थिए पछि ५ कठ्ठा मात्र पाएं भन्ने समेत व्यहोराको जाहेरवाला मन बहादुर खत्रीको वकपत्र ।

            २२.   मिति २०४४।९।१२ गते प्रधान पंच पाराश्वर पौडेल हाम्रो गाउँमा आई सवैलाई वोलाई जम्मा गरी तपाईहरुले १-१ विगाहा जग्गा पाउनु हुन्छ । खड्ग बहादुर खत्रीलाई ५-५ हजार रुपैया जम्मा गर्नु होस भनेकाले खड्ग बहादुरलाई रु.५०००। वुझाएको हुँ । एक विगाहाको लागि पैसा वुझाएकोले ५ कठ्ठा मात्र पाऐका छु भन्ने समेत व्यहोराको जाहेरवाला दण्ड वीर खत्रीको र करिव सोही मिलानको जाहेरवालाहरु रेवती सुनार, कृष्ण बहादुर विष्ठ, नैन सिंह खत्री, नर बहादुर खत्री, कर्ण वीर खत्री, गुरु दिन नाउ, रतु खत्रीको वकपत्र ।

            २३.   मिति २०४४।९।११ गते पारीश्वर पौडेल मेरो गाउँमा आई गाउँका व्यक्तिहरुलाई जम्मा गरी नापी हुन अघि नै प्रति व्यक्त रु.५०००। का दरले उठाउनु पर्छ पछ राजश्व लाग्दैन रुपैया दिदैनो भने डांका वोकि भाग्नु पर्छ भनेकाले प्रति व्यक्ति रु.५०००। दिएका हुन । पैसा उठाउन खड्ग बहादुर टेक बहादुर जयराम कर्ण जैशीले १३ गते शुरु गरी १६ गते समाप्त गर्नुभो । निर्णय अनुसार पूरानो वासिन्दा ७१ परिवारलाई १-१ विगाहा र ८३ परिवारबाट ५ कट्टा दिने भन्ने थिाये जाहेरवाला पूराना वासिन्दा भएको १-१ विगाहा पाउनु पर्नेमा नपाई ५ कठ्ठाका दरले मात्र पाए भन्ने समेत व्यहोराको सरजमिनका मासिस बहादुर खत्रीले गरेको वकपत्र ।

            २४.   खड्ग बहादुरले पैसा उठायो उठाएन थाहा छैन प्रतिवादी ध्रुव विक्रमले पैसा उठाएको छैन भन्ने समेत व्यहोराको प्रतिवादी ध्रुव विक्रमको साक्षि साधुशरण शुक्लाको वकपत्र ।

            २५.   अंचलाधीश कार्यालयमा पहिले देखि लेखि राखेको कागजमा नपढी नसुनाई खड्ग बहादुरको सही गराएका थिए । चुनाव सम्वन्धी रिसइविले आरोप लगाएका हुन भन्ने खड्ग बहादुरको साक्षि नैनसिंह खड्काको वकपत्र ।

            २६.   त्यसवेला म ध्रुवराजको घरमा वसेको थिएं । सो समयमा खड्ग बहादुरलाई कहिले देखिन, ध्रुव विक्रमको चालचलन राम्रो छ । निज भ्रष्टाचार गर्ने मानिस होइनन् भन्ने समेत व्यहोराको प्रतिवादी ध्रुव विक्रमको साक्षि शंकर बहादुर शाहको वकपत्र ।

            २७.   प्रतिवादीहरु राम्रो चाल चलनका मानिसहरु हुँदा निजहरुले रकम उठाई भ्रष्टाचार गरेका होइनन् । रिसइविले उजुर गरेका हुन भन्ने समेत करिव एकै मिलानको प्रतिवादी टेक बहादुर समेतका साक्षि गंगाराम रोका, शेर बहादुर विष्टले गरेको वकपत्र ।

            २८.   प्रतिवादी खड्ग बहादुर खत्रीले हामी समेतबाट जनही ५०००। लिई प्रत्येकलाई एक एक विगाहा जग्गा दिलाई दिने भनी दल बहादुर खत्री समेतको जाहेरी व्यहोरालाई समर्थन गरी अदालतमा वकपत्र गरेका, अधिकार प्राप्त अधिकारी विशेष प्रहरी अधिकृत समक्ष कागज गर्दा जग्गा दिलाई दिने शर्तमा विभिन्न व्यक्तिबाट जनही रु.५०००। उठाई शाखा अधिकृत ध्रुव विक्रम शाहलाई दिएको कुरा स्वीकार गरेका र आफूहरु समेतबाट रकम उठाई लिए खाएको भनी सरजमिन व्यहोरालाई सरजमिनका नन्दकली समेतका व्यक्तिहरुको वकपत्रबाट समर्थित भएको देखिंदा वादी दावी वमोजिम तत्काल राष्ट्र सेवक रुपमा कार्यरत व्यक्ति खड्ग बहादुर खत्रीले विभिन्न २६ जना व्यक्तिहरुबाट रु.५०००। का दरले रु.१,३०,०००। उठाई गैरकानूनी रुपमा लाभ लिई भ्रष्टाचार गरेको देखिन आएकोले निजलाई भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा ७(२) को कसुरमा विगो वमोजिम जरिवाना र विगो समेत असुल गर्ने ठहर्छ भन्ने समेतको पुनरावेदन अदालत नेपालगंजको मिति २०५१।३।३० गतेको फैसला ।

            २९.   अधिकार प्राप्त अधिकारी समक्ष पहिलो पटकको इन्कारी वयान भएपछि करिव १.१/२ वर्ष पछि शारीरिक यातना दिई साविति वयान गराइएको अवस्थामा परस्पर वाझिएका वयान मध्ये कुनै एकलाई आधार ग्रहण गरी मलाई कसुरदार ठहराएको पुनरावेदन अदालत नेपालगंजको फैसला त्रुटी पूर्ण हुँदा वदर गरी अभियोग दावीबाट सफाई पाउँ भन्ने समेत प्रतिवादी खड्ग बहादुर खत्रीको यस अदालतमा परेको पुनरावेदन पत्र ।

            ३०.   यसमा पुनरावेदक प्रतिवादीलाई वादी दावी वमोजिमको रकम दिएको र निजले लिएको भन्ने पुष्टि गर्न सक्ने प्रत्यक्ष प्रमाणको अभाव हुनुको साथै निजबाट रुपैया वरामद भएको समेत पाइएन । उक्त रुपैया लिएको छैन भनी पुनरावेदक अदालतमा इन्कार रहेको समेत देखियो । यस्तो अवस्थामा भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा ७(२) को कसुर ठहर्‍याई विगो समेत असुल गर्ने गरेको पुनरावेदन अदालत नेपालगंजको इन्साफ फरक पर्ने देखिंदा अ.वं. २०२ नं. तथा स.अ. नियमावली, २०४९ को वमोजिम छलफलको लागि उपस्थित हुन महान्यायाधिवक्ताको कार्यालयलाई सूचना पठाई नियम अनुसार पेश गर्नु भन्ने यस अदालत संयुक्त इजलासबाट भएको मिति २०५२।७।१३ गतेको आदेश ।

            ३१.   नियम वमोजिम दैनिक पेशी सूचीमा चढी इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादी तर्फका विद्वान अधिवक्ता श्री मुक्ति प्रधानले विशेष प्रहरीले पहिलो पटक इन्कार रही वयान गरेको मेरो पक्षलाई वर्षो पछि पुनः बयान गराई सावित गराउन मिल्ने होइन, अ.वं १३३ नं. को व्यवस्था अनुसंधानकर्ताले प्रयोग गर्न पाउने पनि होइन । परस्पर विरोधि वयान मध्ये ईन्कारीलाई छाडी सावितिलाई मात्र आधार ग्रहण गरी मेरो पक्षलाई भ्रष्टाचारको कसुरमा ठहर गरेको पुनरावेदन अदालत, नेपालगंजको फैसला नमिलेकोले उल्टी भइ मेरो पक्षले सफाई पाउनु पर्छ भन्ने र वादी श्री ५ को सरकारतर्फबाट खटि आउनु भएका विद्वान सरकारी अधिवक्ता श्री शंकर कुमार श्रेष्ठले अभियोग लागि अनुसंधानको सिलसिलामा प्रतिवादी तारिखमा रही रहेकै अवस्थामा छुट वयान सम्म लिने काम भएको छ त्यस्तोलाई ततिम्वा भन्न सकिन्न । पुनरावेदकले रकम लिई खाएको होइन भन्न नसकि २३ जनाका जाहेरी परेकोलाई कसरी २६ जनाबाट खाएको भनि पुनरावेदन अदालतको फैसलामा उल्लेख भयो भन्दै जाहेरवालको संस्थामा मात्र पुनरावेदन जिकिर लिएकोतर अपराध गरेमा अन्यथा भन्न नसकेको अवस्थामा निजलाई कसुदार कायम गरेको पुनरावेदन अदालत, नेपालगंजको फैसला मिलेकै हुनाले सदर हुनु पर्छ भनि आ अफ्नो वहस प्रस्तुत गर्नु भयो ।   

            ३२.   विद्वान अधिवक्ताहरुको उपरोक्त वहस जिकिरलाई मध्यनजर राख्दै पुनरावेदन सहितको मिसिल कागजात अध्ययन गरि पुनरावेदकलाई भ्रष्टाचार विारण ऐन, २०१७ को दफा ७(२) बमोजिम कसुरदार ठहर्‍याएको पुनरावेदन अदालत, नेपालगंजको फैसला  मिलेको  छ छैन सो विषयमा निर्णय दिनु पर्ने हुन आयो ।

            ३३.   जिल्ला वाके कचनपुर गा.पं. वडा नं. ७ का पिडित व्यक्तिहरुले  सुकुम्वासी परिवारलाई जग्गा वितरण हुँदा प्रधान पंच पाराश्वर पौडेल, वडा अध्यक्ष खड्ग बहादुर खत्रीबाट हामीबाट ठगिएको रकम फिर्ता दिलाउने तथा निष्पक्ष रुपले जग्गा वितरण गर्ने एवं भ्रष्टाचारी शोषक ठग तथा पदको दुरुपयोग गरी हामीहरु माथि अन्याय गरि रहेका उक्त व्यक्तिहरु माथि कानूनी कारवाही गर्ने आशयले हामीले मिति २०४४।११।१५ र २०४४।१२।३ गतेमा निवेदन गर्दा केहि ठोस कारवाही नभएको वडा अध्यक्ष खड्ग बहादुर खत्री तथा निजको सहयोगी जयराज भण्डारी, टेक बहादुर खत्री, कर्ण जैशी तथा प्रधान पंच पाराश्वर पौडेल माथि कडा कारवाही गरि हामीबाट प्रतिव्यक्ति रु.५०००। का दरले उठाएको रकम फिर्ता दिलाउने व्यवस्था होस भन्ने  दल बहादुर खत्री समेतका २३ जना व्यक्तिहरुले विशेष प्रहरी विभाग, सिंह दरवारमा मिति २०४५।२।३ मा दिएको  जाहेरीबाट प्रस्तुत मुद्दाको उठान भएको पाइन्छ । उक्त मुद्दाको कारवाहीको क्रममा निज प्रतिवादीले विशेष प्रहरी विभाग डोर मुकाम वांके नेपालगंजमा २०४५।८।२७ मा प्रथम पटक र २०४५।८।२८ मा ततिम्वा आफ्नो हातले लेखि गरेको वयानमा मैले कोही कसैसँग  रकम उठाई खाएको छैन भनि इन्कारी जिकिर लिएको देखिन आएको छ सोही मिति अर्थात मिति २०४५।८।२७ बाट प्रतिवादी विशेष प्रहरी विभाग डोरमा तारिखमा रहेको अवस्थामा विशेष प्रहरी विभागको मिति २०४५।११।२९ गतेको पत्रले प्रस्तुत मुद्दाको मिसिल भेरी अंचलाधीश कार्यालय, नेपालगंजमा पठाए पछि जिल्ला प्रशासन कार्यालय वांकेबाट मिति २०४७।२।२४ मा प्रतिवादी खड्ग बहादुर खत्रीको पुनः वयान गराइएको पाइन्छ । उक्त वयानबाट निज प्रतिवादीले ध्रुव विक्रम शाहबाट रु.५०००। दिने व्यक्तिलाई १-०-० विगाहा जग्गा मिलाई दिन्छु भनी भनेकोले निवदकहरु भेला जम्मा भई वडा नं. ७ बाट सवै जना मिली जम्मा रु.२,२९०००। उठाई शाखा अधिकृत ध्रुव विक्रम शाहलाई दिएको हो भनि रकम उठाई लिएको कुरामा सावित भएको देखिन आएको छ ।  मिति २०४७।५।२६ गतेका दिन भेरी अञ्चल अदालतमा आई प्रतिवादी खड्ग बहादुर खत्रीले वयान गर्दा मिति २०४७।२।२४ गतेको विशेष प्रहरी विभागको वयानलाई गाउँकै उजुरवाला समेतका मानिसहरुले पक्राउ गरि वाटोमा मारपिट गर्दै भेरी अंचलाधीश कार्यालयमा वुझाएर मिति २०४७।२।४ गतेसम्म थुनी राखी उक्त २४ गनेका दिन उजुरवाला समेतको लगभग ५०० जनाको भिडमा मलाई जिल्ला पशासन कार्यालय, वांकेमा लगेपछि सो कार्यलयका नचिनेका कर्मचारीले यो कागजमा सहीछाप गर्नु होस भनि लेखि राखेको कागज ल्याउँदा त्यस बखत मलाई ५०० जति मानिसहरुले घेरा दिई राखेका र कुटपिट गर्ने धम्की समेत दिई रहेका हुँदा डरको मारे सो लेखि राखेको कागजको व्यहोरा मैले सुन्दै नसुनि आफनो हातले लेखात्मक सहीछाप गरि दिएको हुँ भनि वयान दावी लिएको देखिन्छ । यसरी उपरोक्त उल्लेख गरिए बमोजिम यी पुनरावेदक प्रतिवादीलाई प्रस्तुत मुद्दाकै अभियोग विषयमा प्रथम पटक विशेष प्रहरी डोरले  २०४५।८।२७ र २८ गतेमा गराएको वयानमा आफूले रकम उठाई लिई खाएको कुरामा ईन्कार रही आफ्नै हस्ताक्षरले वयान लेखि एक पटक वयान पूर्ण भई सकेको अवस्थामा त्यसपछि ततिम्वा नगराई करिव १.१र२  वर्ष पछि पुनः जिल्ला प्रशासन कार्यालय, वांकेको कर्मचारीको हस्ताक्षरबाट  मिति २०४७।२।२४ मा गराएको वयानमा निवेदकहरुबाट रकम उठाई लिएको भन्ने व्यहोरा उल्लेख गरेको देखिंदा अनुसंधान अधिकारी समक्ष प्रतिवादीको परस्पर विरोधि अलग अलग वयान गराएको अवस्था रहेको स्पष्ट हुन आयो । अनुसन्धान अधिकारी समक्ष भएका उपरोक्त दुई थरी वयान मध्ये पछिल्लो वयान आफ्नो स्वेच्छाले नभएको भनि प्रतिवादीले अदालतमा वयान गरेको पाइएबाट पहिले आफ्नै हस्ताक्षरले लेखि अभियोगमा इन्कार रहने प्रतिवादीलाई पछि फेरी कार्यालयका कर्मचारीले लेखि वयान गराई साविति गराएको पाइएकोले पछिल्लो वयान ५०० जना मानिसको घेरा वीच लेखि राखेको कागजमा सहीछाप गराएको भनि प्रतिवादीले अदालतमा गरको वयान नै सत्यताको नगिच पुगेको आभास मिल्दछ । साथै प्रतिवादीले रकम लिए खाएको  भन्ने ठोस तथा प्रत्यक्ष प्रमाणबाट पुष्टि भएको छैन वस्तुतः एकै अभियोगमा अनुसंधान अधिकारी समक्ष भएको एकै प्रतिवादीको दुई थरी परस्पर विरोधमा संयुक्त वयान मध्ये ईन्कारीलाई छाडी साविति वयानलाई मात्र प्राधन्यता दिई सोही आधारमा कसुरदार ठहर्‍याउन फौज्दारी न्यायको सिद्धान्त प्रतिकूल हुने हुँदा प्रतिवादी खड्ग बहादुर खत्रीलाई भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा ७(२) बमोजिम भ्रष्टाचारको कसुर गरेको ठहर्‍याई ऐजनको दफा २९(१) बमोजिम  निजबाट विगो समेत असुल गर्ने ठहर्‍याएको  पुनरावेदन अदालत, नेपालगंजको फैसला मिलेको नदेखिएकोले सो फैसला उल्टी भई पुनरावेदक प्रतिवादी खड्ग बहादुर खत्रीले अभियोग दावीबाट सफाई पाउने ठहर्छ । अरु तपसिल बमोजिम गर्नु ।

तपसिल

पुनरावेदक प्रतिवादी खड्ग बहादुर खत्री के माथि ठहर खण्डमा लेखिए बमोजिम निजले अधियोग दावीबाट सफाई पाउने ठहरेकाले पुनरावदेन अदालत, नेपालगंजका मिति २०५।३।३० को फैसलाले निजलाई गर्ने गरेको देहाय बमोजिमको जरिवाना र विगोको लगत कायम राख्न पर्दैन, व्यहोरा जनाई कट्टा गरि दिनु भनि पुनरावेदन अदालत, नेपालगंज मार्फत शुरु वांके जिल्ला अदालतमा लेखि पठाई दिनु ... 

१.     प्रतिवादी खड्ग बहादुर खत्रीलाई लागेको जरिवाना रु.१,३००००। एकलाख तीस हजार ।

२.    प्रतिवादी खड्ग बहादुर खत्रीबाट दल बहादुर खत्री समेतका २६ जना मानिसहरुलाई जनही रु.५०००। का दरले भराई दिने गरेका विगो जम्मा रु.१,३०,०००। को लगत ।

 

पुनरावेदक प्रतिवादी खड्ग बहादुर खत्री के माथि  ठहर खण्डामा लेखिए बमोजिम निजले अभियोग दावीबाट सफाई पाउने ठहरेकाले निजले पुनरावेदन अदालत, नेपालगंज मार्फत यस अदालतमा पुनरावेदन गर्दा  उक्त जरिवाना वापत जेथा जमानिमा राखेका प्रमोद कुमार पौडेलको नामको विनौना ४(ख) कि.नं. ७२, ७३, ७५, ७७, ७८, ९५ र १०६ का जग्गाहरु पुनरावेदन अदालत, नेपालगंजका च.नं. २१६३ मिति २०५१।७।२७ का पत्रले रोक्का रहेको देखिंदा सो जग्गाहरु फुकुवा गरि दिनु भनि पुनरावेदन अदालत, नेपालगंजमा लेखि पठाई दिनु ..... २

इन्साफ उल्टीमा पुनरावेदन अदालत, नेपालगंजका तत्कालिन मुख्य न्यायाधीश श्री भैरव प्रसाद लम्सालको रकर्ड राख्न सम्वन्धित शाखामा लेखि पठाई दिनु ....    

मिसिल नियम बमोजि गरी वुझाई दिनु ... 

 

उक्त रायमा मेरो सहमत छ ।

 

न्या.राजेन्द्रराज नाख्वा

 

इति सम्वत २०५३ साल पौष २ गते रोज ३ शुभम्......।

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु