निर्णय नं. ३५३२ - बकसपत्र बदर
निर्णय नं. ३५३२ ने.का.प. २०४५ अङ्क ७
संयुक्त इजलास
माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह
माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान
सम्वत् २०४३ सालको दे.पु.नं. ५६९
फैसला भएको मिति : २०४५।३।१।४ मा
पुनरावेदक/प्रतिवादी : जि.सप्तरी हनुमाननगर गा.पं. वार्ड नं. ४ बस्ने वासुदेव प्रसाद सुडी
विरुद्ध
विपक्षी/वादी : राजविराज न.पं. वार्ड नं. १ बस्ने स्व.चाँदमलको हकवाला र आफ्ना हकमा समेत ऐ. ऐ. बस्ने चम्वालाल दुगडसमेत
मुद्दा : बकसपत्र बदर
(१) संग बसेका अंशियारले सगोलको सम्पत्तिबाट आर्जेको सम्पत्ति बाहेक कुनै अंशियारले आफ्नो शीप ज्ञान प्रयासबाट निजी आर्जन गरेकोमा निजी ठहर्ने ।
(प्रकरण नं. १२)
(२) लेनदेनको १० नं. मा सगोलको अचल सम्पत्ति कुनै किसिमले वेचबिखन वा हक छाडी दिँदा उमेर पुगेका सबै अंशियारको मञ्जूरी लिन पर्ने, नलिएमा उजूर गर्ने जतिको हक बदर गर्ने तर आफ्नो निजी आर्जनको भए मन्जूरी लिन नपर्ने व्यवस्था गरेकोबाट सगोलमा रहेको व्यक्तिहरुले आर्जेको सम्पत्ति सामान्यतया सगोलको मानिने ।
(प्रकरण नं. १२)
(३) अनुमान गर्न पर्ने कुराको अपवाद स्वरुप प्रतिवादीले दावी गर्छ भने सो अपवादको कुरा सिद्ध गर्ने भार प्रतिवादीको हुने ।
(प्रकरण नं. १२)
पुनरावेदकतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मोहनकृष्ण खरेल
फैसला
न्या.हिरण्येश्वरमान प्रधान : पूर्वाञ्चल क्षेत्रीय अदालतको फैसला उपर पुनरावेदनको अनुमति प्राप्त गरी पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार रहेछ ।
२. म वादी चन्द्रमलको ४ छोरा जेठा पुनम चन, माहिला चम्पालाल, साँहिला पुसराज, कान्छो हनुमान मल हुन्, पुनम चन परलोक भई निजको हक खाने छोरा म वादी राजकिरण हुँ प्र.हनुमान मल, पुसराज, म चन्दमलको छोरा हुँ, म चम्पालालको भाइहरु म राजकिरणको काकाहरु हुन् । हामी ५ जना बाबुछोरा नाती सबै सगोलमा बसी रही आएको घरको मुख्य बाबु दाजु भतिजा समेतलाई थाहा नदिई सगोलबाट आर्जिएको सम्पत्ति मध्ये हनुमान मल दुगडका नाउँमा दर्ता रहेको जि.सप्तरी गा.पं. हनुमान नगर वार्ड नं. २ को कि.नं. १४६ को ०–२–४ ऐ.वार्ड नं. २ कि.नं. १४९ को ०–६–० जि.सप्तरी गा.पं. कञ्चनपुर वार्ड नं. ४ कि.नं. ३८४ को ०–१९–६ समेत जम्मा ज.वि. १–७–८ जग्गा रु. ५,६००।– मा विपक्षी वासुदेव प्रसाद सुडीलाई ०३७।५।४ मा मालपोत कार्यालय सप्तरीमा बकसपत्र रजिष्ट्रेशन पारित गरिदिएको, सो कुरा ०३८।५।२ गतेमा प्रमाणका मानिसद्वारा थाहा पाई ०३८।६।२ मा नक्कल लिई उक्त जग्गा १–७–२८ मध्ये हामीहरुको ५ भागको ३ भाग मोल रु. ३,३६०।– को ज.वि. ०–१६–१४–११ सोह्र कठ्ठा चौध धुर एघार कनुवाको बकसपत्र लेखत बदर गरी हामीहरुको नाउँमा दर्ता कायम गरी पाउँ भन्ने वादी ।
३. यिनै वादी चान्द मलले म उपर लेनदेन मुद्दा दिएको सो को बिगो भरी पाउँने फैसला समेत भइसकेको, चान्द मलले बिगो दिलाई पाउँ भनी निवेदन म उपर दिएको मेरो नाउँ दर्ताको जि.स.गा.पं. हनुमान नगर वार्ड नं. २ कि.नं. १४६ को ०–२–४ कि.नं. १४९ को ०–९–८ कि.नं. ४९ को ०–३–८ र गा.पं. कञ्चनपुर वार्ड नं. ४ कि.नं. २७२ को ०–१५–० ऐ वार्ड नं. ५ कि.नं. ९९ को ०–१७–१५ समेत ज.वि. १–११–६ प्र.हनुमान मलले सकार गरी आफ्नो नाउँमा दाखिल खारेज समेत गराएको उक्त जग्गा १–११ सगोलको आर्जनको सम्पत्ति नभई निजी आर्जनको जग्गा हो स्वआर्जनको जग्गा हुँदा संगै साथ बसेको मञ्जूरी लिन पर्दैन भन्ने किटानी कानुनी व्यवस्था हुँदा मेरो नाउँको उक्त बकसपत्रको लिखत र दर्ता बदर हुन पर्ने होइन वादी दावी खारेज गरिपाउँ भन्ने समेत वासुदेवप्रसाद साहूको प्रतिउत्तरपत्र ।
४. प्रतिवादी हनुमान मल दुगड र पुसराजको नाउँमा ०३५।८।१२।६ मा तामेल भएको इतलायनामाको म्याद गुजारी बसेको ।
५. वादी दावीमा लेखिएको वादीहरुको भागमा पर्ने ५ भागको ३ भाग जतिसम्मको बकसपत्र लिखत र दर्ता बदर गरी वादीहरुका नाउँमा दर्ता कायम हुने ठहर्छ भन्ने समेत शुरु सप्तरी जिल्ला अदालतको फैसला ।
६. शुरु जिल्ला अदालतको उक्त इन्साफमा चित्त बुझेन, बदर गरी प्रतिउत्तर जिकिर बमोजिम गरिपाउँ भन्ने समेत प्रतिवादी वासुदेवको सगरमाथा अञ्चल अदालत राजविराज बेञ्चमा परेको पुनरावेदनपत्र ।
७. सगोलमा बस्दा गोश्वाराधनबाट उपार्जन गरेको सम्पत्ति बिक्री गर्दा वा दान बक्स दिँदा सबै अंशियारको मञ्जूरीबाट पास गर्नु पर्ने कानूनले बाध्यता गरेकोले मञ्जूरी नलिई बकसपत्र गरेको देखिँदा ५ भागको ३ भाग बकसपत्र लेखत बदर गरेको शुरुको इन्साफ मनासिब भन्ने सगरमाथा अञ्चल अदालतको फैसला ।
८. सगरमाथा अञ्चल अदालतको फैसलामा कानुनी त्रुटि हुँदा पुनरावेदनको अनुमति पाउँ भनी प्रतिवादीको पू.क्षे.अ.मा निवेदन गरी पू.क्षे.अ.बाट पुनरावेदनको अनुमति दिएकोमा सगरमाथा अञ्चल अदालतको इन्साफ मनासिब ठहर्छ भन्ने समेतका पू.क्षे.अ.को फैसला ।
९. पूर्वाञ्चल क्षेत्रीय अदालतको फैसला उपर पुनरावेदनको अनुमति पाउँ भनी प्रतिवादीको यस अदालतमा निवेदन पर्न आई संयुक्त इजलास समक्ष पेश हुँदा प्रतिवादीको स्वआर्जनको जग्गालाई सगोलको भनी दावी बमोजिम बकसपत्र बदर हुने ठहर्याएको पू.क्षे.अ.को निर्णयमा अंशबण्डाको १८ नं. को त्रुटि देखिएको हुँदा पुनरावेदनको अनुमति दिइएको छ भन्ने आदेश भई पुनरावेदनको लगतमा दर्ता हुन आएको रहेछ ।
१०. नियम बमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदकको तर्फबाट उपस्थित विद्वान वरिष्ठ अधिवक्ता श्री मोहनकृष्ण खरेलले गर्नु भएको बहस समेत सुनियो ।
११. अब प्रस्तुत मुद्दामा पू.क्षे.अ.बाट भएको इन्साफ मनासिब वा बेमनासिब के रहेछ भन्ने कुराको निर्णय दिनु परेको छ ।
१२. निर्णयतर्फ विचार गर्दा यसमा हाम्रो समेत हक लाग्ने सगोलको आर्जनको जग्गा हाम्रो मञ्जूरी बेगर बकसपत्र गरी दिएको हुँदा हाम्रो हक जति बदर गरिपाउँ भन्ने वादीको दावी भएकोमा मिलापत्र सकारी आफूले आर्जन गरेको जग्गा बकसपत्र गरी मलाई दिएकोले बकसपत्र बदर हुनु पर्ने होइन भन्ने प्रतिवादी वासुदेव प्रसाद साहू सुडीको प्रतिउत्तर परेको देखिन्छ । प्रस्तुत मुद्दामा वादीहरु बकसपत्र गरी दिने हनुमान मल दुगडको बाबु दाजु देखिएकोले लेनदेनको १९ नं. लाग्ने अवस्था देखिन नआई लेनदेनको १० नं. १८ नं. लाग्ने अवस्था देखिन आयो । अंश बण्डाको १८ नं. मा भएको व्यवस्थाबाट संग बसेका अंशियारले सगोलको सम्पत्तिबाट आर्जेको सम्पत्तिमा सबैको अंश हक लाग्ने, सो बाहेक कुनै अंशियारले आफ्नो शीप ज्ञान प्रयासबाट निजी आर्जन गरेकोमा आर्जन गर्नेको निजी ठहर्ने व्यवस्था गरी लेनदेनको १० नं. मा सोही बमोजिम सगोलको अचल सम्पत्ति कुनै किसिमले बेचबिखन वा हक छाडी दिँदा उमेर पुगेका सबै अंशियारको मञ्जूरी लिन पर्ने, नलिएमा उजूर गर्ने जतिको हक बदर गर्ने तर आफ्नो निजी आर्जनको भए मञ्जूरी लिन नपर्ने व्यवस्था गरेकोबाट सगोलमा रहेका व्यक्तिहरुले आर्जेको सम्पत्ति सामान्यतया सगोलको मानिने व्यवस्था गरेको छ । सोही बमोजिम प्रमाण ऐनमा पनि व्यवस्था भएकोले यदि सो सामान्यतया अनुमान गर्न पर्ने कुराको अपवाद स्वरुप प्रतिवादीले दावी गर्छ भने सो अपवादको कुरा सिद्ध गर्ने भार निज प्रतिवादीको हुने प्रमाण ऐन, २०३१ को दफा २९ ले व्यवस्था गरेको छ । प्रस्तुत मुद्दाको बकसपत्रका दाता छुटिई भिन्न भएको भन्ने कुनै सबूद र निजको निजी प्रयासको आर्जनको हो भन्ने पुनरावेदकतर्फबाट कुनै सबूद आउन नसकेकोले फिरादी मध्ये चाँदमल मरी सकेको भन्ने हुँदा क्षेत्रीय अदालतबाट ५ भागको ३ भाग बदर गरे पनि २ जना मात्र फिरादी बाँकी देखिएकोले जम्मा ४ खण्डको २ खण्ड बकसपत्र लिखत बदर हुने ठहर्छ । तर बहसमा पुनरावेदकका कानून व्यवसायीले देखाएको ने.का.प. २०४०, नि.नं. १७२२, पृ. ४४५ को मुद्दामा प्रतिपादित सिद्धान्तसंग बाझिएकोले नियम बमोजिम गरी पूर्ण इजलासमा पेश गर्नु ।
उक्त रायमा म सहमत छु ।
न्या.पृथ्वीबहादुर सिंह
इति सम्वत् २०४५ साल असार १ गते रोज ४ शुभम् ।