निर्णय नं. ३५२३ - परमादेश वा उपयुक्त आज्ञा, आदेश जारी गरिपाउँ

निर्णय नं. ३५२३ ने.का.प. २०४५ अङ्क ७
संयुक्त इजलास
माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह
माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल
२०४३ सालको रिट नं. २२८८
आदेश भएको मिति : २०४५।४।२०।५ मा
निवेदक : का.न.पं. वडा नं. ४ इन्द्रचोक बस्ने प्रकाशबहादुर सिंहसमेत
विरुद्ध
प्रत्यर्थी : नेपाल सलाई कम्पनी (प्रा.) लि.समेत
विषय : परमादेश वा उपयुक्त आज्ञा, आदेश जारी गरिपाउँ
(१) कम्पनीको शेयर कानूनको रीत पुर्याई चल सम्पत्ति सरह हक छोडी दिन वा धितो बन्धक राख्न हुने ।
(प्रकरण नं. १०)
निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री शम्भु थापा
विपक्षीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री खगेन्द्र बस्नेत विद्वान अधिवक्ता श्री हरिहर दाहाल
आदेश
न्या.पृथ्वीबहादुर सिंह : नेपालको संविधानको धारा ७१ बमोजिम दर्ता भई निर्णयार्थ पेश हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त व्यहोरा यस प्रकार छ ।
२. कम्पनी ऐन, २०२१ को दफा ३(१) बमोजिम नेपाल सलाई कम्पनी (प्रा.) लि. संस्थापना गर्न दफा ३(२) बमोजिम निवेदकहरुका पिता श्री दानबहादुर सिंह डंगोल संस्थापक रहनु भएको मिति ०४२।५।२७ मा पिताको परलोक पश्चात संस्थापक प्रत्यर्थीहरु दुई जना मात्र छन् । स्व.पिताजी दानबहादुरको नाममा संस्थापना काल देखि कम्पनीको शेयर संख्या जम्मा रु. १,११,०००।– शेयर संख्या २१२ देखि ३२२ सम्म जम्मा १११ रहेको छ । पिताको स्वर्गारोहण पछि कम्पनी ऐन, २०२१ को दफा २९(१) बमोजिम शेयर दाखिल खारेज नामसारी गरी माग्न मृत्यु दर्ता प्रमाणपत्र, नाता प्रमाणपत्र र शेयरको प्रमाणपत्र साथै प्रत्यर्थी सञ्चालक समिति समक्ष ०४२।८।२३ मा श्रीमान निर्देशकज्यू उद्योग विभाग समेतलाई बोधार्थ दिई निवेदन दिएकोमा कुनै कारवाही नभएकोले उद्योग विभाग समक्ष समेत विभिन्न निवेदनहरु चढाई रहेकोमा कुनै कारवाही नगरी केवल औपचारिकता सम्म निर्वाह गर्ने दृष्टिबाट पत्र लेखिरहेको छ । कम्पनीको अचल सम्पत्ति प्रत्यर्थी अध्यक्षले मिति ०४३।८।२० मा कृष्णमान सिल्पकारलाई राजीनामा गरी हक हस्तान्तरण गरेका छन् । अन्य चल तथा अचल सम्पत्तिहरु पनि बिक्री गरी हाम्रो सम्पत्ति खाने नियत प्रत्यर्थीहरुको रहेको छ । शेयर नामसारी दाखिल खारेज नगरेकोबाट कम्पनी ऐन, २०२१ को दफा २८, २९ को कर्तव्यपालना गरेको छैन । दफा ६९(१) को कुनै विचारै नगरी हाम्रो शेयर नामसारी नगरिएकोबाट दफा ६९(१) को अवज्ञा हुन गएको छ । साथै शेयर नामसारी गर्ने व्यवस्था भएको नेपाल सलाई कम्पनी (प्रा.)लि. को नियमावलीको दफा (४) को प्रतिकूल भएको छ । उद्योग विभागबाट पनि कम्पनी ऐनको दफा १११, ११२, १४३ बमोजिम नगरी सम्पत्ति गैरकानुनी रुपले मानिएको र उक्त कानुनी व्यवस्था निष्कृय भएको छ । नेपाल सलाई कम्पनीको शेयर बाँडफाँडको सम्बन्धमा मोहनमान महर्जनको शेयर विभिन्न व्यक्तिलाई गएको अवस्थामा शेयरको प्रमाणपत्र नदिएको अवस्थामा प्रत्यर्थी उद्योग विभागले नै पत्र लेखी शेयरको प्रमाणपत्र दिन लगाएको तर निवेदकहरुको हकमा बाध्य नगराउनुबाट असमान व्यवहार भएको छ । अतः निवेदकहरुको उल्लिखित हक अपहरित हुनुको साथै नेपालको संविधानको धारा १०(१), ११(२)(ङ) द्वारा प्रत्याभूत हकबाट वञ्चित हुनु परेकोले स्व.पिता श्री दानबहादुर सिंहको नाममा रहेको उक्त शेयर निवेदक प्रकाशबहादुर सिंह र विजयबहादुर सिंहको नाममा नामसारी गरिदिनु भन्ने प्रत्यर्थी सञ्चालक समितिको लगायत र यो निवेदनपत्रको अन्तिम किनारा नलागेसम्म कम्पनीको चल अचल सम्पत्ति प्रत्यर्थीहरुका नाममा परमादेश जारी गरिपाउँ । कुनै पनि तवरले हक हस्तान्तरण गर्न नदिनु भन्ने अन्तरिम आदेश जारी गरिपाउँ भन्ने समेत रिट निवेदन जिकिर ।
३. विपक्षीहरुबाट लिखित जवाफ मगाई आएपछि पेश गर्नु साथै अन्तरिम आदेश जारी किन नहुनु पर्ने हो छलफलको लागि ३ दिने सूचना जारी गरी पठाउनु भन्ने समेत मिति ०४३।१२।३।३ को एक न्यायाधीशको इजलासको आदेश ।
४. प्रस्तुत रिट निवेदनको अन्तिम टुंगो नलागेसम्म नेपाल सलाई कम्पनी (प्रा.)लि. को कुनै पनि चल अचल सम्पत्ति बेचबिखन वा अन्य कुनै तवरले हक हस्तान्तरण नगर्नु नगराउनु भनी विपक्षीहरुको नाउँमा सर्वोच्च अदालत नियमावली, २०२१ को नियम ५८ (३) बमोजिम अन्तरिम आदेश जारी हुने ठहर्छ भन्ने समेत यस अदालत संयुक्त इजलासको मिति ०४३।१२।२५।४ को आदेश ।
५. शेयर नामसारीको लागि सञ्चालक समिति समक्ष मिति ०४२।८।२३ मा दिएको निवेदन माथि कुनै कारवाही भएन भनी ०४२।१०।१ मा यस विभागमा दिएको निवेदनका सम्बन्धमा कम्पनी ऐन, २०२१ बमोजिम गरी अविलम्ब विभागलाई जानकारी दिनु भनी मिति ०४२।१०।३ मा कम्पनीलाई निर्देशन गरिएको र ०४२।११।८ र ०४३।१।८ मा ताकेता गर्दा स्व.दानबहादुर मैनेजिङ एजेन्ट समेत भएकोले उहाँले काम गरेको समयको कम्पनीको सबै हिसाबहरु अडिट गराई राखेको अडिटरबाट ब्यालेन्स सीट पेश नभएको, ब्यालेन्स सीट पेश भएपछि हिनामिना भएको देखिए मैनेजिङ एजेन्टको शेयर समेतबाट कट्टा गरी बाँकी नामसारी हुने हुँदा अडिटरको रिपोर्ट साथ बैलेन्स सीट पेश हुनासाथ कम्पनीको वार्षिक साधारण सभा बोलाई निर्णय बमोजिम नामसारी गर्ने हुँदा हाल रोक्का रहेको व्यहोरा कम्पनीबाट ०४३।१।२८ मा जानकारी दिएको, ०४३।१२।१२ मा बसेको कम्पनीको विशेष साधारण सभाले पनि सोही निर्णय गरेको देखिन्छ । कम्पनीको लेखापरीक्षण कार्य चलिरहेको र सो सम्पन्न भएको जानकारी प्राप्त भएको छैन । अतः रिट निवेदन खारेजयोग्य भएबाट अनुरोध गरिएको छ भन्ने समेत प्रत्यर्थी उद्योग विभागको लिखित जवाफ ।
६. कम्पनीको संस्थापक तथा मैनेजिङ एजेन्ट श्री दानबहादुर सिंहको ०४२।५।२७ मा मृत्यु भएपछि उद्योगको कारवाहीको लेखाजोखा गर्दा थुप्रै अनियमितता पाइयो, ०३६ साल देखिको सही हिसाब राखेका रहेनछन् आ.व. ०३६।०३७ को अन्तःशुल्क र ०४१।४२ र ०४२।०४३ को आयकर पनि बुझाएका रहेनछन् । उक्त आ.व. ०३६ साल देखिको लेखापरीक्षण भइराखेको छ । कम्पनी ऐन, २०२१ को दफा २९ बमोजिम शेयर दाखिल खारेज गर्नको निमित्त निवेदकहरुले कम्पनीमा कुनै निवेदन नै दिएको छैन, केवल उद्योग विभागमा दर्खास्त दिएको छ र त्यसमा पनि कम्पनी ऐनको दफा २७(५) बमोजिम दस्तूर दाखिला भएको देखिँदैन । मृतक मैनेजिङ एजेन्ट दानबहादुरको विपक्षीहरु मात्र हकवाला होइनन्, निजहरुका अतिरिक्त ३५ वर्ष नाघेका छोरी पनि छन् भन्ने कुरा हामी सञ्चालकहरु पनि सोही टोलका भएको र अझ म अध्यक्ष नातादार भएकोले जानकारी छ । ०४३।८।२० मा कृष्णमान शिल्पकारलाई जग्गाबिक्री गरेको भन्ने सम्बन्धमा स्व.मैनेजिङ एजेन्ट दानबहादुर सिंहले निजको कार्यकालमा बुझाउनु पर्ने आयकर मध्ये आ.व. ०४१।०४२ र ०४२।४३ को आयकर रकम बुझाई बाँकी रकम कम्पनीकै कार्यमा रीतपूर्वक खर्च गरिएको छ । हामीले बदनियत साथ रकम हिनामिना गरी निवेदकहरुलाई हानी नोक्सानी पुर्याएमा निजहरुले कम्पनी ऐनको दफा १५० ले सञ्चालकहरु उपर उजूर गरी नोक्सानीको बिगा भराउन सक्दछन् । यस्तो स्थितिमा असाधारण अधिकार क्षेत्रको प्रयोग गर्नु पर्ने अवस्था नै छैन निज दानबहादुर सिंहले रु. २५,००,००० भन्दा बढीको जग्गा बिक्री गरी व्यक्तिगत फाइदा उठाएकोमा विभाग समक्ष पत्र व्यवहार भइरहेको, निजको परलोक भएपछि विशेष साधारण सभाका निर्णयले सञ्चालक समितिबाट कम्पनी सञ्चालन गर्ने तर्फ निर्णय हुँदा यस कम्पनीको १५ रोपनी जग्गा सभागृहको लागि अधिग्रहण गराई सट्टामा पाएको जग्गामा खाल्टो पुराई मैदान पार्न र कम्पनी सञ्चालन गर्न आर्थिक समस्या परी जग्गा बिक्री गरिएको हो । यसरी निजहरुले कानुनी औपचारिकता पूरा गरी कम्पनीमा शेयर नामसारी गरिपाउन विधिवत दर्खास्त नै नदिएको अवस्थामा निजहरुको कुनै हकको सृजना नै नहुने हुनाले रिट खारेज गरी पाउँ भन्ने समेत प्रत्यर्थीहरु सञ्चालक समिति, नेपाल सलाई कम्पनी प्रा.लि. पोखराका जुजुमान सिंह गोपालमान सिंहको संयुक्त लिखित जवाफ ।
७. नियम बमोजिम पेश भएको प्रस्तुत रिट निवेदनको फाइल समेत अध्ययन गरी निवेदकतर्फबाट रहनु भएको विद्वान अधिवक्ता श्री शम्भु थापा र विपक्षी उद्योग विभागका तर्फबाट खटिई उपस्थित हुनु भएको विद्वान सहन्यायाधिवक्ताका श्री खगेन्द्र बस्नेत तथा विपक्षी नेपाल सलाई कम्पनी प्रा.लि.का तर्फबाट रहनु भएका विद्वान अधिवक्ता श्री हरिहर दाहालले गर्नु भएको बहस समेत सुनियो ।
८. निवेदकको माग बमोजिमको आदेश जारी गर्न मिल्ने नमिल्ने के हो सो को निर्णय दिनु परेको छ ।
९. निर्णयतर्फ विचार गर्दा यसमा रिट निवेदकहरुका पिता दानबहादुर सिंह डंगोललाई विपक्षी नेपाल सलाई कम्पनी प्रा.लि. पोखराको सञ्चालक समितिले कम्पनीको प्रबन्ध र सञ्चालन गर्न मैनेजिङ एजेण्टको रुपमा र संस्थापक सदस्यहरु मध्ये एकको रुपमा नियुक्ति गरेको कुरामा विवाद देखिन्न । निज मे.ए.दानबहादुर सिंहको मिति ०४२।५।२७ मा मृत्यु भएको र रिट निवेदकहरु निज दानबहादुर सिंहको हक खाने छोराहरु हुन् भन्ने कुरामा पनि विवाद देखिन्न निज दानबहादुर सिंह डंगोलको शेयर जम्मा रु. १,११,०००।– शेयर संख्या २१२ देखि ३२२ सम्म जम्मा शेयर संख्या १११ रहेको भन्ने रिट निवेदनको भनाईमा विपक्षी कम्पनीको कुनै आपत्ति भएको नपाइएकोले दानबहादुर सिंहको विपक्षी कम्पनीमा शेयर रहेको कुरा पनि निर्विवाद देखिन आउँछ ।
१०. अब कुनै कम्पनीको शेयरवालाको मृत्यु भएमा त्यस्तो शेयरको कानुनी स्थिति के हुने रहेछ भनी सम्बन्धित प्रचलित कानून कम्पनी ऐन, २०२१ को दफा २९ हेर्दा कुनै शेयरवाला मरी वा निजले आफूले जायजेथा साहूलाई दामासाही गराई वा अरु कुनै व्यहोराले निजको शेयरमा प्रचलित नेपाल कानून बमोजिम अरु कसैको हक हुन आएमा सो कुराको सबूद साथ सो बमोजिम हक प्राप्त व्यक्तिले कम्पनीमा दर्खास्त दिएमा दफा २८ को उपदफा (१) को अधीनमा रही सो शेयर निजको नाममा दाखिल खारेज गरिने छ भन्ने व्यवस्था गरेको पाइन्छ । साथै ऐ. को दफा २६ मा कम्पनीको शेयर कानूनको रीत पुर्याई चल सम्पत्ति सरह हक छोडी दिन वा धितो बन्धक राख्न हुन्छ भन्ने समेत व्यवस्था भएको पाइन्छ ।
११. रिट निवेदकहरुले वहाँहरुको पिता कम्पनीका संस्थापक शेयरवाला दानबहादुर सिंह डंगोलको मिति ०४२।५।२७ मा मृत्यु भएपछि निजको नामको शेयर नामसारी दाखिल खारेज गरी पाउँ भनी ०४२।८।२३ मा नै निवेदन दिएका र सो को बोधार्थ निर्देशक उद्योग विभागलाई समेत दिइसकेको देखिन्छ । तर विपक्षी कम्पनी तथा विभाग समेतबाट नामसारी दाखिल खारेज गर्ने कार्य भएको नपाइएकोले रिट निवेदन माग बमोजिम रिट निवेदकहरुका पिता दानबहादुर सिंह डङ्गोलको नामको शेयर निवेदकहरुका नाममा नामसारी दाखेल खारेज गरिदिनु पर्ने नै देखिएकोले दानबहादुर सिंह डङ्गोलको नामको शेयर निजका छोरा (रिट निवेदक) हरुका नाममा अविलम्व नामसारी दाखिल खारेज गरी दिनु भनी विपक्षी उद्योग विभाग र नेपाल सलाई कम्पनीका नाममा समेत परमादेश जारी हुने ठहर्छ । जानकारी निमित्त आदेशको प्रतिलिपि विपक्षी विभागमा पठाउन महान्यायाधिवक्ताको कार्यालयमा पठाई दिनु । फाइल नियमानुसार गरी अभिलेख शाखामा बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या.प्रचण्डराज अनिल
इति सम्वत् ०४५ साल श्रावण २० गते रोज ५ शुभम् ।