निर्णय नं. ६४५५ - अंश

निर्णय नं. ६४५५ ने.का.प.०५४ अङ्क १०
संयुक्त इजलास
माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय
माननीय न्यायाधीश श्री नरेन्द्र वहादुर न्यौपाने
सम्वत् २०५० सालको दे.पु.नं. .... १३०१
फैसला मितिः २०५४।१।३१।३
मुद्दा : अंश ।
पुनरावेदकः भारत जिल्ला पुर्वी चम्पारण थाना केसरीयागढ मोटीहारी घर भै जिल्ला वारा औरया गा.वि.स. वार्ड नं. १ वस्ने विदेश्वर प्रसाद सिंह ।
विरुद्ध
प्रत्यर्थीः ऐ.ऐ. वस्ने राजेश्वर प्रसाद सिंह समेत जम्मा २ ।
§ वादी मध्येका राजेश्वर र नितिश्वरको हकमा निजहरु प्रतिवादी रामेश्वरका हांगाका छोराहरु भएको र यी वादीहरुको अंशवण्डाको १० नं. को परिप्रेक्ष्यमा आफ्नो इज्जत आमद अनुसार खान लाउन नदिएको भन्ने दावी नेपालमा रहेको सम्पत्तिको आयस्ता नदिएको भनी अंश भाग वण्डा छुट्याउन माग गरेको कारणले निजहरुले पुनरावेदन अदालतबाट अंश नपाउने ठहराएको इन्साफ मनासिव देखिन्छ । वादी मध्येका शिवनेहिको मुद्दा चल्दा चल्दैको अवस्थामा मृत्यु भएको र निज आधा अंशको हकदार देखिएपनि निजको मृत्यु पश्चात निजको हकदार पति पुत्र पुत्री समेत भएको भन्ने मिसिलबाट नदेखिंदा त्यस्तो मृतकको पनि पुत्र पुत्री समेतको अभावमा निजको अंश भाग छुट्याउनु पर्ने कुनै औचित्य नै वांकी रहेको देखिदैन । अंशवण्डाको १ नं. ले जिय जियैको अंश गर्नु पर्ने व्यवस्था भएकोमा वादी शिवनेहीको मृत्यु भएको अवस्थामा निज जियमा रहेको मान्न नहुने हुँदा निजको अंश भाग छुट्याउने औचित्य पूर्ण आधार देखिन नआएकोले निजले आधा सम्पत्ति वण्डा पाउने ठहराएको सम्म पुनरावेदन अदालत हेटौडाको फैसला त्रुटीपूर्ण हुँदा सो हदसम्म उक्त फैसला केहि उल्टी हुने ।
(प्र.नं. १४)
पुनरावेदक प्रतिवादीका तर्फबाटः विद्वान अधिवक्ता श्री राम प्रसाद भट्टराई
प्रत्यर्थी वादीका तर्फवाटः विद्वान अधिवक्ता श्री शम्भु थापा
अवलम्बित नजीरः ने.का.प. २०५४ अंक ८ पृष्ठ ८४३ नि.नं. २८३४ मा प्रतिपादित
फैसला
न्या.नरेन्द्र वहादुर न्यौपानेः पुनरावेदन अदालत हेटौंडाको मिति २०४९।६।१ को फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ग) वमोजिम यस अदालतमा पर्न आएको प्रस्तुत पुनरावेदन सहितको संक्षिप्त व्यहोरा यस प्रकार छ ।
२. ससुरावाजे श्रीहरी कृष्ण कुमार वहाल सिहंका २ छोरमा जेठा विपक्षी मध्येका रामेश्वर प्रताप नारायण र कान्छा कृष्णेश्वर प्रताप नारायण भएका म शिवनेही कृष्णेश्वरको पत्नी हुँ । रामेश्वर प्रतापको ५ छोरामा क्रमशः विपक्षीहरु चन्देश्वर सिंह भन्ने हिरा सिंह १ विदेश्वर प्रताप १, ज्ञानेश्वर प्रताप १, र म राजेश्वर प्रताप म नितीश्वर प्रताप भएको, लोग्ने काका कृष्णेश्वर र दिदी आमा राम सुन्दरी देवी अघि नै अघीपछि गरी स्वर्गवास हुनु भएको विपक्षीहरु हाम्रो जेठाजु भतिजा पिता दाजु नाताका हुन हामी सवैं अंशियारहरु शुरु देखि सगोलमा वसी सगोलमा नै सवै व्यवहार चलाउदै आएका थियौं । र हाम्रो भारत तथा नेपाल सरहदमा समेत श्री सम्पति भएकोमा नेपाल सरहदको वाजे वराजु कै पालादेखिको भएकोमा नापीको समयमा नेपाल सरहदको श्रीसम्पति विपक्षी विदेश्वर प्रतापको नाउँमा नापी भई धेरै जसो निजले नै जग्गा भएको ठाउँ ओरेयामा वसी खेती गरी सगोलको आयस्ताबाट विपक्षीहरु मध्ये हिराको नाउँमा जग्गा पनि खरीद गरी सम्पूर्ण जग्गा सगोलमा भोगी वाली खांदै आएकोमा र हामीहरुको विचमा परिवार वढ्दै गएको कारणबाट सवै अंशियारको विचमा सन् १९७१ मा भारतको श्रीसम्पतिहरुमा अंशवण्डा भै केही वण्डा हुन वांकी रहेकोले र नेपाल सरहदको श्रीसम्पति यथावतै सगोलमा राखी भाग शान्ति वमोजिम आयस्ता वाली खादै आएकोमा २०४२ सालको वालीको रकम हामीले माग्दा नदिई आयस्तामा मिली खाएको भन्ने थाहा पाई माग्दा वालीको रकम लिने भए घर वसेर खेती गर्नुपर्छ नत्र पाईदैन भनि भनेकोले २०४२ साल माघ २० गते दिन ओरेयामा आई हाम्रो हिस्साको जग्गा छुटयाई अंशवण्डा गरी दिनु वेस भनि भन्दा अंश छुट्याई दिन्न जहाँ खोज्नु छ खोज भनि भनेकोले अ.वं. ८२ नं. वमोजिम विपक्षीहरुको नाउँमा नालेस गर्न आएको छु । नेपाल सरहदको वण्डा गर्नु पर्ने चल अचल श्रीसम्पतिको विपक्षीहरुबाट ऐन वमोजिम तायदाती लिई विपक्षी रामेश्वर प्रताप र कृष्णेश्वर प्रतापको २ खण्डमा कृष्णेश्वर प्रतापको म शिवनेही कुवंर पत्नी भएको २ खण्डको १ खण्ड र पिता रामेश्वर प्रतापको १ खण्डमा निजको हामी ५ छोरा भएकोले पिता समेत ६ जना निज तर्फको अंशियार भएकोले हामी राजेश्वर नितीश्वरको ६ खण्डको २ खण्ड अंश दिलाई संयुक्त दर्ता गरी पाउँ भन्ने वादीको फिराद ।
३. हरिकृष्ण कुमार वहादुर सिंहको २ छोरामा जेठो म रामेश्वर प्रताप नारायण सिंह र कान्छो कृष्णेश्वर प्रतापको पत्नी शवनेहा कुंवर हुन, माहिलो विदेश्वर प्रताप साहिंलो ज्ञानेश्वर प्रताप सिंह, ठाहिलो राजैश्वर प्रताप र कान्छी नितीश्वर प्रताप सिंह हुन । कृष्णेश्वर प्रताप सिंहको स्वर्गवास पछि निजको पत्नी शिवनेही कुंवर म र मेरा सवै छोराहरु सगोलमा वसी आएको र म घरको मुख्य व्यक्ति भएतापनि जग्गा दर्ता छोरा विदेश्वर प्रताप र हिरा सिंहको नाममा दर्ता हुँदा निजहरु समेत सवै सम्मिलित भै वण्डा गर्नुपर्ने र भाई अंशलाई मैले रोक्न नसक्ने र भाई वुहारी शिवनेही कुंवरलाई आधी अंश छुट्याई दिन वाध्य हुँदा निजलाई अंश छुटयाई दिन मेरो मंजुरी छ । छोराहरुलाई पिताको जीवनभरी अंश दिन मलाई मंजुर छैन भन्ने समेत प्रतिवादी रामेश्वर प्रतापको प्रतिउत्तर पत्र रहेछ ।
४. वादीहरुले आफ्नो फिरादपत्रमा उल्लेख गरेको पुस्तावली ठिक भएतापनी वादीहरुले मलाई भारतको सम्पतिवाट वंचित गरी नेपाल सरहदको सम्पति मेर।े अंश जिम्मामा दिएको हुँदा सर्वे नापीको अवस्थामा मेरा नाउँमा नापी दर्ता भएको जग्गाहरु अरु कुनै हकदारले अंश हिस्सा जनाएको छैन, यसकारणले समेत वादीहरुलाई मैले अंश दिनु पर्ने होईन भन्ने समेत प्रतिवादी विदेश्वर प्रताप सिंहको प्रतिउतर ।
५. प्रतिवादी चन्देश्वर प्रताप सिंह भन्ने हिरा सिंह र ज्ञानेश्वर प्रतापको नाउँको म्याद ०४३।५।१४ गते तामेल भएको सो शुरु म्यादै गुजारी प्रतिउतर नफिराई वसेको रहेछ ।
६. वादी प्रतिवादी अंशियार हुन भन्ने कुरामा वादी प्रीतवादीको मुख मिलेकै देखिएको र प्रतिवादीले प्रतिउत्तर जिकिर अनुसारको आफ्नो भनाई सवुद प्रमाणद्वारा पुष्टि गराउन नसकेको देखिंदा र ०४५।१।२३ को आदेश वमोजिम मानो चामल छुट्टीएको मिति एकीन नभई सकेकोले मुलुकी ऐन, अदलको ३ नं. अनुसार गर्ने गरी दर्ता भिडे सम्मको जग्गामा वादी दावी अनुसार वादीले अंश पाउने ठर्हछ भन्ने समेत शुरु वारा जिल्ला अदालतको फैसला ।
७. शुरु वारा जिल्ला अदालतले वादी दावी अनुरुप अंश हक पाउने ठहर्छ भनि गरेको फैसलामा चित वुझेन, वादी शिवनेही कुंवर समेत मिति ०४५।७।१९ अर्थात १९८८ ई. नोवेम्वरका दिन आफ्नो कालगतिले परलोक भई सक्नु भएको छ । मरेको अंशियारले अंश नपाउने वांकी अंशियार मै मात्र वण्डा लाग्ने भन्ने कुरा अंशवण्डाको १, २, ३, ४ प्रष्ट गरेको, मुद्दाको सम्मानित सर्वोच्च अदालतबाट समेत नजिर सिद्धान्त प्रतिपादित भएकोले उहाँको अंश हक समेत छुट्याउने भनि उल्लेख भएको फैसलाको कुरा कानून सँगत छैन । त्यस्तो १९७१ मा वण्डा भएको कुरा फिरादीहरुले देखाए पनि सो को सवुद प्रमाण बुझिएको छैन । शुरु जिल्ला अदालतले गरेको फैसला कानून सँगत नहुँदा वदर गरी पाउँ भन्ने समेत प्रतिवादी विदेश्वर प्रसाद सिंहको पुनरावेदन ।
८. यस्मा मरेको वादी शिवनेहाको समेत अंश भाग लगाई वण्डा गर्ने गरेको शुरुको इन्साफ विचारणिय हुँदा अ.वं. २०२ नं. वमोजिम प्रत्यर्थि झिकाई पेश गर्नु भन्ने तत्कालिन नारायणी अञ्चल अदालतको आदेश ।
९. वादी मध्येकी शिवनेहा कुंवरले अंश पाउने नै अवस्था भएको देखिएकोले पेश भएको तायदाती फाँटवारीमा उल्लेखित श्री सम्पतिबाट आधा अंश पाउने ठहर गरेको शुरु जिल्ला अदालतको इन्साफ मुनासिव ठर्हछ । अंशवण्डा सम्वन्धी कानूनले अंश भाग गर्न पाउने अवस्था नहुँदा नहुँदै पनि शुरु जिल्ला अदालतले मु. ऐन अंशवण्डाको १० नं. विपरित हुने गरी राजेश्व्र प्रसाद सिंह र नितीश्वर प्रसाद सिंहले समेत अंश पाउने ठहर्छ भनि गरेको इन्साफ मिलेको नहुँदा सो हदसम्म शुरु जिल्ला अदालतको इन्साफ केहि उल्टी हुने ठहर्छ भन्ने समेत व्यहोराको पुनरावेदन अदालत, हेटौंडाको मिति ०४९।६।१ को फैसला ।
१०. शुरु जिल्ला अदालतले शिवनेही कुंवरले अंश पाउने ठहराएकोमा पुनरावेदनको अवस्था वांकी नै हुँदा निजको परलोक भै सकेपछि र वहांको अंश खाने हकवाला समेत नभएको अवस्थामा अंशवण्डाको १० नं. विपरित शिवनेहीले अंश पाउने ठहराएको शुरु फैसला सदर गरेको पुनरावेदन अदालत, हेटौंडाको फैसला वदर गरी पाउँ भन्ने समेत व्यहोराको पुनरावेदक प्रतिवादीको यस अदालतमा परेको पुनरावेदन ।
११. यसमा अंश पाउँ भन्ने वादी मध्येको शिवनेही कुंवर पुनरावेदन अदालत, हेटौंडाबाट फैसला हुनु पूर्व नै मृत्यु भै सकेको स्थितिमा त्यस्ता अंशियार समेतको अश्ंवण्डा हुने ठहयाई भएको पुनरावेदन अदालतको फैसलामा ने.का.प. २०५४ अंक ८ पृष्ठ ८४३ नि.नं. २८३४ मा प्रतिपादित सिद्धान्त समेतको विपरित देखिएको अ.वं. २०२ नं. वमोजिम विपक्षी झिकाई आएपछि नियम वमोजिम पेश गर्नु भन्ने समेत व्यहोराको यस अदालतको मिति ०५३।९।२४ को आदेश ।
१२. नियमानुसार पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादीका तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री राम प्रसाद भट्टराई तथा प्रत्यर्थी वादीका तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री शम्भु थापाले आ आफ्नो पक्षबाट वहस जिकिर प्रस्तुत गर्नुभयो ।
१३. दुवै पक्षका विद्वान अधिवक्ताहरुले प्रस्तुत गर्नु भएको वहस समेत सुनी पुनरावेदन सहितको मिसिल अध्ययन गरी हेर्दा प्रस्तुत मुद्दामा शुरु फैसला केही उल्टी गरेको पुनरावेदन अदालत, हेटौंडाको इन्साफ मिलेको छ छैन ? सो विषयमा निर्णय दिनु पर्ने देखिन आयो । निर्णय तर्फ विचार गर्दा रामेश्वर प्रताप समेतलाई विपक्षी बनाई निजका भाई कृष्णेश्वर प्रतापकी पत्नी शिवनेही कुंवरले सगोलको सम्पत्तिको २ खण्ड को १ खण्ड तथा प्रतविादी रामेश्वर प्रतापका छोराहरु राजेश्वर प्रसाद र नितीश्वर प्रसादले निजका वावुको हक लाग्ने १ खण्डबाट ६ खण्डको २ खण्ड अंश दिलाई संयुक्त दर्ता गरी पाउँ भन्ने समेत व्यहोराको फिराद दावी भएकोमा भाई वुहारी शिवनेहीलाई आधा अंश छुट्याई दिन मन्जूर छु, छोराहरुलाई पिताको जीवनभर अंश दिन मन्जूर छैन भनि प्रतिवादी रामेश्वर प्रतापको प्रतिउतर पत्र रहेको र वादीहरुले मलाई भारतको सम्पतिबाट वंचित गरी नेपाल सरहदको मेरो अंश जिम्मामा दिएको हुँदा मेरो नाउँमा दर्ता भएको जग्गाहरु वादीलाई अंश दिनुपर्ने होइन भन्ने प्रतिवादी विदेश्वर प्रसादको प्रतिउतर जिकीर रहेको देखिन्छ । शुरु वारा जिल्ला अदालतवाट वादी दावी वमोजिम वादीले अंश पाउने ठहराई गरेको फैसला उपर प्रतिवादीको पुनरावेदन अदालत, हेटौंडामा पुनरावेदन परेकोमा सो अदालतबाट शुरु जिल्ला अदालतबाट अंश पाउने गरी फैसला भएपछि सन् ४-११-८८ मा वादी शिवनेहीको मृत्यु भएको भए पनि निजले अंश पाउने तथा वादीहरु राजेश्वर र नितीश्वरले अंश नपाउने भनि शुरु जिल्ला अदालतको फैसला केही उल्टी गरी फैसला भए उपर प्रतिवादी विदेश्वरको यस अदालतमा प्रस्तुत पुनरावेदन पर्न आएको पाईयो ।
१४. यस्मा वादी मध्येका राजेश्वर र नितिश्वरको हकमा निजहरु प्रतिवादी रामेश्वरका हांगाका छोराहरु भएको र यी वादीहरुले अंशवण्डाको १० नं. को परिप्रेक्ष्यमा आफ्नो इज्जत आमद अनुसार खान लाउन नदिएको भन्ने दावी नभै नेपालमा रहेको सम्पत्तिको आयस्ता नदिएको भनि अंश भाग वण्डा छुट्याउन माग गरेको कारणले निजहरुले पुनरावेदन अदालतवाट अंश पाउने ठहराएको इन्साफ मनासिव देखिन्छ । वादी मध्येको शिवनेहीको मुद्दा चल्दा चल्दैको अवस्थामा मृत्यु भएको र निज आधा अंशको हकदार देखिएपनि निजको मृत्यु पश्चात निजको हकदार पति पुत्र पुत्री समेत भएको भन्ने मिसिलबाट नदेखिंदा त्यस्तो मृतकको पनि पुत्र पुत्री समेतको अभावमा निजको अंश भाग छुटयाउनु पर्ने कुनै औचित्य नै वांकी रहेको देखिंदैन । अंशवण्डाको १ नं. ले जिय जियेको अंश गर्नु पर्ने व्यवस्था भएकोमा वादी शिवनेहीको मृत्यु भएको अवस्थामा निज जियमा रहेको मान्न नहुने हुँदा निजको अंश भाग छुट्याउने औचित्य पूर्ण आधार देखि ननआएकोले निजले आधा सम्पति वण्डा पाउने ठहराएको सम्म पुनरावेदन अदालत, हेटौंडाको फैसला त्रुटीपूर्ण हुँदा सो हद सम्म उक्त फैसला केही उल्टी हुने ठहर्छ । तपसिल वमोजिम गर्नु ।
तपसिल
माथि इन्साफ खण्डमा लेखिए वमोजिम वादी शिवनेहीको मृत्यु भै सकेकोले निजको नाउँमा अंश छुट्याउनु नपर्ने ठहरीएको हुँदा निजको नाउँमा अंश भाग छुट्याउने गरी पुनरँवेदन अदालत, हेटौंडाको फैसलाको तपसिलको १ नं. ले कायम गरेको लगत कट्टा गरी दिनु भनि शुरु वारा जिल्ला अदालतमा लेखी पठाई दिनु ............. १
मिसिल नियमानुसार गरी बुझाई दिनु ............. १
उक्त रायमा सहमत छु ।
न्या. केदारनाथ उपाध्याय
इति संवत संवत २०५४ साल वैशाख ३१ गते रोज ३ शुभम ।