निर्णय नं. ६४६० - लिखत बदर
![](https://nkp.gov.np/assets/front/images/nkp_watermark.png)
निर्णय नं. ६४६० ने.का.प. २०५४ अङ्क ११
पुर्ण इजलास
माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय
माननीय न्यायाधीश श्री हरिश्चन्द्रप्रसाद उपाध्याय
माननीय न्यायाधीश श्री टोप बहादुर सिंह
संवत् २०५३ सालको दे.पु.इ.नं. ––––––––––– १०२
फैसला मितिः २०५४।७।२८।५
मुद्दा :– लिखत बदर ।
विन्तिकर्ता/वादीः भ.पु.जि. भ.पु.न.पं. वडा नं. १३ लायकु ढोका कोलाछे बस्ने गजेन्द्र बहादुर विजुक्छे मरी मु.स. गर्ने निजको छोरा भुपेन्द्र हाडा ।
विरुद्ध
विपक्षी/प्रतिवादीः भ.पु.जि. भ.पु.न.पं. वडा नं. १३ लायकु ढोका खोभाकोलाछे बस्ने मोहन कुमारी विजुक्छे हाडा समेत जम्मा ३ ।
§ वादीले सौतेनी आमा मोहन कुमारीले मिति २०३७।२।२२ मा गरिदिएको लिखत वदर गरी पाउँ भनी प्रस्तुत मुद्दामा दावी लिएको देखिन्छ । वादी गजेन्द्र बहादुर र निजका वावु डि.गणेश बहादुर हाडा, सौतेनी आमा मोहन कुमारी र निज पट्टिको छोरा गंभीर बहादुर समेत ४ अंशियारको भाग वण्डा लगाई मिति २०२१।७।२७ मा वण्डा पत्र पारित भएको र मिति २०२१।७।२२ मा वन्देज पत्र (शर्तनामा) को कागज समेत भएको देखिन्छ । सो कागजमा रहेको शर्त वन्देजमा वादी स्वयं पनि संलग्न रहेको, सो कागजमा रहेको शर्त वन्देजमा वादी स्वयम पनि संलग्न रहेको सो कागजका शर्त अनुसार वावु आमा दुवैको शेषपछि वावु आमाको नाउंमा रहेको सम्पत्ति छोराहरुले वांडी खान भन्ने उक्त शर्तनामा (वन्देजपत्र) को व्यहोराबाट देखिन्छ । वावु डि.गणेश बहादुरको शेषपछि आमाले सो सम्पत्ति आफ्नो नाममा नामसारी गरी वेचेकोमा त्यसरी वेच्न नपाउने उक्त शर्त वन्देज पत्रले कुनै वन्देज नराखेको र कानुनले पनि निषेध नगरेको देखिंदा वादी दावी नपुग्ने ठहर्याएको वाग्मती अंचल अदालतको इन्साफ सदर हुने ठहर्याएको यस अदालत संयुक्त इजलासको इन्साफ मनासिव ठहर्ने ।
(प्र.नं. १८)
वादी तर्फबाटः विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्ण प्रसाद भण्डारी, विद्वान अधिवक्ता श्री हरिहर दाहाल
विपक्षी तर्फबाटः
विद्वान अधिवक्ता श्री श्याम प्रसाद खरेल
विद्वान अधिवक्ता श्री बाबुराज जोशी
विद्वान अधिवक्ता श्री होरा प्रसाद जोशी
अवलम्वित नजिरः x
फैसला
न्या.केदारनाथ उपाध्यायः सर्वोच्च अदालत संयुक्त इजलासको मिति २०४५।९।२९ को फैसला उपर बिन्तिपत्र परि इन्साफ दोहर्याई हेर्ने निस्सा प्रदान भई निर्णयार्थ यस इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको तथ्य एवम् ठहर यस प्रकार छ :–
२. पिता डि.गणेश बहादुरको दुइटा पत्नीमा जेठी कृष्ण कुमारी र कान्छी विपक्षी मोहन कुमारी हुन । माता कृष्ण कुमारी आफ्नै कालगतिले १९८२ सालमा परलोक भएपछि पिताजीले विपक्षी मोहन कुमारीसंग वैवाहिक सम्बन्ध कायम गर्नु भएको हो । माताको शेषपछि हामी अंशियारामा पिता डि.गणेश बहादुर विपक्षी मोहन कुमारी म फिरादी र विपक्षी गम्भिर बहादुर समेत मिति २०२१।७।२२ गतेका दिन घरसारमा चार भाग अंश लगाई भिन्न भई २०२१।७।२७ गतेका दिन वण्डापत्र पारीत गरेका हौं । वण्डापत्र बमोजिम पिता गणेश बहादुरको भागमा परेको भ.पु. भ.पु.न.पं.वडा नं ४ वेखाल मूल ढोकाको पूर्व र उत्तर सडक बाटो पश्चिम गल्ली दक्षिण गुरुजुको वारी यति ४ किल्लाभित्रको रोपनी १०–८–० को घर पातालवारी वुद्धवीर सुवालले पाखुरे भई कमाई आएकोमा पिताको शेषपछि पूर्व पटृीको आधा गम्भिर बहादुर र पश्चिमपटृीको आधा म फिरादीले भोग चलन गरी आएको छु । साविक मोहि बुद्धवीर परलोक भई निजका छोरा विष्णु भक्त सुवालले कमाई आएको छ । उल्लेखित पूर्व पटृीको गम्भिर बहादुरको पातालवारी मोहन कुमारी दिने र गम्भिर बहादुर अन्तर साक्षी हुने भई २ जनाले भजगोबिन्द र लक्ष्मण डकर्मीलाई दिएबाट विपक्षीहरुको हकभोग स्पष्ट गरेको छ । हाल विपक्षीहरु तीन जनाले उल्लेखित पश्चिम पटृीको मेरो रोपनी ५–४–० को पातालवारी मध्ये पूर्व र दक्षिण यसै मध्येको घर पातालवारी पश्चिम गल्ली बाटो र उत्तर सडकबाटो यति ४ किल्लाभित्रको उ.द. १४८ फिट र पूर्व पश्चिम ३७ फिटको अं. रोपनी १ को घर पाताल भनि लेखाई रु. २४,९९९।– मा दिने मोहन कुमारी र लिने काशि बहादुर अवाले तथा अन्तरसाक्षी गभ्मिर बहादुरले ऋणीको एका घरको छोरा भनि मिति २०३७।२।२२ गतेका दिन रजिष्ट्रेशन पारीत गरिलिनु दिनु गर्नु भएको रहेछ । सो कुरा मैले २०३८।२।२० गतेका दिन थाहा पाई नक्कल सारी व्यहोरा अवगत गरेको हुँ । मेरो हकभोग स्वामित्वको पातालवारी र घर चोक मध्ये मिति २०३७।२।२२ गते पारीत फार्छे लिखत बदर गरी पाउं तथा मेरो घर चोकमा गारो परखाल लगाउन नदिई खिचोला मेटाई पाउं भन्ने समेत व्यहोराको फिराद पत्र ।
३. फिरादीको दावी तथा माग कुन ऐन अन्तरगतको हो उल्लेख गर्न सकेको छैन । फिरादीको फिरादपत्र दर्ता नै गर्न नमिल्ने स्पष्ट छ । एक भन्दा बढी विषयको कुरामा एक भन्दा बढी व्यक्तिलाई प्रतिवादी बनाएको हुँदा प्रस्तुत फिराद–पत्रबाट कारवाही चलाउन नमिल्ने कानूनी तथ्य प्रष्ट छ । शेषपछिको दानपत्र बकसपत्र आदी रजिष्ट्रेशन पास हुन पर्ने र नभएमा कानूनी मान्यता नहुने भएकोले मिति २०२१।७।२२ गतेको बन्देजपत्र रजिष्ट्रेशन पास नभएकोले कानूनी मान्यता प्राप्त नरहेको प्रष्ट छ । मिति २०२१।७।२२ गतेको घरसारको वण्डापत्रमा मोहन कुमारीका पतिदेव तथा गम्भिर बहादुरका पिताका भाग वण्डामा परेको र मोहन कुमारीको भागमा परेको श्रीसम्पत्ति आदि निज दुवैको शेषपछि बांकी भएको फिरादी गजेन्द्र बहादुरले र गम्भिर बहादुरले वरावरमा वांडी खाने प्रष्ट किटानी मिति २०२१।७।२२ गतेको बन्देजपत्रमा उल्लेख गरेको हुँदा डि.गणेश बहादुर परलोक भई सक्नु भएतापनि मोहन कुमारी जिवित छंदै सो वन्देजपत्र अनुसार फिरादी लगायतको हकदैया नलाग्ने प्रष्ट रहेको छ । फिरादीको फिरादपत्र नै लाग्न नसक्ने हुँदा फिराद–पत्र नै खारेज गरी पाउं भन्ने समेत व्यहोराको गम्भिर बहादुर विजुक्छे हाडा समेत जवान तीनको प्रउित्तर–पत्र ।
४. लोग्ने मरी सकेपछि मोहन कुमारीले मृतक गणेश बहादुरको अंश भागको जग्गा बेच विखन गर्ने अधिकार नभएको हुँदा दावी बमोजिम लिखत बदर हुने ठहर्छ । वादीले खिचोला तर्फ पनि काशि बहादुर समेत प्रतिवादी बनाइएको फिरादमा दावा लिएको अं. ७२ नं. बमोजिम लाग्न सक्दैन भन्ने समेत व्यहोराको मिति २०३८।११।५ गतेको भक्तपुर जिल्ला अदालतको फैसला।
५. उपरोक्त फैसलामा चित्त बुझेन उक्त फैसला बदर गरी हक इन्साफ गरी वादी दावीबाट फुर्सद दिलाई पाउं भन्ने समेत व्यहोराको प्रतिवादी गभ्मिर बहादुर समेतको वागमती अंचल अदालतमा परेको संयुक्त पुनरावेदन पत्र ।
६. आफ्नो हक अधिकार प्राप्त भएको सम्पत्ति बिक्री गर्न पाउने नै हुँदा लिखतबदर गरी पाउं भन्ने वादी दावी पुग्न सक्दैन, शुरु अदालतको इन्साफ उल्टी हुने ठहर्छ भन्ने समेत व्यहोराको मिति २०३९।८।२४ गतेको वागमती अंचल अदालतको फैसला ।
७. उपरोक्त फैसला चित्त बुझेन वागमती अंचल अदालतको फैसला कानूनी त्रुटीपूर्ण छ पुनरावेदन गर्न पाउने गरी अनुमति पाउं भन्ने समेत व्यहोराको मध्यमान्चल क्षेत्रीय अदालतमा परेको वादीको निवेदन–पत्र ।
८. सम्बन्धित जग्गामा वादीको हकै पुग्न नसक्ने भन्ने अवस्था नहुँदा वादी दावी नपुग्ने गरी वागमती अंचल अदालतले गरेको फैसलामा न्याय प्रशासन सुधार ऐन, २०३१ को दफा १३(३) को अवस्था विद्यमान हुँदा अनुमति प्रदान गरिएकोछ, भन्ने मध्यमान्चल क्षेत्रीय अदालत मिति २०४१।१।१७ गतेको आदेश ।
९. यसमा मिति २०२१।२।२७ मा रजिष्ट्रेशन पारीत भएको वण्डापत्रमा बाबु डि.गणेश बहादुर निजको कान्छि श्रीमती प्रतिवादी मोहन कुमारी र छोराहरु वादी गजेन्द्र बहादुर तथा प्रतिवादी गम्भिर बहादुर बीच ४ वण्डा भएको देखिन्छ । उक्त वण्डापत्रमा गणेश बहादुरको भागमा परेको घर जग्गा हाल विवादास्पद लिखतको जग्गा होइन भन्ने प्रतिवादी जिकिर नभएबाट त्यसतर्फ बिचार गर्न परेन । गणेश बहादुरको शेषपछि निजको हक कस्ले पाउने भन्ने प्रश्न तर्फ हेर्दा मिति २०२१।७।२२ गतेको घरसारको बन्देजपत्र हेर्दा अंशवण्डा बमोजिम आ–आफ्नो नाममा दर्ता फोरी लिने दिने र भविश्य ४ अंशमा अंशियार गणेश बहादुरको र मोहन कुमारीको भागमा परेको श्रीसम्पत्ति आदी निज दुवैको शेषपछि बांकी भएका अंशियार गजेन्द्र बहादुर, गम्भिर बहादुर जना दुईले वरावरका दरले वाडी खाने भन्ने उल्लेख रहेछ । उक्त लिखतको वैधतातर्फ हेर्दा बन्देज पत्र एक किसिमको शर्तनामा जस्तो रहेछ, जस्तो प्रकरण नं. १ को माथि उल्लेखित शर्तनामा चारैे अंशियारको सहीछाप भएको र हामीले स्वेच्छाले गरेको होइन, भन्ने ईन्कारी नहुँदा वादी प्रतिवादीहरुलाई वाध्य तुलाउंछ । त्यस्तो शर्तनामा रजिष्ट्रेशन पारीत हुन पर्ने कानूनी वाध्यता समेत रजिष्ट्रेशनको १ नं. ले गरेको देखिदैन । यस्को अलावा चारै जना अंशियार वेगल भएपछि अपुतालीको ६ नं. अनुसार मिसाएको पनि देखिदैन । अंश मिसानलाई रजिष्ट्रेशन पारीत हुनुपर्छ भन्ने वाध्यता हुन्छ । सो बमोजिम नभएबाट र बन्देज पत्रको शर्तले बाबुको भागको अंश बाबुको शेषपछि छोराहरुले पाउने देखिन्छ । दुवैको शेषपछि भन्ने बन्देजपत्रको बोलीलाई गणेश बहादुरको शेषपछि निजको अंश श्रीमती मोहन कुमारीमा सर्ने भन्ने व्याख्या असंगत हुन्छ । बाबु आमा दुवैको सम्पत्तिबारे बेग्ला बेग्लै सम्पत्ति हस्तान्तरण हुने व्याख्याहरु तर्क संगत हुने हुँदा डि.गणेश बहादुरको अंश भागमा परेको जग्गा छोराहरुमा हक सर्नेमा मोहन कुमारीले बिक्री गरेको कानून संगत नहुँदा बदर हुने ठहराएको भक्तपुर जिल्ला अदालतको इन्साफ सदर हुने भई वागमती अंचल अदालतको इन्साफ मनासिव नदेखिंदा बदर हुन्छ भन्ने समेत मध्यमान्चल क्षेत्रीय अदालत मिति २०४२।११।२६ गतेको फैसला ।
१०. मध्यमान्चल क्षेत्रीय अदालतको मिति २०४२।११।२६ गतेको फैसलामा स्पष्टतः सार्वजनिक महत्वको कानूनी त्रुटी भई इन्साफमा तलमाथि परी अन्याय पर्न गएकोले पुनरावेदनको अनुमति पाउं भन्ने समेतको मोहन कुमारी विजुक्छे समेतको यस सर्वोच्च अदालतमा पर्न आएको निवेदन–पत्र ।
११. यस्मा रजिष्ट्रेशनको १ नं.ले पारीत हुनु पर्नेमा पारीत नभएको कागजलाई आधार लिएको रजिष्ट्रेशनको ६ नं.को विपरित हुँदा लिखत बदर हुने ठहर्याएको मध्यमान्चल क्षेत्रीय अदालतको फैसला त्रुटीपूर्ण देखिएकोले न्याय प्रशासन सुधार ऐन, २०३१ को दफा १३ को उपदफा (५) को खण्ड (ख) अनुसार पुनरावेदनको अनुमति दिइएको छ भन्ने समेत यस अदालत मिति २०४३।२।१४ गतेको आदेश ।
१२. प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादी मोहन कुमारी निजको छोरा गम्भिर बहादुर हाडा र निजको लोग्ने स्व.डि गणेश बहादुर तथा विपक्षी वादी गजेन्द्र बहादुर गरी जम्मा ४ जना अंशियारहरु वीच मिति २०२१।७।२२।७ मा अंशवण्डा भएको देखिन्छ । सो अंशवण्डा भएपछि यिनै अंशियारहरु बीच सोही मितिमा एक बन्देजनपत्र गरी त्यसमा ४ अंशमा अंशियार गणेश बहादुरको र मोहन कुमारीको भागमा परेको श्रीसम्पत्ति आदि निज दुवैको शेषपछि बांकी भएको, अंशियार गजेन्द्र बहादुरले र गम्भिर बहादुर दुई जनाले बराबरका दरले वांडी खाने भन्ने शर्त रहेको देखिन्छ । सो बन्देज पत्रलाई वादी प्रतिवादी दुवैले ईन्कार गर्न नसकेकोले त्यसलाई कानून बमोजिम सद्दे लिखतनै मान्नु पर्यो । उक्त मिति २०२१।७।२२ गतेको बन्देज पत्रलाई फिराद दावी बमोजिम मान्यता दिएको अवस्थामा सो बन्देजपत्रमा आमा र बाबु दुवैको शेषपछि बांकी भएको, अंशियार गजेन्द्र बहादुर र गम्भिर बहादुर दुई जनाले बराबरका दरले वांडी खाने उल्लेख भएकोबाट आमा बाबु दुवैको मृत्यु उप्रान्त जो बांकी रहन्छ । त्यसमा मात्र वादीले आधि भाग पाउने देखिन्छ । आमा जिवित रहेको अवस्थामा बाबु परलोक हुँदैमा उक्त सम्मत्तिमा वादीको आधा हक लाग्छ भन्न मिलेन । बाबु आमा दुवै जनाको शेषपछिमात्र सो बांकी रहेको सम्पत्ति अंशियारहरुले वांडी खान पाउने भई बाबुको भागमा परेको विवादका जग्गा आमाले बिक्री गरेकोमा आमा जिवित छंदै वादीको दावी लाग्ने भन्न नमिल्ने हुँदा वादी दावी बमोजिम लिखत बदर हुने ठहर्याएको मध्यमान्चल क्षेत्रीय अदालतको इन्साफ मिलेको देखिएन । वादी दावी पुग्न नसक्ने ठहर्याएको वागमती अंचल अदालतको इन्साफ मनासिव ठहर्छ भन्ने समेत यस अदालत संयुक्त इजलासको फैसला ।
१३. स्वर्गीय गणेश बहादुरको शेषपछि निजको सम्पत्ति मेरो पिता स्वर्गीय गजेन्द्र बहादुर गंभिर बहादुर दुई भाइले बरावर वांडी खाने शर्तनामा बमोजिम भोग चलन गरी आएको जग्गा १२ वर्षपछि शर्त नामाको विपरित पर्ने गरी म्यादभित्र अपुतालीसम्म दावा नगरी चुप लागि पाउने व्यक्तिले जालसाजीबाट गरेको कार्यलाई मेरो दुर्भाग्यवस सर्वोच्च अदालतबाट वैधमानी फैसला गरिदिएकोले हामी माथी हदैसम्म अन्याय पर्न गएको हुँदा सो फैसला पुनः मुद्दा दोहर्याई इन्साफ जांच गरिदिनु भन्ने सर्वोच्च अदालत पूर्ण इजलासको नाममा हुकुम प्रमाङ्गी पाउं भन्ने समेत भुपेन्द्र हाडाको बिन्तिपत्र परि प्रस्तुत मुद्दा यस अदालतमा आएको रहेछ ।
१४. यसमा शुरु रेकर्ड र भए प्रमाण मिसिल समेत सम्बन्धित अदालतबाट झिकाई आएपछि नियम बमोजिम पेश गर्नु भन्ने समेत यस अदालत संयुक्त इजलासको आदेश ।
१५. यसमा वादी गजेन्द्र बहादुर विजुक्छे हाडाको प्रतिवादी गंभिर बहादुर भाइ, प्रतिवादी मोहन कुमारी सानी आमा भएको र वादी प्रतिवादीका पिता एवं पति गणेश बहादुर समेत ४ अंशियार भै मिति २०२१।७।२७ मा वण्डापत्र पारित भै छुट्टि भिन्न भएको भन्ने कुरामा विवाद छैन । त्यस्तै २०२१।७।२२ मा भएको शर्त बन्देजको कागजलाई पनि वादी प्रतिवादीले स्वीकार गरेकै देखिन्छ । बन्देज पत्रबाट गणेश बहादुर र मोहन कुमारीको अंश भागको सम्पत्ति सम्बन्धमा दुवैको शेषपछि बांकी भएको दुवै छोराहरुले वांडी खाने शर्त भएको पाइन्छ । विवादीत लिखतको सम्पत्ति गणेश बहादुरको अंश भागमा रहेकोमा पनि विवाद देखिन्न । गणेश बहादुरको परलोक पछि निजको अंश भागको सम्पत्तिमा वादीको हक नहुने भन्ने शर्त बन्देजको कागजबाट पनि भन्न मिल्ने देखिन्न । गणेश बहादुरको परलोक पछि निजको अंश भागको सम्पत्ति मोहन कुमारीकोमा जाने र निजले हक हस्थान्तरण गर्न पाउने भनी अर्थ गर्न पनि उक्त बन्देजको कागजबाट मिल्ने अवस्था छैन । अन्यथा वादी जस्तो स्थितिको गणेश बहादुरको छोराले बन्देज पत्रको भावना अनुरुप बाबुको सम्पत्ति उपभोग गर्न नपाउने अवस्था पर्न जान्छ । शर्त बन्देजबाट नै बाबु गणेश बहादुरको शेषपछि निजको अंश भागको सम्पत्तिमा वादीको हक नहुने भनी मान्न न्याय कानून संगत देखिन्न । साथै वादी दावी नपुग्ने गरेको यस अदालत संयुक्त इजलासको इन्साफ दोहोर्याई हेर्नु पर्ने अवस्था हुँदा मुद्दामा दर्ता गरी विपक्षी समेत झिकाई नियम बमोजिम पूर्ण इजलासमा पेश गर्नु भन्ने समेत यस अदालत संयुक्त इजलासको आदेश ।
१६. नियम बमोजिम दैनिक पेशी सूचीमा चढी यस इजलास समक्ष पेश भएको प्रस्तुत मुद्दामा वादीका तर्फबाट उपस्थित विद्वान वरिष्ट अधिवक्ता श्री कृष्ण प्रसाद भण्डारी तथा विद्वान अधिवक्ता श्री हरिहर दाहालले सर्वोच्च अदालत संयुक्त इजलासको फैसला मुलुकी ऐन अपुतालीको ६ नं. मा भएको व्यवस्था लिखत भए लिखतै बमोजिम हुने व्यवस्थाको विपरित भएको छ । यी पक्ष विपक्ष वीच भएको बन्देज पत्रलाई विपक्षले अन्यथा भन्न सकेको स्थिति छैन । यस्तो अवस्थामा विपक्षी मोहन कुमारी र गंभिर बहादुरले मेरो पक्ष गजेन्द्र बहादुर हाडाको भागको जग्गा विक्रि गर्न पाउने नै होइन अतः त्यसरी बिक्री गरेको २०३७।२।२२ मा पारित भएको फार्छे लिखत बदर गरीनु पर्छ भनि गर्नु भएको वहश तथा विपक्षी काशी बहादुर अवाले, मोहन कुमारी र गंभिर बहादुर हाडा समेतको तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री श्याम प्रसाद खरेल, श्री बाबुराजा जोशी, श्री होरा प्रसाद जोशी समेतले यी पक्ष, विपक्षी बीच अंश वण्डा बाहेक घर सारमा भएको बन्देज पत्रले कानूनी मान्यता पाउने सक्ने होइन, त्यसरी मान्यता पाएपनि स्वर्गीय गणेश बहादुरको शेषपछि निजको एका संगोलकी श्रीमती मोहन कुमारी जिवीतै रहको अवस्थामा गणेश बहादुर पछिको हक मोहन कुमारीमा सर्ने हो त्यसपछि मात्र छोराहरुमा सर्ने हुन्छ । यसरी मोहन कुमारी जिवितै रहेको अवस्थामा निजले बिक्री गरेको जग्गाको लिखत बदर हुन पर्ने होइन । यदि बन्देजपत्रलाई बैध माने पनि आमा बाबु दुवैको शेषपछि मात्र बांकी रहेको सम्पत्ति दुई भाइ छोराहरुले बराबर वांडी खान पाउने भन्ने शर्त बन्देज पत्रमा उल्लेख भएको छ । अतः विपक्षीको माग बमोजिम लिखत बदर हुन पर्ने होइन । त्यस कारण वागमति अंचल अदालतको फैसला मनासिव ठहर्याएको सर्वोच्च अदालत संयुक्त इजलासको फैसला सदर गरिनु पर्छ भनि गर्नु भएको वहस समेत सुनियो ।
१७. आज निर्णय सुनाउनको लागि यस इजलास समक्ष पेश भएको प्रस्तुत मुद्दामा उल्लेखित बहश समेत सुनि निर्णय तर्फ बिचार गर्दा सर्वोच्च अदालत संयुक्त इजलासको फैसला मिलेको छ, छैन ? त्यसमा निर्णय दिनु पर्ने देखियो ।
१८. यसमा वादीले सौतेनी आमा मोहन कुमारीले मिति २०३७।२।२२ मा गरिदिएको लिखत बदर गरी पाउं भनि प्रस्तुत मुद्दामा दावी लिएको देखिन्छ । वादी गजेन्द्र बहादुर र निजका बाबु डि. गणेश बहादुर हाडा, सौतेनी आमा मोहन कुमारी र निज पट्टिको छोरा गंभिर बहादुर समेत ४ अंशियारको भाग वण्डा लगाई मिति २०२१।७।२७ मा वण्डा पत्र पारित भएको र मिति २०२१।७।२२ मा बन्देज पत्र (शर्तनामा) को कागज समेत भएको देखिन्छ । सो कागजमा रहेको शर्त बन्देजमा वादी स्वयं पनि संलग्न रहेको सो कागजका शर्त अनुसार बाबु आमा दुवैको शेषपछि बाबु आमाको नाउंमा रहेको सम्पत्ति छोराहरुले वांडी खाने भन्ने उक्त शर्तनामा (बन्देजपत्र) को व्यहोराबाट देखिन्छ । बाबु डि. गणेश बहादुरको शेषपछि आमाले सो सम्पत्ति आफ्नो नाममा नामसारी गरी बेचेकोमा त्यसरी बेच्न नपाउने उक्त शर्त बन्देज पत्रले कुनै बन्देज नराखेको र कानूनले पनि निषेध नगरेको देखिंदा वादी दावी नपुग्ने ठहर्याएको वाग्मती अंचल अदालतको इन्साफ सदर हुने ठहर्याएको यस अदालत संयुक्त इजलासको इन्साफ मनासिव ठहर्छ । मिसिल नियमानुसार गरी बुझाई दिनु ।
उक्त रायमा हामी सहमत छौं ।
न्या.हरिश्चन्द्र प्रसाद उपाध्याय
न्या.टोप बहादुर सिंह
ईति संवत् २०५४ साल कार्तिक २८ गते रोज ५ शुभम् ...................... ।