शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ६४६९ - वकसपत्र वदर समेत

भाग: ३९ साल: २०५४ महिना: फागुन अंक: ११

निर्णय नं. ६४६९           ने.का.प. २०५४                       अङ्क ११

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझी

माननीय न्यायाधीश श्री इन्द्रराज पाण्डे

संवत २०५३ सालको दे.पु.नं. .. ३७१४

फैसला मितिः २०५४।४।२१।३

 

मुद्दाः वकसपत्र वदर समेत ।

 

पुनरावेदक/प्रतिवादीः जि.का. काठमाण्डौ म.न.पा. वा.नं. १ कान्तिपथ वस्ने मोहन कुमारी स्थापित समेत जम्मा ३ ।

विरुद्ध

विपक्षी /वादीः ऐ. वा.नं. ३० वस्ने सहानुरत्न स्थापित समेत जम्मा २ ।

 

§  वकसपत्रको लिखत द्वारा लिनु दिनु गरेको विवादित सम्पत्ति प्र. मोहन कुमारीको निजी आर्जनको आफू खुस गर्न पाउने वण्डा नलाग्ने सम्पत्ति हो भन्ने पुनरावेदक प्रतिवादीहरुको कथन पुष्टि हुनका लागि त्यस्तो कथन अन्य विश्वसनीय आधार प्रमाणबाट समेत समर्थित भएको हुनुपर्ने ।   

(प्र.नं. १२)

पुनरावेदक प्रतिवादी तर्फबाटः विद्वान अधिवक्ता त्रय हरिशंकर निरौला, शम्भु थापा र मिथिलेश कुमार सिंह ।

विपक्षी वादी तर्फबाटः विद्वान वरिष्ठ अधिवक्ता मुकुन्द रेग्मी

            विद्वान अधिवक्ता होरा प्रसाद जोशी

            विद्वान अधिवक्ता श्याम प्रसाद खरेल

अवलम्वित नजिरः x

 

फैसला

            न्या.कृष्णजंग रायमाझीः  पुनरावेदन अदालत पाटनको मिति ०५१।१।२९ को फैसला उपर परेको निवेदनमा न्याय प्रसासन ऐन २०४८ को दफा १२(१) को (क)(ख) अनुसार दोहोर्‍याउने  निस्सा प्रदान भई पेश हुन आएको प्रस्तुत मुद्दाको मिसिलको संक्षिप्त विवरण यस प्रकार छ :

            २.    ससुरा बाजे भिम रत्न, सासु बजै हिरा माया परलोक भै सकेको जेठाजु जेठा वावा हर्ष रत्नका श्रीमती मोहन कुमारी पति पिता तिर्थरत्न पनि परलोक भै सक्नु भएको र जेठी श्रीमती जित कुमारी तर्फबाट छोरा विजय रत्न कान्छी श्रीमती तारा शोभा निजका छोरा सहानुरत्न निजका श्रीमती लक्ष्मि शोभा तथा छोरा अजय रत्न हुन् । ०३९।११।१४ मा वण्डापत्रमा पति पिता तिर्थ रत्नका  छोरा श्रीमती विजयरत्न तथा सहानुरत्न तथा ताराशोभाका नाममा परेको र जेठानी जेठी आमा मोहन कुमारीका नाममा खरिद गरेको का.न.पा.वडा नं. १ कि.नं. १२६६ कि.नं. १२७५ को जग्गामा वनेको घर समेत कान्तिपथ स्थित हाम्रो अंशहकको घर जग्गा ०४४।३।२१। मा मोहन कुमारी दिने संजयरत्न र अक्षय रत्न लिने भै मा.पो.का. मार्फत हालैको वकसपत्र पारीत गरी हाम्रो अंशहक मार्ने नियत लिएकोले अंश तर्फ नालेश दिएका छौं उक्त हाम्रो समेत अंश हक लाग्ने संपत्ति हाम्रो मंजुरी विना ०४४।३।२१ मा पारीत गरी दिएको वकसपत्रको ३ भागको १ भागको २ अर्थात सम्पूर्ण ९ भागको २ भाग वदर गरी पाउँ भन्ने समेत व्यहोराको फिराद पत्र ।

            ३.    विवादित संपत्ति मोहन कुमारीको एकलौटी  संपत्ति हो स्त्री अंश धनको २ नं. ले निजको आफूखुश गर्न पाउने संपत्ति हामी नाती भतिजालाई हालै देखिको वकसपत्र गरी दिन पाउने अधिकार मोहन कुमारीलाई भएकोले उक्त वकसपत्र वदर हुने होइन भन्ने समेत व्यहोराको अक्षयरत्नको प्रतिउत्तर पत्र ।

            ४.    विवादित संपत्ति मोहन कुमारीको एकलौटी संपत्ति हो । स्त्री अंश धनको २ नं.ले मैले आफूखुसी गर्न पाउने संपत्ति नाती भतिजालाई हालैदेखिको वकसपत्र गरी दिन पाउने हुँदा उक्त घर जग्गा म मोहन कुमारीको संपत्तिबाट खरिद गरि लिएको जग्गा हुँदा मेरो एकलौटी हकको हो वादी दावी खारेज गरि पाउँभन्ने समेत व्यहोराको मोहन कुमारी समेत २ को संयुक्त प्रतिउत्तर  पत्र ।

            ५. प्र.संजयरत्न स्थापितले प्रतिउत्तर नफिराई शुरु म्याद नै गुजारी वसेको                                      रहेछ । अंशियारको सहमति विना वकसपत्र गर्न नमिल्ने र वकसपत्र गरि दिएको संपत्ति स्वआर्जित भनी जिकिर लिएतापनि सो संपत्ति स्वआर्जित हो भन्ने कुराको ठोस तथ्ययुक्त आधार प्रमाणवाट पुष्ट्याइ भएको समेत नदेखिंदा वादी दावी अनुसार वादीको हक जतिमा वकसपत्र वदर हुने ठहर्छ भन्ने समेत व्यहोराको का.जि.अ.को मिति ०४९।३।२१ को फैसला ।

            ६. आफूखुस गर्न पाउने सम्पत्ति दावी अनुसार वकसपत्र वदर हुने ठहराएको शुरुको त्रुटीपूर्ण फैसला वदर गरी वादी दावी खारेज गरी पाउँ भन्ने समेत व्यहोराको मोहन कुमारी स्थापित समेतको पुनरावेदन अदालत पाटनमा परेको पुनरावेदन पत्र ।

            ७.    सवुद प्रमाणको मूल्याकंन नै नगरी दावी अनुसार वकसपत्र हुने ठहराएको शुरुको त्रुटिपूर्ण फैसला वदर गरी वादी दावी नै खारेज गरी पाउ भन्ने समेत व्यहोराको अक्षय रत्न समेत २ को पुनरावेदन जिकिर ।

            ८.    अरु अंशियार समेतको हक लाग्ने सम्पत्ति अंशियारहरुको मंजुरी र सहमति विना नै एक अंशियारले अर्को अंशियारलाई वकसपत्र पारित गरि दिए लिएको देखिई वादीहरुको हक मरेको देखिंदा आफूखुस गर्न पाउने सम्पत्ति जो सुकैलाई पनि हक हस्तान्तरण गरि दिन पाउने भन्ने पुनरावेदन जिकिर पुग्न सक्दैन वादी दावी अनुसार वादीको हक वकसपत्र वदर हुने ठहर्‍याएको शुरुको फैसला मनासिव ठहर्छ भन्ने समेत पु.वे.अ.पाटनको मिति ०५१।१।२९ को फैसला ।

            ९.    वण्डा दिन कर नलाग्ने स्वआर्जनको सम्पत्ति स्वेच्छाले जोसुकैलाई दिन पाउने म मोहन कुमारीको हक अधिकार कुरा हो यस्तोमा वकसपत्र दिएको वदर हुने ठहराएको शुरुको फैसला मनासिव हुने ठहराएको पु.वे.अ.पाटनको फैसला त्रुटिपूर्ण हुँदा वदर गरी मुद्दा दोहोर्‍याई हाम्रो प्रतिवाद तथा पुनरावेदन जिकिर वमोजिम इन्साफ पाउँ भन्ने समेत व्यहोराको मोहन कुमारी स्थापित समेतको यस अदालत समक्ष परेको निवेदन पत्र ।

            १०. यस्मा मोहन कुमारीले मान वहादुर एवं रुप राजेश्वरीवाट मिति ०३५।८।२२ मा जग्गा खरिद गरेको देखिनेमा सो लाई सगोलको सम्पत्तिवाट वढे वढाएको सम्पत्ति भनी गरेको पु.वे.अ.पाटनको फैसलामा व्याख्यात्मक त्रुटि एवं सोही सन्दर्भवाट नजिर समेतको गलत प्रयोग भएको देखिएकोले न्या.प्र.ऐन, २०४८ को  दफा १२(१)(क)(ख) अन्तर्गतको त्रुटी विद्यमान हुँदा मुद्दा दोहोर्‍याउने निस्सा प्रदान गरिएको छ भन्ने यस अदालतको मिति ०५३।१।१२ को आदेश ।

            ११.    नियम वमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दामा संलग्न सम्पूर्ण मिसिल कागजात अध्ययन गरी हेर्दा यस्मा पुनरावेदक तर्फवाट उपस्थित विद्वान अधिवक्ता त्रय श्री हरि शंकर निरौला, श्री शम्भु थापा तथा श्री मिथिलेश कुमार सिंहले प्र.मोहन कुमारीले आफ्नो दाइजो पेवाको रकमवाट खरिद गरेको निजी आर्जनको वण्डा गर्न कर नलाग्ने सम्पत्ति हुँदा वकसपत्र वदर हुने ठहराएको पुनरावेदन अदालतको इन्साफ उल्टी हुनु पर्ने समेत भनी र विपक्षी तर्फवाट उपस्थित हुनु भएका विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी तथा विद्वान अधिवक्ता द्वय श्री होरा प्रसाद जोशी र श्री श्याम प्रसाद खरेलले सगोलको सम्पत्ति अरुको मंजुरी विना प्र.मोहन कुमारीले अन्य प्रतिवादीहरुलाई वकसपत्रको लिखित गरि दिएको, उक्त सम्पत्ति मोहन कुमारीको लिखतमा दाइजो पेवाको रकमवाट लिएको भन्ने नदेखिने समेत भएवाट दावी अनुसार वकसपत्र वदर हुने ठहराएको फैसला सदर हुनु पर्छ समेत भनी गर्नु भएको वहस जिकिर समेत सुनी निर्णय तर्फ विचार गरी हेर्दा यस्मा वादी दावी अनुसार वकसपत्र वदर हुने ठहराएको शुरुको फैसला मनासिव ठहराएको पुनरावेदन अदालत पाटनको इन्साफ मिलेको छ छ्रैन भन्ने सम्वन्धमा निर्णय दिनु पर्ने देखियो ।

            १२. यस्मा हाम्रो समेत अंश हक लाग्ने घर जग्गा प्रतिवादीहरु मिलि प्र. मोहन कुमारी वकसपत्र गरि दिने र प्र. संजय रत्न र प्र. अक्षय रत्न वकस लिने भै हालै देखिको वकसपत्र गरी मिति ०४४।३।२१ मा पारित गराएकोले उक्त वकसपत्रको ३ भागको १ भागको २ भाग अर्थात सम्पूर्ण ९ भाग २ भाग वदर गरी पाउँ भन्ने समेत वादी दावी र मोहन कुमारीको निजी हकको वण्डा नलाग्ने जग्गा वकस गरि दिएकोले सो वकसपत्र वदर हुने होइन वादी दावी खारेज गरि पाउँ भन्ने समेत प्रतिवादीहरु मोहन कुमारी र अक्षयरत्नको छुट्टा छुट्टै प्रतिउत्तर जिकिर रहेको  देखिन्छ । विवादित कि.नं. १२६६ तथा कि.नं. १२७५ मा वनेको घर समेत प्र.मोहन कुमारीको एकलौटी निजी आर्जनको हो भन्ने जिकिर रहेको प्रस्तुत मुद्दामा उक्त सम्पत्ति प्र. मोहन कुमारीले आफू खुस गर्न पाउने आफ्नु निजी आर्जनको वण्डा नलाग्ने हो होइन र त्यस्तो सम्पत्ति हक छाडी लिनु दिनु गर्दा यी वादीहरुको मंजुरी लिनु पर्ने हो कि होइन भन्ने विषय नै प्रस्तुत मुद्दाको मुख्य विवादको विषय देखिन्छ । वकसपत्रको लिखतद्वारा लिनु दिनु गरेको विवादित सम्पत्ति प्र.मोहन कुमारीको निजी आर्जनको आफू खुस गर्न पाउने वण्डा नलाग्ने सम्पत्ति हो भन्ने पुनरावेदक प्रतिवादीहरुको कथन पुष्टि हुनका लागि त्यस्तो कथन अन्य विश्वसनीय आधार प्रमाणवाट समेत समर्थित भएको हुनु पर्छ । प्रस्तुत मुद्दामा प्रतिवादीहरुको जिकिरलाई पुष्टि गर्ने त्यस्तो कुनै लिखत वा अन्य कुनै विश्वसनीय प्रमाण पेश हुन सकेको मिसिलवाट देखिदैन । प्र. मोहन कुमारीले विवादको घर जग्गा प्राप्त गरेको श्रोत तर्फ हेर्दा उक्त जग्गा मोहन कुमारीले मान वहादुर एवं रुप राजेश्वरीवाट मिति २०३५।८।२२ मा राजिनामा पारित गरि लिएको देखिन्छ । उक्त राजिनामाको लिखतवाट सो जग्गा प्र.मोहन कुमारीले दाइजो पेवाको वा कुनै निजी आर्जनको रकमवाट खरिद गरेको भन्ने समेत देखिंदैन । प्रमाण ऐन, २०३१ को दफा २८ अनुसार प्रतिवादीहरुले आफ्नु उक्त जिकिरलाई ठोस प्रमाणद्वारा पुष्टि गर्न समेत नसकेको र यसै लगाउको यिनै वादी प्रतिवादीहरु समेत भएको दे.पु.नं. ३७१६ र ३७१८ को अंश चलन मुद्दामा यी वादी प्रतिवादीहरु आपसमा सगोलका अंशियार भएकोले सगोलको सम्पत्ति वण्डा हुने ठहर भई आज यसै इजलासवाट फैसला भएको र एका संगोलको अंशियारहरु जस्को नाममा सम्पत्ति रहेको भएपनि अन्यथा प्रमाणित नभएसम्म सगोलकै मान्नु पर्ने हुँदा सो फैसला केही आधार वुँदा समेतवाट उक्त विवादित सम्पत्तिमा सगोलका सवै अंशियारहरुको हक लाग्ने  देखिन्छ । यसरी अरु अंशियारहरुको समेत हक लाग्ने सम्पत्ति वेचविखन वा कुनै प्रकारले हक छाडी लिनु दिनु गर्दा सगोलका अंशियार यी वादीहरुको समेत मंजुरी लिनु पर्नेमा त्यस्तो मंजुरी नलिई वकसपत्र पारित गरि दिए लिएको देखिएवाट वादी दावी अनुसार वादीहरुको हक वकसपत्र वदर हुने ठहराएको शुरु का.जि.अ.को फैसला मिलेकै देखिंदा सदर हुने ठहर्छ । पनरावादेन अदालत पाटनको मिति ०५१।१।२९ को फैसला मिलेकै देखिंदा सदर हुने ठहर्छ । पुनरावेदकहरुको पुनरावेदन जिकिर पुग्न   सक्दैन । मिसिल नियमानुसार अभिलेख शाखामा वुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या.इन्द्रराज पाण्डे

 

ईति सम्वत २०५४ साल श्रावण २१ गते रोज ३ शुभम्........।

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु