शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ८९५५ - कर्तव्य ज्यान

भाग: ५५ साल: २०७० महिना: जेष्ठ अंक:

ने.का.प. २०७०,           अङ्क २

निर्णय नं.८९५५

 

सर्वच्च अदालत, पूर्ण इजलास

माननीय न्यायाधीश श्री रामकुमार प्रसाद शाह

माननीय न्यायाधीश श्री वैद्यनाथ उपाध्याय

माननीय न्यायाधीश श्री कमलनारायण दास

मुद्दा नं.०६७CF००२०, ००२१

फैसला मितिः २०६९।५।२१।५

 

मुद्दा :कर्तव्य ज्यान ।

 

पुनरावेदक प्रतिवादीः काठमाडौँ जिल्ला, का.म.न.पा.वडा नं.३० कमलाक्षी असन वस्ने उपेन्द्र शाक्य

विरुद्ध

विपक्षी वादीः सम्पूर्णरत्न तुलाधरको जाहेरीले नेपाल सरकार

 

पुनरावेदक वादीः सम्पूर्णरत्न तुलाधरको जाहेरीले नेपाल सरकार

विरुद्ध

विपक्षी प्रतिवादीः काठमाडौँ जिल्ला, का.म.न.पा.वडा नं.३० कमलाक्षी असन वस्ने उपेन्द्र शाक्य

 

संयुक्त इजलासमा फैसला गर्ने :

मा.न्या.श्री ताहिर अली अन्सारी

मा.न्या.श्री भरतराज उप्रेती

 

§  कुरूप अनुहारको छाला मिलाउनका लागि गरिएको अपरेशनसित सम्बन्धित एनेस्थेसिया समेतको औषधिहरूका कारण मृत्यु भएको अवस्थामा त्यसलाई एक महिनाअगाडि एसीड फालेको वारदातसँग जोडी सोही जरियाबाट मृत्यु भएको भन्ने निष्कर्षमा पुग्न नसकिने ।

(प्रकरण नं.६)

§  कुरूपतालाई ठीक पार्ने उद्देश्यले गरे गराएको अपरेशनको क्रममा भएको मृत्युको सम्बन्ध मृत्यु हुनु भन्दा एक महिना अगावै एसीड फालिएको घटनासँग जोडेर दोषी र मृत्युको कारक बनाउनु औचित्यपूर्ण, तर्कसंगत, कानूनसम्मत र न्यायपूर्ण नहुने ।

(प्रकरण नं.८)

§  एसीडको प्रभाव वा कारणबाट मृत्यु भएको नभई अपरेशनको क्रममा प्रयोग भएको विभिन्न औषधिको Side Effect वा Toxic Effect तथा भेन्टिलेटरले स्वास नलीमा सुजन भएको कारण समेतबाट मृत्यु भएकोभन्ने विशेषज्ञ चिकित्सकहरूको प्रतिवेदन र अदालतमा भएको बकपत्र समेतबाट देखिएको अवस्थामा ज्यान सम्बन्धीको १४ नं. अनुसार सजाय गर्न नमिल्ने ।

(प्रकरण नं.१०)

§  साधारण लाठी, ढुङ्गा, लात मुक्काको प्रहार नगरी एसीड अनुहारमा फालेको र निज उपचार गरी निको भई डिस्चार्ज भैसकेपछि अनुहारको जलेको भाग पूर्व रूपमा ल्याउने प्रयासस्वरूप अपरेशन गर्दा ऐनले तोकेको समयावधि २१ दिनपछि मृत्यु भएकाले ज्यान सम्बन्धीको १४ नं. अनुसार कुटपीटको घटनाबाट थला परेको नभएमा वा ऐनले तोकेको २१ दिनपछि मरेको अवस्थामा ज्यान सम्बन्धी महलअन्तर्गत ज्यान मारेको भनी सजाय गर्न कानूनअनुकूल नहुने ।

(प्रकरण नं.११)

 

पुनरावेदक प्रतिवादी तर्फबाटः विद्वान वरिष्ठ अधिवक्ता शम्भु थापा तथा विद्वान अधिवक्ताहरू ज्ञानरत्न शाक्य तथा वल्लभ वस्नेत

पुनरावेदक वादी तर्फबाटः विद्वान उपन्यायाधिवक्ता हरिप्रसाद रेग्मी

अवलम्बित नजीरः

सम्बद्ध कानूनः

§  ज्यान सम्बन्धी महलको ८, , १०, ११, १२, १३(३), १४ नंं.

§  सर्वोच्च अदालत नियमावली २०४९ को नियम ३(१)(क)

 

फैसला

            न्या.रामकुमार प्रसाद शाहः यस अदालतको संयुक्त इजलासबाट रायवाझी फैसला भई सर्वोच्च अदालत नियमावली २०४९ को नियम ३(१)(क) बमोजिम पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छः

            सृजन वीर कंसाकारलाई उपेन्द्र शाक्यले मिति २०५९।११।६ गते पूर्व रिसइवी लिई अनुहारमा एसीड खन्याई कुरूप बनाई उपचारको सिलसिलामा अपरेशन गर्नका लागि सर्वाङ्ग स्वास्थ्य केन्द्र लगेकोमा अपरेशन हुन नपाई सोही चोट पीडाको कारणबाट मृत्यु भएकोले कानूनबमोजिम ज्यानसम्बन्धी महलअनुसार हदैसम्म कारवाही गरिपाऊँ भन्ने सम्पूर्णरत्न तुलाधरको जाहेरी दरखास्त ।

            लाशको टाउकोमा कपाल नभई पूरै खौरिएको, मृतकको कन्चट तर्फ दुई इञ्ची लामो दाग भएको, टाउकोको भागमा १ इञ्च लामो घाउ भएको, बायाँ गालामा आँखामुनि छाला पूरै कालो भएको, छातीदेखि घाँटी चिउँडोसम्मको भाग पूरै छाला जली कालो भएको छातीको छाला जलेको र रगत आएको, तिघ्रामाथि पूरै छाला कालो भएको भन्ने लास प्रकृति मुचुल्का ।

            मेरो श्वेता तुलाधरसँग प्रेम सम्बन्ध भै विवाह प्रायः निश्चित् भै श्वेताको आमावुवाले सृजन वीर कंसाकारसँग निजको विवाह पक्का गरी दिनु भएको कुरा थाहा पाई सृजनवीरलाई सम्झाई बुझाई गर्दा पनि निजले वास्ता नगरेको हुँदा निजलाई कर्तव्य गरी मार्ने योजना बनाई मिति २०५९।११।६ मा निजलाई श्वेताको बारेमा कुरा छ भनी बोलाई कोठामा लुकाई राखेको सुन, चाँदी बनाउन प्रयोग हुने तेजाब (एसीड) को शिशीले निजको अनुहारमा छ्यापी कुटपीट गरी तत्काल नमरी घाईते मात्र भई वीर अस्पतालमा उपचार गराई पछि उपचारको क्रममा सर्वाङ्ग नर्सिङ होममा भर्ना भएकोमा सोही चोट पीडाले मृत्यु भएको भन्ने समेत उपेन्द्र शाक्यको अनुसन्धानको क्रममा बयान ।

            उपेन्द्र शाक्यले छ्यापेको एसीडको चोट पीडाले सृजन वीर कंसाकारको मृत्यु भएको कुरामा विश्वास लाग्छ भन्ने समेत व्यहोराको लक्ष्मण वज्राचार्यको कागज ।

            पूर्व रिसइवीले घातक तेजाब छ्यापी सख्त घाईते बनाई वीर अस्पतालमा उपचार भई पुनः सर्वाङ्ग स्वास्थ्य सदनमा भर्ना गरिएकोमा निजको सोही दिन तेजाबको चोट पीडाले मृत्यु भएको कुरा सुनी थाहा पाएको विश्वास लाग्छ भन्ने समेत वुझिएका प्रया श्रेष्ठ, पवन श्रेष्ठको कागज ।

            प्रतिवादी उपेन्द्र शाक्यले ज्यान मार्ने उद्देश्यले एसीड (तेजाब) खन्याएको र कुटपीट समेत गरेको सोही चोट पीडाबाट संवेदनशील अङ्गमा गम्भीर असर परी थला परी उपचारार्थ वीर अस्पताल एवं सर्वाङ्ग नर्सिङ होममा उपचारको क्रममा मृत्यु भएको हुँदा ज्यान सम्बन्धी महलको ८ नं.वर्खिलाप ऐ.को १ नं. तथा १३(३) को कसूर गरेको देखिंदा हदैसम्म सजाँय गरिपाऊँ भन्ने समेत व्यहोराको अभियोग पत्र ।

            मैले मृतकलाई एसीड छर्की कुटपीट गरेको होइन मलाई हानेको एसीड मैले छेक्दा मेरो हातमा र वोतलबाट उछिट्टिएर मृतकलाई लाग्न गएको हो भन्ने समेत व्यहोराको प्रतिवादी उपेन्द्र शाक्यले अदालतमा गरेको बयान ।

            पीडितको घाँटी र छातीका घाउहरू निको नभएकोले वेहोश भै उपचारको क्रममा मृत्यु भएको हो भन्ने समेत व्यहोराको सर्वाङ्ग स्वास्थ्य सदनका डा.नारायण गोविन्द अमात्यको बकपत्र ।

            उपेन्द्रको कर्तव्यबाट मृत्यु भएको भए अघि नै मृत्यु हुनु पर्दथ्यो भन्ने व्यहोराको प्रतिवादीका साक्षी उमेश मर्हजनको बकपत्र ।

            सृजन वीर कंसाकारलाई उपेन्द्र शाक्यले एसीड छर्केकोले मृत्यु भएको हो भनी जाहेरवाला सम्पूर्ण रत्न तुलाधरको बकपत्र ।

            मृतकलाई राम्रो अवस्थामा नआई डिस्चार्ज गरिँदैन । डिस्चार्ज गर्दा निजको अवस्था राम्रो थियो भन्ने समेत व्यहोराको वीर अस्पतालको डा.केशव दास जोशीको बकपत्र ।

            प्रस्तुत मुद्दामा मृतकको मृत्यु ज्यानसम्बन्धीको ८ नं. मा उल्लेख भएअनुसार मृतकलाई प्रतिवादीले कुनै अङ्ग भाच्ने छिन्ने गरी हाने कुटेको अवस्था र त्यसबाट घाईते भई थला परी निको नभई मृत्यु भएको अवस्था विद्यमान रहेको पाईदैन । वीर अस्पतालबाट डिस्चार्ज भएपछि एसीडबाट जलेर खुम्चिएको छालाहरूको अपरेशन गरी मिलाउने क्रममा निज बेहोश गरिँदाको अवस्थामा मिति २०५९।१२।८ मा मृत्यु भएको प्रमाणहरूबाट प्रमाणित भएकोले ज्यानसम्बन्धीको ८ नं. को अवस्था परी मृतकको मृत्यु भएको नहुँदा प्रतिवादीले अभियोग दावीबाट सफाइ पाउने ठहर्छ भन्ने समेत व्यहोराको काठमाडौँ जिल्ला अदालतको मिति २०६०।११।२८ को फैसला ।

            मृतक सृजनलाई मार्ने उद्देश्यले मृतकको शरीरमा तेजाब हाली डोरीले घाँटीमा कसी मार्न खोज्दा मृतक त्यहाँबाट भागी जाहेरवालाको पसलमा पुगी त्यहाँबाट उपचारको लागि वीर अस्पतालमा उपचार समेत भइसकेपछि डिस्चार्ज भई पुनःउपचारको लागि सर्वाङ्ग स्वास्थ्य सदनमा उपचार गर्दा गर्दै मृत्यु भएको प्रष्ट हुँदा पनि शुरुले सफाइ दिएको मिलेन, अभियोग दावीबमोजिम सजाय गरिपाऊँ भन्ने समेत व्यहोराको वादी नेपाल सरकारको पुनरावेदनपत्र ।

            मृतकलाई अनुहारमा तेजाब छ्यापी मार्ने योजना बनाएको भनी अधिकार प्राप्त अधिकारी समक्ष सावित भई बयान गरेको र एसीड तेजाबको जलनको उपचार हुँदाहुँदैको अवस्थामा अस्पतालमा मृत्यु भएको भन्ने देखिन आएको स्थितिमा प्रतिवादीलाई सफाइ दिने ठहर्‍याएको शुरु काठमाडौं जिल्ला अदालतको ईन्साफ फरक पर्न सक्ने देखिँदा प्रत्यर्थीलाई छलफलको लागि विपक्षीलाई झिकाई आए पछि वा म्याद नाघेपछि पेश गर्नु भन्ने पुनरावेदन अदालतको आदेश ।

            ज्यान सम्बन्धीको १३(३) नं. बमोजिमको अभियोग दावी आकर्षित नभई ऐ.को १४ नं. आकर्षित हुने हुँदा प्रतिवादी उपेन्द्र शाक्यलाई मुलुकी ऐन ज्यान सम्बन्धी महलको १४ नं. बमोजिम १० वर्ष कैद हुने ठहर्छ । अभियोग दावीबाट सफाइ दिने ठहर्‍याएको शुरु काठमाडौं जिल्ला अदालतको मिति २०६०।११।२८ को फैसला उल्टी हुन्छ भन्ने समेतको पुनरावेदन अदालत, पाटनको २०६४।३।३२ को फैसला ।

            प्रतिवादीले आफ्नो प्रेमिकाको विवाह मृतकसँग हुने निश्चित् भएपछि सोही रिसइवीका कारण मृतकलाई मार्ने उद्देश्य लिई आफूले लुकाई राखेको एसीड मृतकको शरीरमा छ्यापेको र त्यसपछि कुटपीट समेत गरेको तथ्यमा सहमत भई बयान गरेका छन् । वारदात प्रतिवादीकै घर कोठामा भएको र तेजाब जस्तो पदार्थ सजिलो सँग सबैले देख्न छुन सकिने ठाउँमा नराखिने भएको तर मृतकलाई उक्त तेजाबबाटै घाईते बनाई पटकपटक प्रहार गरी कुटपीट गरेको तथ्य घाईतेको जाँच केश फाराम , तेजाब बरामद भएको बरामदी मुचुल्काबाट समेत पुष्टि भई प्रतिवादीको मार्ने मनसाय स्पष्टतः देखिइरहेको अवस्थामा मार्ने मनसाय नभएको भनी आत्मगत रूपमा लिइएको आधार स्वीकार योग्य छैन् । प्रतिवादीले लुकाई छिपाई राखेको एसीडले छ्यापेको तथ्यमा विवाद हुने अवस्था छैन । यस्तो अवस्थामा प्रतिवादीलाई अभियोग दावी बमोजिम सजाय नगरी ज्यानसम्बन्धीको १४ नं. बमोजिमको कसूर ठहर गरी भएको पुनरावेदन अदालत पाटनको फैसला त्रुटिपूर्ण भएकोले उक्त फैसला सो हदसम्म बदर गरी प्रतिवादीलाई अभियोग दावीबमोजिम सजाय गरिपाऊँ भन्ने समेतको वादी नेपाल सरकारको यस अदालतमा परेको पुनरावेदन पत्र ।

            मिति २०५९।११।६ मा भएको वारदातपश्चात् ऐनको म्याद २१ दिनभित्र मृत्यु नभई २५ औं दिन मिति २०५९।११।३० मा निज सृजनवीर कंशाकार वीर अस्पतालबाट डिस्चार्ज भई घर गएको र त्यसपछि ७ दिन घरमा बसी आठौं दिनका दिन विहान सर्वाङ्ग स्वास्थ्य सदनमा आफ्नो खुशीले भर्ना भएको मिसिल संलग्न कागजातहरूबाट देखिन्छ । यस्तो अवस्थामा Sulfur Acid को जलनकै कारणबाट ऐनको म्यादभित्र निजको मृत्यु भएको नभई अपरेशनको क्रममा मृत्यु भएको भन्ने सर्वाङ्ग स्वास्थ्य सदनको मिति २०५९।१२।८ को Admission and Summary र प्रहरीले अनुसन्धानका क्रममा सोधेका प्रश्नका जवाफमा दिएको मिति २०६०।१।१७ च.नं.२०३ को पत्रबाट स्पष्ट भएको छ भने सो अस्पतालका अध्यक्ष डा.गोविन्द अमात्यले काठमाडौँ जिल्ला अदालतमा गरेको बकपत्रको सवाल जवाफबाट समेत सो तथ्य पुष्टि भएको छ । आफ्नो खुशीले उपचार गराउँदा डाक्टरको लापरवाहीले मृत्यु भई मृत्युको जाँचमा Cause of Death नै फरक पर्न गएको अवस्थामा भवितव्य भै निज सृजन वीर कंसाकारको मृत्यु भएको संलग्न मिसिलमा रहेको प्रमाणले प्रत्यक्ष रूपमा बोलिरहेको अवस्थामा म पुनरावेदक प्रतिवादीलाई काठमाडौँ जिल्ला अदालतबाट सफाइ दिने गरी भएको शुरु काठमाडौँ जिल्ला अदालतको फैसला उल्टी गरी मुलुकी ऐन ज्यान सम्बन्धी महलको १४ नं.बमोजिम कैद हुने ठहर्‍याई पुनरावेदन अदालतबाट भएको फैसला तथ्य, कानून र सिद्धान्तका आधारमा त्रुटिपूर्ण हुँदा बदर गरी काठमाडौँ जिल्ला अदालतको शुरु फैसला सदर गरिपाऊँ भन्ने प्रतिवादीको यस अदालतमा परेको पुनरावेदन पत्र ।

            प्रस्तुत मुद्दामा दुवै पक्षबाट पुनरावेदन परेको देखिंदा वादीबाट परेको पुनरावेदन सम्बन्धमा प्रतिवादीलाई जानकारी गराई र प्रतिवादीबाट परेको पुनरावेदन सम्बन्धमा महान्यायाधिवक्ताको कार्यालयलाई जानकारी दिई नियमानुसार पेश गर्नु भन्ने यस अदालतको मिति २०६६।१।६ को आदेश ।

प्रतिवादीले एसीड फालेको तथ्यसम्म स्थापित भएको भएपनि एसीड फालेबाट भएको शारीरिक क्षतिको सन्दर्भमा दावी नभई सोही वारदातलाई कर्तब्य ज्यानको वारदातको संज्ञा दिई प्रस्तुत अभियोगपत्र दाखिल गरिएको पाइन्छ । तर एसीडको कारण मर्ने सृजनवीरको मृत्यु नभएको र यी प्रतिवादीले ज्यान मार्ने कसूर गरेको प्रमाणित हुन नसकेकोले निजलाई दावीअनुसार वा ज्यान सम्बन्धीको १४ नं. अनुसार सजाय गर्न पनि मिलेन । तसर्थ ज्यान सम्बन्धीको १४नं. अनुसार प्रतिवादी उपेन्द्र शाक्यलाई १० वर्ष कैद सजाय गर्ने गरेको पुनरावेदन अदालत पाटनको फैसला नमिलेकोले उल्टी भई प्रतिवादीले सफाइ पाउने ठहर्छ भन्ने माननीय न्यायाधीश श्री ताहिर अली अन्सारीको राय ।

यी प्रतिवादीले मृतकको मुखमा तेजाब (Acid) फालेको तथ्य स्थापित भएको र मृतकलाई मनसायपूर्वक तेजाब (Acid) मुखमा हालेको कारण सोही घाउ चोटलाई उपचार गर्ने क्रममा मृत्यु भएको घटनाक्रमहरूले सिलसिलेवार रूपमा पुष्टि गरी रहेको हुँदा प्रतिवादीले तत्काल उठेको रिसको आवेगमा तेजाब (Acid) मुखमा छ्यापेको कारणले सोही चोटको पीडाबाट मृतकको मृत्यु भएको देखिदा ज्यान सम्बन्धी महलकोे १४ नं. बमोजिम १० वर्ष कैद हुने ठहर्‍याई भएको पुनरावेदन अदालत पाटनको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ भन्ने माननीय न्यायाधीश श्री भरतराज उप्रेतीको राय ।

नियमबमोजिम आजको पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादीको तर्फबाट उपस्थित विद्वान वरिष्ठ अधिवक्ता शम्भु थापा तथा अधिवक्ताहरू ज्ञानरत्न शाक्य तथा वल्लभ वस्नेतले मिति २०५९।११।६ को वारदातपश्चात् मृतक वीर अस्पतालमा भर्ना भई उपचार गराई २०५९।११।३० मा वीर अस्पतालबाट डिस्चार्ज भएको देखिन्छ । वीर अस्पतालले थप उपचारको लागि अन्य अस्पतालमा सिफारिश गरेको अवस्था नभई ड्रेसिङ्ग गर्न सोही अस्पतालमा आउने भनेको अवस्था छ । तर मृतकको मृत्यु निजी अस्पतालमा अपरेशन गर्दागर्दैको अवस्थामा मिति २०५९।१२।८ मा भएको पाइन्छ । निजको मृत्युको कारण पनि एसीड नभई फरक पर्न गएको अवस्था छ सो कुरा सम्बन्धित डाक्टरहरूको बकपत्रबाट पनि पुष्टि भएको छ । यस स्थितिमा प्रतिवादीलाई सजाय गर्ने गरेको पुनरावेदन अदालतको फैसला त्रुटिपूर्ण हुँदा प्रतिवादीलाई अभियोग दावीबाट सफाइ दिने गरेको माननीय न्यायाधीश ताहिर अलि अन्सारीको राय सदर हुनुपर्छ भनी बहस गर्नुभयो । अर्का पुनरावेदक वादी नेपाल सरकारको तर्फबाट उपस्थित विद्वान उपन्यायाधिवक्ता हरिप्रसाद रेग्मीले प्रतिवादीले मृतकलाई मार्ने उद्देश्य राखी एसीड हाली कुरूप बनाएको तथ्यमा विवाद छैन । प्रतिवादीले एसीड हानेको कारणबाट पीडित अस्पतालमा उपचारार्थ भर्ना भएको र पूर्ण स्वस्थ हुन नसकेको अवस्थामा निजको मृत्यु भएकोले पुनरावेदन अदालतको फैसला सदर गर्ने गरेको माननीय न्यायाधीश भरतराज उप्रेतीको राय सदर हुनु पर्छ भनी वहस गर्नुभयो ।

विद्वान कानून व्यवसायीहरूको वहस सुनी पुनरावेदनपत्रसहितको मिसिल अध्ययन गरी यस अदालतको संयुक्त इजलासका माननीय न्यायाधीश ताहिर अली अन्सारी तथा माननीय न्यायाधीश भरतराज उप्रेतीमध्ये कसको राय सदर हुने हो वा कानूनबमोजिम के हुनुपर्ने हो भन्ने सम्बन्धमा निर्णय दिनुपर्ने देखिन आयो ।

            वादीले सृजनवीर कंसाकारलाई उपेन्द्र शाक्यले मिति २०५९।११।६ गते पूर्व रिसइवी लिई अनुहारमा एसीड खन्याई कुरूप बनाई उपचारको सिलसिलामा अपरेशन गर्नका लागि सर्वाङ्ग स्वास्थ्य सदन लगेकोमा अपरेशन हुन नपाई सोही चोट पीडाको कारणबाट मृत्यु भएकोले कानूनबमोजिम कारवाही गरिपाऊँ भन्ने जाहेरी दरखास्तको आधारमा अनुसन्धान हुँदा प्रतिवादी उपेन्द्र शाक्यले मृतकलाई ज्यान मार्ने उद्देश्यले एसीड (तेजाब) खन्याएको र कुटपीट समेत गरेकोले सोही चोट पीडाबाट थला परी वीर अस्पताल एवं सर्वाङ्ग स्वास्थ्य सदनमा उपचारको क्रममा मृत्यु भएको हुँदा ज्यान सम्बन्धी महलको ८ नं.बर्खिलाप १३(३) नं. को कसूर गरेको देखिएको भनी सोही महलको १३(३) नं. अनुसार सजायको माग दावी लिई अभियोग पत्र दायर भएको देखिन्छ ।

            प्रतिवादी उपेन्द्र शाक्यले आफ्नो प्रेमिका श्वेता तुलाधरको विवाह सृजनवीरसँग हुने भएपछि निजलाई सम्झाई बुझाई गर्दा वास्ता नगरेकोले योजना वनाई निजको अनुहारमा आफूले एसीड खन्याई कुटपीट समेत गरेको तर निज तत्काल नमरी वीर अस्पतालमा उपचार गराई पछि सर्वाङ्ग स्वास्थ्य सदनमा उपचार गराउँदा मृत्यु भएको भनी अनुसन्धान अधिकृत समक्ष कसूरजन्य कुरामा साबित भएको तर अदालतमा वयान गर्दा निज मृतक सृजनवीरलाई आफूले एसीड छ्यापी कुटपीट गरेको होइन । निजले मलाई हानेको एसीड मैले छेक्दा मेरो हातमा र वोतलबाट उछिट्टिएर मृतकलाई लाग्न गएको हो भनी कसूरमा इन्कार रही बयान गरेको छ ।

            शुरु जिल्ला अदालतले मृतक वीर अस्पतालबाट डिस्चार्ज भएपछि एसीडबाट जलेर खुम्चिएको छालाहरूको अपरेशन गरी मिलाउने क्रममा बेहोस गरिँदाको अवस्थामा मृत्यु भएको प्रमाणित भएकोले ज्यान सम्बन्धीको ८ नं. को अवस्था परी मृतकको मृत्यु भएको नदेखिएको भनी अभियोग दावीबाट निज प्रतिवादीलाई सफाइ दिने ठहर्छ भनी फैसला गरे उपर वादी नेपाल सरकारको पुनरावेदन परेकोमा पुनरावेदन अदालत पाटनले सो फैसला उल्टी गरी प्रतिवादी उपेन्द्र शाक्यलाई मुलुकी ऐन ज्यानसम्बन्धी महलको १४नं.बमोजिम १० वर्ष कैद हुने ठहर गरेकोमा वादी तथा प्रतिवादी दुवैको यस अदालतमा पुनरावेदन परी संयुक्त इजलासमा पेश हुँदा माननीय न्यायाधीश ताहिर अली अन्सारीले प्रतिवादीलाई सफाइ दिने राय व्यक्त गरेको र माननीय न्यायाधीश भरतराज उप्रेतीले पुनरावेदन अदालतको फैसला सदर गर्ने राय व्यक्त गरी दुईजना माननीय न्यायाधीशहरूको फरक फरक राय कायम भएकोले सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३(१)(क) बमोजिम यस पूर्ण इजलासमा पेश हुन आएको देखिन्छ ।

२. प्रस्तुत मुद्दामा श्वेता तुलाधरको सृजनवीर कंसाकारसँग विवाह हुने पक्का भएपछि श्वेतासँग प्रेम गर्ने प्रतिवादी उपेन्द्र शाक्यले मृतक सृजनवीर कंसाकारलाई आफ्नो घर कोठामा बोलाई मिति २०५९।११।६ गतेका दिन निजको अनुहारमा तेजाब (ब्अष्म) हालेको र निजलाई कुटपीट गरेकोबाट निजको मृत्यु भएको भन्ने समेत अभियोग दावी रहेको पाइन्छ । सो वारदातपश्चात् मृतक सृजनवीर प्रतिवादीको घरबाट भागी निस्केपछि उपचारको लागि वीर अस्पतालमा भर्ना भएको भन्ने तथ्यलाई यी प्रतिवादीले अनुसन्धानको क्रममा अनुसन्धान अधिकारी समक्ष तथा अदालतमा बयान गर्दा समेत स्वीकार गरेको देखिन्छ ।

३. साथै मृतक सृजनवीर नै उक्त एसीड लिई आएको र आफूउपर फालेकोमा सो तेजाबबाट आफू बच्न खोज्दा आफ्नो अनुहार, जीउमा परेको भनी अदालतमा निज प्रतिवादीले बयान गरेको देखिन्छ । तर प्रतिवादीको घरमा आउँदा मृतकले नै आफ्नो साथमा तेजाब (Acid) लिई आएको थियो भन्ने कुरा मिसिल संलग्न कुनै पनि तथ्य र सम्बद्ध प्रमाणहरू समेतबाट देखिदैन । प्रतिवादीलाई मार्ने गरी मृतकले नै तेजाब (Acid) ल्याउनु पर्ने र सोको प्रहार प्रतिवादीमाथि गर्नुपर्नेसम्मको कुनै वस्तुनिष्ठ कारण पनि मिसिल संलग्न प्रमाणबाट देखिदैन । यदि प्रतिवादीले बयानमा उल्लेख गरे जस्तो मर्नेले नै पहिला तेजाब प्रतिवादी माथि प्रहार गरेको भए त्यसलाई छल्ने काममा तेजाब जस्तो तरल पदार्थ उल्टो सो फाल्नेको अनुहारमा पर्ने अवस्था र सम्भावना रहँदैन । यसकारण मृतकले फालेको तेजाबबाट बच्न खोज्दा निजकै अनुहार र जीउमा सो तेजाब परी निज घाइते भएको भनी प्रतिवादीले अदालतसमक्ष गरेको बयान तथ्यसंगत एवं विश्वासप्रद देखिन आउँदैन । प्रतिवादीको बयान र सम्पूर्ण घटनाक्रमलाई समष्टिगत रूपले विचार गर्दा मृतक सृजनवीर प्रतिवादीको घरमा आएपछि यी दुई जनाबीच वादविवाद झगडा हुँदा आफ्नै घरमा रहेको तेजाब (Acid) प्रतिवादीले मृतकको मुख, अनुहार माथि हालेको भन्ने तथ्य तर्कसंगत एवं तथ्यपरक रहेको देखिँदा प्रतिवादीको अदालतमा भएको बयानमा सत्यता देखिन आएन । घटनास्थल प्रतिवादीको वासस्थान रहेको र निजले प्रेम सम्बन्ध स्थापित गरेको श्वेतासँग मृतकको विवाह हुने निश्चित् भएपछि मृतक र प्रतिवादीबीच सो सम्बन्धमा वादविवाद भएको र सोही कारण निज प्रतिवादीको घर कोठामा रहेको तेजाव (Acid) निजले मृतकउपर फालेको कारणबाट निज मृतक घाइते भएको भन्ने तथ्य तर्कसंगत रूपमा स्थापित भएकोले निज प्रतिवादीको प्रहरीको वयान समर्थित भएको छ ।

४. अब प्रतिवादीले प्रहार गरेको तेजाबकै कारणबाट मृतकको मृत्यु भएको हो वा होइन भन्ने सन्दर्भमा विचार गर्दा मृतक माथि प्रतिवादीले तेजाब (Acid) फालेको वारदात २०५९।११।६ मा घटेको र सोही मितिमा निज सृजनवीरलाई वीर अस्पतालमा भर्ना गरिएको भन्ने वीर अस्पतालको भर्ना र डिस्चार्जको कागजबाट देखिन्छ । प्रतिवादी वीर अस्पतालमा भर्ना रहँदाकै अवस्थामा मिति २०५९।११।२६ मा घटनाको सम्बन्धमा निजको कागज गराइएको र उपचारपछि मिति २०५९।११।३० मा निजलाई सो अस्पतालबाट डिस्चार्ज गरिएको देखिन्छ । डिस्चार्ज गर्दा निजको अवस्था मरणासन्न रहेको वा भर्ना हुँदाको अवस्था भन्दा बिग्रेपछि इलाज गर्नै नसकिने अवस्थामा डिस्चार्ज गरिएको भन्ने अवस्था नभई वीर अस्पतालबाट २०५९।११।३० मा डिस्चार्ज हुँदा निजको अवस्थामा पर्याप्त सुधार भएको र ड्रेसिंग गराउन अस्पताल आइरहन भनी निर्देशनसहित पठाइएको देखिन्छ । वीर अस्पतालबाट डिस्चार्ज भएको नवौं दिन अर्कै अस्पताल, सर्वाङ्ग स्वास्थ्य सदनमा निजलाई भर्ना गरिएको र सोही अस्पतालमा एसीडबाट जलेको छाला मिलाउनका लागि अपरेशन गर्ने क्रममा पीडितको मृत्यु भएको भन्ने तथ्यमा विवाद देखिँदैन ।

५. यसरी मृतक सृजनवीर कंसाकारउपर प्रतिवादीले तेजाब हालेको र तेजाब (Acid) हालेको कारणबाट घाइते भई निजको अनुहार कुरूप भएको भन्नेसम्म देखिन्छ । वीर अस्पतालमा उपचारपश्चात् त्यहाँबाट डिस्चार्ज भएपछि अर्को अस्पतालमा उपचारार्थ अपरेशन गराउँदा मिति २०५९।१२।८ मा निजको मृत्यु भएको र मृत्युको कारण PULMONARY OE DEMA भएको भन्ने शव परीक्षण प्रतिवेदन (Post mortem report) बाट देखिन्छ । शव परीक्षण गर्ने विशेषज्ञ डा. हरिहर वस्ती र डा.गोविन्द नारायणले अदालतमा वकपत्र गर्दा मृतकको मृत्यु मुटुको चालको गडवडी र मृतकमा राखिएको भेन्टिलेटरले स्वाँस नलीमा सुजन भएको कारण भएको हुनुपर्दछ” “तेजाबको जलनबाट मुटुको चालको गडवडी तेजाबबाट चोट पर्ने बित्तिकै हुन सक्ने, निको भैसकेको तेजाबको खतबाट मुटुको चालमा गडवडी नहुने, मृत्युको कारण अपरेशनको क्रममा प्रयोग भएको विभिन्न औषधिको Side Effect वा Toxic Effect बाट भएको हुनुपर्दछभनी आफ्नो बकपत्रमा उल्लेख गरेको पाइन्छ ।

६. त्यस्तै चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (वीर अस्पताल) बाट गठन भएको डाक्टरहरूको बोर्डले मृत्युको सम्भावित कारणमा अपरेशन गर्नु भन्दा अगाडि प्रयोग गरिने एनेस्थेसियामा गडबडीले हुन सक्नेबताएको देखिन्छ । यसरी पिडित तथा मृतक सृजनवीर उपचारपश्चात् वीर अस्पतालबाट डिस्चार्ज हुनु र निज सृजनवीरको सर्वाङ्ग स्वास्थ्य सदनमा अपरेशन हुनु बीच कुनै अन्तरसम्बन्ध रहेको देखिँदैन । वीर अस्पतालमा उपचार गराई विरामीको हालतमा सुधार भई निको भएपछि डिस्चार्ज गरिएको देखिन्छ । सर्वाङ्ग स्वास्थ्य सदनमा कुरूप अनुहारको छाला मिलाउनका लागि गरिएको अपरेशनसित सम्बन्धित एनेस्थेसिया समेतको औषधिहरूका कारण मृतकको मृत्यु भएको भन्ने देखिएको अवस्थामा त्यसलाई एक महिना अगाडि एसीड फालेको वारदातसँग जोडी सोही जरियाबाट सृजनवीरको मृत्यु भएको भन्ने निस्कर्षमा पुग्न सकिने कुनै चिकित्सकीय र कानूनी आधार देखिन आउँदैन ।

७. यी प्रतिवादीउपर ज्यानसम्बन्धी महलको ८ नं. को अभियोग दावी लिएको छ । तर ज्यानसम्बन्धी महलको ८ नं. को कानूनी व्यवस्था हेर्दा भवितव्य ठहर्ने बाहेक कुनै अङ्ग भाँच्ने छिन्ने गरी हाने कुटेमा त्यो थला परी निको नभए जतिसुकै समयपछि मरे पनि ज्यानमाराको बात लाग्छ भन्ने व्यहोरा उल्लेख भएको देखिन्छ । सो कानूनी व्यवस्थाबमोजिम मृतकको अङ्ग भाँच्ने छिन्ने गरी प्रतिवादीले हाने कुटेको अवस्था छैन । यसै गरी ज्यान सम्बन्धी महलको ९ नं. मा ज्यानै मार्नका लागि कुनै अङ्ग भाँच्ने छिन्ने गरी हाने कुटेमा बाहेक मारौं भनी गैह्र मर्ने कुरा गर्दा उसै बखत ज्यान नमरी त्यहीँ मारौं भनी गरेका चोट पीरले उठ्न नसकी थलापरी एक्काइस दिनभित्र, अरु सास्ती सासना जोर जुलुम गरेमा तीन दिनभित्र र विष गैह्र खुवाएमा सात दिनभित्र मर्‍यो भने ज्यानमारा ठहर्छ भन्ने कानूनी व्यवस्था रहेको देखिन्छ । उल्लिखित कानूनी व्यवस्थाको पृष्ठभूमिमा हेर्दा प्रतिवादीले मृतकलाई कुनै अङ्ग भाँच्ने छिन्ने गरी हानेको कुटेको नभई सो वाहेक तेजाब फाली घाइते वनाएको देखिए पनि निज प्रतिवादीले हालेको तेजाबको चोट पीरले उठ्न नसकी थला परी मृतकको मृत्यु भएको अवस्था देखिँदैन । निज वीर अस्पतालमा उपचार गराई निको भइ डिस्चार्ज भई घर गएको देखिएकोले निज थला परेको देखिँदैन । त्यस्तै कानूनमा उल्लेख भएबमोजिम वारदात भएको एक्काइस दिनभित्र मृतकको मृत्यु भएको पनि नदेखिएको, प्रतिवादीले हालेको तेजाबको कारण मृतक थला परी निको नभएर मृत्यु भएको भन्ने पनि नदेखिएको र निज उपचार गराएर अस्पतालबाट डिस्चार्ज भएको समेत अवस्थाको विश्लेषण गर्दा प्रतिवादीले हालेको तेजाबको जरियाबाटै मृतकको मृत्यु भएको अवस्था पनि देखिन आएन ।

८. यसका अतिरिक्त तेजाबको प्रभावबाट निजको अनुहारमा विभिन्न दाग भई कुरूपसम्म भएको देखिएको र सर्वाङ्ग स्वास्थ्य सदनमा सृजनवीरको सोही कुरूपतालाई ठीक पार्ने उद्देश्यले अपरेशन गरे गराएको देखिन्छ । सोही अपरेशनको क्रममा भएको मृत्युको सम्बन्ध मृत्यु हुनु भन्दा एक महिना अगावै एसीड फालिएको घटनासँग जोडेर प्रतिवादीलाई दोषी र मृत्युको कारक बनाउनु औचित्यपूर्ण, तर्कसंगत, कानूनसम्मत र न्यायपूर्ण हुने देखिदैन । समग्र परिस्थिति एवं घटनाक्रमको विश्लेषण तथा सम्पूर्ण प्रमाणहरूको मूल्याङ्कन गर्दा मर्ने सृजनवीर कंसाकार उपर यी प्रतिवादीले ज्यान लिने मनसायले नभई आफ्नो प्रेमिकासँग विवाहको प्रसंग चलेको कारणबाट उद्वेलित भई शारीरिक क्षति पुर्‍याउने र कुरूप बनाउने नियतले एसीडसम्म फालेको देखिन आउँछ ।

९. यस स्थितिमा मृतकउपर एसीड फालेको घटना घटेको एक महिनापछि र वीर अस्पतालबाट उपचार गराइ डिस्चार्ज भएको आठ दिनपछि एसीड प्रहारबाट जली बिग्रेको अनुहारको छाला मिलाउने क्रममा अपरेशन गर्दा गर्दैको अवस्थामा भएको मृतकको मृत्युलाई यी प्रतिवादीले मनसायपूर्वक ज्यान मारेको भन्ने अर्थ लगाई ज्यानसम्बन्धी महलको ९ नं. मा तोकिएको २१ दिन व्यतीत भएपछि मृत्यु भएको अवस्था र र स्थितिमा सोही एसीड फालेको वारदातको निरन्तरतामा मृत्यु भएको छ भन्ने अर्थ गरी ज्यान सम्बन्धीको १३(३) अनुसारको अभियोग दावी प्रमाणित हुन आउँदैन ।

१०. अर्कोतर्फ मिति २०५९।११।६ मा एसीड फालेको वारदातका सम्बन्धमा मिति २०५९।११।८ मा यी प्रतिवादी उपर ज्यान मार्ने उद्योगमा जाहेरी दरखास्त परेकोमा सोको एक महिनापछि सृजनवीर कंसाकारको मिति २०५९।१२।८ मा मृत्यु भएपश्चात् सोही मितिमा यी प्रतिवादीउपर कर्तव्य ज्यानतर्फ जाहेरी दरखास्त परेको देखिन्छ । एसीड फालेको कारणबाट भएको शारीरिक क्षतितर्फ नभई सोही वारदातलाई कर्तब्य ज्यानको वारदातको संज्ञा दिई प्रस्तुत अभियोगपत्र दायर भएको पाइन्छ । तर एसीडको प्रभाव वा कारणबाट सृजनवीरको मृत्यु भएको नभई अपरेशनको क्रममा प्रयोग भएको विभिन्न औषधिको Side Effect वा Toxic Effect तथा भेन्टिलेटरले स्वाँस नलीमा सुजन भएको कारण समेतबाट मृत्यु भएकोभन्ने विशेषज्ञ चिकित्सकहरूको प्रतिवेदन र अदालतमा भएको बकपत्र समेतबाट देखिएको अवस्थामा यी प्रतिवादीलाई ज्यान सम्बन्धीको १४ नं. अनुसार सजाय गर्न मिल्ने अवस्था पनि देखिएन ।

११. ज्यान सम्बन्धीको १४ नं. अनुसार ज्यान मार्ने नियत नभएको, तत्काल उठेको रिस थाम्न नसकी जोखिमी हतियार बाहेक साधारण लाठा, ढुङ्गा, लात, मुक्का इत्यादिले हान्दा मृत्यु भएको अवस्थामा सो १४ नं. को कसूर स्थापित हुन सक्छ । तर प्रस्तुत वारदातमा त्यस्तो भएको नभई प्रतिवादीले साधारण लाठी, ढुङ्गा, लात मुक्काको प्रहार नगरी एसीड अनुहारमा फालेको र निज वीर अस्पतालमा उपचार गरी निको भई डिस्चार्ज भैसकेकोमा पछि अनुहारको जलेको भाग पूर्व रूपमा ल्याउने प्रयासस्वरूप अपरेशन गर्दा मृतकको ऐनले तोकेको समयावधि २१ दिन पछि मृत्यु भएको देखिन्छ । ज्यान सम्बन्धीको १४ नं.अनुहारमा एसीड फालेको र सोको उपचार गराई निको भई अस्पतालबाट डिस्चार्ज भैसकेको अवस्थामा अन्य उपचार गराउन अपरेशन गर्दा मरेमा लाग्ने कानूनी व्यवस्था होइन । ज्यानसम्बन्धीको ९, १०, ११ र १२ नं. समेतको कानूनी व्यवस्था हेर्दा कुनै प्रकारबाट कुटपीट गरेकोमा २१ दिनभित्र सोही चोटको कारण थला परी मरेमा मात्र ज्यानमाराको वात लाग्ने हुन्छ । उक्त कानूनी व्यवस्थाअनुसार कुटपीटको घटनाबाट थला परेको नभएमा वा ऐनले तोकेको २१ दिन पछि मरेको अवस्थामा ज्यान सम्बन्धी महल अन्तर्गत ज्यान मारेको भनी सजाय गर्न कानूनअनुकूल हुँदैन ।

१२. तसर्थ, विवेचित आधार कारणबाट शुरु काठमाडौं जिल्ला अदालतको फैसला उल्टी गरी ज्यान सम्बन्धी महलको १४ नं. अनुसार प्रतिवादी उपेन्द्र शाक्यलाई १० वर्ष कैद सजाय गर्ने गरेको पुनरावेदन अदालत पाटनको फैसला मिलेको नदेखिएको भनी उल्टी गरी प्रतिवादीलाई अभियोग दावीबाट सफाइ दिने गरेको माननीय न्यायाधीश ताहिर अली अन्सारीको राय सदर हुने ठहर्छ । अरुमा तपसीलबमोजिम गर्नू ।

तपसील

 

माथि इन्साफ खण्डमा उल्लेख भएबमोजिम पुनरावेदन अदालत पाटनको फैसला उल्टी गरी प्रतिवादीलाई सफाइ दिने गरेको माननीय न्यायाधीश ताहिर अली अन्सारीको राय सदर हुने ठहरेकोले पुनरावेदन अदालतको फैसलाको तपसील खण्डको देहाय १ नं. मा उल्लिखित लगत कट्टा गर्नु भनी शुरु काठमाडौँं जिल्ला अदालतमा लेखी पठाई दिनू ........१

दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार गरी बुझाई दिनू ....१

 

उक्त रायमा सहमत छौं ।

 

न्या.वैद्यनाथ उपाध्याय

न्या.कमलनारायण दास

इति संवत् २०६९ साल भदौ २१ गते रोज ५ शुभम

 

इजलास अधिकृतः कृष्णमुरारी शिवाकोटी               

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु