निर्णय नं. ६४५३ - लेनदेन

नि.नं. ६४५३ ने.का.प.०५४ अङ्क १०
संयुक्त इजलास
माननीय न्यायाधीश श्री केशव प्रसाद उपाध्याय
माननीय न्यायाधीश श्री इन्द्रराज पाण्डे
सम्वत् २०५२ सालको दे.पु.नं. ...३२३८
फैसला मितिः २०५४।३।१०।३
मुद्दाः लेनदेन ।
पुनरावेदक/प्रतिवादीः रौतहट जिल्ला तत्कालिन गौददौल गाउँ पंचायत वडा नं. ७ हाल गौददौल गाउँ किवास समति वडा नं. ७ अजगैवी वस्ने विधिचन शाह कलवार
विरुद्ध
विपक्षी/वादी रौतहट जिल्ला तत्कालिन इनर्वा वडा नं. ५ हाल इजर्वा गाउँ विकास समति वडा नं. ५ वस्ने विकाउ साह कलवार
§ प्रतिवादीले रु.८१,६७३। कर्जा लिई आफ्नो नाम दर्ताको जग्गा २०३४ सालको वाली देखि फार्छे राजीनामाको कागज २०३४।१२।१८ मा गरी दिनु भएकोमा राजिनामा पास नगरी दिएकाले कपाली हुन गई लिखत वमोजिम सावा र व्याज समेत नदिएकोले सावां र व्याज भराई पाउ भन्ने मुख्य दावी देखियो । विवादित लिखतलाई प्रतिवादीले रु.२७,६७३। को लिखत भएको अंक महिना र थैली रकम समेत सच्याइएको भनि अ.वं. ७८ नं. वमोजिम वयान गरेको पाइयो । उक्त लिखत विशेषज्ञलाई जचाउँदा एक विशेषज्ञवाट लिखतमा तरल पदार्थ परेकोले जाँच गर्न नसकिने भन्ने र अर्को विशेषज्ञले लिखतमा अंक अक्षर मेटाई मसी कलमले लेखेको भन्ने उल्लेख भई दुवै विशेषज्ञको राय फरक फरक किसिमको देखिन्छ । लिखतको कुनै कुनै स्थानमा तरल पदार्थ पोखिएको कारण अलि उडेकोले साविक लेखाइमा फरक मसी देखिन्छ । लिखतको अधिकांश अक्षरहरुमा प्वाल परेको देखिएपनि समस्त लिखतको प्रकृति हेर्दा लिखतलाई जालसाजी किर्ते भन्न सकिने अवस्था देखिदैन । विवादित लिखत जग्गा पास गरी दिन थैली खुलाई रजिष्ट्रेशनको ६ नं. वमोजिम भएकोमा सो पारित हुन नसकी कपालीमा परिणत भएको हुँदा लेनदेन व्यवहारको २ नं. अनुसार १० वर्षको हदम्याद हुने हुँदा वादीको फिराद हदम्याद भित्रकै देखिन्छ । वादीले फिरादमा व्याज समेतको दावी लिएकोले व्याज भरी पाउने हो होइन भन्ने तर्फ विचार गर्दा रजिष्ट्रेशन गराउनु पर्ने घरसारको पास हुन नसकेको लिखतका सम्वन्धमा रजिष्ट्रेशनको ६ नं. मा लिखत वमोजिमको सम्पत्ति भोग गर्न नपाएकोमा भोग गर्न नपाए जतिको काुनन वमोजिमको व्याज समेत साहुले कपाली सरह भराई लिन पाउँछ भन्ने कानूनी व्यवस्था देखिन्छ । विवादित फार्छे राजीनामामा लेखिएको जग्गा वादीले भोग गरेको छ भन्ने प्रतिवादीको जिकिर समेत नभएको अवस्थामा व्याज लिने दिने कुरा लिखतमा उल्लेख नभएपनि रजिष्ट्रेशनको ६ नं. मा उल्लेखित व्यवस्थावाट वादीले प्रतिवादीवाट वादी दावा वमोजिमको सांवा (थैली) र कानून वमोजिमको व्याज समेत पाउने देखिन्छ । तसर्थ वादीले प्रतिवादीवाट सांवा रु.८१,६७३। र दश वर्ष सम्मको सयकडा १०% ले व्याज समेत पाउने ठहर्याएको पुनरावेदन अदालत हेटौडाको इन्साफ मिलेकै देखिने ।
(प्र.नं. १४)
पुनरावेदक प्रतिवादी तर्फबाटः विद्वान अधिवक्ता श्री खगेन्द्र प्रसाद अधिकारी
विपक्षी वादी तर्फबाटः
अवलम्वित नजिरः
फैसला
न्या.केशव प्रसाद उपाध्यायः पुनरावेदन अदालत हेटौडाको फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ग) वमोजिम वादीको पुनरावेदन परी पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार छः
२. विपक्षीले म सँग रु.८१,६७३। कर्जा लि आफ्ना नाम दर्ता भोगको जि.रो.गा.वि.स. गोगदोला जग्गा २(१६(१३ मिति २०३४ सालको वाली देखि निजको आफ्नो भाइ श्रीचन र भतिजा मदन शाह समेतलाई साक्षि राखी फार्छे राजिनामाको कागज मिति २०३४।१२।१८ मा लेखि दिनु भएकोमा राजिनामा पारीत गरी नदिएकोले कपाली हुन गएकोले लिखत वमोजिमको सांवा र व्याज समेत विपक्षीसँग माग्दा नदिएकोले सांवा रु.८१,६७३। र आज सम्मको हुने व्याज रु.७८,९२५। समेत विपक्षीबाट दिलाई भराई पाउँ भन्ने फिराद पत्र ।
३. दावी वमोजिम मैले आफ्नो नाम दर्ताको २-१६-३ जग्गा विक्री गरी कुनै फार्छे लिखत गरी दिएको छैन र वादीसँग त्यस्तो ठुलो रकम लिनु पनि मलाई आवश्यक छैन मेरो परिवारको भाइ भतिजासँग अंशवण्डा सम्वन्धी झगडा भई पंचायतको प्रमुख व्यक्तिको नाममा रु.२७,६७३। थैली राखेको र मेरो नामको २-१६-१३ जग्गाको एउटा फार्छे कागज गरी दिएको थिए । वादीलाई कुनै कागज गरि दिएको नहुँदा सक्कल तमसुक झिकाई हेर्न पाएको वखत वयान गर्ने छु भन्ने प्रतिउत्तर पत्र ।
४. वादीको लिखत नै अस्पष्ट एवं कानून विपरित भएकोले त्यस्तो लिखतलाई प्रमाणमा लिइ सो को आधारमा इन्साफ दिन मिलेन अ.वं. १८० नं. वमोजिम फिराद खारेज हुन्छ भन्ने मिति २०४६।३।२० को रौतहट जिल्ला अदालतको फैसला ।
५. फैसलामा चित्त वुझेन वादी दावी वमोजिम ठहर फैसला गरी पाउँ भन्ने वादीको पुनरावेदन पत्र ।
६. यसमा लिखतको अन्तर साक्षिहरुलाई वुझ्दै नवुझि इन्साफ भएकोले छलफलमा अ.वं. २०२ नं. वमोजिम झिकाउने तथा लिखतका अन्तर साक्षिहरुलाई कानून वमोजिम म्याद पठाई झिकाइ वुझी नियमानुसार पेश गर्नु भन्ने मिति २०४७।२।२६ गतेको नारायणी अञ्चल अदालतको आदेश ।
७. लिखतको अन्तर साक्षिमा भएको सही मेरो हो तर रुपैया लिनु दिनु भइ लिखत गरेको होइन । २०३४ साल वैशाखमा रु.२७,६७३। को धनी विकाउ शाहलाई वनाई विधिचन ऋणी भई लिखत सम्म गरेको हो भन्ने अन्तर साक्षि श्रीचन शाहले मिति २०४७।१०।६ मा नारायणी अञ्चल अदालतमा गरेको वयान ।
८. ऋणीको सहीछाप र मेरो अन्तर साक्षिमा भएको सही ठिक सांचो हो । लिखत सद्दे व्यहोराको होइन झूठ्ठा हो हामी मदन शाह श्रीचन शाह र विधिचन शाह वीच अंशवण्डाको कुरा हुँदा २०३४ साल वैशाख महिनामा रु. २७६७३। को शर्तनामाको कागज खडा भएको रुपैया लिनु दिनु भएको छैन भन्ने समेतको अन्तर साक्षि मदन शाहले २०४७।१०।६ मा नारायणी अञ्चल अदालतमा गरेको वयान रहेछ । खारेजी वदर गरिएको छ । इन्साफको लागि शुरुमा पठाउने भन्ने नारायणी अञ्चल अदालतको फैसला ।
९. प्रस्तुत मुद्दा हदम्याद नघाइ दायर भएको देखिदा वादी दावी खारेज हुने ठहर्छ भन्ने समेत शुरु रौतहट जिल्ला अदालतको मिति २०५०।८।२७ को फैसला ।
१०. लिखतमा नालेश गरी आएको लिखत नभइ सुद्ध कपालीमा परिणत भएको लिखतमा १० वर्षको हदम्याद भित्र नालेश गरेकोलाई नि.नं. ४४३६ को नजिर विपरित भनी शुरुले खारेज गरेको मिलेको देखिएन । लिखतमा सम्वन्धमा उल्लेख भए अनुसार रीत पूर्वकको एवं हदम्याद भित्र कै देखिंदा वादी दावी अनुसार रु.८१,६७३। सांवा र १० वर्ष सम्मको १० प्रतिशतले व्याज समेत वादीले प्रतिवादीबाट भरी पाउने देखिन्छ । अतः वादी दावी अनुसार वादीले सांवा व्याज भरी पाउने ठहराउनु पर्नेमा फिराद दावी खारेज हुने ठहर्याएको शुरु रौतहट जिल्ला अदालतको मिति २०५०।८।२७ गतेको फैसला मिलेको नदेखिंदा उल्टी हुने ठहर्छ भन्ने समेत व्यहोराको पुनरावेदन अदालत हेटौडाको फैसला ।
११. पुनरावेदन अदालत हेटौडाको फैसला कानून र कानूनी सिद्धान्तको प्रतिकूल भएकोले वदर गरी शुरु जिल्ला अदालतको फैसला कायम राखी पाउँ भन्ने समेत व्यहोराको प्रतिवादीको पुनरावेदन पत्र ।
१२. नियम वमोजिम पेशी सूचीमा चढी निर्णयार्थ इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री खगेन्द्र प्रसाद अधिकारीले विवादीत लिखतको मिति महिनाको अंक अक्षर तथा रकमको अंश सच्याइएको कुरा विशेषज्ञको रायबाट समेत समर्थित भएको साथै लेनदेन व्यवहारको २ नं. र ४० नं. को १० वर्षको हदम्याद नघाई फिराद परेको देखिंदा पुनरावेदन अदालतले वादी दावी वमोजिम सांवा व्याज भरी पाउने ठह¥एको फैसला नमिलेको वदर हुनु पर्छ भनी वहस प्रस्तुत गर्नु भयो ।
१३. विद्वान अधिवक्ताले गर्नु भएको वहस जिकिर सुनि निर्णय तर्फ विचार गर्दा पुनरावेदन अदालत, हेटौंडाले गरेको फैसला मिलेको छ छैन भन्ने कुरामा निर्णय दिनु पर्ने देखियो।
१४. यसमा प्रतिवादीले रु.८१,६७३। कर्जा लिई आफ्नो नाम दर्ताको जग्गा २०३४ सालको वाली देखि फार्छे राजीनामाको कागज २०३४।१२।१८ मा गरी दिनु भएकोमा राजिनामा पास नगरी दिएकाले कपाली हुन गई लिखत वमोजिम सावा र व्याज समेत नदिएकोले सावां र व्याज भराई पाउ भन्ने मुख्य दावी देखियो । विवादित लिखतलाई प्रतिवादीले रु.२७,६७३। को लिखत भएको अंक महिना र थैली रकम समेत सच्याइएको भनि अ.वं. ७८ नं. वमोजिम वयान गरेको पाइयो । उक्त लिखत विशेषज्ञलाई जचाउँदा एक विशेषज्ञवाट लिखतमा तरल पदार्थ परेकोले जाँच गर्न नसकिने भन्ने र अर्को विशेषज्ञले लिखतमा अंक अक्षर मेटाई मसी कलमले लेखेको भन्ने उल्लेख भई दुवै विशेषज्ञको राय फरक फरक किसिमको देखिन्छ । लिखतको कुनै कुनै स्थानमा तरल पदार्थ पोखिएको कारण अलि उडेकोले साविक लेखाइमा फरक मसी देखिन्छ । लिखतको अधिकांश अक्षरहरुमा प्वाल परेको देखिएपनि समस्त लिखतको प्रकृति हेर्दा लिखतलाई जालसाजी किर्ते भन्न सकिने अवस्था देखिदैन । विवादित लिखत जग्गा पास गरी दिन थैली खुलाई रजिष्ट्रेशनको ६ नं. वमोजिम भएकोमा सो पारित हुन नसकी कपालीमा परिणत भएको हुँदा लेनदेन व्यवहारको २ नं. अनुसार १० वर्षको हदम्याद हुने हुँदा वादीको फिराद हदम्याद भित्रकै देखिन्छ । वादीले फिरादमा व्याज समेतको दावी लिएकोले व्याज भरी पाउने हो होइन भन्ने तर्फ विचार गर्दा रजिष्ट्रेशन गराउनु पर्ने घरसारको पास हुन नसकेको लिखतका सम्वन्धमा रजिष्ट्रेशनको ६ नं. मा लिखत वमोजिमको सम्पत्ति भोग गर्न नपाएकोमा भोग गर्न नपाए जतिको काुनन वमोजिमको व्याज समेत साहुले कपाली सरह भराई लिन पाउँछ भन्ने कानूनी व्यवस्था देखिन्छ । विवादित फार्छे राजीनामामा लेखिएको जग्गा वादीले भोग गरेको छ भन्ने प्रतिवादीको जिकिर समेत नभएको अवस्थामा व्याज लिने दिने कुरा लिखतमा उल्लेख नभएपनि रजिष्ट्रेशनको ६ नं. मा उल्लेखित व्यवस्थावाट वादीले प्रतिवादीवाट वादी दावा वमोजिमको सांवा (थैली) र कानून वमोजिमको व्याज समेत पाउने देखिन्छ । तसर्थ वादीले प्रतिवादीवाट सांवा रु.८१,६७३। र दश वर्ष सम्मको सयकडा १०% ले व्याज समेत पाउने ठहर्याएको पुनरावेदन अदालत हेटौडाको इन्साफ मिलेकै देखिंदा सदर हुन्छ । पुनरावेदन जिकिर पुग्न सक्दैन । मिसिल नियम वमोजिम गरी वुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या. इन्द्रराज पाण्डे
ईति सम्वत २०५४ साल असार १० गते रोज ३ शुभम् ......... ।