शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ६४८२ - आदेश वदर गरी हाजिर गराई पाउँ

भाग: ३९ साल: २०५४ महिना: चैत्र अंक: १२

निर्णय नं. ६४८२           ०५४, ने.का.प      अङ्क १२

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय

माननीय न्यायाधीश श्री केदारनाथ आचार्य

संवत् २०५२ सालको दे.पू.नं. ... ३००८

फैसला मिति : २०५४।६।१।४

 

मुद्दाः आदेश वदर गरी हाजिर गराई पाउँ ।

 

पुनरावेदक/प्रतिवादी : का.जि. का.न.पा. वडा नं. १ दरवारमार्ग स्थित होटेल याक एण्ड यतिका अफिसिष्टीङ जनरल मेनेजर निर्मल धव्वाको वारेस का.जि. का.न.पा. वडा नं. ११ थापाथली वस्ने शम्भु प्रसाद दाहाल ।

बिरुद्ध

विपक्षी/वादी : का.जि. का.न.पा. वडा नं. ६ वौद्ध रामहिटी वस्ने सुरेश कुमार ढुंगाना ।

 

§  श्रम ऐन, २०४८ को दफा ७३ (१) मा कामदार वा कर्मचारीको व्यवस्थापनसंग सेवा सम्वन्धमा व्यक्तिगत दावी वा उजुरी भएमा सम्वन्धित कामदार वा कर्मचारीले सम्वन्धित व्यवस्थापक समक्ष लिखित रुपमा प्रस्तुत गर्नु पर्ने प्रावधान रहे अनुरुप सुरेश कुमारले व्यवस्थापक समक्ष लिखित निवेदन २०४९।६।४ मा दिएको भन्ने देखिन्छ । त्यसरी पर्न आएको निवेदन उपर श्रम कार्यालयको प्रमुखले दफा ७३(५) अनुरुप उक्त विवादमा निर्णय गर्नु पर्ने छ भन्ने स्पष्ट निर्देशन ऐनद्वारा नै भएको देखिंदा श्रम कार्यालयवाट सुरेश कुमार ढुंगाना र होटेल व्यवस्थापन वीच उत्पन्न विवाद समाधान तर्फको निर्णय गर्न नसक्ने भन्ने पुनरावेदन जिकिर संग सहमत हुन सकिएन । श्रम कार्यालयवाट यस तर्फ निर्णय गर्न सक्ने नै देखिने ।

(प्र.नं. ९)

 

पुनरावेदक प्रतिवादी तर्फबाटः विद्वान अधिवक्ता श्री मिथिलेश कुमार सिंह

विपक्षी वादी तर्फबाटः विद्वान अधिवक्ता श्री यज्ञमुर्ति वंजाडे

            विद्वान अधिवक्ता श्री गुणनिधि न्यौपाने

अवलम्वित नजीरः x

 

फैसला

            न्या.केदारनाथ आचार्यः प्रस्तुत पुनरावेदनको संक्षिप्त तथ्य यसप्रकार छ ।

            २.    म निवेदक होटेल याक एण्ड यतिमा स्थायी रुपमा १२ वर्ष देखि कामगरी सेप्टेम्वर १९, १९८८ देखि एकाउण्ट शाखामा नाईट अडिटर पदमा कार्यरत थिएं । मिति ०४७।२।१ को सम्झौताको वुँदा नं. ११ मा अध्ययन विदा दिइने छ भनि उल्लेख भए वमोजिम मैले कानूनको स्नातकोत्तर अध्ययनको लागि २ वर्षको अध्ययन विदा माग गर्दा विपक्षी होटेल याक एण्ड यतिका का.मु. महाप्रवन्धक श्री सुरेन्द्रमान शाक्यले हाललाई एक वर्षको अध्ययन विदा र वांकी एक वर्षपछि स्वत रिन्यु गरिन्छ भन्ने आदेश दिएकाले म भारतको दिल्ली विश्व विद्यालयमा अध्ययनको लागी गएकोमा पढाई समाप्त गरी म सेटेम्वर १९९२ मा हाजिर हुन जांदा सेप्टेम्वर १६, १९९१ को मलाई तपाईको विदा रिन्यु भएन हाजिर हुन आउनु भन्ने व्यहोराको पत्र र सो पत्रलाई आधार मानि गरिएको महा प्रवन्धकको निर्णय सहितको मिति अगष्ट २३, १९९२ को पत्र मलाई दिई उक्त होटेलमा मलाई हाजिर हुन नदिएकोले विपक्षीहरुको काम कारवाही नेपाल अधिराज्यको संविधान, २०४७ को धारा १२, १६ तथा श्रम ऐन, २०४८ को दफा ७३(३) तथा ७९(१) र (२) तथा प्राकृतिक न्यायको सिद्धान्त विपरित हुँदा वदर गरी सेप्टेम्वर १, १९९२ देखि मुद्दा फैसला हुँदा सम्मको तलव, दशैं खर्च र वोनस समेत भराई हाजिर गराउनु भन्ने आदेश जारी गरी पाउँ भन्ने समेत व्यहोराको सुरेश कुमार ढुंगानाले श्रम कार्यालयमा दिएको निवेदन ।

            ३. सुरेश कुमार ढुंगानालाई होटेल याक एण्ड यतिले वर्खास्त गरेको कारवाही वदर भई पून वहाली गर्नु पर्ने भनी श्रम ऐनको दफा ७३ को उपदफा ५ ले प्रदत अधिकार प्रयोग गरी निर्णय ठहर गरीएको छ भन्ने समेत व्यहोराको श्रम कार्यालय वागमती अन्चलका का.मु. वरिष्ठ कारखाना निरीक्षकले मिति ०४९।७।२६ मा गरेको निर्णय ।

            ४.    सुरेश कुमार ढुंगानाले यस होटेललाई समेत विपक्षी वनाई दिएको उजुरीमा श्रम कार्यालयले यस होटेल संग लिखित जवाफ पनि नमागी तल्लो कर्मचारीले उठाएको टिप्पणीलाई आधार मानि विपक्षी सुरेश कुमार ढुंगानालाई यस होटेलले नाइट अडिटर पदमा पुनरवहाली गर्नु पर्ने भनी मिति ०४९।७।२६ मा वरिष्ठ कारखाना निरीक्षकवाट भएको निर्णय अधिकार विहिन ऐन कानूनले तोकेको ढांचा विपरित आदेश हचुवा किसिमको हुँदा उक्त निर्णय वदर गरी पाउँ भन्ने समेत व्यहोराको होटेल याक एण्ड यतिका महा प्रवन्धक चेरिस ऐरेको पुनरावेदन अदालत पाटनमा परेको पुनरावेदन ।

            ५. श्रम कार्यालय वागमती अन्चलको मिति ०४९।७।२६ को निर्णय रित पूर्वकको ढांचामा भए गरेको नदेखिंदा छलफलका लागि अ.वं. २०२ नं. वमोजिम विपक्षी झिकाई पेश गर्नु भन्ने समेत व्यहोराको पुनरावेदन अदालत पाटनको मिति ०५१।३।६ को आदेश ।

            ६.    यसमा श्रम कार्यालयका वरिष्ठ कारखाना निरिक्षकले गरेको मिति ०४९।७।२६ को निर्णय मिलेको छ छैन भन्ने कुराको निर्णय दिनु पर्ने देखिन आई सम्वन्धित फायल हेर्दा श्रम कार्यालयवाट पुनरावेदकलाई मिति ०४९।६।२८ मा उपस्थित हुन वारे लेखेको पत्रको पिंठमा कर्मचारीबाट उठाएको टिप्पणी व्यहोरामा का.मु. वरिष्ठ कारखाना निरिक्षकवाट मिति ०४९।७।२६ मा निर्णय भएको देखियो । का.मु. वरिष्ठ कारखाना निरिक्षकको निर्णय रित पूर्वकको ठांचामा कानून अनुसार भए गरेको देखिन नआएबाट मिति ०४९।७।२६ को श्रम कार्यालयको निर्णय वदर गरी हुने ठर्हछ । कानून अनुसार गर्नु भन्ने पुनरावेदन अदालत पाटनको फैसला ।

            ७.    कारखाना र कारखानामा काम गर्ने मजदुर सम्वन्धी ऐन नियम र होटेलको विनियमद्वारा स्वतः वर्खास्त हुनु भएको विपक्षीले पछि आएको श्रम ऐन, २०४८ वमोजिम उजुर गर्न पाउने होइन । श्रम ऐन, २०४८ लागू हुँदाको वखत सम्म विपक्षीको जागिर नै नरहेकोले सो ऐनको सुविधा वमोजिम श्रम कार्यालयमा उजुर गर्न अ.वं. ८२ नं. ले हकदैया नै नभएकोले निजको उजुरी निवेदन खारेज हुनु पर्ने हो । टिप्पणीको आधारमा निर्णय गर्न नमिल्ने भनि विभिन्न मुद्दामा सम्मानित सर्वोच्च अदालतबाट नजिर कायम भई आएको र श्रम ऐन, २०४८ को दफा ६० र ७२ ले यस होटेलवाट स्वतः वर्खास्त हुनु भएको विपक्षीले श्रम कार्यालयमा उजुर दिन नपाउने हुँदा अधिकार विहिन निकायलाई पूनः निर्णय गर्नु पठाउनु ऐन नियम र नजिरको पूर्ण विपरित हुँदा श्रम कार्यालय तथा पुनरावेदन अदालतको उक्त फैसला पूर्ण रुपमा वदर गरी वादी दावी नै खारेज गरी पाउँ भन्ने समेत व्यहोराको होटेल याक एण्ड यतिका अफिसिष्टीङ जनरल मेनेजरको वा. शम्भु प्रसाद दाहालको यस अदालतमा पर्न आएको दोश्रो पुनरावेदन पत्र ।

            ८. यसमा मिति ०५०।१०।१८ को राजपत्रको प्रकाशित सूचनाले वरिष्ठ कारखाना निरिक्षक तोकिनु अघि ०४९।७।२६ मा सुरेश कुमारलाई वर्खास्त गर्ने गरेको होटेल याक एण्ड यतिको निर्णय वदर गरी निजलाई पुर्नवहाली गर्ने का.मु. वरिष्ठ कारखाना निरिक्षकले निर्णय गरेकोमा अधिकार क्षेत्रात्मक त्रुटी छ भनी पुनरावेदकले जिकिर लिएको देखिंदा त्यसतर्फ छलफलको लागि अ.वं. २०२ नं. वमोजिम विपक्षी झिकाई यसै लगाउको रिट नं. २१६५ को रिट निवेदन साथै राखी नियमानुसार गरी पेश गर्नु भन्ने यस अदालतको मिति २०५३।११।२० को आदेश ।

            ९.    यसमा नियम वमोजिम पेश हुन आएको पुनरावेदन सहितको मिसिल अध्ययन गरी पुनरावेदक होटेल याक एण्ड यतिको तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री मिथिलेश कुमार सिंहले सुरेश कुमार ढुंगाना होटेल याक एण्ड यतिको स्टोर असिष्टेण्ट पदबाट नाईट अडिटर पदमा कार्यरत व्यक्ति भएकोमा आफ्नो विषय भन्दा वाहिरको विषयको लागि अध्ययन विदाको माग गर्नु भयो । होटेल व्यवस्थापनबाट विशेष सहानुभूति राखी एक वर्षको विदा स्वीकृत गरी दिएकोमा अर्को वर्षको लागि पनि विदा माग गर्नु भएकोमा होटेललाई आवश्यक नपर्ने विषयको लागि विदा दिनु पर्ने औचित्य नदेखिंदा काममा हाजिर हुन सूचना दिएकोमा हाजिर हुन नआई गयल रहनु भएकोले स्वतः सेवा समाप्त भएको जानकारी निजले दिएको ठेगानामा तत्कालै दिएको हो । स्वतः वर्खास्त भएमा कर्मचारीले पूनः वहाली पाउन सक्ने नहुँदा निजको निवेदन उपर कारवाही गरी रहनु नपर्ने भएपनि निजलाई सूचना गरेकोमा निजले श्रम कार्यालयमा उजुर गरी श्रम कार्यालयबाट त्यस्तो उजुर हेर्न पाउने नै होइन तसर्थ निजलाई वर्खास्त गरेको कारवाही वदर गरी पुनरवहाली गर्नु भन्ने वरिष्ठ कारखाना निरीक्षकबाट निर्णय भएको जानकारी प्राप्त भएपछि होटेल व्यवस्थापन तर्फबाट पुनरावेदन अदालत पाटनमा पुनरावेदन गर्दा कर्मचारीले उठाएको टिप्पणीबाट निर्णय भएको आधार सम्मलाई अंगाली पूनः कानून वमोजिम निर्णय गर्नु भनि आदेश भएको छ । श्रम ऐन, २०४८ लागू हुनु भन्दा पहिले नै निजको सेवा समाप्त भई सकेको तर्फ ध्यान नदिई उजुरी नै हेर्न नमिल्ने श्रम कार्यालयका वरिष्ठ निरिक्षकबाट निर्णय हुन गैर कानूनी हो । फेरी पनि त्यही कार्यालयमा निर्णय गर्न पठाउनु पुनरावेदन अदालतको निर्णय त्रुटिपूर्ण हुन गएको छ । यसर्थ श्रम कार्यालय तथा पुनरावेदन अदालत पाटनको निर्णय पूर्ण रुपेण वदर गरी वादी दावी खारेज गरी पाउँ भन्ने र विपक्षी सुरेश कुमार ढुंगानाका तर्फबाट उपस्थित विद्वान अधिवक्ताद्वय श्री यज्ञमुर्ति वन्जाडे तथा श्री गुणनिधि न्यौपानेले सुरेश कुमार ढुंगाना आफ्नो होटेलमा कार्यरत कर्मचारी होइन तथा निजले विदा माग गरेकोमा १ वर्षको लागि तत्कालै विदा स्विकृत भएको र अर्को वर्षको लागि विदा स्विकृत हुने आश्वाशन स्वरुप पुनरविचार गरिने गरी निर्णय गरेकोमा इन्कार गर्न सकेको छैन । होटेललाई काम लाग्ने नलाग्ने भन्ने पहिले विदा स्विकृत गर्दाको अवस्था विचार गरिेने कुरा हो । कुन विषयमा पढन जाने हो र कति अवधिसम्मको पढाई हुने भन्ने कुराको जानकारी होटेल व्यवस्थापनलाई जानकारी भएपछि विदा स्विकृत गरिएको छ । दुई दुई वर्ष लाग्ने विषयको एक वर्षको पढाई समाप्त गरेपछि छोड्ने कुरा आउँदैन । वीचमा आएर अलपत्र पार्ने दुरासय भन्ने स्पष्ट छ । विदा दिन नमिल्ने भए पहिलेनै त्यस तर्फ निर्णय हुनुपर्दछ । आश्वाशन सहितको विदाको स्विकृत भई सकेपछि अव आएर विदा दिन्न भन्नु र त्यो पनि पढाई समाप्त गरी आएपछि वुझाइएको पत्रबाट होटेल व्यवस्थापनको जानाजानी दुरासय प्रकट हुन आउँछ । अर्को एक महिनाको विदा थेसिस तयार गर्न लाग्ने भएबाट फर्कि आई विदा माग हुँदा मात्र जानकारी गराइएको हाजिर हुनु पाउँ भनी दिएको निवेदन अस्विकृत भएबाट वाध्यतावश श्रम कार्यालयमा निवेदन दिनु परेको स्पष्ट छ । श्रम कार्यालयबाट पुनरवहाली गर्नु भन्ने आदेश भएकोमा वहाली नदिई पुनरावेदन अदालत पाटनमा होटेल व्यवस्थापनले पुनरावेदन गरेको छ । श्रम ऐन, २०४८ नलाग्ने भन्ने होटेल व्यवस्थापनले सोही ऐनको प्रावधान अनुरुप पुनरावेदन गरेको छ । श्रम ऐन, २०४८ लागू भएपछिको मितिमा श्रम कार्यालयबाट निर्णय भएको छ । पुनरावेदन अदालतबाट कानून वमोजिम निर्णय गर्नु भनी दिएको निर्णय अनुरुप श्रम कार्यालयबाट निर्णय भएकोमा होटेल व्यवस्थापनले पुनरावेदन अदालतमा पुनरावेदन गर्न सक्नु भएको छैन । सम्मानित अदालतको असाधारण अधिकार क्षेत्र गूहार्न आउनु भएको छ । उहि विषयमा एक पटक पुनरावेदन अदालतमा पुनरावेदन गर्ने र उहि विषयमा अर्को पटक रिट क्षेत्रबाट प्रवेश गर्न पाउने होइन । तसर्थ श्रम ऐन, र नियमले दिएको अधिकार प्रयोग गरी श्रम कार्यालयका कारखाना निरिक्षकले गरेको निर्णय कानून सम्मत रहेवाट सदर गरी पाउँ भनि गर्नु भएको वहस जिकिर समेत सुनी पुनरावेदन अदालत पाटनबाट भएको २०५२।१।११ को फैसला मिले नमिलेको के रहेछ भनि निर्णय तर्फ विचार गर्दा सुरेश कुमार ढुंगानाले होटेल याक एण्ड यतिमा काम गरी रहेका व्यक्ति भन्नेमा विवाद देखिदैन । निजले दिल्ली विश्व विद्यालयमा कानूनको स्नातकोत्तर अध्ययन गर्न दुई वर्षको अध्ययन विदा माग गरेकोमा होटेल व्यवस्थापनबाट एक वर्षको लागि तत्कालै विवाद स्विकृत भएको र अर्को वर्षको लागि पुर्न विचार गरिने (We normally allow education have without pay for six months maximum . As a special case, he may be allowed for one year, the second year is subject to review) भनी पर्सनल मेनेजरको नाममा आदेश भएको मिसिल साथ रहेको फोटोकपीबाट देखिन्छ । सुरेश कुमारको निवेदनबाट कानून विषयमा दुई वर्षको लागि अध्ययन गर्न जाने भन्ने रहेबाट अध्ययन गर्न खोजेको विषय र त्यसको लागि आवश्यक समय अवधिको जानकारी होटेल व्यवस्थापनलाई पूर्व जानकारी भएको पाइन्छ । साधारणतया ६ महिना भन्दा वढीको अध्ययन विदा नदिने भएपनि सुरेश कुमारको विशेष व्यवस्था (special case) भनि विचार (Remark) अभिव्यक्त भएको पाईन्छ । एक वर्षको लागि विदा स्विकृत गरी अर्को वर्षको लागि पुनरविचार (review) गर्ने भन्ने प्रयुक्त शव्दलाई लिएर पक्ष विपक्ष वीच व्याख्यात्मक विवाद उपस्थित भए तर्फ विचार गर्दा विदा स्विकृत गरिनु अघि होटेल व्यवस्थापनलाई अध्ययन विषय र आवश्यक समायावधीको जानकारी भई सकेको र विदा स्विकृत हुनु पर्ने आवश्यक्ता र औचित्यको मूल्यांकन भएरै विदा स्विकृत भएको अवस्थामा एक वर्षपछि आएर अध्ययन गर्न दिइने धारणा भावना विपरित विदा अस्विकृत गर्दा त्यसको आधार कारण र औचित्य समेत उपर विवेचना भै गरिनु पर्ने हो की होइन भन्ने प्रश्नका साथै विदा माग गर्ने र विदा स्वीकृत गर्ने वीच समूधूर सम्वन्ध कायम रहने गरी पुनरविचार (Review) गरिनु पर्ने हो होइन भन्ने प्रश्न समेत उपस्थित रहेको अवस्था र आवश्यकताको न्यायिक विवेचना गरिनु पर्ने स्थिति देखा पर्दछ । यसरी उपस्थित भएको समस्यालाई लिएर उत्पन्न विवादको समाधान लाग्न नसकेको अवस्थामा श्रम ऐन, २०४८ ले गरेको प्रावधान अनुरुप श्रम कार्यालयमा निवेदन दिएको र श्रम ऐनकै प्रावधान अनुरुप श्रम कार्यालयबाट भएको निर्णय कानून सम्मत छ भन्ने एक पक्ष र श्रम ऐन, ०४८ प्रारम्भ हुनु भन्दा पहिले नै सुरेश कुमारको सेवा अन्त भई सकेकोले श्रम ऐन, २०४८ प्रस्तुत केशमा लाग्न सक्दैन भन्ने अर्को पक्षको जिकिर रहेतर्फ कसो रहेछ भनी हेरिनु पर्ने हुन आएबाट श्रम ऐन, २०४८ को व्यवस्था हेर्दा उक्त ऐन, २०४९।२।२ मा प्रारम्भ भएको र ०४९।७।२६ मा श्रम कार्यालयबाट सुरेश कुमार ढुंगानालाई पुनरवहाली गर्ने निर्णय भएको पाइन्छ । २०४९।६।४ मा सुरेश कुमार ढुंगानाले होटेल व्यवस्थापक समक्ष पुनरवहालीको माग गरी निवेदन दिएकोमा त्यस प्रति होटेल व्यवस्थापन तर्फबाट देखाएको उदासिनताको कारण निवेदकले २०४९।६।२६ मा होटेल व्यवस्थापकलाई समेत विपक्षी वनाई श्रम कार्यालयमा निवेदन दिएको भन्ने कुराहरुवाट श्रम ऐन, २०४८ प्रारम्भ भएको मिति पछिको क्रियाकलाप देखिन्छ । श्रम ऐन, २०४८ को दफा ७३(१) मा कामदार वा कर्मचारीको व्यवस्थापनसंग सेवा सम्वन्धमा व्यक्तिगत दावी वा उजुरी भएमा सम्वन्धित कामदार वा कर्मचारीले सम्वन्धित व्यवस्थापक समक्ष लिखित रुपमा प्रस्तुत गर्नु पर्ने प्रावधान रहे अनुरुप सुरेश कुमारले व्यवस्थापक समक्ष लिखित निवेदन २०४९।६।४ मा दिएको भन्ने देखिन्छ । त्यसरी पर्न आएको निवेदन उपर श्रम कार्यालयको प्रमुखले दफा ७३(५) अनुरुप उक्त विवादमा निर्णय गर्नु पर्ने छ भन्ने स्पष्ट निर्देशन ऐनद्वारा नै भएको देखिंदा श्रम कार्यालयवाट सुरेश कुमार ढुंगाना र होटेल व्यवस्थापन वीच उत्पन्न विवाद समाधान तर्फको निर्णय गर्न नसक्ने भन्ने पुनरावेदन जिकिर संग सहमत हुन सकिएन । श्रम कार्यालयवाट यस तर्फ निर्णय गर्न सक्ने नै देखिन्छ तथापी कर्मचारीले उठाएको टिप्पणी व्यहोरालाई का.मु. वरिष्ठ कारखाना निरिक्षकबाट २०४९।७।२६ मा भएको निर्णय रितपूर्वकको ढांचामा कानून अनुसार भएको नदेखिंदा उक्त निर्णय वदर गरी कानून वमोजिम पूनः निर्णय गर्नु भनि श्रम कार्यालय वागमति अन्चलको नाममा भएको पुनरावेदन अदालत पाटनको २०५२।१।११।२ को फैसलामा कुनै त्रुटी विद्यमान रहेको नदेखिंदा सदर हुने ठहर्छ । पुनरावेदन जिकिर पुग्न सक्दैन । मिसिल नियमानुसार गरी वुझाई दिनु ।

 

उक्त रायमा सहमत छु ।

 

न्या. केदारनाथ उपाध्याय

 

इति संवत् २०५४ साल आश्विण १ गते रोज ४ शुभम् ........................... ।

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु