निर्णय नं. ६४५४ - लिखत वदर हक चलन

नि.नं ६४५४ ने.का.प.०५४ अङ्क १०
संयुक्त इजलास
माननीय न्यायाधीश श्री केशव प्रसाद उपाध्याय
माननीय न्यायाधीश श्री हरिश्चन्द्रप्रसाद उपाध्याय
सम्वत् २०५२ सालको दे.पु.नं. ... २५३२
फैसला मितिः २०५४।६।१४।२
मुद्दाः लिखत वदर हक चलन ।
पुनरावेदक/वादीः जिल्ला मकवानपुर मार्खू गा.वि.स. वडा नं. ४ वस्ने राम बहादुर वलामी
विरुद्ध
विपक्षी/प्रतिवादीः ऐ.ऐ. वस्ने राम लाल वलामी
§ मुलुकी ऐन अंशवण्डाको १९ नं. मा पिता पुर्खा पालाको सम्पत्तिमा चलमा सवै अचलमा आधी सम्म स्वास्नी छोरा विधवा वुहारी हुने मानिसले आफूखुस गर्न पाउने उल्लेख भएको पाइन्छ । स्वास्नी मानिसलाई पैत्रिक सम्पत्ति आफूखुस गर्न पाउने गरी उक्त १९ नं. ऐनले अधिकार दिएको देखिदैन । यस सम्वन्धमा ने.का.प. ०४९ निर्णय नं. ४५५० पुनरावेदक प्रतिवादी योगन्द्र प्रसाद यादव विरुद्ध सुर्जो देवी अहिर भएको लिखत दर्ता वदर मुद्दामा अंशवण्डाको १९ नं. को प्रयोग द्वारा वा स्वास्नी हुने अर्थात वावुको हकमा प्रयोग हुने हो वावु वाहेकका घरको मुख्यलाई अंशवण्डाको १९ नं. नलाग्ने भनी यस अदालतबाट सिद्धान्त प्रतिपादित भैसकेको देखिन्छ । उक्त सिद्धान्त समेतको आधारमा वादीको हक समेत विक्री गरेको कार्यलाई कानूनन तथा न्यायोचित भन्न नमिल्ने ।
(प्र.नं. ११)
पुनरावेदक वादी तर्फबाटः विद्वान अधिवक्ता श्री अर्जुन प्रसाद लम्साल
विपक्षी प्रतिवादी तर्फबाटः
अवलम्वित नजिरः
फैसला
न्या.केशव प्रसाद उपाध्यायः प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार छः
२. पिता शेर बहादुर वलामी र माता ज्ञानी माया वलामीबाट ३ छोरा र २ छोरीको जाय जन्म भएकोमा २ छोरीको विवाह भैसकेको ३ छोरा मध्ये जेठा छोरा मान बहादुर वलामीको ०३६ सालमा मृत्यु भएको र भाउजु पोइल जानु भएको निजहरुबाट २ छोरीको जाय जन्म भएकोमा जेठी छोरीको विवाह भैसकेको र कान्छी छोरी शान्तीमाया हाल भाउजुकै सँग साथमा छिन् । निजको विवाह भएको छैन माहिला छोरा म फिरादी भएं । कान्छो छोरा वल बहादुरको पनि ०३६ साल मृत्यु भयो । निजको श्रीमती पनि पोइल गई सकेको र निज तर्फबाट छोरा सुन्दरमानको जन्म भएकोमा निज पनि भारत कलकत्तामा गै वसेको छन् । वावुको ०३३ सालमा मृत्यु भए पछि सपरिवार एकै साथ वसी रहेको थियो । हाम्रो जे जो सम्पत्ति पिताज्यूकै नाउँमा कायमै थियो । सो सम्पत्ति हकवाला अंशियारले ज.प.को २ क नं. अनुसार जहिले सुकै दा.खा. नामसारी गर्न पाउने हुँदा पछि एकै पटक दा.खा. नामसारी गर्ने सल्लाह गरी एकै साथ खेती गरी वसी आउका छौ । विपक्षी मेरो कान्छा वावुका छोरा हुँदा भाई नाताका व्यक्ति हुन । निजले म काठमाण्डौमा वसेको वेला ०४७।१० माघ महिनामा आमालाई केटा केटी हेर्नका लागि लान्छु भनी मेरो श्रीमती, छोरा छोरी सँग भनी लिई गएछन् । पछि म घरमा आइ आमालाई भेटी पुनः फर्की काठमाण्डौ गए । मिति २०४७।१२।२३ गते अचानक आमाको मृत्युको खवर पाई म घरमा आई आमाले राख्नु भएको गहना पात जग्गाको कागजपत्र खोज्दा सवै गहना र कागजपत्र विपक्षीले आफ्नो कव्जामा लिई राखेको र देउ भनी माग्दा जग्गा मैले आमा सँग किनी लिई सकेको छु । गहना पात मासी खाई सके भनेवाट मा.पो.का. मकवानपुरमा गै वुझ्दा अन्यायीले सम्पूर्ण सिफारिस कागजपत्र निवेदनहरु जालसाजी रुपले खडागरी म समेतका अंशियार हकवाला नदेखाई मिति ०४७।१२।७ मा पिताको नामवाट आमाको नाममा समेत नामसारी गराई मिति ०४७।१२।८ गते र.नं. २८४४ वाट रु.१०,०००। थैली राखी जि.मलामचौर वडा नं. २, कित्ता नं. ३५ को ज.रो २८-२-०-९ मध्येवाट उत्तर तर्फवाट कित्ता काट गराई कि.नं. २३७ कायम गराई ज.रो. १४-१-०-० जग्गा उपचार गर्न ऋण दिए वापत भनी म समेत अंशियार हकवालाले थाहा नपाउने गरी मेरो मन्जूरी वेगरी लिए दिएको यथार्थ कुरा मिति ०४८।१।१ मा मा.पो.का. हेटौंडावाट कागजात सारी लिंदा थाहा पाए । फिराद पत्र लिई उपपस्थित भएको हुँ । आमा ज्ञान माया लाई केटा केटी हेर्न भनी लगी रु. १०,०००। थैली राखी कहि काम गरेको छन् भने कहि ऋण दिएको भनी उल्लेख गरी सम्पूर्ण काम कार्वाही जालसाज तवरले गरेको र पैसा पनि नदिएको र आमालाई झूक्याई काम गरे वा अर्को व्यक्तिवाट गराए फिरादी अनभिज्ञ हुँ । उक्त समपत्तिको हकदार अंशियार जेठा दाजुको अविवाहिता छोरी शान्तीमाया र भाईको छोरा सुन्दरमानले थाहा पाएको वखत उजुर गर्दै हक सुरक्षित नै हुँदा हाल मेरो हकमा मात्र फिराद गर्न उपस्थित भएको छु । विपक्षीले जालसाजी तवरवाट पारित गराएको कथित राजिनामाको जग्गा मेरो हक लाग्ने एकलौटी घर समेत पर्न गएको हुँदा घर जग्गा एकिनको लागी अ.वं. १७१ नं. अनुसार नाप नक्सा गरी उक्त कथित राजिनामामाउल्लेख भएको ज.रो १४-१-०-० को मोल रु.१०,०००। पर्ने जग्गा र सो लिखतमा घर उल्लेख नभएको तर सो पारित लिखत भित्र पर्न गएको घर रु. ३०००। मूल्य पर्ने हुँदा सो जग्गा म फिरादी समेत गरी ४ भाग लाग्ने सम्पत्ति हुँदा र घर ३ भाग म फिरादी भतिजो र भतिजीको हक लाग्ने हुँदा उल्लेख लिखत नामसारी दर्ता निर्णय सम्पूर्ण वदर गरी ४ भाग मध्ये मेरो भाग र घर ३ भाग मध्ये मेरो १ भाग घर जग्गा मेरो हक कायम गरी चलन चलाई पाउँ भन्ने समेत व्यहोराको फिराद पत्र ।
३. वादीको आमाले घर खर्च गर्न खान लाउनको लागी जग्गा विक्रि गर्नु भएको हो । घर विक्रि गर्नु भएको होइन उक्त घर मैले वनाएको हो मैले जालसाजको काम गरेमो होइन घरको मुख्य संरक्षकलाई अंश वण्डाको १९(१) ले व्यवहार चलाउन खान लाउन औषधी उपचार गर्न वेच्न पाउने अधिकार छ सोही अनुरुप विपक्षीको आमाले म सँग वाट रुपैया लिई मा.पो.का हेटौंडामा स्वयम आफै आई पारित गरी दिनु भएको हो लेनदेन व्यवहारको ८ नं. वमोजिम लगाएको ऋण वादीको पनि दाइत्वको हुन्छ । आफ्नो आमाले स्वीकार गरी खाएको ऋणमा अरुको धन पचाउन पाउने हक निजलाई कानूनले दिंदैन । लेन दने व्यवहारको १० नं. ले ४ भागको एक भाग वदर भए पनि आमाले खाएको ऋण उसले अनिवार्य रुपमा तिनु पर्ने हक सोही १० नं. ले व्यवस्था गरेको छ । अंश वण्डा भै सकेपछि वादीको अंश निजको आमाले वेचेको छैन । अंश नछुटे हक पुग्ने सम्पत्ति वेचेको हुन । वादीले आफ्नो ७१ वर्षको वुढी आमालाई खान लाउन नदिएको कुरा अर्काको घरमा केटा केटी हेर्न नोकरी गर्न गएको भनी फिरादमा लेखेवाट नै प्रष्ट छ । मैले पैसा दिएको हो दिए लिएको सत्य लिखत कार्यालय सनाखत गर्दा नै एकिन छ । सनाखतमा निजको आमाले मालपोत कार्यालयमा स्वीकार्नु भएको छ । त्यस्तो स्थितिमा लिखत जालसाज भन्न पाइदैन । उपरोक्त तथ्य र आधारमा यो नालेश दिने हक वादीलाई छैन । त्यस्तोमा अ.वं. १८० नं. बमोजिम मुद्दा खारेज भै झूठ्ठा दावी लिए तर्फ वादीलाई कानून वमोजिम सजाय गरी पाउँ भन्ने समेत व्यहोराको प्रतिवादी रामलाल वलामीको प्रतिउत्तर पत्र ।
४. दर्तावाला शेर वहादुर वलामीको मृत्यु भएपछि निजकी हकवाला श्रीमती शानीमाया वलामीले मालपोत कार्यालय मकवानपुरवाट कानून वमोजिम हकवाला ज्ञानीमाया वलामीका नाउँमा नामसारी दर्ता भै ज्ञानीमाया वलामीले मु.ऐन अंशवण्डाको १९ नं. को देहाय १ वमोजिम व्यवहार चलाउनको लागी रामलाल वलामीलार्य विक्रि गरेको देखियो । ज्ञानी माया वलामीले आफू खुस गर्न पाउने सम्पत्ति रामलाल वलामीलाई विक्रि गरेको र रामलाल वलामीले लिएको देखिंदा पारित लिखत नामसारी दर्ता निर्णय समपूर्ण वदर गरी लिखतमा उल्लेख भएको जग्गा ४ भाग मध्ये १ भाग जग्गा र ३ भाग मध्ये १ भाग घर जग्गा मेरो हक कायम गरी चलन चलाई पाउँ भन्ने समेत वादी दावी पुग्न नसक्ने ठहर्छ भन्ने शुरु मकवानपुर जिल्ला अदालतको मिति ०४९।३।२९ गते फैसला ।
५. शुरु मकवानपुर जिल्ला अदलतको मिति ०४९।३।२९ गते फैसलाले वादी दावी पुग्न नसक्ने गरी भए गरेको इन्साफ वदर गरी मेरो फिराद दावी मुताविक उल्लेख भएको जग्गा ४ भाग मध्ये १ भाग जग्गा र ३ भाग मध्ये १ भाग घर जग्गा मेरो हक कायम गरी चलन चलाई पाउने गरी अर्को इन्साफ गरी पाउँ भन्ने पुनरावेदक वादीको यस अदालतमा मिति ०४९।१।१९ गतेको पुनरावेदन जिकिर रहेछ ।
६. विवादित सम्पत्ति पिता पुर्खाको पालाको भएको र घर व्यवहार चलाउन घरको मुख्य व्यक्तिले कि.नं. ३५ को ज.रो. २८(२(०(१ मध्ये ज.रो १४(१(०(० अर्थात आधि भन्दा कम जग्गा राम लाल वलामीलाई राजीनामा पारित गरी दिएको देखिएको हुँदा ज्ञानी मायाले मन्जूरी वेगर पनि घर व्यवहार चलाउन विवादित जग्गा विक्रि गर्न पाउने नै देखिंदा ज्ञानीमायाले राम लाल वलामीलाई गरी दिएको लिखत वदर हुने स्थिति नदेखिंदा शुरु मकवानपुर जिल्ला अदालतले वादी दावी नपुग्ने ठहराएको इन्साफ मनासिव देखिंदा सदर हुने ठहर्छ भन्ने पुनरावेदन अदालत हेटौंडाको फैसला ।
७. उक्त फैसलामा न्याय प्रशासन ऐन २०४८ को दफा १२(१) को देहाए (ख) को अवस्था विद्यमान भै फैसला गम्भीर रुपले त्रुटि पूर्ण भएकोले सो फैसला वदर गरी पाउन मुद्दा दोहोर्याई हेरी पाउँ भन्ने समेत वादीको यस अदालतमा परेको पुनरावेदन पत्र ।
८. यसमा लोग्ने नहुने स्वास्नी मानिसले घर व्यवहार चलाउन अंशवण्डा महलको १९(२) नं. को सुविधा नपाउने भन्ने नि.नं. ५५० पु.वे.योगेन्द्र प्रसाद विरुद्ध सुरजी देवी अहिरको मुद्दामा पूर्ण ईजलासवाट सिद्धान्त प्रतिपादित भै (ने.का.प. ०४९ पृ.५२१) प्र.ज्ञानी मायाले आधि सम्पत्ति आफूखुस गर्न पाउछ भनी पुनरावेदन अदालत हेटौंडावाट भएको ईन्साफमा अंश वण्डाको १९ नं. को त्रुटि र नजिर समेतको त्रुटि देखि न्या.प्र.ऐन, २०४८ को दफा १२(ख) को खण्ड (क)(ख) अन्तर्गत दोहार्याउने निस्सा प्रदान गरिएको छ भन्ने यस अदालत संयुक्त ईजलासवाट २०५२।३।३० मा आदेश ।
९. नियम वमोजिम पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक वादी तर्फवाट रहनु भएका विद्वान अधिवक्ता श्री अर्जुन प्रसाद लम्सालले स्वास्नी मानिसलाई घरको मुख्य व्यक्ति मानिने चलन छैन । अंश वण्डाको १९ नं. ले पनि पैत्रिक सम्पत्तिलाई आफूखुस विक्रि गर्न पाउने अधिकार प्रदान गरेको छैन । अंश वण्डाको १९ नं. लाई गलत व्याख्या गरी भएको फैसलहरु वदर गरी वादी दावी वमोजिम लिखत वदर हुनु पर्छ भनि वहस प्रस्तुत गर्नु भयो ।
१०. यस्मा मेरो अंश हक लाग्ने मकवानपुर लामा चौर वडा नं. २ कि.नं. ३५ को जग्गा ०४७।१२।८ मा विपक्षीलाई राजिनामा गरी दिएको पिलखतमा उल्लेख भएको जग्गाको ४ भागको १ भाग घर ३ भागको १ भागको लिखत वदर गरी पाउन यी पुनरावेदकले नालेस गरेकोमा शुरु जिल्ला अदालतले वादी दावी पुग्न नसक्ने भनी फैसला गरेकोमा पुनरावेदन अदालतवाट सोही फैसलालाई सदर गरेको फैसला उपर प्रस्तुत पुनरावेदन परेको देखिन आयो ।
११. पुनरावेदक वादी र प्रतिवादी मध्येका ज्ञानीमाया वलामी आमा छोरा भै एका सगोलमा रही वसी आएकोमा कुनै विवाद छैन । वादीका पिता ०३३ सालमा परलोक भए पछि प्रतिवादी ज्ञानीमायाले नै घर संम्हाली आएको देखिन्छ । घरको मुख्य व्यक्तिको हैसियतले वादीको मन्जूरी नलिई कि.नं. ३५ को जग्गा मध्ये आधी प्रतिवादी राम लाल वलामीलाई ०४७।१२।८ मा विक्रि गरेको देखिन्छ । मुलुकी ऐन अंशवण्डाको १९ नं. मा पिता पुर्खा पालाको सम्पत्तिमा चलमा सवै अचलमा आधी सम्म स्वास्नी छोरा विधवा वुहारी हुने मानिसले आफूखुस गर्न पाउने उल्लेख भएको पाइन्छ । स्वास्नी मानिसलाई पैत्रिक सम्पत्ति आफूखुस गर्न पाउने गरी उक्त १९ नं. ऐनले अधिकार दिएको देखिदैन । यस सम्वन्धमा ने.का.प. ०४९ निर्णय नं. ४५५० पुनरावेदक प्रतिवादी योगन्द्र प्रसाद यादव विरुद्ध सुर्जो देवी अहिर भएको लिखत दर्ता वदर मुद्दामा अंशवण्डाको १९ नं. को प्रयोग द्वारा वा स्वास्नी हुने अर्थात वावुको हकमा प्रयोग हुने हो वावु वाहेकका घरको मुख्यलाई अंशवण्डाको १९ नं. नलाग्ने भनी यस अदालतबाट सिद्धान्त प्रतिपादित भैसकेको देखिन्छ । उक्त सिद्धान्त समेतको आधारमा वादीको हक समेत विक्री गरेको कार्यलाई कानूनन तथा न्यायोचित भन्न नमिल्ने हुँदा वादी दावी वमोजिम जग्गाको हकमा ४ भागको १ भाग लिखत वदर हुने ठहर्छ । घरको हकमा लिखतमा घर उल्लेख भएको नदेखिंदा त्यसतर्फ केही गर्नु परेन । वादी दावी नपुग्ने ठहराएको शुरु तथा पुनरावेदन अदालत हेटौंडाको फैसला नमिलको हुदा उल्टी हुन्छ । अरु तपसिल वमोजिम गर्नु ।
तपसिल
माथि ईन्साफ खण्डमा लेखिए अनुसार शुरु तथा पुनरावेदन अदालत हेटौडाको इन्साफ उल्टी भै लिखत वदर हुने ठहरेकोले फिराद दावीको जिल्ला मकवानपुर लामाचौर वडा नं. २ कि.नं. २३७ को ज.रो १४-१-०-० जग्गाको ४ भागको १ भाग लिखत वदर हुने हुँदा दा.खा. नामसारी गरी पाउँ भनि कानूनका म्याद भित्र वादीको दर्खास्त परे उक्त कि.नं. को जग्गाको ४ भागको १ भाग वादीको नाउँमा दा.खा नामसारी गरी दिनु भनी मालपोत कार्यालय मकवानपुरमा लेखि पठाउनु ..... १
माथि इन्साफ खण्डमा लेखिए अनुसार ठहरेकोले वादीले मकवानपुर जिल्ला अदालतमा राखेको कोर्ट फि रु.१९०। र पुनरावेदन अदालत हेटौंडामा पुनरावेदन गर्दा राखेको कोर्ट फि रु.८।५० र यस अदालतमा राखेको कोर्ट फि ४।५० समेत जम्मा रु. २२३। फिर्ता पाउँ भनी ऐनका म्याद भित्र दर्खास्त परे कानून वमोजिम गरी फिर्ता दिनु भनी शुरु जिल्ला अदालतमा लेखि पठाउनु ....... १
मिसिल नियम वमोजिम वुझाई दिनु .. १
उक्त रायमा म सहमत छु ।
न्या.हरिश्चन्द्र प्रसाद उपाध्याय
ईति सम्वत २०५४ साल असोज १४ गते रोज २ शुभम् .................. ।