निर्णय नं. ६४५६ - सेवाबाट वर्खास्त गरेको

निर्णय नं. ६४५६ ने.का.प.०५४ अङ्क १०
संयुक्त इजलास
माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय
माननीय न्यायाधीश श्री इन्द्रराज पाण्डे
सम्वत् २०५२ सालको दे.पु.नं. ... ३३४२
फैसला मितिः २०५४।५।११।४
मुद्दाः सेवाबाट वर्खास्त गरेको ।
पुनरावेदकः जि. पर्सा विरगंज न.पा. वडा नं. १३ स्थित जि.डि फर्मास्युटिकल्स प्रा.लि. को तर्फबाट र आफ्ना हकमा समेत ऐ.ऐ. वस्ने ऐ. का व्यवस्थापक घनश्याम चचान
विरुद्ध
प्रत्यर्थीः जिल्ला वारा गा.वि.स. मोतिसर वार्ड नं. ३ वस्ने कुशेश्वर साह
§ श्रम ऐन, २०४८ को कानूनी व्यवस्था हेर्दा खराव आचरण गर्ने भनी कामदार वा कर्मचारीलाई व्यवस्थापकले दफा ५०(घ) वमोजिम सेवाबाट हटाउन पाउने व्यवस्था अन्तर्गत सेवाबाट हटाएकोमा व्यवस्थापकको त्यस्तो निर्णय उपर चित्त नवुझ्ने पक्षले सोही ऐनको दफा ६०(ग) ले श्रम अदालतमा पुनरावेदन गर्न सक्ने प्रावधान रहेको देखिन्छ । श्रम अदालत गठन नभएको कारणले दफा ७२(३) ले व्यवस्थापक द्वारा गरेको त्यस्तो आदेश उपर पुनरावेदन अदालतमा पुनरावेदन लाग्ने भै सो वमोजिम प्रस्तुत मुद्दा पुनरावेदन अदालतबाट किनारा भएको देखिन आयो । श्रम ऐन, २०४८ को व्यवस्था अन्तर्गत पुनरावेदन सम्वन्धमा दफा ६० मा पुनरावेदनको छुट्टै व्यवस्था भएको र सो व्यवस्था हेर्दा यस अदालतमा एक त पुनरावेदन लाग्ने व्यवस्था नै नभएको र दोश्रो व्यवस्थापकद्वारा दिइएको आदेश उपर चित्त नवुझ्ने पक्षले सम्म श्रम अदालतमा पुनरावेदन गर्न पाउने अवस्था रहेको देखिने ।
§ कारखाना र कारखानामा काम गर्ने मजदुर सम्वन्धी ऐनलाई प्रतिस्थापन गर्दै वनेको श्रम ऐन, २०४८ को दफा ६०(ग) को व्यवस्था अनुसार व्यवस्थापकले कर्मचारीलाई वर्खास्त गर्ने आदेश पुनरावेदन तहबाट उल्टी भएको अवस्थामा आफ्नो निर्णय उल्टी भए उपर व्यवस्थापक पक्ष स्वयंले पुनरावेदन गरी मुद्दा लम्याउन पाउने अवस्था देखिदैन । श्रम ऐनको दफा ६०(ग) र दफा ७२(३) को संयुक्त व्यवस्था अन्तर्गत व्यवस्थापकले गरेको आदेश उपर चित्त नवुझ्ने पक्षले मात्र पुनरावेदन अदालतमा पुनरावेदन गर्न सक्ने व्यवस्था रहेको देखिन्छ । निर्णय गर्ने व्यवस्थापक स्वयंलाई पुनरावेदन गर्ने हक दफा ६०(ग) को व्यवस्थाले परिकल्पना गरेको भन्न नमिल्ने र सोही कारणले आफ्नो निर्णय उल्टी भएको अवस्थामा दोश्रो तह पुनरावेदन गर्न पाउने अवस्था समेत नदेखिने ।
(प्र.नं. १३ र १४)
पुनरावेदक तर्फबाटः
प्रत्यर्थी तर्फबाटः
अवलम्वित नजिरः
फैसला
न्या.केदारनाथ उपाध्यायः प्रस्तुत पुनरावेदनको संक्षिप्त व्यहोरा यस प्रकार छः
२. तपाईले आफ्नो काममा लापरवाही र जानाजान कार्य सुस्ती तथा प्रतष्ठिान (प्रा) लि. का मजदुरलाई भडकाउने र प्रा.लि लाई असर पर्ने कार्य गर्नु भएकोले श्रम ऐन, २०४८ को दफा ५० को (ख) विपरित दफा ५१ को (ख)(छ) को विरुद्ध काम गरेकोले सोही ऐनको दफा ५२(ख) अनुसार तपाईको वार्षिक तलव वृद्धि रोक्का गर्ने गरी किन कार्वाही हुन नपर्ने हो सन्तोषजनक हुने गरी ७ दिन भित्र स्पष्टिकरण पेश गर्नु होला भन्ने समेतको कुशेश्वर साह कानुको नाममा जि.डि फर्मास्युटिकल्स (प्रा.)लि. को मिति २०४९।४।२६ को पत्र ।
३. ०४७।७।२८ गतेको संझौता विपरित कुनै काम गरेको छैन । होली खेलेको आरोप एकदम मिथ्या हो गत वर्षको स्पष्टिकरण दिई सन्तोषजनक कार्वाही नगरिने भन्ने स्पष्ट गर्नु भएको थियो । मिति २०४९।४।१९ गते सहि नगरी उद्योगको काम काजमा जानुका साथै कार्य सुस्ती गर्नु भो भन्ने समेतका कुरा मिथ्या हुन । पहिल्यै सही गर्नु पर्ने थिएन । श्रावण देखि लागु भएकोमा सही नगरी उद्योगको काम काज गरेको हो । पेपर नेपालीमा लेख्नूस भनी मात्र हामी सहि गर्ने छु भनी उद्योगको काम काजमा लागि उद्योगको काम काज गर्न थालेको हुँ कार्य सुस्ती गरेको होइन । उद्योगको अधिन मै रही कार्य गरेको छ । दफा ५२(ख) को कुनै त्यस्तो गरेको होइन भन्ने समेतको कुशेश्वर साह कानुले २०४९।४।३२ मा पेश गरेको स्पष्टिकरणको जवाफ ।
४. मिति ०४९।४।३२ मा तपाईले पेश गर्नु भएको स्पष्टिकरण सन्तोषजनक र विश्वासलायकको भन्ने देखिन नआएकोले श्रम ऐन, २०४८ को दफा ५०(ख) को (६) विरुद्ध जानजान काम गरेकोले दफा ५२(ख) अनुसार तपाईको वार्षिक तलव वृद्धि रोक्का गरिएको जानकारी गराईन्छ भन्ने जि.डि. फर्मास्युटिकल्स प्रा.लि. को २०४९।५।७ को पत्र ।
५. प्रा.लि. मा काम गर्दैको अवस्थामा तपाइले ०४९।११।३।१ मा दिउसो १ वजेका समयमा प्रा.लि. का केमिष्ट अजय कुमार झालाई प्रा.लि. को गेट वाहिर कुटपिट गाली वेइज्जति गर्नु भएको निजले तपाई समेत उपर कुटपिट गाली वेइज्जति र सार्वजनिक अपराध समेतको मुद्दा दिनु भएकोमा र म व्यवस्थापकले मौकामा नै थाहा पाएको र रिर्पोट समेत परेकोले किन त्यस्तो काम गर्नु भएको हो ? त्यसपछि तपाई प्रा.लि. मा विना विदा स्वीकृतिनै नगराई वसेपछि जि.डि इम्पेक्समा श्रम कार्यालय नारायणी अञ्चल विरगंजमा संझौता मिति २०४९।९।९ मा सरुवा गरिएको, पछि ०४९।९।१६ को पत्र दिई तोकिएको जि.डि इम्पेक्समा काम नगरी दिएको रु.१०००। पेश्की समेत फर्छोट नगरी तोकिएको ठाउँमा वा यस प्रा.लि. मा समेत काम नगरी विदा स्वीकृति समेत नलिई पद अनुसारको आचरण गरेको देखिएको छैन । श्रम कार्यालय नरायणी अञ्चल अदालतमा झूठ्ठा निवेदन २०५०।१।९ गते मात्र दिनु भएकोमा उक्त कार्यालयलाई प्रा.लि. ले २०५०।२।७ मा हरहिसाव गरि दिने भन्ने जवाफ पठाएको र लिएको १०००। पेश्की फर्छौट समेत गर्नु भएको छैन सो किन गर्नु भएन ? तपाईले विदा स्वीकृति नै नगराई किन वस्नु भएको हो ? कारखाना र कारखानामा काम गर्ने मजदुर सम्वन्धी नियम १०१९ को नियम २६(क) देहाय २ को विपरितको काम पनि गर्नु भएकोले तपाईले श्रम कार्यालयमा झूठ्ठा निवेदन दिएको प्रति समेत विचार गरी केमिष्ट अजय कुमार झालाई उल्लेखित कार्य गरी नराम्रो आचरण गर्नु भएकोले तपाईले आफ्नो पद कायमै रहेको दावी गर्नु भएको हुँदा श्रम ऐन, २०४८ को दफा ५१(ग) को तथा कारखाना र कारखानामा काम गर्ने मजदुर सम्वन्धी नियम ०१९ को नियम २६(क) को देहाय २ को विपरित समेत खराव आचरण गर्नु भएकोले तपाईलाई सोही ऐनको दफा ५२(४) वमोजिम सेवाबाट हटाउने जस्ता कार्य किन नगर्नु पर्ने हो ? ऐनको दफा ५०(घ) वमोजिम समेत ऐनको दफा ५३(१) वमोजिम ५ दिन भित्र सन्तोषप्रद स्पष्टिकरण पेश गर्नु होला अन्यथा कारवाही गर्दै जाने कुराको व्यहोरा पनि सुचित गराईन्छ । साथै तपाई आजसम्म पनि यस कार्यालयमा काममा हाजिर नहुनु भएकोले स्पष्टिकरणको पत्र हुलाकबाट पठाउनु परेको हो भन्ने समेतको २०५०।४।१७ को कुशेश्वर साह कानुको नामको जि.डि. फर्मास्युटिकल्सको पत्र ।
६. अजय कुमार झालाई पत्रमा उल्लेखित कार्य गरेको छैन । म उपर निजले कुनै प्रकारको मुद्दा पनि दायर गर्नु भएको छैन । पत्रमा उल्लेखित मितिका दिन भारत विहार पुर्वि चम्पारण रक्सौल थाना अन्तर्गत पर्ने कानना गाउँमा रहेकोले उल्लेखित मितिमा उल्लेखित कार्य नगरेको स्पष्ट हुँदा म उपरको अभियोग झूठ्ठा हो । श्रम ऐन, २०४८ को दफा ११ को उपदफा ४ नं. वमोजिम स्थायी मजदुरलाई आफ्नो नियन्त्रणको अन्य प्रतिष्ठानमा समान काम र समान वेतमा लगाउनु पर्नेमा सो केहि नगरी ऐनको विपरित तपाईले आफ्नो साथी उज्जल श्रेष्ठ, पालुङ गुरुङको नाउँमा नगरपालिको चूंगिकरमा म समेतलाई काममा लगाउनुको लागि ०४९।९।१६ गते मा पत्र लेख्नू भएको गुरुङले मसँग काम छैन घनश्याम चचानको यहाँ कुनै फेक्ट्री छैन भनी भन्दा अर्का उज्जल श्रेष्ठलाई सम्पर्क गर्दा चूंगीकर डिपोमा चूंगीकर असुल गर्ने काम गर्नु पर्छ निज घनश्यामको कुनै फैक्ट्र्ी यहाँ छैन । चाहनु हुन्छ गर्नु होस नचाहे नगर्नु होस भन्ने जवाफ दिंदा यस कार्यालयमा कुनै सम्वन्ध नभएको र समान वेतनका साथै समान काम नभएको कारणले सो ठाउँमा म समेतले काम गर्न सक्ने अवस्था नभएकोले मिति २०४९।९।१९ का दिन फिर्ता पत्र लिई यस प्रा.लि. मा उपस्थित हुँदा हाजिर गराउन अस्वीकार गर्नु भएकोले ०४९।९।२२ मा श्रम कार्यालयमा निवेदन गरेको कार्वाही भई मौखिक संझौतानुसार पुनः म समेतले उक्त प्रा.लि.मा काम गर्न प्रारम्भ गरेको यस प्रा.लि. मा मैले क्रमिक रुपमा काम गर्दै गरेको भएतापनि मलाई छुट्टै हाजिरी रजिष्टरीमा सहि गर्नु परेको र पटक पटक तलवको माग गर्दा एकै पटक दिने भनी आश्वासनमा पारी काम गरेको कुरा हजुरलाई अवगत नै छ । ०४९।१२।२५ मा तलवको माग गर्दा नदिई र फैक्ट्र्ीमा पनि हाजिर हुन नदिने भएपछि श्रम कार्यालय उल्लेख गरी निवेदन गरी विचाराधिनमानै छ । मबाट श्रम ऐन विपरत कार्य नभई प्रा.लि. बाटै नै भएको छ । म क्रमिकरुपमा कार्यरत मजदुरले विदा स्वीकृति गराउनु पर्ने नै आवश्यकता छैन । श्रम ऐन २०४८ को दफा ५१(क)(म) को तथा कारखाना र कारखानामा काम गर्ने मजदुर सम्वन्धी नियम ०१९ को नियम २६(क) देहाय (२) ले कुनै प्रभावित नगर्ने हुँदा सोही ऐनको दफा ५२(४) वमोजिम सेवाबाट हटाउनु नपर्ने हो भन्ने समेत व्यहोराको कुशेश्वर साह कानुने मिति २०५०।४।२४ गते पेश गरेको स्पष्टिकरणको जवाफ तपाईको स्पष्टिकरण सन्तोषजनक तथा विश्वासलायकको नदेखिंदा र तपाईले आफ्नो पद अनुसारको आचरण समेत नगरेको हुँदा श्रम ऐन, २०४८ को दफा ५१(क) को तथा कारखाना र कारखानामा काम गर्ने मजदुर सम्वन्धी नियम ०१९ को नियम २६(क) को देहाय २ को विपरित समेतेका खराव आचरण गर्नु भएको दृेखिएकोले श्रम ऐनको दफा ५२(४) वमोजिम समेत विपरित कार्य गरेको ठहर गर्दै तपाईलाई सेवाबाट हटाइएको छ । कार्यलयमा हाजिर नहुन आएबाट हुलाकबाट यो पत्र पठाइएको छ । भन्ने समेतको जि.डि फर्मास्युटिकल्स प्रा.लि. को मिति २०५०।५।१० को श्री कुशेश्वर साह कानूनको नामको पत्र ।
७. स्पष्टिकरणमा विचारै नगरी र व्यवस्थापकज्यूले मलाई कार्यमा नलगाउने र वांकी फिर्ता नदिने वदनियत चिताई षडयन्त्रपूर्ण तरिकाले केमिष्ट अजय कुमार झालाई उच्चाहटमा परि झूठ्ठा वारदातको सृर्जना गरी म समेत उपर झूठ्ठा मुद्दा दायर गरी मुद्दामा इन्साफ नहुँदैको अवस्थामा शंकाको आधारमा गैरकानूनी रुपले मलाई सेवाबाट हटाउने भनी गर्नु भएको निर्णय वदर योग्य भएकोले वदर गरी पुन सेवामा नियुक्ति पाउने गरी र वांकी तलव दिलाउने भराउने गरी हक इन्साफ गरी पाउँ भन्ने समेतेका पुनरावेदन अदालत हेटौडामा परेको पुनरावेदन ।
८. श्रम ऐन २०४८ को दफा ५१ को खण्ड (क) वमोजिम खराव आचरण गरेको भन्ने आधारमा दण्ड सजायको ५२(४) वमोजिम सेवाबाट वरखास्त गर्न पूर्व दफा ५३ को म्याद भित्र स्पष्टिकरण माग गर्ने कार्यविधि समेत अपनाउन पर्नेमा जिल्ला प्रशासन कार्यालयमा दायर रहेको सार्वजनिक अपराध मुद्दा र जिल्ला अदालतमा दायर रहेको गाली वेइज्जति र लुटपिट मुद्दा टुंगो नलागे दफा ५१ को खण्ड (क) वमोजिम खराव आचरण गरेको भन्ने समेत निष्कर्षमा पुगी दफा ५३ को स्पष्टिकरण सम्वन्धी म्याद समेतलाई ध्यानमा नराखी पुनरावेदकलाई सेवाबाट वर्खास्त गर्ने गरी विपक्षीले गर्ने निर्णय फरक पर्ने भएकोले विपक्षी झिकाउने भन्ने पुनरावेदन अदालत हेटौडाको मिति २०५१।२६।३ को आदेश ।
९. पुनरावेदकलाई उचित र पर्याप्त आधार प्रमाण लिई सेवाबाट वर्खास्ती गरेको हो भन्न सक्ने स्थिति देखिएन । उल्लेखित वुँदा प्रमाणको आधारमा पुनरावेदकलाई सेवाबाट वर्खास्त गर्ने गरेको मिति २०५०।५।१० को निर्णय मनासिव नदेखिंदा सो निर्णय वदर हुने ठहर्छ भन्ने समेत व्यहोराको पुनरावेदन अदालत हेटौडाको मिति २०५२।३।११ को फैसला ।
१०. प्रा.लि.बाट ऐन नियम र कानून सम्मत तवरबाट विदा स्वीकृत नगराई वसेको र काममा नआएको कारणले सेवाबाट हटाएको कानून सम्मत छंदाछंदै प्रमाणको मूल्याङ्कन नै नगरी व्यवस्थापकले गर्न सक्ने अधिकरलाई वन्देज लगाउने गरी सेवाबाट वर्खास्त गरेको निर्णय नमिलेको भनी शुरु निर्णय वदर गर्ने गरी पुनरावेदन अदालत हेटौडाबाट भएको फैसला वदर गरी शुरु निर्णय कायम गरी पाउँ भन्ने समेत व्यहोराको यस अदालतमा परेको पुनरावेदन ।
११. नियमानुसार पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदकका तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री श्याम प्रसाद खरेलले न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ग) को आधारमा प्रस्तुत पुनरावेदन यस अदालतमा पर्न आएको कुरा उल्लेख गर्दै व्यवस्थापकको अधिकारमा अंकुश लगाउने गरी भएको पुनरावेदन अदालतको फैसला त्रुटीपूर्ण भएकोले सो फैसला वदर हुनु पर्दछ भनी वहस प्रस्तुत गर्नु भयो ।
१२. उपस्थित विद्वान अधिवक्ताले प्रस्तुत गर्नु भएको वहस समेत सुनि पुनरावेदन सहितको मिसिल अध्ययन गरी हेर्दा प्रस्तुत मुद्दामा व्यवस्थापकले प्रत्यर्थी कर्मचारी कामदार वर्खास्त गर्ने गरेको निर्णय वदर गरेको पुनरावेदन अदालत हेटौडाको फैसला मिलेको छ छैन श्र भन्ने विषयमा निर्णय दिनु पर्ने देखिन आयो । निर्णय तर्फ विचार गर्दा जि.डि फर्मास्युटिकल्सले यी प्रत्यर्थी सित विभिन्न आधार राखी स्पष्टीकरणको माग गरी यी प्रत्यर्थीले दिएको स्पष्टीकरण सन्तोषजनक र विश्वासलायक नमानी प्रत्यर्थीलाई श्रम ऐनको दफा ५२(४) वमोजिम समेत विपरित कार्य गरेको ठहराई सेवाबाट हटाइएकोमा सो वर्खास्ती उपर कामदार कुशेश्वर शाहको पुनरावेदन अदालतमा पुनरावेदन परेकोमा पुनरावेदन अदालत हेटौडाबाट न्याय प्रशासन ऐन, २०४८ को दफा ८(१) तथा श्रम ऐन २०४८ को दफा ७२(३) अनुसारको क्षेत्राधिकार ग्रहण गरी उक्त फर्मले प्रत्यर्थी कामदारहरुलाई वर्खास्त गर्ने गरी गरेको व्यवस्थापनको उक्त निर्णय वदर गरी दिए उपर व्यवस्थापकको प्रस्तुत पुनरावेदन यस अदालतमा पर्न आएको देखियो ।
१३. श्रम ऐन, २०४८ को कानूनी व्यवस्था हेर्दा खराव आचरण गर्ने भनी कामदार वा कर्मचारीलाई व्यवस्थापकले दफा ५०(घ) वमोजिम सेवाबाट हटाउन पाउने व्यवस्था अन्तर्गत सेवाबाट हटाएकोमा व्यवस्थापकको त्यस्तो निर्णय उपर चित्त नवुझ्ने पक्षले सोही ऐनको दफा ६०(ग) ले श्रम अदालतमा पुनरावेदन गर्न सक्ने प्रावधान रहेको देखिन्छ । श्रम अदालत गठन नभएको कारणले दफा ७२ (३) ले व्यवस्थापक द्वारा गरेको त्यस्तो आदेश उपर पुनरावेदन अदालतमा पुनरावेदन लाग्ने भै सो वमोजिम प्रस्तुत मुद्दा पुनरावेदन अदालतबाट किनारा भएको देखिन आयो । श्रम ऐन, २०४८ को व्यवस्था अन्तर्गत पुनरावेदन सम्वन्धमा दफा ६० मा पुनरावेदनको छुट्टै व्यवस्था भएको र सो व्यवस्था हेर्दा यस अदालतमा एक त पुनरावेदन लाग्ने व्यवस्था नै नभएको र दोश्रो व्यवस्थापकद्वारा दिइएको आदेश उपर चित्त नवुझ्ने पक्षले सम्म श्रम अदालतमा पुनरावेदन गर्न पाउने अवस्था रहेको देखिन्छ ।
१४. कर्मचारीलाई वर्खास्त गर्ने व्यवस्थापन पक्ष भएकोले वरखास्त हुने कर्मचारी सरहको हक सुरक्षित गरेको भन्ने अर्थ गर्न मिल्दैन निजामती सेवा ऐन, २०४९ मा पनि वर्खास्त हुने कर्मचारीलाई मात्र पुनरावेदनको हक दिएको देखिन्छ । कस्लाई पुनरावेदन गर्न दिने भन्ने कुरा कानून निर्माण कर्ताको नीतिगत कुरा भएको भनी सर्वौच्च अदालत पूर्ण इजलासबाट द सोल्टी ओवरायका कार्यकारीणी अध्यक्ष प्रभाकर सम्सेर ज.व.रा. समेत विरुद्ध पुनरावेदन अदालत पाटन भएको रि.पु.इ.नं. ५१ को उत्प्रेषणयुक्त परमादेश मुद्दामा कारखाना र कारखानामा काम गर्ने मजदुर सम्वन्धी ऐन, २०१६ को दफा ५१ को व्याख्या गर्दै पुनरावेदन गर्ने अधिकार कर्मचारीलाई मात्र प्रदान गरिएको हुँदा व्यवस्थापन पक्षलाई सो हक नदीईएको भनी सिद्धान्त प्रतिपादन भएको छ । उक्त कारखाना र कारखानामा काम गर्ने मजदुर सम्वन्धी ऐनलाई प्रतिस्थापन गर्दै वनेको श्रम ऐन, २०४८ को दफा ६०(ग) को व्यवस्था अनुसार व्यवस्थापकले कर्मचारीलाई वर्खास्त गर्ने आदेश पुनरावेदन तहबाट उल्टी भएको अवस्थामा आफ्नो निर्णय उल्टी भए उपर व्यवस्थापक पक्ष स्वयंले पुनरावेदन गरी मुद्दा लम्याउन पाउने अवस्था देखिदैन । श्रम ऐनको दफा ६०(ग) र दफा ७२(३) को संयुक्त व्यवस्था अन्तर्गत व्यवस्थापकले गरेको आदेश उपर चित्त नवुझ्ने पक्षले मात्र पुनरावेदन अदालतमा पुनरावेदन गर्न सक्ने व्यवस्था रहेको देखिन्छ । निर्णय गर्ने व्यवस्थापक स्वयंलाई पुनरावेदन गर्ने हक दफा ६०(ग) को व्यवस्थाले परिकल्पना गरेको भन्न नमिल्ने र सोही कारणले आफ्नो निर्णय उल्टी भएको अवस्थामा दोश्रो तह पुनरावेदन गर्न पाउने अवस्था समेत नदेखिदा पुनरावेदन अदालत हेटौडाले कामदार कर्मचारीलाई वर्खास्त गर्ने निज व्यवस्थापकको निर्णय वदर गरे उपर व्यवस्थापक द्वारा दायर भएको प्रस्तुत पुनरावेदन खारेज हुने ठहर्छ । मिसिल नियमानुसार गरी वुझाई दिनु ।
उक्त रायमा सहमत छु ।
न्या.इन्द्रराज पाण्डे
इति संवत २०५४ साल भाद्र ११ गते रोज ४ शुभम ।