निर्णय नं. ६४८३ - अंश चलन
निर्णय नं. ६४८३ ने.का.प. २०५४ अङ्क १२
संयुक्त इजलास
माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझी
माननीय न्यायाधीश श्री इन्द्रराज पाण्डे
सम्वत् २०५३ सालको दे.पू.नं. ..३७१६, ३७१८
फैसला मितिः २०५४।४।२१।३
मुद्दाः अंश चलन ।
पुनरावेदक/प्रतिवादीः का.जि.काठमाण्ठौ म.न.पा.वा.नं. १ कान्तिपथ वस्ने मोहन कुमारी स्थापित समेत ।
विरुद्ध
विपक्षी/वादीः ऐ. वार्ड नं. ३० ज्याठा वस्ने अजय रत्न स्थापित समेत जम्मा ३ ।
पुनरावेदक/प्रतिवादीः ऐ. वार्ड नं. १ कान्तिपथ वस्ने प्रभावति स्थापित समेत जम्मा २ ।
विरुद्ध
विपक्षी
वादीः ऐ. वा.नं. ३० ज्याठा वस्ने सहानुरत्न स्थापित समेत जम्मा ३ ।
§ प्रमाण ऐन, २०३१ अनुसार एकाघर संगका अंशियारहरु मध्ये जूनसूकै अंशियारका नाममा रहेको सम्पत्ति सगोलको सम्पत्ति हो भनी अदालतले अनुमान गर्दछ र अदालतको त्यस्तो अनुमानलाई खण्डन गर्न चाहिनेले त्यस्तो प्रमाण पुर्याउने भार समेत सोही ऐनको दफा २९ वमोजिम वहन गर्नुपर्ने ।
(प्र.नं. १६)
पुनरावेदक प्रतिवादी तर्फबाटः विद्वान अधिवक्ता त्रय श्री हरि शंकर निरौला, श्री शंभु थापा तथा श्री मिथिलेश कुमार सिंह
विपक्षी वादी तर्फबाटः विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी, विद्वान अधिवक्ता श्री श्याम प्रसाद खरेल ।
अवलम्वित नजिरः x
फैसला
न्या.कृष्णजङ्ग रायमाझीः पुनरावेदन अदालत पाटनको मिति ०५१।१।२९ को फैसला उपर न्या.प्र. ऐन, २०४८ को दफा १२(१) को (क)(ख) अन्तर्गत परेको निवेदनमा दोहोर्याउने निस्सा प्रदान भई पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार छ :-
२. ससुरावाजे भिमरत्न तथा साहु हिरामायाका ३ छोरा मध्ये जेठा हर्षरत्न माहिला तिर्थरत्न कान्छा सानुरत्न भएकोमा सासुससुरा अघि नै परलोक हुनुभएकोमा जेठाको श्रीमती मोहन कुमारी नै माइला परलोक हुनुभई निजका जेठी श्रीमती चित कुमारीका तर्फबाट छोरा अजयरत्न र विपक्ष रत्नकी श्रीमती प्रभावती तथा कान्छि तारा शोभा र निजका तर्फका छोरा सहानुरत्न र सानुरत्नका श्रीमती लक्ष्मि शोभा र छोरा अजयरत्न मै परिवारमा वढि मनमूटाव बढ्न थालेकोले घरसार भै सल्लाह भै ०३९।११।१४ मा वण्डापत्र खडागरि आयौं तापनि कार्यान्वयन भएको थिएन । र हाल हाम्रो अंशभाग छुट्टयाइ दिनु भन्दा दिन्न भनेकाले फिराद गर्न आएका छौं । फिराद परेको अघिल्लो दिनलाई मानी छुट्टिएको मिति कायम गरि चलअचल सम्पूर्ण सम्पत्तिको अंश वण्डाको २०,२१,२२ र २३ नं. अनुसार विपक्षहरुबाट तायदाती लिइ सम्पूर्ण सम्पत्तिको ३ भागको २ भाग हाम्रो र एक भाग विजयरत्नको लाग्ने हुँदा सम्पूर्ण सम्पत्तिको ९ भागको २ भाग अंश छुट्याइ अड्डैबाट चलन समेत चलाई पाउँ भन्ने समेत व्यहोराको फिराद पत्र ।
३. वादीको दावी झूठ्ठा हो हामी मुल हंशियार नभएको र हामीले विपक्षबाट नै अंश पाउनुपर्ने हो र वावु ससुराहरुको वीचमा नै वण्डा नहुदै हामीहरु उपर अंशमा दावी गर्न मिल्दैन र हाम्रो ससुराका दाजूभाई वीचमा अंशवण्डा नभएको स्थितिमा सम्पत्ति हाम्रो जिम्मा रहने कुरा पनि आउँदैन हाम्रो जिम्मा वण्डा गर्नुपर्ने सम्पत्ति कुनै छैन विपक्षको झूठ्ठा फिरादबाट अलग फुर्सद गरिपाउँ भन्ने समेत व्यहोराको विजयरत्न र प्रभावतीको प्रतिउत्तर पत्र ।
४. हामी लक्ष्मी शोभा तथा अजयरत्न विपक्षहरुको अंशियार नभै पति पिता सानुरत्नको अंशभागबाट मात्र अंश पाउन सक्ने व्यक्तिहरु हुदा सानुरत्नको सम्म अंशियार हो । विपक्षहरुलाई अंश दिन र लिन सक्ने कुरा समेत आउँदैन हामी उमेरको वादी दावी नै नपुग्ने हुदा वादीलाई नै सजाय समेत गरि पाउँ भन्ने समेत व्यहोराको लक्ष्मी शोभा र अजयरत्नको संयुक्त प्रतिउत्तर पत्र ।
५. वादीको दावी झूठ्ठा हो वण्डा गर्नु पर्ने सम्पत्ति हाम्रो जिम्मामा छैन सम्पूर्ण सम्पत्ति विपक्ष कै जिम्मामा छ । हामीले अंश दिनु पर्ने होइन तसर्थ विपक्षबाट तायदाती फांटवारी लिई हाम्रो समेत अंश भाग लगाई छुटाई वादीको झूठ्ठा दावीबाट फुर्सद पाउँ भन्ने समेत व्यहोराको हर्षरत्न र मोहन कुमारीको संयुक्त प्रतिउत्तर पत्र ।
६. दावी झूठ्ठा हो मिति ०३९।११।१४ मा नै हामीहरु वीच घरसारमा भाग छुट्याई आएको हुँदा वण्डापत्र अनुसार छुट्याई लिन दिन मन्जूरै हुँदा मेरो समेत अंश छुट्याई पाउँ भन्ने समेत व्यहोराको सानुरत्नको प्रतिउत्तर पत्र ।
७. एका संगोलको अंशियारको नाममा रहेको सम्पत्ति सवै अंशियारको हक लाग्ने सम्पत्ति देखिन्छ । अतः वादी दावी अनुसार पेश हुन आएको फांटवारी अनुसारको सम्पत्ति वादी दावी वमोजिम वादीहरुले अंश पाउने ठहर्छ भन्ने समेत व्यहोराको काठमाडौं जिल्ला अदालतको फैसला।
८. का.जि.अ. को फैसलामा दिएको ऋणहरु हाम्रो भाग कायम नगरिएकोले सो हद सम्मको फैसला नमिलेको वदर गरी पुनरावेदन जिकिर अनुसार गरी पाउँ भन्ने समेत व्यहोराको सहानुरत्नको पुनरावेदन जिकिर ।
९. जिल्ला अदालतको फैसलामा चित्त वुझेन, ऋणहरु समेत हामीहरुका वीचमा वण्डा लाग्नेमा नलगाएको शुरुको फैसला वदर गरी तायदाती अनुसार इन्साफ पाउँ भन्ने समेत व्यहोराको विजयरत्न समेतको पुनरावेदन जिकिर ।
१०. तायदातीमा उल्लेखित म समेतको अंश हक लाग्ने सम्पत्तिलाई वण्डा नलगाएको हदसम्म सो फैसला त्रुटीपूर्ण हुँदा सो हदसम्म वदर गरी सम्पूर्ण सम्पति समेत वण्डा लगाई पाउँ भन्ने समेत व्यहोराको मोहन कुमारीको पुनरावेदन पत्र ।
११. यसै लगाउको मुद्दामा अ.वं. २०२ नं. वमोजिम प्रत्यर्थी झिकाउने आदेश भएको हुँदा यस्मा पनि अ.वं. २०२ नं. वमोजिम प्रत्यर्थी झिकाई पेश गर्नु भन्ने पू.वे.अ. पाटनको मिति २०५०।१२।१० को आदेश ।
१२. वादी प्रतिवादीहरु आपसमा अंशियार रहे भएको र अंशियारहरुका वीच कानून वमोजिम वण्डापत्र समेत भएको नदेखिएको स्थितिमा वादीहरुले अंश लिन पाउनु पर्ने नै देखियो केही सम्पत्ति स्वआर्जनको हुँदा वण्डा हुनु पर्ने होइन भन्ने प्रतिवाद जिकिर भएकोमा सो पुष्टि हुने प्रमाण पेश हुन आएको समेत नदेखिदा यस्मा अजय र सानुरत्नको तायदातीमा उल्लेखित न्यु होटल क्रिष्टल प्रा.लि. र क्रिष्टल उलन्स इण्डष्ट्रिजलाई निजहरुले ऋण दिएको रकम वण्डा गर्नु पर्नेमा नगरेको र ने.वै.लि. संग लिएको ऋणका सम्वन्धमा साहुको उजुर परेका वखत ठहरे वमोजिम हुने उल्लेख गर्नु पर्नेमा नगरेको सम्म शुरुको इन्साफ केही उल्टी भै अरु शुरुको फैसला मनासिव ठहर्छ भन्ने समेत पू.वे.अ. पाटनको मिति २०५१।१।२९ को फैसला ।
१३. वक्सपत्र लिखतको आधारमा कायम हुन आएको सम्पत्ति समेत वण्डा लाग्ने ठहराएको पू.वे.अ. पाटनको फैसला त्रुटिपूर्ण हुँदा मुद्दा दोहोर्याई हेरी वदर गरी हाम्रो प्रतिवाद जिकिर वमोजिम गरि पाउँ भन्ने समेत व्यहोराको हर्षरत्न तथा मोहन कुमारी स्थापितको यस अदालत समक्ष परेको संयुक्त निवेदन पत्र ।
१४. म प्रभावतीको नाममा रहेको दाईजो पेवा तथा स्त्री अंश धनको सम्पत्ति वण्डा हुने ठहराई पू.वे.अ. पाटनवाट त्रुटिपूर्ण फैसला भएको मुद्दा दोहोर्याई हेरी उक्त फैसला वदर गरी इन्साफ पाउँ भन्ने समेत विजय रत्न स्थापित र प्रभावती स्थापित समेत जना २ को संयुक्त निवेदन पत्र ।
१५. यसै लगाउको वकसपत्र वदर समेत मुद्दामा दोहोर्याउने निस्सा प्रदान भएकोले सोही आधार वुंदाबाट दोहोर्याउने निस्सा प्रदान गरिएको छ भन्ने यस अदालतको मिति २०५३।१।१२ को आदेश ।
१६. नियम वमोजिम दैनिक मुद्दा पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादीहरुको तर्फबाट उपस्थित हुनु भएका विद्वान अधिवक्ता त्रय श्री हरि शंकर निरौला, श्री शंभु थापा तथा श्री मिथिलेश कुमार सिंहले स्वआर्जनो सम्पत्ति वण्डा हुन नहुने भन्ने समेत र विपक्ष वादीहरुका तर्फबाट उपस्थित हुनु भएका विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी तथा विद्वान अधिवक्ता श्री श्याम प्रसाद खरेलले सगोलको सम्पूर्ण सम्पत्ति अंशवण्डा हुनु पर्ने समेत भनी गर्नु भएको वहस जिकिर समेत सुनि पुनरावेदन अदालत पाटनले गरेको इन्साफ मिले नमिलेको के रहेछ भनी हेरी निर्णय दिनु पर्ने देखियो । यस्मा निर्णय तर्फ विचार गर्दा विपक्षीहरुले हाम्रो अंश भाग छुट्याई दिन नमानेकाले फिराद परेको दिनलाई मानो छुट्टिएको मिति कायम गरी सम्पूर्ण सम्पत्तिको ९ भागको २ भाग अंश छुट्याई अड्डैबाट चलन समेत चलाई पाउँ भन्ने समेत वादी दावी र वादीहरु अंशियार हुन भन्ने कुरामा विवाद छैन । हाम्रो जिम्मामा कुनै सम्पत्ति नहुँदा हामीले अंश दिनु पर्ने होइन भन्ने समेत हर्ष रत्न र मोहन कुमारीको संयुक्त प्रतिउत्तर जिकिर र हाम्रो वावु ससुराको दाजू भाइका वीचमा नै अंशवण्डा नभएकोले हामीबाट अंश पाउने होइन भन्ने समेतको विजय रत्न तथा प्रभावति स्थापितको प्रतिउत्तर जिकिर रहेको प्रस्तुत मुद्दामा यी वादी प्रतिवादीहरु एक आपसमा अंशियार रहे भएको र अंशवण्डा हुन वांकी रहेको भन्ने कुरामा कुनै विवाद नरही मुख मिलेकै देखियो । यी वादी प्रतिवादीहरुका वीचमा घरसारमा मिति ०३९।११।१४ मा अंशवण्डाको लिखत तयार भएपनि सो लिखत कार्यान्वयन नभई रजिष्ट्रेशन पारित भएको समेत देखिदैन । यी अंशियारहरुका वीचमा अंशवण्डा हुनु पर्ने कुरामा विवाद नदेखिएपनि प्रतिवादीहरुबाट पेश हुन आएको तायदाती फांटवारीमा केही सम्पत्ति आफ्नु निजी आर्जनको हुँदा वण्डा गर्नु नपर्ने भनी जिकिर लिएको पाइन्छ । प्रमाण ऐन, २०३१ अनुसार एकाघर संगका अंशियारहरु मध्ये जूनसूकै अंशियारका नाममा रहेको सम्पत्ति सगोलको सम्पत्ति हो भनी अदालतले अनुमान गर्दछ र अदालतको त्यस्तो अनुमानलाई खण्डन गर्न चाहनेले त्यस्को प्रमाण पुर्याउने भार समेत सोही ऐनको दफा २९ वमोजिम वहन गर्नु पर्ने हुन्छ । प्रस्तुत मुद्दामा वण्डा हुनु नपर्ने निजी आर्जनको भनी जिकिर लिएको सम्पत्ति स्व. आर्जित नै हो भनी पुष्टि गर्ने कुनै ठोस प्रमाण प्रतिवादीहरुबाट पेश हुन आएको समेत नदेखिंदा सगोलका अंशियारहरुका नाउँमा रहेको सम्पत्ति सवै अंशियारहरुमा वण्डा हुने भनी दावी वमोजिम वादीले अंश पाउने समेत ठहराएको पुनरावेदन अदालत पाटनको मिति २०५१।१।२९ को निर्णय मनासिव देखिंदा सदर हुने ठहर्छ । पुनरावेदनको पुनरावेदन जिकिर पुग्न सक्दैन । मिसिल नियमानुसार अभिलेख शाखामा वुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या. इन्द्रराज पाण्डे
इति संवत २०५४ साल श्रावण २१ गते रोज ३ शुभम् ।